नरेन्द्र दाइ
बितेका दिनहरू मेरो पिठ्यूँतिर धमाधम खस्दै नाना किसिमका विभिन्न आकारका-साना-ठूला गहिरा या भर्खरै बन्न लागेका- गुफाहरू रच्दै थप्प-धप्प बसेका छन् । यसो फर्केर हेर्दा म देख्छु- टाढा, यवनिकामा चित्रित भएझै पछिल्तिरका अरू तमाम दृश्यलाई पूर्णरूपले ढाक्दै एउटा कालो-नीलो पर्वतशृङ्गला दृढतापूर्वक उभ्भिएको छ र मतिर फर्केर त्यसको छातीमा कुनै पनि ठाउँ वाँकी नराखी मेरा बितेका दिनहरूले कुन्नि कैलेदेखि हो गुफैगुफा खनेर राखिछाडेका छन् । मेरा दिनहरूको काम गुफा बनाउनु हो । कहिलेकाहीँ एक्लै भएका बखत वर्तमानबाट आफूलाई फुत्काई म पछि फर्केर हिँड्न थाल्दछु, मेरा गोडा अनायास नै अतीतका कुनै गुफाभित्र प्रवेश गर्छन् । कुनै-कुनै गुफा त यति अन्धकारमय हुन्छ कि म त्यहाँको कुनै वस्तु पनि प्राप्त गर्न नसकेर बाहिर निस्किन्छु । कुनै-कुनैमा भने अत्यन्त मधुरो प्रकाश रहन्छ; त्यहाँभित्रको दृश्य पनि मेरा लागि अस्पष्ट नै रहन्छन् । तर, कुनै गुफाचाहिँ जतिसुकै गहिरो भए पनि, तल पुगेपछि, कुन्नि कुन स्मृति-लोकबाट फुटेर आएको प्रकाश-किरणले उद्भासित भएका हुन्छन् कि त्यहाँ पुगेपछि मेरा आँखाबाट विस्मृतिको पर्दा पन्छिन्छ र म पुरानो युगको रस-रङ्ग-ध्वनिको लोकमा पुग्छु । मानौँ, जीआमाहरूले भन्ने गरेका सुनकेसी राजकुमारीहरूका कथामा निवास गर्ने र बालकहरूका थाकेका आँखामा हलुकोसँग निद्राको शीतल मलम लाइदिने मायालु परीको कुनै अलौकिक छलबाट मेरो उमेर मबाट फत्फत् झर्न थाल्दछ, शरीरबाट लुगा झरेजस्तो । म एउटा बालक हुन्छु र एकपल्ट बिताइसकेका दिनहरूलाई उही पुरानै किसिमबाट फेरिदेखि बिताउन थाल्छु । अनि म डाक्छु- “ए सान्नानी, ए फगुनी, ए नरेन्द्रदाइ……!!” ...