नोकरी

आइतबार, हप्ताको पहिलो दिन, शिव खड्का पन्ध्र दिनपछि आज अफिस जाँदै छ । कामको ज्यादै बोझले गर्दा तनाव बढ्न गएकाले उसलाई गौरीले बलजफत गरेर नै छुट्टी लिनलगाएकी थिई तर स्वभावले लाचार शिवले कुनै दिन पनि अफिसका कामकाजहरूलाई बिर्सन सकेन । आज उसले झन् ज्यादा ती कामहरू सम्झँदैछ र कुनलाई प्राथमिकता दिएर सिध्याउनु पर्ला भनेर ती थन्किएका सम्भावित कामहरूलाई केलाउन थाल्दै छ मनमनै । छान्दाछान्दै सबै उत्तिकै जरुरी भइसकेका पाएर त्यति लामो छुट्टी लिन कर लगाउने गौरीसँग पनि बिछट्टै झोकिन्छ र अठोट गर्दछ राति अबेरसम्म बसेर भए पनि दुई चार दिनमा सबै काम समाप्त पारेर नै छोड्छु । त्यस बेला पनि किन अबेर आउनु भयो ? भन्न लागी भने अनि मैले जवाफ दिन जानेको छु भनेर मनैभित्र गौरीप्रति उठेका रिसलाई थेचारेर सन्तुष्टि लिन्छ । ...

जुलाई 26, 2026 · 10 min · 1958 words · गीताकेशरी