एक
४५ वर्षको उमेर पुगेपछि शायद स्वास्नीमानिसलाई कुनै निश्चित थलोमा पुगेको जस्तो लाग्छ जहाँबाट अगाडिको सफर गर्नुपर्ने आवश्यकताको अनुभव हुँदैन; मानो जीवनले भार बिसाएर विश्रामको शान्ति पाउँछ । शरीरमा पहिलेको जस्तो चाञ्चल्य रहँदैन; वार्धक्यको स्थूलताले चञ्चलतालाई सम्भव हुन दिँदैन शरीरमा । कञ्चटतिरका केश पनि एक-एक गरेर सेर्तिदै जान्छन् र तिनलाई चिम्टाले टिपेर उखेल्ने जाँगर पनि अब रहँदैन । यत्नसँग पोसेर र जोगाएर राखेको अनुहारमा चाउरीका मसिना धर्साहरू खिचिन लागेका हुन्छन् । मन-हृदय पनि त्यस्तै स्थितिमा हुन्छ निरुद्विग्नताको स्थितिमा । नारी-हृदयको प्रेम र त्यस प्रेमले वरदान वा अभिशापको रूपमा दिएको अलौकिक सुख र त्यस्तै नारकीय अनुताप र ईर्ष्याको ज्वाला, आशा, निराशा सबै अनुभवको केवल एउटा स्मृति छाडेर विलुप्त हुन्छन् । यदि जीवनको यात्रा पनि अरू यात्रासरह दुईतर्फी भएको भए प्रौढा यात्री आफू आएकै बाटोबाट पछि फिर्ने थिई र बाटामा छाड्दै आएका जीवनका अनेकानेक अनुभव, हृदयलाई कंपाउने सुख र दुःखका अनेकानेक अनुभव पुनः प्राप्त गर्न सक्ने थिई । तर जीवनको बाटोमा निरन्तर अगाडि बढ्नु मात्र सम्भव छ । त्यसमा फेरि फर्किने कुनै उपाय रहँदैन ।
४५ वर्ष पुगेपछि इन्द्रमायालाई लाग्यो, शायद अब यात्रा यहीँ टुङ्गियो क्यार । जीवनको सन्ध्यालाई अझै केही घडी बाँकी नै हुँदो हो तर यात्रा भने यहीं टुङ्गिन आयो । यो लामो सफ़रपट्टि ध्यान दिँदा अब उसलाई तीखो अनुभव हुँदैन । केवल कोमल तर किञ्चित् उदास स्मृतिले उसको हृदयलाई करुणामय बनाउँछ । लाग्छ, जीवनको सञ्चित आर्जन सँगालिराख्ने उसको हृदय- नारी भाग्यमानी भई भने शीतल भिजाएको पृथ्वीखण्डजस्तो करुणार्द्र हुन जान्छ ।
आफ्नो जीवनलाई ऊ असाधारण भन्न सक्तिन । अरू नारीहरूकै सरह उसको जीवन पनि साधारण नै रह्यो। र, यदि उसले जीवनमा लिएका तीन वटा निर्णयको हिसाब नगर्ने हो भने नारीत्वको महासागरमा मिसिएको एउटा थोपा मात्र हो ऊ । तर थोपाले थोपाका रूपमा गरेको निर्णयले त्यस थोपालाई नारीत्वको महासागरबाट पृथक् पारेको थियो । इन्द्रमायालाई लाग्यो महासागर थोपाहरूको समष्टि रूप मात्र हो । प्रत्येक बिन्दुले, बिन्दुको हैसियतले आफ्नो अस्तित्वको सम्बन्धमा निर्णय लिन्छ र त्यस निर्णयले त्यो बिन्दुलाई एउटा विशिष्ट पद, मर्यादाले विभूषित गर्छ । आजकाल इन्द्रमाया अकारण तृतीय प्रहरको एकान्तमा घरकाजबाट निवृत्त भएकी नारी, ओछ्यानमा पल्टेर मनमा यस्ता कुरा खेलाएर बसिरहन्छे । उसलाई लाग्छ, यस्ता दार्शनिक खालका विचारहरू निश्चय नै छिप्पिएको उमेरका प्रमाण हुन् । अचेल किन हो कुन्नि, उसले आफ्नो जीवनमा लिएका तीन वटा निर्णयका सम्बन्धमा उसको ध्यान बारबार गइरहन्छ-
सहपाठी युवकलाई प्रेम गर्न थाल्नु उसको निर्णयको परिणाम थिएन । साँच्चै भन्ने हो भने इन्द्रमायाले पीताम्बरलाई गर्न लागेको प्रेम कुन बेला उसको हृदयमा प्रवेश गर्यो, जति प्रयत्न गरे पनि निश्चयसँग ऊ भन्न सक्तिन । पीताम्बर घरमा आएको ऊ मन पराउँथी; आमाले अह्राउँदा पीताम्बरका लागि जब ऊ चिया तयार पार्दथी, उसलाई निश्चय नै बडो आनन्द हुन्थ्यो । पीताम्बर उसलाई अरू युवकहरूभन्दा धेरै नै राम्रो पनि लाग्दथ्यो- अग्लो, सिनित्त परेको, छरितो । र एक दिन उसले भनेकी थिई, “तिमीसँग सिनेमा जाँदा मलाई रमाइलो लाग्छ । अरूसँग उति रमाइलो हुन्न ।” यस बचनले पीताम्बरलाई भएको खुसी बुझेर इन्द्रमाया पनि खुसी भएकी थिई । यी सब कुराहरू क्रमिक विकासको लामो अवधिमा भएका हुन् जब कि दुवैको सम्बन्ध बडो स्वाभाविक रूपबाट दृढतर हुँदै गएको थियो । इन्द्रमायालाई प्रेमको यस्तो उद्भिज विकासको मन्द गतिले गर्दा स्वप्नमा पनि कल्पना थिएन कि पीताम्बरका सम्बन्धमा उसले आफ्नो जीवनमा यस्तो एउटा महान् र प्रथम निर्णय पनि लिनुपर्नेछ जुन निर्णयले समुद्रको एउटा जलबिन्दुमा हठात् एउटा विशिष्ट व्यक्तित्व आरोपित हुन जानेछ । घरमा जब उसको बिहाको कुरा चल्न लाग्यो अनि पो ऊ बिउँझिएकी जस्ती भई । उसले आमालाई भनी, “पीताम्बर छँदैछ नि !” अर्थात् पीताम्बरसँग मेरो बिहा भए भइहाल्यो नि !
आमाले अर्थ बुझेर भनिन्, “इन्द्रमाया ! यो कसरी हुन्छ ? ऊ पर्वते बाहुन, हामी नेवार वैश्य ।”
इन्द्रमायाले भनी, “तर म अरू कसैसँग पनि सुखी हुन सक्तिनँ ।” मुखबाट यो वाक्य निस्किनासाथ इन्द्रमायालाई हठात् अनुभव भयो कि उत्रिन नसक्ने गरी ऊ पीताम्बरको प्रेममा डुबिसकेकी रहिछ । आमाबाबुहरूले जातिको बाधा देखाएको उसलाई अत्यन्त अप्रासङ्गिक लाग्यो । उसलाई लाग्यो- आमाबाबुको संसार जसमा अहिलेसम्म ऊ सास फेरिरहेकी थिई, त्यो त एउटा बिरानो मुलुक पो रहेछ । पीताम्बरको प्रेममा आमस्तक चुर्लुम्म डुबेकी इन्द्रमायालाई समाजका नियम र विधानहरूको बाधा त्यस्ता तृण थिए, जसलाई उसका आमाबाबुहरू उसलाई उबार्ने उद्देश्यले नदीको तटबाट अगाध जलराशिमा फालिरहन्थे ।
त्यस्तो बेलामा इन्द्रमायाले निर्णय लिनुपरेको थियो- जीवनको पहिलो महत्त्वपूर्ण निर्णय । प्रेमले उसको एकान्त हृदयलाई अपरिहार्य नियतिको शक्तिसम्पन्नताका साथ प्रश्न गरेको थियो- हैं या न ?
त्यस दिन प्रेमको त्यो अपरिहार्य प्रश्नका सामुन्ने इन्द्रमाया एकान्त, एक्ली भएकी थिई; असहाया, अनाथा । आमा, बाबु र समाज त्यो एकाकी अवस्थामा उसका काम लाग्ने भएनन् किनभने प्रेमको प्रश्न थियो उनीहरूकै सम्बन्धमा । स्वयं सर्वाधिक प्रिय पीताम्बर पनि उसको काममा आउने भएन किनभने ऊ पनि प्रेमको प्रश्नको सम्बन्धित व्यक्ति थियो । जलबिन्दुलाई महासागरको पानीले कुनै सहायता प्रदान गर्न सकेन । एक्ली भएर जीवनको विराटताको मध्यमा स्थापित हृदय, मन र अपरिपक्व बुद्धि भएकी एउटी युवतीले केबल आफूमा बाँकी रहेको यावत् क्षमताको आधारमा प्रेमको अलङ्घय प्रश्नको उत्तर दिनुपर्यो ।
आजकी भुक्तभोगी, शान्त इन्द्रमायालाई सोह्र वर्षीया इन्द्रमायाको सम्झना हुन लाग्यो । परिपक्वताको करुणामय कुइरोबाट उसले युवतीको त्यस दिनको उद्विग्नतालाई टाढाबाट देखिने कुनै दृश्यजस्तो हेर्न लागी । इन्द्रमाया जतिसुकै सुन्दर तथा चञ्चल बालिका भए पनि उसमा चिन्तनशीलताको अभाव थिएन । उसका अगाडि उभिएको प्रश्न थियो- एकातिर बाबुआमा र त्यो समाज, जसको एउटी समस्या भएर ऊ यति ठूली भई जुन समाजको भूमिमा उसका सारा सम्बन्धहरूका जरा फैलिएका थिए र अर्कोतिर एउटा छुट्टो व्यक्ति पीताम्बर- समाजभन्दा बाहिरको प्राणी। पीताम्बर असम्पन्न व्यक्ति थिएन तर असम्पन्नताको बाधापट्टि इन्द्रमायाको ध्यान पटक्क गएको थिएन । उसलाई रोज्ने वा नरोज्ने प्रश्नमा उसको पक्षमा केवल त्यही एउटा अकिञ्चन व्यक्ति मात्र थियो, अर्कोतिर चाहिँ दलबलसहितको बृहत् समाज । कसलाई रोज्ने इन्द्रमायाले ? एक्लो कृष्णलाई कि अक्षौहिणी सेनालाई ?
प्रेमको अर्को पनि रूप हुँदो रहेछ भन्ने अनुभव इन्द्रमायालाई अलिअलि गर्दै हुन लाग्यो बडो द्रुतगतिका साथ । घरमा उसको बिहाको कुरा चल्दा जुन दिन उसले आमालाई एउटी बालिकाको सरलताका साथ सोझै भनेकी थिई, “म पीताम्बरबाहेक अरू कसैसँग सुखी हुन सक्तिनँ;” त्यसै दिन उसले बालिका वयलाई नाघेर यौवनको सँघारमा टेकेकी रहिछ । अविस्मरणीय घडी थियो त्यो दिन । त्यही दिन उसले प्रेमको एउटा रूप देखेकी थिई पीताम्बरसँगको बसउठबाट, ऊसँगको हेलमेलबाट रमाएर आएका आनन्द र सुखका अनेकानेक घडी र घटनाहरू । नजान्दानजान्दै पनि ती सुखमय घडीहरूको अहिलेसम्मको सञ्चयले इन्द्रमायाको हृदय कति ऐश्वर्यवान् भइसकेको रहेछ, त्यसको अनुभव उसलाई त्यस दिन भएको थियो प्रेमको मृदु सौरभमय रूप । यो रूपबाहेक अर्को रूप पनि छ प्रेमको भन्ने उसलाई बिस्तारबिस्तार ज्ञान हुन लाग्यो त्यही दिनदेखि ।
आमासँग भएको त्यो हलुका किसिमको उत्तर-प्रत्युत्तरपछि इन्द्रमाया जुरुक्क उठेर आफ्नो कोठामा गई र आफ्नो जीउलाई ओछ्यानमा फालिदिई । शरीर क्लान्त भएजस्तो लाग्यो र हृदय एक्लो । साथीसहेलीहरू सधैंको जस्तो उसलाई खोज्दै उसका घरमा पुगे र भने, “क्या हो इन्द्रमाया ! किन दिउँसै ओछ्यानमा यसरी सुतिराख्या’ ? जाऔं, मेटिनी सो हेर्न। ‘झुमका’ बडो राम्रो फिल्म छ रे।”
इन्द्रमायाले आलस्यको स्वरमा पल्टेको पल्टेकै भनी, “म जान्नँ ।”
उसलाई एक्लै बसेर सोचिरहने मन थियो । पहिले भने यसरी एक्लै बस्ने उसको कहिल्यै बानी थिएन । आज साथीहरूले रमाइलो गरौं भनेर निम्ता दिँदा पनि ऊ ओछ्यानबाट उठ्न खोजिन । साथीहरूले धेरै आग्रह गर्दा एकपल्ट त ऊ झर्की पनि । साथीहरूले सोधे, “के भो इन्द्रमाया ? सन्चो छैन ?"
यथार्थमा ऊ अस्वस्थ नै थिई । जीउ शिथिल थियो र केही रन्केको पनि, कपाल पनि भारी थियो । … व्यथा ! प्रेमको व्यथारूप यही रहेछ; आत्मा एक्लो र शरीर पीडामय हुने । र, सबभन्दा अनौठो त उसलाई लाग्यो कि प्रेमको चिन्तनमा पर्दा उसले बडो स्वार्थपरताका साथ साथीहरूलाई घरमा स्वागत गरिन र उनीहरूको साख्याग्रहका प्रति रुखो आचरण देखाई। ऊ यस्ती कहिले पनि थिइन । ऊ त असाध्य सामाजिक थिई । त्यस कारण ऊ कुनै पनि समाजको केन्द्र हुन पुग्थी, आफ्नो मिलनसार स्वभाव र सामाजिक गुणले गर्दा । आज प्रेमले उसको यो आवरण पनि मिल्काइदियो । प्रेमको स्वार्थपरताको अग्निमा दीप्त भएकी नारीले यौवनको व्यथामय अनुभवको पहिलो स्वाद पाई। प्रेम स्वार्थपरता हो, यो एउटा एक्लोपन हो, व्यथा हो तर साथै दुर्दमनीयता पनि हो भन्ने ज्ञान इन्द्रमायालाई त्यस बेला भयो जब उसले साथीहरूलाई घरबाट निरादरका साथ फर्काइदिएर आफ्नो उत्तप्त शरीरलाई ओल्टाइ-पल्टाइरही ।
फेरि प्रेमको औषधि पनि केही रहेनछ । दिनप्रतिदिन एकनाशको पीडा, मर्मको कुन्नि कुन स्थलमा निरन्तरको चोट, मुक्त हुन नसक्ने सदाको तल्लीनता । इन्द्रमाया एकोहोरी हुँदै गई। कलेज जान बन्द भयो- आमाबाबुको आयोजनानुसार र स्वयं पनि आफ्नो अनिच्छाले गर्दा । सिनेमा, पिकनिक, बाहिरका सबै रमिता र आकर्षणबाट ऊ पन्छिई । आमाबाबुहरूले प्राप्त अधिकारको प्रयोग गर्दै यौवना कन्याको हठलाई सामाजिक नियम र मर्यादाको वशमा राख्ने उद्देश्यले बाहिरको संसारमा जाने उसको बाटो थुनिदिए । यो व्यवस्था अनावश्यक थियो किनभने इन्द्रमाया आफूमै लीन भएर कछुवाले आफ्नो शिर र अरू अवयवहरूलाई आफूभित्रै समेटेजस्तो बस्न लागी । बाहिरको जगत् निष्प्रयोजनीय थियो उसका लागि । घरका मातापिताले उसको नियन्त्रणका लागि जुन व्यवस्थाको प्राचीर उसका चारैतिर खडा गरेका थिए त्योभन्दा सुदृढ, अग्लो पर्खाल इन्द्रमायाले स्वयं आफैं निर्मित गरेकी थिई- आफूलाई थुन्नका निम्ति । आमाको मातृहृदय बेचैन हुन्थ्यो- इन्द्रमायाको यत्रो ढिपी देखेर । उनीहरूको उद्देश्य इन्द्रमायालाई सुधार्ने थियो- दण्ड दिने होइन ।
आमाले अत्यन्त ममताको स्वरमा भनिन्, “छोरी ! किन यस्तो गरेकी ? कुनै कुरामा पनि तँ रमाइलो मान्दिनस् । एक्लै कोठामा बसिरहन्छेस्; भात पनि राम्ररी खान्नस् ।”
इन्द्रमायाले उत्तरमा आफ्ना ठूल्ठूला आँखालाई - जो त्यस बेला भावशून्य खाल्डा भएका थिए- आमातिर पल्टाई र आमालाई आफ्नो कपाल सुमसुम्याउन दिइरही ।
आमाले फेरि भनिन्, ‘एउटा अर्को पनि कुरा छ तिमीले बुझ्नुपर्ने । हामी हौं राजाका मानिस; र समाजमा हाम्रो इज्जत दरबारसँगको हाम्रो पुरानो सम्बन्धले भएको हो । पीताम्बर पार्टीको मानिस, जसलाई दरबार फुटेको आँखाले पनि हेर्न सक्तैन । तिम्रै सुखका निम्ति पनि, उसका प्रति दरबारको त्यस्तो कुभावना छ भने तिम्रै सुखका लागि पनि मैले भन्नुपर्छ- कति दिनसम्म ऊ बाँचीबाँची हिँड्ला र ?"
इन्द्रमायाले कोमल स्वरमा उत्तर दिई, “के, त्यसो भए झन् मेरो स्थान पीताम्बरको छेउमा नै हुनुपर्ने होइन र ?”
कुनै छक्कापन्जा नजान्ने र अहिले त छोरीका प्रति उत्पन्न ममताले झन् सोझी भएकी आमाले इन्द्रमायाको तात्पर्ययुक्त वाक्य बुझिनन् । केवल यति मात्र बुझिन् कि छोरीको ढिपी उस्ताको उस्तै छ । एउटा लामो उच्छ्वासलाई दैवका प्रति चढाएर हातले घुँडा टेक्तै उनले आफ्नो शिथिल शरीर उठाइन् र विफल कामनाको ज्योतिहीन दृष्टि छोरीउपर फालेर उनी कोठाबाट बाहिर गइन् ।
इन्द्रमायाले आमा गएको खाली ढोकातिर धेरै बेरसम्म हेरिरही । उसलाई लाग्यो, जुनसुकै कुराले पनि एउटै केन्द्रतिर बाटो देखाइरहेको छ; सबै कुरा केवल एउटा बिन्दुतर्फ लक्षित भइरहेका छन् । यावत् घटनाहरूको, उसको जीवनका तमाम उन्नयनहरूको एउटै लक्ष्य छ, एउटै परिणति, उसले नसोचेका कुरा जसरी वाक्यको रूपमा अप्रत्याशित ढङ्गबाट प्रकट हुन्थे ती पनि उसको नियतिका सङ्केतचिह्न थिए । अहिले भर्खरै उसले आमाको उत्तरमा अप्रत्याशित वाक्य झिकेकी थिई झन् सङ्कटको घडीमा उसको स्थान पीताम्बरको बाहुमूलमुनि छ । पहिलो दिन उसको बिहाको चर्चा चल्दा पनि अप्रत्याशित वाक्य निस्केको थियो उसको मुखबाट “पीताम्बर छदै छ नि !” अन्तष्करणको गोपनमा रक्षित भएर हुर्कदै आएको प्रेम त्यस दिन हठात् दिनको सुस्पष्ट आलोकमा प्रकट भएको थियो । बोतलको कागत त्यो वाक्यले उधारेको थियो; र त्यसै दिन दुर्दमनीय दैत्य विश्वमा प्रकट भएको थियो । त्यही दिनदेखि इन्द्रमाया अहोरात्र त्यसैको दानवीय शक्तिको मुट्ठीमा परेर आकुलव्याकुल रहन लागी । र, आज पनि त्यस्तै एउटा सानो वाक्य उसको मुखबाट फुत्त निस्कियो कि “पीताम्बर वास्तवमा सङ्कटमा छ भने इन्द्रमायाका लागि अब त झन् त्यस्तो कुनै छेको छैन जो दुर्लङ्घनीय होस् ।”
ग्रीष्मको सन्ध्या । सूर्यास्त भइसकेको थियो, तर एउटा अनौठो धूमिल प्रकाश आकाशमा व्याप्त थियो । टुंडिखेलको छेउछाउका रूखहरू दिनभरिको हुरीमा आफ्ना धेरै पात भुइँमा झारेर अहिले सन्ध्याको विश्राम पाइरहेका थिए । सुकेका पात हावाले बढारिएर सडकछेउका नालीमा पक्तिबद्ध भई थुप्रेका थिए । वायुमा तुवाँलो भरिएको थियो । सन्ध्याको आभाले प्रकृतिलाई एउटा विचित्र अवास्तविकताको चहकिलो पहिरन लगाइदिएको हुँदा घर, रूखपात, सालिक र सडकमा हिँड्ने र टुंडिखेलमा हावा खान आएका नरनारीहरूको समुदायको स्वाभाविक रूप थिएन । यावत् कुरा अनौठा थिए, कमसेकम इन्द्रमायालाई त्यस्तै लाग्यो । हुनसक्छ, धेरै दिनपछि बाहिर निस्केिकी हुनाले त्यस्तो लागेको होस् । अथवा हुनसक्छ, शरीरको कमजोरीले गर्दा, मस्तिष्कको यतिका दिनको एकान्त चिन्तनले गर्दा उसलाई यी तमाम दृश्य तरल तथा अवास्तविक लागेका होऊन् - स्वप्नमा देखिएका चित्रजस्ता । मस्तिष्क र वातावरणको उष्णताले सम्पूर्ण जगत् पग्लिन लागेजस्तो थियो । शहरका सन्ध्याध्वनिहरू एकाकार भएर अस्पष्ट फोकाजस्ता उसको कानमा पटपटी फुट्दथे । ऊ छुट्टयाउन सक्तिनथी कि सन्ध्याका विभिन्न शब्दहरू नारीकण्ठ या बालकण्ठ या कुनै मोटरबाट निस्केका ध्वनि हुन् । विक्षिप्तताको कुनै कारण छैन भन्ने उसलाई निश्चय थियो किनभने उसले यता कैयौँ दिनको तीव्र चिन्तनपछि बडो दृढतापूर्वक यो सङ्कल्प लिएकी थिई र आफ्नो दृढसङ्कल्पकै अनुसार उसका गोडा अगाडि बढिरहेका थिए । सडकको गल्लीबाट निस्केर टुंडिखेल हुँदै ऊ डिल्लीबजारतिर गइरहेकी थिई । सङ्कल्पको स्पष्टता उसका मनमा भए पनि सडकको वातावरण उसका लागि अस्पष्ट थियो ।
इन्द्रमायालाई निश्चय थियो, ऊ मतिभ्रम भएकी छैन; केवल उसको मति बाह्यजगत्भन्दा स्पष्टतर थियो । वास्तविकताउपर मानो एउटा झिल्लीको पातलो पर्दा परेको थियो । तर स्वप्नजगत्मा भने टड्कारो प्रकाश-किरण उसको अन्तस्तलका र उसको विचार-कल्पनाको लोकका प्रत्येक वस्तुलाई स्पष्ट पारेर टल्काइरहेको थियो । अहिले जुन अवस्थामा ऊ चाँच्चाँडो पगले हिँडिरहेकी थिई त्यसमा त्यो संसार जसलाई उसले आजसम्म चिह्नकी थिई, भासिँदै थियो । आमाबाबु, सखीसहेली, इष्टमित्र, नातागोता; यहाँसम्म कि अहिले दृष्टिपथमा परिरहेको वस्तुजगत् सबै अस्पष्टतर हुँदै धूमिल प्रदेशमा बिलाइरहेका थिए । मनको एकाग्रताले, सङ्कल्पको दृढताले, तीव्रताले, प्रेमले रचेको उसको कल्पनाको जगत्, जसमा पीताम्बर अधिष्ठापित थियो र जसमा मानो अब इन्द्रमायाको कार्यरतताको व्यस्त दैनिक जीवन बितिरहेको थियो, आज उसका लागि स्थूलतर र वास्तविक भयो । मनले पीताम्बरसँगको दैनिक जीवनको कार्यक्रम बनाउँदै थियो; तर आँखाले चाहिँ अर्कैपट्टिबाट सहेलीहरूको एउटा सानो डफ्फा पुतलीसडकको मोडतर्फ पसेको देख्यो । इन्द्रमायाको मस्तिष्कको कुनै कुनामा यस्तो ज्ञान भएझै लाग्यो कि यी सहेलीहरू मेटिनी शो हेरेर फर्किरहेका होलान् र अब एकछिन उनीहरू पद्माको घरमा गफ गर्न पस्लान् । र, फेरि उत्निखेरै इन्द्रमायालाई यो पनि लाग्यो- यी सब अवास्तविक लोकका कुरा हुन् जसबाट अब ऊ टाढा हुँदै गइरहेकी छ ।
स्वप्न र यथार्थको यो पारस्परिक आदान-प्रदानको स्थितिमा त्यत्रो लामो बाटो काटेर दिन शेषको अन्तिम प्रकाशमा उसले कालीयानको त्यो सानो पर्खालको बीचमा बनेको फाटकको बन्द ढोकालाई हलुको हातले धकेलेर उघारी। पीताम्बर भित्र चारीमा उभिरहेको थियो । ढोका उघ्नेको शब्द सुनेर उसले फर्केर हेर्यो । इन्द्रमायाको चालढाल र वेषभूषा देखेर ऊ एकक्षण स्तब्ध भयो । इन्द्रमायाको दृष्टि उसमाथि पर्नासाथ स्वप्न र यथार्थको द्वन्द्व उसको मस्तिष्कबाट एकदमै बिलाएर गयो मानो दुवैको स्वप्नको र यथार्थको ज्योति केन्द्र पीताम्बरमा फोकस भएर एकाकार भयो पीताम्बरले हत्तपत्त अघि सरेर एक हातले ढोका थुन्दै अर्कोले इन्द्रमायालाई सहारा दिन पुग्यो । इन्द्रमायाको थाकेको शरीरले ठूलो आड पायो । उसले आफ्नो क्लान्त शिरलाई पीताम्बरको छातीमा अड्याइदिई ।
के इन्द्रमाया त्यो दिन सबै बिर्सन सक्छे र ? आज जीवनको सन्ध्या बेलामा पनि त्यो दिनको यौवनको सर्वप्रथम स्पर्शको अनुभवले पुलकित भएकी इन्द्रमायालाई ऊ झलझली सम्झिरहेको छ । आज अर्की प्रौढा नारी मानो त्यो दिनको अनुभवहीनालाई देखिरहेकी छ; पीताम्बरले चकित भएर हेर्नु र प्रश्न गर्नु - के, इन्द्रा ! कसरी आएकी ? के भो ? किन आएकी ?
र आफूले भने केही नबोलेर एकपछि अर्को प्रश्नको झरी लगाइरहेको पीताम्बरको झुकेको शीरका दुई जिज्ञासु पुरुषचक्षुलाई उसको छातीमा टाउको अड्याएकै गर्दन केही बङ्ग्याएर हेरि मात्र रहनु, हेरि मात्र रहनु, र तबसम्म हेरिरहनु जबसम्म सन्ध्याको प्रकाश एकाएक लुप्त भएर चराचरलाई अन्धकारमा एकाकार गर्दैन ।
र पीताम्बरले भन्नु- अँध्यारो भयो । हिँड भित्र र सबै कुरा खुलस्त बताऊ ।
र सहारा दिँदै आफूलाई बारीबाट घरभित्र लैजानु र आफूले घरको सँघारमा गोडा राख्नेबित्तिकै एकक्षण रोकेर भन्नु पीता ! मैले भन्ने कुरा केही छैन । कैफियत के दिने र ?
त्यसरी अनौठो किसिमबाट उसको स्वयंवर भएको थियो । त्यस्तो स्वयंवर जसले गर्दा उसले आफ्नो जीवनका अरू तमाम सम्बन्धलाई चुँडालेर फ्याँक्नुपरेको थियो ।
रात्रि भयो, सुहागरात उसले काटी । भोलिपल्टदेखि शनैःशनैः ऊ गृहिणीको रूपमा अवतीर्ण हुँदै गई ।
इन्द्रमायाले सोची- समय कति छिछूछिटो बित्दो रहेछ । प्रेममा परेकी नारीको जीवनको झन् के कुरा ? रमाइलोसँग इन्द्रमायाका दिन बित्न लागे पीताम्बरका साथ । माइतीहरूले उसलाई च्वाट्ट बिर्सिदिए भने नै के भयो त ? बा भन्नुहुन्थ्यो रे, “मेरा लागि इन्द्रमाया मरिसकेकी छ । नगर त्यसका कुरा; नभन मलाई कि ऊ कालीथानमा बस्छे कि कहाँ बस्छे र कोसँग ।” आमा भने आँसु चुहाउनुहुन्थ्यो रे- बाको डरले कुनामा बसेर, नदेख्ने गरी । कहिले लुकाएर धाईआमाका हात खाने, लाउने कुराका पोकाहरू र रुपियाँ-पैसा पनि पठाइदिनुहुन्थ्यो । साथीसहेलीहरू पनि छुटे । पहिलेपहिले त उनीहरू इन्द्रमायालाई सम्झेर यसो भेट्न जाऊँ पनि भन्थे रे; तर घरका आमाबाबुहरूले एकदम निषेध गरिदिएका थिए, ‘त्यो वेश्येकहाँ नजानू ।’ पछि उनीहरूले स्वयं पनि इन्द्रमायालाई बिर्सिंदै गए । तर ती सब कुराले इन्द्रमायालाई केही पनि क्षति भएन । गृहत्यागको निर्णय र पीताम्बरको स्वयंवरमा यी सब कुराको परिणति छ भन्ने उसले बुझेकी थिई । र, उसलाई यो पनि थाहा थियो कि अकिञ्चन पीताम्बरको घरमा माइतीको वैभव-सम्पत्तिको सुख पाइँदैन ।
इन्द्रमायाका लागि पीताम्बरसँगको उसको दुनियाँ आफ्नो निजी दुनियाँ थियो, यो दुनियाँ झन् भरिभराउ, झन् व्यस्त, झन् रङ्गमय, झन् रमाइलो । पीताम्बरका राजनीतिक साथीहरूको दल बीचबीचमा उसकहाँ भेला हुन्थ्यो । खूब छलफल हुन्थ्यो । इन्द्रमाया उनीहरूजत्तिकै पढेकी थिई, र राजनीतिलाई उनीहरूले जत्तिकै बुझेकी पनि । उनीहरूको छलफलमा ऊ निस्सङ्कोच भाग लिन्थी । तर ऊ आफूलाई उनीहरूका बीच प्रायः अल्पमतमा पाउँथी किनभने उनीहरू आतङ्कवादी विचारका युवक थिए र इन्द्रमायालाई भने आतङ्कवाद र हत्या राजनीतिको हितकर साधन होइन भन्ने विश्वास थियो । तर जे होस्; हाहाहिही, बहसको गर्मागर्मी, साथीहरू भेला भएका बखत उनीहरूको आदरसत्कार, चियापानीको व्यवस्था र दैनिक गृहस्थीको यावत् जिम्मेदारीको तोडमोडमा इन्द्रमाया अत्यन्त व्यस्त रहन्थी । साथीहरूका उपर ऊ असाध्य ध्यान दिन्थी, “रमेश ! भो अब । यस्तो धपेडी पनि गर्ने हो ? आज यहीं बस; आराम गर ।”
रमेश इन्द्रमायाको हातबाट चियाको गिलास लिंदै भन्थ्यो, “हामीहरूलाई फुर्सद नै कहाँ छ र भाउजूको मायालु आज्ञा पालन गर्न पाउने ?”
स्नेह र कौतुकलाई मिसाएर इन्द्रमाया भन्थी, “आजको लागि तिम्रो क्रान्तिको जिम्मा मैले लिएँ । तिमी निश्चिन्त भएर एक रात यहाँ बिसाऊ । यत्तिले केही बिग्रियो भने ल भो, म बुझाउँला ।”
इन्द्रमायाको आग्रह टाल्ने कसैको सामर्थ्य थिएन । रमेश र अरू साथीहरू बीचबीचमा त्यहीँ रात बिताउँथे ।
केही मायाले सम्बोधन गरेर भन्थे, “दिदी ! तपाईंलाई व्यावहारिक राजनीतिका कुरा के थाहा छ र ? तानाशाहले भयलाई मात्र चिह्नको हुन्छ ।”
इन्द्रमाया हाँसेर सोद्धधी, “जनताले भयलाई चिनेको छैन र ? तानाशाहले हामी-तिमीभन्दा धेरै, कता हो कता धेरै भय उत्पन्न गराउने सामर्थ्य राख्दैन र ?”
सब हाँसेर कोलाहलको स्वरमा भन्थे, “हेर ! कातर नारीको चाला, हेर ।”
त्यो जगत्मा ऊ मात्रै एउटी नारी थिई; त्यसो हुनाले पुरुषको दाँजोमा आफूलाई अध्ययन गर्ने पूरा अवसर उसले पाएकी थिइन । एक त साधारणतः नारीमाथि परिआउने गृहस्थीको पूरा जिम्मेवारी उसले एक्लै बेहोर्नुपरेको थियो । उसको नारी उत्तरदायित्वको पहिलो कर्तव्य थियो पतिका प्रति र त्यो उत्तरदायित्वलाई प्रेमले झन् बढी ताबेदार तुल्याएको थियो । पीताम्बरका सबै सानातिना आवश्यकता-उपर ऊ आफ्नो दृष्टि पुऱ्याउँदधी र उसले आवश्यकताको अनुभव गर्नुभन्दा पहिला नै ती पूरा भइसकेका हुन्थे । उसको खानपिनको, लुगाफाटाको र अन्य सब प्रकारका सुविधाको इन्द्रमाया सतर्कता-पूर्वक विचार गर्दथी । पीताम्बरका इष्टमित्र र विशेष गरी राजनीतिक सहयोगीहरूका प्रति उसको विशेष उत्तरदायित्व थियो । त्यति मात्र होइन, पीताम्बरको राजनीतिक जीवनमा सहयोगी भन्ने जिम्मेदारी पनि उसका उपर परेको थियो । यी सबै जिम्मेदारीलाई पूरा गर्ने प्रक्रियामा उसलाई नारीत्वको पार्थक्यको सूक्ष्म अनुभव हुन लाग्यो ।
एक दिनको कुरा हो; साथीहरूलाई बिदा गरेर रातिको भोजन-पछि सुत्ने ओछयानमा पल्टीपल्टी पीताम्बर र इन्द्रमायामा कुरा हुन लाग्यो । यस्ता उनीहरूका बीच भइरहन्थे ।
पीताम्बरले भन्यो, “त्यो दिन तिमी कत्रो हिम्मतका साथ आएकी हैं ! अहिले यति दिनपछि हाम्रो जीवन साधारण गतिमा प्रवाहित हुन लागेको छ; र अब लाग्छ, त्यस दिन तिमीले मकहाँ आउनु एउटा साधारण घटना थियो । तर … …”
इन्द्रमायाले उत्तर दिएकी थिई, “नारीमा एक किसिमको हठ हुन्छ जसलाई पुरुषमा हिम्मत भन्छन् । र फेरि, मेरो सबभन्दा ठूलो सहायक त प्रेम पनि थियो नि मसँग । त्यसले मेरो निर्णयको यात्रा एकदम सजिलो पारिदियो ।”
पीताम्बरले विकृत भएर व्यग्र कण्ठले भन्यो, “मैले पनि धेरै दिनसम्म सोचें, तर निर्णय लिन सकेको थिइनँ, तिम्रा आमाबाबु, समाज र स्वयं तिम्रो पनि विचार आउँथ्यो मलाई ।”
पीताम्बरको सलज्ज कण्ठध्वनिलाई लक्ष्य गरेर आश्वासनको स्वरमा इन्द्रमायाले भनेकी थिई, “पीता ! पुरुषले धेरै कुराको विचार राख्नुपर्छ । हेरन, तिमीले मेरोसम्मको पनि विचार गर्नुपरेकाले निर्णय लिन हिचकिचाउनुपर्यो । यद्यपि मेरा सम्बन्धमा त्यस्तो हिचकिचाइरहनुपर्ने कुनै आवश्यकता नै थिएन किनभने कुनै क्षण पनि तिमीले मलाई सोधेको भए मेरो स्वीकृति वा अस्वीकृति तत्क्षण नै पाइहाल्ने थियौ ।”
केही आर्द्र भएर पीताम्बरको शरीरसँग टास्सिदै, उसको छातीलाई सुमसुम्याउँदै इन्द्रमाया भन्दै गई, “हामी नारी; हामीमा एकोहोरो प्रवृत्ति हुन्छ- एकोहोरो हठ । त्यसो हुनाले मलाई ‘हैं’ या ‘न’ को निर्णय लिन धेरै समय चाहिएन । हठले बलपूर्वक ‘हैं’ को बाटोमा तान्दै ल्याइहाल्यो । फेरि प्रेमले पनि मेरो यात्रा धेरै सजिलो पारिदियो । त्यो मेरो कुनै ठूलो साहस थिएन पीता ! नारीसुलभ हठ र नारीसुलभ प्रेम थियो त्यो ।”
यस्तै कुरा भए त्यो रात । उनीहरूमा यस्ता कुरा बराबर भइरहन्थे । यस्ता अवसरमा इन्द्रमाया पीताम्बरको सोचलाई बुझ्दथी र करुणार्द्र भएर पुरुषहृदयको अभिमानलाई सान्त्वना दिन्थी । उसले भनेका कुरा उसका मनका सोझा कुरा थिए, बनाएका होइनन् । ऊ एकान्तमा बसेर प्रेमको भावनालाई केलाएर हेर्न खोज्दथी; र उसलाई लाग्दथ्यो- पुरुषभन्दा नारीलाई प्रेमको बढ्ता खाँचो छ किनभने उसले आफ्नो हृदयको अदुर्लभ्य अभियाचनालाई बुझेकी थिई । उसलाई प्रेमको यो सम्बन्ध स्थापित गर्न पुरुष भएर पीताम्बरले प्रथम कदम चाल्नुसट्टा आफूले नारी भएर नै चालेकोमा पनि लज्जाभावनाको अनुभव हुँदैनथ्यो । प्रेममा पहिलो पाइलो नारीले त हाल्नुपर्छ नि ! र जीवनपर्यन्त यो प्रथम चालले स्थापित गरेको सम्बन्धमा नारीले नै अगुवा भइरहनुपर्छ । प्रकृति हो यो, यस्तै छ नारीस्वभाव ।
पीताम्बरको आफ्नो समाजमा ऊ पूर्णरूपले स्वीकृत भइसकेकी थिई । आखिर पीताम्बरको समाज राजनीतिक समाजभन्दा विस्तृत नै कहाँ थियो र ? उसका आमाबाबु, भाइबहिनी कोही थिएनन् । पहाडमा काकाभतिजाहरू होलान् तर नाताको यो सम्बन्धलाई पीताम्बर शहर आएदेखि न स्वयं उसले न उसका पहाडका नातागोताहरूले आपसी आदान-प्रदान, पत्रव्यवहारादिद्वारा रक्षा गरेका थिए । त्यसो हुनाले यस अर्थमा पीताम्बरलाई टुहुरो भने पनि हुन्थ्यो । तर शहरमा उसका केही इष्टमित्रहरू थिए- स्कूल, कलेजका सहपाठीहरू; र उसको समाज, सही अर्थमा राजनीतिक कार्यकर्ताहरूको जमात थियो । यस समाजमा इन्द्रमायाले आफ्नो स्वाभाविक स्थान पाइसकेकी थिई, यसैमा घुलिमिली भएर ऊ मग्न थिई । पीताम्बरका सहकर्मीहरूले पनि उसलाई विभिन्न नाता-सम्बन्धहरूको सूत्रमा बाँधेका थिए । कोही दिदी भन्थ्यो, कोही भाउज्यू र यदि कोही वयस्क छ भने बहिनी र छोरी पनि । पीताम्बरकी त ऊ पत्नी नै थिई । त्यसो हुनाले नेवार समाजको एउटा परिवारको माटोबाट उखेलिएकी इन्द्रमायाले यो नयाँ समाजको माटोमा छिट्टै जरो हाली र यो समाजको आफ्नो वातावरणअनुसार हुर्किदै गई, र अन्तमा उसलाई लाग्न थाल्यो यहाँको मलजल र हावापानी उसको लागि बढ्ता स्वाभाविक रहेछ ।
साथीहरूलाई पनि इन्द्रमायाको हृदयले; उनीहरूका उमेर, आचरण र स्वयं आफ्नै हृदयको आग्रहले विभिन्न सामाजिक सम्बन्धको संज्ञा दिँदै आफ्नो नजिकै पारेको थियो । ऊ कसैलाई भाइ भन्थी र जसलाई भाइ भन्थी त्यो उसको हृदयले अनुभव गरेको भावनाको रूप थियो; र एवंप्रकार कसैलाई दाजु, कसैलाई देवर, कसैलाई काका र कसैलाई बा भनेर आफ्नो हृदयले ग्रहण गरेको भावनात्मक नाताले सम्बोधन गर्ने गर्दथी । केवल रमेशका सम्बन्धमा भने उसका अस्पष्ट भावना थिए । उसलाई सामाजिक सम्बन्धको स्पष्ट कोठामा राख्न सक्तिनथी ऊ । ऊ उसलाई अरूभन्दा बढी माया गर्दथी र पतिको पनि ऊ सर्वप्रिय साथी भएकाले झन्डै झन्डै देवरको रूपमा उसलाई पाउन खोज्दथी । एक-दुई पटक उसले देवर भनेर उसलाई बोलाएकी पनि थिई । तर किन हो कुन्नि यस सम्बन्धले उसको हृदयको भावनाको पूरा व्याख्या गर्दैनथ्यो । रमेश पनि इन्द्रमायाका प्रति विशेष अनुराग राख्थ्यो; यो उसको आचरणको अप्ठ्यारोपन इन्द्रमायालाई मात्र थाहा हुन्थ्यो । इन्द्रमाया यसले घबडाउँदथी । उसलाई लाग्थ्यो, सामाजिक सम्बन्धका अनेक कोष्ठमा नबस्न खोज्ने भावना शायद वाञ्छनीय होइन । योभन्दा विशेष दोषबोध इन्द्रमायालाई थिएन । रमेश आउँदा उसलाई रमाइलो लाग्थ्यो र उसको आग्रहमा नाना नगरेर जहिले पनि ऊ त्यहीँ रात बिताउँथ्यो । यसमा कुनै किसिमको अस्वाभाविकता थिएन किनभने ऊ पीताम्बरको पनि सबभन्दा प्रिय साथी थियो ।
इन्द्रमायाले एक पटक कोल्टे फेरि र, एउटा हलुको निश्वास उसको मुखबाट निस्क्यो । प्रेमको लामो अनुभवमा, जसमा कमसेकम आफ्नोतर्फबाट चरम आत्मोत्सर्ग पनि निहित छ । उसलाई लाग्यो, स्त्रीपुरुषको सम्बन्ध जतिसुकै प्रेमको प्रगाढताले नै किन बाँधिएको नहोस् आ-आफ्नो विभिन्न स्वभाव र आवश्यकताले गर्दा निरन्तर तनावको स्थितिमा रहन्छ- तन्किएको, कस्सिएको स्थितिमा ।
एक दिन ईर्ष्याको तीतो पोख्दै पीताम्बरले भनेको थियो भान्साकोठामा आएर, “साथीहरूको भेलामा तिमीलाई बडो आनन्द आउँछ, हगि ?”
पीताम्बरको स्वरको किञ्चित् अस्वाभाविकताले इन्द्रमायाको हृदयलाई छ्वास्स छोयो; तर सरलताका साथ उसले उत्तर दिई, “मेरो समाज नै यही हो । यस समाजमा म रमेकी छु ।”
पीताम्बरले आफ्नो विषाक्त भावनालाई झन् स्पष्ट पार्दै भन्यो, “किन नरम्नु त; यत्रो पुरुषको समाजमा तिमी मात्रै त एउटी नारी छयौ नि ! त्यसैले तिम्रो मूल्य, तिमीलाई लाग्दो हो, धेरै बढ्न गएको छ कसो ?”
साथीहरूलाई चिया बनाउँदा बनाउँदै इन्द्रमाया थामिई र पीताम्बरको विकृत मुख हेर्न लागी। अनि एकछिनपछि उसले भनी, “छि छिः ! के भनेको पीता ? के ती मेरा दाजुभाइहरू होइनन् ?”
सलज्ज अनुहार लिएर पीताम्बर भान्साकोठाबाट बाहिर निस्कियो । इन्द्रमायाले चिया बनाएर एउटा ठूलो किश्तीमा चियाका सरजामहरू सजाइवरी साथीहरू भएको बैठकमा पुऱ्याइदिई । त्यसपछि आफ्नो कोठामा आएर बडो व्यग्रताका साथ पुरुषनारीको प्रेमको सम्बन्धमा गम्न थाली ।
पीताम्बरको आजको यस्तो व्यवहार उसलाई पटक्क मन परेन । पहिले पनि एक-दुई पटक साथीहरूसँगको उसको हेलमेललाई लक्ष्य गरेर पीताम्बरले एकदम ठट्टाको स्वरमा भनेको थियो, “इन्द्राको गोडा आजकल भुइँमा छैन । दिदीबहिनी, भाउज्यू आदि पुरुषकण्ठे सम्बोधनले उसलाई पखेटा हालिदिएको छ ।”
इन्द्रमायाले पनि हाँसेर ठट्टा गरेकी थिई, “त्यसमा झन् अर्को एउटा बलिष्ठ पुरुषकण्ठ पनि थपिएको छ, जो भन्छ, ‘इन्द्रा, मेरी प्यारी;’ र त्यो सम्बन्धले सबभन्दा माथिको आकाशमा पुग्ने पखेटा उसले पाएकी छ ।”
एकाध पटक उसले पनि परिहासमा पीताम्बरलाई चिमोटेकी थिई, “तिमी नि ? बाहिर शहरका धेरै केटीहरूका आँखाका नानी हुन पुगेका छौ रे नि !”
पीताम्बरले हाँसेर कुरा टारिदियो । वास्तवमा इन्द्रमायाले उसका सम्बन्धमा यस्ता धेरै कुरा सुनेकी थिई । रमेश उसलाई एक्ली पाएका बखत भन्थ्यो, “भाउजू ! पीताम्बर दाइका उपर अलिक नजर राख्ने गर्नोस्; यताउति छाडा हुँदै जान लाग्नुभएको छ ।”
पीताम्बरका बाहिरका महिलामित्रहरूको कुरा नबिराएर रमेश चलाउने गर्थ्यो । इन्द्रमायालाई यी सब कुरा थाहा थियो । कुन नारीलाई आफ्नो पुरुषको यस्तो आचरण अज्ञात रहन्छ र ? तर ईर्ष्याको भावना भने उसमा पटक्कै जागेन । केवल लाग्थ्यो, उसको प्रेरणा आत्मसमर्पणको अझै माग रहेछ, उसले अझै दिन पुगेको रहेनछ । त्यही निरन्तरको दिइरहने प्रक्रियामा आत्मसमर्पण गर्दागर्दै उसका हृदयमा ईर्ष्याले स्थान पाउन सकेको थिएन ।
तर आज पीताम्बरले त्यसरी घोचेर भनेकाले इन्द्रमाया बडो व्यग्र भई र हतारिँदै बैठकमा चिया पुऱ्याएर आफ्नो कोठामा आएर घोरिन थाली, ‘निश्चित नै पीताम्बर ईर्ष्याले उत्पीडित रहेछ । के पुरुषहृदयले ईर्ष्याको तीतो-पिरो चाटमा मात्र प्रेमको स्वाद पाउने गर्छ त ? ईर्ष्याको कुनै कारण नभए पनि के उसले कल्पनाको सन्देहलाई उमारी-उमारीकन पीडित हुनुपर्दो रहेछ त प्रेमको स्वाद पाउन ? कठै ! पुरुषहृदय वञ्चितताबाट कति आक्रान्त ! किन आक्रान्त भने नारीजस्तो आत्मसमर्पणबाट उसले परिपूर्णता आर्जन गर्न सक्तैन ।’
त्यस दिन पुरुषप्रेम र नारीप्रेमका भिन्न रूप इन्द्रमायाले देखी । ‘पुरुषस्वभाव र नारीस्वभावको भिन्नताले प्रेमको रूपमा पनि भिन्नता ल्याएको रहेछ । पुरुष स्वभावले नै शासक हुन्छ । त्यसको स्थिति नै आरोहणको छ, त्यसले निरन्तर आरूढ भएको पाउनुपर्छ आफूलाई । त्यस स्थितिमा मात्र उसको सम्मान, प्रतिष्ठा र पुरुषत्व सुरक्षित रहेको छ भन्ने ऊ सम्झन्छ । मान-अपमानको इखालु दृष्टि ऊ सधैं चनाखो राख्छ- कहीँ कसैको स्पर्धाले उसको पदहानि त भएन ! अविश्वास, सन्दिग्धता र ईर्ष्याको काँडाले ऊ बराबर बिझाएको पाउँछ । हामी नारीजातिको भने ठीक उल्टो आचरण हुन्छ । हामीले त समर्पण गर्न मात्र जानेका छौं- केवल तल पर्न । हामीहरूको स्वाभाविक स्थितिले प्रकृतितः आरोहको याचना गर्छ । त्यसो हुँदा हाम्रो प्रेममा दम्भ नै कहाँ छ र ! कहाँ छ त्यसमा त्यस्तो अधिकारको चाहना जसको सशङ्कित दृष्टि आफ्नो अधिकारसीमाको रक्षाका लागि सतत जागरुक रहन्छ, रातोदिन पहरामा बसेको प्रहरीजस्तो हामीमा ईर्ष्या असङ्गत हो । पुरुषमा चाहिँ त्यो भएन भने उसको स्वाभाविक आकर्षण नै हुन्छ ।’ यसरी गम्दागम्दै इन्द्रमायालाई लाग्यो, ‘पीताम्बरको ईर्ष्या उसको प्रेमको प्रमाण हो जुन प्रेमले मेरा उपर आफ्नो शासनाधिकारको बारबार दावा राखिरहन्छ ।’
इन्द्रमायालाई एकछिन आन्तरिक सन्तोष भयो कि पीताम्बरको ईर्ष्याको क्रुद्ध फणा यस कारणले फुङ्कार्दै उठेको हो कि उसको प्रेमको अधिकार अक्षुण्ण रहिरहनुपर्छ र अकुण्ठित पनि । उसले आफ्नो प्रेमको सिद्धि पनि यस कुरामा पाई कि उसको प्रेम उत्सर्गमय भएको ईर्ष्याशून्य छ । यदि पीताम्बरको बहुनारी प्रयोजनले उसको हृदयमा प्रतिहिंसा जाग्दैन भने त्यही त हो नि नारीको आफ्नो स्वभाव, स्वधर्म ।
तर एउटा मसिनो कुराले मात्र इन्द्रमायाको पतिपत्नीको पूर्णाङ्ग सुन्दरतामा सानो खोट रचिरहेको थियो । त्यो मसिनो कुरा थियो, उसको हृदयमा मधुरो आवाजमा सुनिरहने रमेशको आग्रह वाणी, ‘म कहाँ छु नि; सम्बन्धको कुन स्तरमा ? उसको हृदयले रमेशलाई कुनै निश्चित सम्बन्धको सूत्रमा उन्न नसक्ता उसलाई आफ्नो हृदयभित्र स्वेच्छाले आउनेजाने छूट दिएकाले यदि पतिमा ईर्ष्याको भाव जाग्रत गराएको हो भने त्यो सीमासम्म यो कुराले उसको आत्मसमर्पणमा पनि बाधा ल्याउन सक्तछ । भन्छन्, खोट लागेको बलिलाई देवीले ग्रहण गर्दिनन् रे । त के किञ्चित् नै भए पनि भावनाको नदेखिने सुदूर सीमामा कतैबाट सानो प्रथमाक्रमण भएको बुझ्दाबुझ्दै किञ्चित् नै भए पनि खोट लागेको समर्पण पूर्ण हुन्छ र ? के त्यसको सिद्धिमा कतै पूर्णता आउन सक्ला र ?’
इन्द्रमायाले त्यस दिन एकदम तटस्थ भएर निर्णय गरेकी थिई कि उसको हृदय केही हदसम्म खोटिएको छ, केही हदसम्म उसको प्रेम अपूर्ण नै रहन गएको छ; केही हदसम्म पीताम्बरको ईर्ष्याको अग्निबीज इन्द्रमायाले नै उसलाई दिन पुगेकी हो । प्रणयव्रत यदि मनसा, वाचा, कर्मणाले एकसाथ पूरा गर्नुपर्ने हो भने इन्द्रमायालाई आफ्नो सफाइमा यति मात्र भन्नु थियो, ‘हे भगवान् ! वाचा र कर्मणाले म व्रतमा एकनिष्ठ छुः केवल मनसाको एउटा क्षुद्र कुना मात्र धूमिल भएको छ । उसले गर्दा म स्वयं आफूलाई दण्डित भइरहेकी पाउँछु । दण्ड बेहोरेपछि दोषमुक्त हुनुपर्ने, मनसाको निरन्तरको अपराधलाई निरन्तरको दण्ड सहेर म अकलुषित भइरहेकी छु।’
इन्द्रमायालाई एउटा अर्को कुरा पनि लागेको थियो, ‘भैगो, पीताम्बरको बहुपत्नी सम्बन्धले पुरुषाधिकारभित्रकै त्यो कुरा भए पनि मेरो यो सानो त्रुटिलाई, मनभित्र एउटा पातलो पत्र भएर जमेको काईलाई आफ्नो सहृदयताद्वारा क्षमाको आवरण ओढाइदेओस् !’
यस प्रकार विचारको तानाबाना रच्तै ऊ धेरैबेरसम्म कोठामा बसिरही । साथीहरू चिया खाइवरी बहस समाप्त गरेर जाने तरखरमा लागे । ‘दिदी खोइ, आज देखापर्नुभएन । चिया ल्याउँदा यसो झुलुक्क हुनुभएको थियो’ र ‘खोइ बहिनी’ र रमेशको विशिष्ट स्वरमा ‘खोइ भाउजू’ भनेका प्रश्नवाची वाक्यहरू उसको कोठासम्म सुनियो । तबसम्म इन्द्रमाया पनि आश्वस्त भइसकेकी थिई । उसले सबै साथीहरूलाई कोठाको ढोकासम्म आएर सधैंको जस्तो उभिएर मुस्काउँदै बिदा गरी ।
यस प्रकार इन्द्रमायाको जीवन बितिरहेको थियो अनि एक रात यस्तो एउटा घटना घटयो-
तिनताक दलको राजनीतिक काम निकै बढ्न गएको थियो । कार्यकर्ताहरू सबै व्यस्त थिए; घरमा पहिलेको जस्तो हूल, भेला हुँदैनथ्यो । छलफल पटक्कै बन्द थियो । कहिले कहिले फाट्टफुट्ट साथीहरू आउँथे । पीताम्बर पनि धेरै बाहिरै रहन्थ्यो, या घरमा आए पनि असाध्य हडबडीमा रहन्थ्यो । त्यसताका उसको मगज त्यसै तातेको हुन्थ्यो । उसको यस्तो स्वभाव देखेर इन्द्रमाया ठान्दथी, ‘यो सबै धपेडीको परिणाम हो ।’ पीताम्बरको व्यवहारमा पनि ऊ घरी-घरी शुष्कताको परिचय पाउँथी। उसलाई धेरैजसो घरमा एक्लै बस्नुपर्थ्यो र आलस्यले यताउति गरेर दिन काट्नुपर्थ्यो अनि एक दिन एकान्तको भारी वातावरणमा उकुसमुकुस हुँदा उसलाई झल्याँस्स भएर सम्झना भयो कि अहिलेसम्म पनि ऊ सन्तानवती हुन सकेकी छैन । पतिको प्रेममा फुर्सत नपाएकी नारीलाई आज एकान्तमा अचेलको फुर्सतको घडीमा एउटा ठूलो वञ्चितताको बोध भयो । उसले हठात् एउटा ठूलो अभावको शून्यताको विकराल मुख आफ्नो अन्तर्हृदयमा बाइरहेको देखी । यत्रो रमाइलो र चहलपहलको जीवनको मध्यमा यतिका दिनदेखि ऊ एउटा महान् प्राप्तिबाट वञ्चित पो भइरहेकी रहिछ भन्ने उसले थाहा पाई । चहलपहल थार्मिंदा वञ्चितताको शून्य मात्र त्यहाँ बाँकी बचेको थियो आज ।
किन त्यस्तो भएछ ? नारीत्वको कुन त्रुटिले अझसम्म ऊ माता हुन पाइन ? पेटमा हात राखेर उच्छ्वसित स्वरमा उसले आफैलाई भनी, ‘केको त्रुटि हुन गएछ यहाँ ?’ हो, यता धेरै दिनदेखि पीताम्बरसँगको प्रणयविलास खण्डितमाथि खण्डित भइरहेको थियो । कुन्नि किन हो पीताम्बर वैवाहिक शय्यामा तड्केर हटेजस्तो गर्थ्यो । आज उसलाई लाग्यो कि के जननी हुन नसकेकीमा पीताम्बरले उसलाई यसरी दण्डित गरिरहेको त होइन ? प्रेमको सम्बन्धको यत्रो विडम्बना ! यदि यो कुरा सत्य हो भने लक्ष्यप्राप्तिको प्रयासमा भाँजो हालेर प्राप्य वस्तु शीघ्र नै उपलब्ध होस् भनी कसरी आशा राख्ने ? सहयोगको हात झिकेर प्राप्य कसरी उपलब्ध हुन सक्छ, पीताम्बर ?
इन्द्रमायाले आज पो यी सब कुरा झलझली सम्झिन लागी जब पुरुषदल आफ्नो काममा बाहिर व्यस्त थियो र घरभित्र एउटी नारी काम नपाएर अल्लारिएको थिई । आज यो एक्लो घरले बालकको तोतेबोलीको मानो माग गरिरहेको थियो; मानो त्यहाँको स्तब्ध दृश्यमा बालकको थेइथेइ गरी हिँडेको जीवनको कामना थियो । इन्द्रमायाले सोची- ‘कठै ! आज मैले आफ्नो गर्भको बालकलाई घुगुति गर्दै खेलाउन पाइनँ ।’
यसरी इन्द्रमाया पश्चात्तापमय वञ्चितताले थिचिएर शिथिल हुँदै गइरहेकी थिई कि कोठाको ढोका घरक्क उघ्रियो र पीताम्बरले प्रवेश गर्यो । झमक्क साँझ परिसकेको थियो तर जाँगर नलागेर इन्द्रमायाले बत्ती बालेकी थिइन । धूमिल प्रकाशमा पीताम्बरको थाकेको अनुहारलाई देखेर भर्खरैको अभावको शून्यताले उच्छ्वसित हुँदै इन्द्रमायाले प्रेमिकाको वाणीमा भनी, “प्रियतम !”
पीताम्बरले शुष्क उत्तर दियो, “यो कस्तो कुसमयको रागिनी !”
पीताम्बरको उत्तरले मानो सहसा इन्द्रमायालाई सचेष्ट बनाइदियो । भर्खरैको आत्मसंवेदनाको भावना हठात् लोप भयो । उसले भनी, “पीता ! शरीरले सहन नसक्ने परिश्रम किन गछौं ? हेर आफूलाई, कस्तो भइसक्यो सुकेर !”
पीताम्बरले उस्तै शुष्क स्वरमा भन्यो, “घरमा पहिले साँझको बत्ती त बलोस् अनि मात्र कसैले आफूलाई हेर्न सक्छ ऊ कति दुब्लाएछ भनेर !”
इन्द्रमाया जुरुक्क उठेर बत्ती बाल्न गई। जाँदाजाँदै उसले मनमनै सङ्कल्प गरी, आज किमार्थ पीताम्बरको मिजास बिग्रिन दिन्नँ । निस्सन्देह पीताम्बरलाई विश्रामको आवश्यकता छ घरमा आएपछि न्यानो प्रेमस्पर्शको पनि । आफू पनि धेरै दिनदेखि मायालु स्पर्शबाट वञ्चित भएर बसेकी थिई। आज दिनभरि अनुभव गरेको शून्यता र वञ्चितताले झन् ऊ प्रेमको स्पर्शका लागि आतुर भएकी थिई ।
कोठाको टेबुलमा बत्ती राखेर उसले पीताम्बरलाई भनी, “झट्टै पानी तताइदिन्छुः मुखहात धोएर आऊ । भान्सा तयार पनि चाँडै गर्छु । आज कतै बाहिर जाने होइन नि ! रात घरमै बिताउनुपर्छ ।”
पीताम्बर कोट फुकाल्न लाग्यो, इन्द्रमाया भान्साको तर्खरमा लागी ।
बितेको लामो समयको मध्यबाट त्यो रातलाई सोचेर ल्याउँदा आज इन्द्रमायालाई लाग्छ, त्यो रातले उसको जीवनको एउटा परिच्छेदलाई टुङ्ग्याएको थियो । त्यसको भोलिपल्ट उसको जीवनको एउटा नयाँ अध्यायको प्रारम्भ थियो । जीवनको प्रथम खण्डमाथि पटाक्षेप गर्ने त्यो रात के सुख र सन्तोषका लागि स्मरणीय छ र आज ? सुख र सन्तोष ? बरु त्यसका ठाउँमा पतिपत्नीका बीचको तानातानी, अररोपन मात्र रह्यो त्यो रात ।
पत्नीले पतिलाई भोजन गराएर आफूले पनि खाइसकेपछि घरमा अरू काम सिद्धघाइवरी साग्रह सुत्ने कोठामा लिएर गई। पतिले भन्यो, “आज म असाध्य थाकेको छु ।”
इन्द्रमायाले देखी कि यथार्थमा पीताम्बर क्लान्त छ । तर के सत्यको दर्शनले शरीर र मनको आन्तरिक आग्रहलाई टार्न सक्छ र चित्त बुझाउन सकिएला; सान्त्वना पनि पाउन सकिएला; तर शरीर र मन त त्यो एक पटकका लागि नै भए पनि क्षुधामय नै रहन्छ । इन्द्रमाया पीताम्बरको क्लान्त शरीरलाई हलुकासँग थिच्न लागी र कुराको सिलसिला प्रारम्भ गर्ने उद्देश्यले भनी, “आज दिनभरि असाध्य शून्य लाग्यो मलाई ।”
पीताम्बरले केवल एउटा सानो ‘हुँ’ भन्यो । इन्द्रमायाले भनी, “तिमी पुरुषहरूलाई बाहिरको काम रहन्छ, व्यस्त रहन्छौ तिमीहरू । त्यसउसले घरको शून्य कस्तो विरक्तिलाग्दो हुन्छ, बुझ्दैनौ ।” पीताम्बरले चुप लागेर सुनिरह्यो ।
इन्द्रमायाले फेरि भनी, “घरमा केटाकेटी भएका भए शून्य हुने थिएन ।”
पीताम्बरले अनावश्यक उत्तेजनामा भन्यो, “तिमी नै होइन आँखा राम्ररी उघारेर यो जीवन ग्रहण गर्न मकहाँ आएकी ?"
इन्द्रमायाले भनी, “हो, त्यसको निम्ति मलाई एकरत्ती पनि पश्चात्ताप छैन । तर तिमी यसरी मेराउपर प्रेमको प्रथम जिम्मेवारी सुम्पेर पश्चात्तापको स्वर झिक्छौ । के तिमीलाई पछितो भएको छ ?”
इन्द्रमायालाई साह्रै नराम्रो ठेस लागेको थियो । बलपूर्वक ऊ आँसु रोक्तै थिई ।
पीताम्बरले केही नरम भएर भन्यो, “मैले त्यसो कहाँ भर्ने ? तर घरमा केटाकेटीहरू भएनन् भनेर मलाई के सुनाएको ? तिमीमा पो कहीँ बिगार छ कि बन्ध्या …।”
इन्द्रमायाले मृदु स्वरमा भनी, “सन्तान भनेको पतिपत्नीको सम्मिलित सहयोगको सुन्दर रचना हो । खोइ यता त्यो सहयोग ?"
पीताम्बरले कोल्टे फर्केर भन्यो, “आज म असाध्य थाकेको छु।”
इन्द्रमायाले उसको शरीरलाई हलुका हातले थिचिरही । शरीरले आराम पाएर पीताम्बर निदायो । इन्द्रमायाले धेरै बेरसम्म उसको शरीर मिचिराखी । रातभरि उसलाई निद्रा परेन; द्वालट्वाल्ती दलिनतिर हेरेर उसले रात बिताई। आँखा कहिले कहिले आँसुले पोल्थ्यो । शायद धेरै दिनदेखि पीताम्बरले राम्ररी सुत्न पाएको थिएन; खूब मस्त निद्रामा सुतिरह्यो । इन्द्रमायालाई लाग्यो - नसुतेको रात पनि बित्दो रहेछ; र कहिले उज्यालो होला र घरको काममा लाग्न पाइएला भनी निराशामा ऊ प्रभातको प्रतीक्षा गरिरहेकी थिई कि बारीमा कोलाहल भएको उसले सुनी। यो के भएको भन्ने बुझ्दानबुझ्दै घरभरि मिलिटरीका सिपाहीहरू छापछाप्ती भइसकेका थिए । बूटको आवाजका साथै एउटा ठूलो धक्का लाग्यो उसको कोठाको ढोकामा ।
यसरी रात बित्दानबित्दै पीताम्बर बन्दी भयो । इन्द्रमायाको रातभरिको कटुता, निराशा र क्षोभ बिहानको हल्लीखल्ली र आन्दोलनमा एकदमै बिलाएर गयो । अब उसले सबै कुरा छोडेर बन्दी भएको पीताम्बरको सुविधाको व्यवस्था गर्नुपर्ने भयो ।
इन्द्रमाया सोच्दछे- त्यही दिन हो उसको जीवनको पहिलो अध्याय समाप्त भई दोस्रो अध्याय उघ्रिएको ।
दुई
जुन दोस्रो निर्णयको बारेमा इन्द्रमायालाई अचेल बारबार स्मरण हुने गर्छ - त्यो थियो रमेशका सम्बन्धमा उसले लिएको निर्णय । प्रौढाको वार्धक्योन्मुख शरीर एवं मनको शिथिलताले होला, अचेल जब ऊ आफ्नो बितेको जीवनमा दृष्टिपात गर्छ, उसलाई कहिलेकाहीँ लाग्छ, जुन कुरालाई उसले तन्नेरी अवस्थाको अहङ्कार ‘यो मेरो आफ्नो स्वयंको निर्णय हो’ भनेकी थिई शायद त्यो स्वेच्छाले गरेको निर्णय थिएन । शायद पलपलमा लिइरहेका निर्णयहरूको शृङ्खलाको कालमाप हो जीवन । जीवनपथमा हिँडेको प्रत्येक डेग प्रत्येक निर्णयले उठ्दछ । तर आजको असल मनले स्वत्वको त्यत्रो महिमालाई स्वीकार गर्ने जाँगर बटुल्न सक्तैन; त्यसैले पनि होला तृतीय प्रहरको यो उदासलाग्दो शून्य घडीमा ओछयानमा लेटीलेटी इन्द्रमायाले सोची- उसले निर्णय लिएको भनेको नियतिले कोरेको बाटोमा हिँडेको हो । नत्र, तिनताक रमेश मात्र किन उसको सामुन्ने परिरहन्थ्यो त; र किन त्यो दुर्दिनमा ऊ मात्र उसको काम लाग्ने व्यक्ति बन्न गयो त ? यति मात्रै पनि होइन; पीताम्बरसँगको प्रेममय सहवासको समयमा पनि रमेशलाई अत्यधिक स्नेह दिने स्थान उसको मनले आफ्नो हृदयमा दिइ नै राखेको थियो । यदि पीताम्बर बन्दी नभएको भए र यदि इन्द्रमायाको जीवन पनि यसरी विश्रृङ्खल नभएको भए, हुनसक्छ उसको मनको त्यो सानो कुनाबाट रमेश कहिल्यै पनि बाहिर आउन सक्ने थिएन । के नारी आफ्नो हृदयमा त्यस्ता अनेकानेक अग्निबीजहरूलाई बाह्यजगत्को वायुस्पर्शबाट जोगाएर राख्दै आफूसँगै चितामा अग्नि समर्पण गर्दिन र ? उसलाई लाग्दैन, हृदयको त्यस्तो अग्निबीजले वायुको ठूलो स्पर्शको अवसर पाउनका निम्ति पीताम्बरले बन्दी हुनु नै पर्थ्यो र त्यसको परिणामस्वरूप इन्द्रमायाको अस्तव्यस्तमय जीवन पनि हुनु नै पर्थ्यो । त्यसैले अचेल इन्द्रमायालाई लाग्न थालेको छ कि हुन त मानिसले नै निर्णय गर्छ, तर नियतिले निर्देशन गरेकै बाटोमा हिँड्न उसको निर्णय भवितव्यको सेवकको रूपमा प्रकट हुन्छ । इन्द्रमायाले जुन निर्णयको आधारमा ‘रमेशलाई स्वीकार गरेँ’ भनेकी थिई त्यो त स्वीकार गरिसकेपछिको अभिव्यक्ति पो थियो त, प्रेममा परिसकेपछि अब म प्रेम गर्छु भनेको होइन र पीताम्बर छँदा नै त ऊ यो बाटोमा हिँडिसकेकी थिई नि; र बारबार उसलाई यसबारे सङ्कोच बोध पनि हुने गर्थ्यो ।
तर साथै, भवितव्य या नियतिको काँधमा उत्तरदायित्वको जुवा चढाएर पनि त निश्चिन्त भएको अनुभव इन्द्रमायालाई हुँदैनथ्यो । ऊ यो तथ्य स्वीकार गर्न चाहन्नथी कि उसका निर्णय निर्णय नै होइनन् कि ऊ जीवनका अनेकानेक पथहरूमध्ये उसले आफ्नो स्वेच्छाले रोजेर हिँडेको पथभन्दा भिन्न पथ हिँड्न सक्क्तिनथी, कि जीवनमा भोग्दै आएका सुखदुःख उसका आफ्नै रचना होइनन् कि इन्द्रमाया अर्की इन्द्रमाया हुन सक्तिनथी इत्यादि । बाबुआमाको आग्रहलाई नटारेको भए के उसको जीवनले अर्को मोड लिने थिएन र ? के ऊ पनि आफ्नी बहिनीसरह एउटा मध्यवित्त परिवारकी नारीमा अवतीर्ण हुन्नथी जसको जीवनलाई समाजका नियमविधिहरूले केही अंशमा पूर्वनिश्चित गरिदिएका हुन्थे, जसका सन्तानद्वारा घर भरिभराउ हुन्थ्यो र सबै इष्टमित्र-नातागोताहरू उसलाई भाग्यमानी नारी भन्थे ? समाजको संरक्षणमा हुर्कने जीवनलाई के इन्द्रमायाले स्वेच्छाले छाडेकी होइन र ? इन्द्रमायालाई निश्चय थियो कि हो, उसले स्वेच्छाले नै छाडेकी हो; र त्यो निर्णयमा आज उसलाई पछितो पनि छैन ।
तर निर्णयका पनि भिन्नभिन्न स्वभाव, गुण हुँदा रहेछन् र निर्णयहरूको कठिन हुने कारण रहेछ मानिसले निषेधाज्ञा उल्लङ्घन गर्नुपरेकाले । समस्त कठिन निर्णयहरू निषेधाज्ञाका उल्लङ्घन हुन्- इन्द्रमायाको पहिलो निर्णय थियो ‘समाजको निषेधको अवज्ञा : म समाजलाई मान्दिनँ, पीताम्बरलाई वरण गर्छु ।’ तर त्यस्ता कदम जतिसुकै कठिन भए तापनि अरू किसिमका निर्णयहरूको तुलनामा यस्ता निर्णयहरू सहज सम्भव हुँदा रहेछन्; किनभने यस्ता निषेधाज्ञा दिने तत्त्व आफूभन्दा बाहिरका तत्त्व हुन् जसको विरोधमा आफूलाई उभ्याउन सजिलो पर्छ । विजय वा पराजयको परिणामको कल्पनाले द्वन्द्वको काठिन्य स्थापित हुँदैन । कस्तो तत्त्व छ प्रतिद्वन्द्वी, कसका अगाडि उभिनुपरेको छ; त्यसले द्वन्द्वको कठिनता वा सुगमता निर्धारित गर्दो रहेछ । समाजतत्त्व जे भए पनि आफूभन्दा बाहिरको तत्त्व हो; त्यसको विरोधमा उभिँदा पराभूतको आदर्श निश्चय नै हुन्छ तर समाज बाहिरी तत्त्व भएको अन्यदेशीय हो जसको अवाञ्छनीय हस्तक्षेप आफ्नो जीवनमा त्यो शत्रुभावापन्नजस्तो लाग्छ, जस्तो- कुनै विदेशी शत्रुले आफ्नो देशमा हमला गर्दा मानिसमा हुन्छ । आक्रमणकारी शत्रुका विरुद्धमा मानिस के परिणामको लेखाजोखा गरेर मात्र उभिन्छ ? इन्द्रमायालाई लाग्यो, बाहिरियासँग जुभन सजिलो रहेछ, आक्रमणकारी परचक्री शत्रुसँग युद्धको निर्णय गर्न कठिन भए पनि दुस्सह हुँदैन ।
तर जीवनमा त्यस्तो पनि निर्णय लिनुपर्ने हुन्छ- जीवनलाई धान्नका लागि पनि, जसमा ‘स्व’ को कुनै न कुनै अंशसँग नै युद्ध घोषणा गर्नुपर्छ । रमेशसँग घनिष्ठता स्थापित गर्न हुन्न भन्ने हृदयको निषेधाज्ञा परम्परागत मान्यताबाट हृदयमा जमेर बसेको सामाजिक विश्वास र आस्थाकै एउटा रूप हो । त्यसकारण त्यो पनि विदेशी तत्त्व नै हो भन्ने कुरा माने पनि हृदयमा जमिसकेपछि त्यो सामाजिक आस्था कुनै न कुनै अंशमा अद्भुत शक्तिसम्पन्न भएर प्रतिद्वन्द्विता खडा हुन्छ । आंशिक रूपमा भए पनि यस प्रकारको निर्णय आफ्नैविरुद्ध उठाएको कदमजस्तै हो; केही हदसम्म आफैंसँग लड्न उद्यत हुनु हो यस्तो निर्णय । सामाजिक नियमका विरुद्ध उभिनुभन्दा कता धेरै दुस्सह हुँदो रहेछ आफ्नो आस्थाका विरुद्ध उभिनु । आस्थामा हृदयको सानो टुक्रो गाभिन पुग्छ, त्यस्ता निर्णयहरू दुस्सह भएका हुन् । हृदयका यस्ता आस्थाहरू समाजजस्तो पृथक् तथा अन्यदेशीय हुँदैनन् जसका प्रति प्रतिकूल निर्णय लिनुपर्दा भावाविभूत हुनुपरोस् । एक प्रकारको तटस्थताका साथ निर्णय लिन सकिन्छ मनलाई चोखो राखेर, आफूलाई खण्डित नपारेर । कठै ! यस्तो सुगमता यहाँ पाइयो र जब उसले रमेशलाई स्वीकार गरी । यदि वरणमा प्रथम कदमको उत्तरदायित्व छ भने शायद स्वीकारमा त्यस्तो उत्तरदायित्व छैन क्यार !
वरण र स्वीकृति दुवै अवस्थामा परिणति सदृश भए पनि सहवास, सहभोग, सहयोग यदि दोष हो भने स्वीकृतिमा प्रथम कदमको जिम्मेदारी निहित नभएकाले त्यो दोष समर्थनमा प्रतिकदम चालेको दोष मात्र हो । पीताम्बरकहाँ पुग्न इन्द्रमायाले प्रथम कदम चालेकी थिई । उसले पो भेट्टाएकी पीताम्बरलाई, त्यसकारण यदि दोष छ भने त्यसको प्रथम अंशकी ऊ भागी छे । पीताम्बर त त्यसको द्वितीय अंशको अभिसँगी मात्र हो । त्यसैले होला त्यो सम्बन्धले दिने आनन्द, सुख, महिमा, गरिमाको पनि प्रथम अंशमा ऊ नै अधिकारिणी भई र त्यसैले नै होला पीताम्बर सम्बन्धको उत्कृष्टताको द्वितीय अंशको मात्र भागी भयो । रमेशसँगको सम्बन्धमा भने इन्द्रमायालाई लाग्छ, उसको आफ्नो स्थिति उल्टो थियो । त्यसमा उसले प्रथम कदम चालिन, केवल आफूलाई भेट्टिन दिई । के पर्खेर बस्नु आफू भेटिऊँ भन्ने दुरुत्साह होइन र ? हो भने इन्द्रमाया आफूलाई त्यति अंशमा दोषी भन्ठान्थी ।
अचेल इन्द्रमायालाई एउटा अर्को कुराको पनि बडो गम्भीर अनुभव भइरहेको थियो । पीताम्बर र आफ्नो सम्बन्धमा ऊ कहिले पनि दोषको सन्दर्भमा आफूलाई हेर्दिनथी। हो, मनमा कुरा खेलाउँदा, प्रथम चालको जिम्मेदारी बेहोर्ने प्रश्न आउँदा तर्कगत वाक्य उठ्थ्यो उसको मनमा कि ‘दोष भए ।’ या पापको अनुभूति त उसलाई कहिले पनि भएन पीताम्बरसँगको निजी सम्बन्धमा । त्यसो त निर्दोषले पनि दण्ड भोग्नुपर्छ । तर रमेशका सम्बन्धमा भने रही-रही दोषको भाव जाग्रत हुन्थ्यो । पापबोध ! त्यसो हुनाले इन्द्रमायालाई लाग्यो कि पाप भनेको ‘स्व’ को विरुद्ध गरिने कारवाहीमा उठ्ने भावना हो जुन कारवाही गर्न जीवनले मानिसलाई बारबार बाध्य गर्छ । त्यस्तो भावना उत्पीडक हुँदो रहेछ; आहत - शरीरले पाउनेजस्तो पीडा !
त्यसैले त हो नि इन्द्रमायाले पति र पुत्रीमा रोज्नुपर्दा आफू दुई टुक्रामा चिरा परेको अनुभव गरेकी थिई । त्यो निर्णय कति दुस्सह थियो; त्यसको पीडा कति दुर्दमनीय ! पुत्रीलाई रोज्दा उसले आफ्नो जीवनको तेस्रो निर्णय लिएकी थिई । हे परमपिता परमेश्वर ! किन तिमीले मेरो त्यत्रो भीषण अग्निपरीक्षा लियौ ? किन पति र पुत्री दुवैलाई आफूसँगै राख्न नसक्ने पारेर जन्मायौ मलाई ? किन मैले त्यत्रो भीषण निर्णय लिन बाध्य हुनुपर्यो ? के म त त्यो निर्णयले एकदम खण्डित भइनँ र ? त्यो निर्णयपछि के म एउटी अर्धनारी मात्र रहिनँ ? माता मात्र ? नारीत्वका दुई तत्त्वमा मैले पत्नीतत्त्व-प्रियतत्त्वलाई परिहार गर्नुपर्यो र केवल मातृतत्त्वलाई मात्र आफूमा रहन दिनुपर्यो ।
यो तेस्रो निर्णय पीताम्बरलाई रोज्दा समाजका विरुद्ध लिएको जस्तो बाहिरी तत्त्वका विरुद्ध लिएको निर्णय थिएन । न त यो रमेशका सम्बन्धमा लिएको जस्तो निर्णय नै थियो जो आफ्नो हृदयको अवस्थाका विरुद्ध उसले लिएकी थिई । यो त आफ्नो सत्यको एक आधारभूत तत्त्वका विरुद्ध लिनुपरेको निर्णय थियो- आफूलाई एकदम अर्धखण्डित पारेर । यो कस्तो प्रतिद्वन्द्वी हो ? कस्तो रणक्षेत्र हो यो ? को हताहत भयो यो सङ्घर्षमा ? उत्तर केवल यही छ- आफू, आफू, आफू । पतिलाई परित्याग गरेकोमा के उसको हृदय अहिलेसम्म पनि शान्त हुन सकेको छ र ? के खण्डित नारीले वेदनाबाट कुनै क्षण पनि मुक्ति पाई ? के उसले जहाँ रहँदा पनि, जुन क्षणमा पनि आफ्नो अर्धाङ्गलाई नितनिरन्तर प्रज्वलित अग्निमा अहर्निश पिल्स्याइरहनुपरेन र ? पुनः स्थापना हुन नसक्ने आफ्नो खण्डितताले नै शायद उसमा पापबोध जगाइरह्यो । उसले जति भीषण आघात आफ्नाउपर दिई उति ठूलो पापबोधले ऊ उत्पीडित पनि भई । हार्दिक वेदना शायद पाप हो। यो वेदना शायद ‘स्व’ को खण्डनमा सृजन हुँदो रहेछ क्यार । तर के कोही यस्तो मानिस पनि होला जसले अरूको प्रहारबाट आफूलाई र आफ्नो प्रहारबाट अरूलाई जीवनभर जोगाएर राख्न सकेको होस् ? प्रत्येक व्यक्तिलाई थोरबहुत चोट परेकै हुन्छ र अनुभवका लागि मानिस जतिजति गहिराइमा पस्छ, उतिउति साङ्घातिक आक्रमण उसले सहनुपर्छ । जीवनभोगको चिह्न क्षतविक्षत हुनु हो । पाप पनि शायद त्यही हो । यही त विडम्बना छ मानवजीवनको । आहत नभई, खण्डित नभई जीवनको भोग पाइँदैन र जीवनको अनुभव हो पछिसम्मको पापबोध ।
आजकाल जब जीवन शायद उसका लागि भोगको परिसमाप्तिको बेला आउन थालेको छ र जब तृतीय प्रहरको कार्यनिवृत्तताको उसले अवसर पाएकी छ, उसले आफ्नो जीवनका अनुभव तथा प्राप्ति या वञ्चिततालाई एक्लै बसेर केलाउने समय पाएकी छ । पहाडको चुचुरोमाथि बसेर थाकेको यात्रीले पछि फर्केर हेरेजस्तो उसलाई लाग्छ, जसले हिँडेर आएको लामो बाटो धेरै धेरै टाढासम्म देखिन्छ । त्यो सुदूरक्षितिजमा पुगेर बिलाउन खोजेको पथरेखा जो अहिले उसको पृष्ठप्रदेशमा लामो भएर खिचाएको छ त्यही त हो नि अहिले आँखाअगाडि झलझली देखापरेको उसको जीवन तर त्यसमा हिँडिरहेका बखत कहाँ देखापरेको थियो र यो रेखा ? जीवनको भोग गरिरहेका बखत जीवन बिर्सिन्छ चाहे सुखको भोग होस् वा दुःखको । भोगिसकेको क्षण मात्र जीवनको रूपमा प्रकट हुँदो रहेछ नत्र आज उसले यसरी सुखदुःखको विवेचना गर्दै ती क्षणहरूलाई यति छर्लङ्गसँग कसरी देख्न सकेकी छ ? तिनताक पनि ती सम्झना आउनुपर्थ्यो तर कहाँ आउँथे र पीताम्बरको प्रेममा, ऊसँगको सहजीवनमा जीवनको भोग गरिरहेकी छु भन्ने उसलाई कहिले सम्झना भयो र ? त्यस्तै ऊ थुनिएपछि उसले भोग्नुपरेको दुःखमा, जसको सीमा नै थिएनौं आज लाग्छ । के जीवनको अर्को पक्षको भोग मबाट भइरहेको छ भन्ने कुरा उसको सम्झनामा आयो र ? सुख-दुःखको व्यस्ततामा जीवनको भोग हुँदो रहेछ । बाँचेको भन्नु थाहा नै नपाई जीवनयापन भएको हो । यदि जीवनका भोग सुख र दुःख हुन् भने र जीवनको अनुभव यिनै दुई तत्त्वबाट प्राप्त हुन्छ भने- यदि सुख-दुःखको अनुभव जीवनको माप हो भने - इन्द्रमायालाई अचेल लाग्छ, स्वयं सुख-दुःखको माप स्मृति-विस्मृतिले गर्छ । सुखको प्रगाढतालाई विस्मृतिको आवरण चाहिन्छ । प्रगाढता जतिजति घनीभूत हुँदै जान्छ, विस्मृतिले उतिउति आक्रान्त गर्दै जान्छ । चरम सुख विस्मृतिको परम लुप्ततामा विलीन हुन्छ । दुःखको पनि त्यस्तै आचरण छ । दुःखको पराकाष्ठामा विस्मृतिको प्राणदायिनी प्रलेपन पाउँछ मानिस । दुःख होस् चाहे सुख- दुवैको उत्कृष्टता सम्पूर्ण विस्मृतिमा एकाकार हुन जान्छ । त्यसैले इन्द्रमायालाई लाग्छ कि यतिका दिनसम्म उसले नजानीकन जीवनको भोग गरिरहेकी रहिछ । अचेल आलस्यको बेलामा यी सबै कुरा सम्झेर ऊ आफैलाई भन्छे, ‘कठै ! मैले कति सुख वा दुःख बेहोरें।’ तर भोग गरिरहेका बखत यी सबै कुरा सम्झिरहने उसलाई कहाँ फुर्सद थियो र ? न उसले यो सम्झेकी थिई कि ‘अहा ! पीताम्बरसँग जीवन बिताउँदा मलाई कति रमाइलो भएको थियो’ न त पीताम्बरको गिरफ्तारीपछि कपालमा हात राखेर उसले यो नै सम्झिरहन पाई कि ‘कठै ! कत्रो दुःख भोग्नुपरेको मलाई !’
पीताम्बर थुनिएपछि मेरो व्यस्तताको अन्त रहेन । त्यस दिन बिहानभरि मिलिटरीले घरको तलासी लिइरहे । पीताम्बरले भने लुगा फेर्नेसम्म फुर्सद पाए, त्यत्ति । उनलाई कुन्नि कहाँ लगिहाले उत्निखेरै । उनलाई नलगुन्जेल आश्वासन र सहाराका लागि म उनैसँग टाँस्सिरहेँ । उनलाई भन्नुपर्ने कुरा मसँग केही थिएन; अन्यौलमा परेकी म केवल बारबार उनको मुख मात्र हेरिरहन्थें र कहिले उनले लाएको कोट र कहिले सुरुवाल तानतुन पार्न लाग्थें । उनले जुत्ता लाइसकेपछि अन्तिम घडीमा उनलाई बिदा दिँदा मैले घुँडा टेकेर साडीको फुर्काले उनका जुत्ता पुछिदिएँ । उनले जाँदाजाँदै भने, “केही परिआयो भने रमेशलाई भन्नू ।”
पूरा घरको तलासी लिइसकेपछि मिलिटरीहरू जाँदा बिहानको बेला प्रायः बितिसकेको थियो । घरमा मालमत्ता चारैतिर फालिएका थिए- बाकसहरू उदाङ्ग-खुला, कपडा-लत्ता भुइँमा अलपत्र छरिएका, किताबहरू जथाभाबी मिल्किएका, भाँडाकुँडाहरू भान्साभरि लडेका । कुन्नि कहाँबाट धूलो र कसिङ्गर पनि त्यसै थुप्रिन पुगेको र झन् त्यसमा पनि मिलिटरीहरूको बूट बजारिएर भुइँ ठाउँठाउँमा उप्किएको; सबै व्यवस्था भताभुङ्ग भएजस्तो । मिलिटरीहरू गइसकेपछि हठात् कोलाहल शान्त हुँदा मलाई एउटा भयङ्कर ठूलो हुरी, विध्वंसकारी उत्पात मच्चाएर भर्खर शान्त भएजस्तो लाग्यो । घरमा डरलाग्दो निस्तब्धता थियो । तलासी लिउन्जेल हाम्रो पर्खालबाहिर सडकमा उभिएर छरछिमेकका नरनारी र बालकहरू रमिता हेरिरहेका थिए । तर मिलिटरी गइसकेपछि मलाई घरमा एक्ली देखेर शायद मलाई करुणा या समवेदना दान दिनुपर्ला भन्ने डरले रमितेहरू आफ-आफ्ना केटाकेटीलाई चिच्च्याउँदै आफ-आफ्ना घर फर्के । विचित्र स्तब्धता थियो त्यहाँ र मेरो एक्लोपन थियो डरलाग्दो । के गर्नुपर्ने हो त्यो स्थितिमा, नबुझेर म यन्त्रवत् कोठाहरू मिलाउन थालें ।
फेरि लाग्यो कि पीताम्बरलाई कहाँ लगे होलान् ? त्यो बुझ्ने पो पहिलो काम हो मेरो । तर कहाँ गएर बुभने ! छिमेकमा कोही यस्ता इष्टमित्र थिएनन् जसले मेरो सहायता गरोस्, माइतीसँग त झन् यतिका दिनदेखि सम्बन्ध नै टुटिसकेको थियो । कलेजमा पुराना सखी-सहेलीहरूसँग पनि आजकाल मेरो कुनै प्रकारको सम्बन्ध र सम्पर्क थिएन । रमेश अथवा पीताम्बरका अरू साथीहरूको घरको कुनै अत्तोपत्तो थाहा थिएन मलाई। के गर्ने ? के समाजले आज मसँग आफ्नो पुरानो वैरभाव त साधेको होइन ? के गर्ने ? बारबार एकनासले मेरो मनले भनिरह्यो के गर्ने अब ? के गर्ने ?
यताउति कतै नहेरेर म दगुर्दै घरअगाडि सडककै छेउकी पसले बूढीकहाँ पुगें । ऊ तारेको आलु, चिउरा, भटमास, चाकु बेच्ने गर्थी ।
मैले भनें, “बूढी आमा ! म आज बढो सङ्कटमा परेकी छु ।”
भिंगा धपाउँदै बूढीले भनी, “मलाई थाहा छ नानी ! माइत किन जान्नौ ?”
यसले के विवृत्ति दिने उसलाई ? भनें, “त्यही त आमा ! त्यसैले त तिमीकहाँ म आएकी । एकबाजी जनी गरेर रक्तकालीमा मेरा आमाबुबालाई यो समाचार लगिदेऊ । यहाँ घर एक्लो छ, त्यहाँ कसैसँग भेट भएन भने मेरी एउटी पुरानी साथी छे पुतलीसडकमा, पद्मा- उसैकहाँ गएर मेरो यहाँको खबर भन्नू ।"
मैले दुवै ठाउँको ठेगाना उसलाई बताएँ। जब ऊ जाने तर्खरमा लागी अनि फेरि भनें, “हामीकहाँ आउने ठिटाहरूको पत्ता लाउन सक्छयौ भने त्यो पनि बुझेर आउनू है, आमा ?”
ऊ गएपछि धेरै बेरसम्म म त्यो नियास्रो घरमा पर्खिरहें । साँझतिर ऊ लखतरान थाकेर आई र भनी, “तिम्रा माइतीले त मलाई हकारेर पो धपाए । नआउने गर्नु रे । के उदेक ! … पद्मा घरैमा छिन् रे, पुतलीसडक माइती आएकी छैनन् रे । शहरमा सुनें- जम्मै ठिटाहरू समातिए रे; एउटालाई पनि नछाडेर थुनेको छ रे सप्पैलाई … ।"
भुइँमा सुताएको लौरो टिप्तै उठेर बूढीले भनी, “अब तिमी के गछौं नानी ?"
बूढी आमाको स्नेहले भरिएको यो प्रश्नले मलाई हठात् पगालिदियो, मानो दिनभरिको दुःखको उम्लिएको बाफ अब कसैको बाधा नमानेर निस्कन आँट्यो । मैले बलपूर्वक आँसु थामेर भर्ने, “आमा ! जो परिआउँछ बेहोर्नैपर्छ ।”
ऊ गएपछि म धेरैबेरसम्म रोइरहेँ । एकछिनमा झमक्क साँझ पर्यो । म थाकेर पल्टिएँ । दिनभरि केही नखाएकोले जीउ शिथिल थियो । रातभरि कहिले झिमिक्क आँखा लाग्थ्यो त कहिले झसङ्ग भएर बिउँझिन्थै; कहिले डरको सञ्चार हुन्थ्यो त कहिले असहाय र एक्लोपनको मात्र अनुभव हुन्थ्यो । यसरी त्यो चिरस्मरणीय दिन बित्यो ।
दोस्रो दिनले पनि कुनै सहायता ल्याएन । तेस्रो दिन, चौथो दिन, पाँचौँ दिन; एवं प्रकारले पूरा एक साता पनि बित्यो- नितान्त असहाय अवस्थामा । यतिका दिन बित्दा पनि पीताम्बरलाई कहाँ थुनेर राखेको छ भन्ने मैले अत्तोपत्तो पाउन सकिनँ । उनलाई कहाँ थुनेर राखेको छ, कस्तो छ, कुन अवस्थामा छन् उनी ? केही थाहा पाउन सकिनँ । मजिष्ट्रेटकहाँ आएँ, त्यहाँबाट केही थाहा पाउन नसकेकीले शायद कमिश्नरकहाँ केही थाहा भइहाल्छ कि भनेर त्यहाँ पनि धाएँ । केही पत्तो लागेन । यतिचाहिँ थाहा पाइयो कि मिलिटरीको जिम्मामा छन् रे उनी । मजिष्ट्रेट र कमिश्नर अफिसका केही कर्मचारीहरू त स्पष्टसँग व्यङ्ग्यको कुरा गर्थे तर अरूहरू भने शायद लाजले होला, मतिर हेर्दै नहेरी मुण्टो गाडेर लेखिरहन्थे । सैनिक हेडक्वाटर्समा त प्रवेश नै सम्भव भएन । फाटकभन्दा पनि धेरै टाढा ड्यूटीमा उभिएको सन्तरीले ‘अडर छैन’ भनी मलाई हकारेर फर्काइदियो । मैले घरबाट कैयौँ बिन्तीपत्र हार्ले- एक सर्वोच्चदेखि अर्को सर्वोच्चकहाँ । चारैतिरबाट मौनताको पर्खालले म घेरिएकी भएँ ।
शरीर दिनप्रतिदिन क्लान्त हुँदै गयो । खानेकुरा पकाउने जाँगर मलाई थिएन, त्यसो हुँदा भण्डारमा जे कटघाङकुटुङ पाउँथें, खाएर पानी पिई पेट भर्थे । सातौं दिन, त्यो पनि सिद्धियो । घरमा एक पैसा थिएन । पहिले-पहिले घरको काम कसरी चलिरहेको थियो पीताम्बर नै जानून् । घरका आवश्यक सरसामान उनी नै ल्याइदिन्थे र कहिलेकाहीँ साथीहरू पनि केही न केही लिएर आउँथे । धन भने पनि नभने पनि मसँग एक जोर कानका पातला मुन्द्रा थिए, त्यसलाई फुकालेर फेरि पसले बूढी आमाकहाँ पुगें र भनें, “आमा ! यो राखेर मलाई केही दिनसम्म च्यूरा र आलु दिने गर ।”
बूढीले भनी, “नानी ! यो के ल्या’की ? छिः ! लगाऊ कानमा; हेर कस्तो बुच्चो देखिएको । च्यूरा लिएर जाऊ; पछि दाम दिनू, जब सकौली ।”
मैले भनें, “पछि पनि त सक्नलाई यही फुकालेर ल्याउनुपर्छ आमा ! मेरो सम्पत्ति हाल्ने हो भने ।”
एउटा दुनोमा च्यूरा र त्यसमाथि आलुको तरकारी राखेर मलाई दिँदै उसले भनी, “जबसम्म सकुँला तिमीलाई दिइरहन्छु र तिमीले पनि जबसम्म चाहिन्छ लिन आइरहनू । बरा ! ती ठिटाहरू हामी गरिबकै लागि समातिया’ होइनन् र ?”
धेरै दिनसम्म संयमले थामेको भावको वेग मुटुमा उर्लिन लाग्यो बूढीका समवेदनाका शब्द सुनेर । च्यूराको दुनो लिंदै हडबडीसँग म घर फर्के र थुचुक्क बसेर उर्लिंदो भावावेगले रसाएको गलाबाट च्यूराको एक-एक गाँस निल्न लागें । बूढीको सहृदयताले मलाई फेरि एक्ली भएको बोध भयो, मेरा अब कोही रहेनन् ।
त्यसै बखतमा कोठाको ढोका घऱ्याक्क उघ्यो र अकस्मात् रमेश कोठाभित्र पस्यो । म एकदम छक्क परें र एक्कासि फर्केको भाग्यको अनुभव गर्नुभन्दा पहिले नै खाँदाखाँदै म कराएँ, “यो को ? रमेश ? को ? रमेश ? रमेश ? कहाँबाट उदायो यो देवता ?”
देवता ? त्यो अप्रत्याशित प्राप्तिका प्रति मेरो उद्गार थियो यो- अकस्मात् मुखबाट निस्केको । कुनै चिन्तनको प्रक्रियाको परिणाम थिएन त्यो झ्वाट्ट निस्केको शब्द । तर पछि रमेशले यही एउटा शब्दलाई टिपेर मेरो जिब्रो समाउने प्रयत्न गरिरह्यो, मानो मेरो यही एक शब्दले मैले बाचा हारें, मानो जमानबन्दी नै भयो मेरो । पछिसम्म उसले भनिरह्यो, ‘इन्द्रमाया भाउजू’ र पछिपछि त ‘भाउजू’ पनि उसको सम्बोधनबाट लुप्त हुँदै गयो । हृदयमा लुकेका भाव अकस्मात् यस्तै अचिन्त्य शब्दहरूबाट प्रकट हुन्छन् ।
मैले पनि पछिसम्म तर्क दिइरहैं, “रमेश ! हिन्दूनारी देवताको दुई भिन्न रूप देख्छे । एउटा त्यस्तो बाह्य अवस्थित शक्तिको रूप जो दुर्दिनमा उसको सहायतार्थ करुणावान् भएर आउँछ । त्यस्तो देवता तटस्थ रहन्छ; त्यो करुणामय भएर पनि निजी वस्तु हुँदैन । अर्को हो, पतिको रूपको देवता जो आत्मीयताले ओतप्रोत भएको हुन्छ; त्यो आफ्नो निजी वस्तु हो । मेरो त्यो दिनको सम्बोधनलाई किन तिमीले केवल दोस्रो अर्थमा मात्र लिने ?”
ऊ भन्थ्यो, “इन्द्रमाया ! यो तिम्रो तर्क हो; हृदयको कुरा होइन ।"
म साग्रह भन्हेँ, “कुरा बुझाउनलाई मैले लामो गरेर भर्ने भन्दैमा त्यसलाई केवल तर्कको आडम्बर नभन न ।"
र जतिजति म रमेशसँग कुरा गर्दै उतिउति दृढ भएर तर्कका उपर तर्क थप्दै जान्थें । तर आफूभित्र आस्थाको भित्ता हल्लिँदै गएको म पाउँथें । मलाई लाग्थ्यो म फाटकको ढोका मात्रै बलपूर्वक थुनेर निश्चिन्त हुन खोज्दैछु । तर मलाई निश्चिन्त हुन कहाँ दिन्थ्यो र रमेश; बारबार ऊ मेरो आस्थाको पर्खालका ईंट एक-एक गरेर उप्काउँदै जान्थ्यो ।
तर त्यस दिन रमेश मेरा लागि साँच्चै नै देवता भएर आएको थियो । असहाय र एक्लोपनको महासागरमा डुब्न लागेको प्राणी जसरी कुनै पनि सहारालाई समाउन खोज्छ चाहे त्यो सहारा अन्त्यमा सर्वग्राही नै प्रमाणित किन नहोस् । त्यस्तै मैले पनि त्यस बेला रमेशलाई भवाट्ट अँगाल्न पुग्नु अत्याहटमा हुन गएको एउटा अन्धक्रिया थियो र केही बेरपछि चेतनाको सञ्चार भएपछि केही आश्वस्त भएर म प्रश्नमाथि प्रश्न गर्न लागें, “खोइ पीताम्बर ? कहाँ छन् उनी ? कस्तो छ उनलाई ? बताऊ, बताऊ न रमेश ! बताऊ । तिमी नि ? कहाँ थियौ यतिका दिन ? किन नआएका मकहाँ ? हेर कति दुब्लाएको । भनन, किन केही नबोल्या’ ?”
त्यस बेला जतिसुकै अव्यवस्थित त्यो घर भएको भए पनि रमेशको उपस्थितिले एकदम प्राणवान् भयो, त्यो आवासमयताले उज्यालो । एकछिन पहिलेसम्म त्यो सबैले छाडेको भुत्याहा घरजस्तो डरलाग्दो थियो । रमेशले आवासताको उज्यालो ल्याइदियो त्यहाँ । मैले पनि धेरै दिनदेखि नबालेको बत्ती बालें । कोठा उज्यालो भयो- मालसामानहरू कोठाभरि अलपत्र फालिएका नै भए पनि के भयो ?
रातभरि रमेशका कुरा सुनिरहैं। उसले बतायो, “पीताम्बरलाई दरबारको गारतमै थुनेको छ, नेल-हतकडी पहिराइदिएको छ तर अरू शारीरिक यातना भने दिएको छैन र शायद अब दिइने पनि छैनन् । केही दिनपछि नेल र हतकडी पनि काटिदेलान् र पुलिसको मातहतमा निजामती झ्यालखान पुऱ्याउलान् ।" रमेशले अरू कुरा पनि बतायो, ‘दलका प्रायः सबै जना त्यही दिन नै गिरफ्तार भए र सबैलाई पीताम्बरलाई राखेजस्तै सैनिक हिरासतमा राखेको छ ।’ रमेश पनि त्यही दिन गिरफ्तार भएको थियो । धमाधम सबैको बयान लिंदैछन् र बयान सिद्धिएपछि कसलाई के गर्ने भन्ने निर्णय हुन्छ क्यार ! मलाई त बयान लिएपछि छोडे र छुट्नेबित्तिकै यहाँ आएको" रमेशले भन्यो ।
मैले व्यग्र भएर सोधें, “पीताम्बरलाई के गर्छन् अब ?” रमेशले भन्यो, “नआत्तिनोस् भाउजू ! देशसेवा गर्न हिँडेकालाई यस्तो त परीपरी नै आउँछ नि ! पीताम्बर दाइ चाँडै त छुट्नुहुनेछैन तर अब उहाँको बन्दीजीवन पक्राउ पर्नेबित्तिकैको जस्तो कठिन हुनेछैन । फेरि, उहाँका साथ धेरै साथीहरू पनि छन् ।”
मैले फेरि सोधें, “अरू भन न रमेश ! पीताम्बर के गर्थे, के भन्थे ?”
रमेशले भन्यो, “भन्ने-सुन्ने कुरा कहाँ थियो र त्यहाँ ! हो, बरु उहाँलाई लुगाफाटोचाहिँ पठाउनुपर्छ । म छुट्न लाग्दा उहाँलाई भेटेर आएको थिएँ । बिदा हुन लाग्दा मैले सान्त्वना दिँदै उहाँलाई भनेको छु, ‘इन्द्रमाया भाउजूको म बाहिर गएर जिम्मा लिन्छु चिन्ता नलिनुहोला ।”
यस प्रकार त्यो रात बित्यो ।
बिहान उठेर मैले भनें, “पीताम्बरलाई लग्ने लुगाफाटोको पोको पारिदिन्छु पुऱ्याइदेऊ । अरू के के चाहिन्छ उनलाई ? खानेकुरा लग्न पाइन्छ कि पाइन्न ?”
एकछिनपछि लुगाको पोको पार्दापार्दै मैले ढिपीको स्वरमा भर्ने, “म पनि जान्छु तिमीसँगै लुगा पुऱ्याउन, है रमेश ?”
छक्क परेर उसले जवाफ दियो, “कहाँ जाने तपाईं भाउजू ! सिपाइहरूको हूलमा ? म पुऱ्याइदिइहाल्छु नि । बरु आफू लुगासुगा फेरेर सुग्घर हुनोस्, केही राम्रो भएर त बस्नोस् !”
मैले भनें, “तिमी आएर पो यति जाँगर पनि भयो मलाई र मेरो दुश्चिन्ता गयो ।”
रमेशले भन्यो, “ल ल, म लुगा पुऱ्याउन जान्छु फर्केर आउँदा नुहाई धुवाई चिट्ट हुनुहोला नि ! के वैरागिनी भएकी ?"
“वैरागिनी त भएँ नि रमेश ! पीताम्बर नै नभएपछि अब मेरो को रह्यो र ?” यति भन्नेबित्तिकै मलाई लाग्यो, रमेशलाई आघात पुऱ्याउने वाक्य निस्केछ मेरो मुखबाट । त्यसलाई मत्थर पार्ने उद्देश्यले अरू केही भन्न आँटेकी थिएँ कि रमेशले भन्यो, “तपाईंका पीताम्बर दाइ पनि बाँचेकै हुनुहुन्छ र तपाईंले यो बिर्सन हुन्न कि तपाईंका अरू पनि धेरै माया गर्ने मानिस होलान् - पीताम्बरको जस्तो नभए पनि … …”
मैले कुरा सच्च्याएर भनें, “तिमीले आफ्नो बारेमा सोचेका छौ नि ! कति फुस्रो भएका छौ तिमी, एकदम फुङ उडेजस्तो । तिमीले पनि नुहाई धुवाई सफा सुग्घर हुनुपर्छ ।”
ऊ लुगा पुऱ्याउन गएपछि उसका लागि मैले खड्ङ्कुलोमा नुहाउने पानी तताउन बसाइदिएँ र पीताम्बरको एकजोर मयलपोस - सुरुवाल फेर्न झिकिदिएँ । नुहाउने कोठामा साबुन र एउटा धोएको तौलिया राखेर दगुर्दै म बूढी आमाको पसलमा पुगें । भर्ने, “लौन आमा ! मलाई अलिकति चामल दिनुपर्यो; दाल, तिउन र केही तरकारी छ भने त्यो पनि । रमेश हिजो छुटेर आए, घरमा पकाउने कुरा केही पनि छैन ।”
बूढी आमाको अनुहार प्रसन्नताका चाउरीले मुजा पर्यो । उसले भनी, “मैले भनेकै थिएँ नि नानी ! दुःख नमान, खसम छुटेर आउँछन् । मलाई बडो खुसी लाग्यो ।”
मैले हाँसेर भनें, “रमेश मेरा खसम होइनन्, देवर हुन् ।”
उसले दिएका सामानहरू लिएर दगुर्दै म घर आएँ र भान्साको तर्खरमा लागें । धेरै दिनपछि म भात पकाउन लागेकी थिएँ । पीताम्बरको समाचार पाएर, उनको हालखबरसम्म सुनेर मात्र पनि मन ढुक्क भयो । मनमा बारबार आश्वासनको ध्वनि उठ्थ्यो- उनी बाँचेकै छन् । त्यस समय त्यति खबरले पनि मलाई खुसी तुल्याएको थियो; मानो पीताम्बर त्यसै बिलाएर सिद्धिएका रहेनछन्, चित्त प्रसन्न थियो ।
एकछिनमा रमेश पनि भान्साकोठामा आइपुग्यो । एउटा भुवादारी तौलियाको पोको भुइँमा राख्दै भन्यो, “तपाईंलाई ल्याएको मैले भाउजू !”
मैले तौलिया फुकाएर हेरेँ : साबुन, तेल, पाउडर, स्नो, लिपस्टिक, सेन्ट आदि स्वास्नीमानिसका श्रृङ्गारका साधनहरू थिए । मैले गद्गद भएर भनें, “यो के गरेको रमेश ? किन ल्याएको यी सब कुरा मलाई ?”
रमेशले भन्यो, “तल एउटा खर्पने पनि छ चामल, दाल, घिउ, तेल, तरकारी, मरमसलाहरू बोकेर ल्याएको । ल, कहाँ राख्ने हो ती कुराहरू ?”
मैले फेरि भनें, “यो के गरेको रमेश ?"
उसले भन्यो, “पहिले माल-सामानहरू कहाँ राख्नुपर्छ त्यो भन्नुपर्यो । नखाएर मान्छे बाँच्दैनन् नि, त्यसैले ल्याउनुपरेको हो बेसाहा ।"
भान्सामा उक्लेर खरो हुन लागेको तरकारीलाई डाडुले बेसरी चलाउँदै चूलोतिर मुख पारेर मैले भनें, “जाऊ, चाँडै नुहाऊ बरु । तातो पानी, साबुन, लुगा सबै नुहाउने कोठामा छ । यी सरजाम थन्क्याउने म बन्दोबस्त गर्छु । झट्टै गर, जाऊ नुहाउन ।”
उसले किञ्चित् ठट्टा गर्दै भन्यो, “तातो पानी, साबुन, धोएका लुगा, तौलिया सब मेरा लागि गोसालखानामा तयार छन्; यो के गरेको नि तपाईंले भाउजू ?"
अगि उसले भनेकै जस्तो गरी मैले पनि जवाफ दिएँ, “नुहाउँदै ननुहाई फोहोर लुगा लगाएर मात्र कोही बस्न सक्तैन नि !"
र गर्दन फर्काएर उसलाई हेरें । उत्निखेरै उसले पनि मतिर पुलुक्क हेर्यो । हाम्रा आँखा जुध्नासाथ ऊ फरक्कै फर्थ्यो र फूर्तिलो आचरणको भावनाका साथ एउटा धुन सुसेल्दै कोठामा पस्यो ।
एकछिनपछि नुहाइवरी सुकिलो लुगा लगाई स्निग्ध भएर ऊ आयो । मैले पाकेको भोजनलाई चूलोबाट झिकै र धोतीको टुप्पोले मुख पुछ्दै भनें, “म पनि झट्ट नुहाएर आइपुग्छु ।”
धेरै दिनपछि नुहाएकोले शरीर हलुका भयो, मन चङ्गा । धोएको साडी र चोलो फेरें र कपाल कोरें, अनि निधारमा रातो टीका लाएर म भान्सामा पुगें । रमेश हतार गरिरहेको थियो । उसले भन्यो, “यति अबेर गर्नुभयो भाउजू ! तपाईंले कि मलाई लाग्यो आज उपवास पो गर्नुपर्ने भो कि क्या !”
अनि फेरिदेखि मलाई चिनेजस्तो गरेर भन्यो, “वाह ! कति राम्रो । हो, यस्तै खुसी भएर बस्ने गर्नोस् भनेको भाउजू ! तपाईंलाई देखेर मन त्यस्तै खुसी हुन्छ । तर पेटको भोक पनि त्यस्तै बढ्छ ।"
रमेशका यी रमाइला कुरा थिए । मेरो मन पनि खुसी भयो । म मुस्कुराएँ तर केही नबोलेर भान्सामा उक्लें र भात पस्किन लागें । मनमा एकपल्ट यो कुरा खेल्यो कि रमेश कति रसिक छ पीताम्बरभन्दा एकदम भिन्न । यतिका दिनको सहबासमा पीताम्बरले एकपल्ट पनि भोक लाग्यो भनेर हल्ला मच्चाएन । आतुरी, हडबडी गरेन । एकपल्ट पनि मेरो शृङ्गारतिर ध्यान दिएर उसले भनेन कि ‘इन्द्रमाया ! तिमी कति राम्री छ्यौ ।’ ऊ भोकाएको म थाहा पाउँथें अवश्य, ऊ प्रसन्न भएको पनि थाहा पाउँथें; तर स्पष्टसँग उसले मलाई कुनै कुरा पनि भनेन, कहिले पनि आग्रह गरेन । रमेशले मेरो रूपको साधारण प्रशंसा गर्दै ‘कति राम्री’ भनेको दिनदेखि यता मैले धेरै सम्झिन खोजें पीताम्बरसँगको लामो सहबास; उसले मसँग यस्ता रसिक कुरा गरेको; तर त्यहाँ, यस्ता कुरा गरेको मलाई कुनै दिन पनि सम्झना हुँदैन । मचाहिँ उनले हेर्लान् भनेर आफूलाई कति जतनसित सिँगार्थे, तर उनी भने मेराअगाडि मानो आँखा चिम्लेर आउँथे । सके आफूलाई सन्तोष दिन होला, मनमनै भन्थें, ‘पुरुषचरित्र यस्तै हो ।’
त्यस दिन मैले एउटा भिन्न पुरुषचरित्र देखें- रमेशको । सँगसँगै बसेर हामीले भोजन गौँ । म केही नबोली मनमा कुरा खेलाउँदै खाइरहेकी हुँदी हुँ, किनभने रमेशले त्यसैलाई लक्ष्य गरेर भन्यो, “के टोलाएकी, भाउजू ?”
मैले भनें, “पीताम्बरले के खाए होलान्, रमेश ?”
पीताम्बरलाई सम्झेर मेरो मन उदास भयो । हिजोसम्म पीताम्बरलाई सम्झेर दुःखले पीडित हुन्थें, मानो कुनै व्यथा छ मनमा । व्यथातुर थिएँ, उदासी थिएन त्यसमा । आज झन् उसको संवाद पाएपछि पनि, उसको बारेमा एक प्रकारको निश्चिन्तता भएर पनि, उसलाई चाहिने मालताल पठाउन पाएकाले सन्तोष भए पनि हिजोको जस्तो व्यथाचाहिँ भएन; त्यसको ठाउँमा बरु उदासी घनीभूत भयो । त्यसैले त मैले बहुतै उदास स्वरमा रमेशलाई सोधेकी थिएँ- ‘पीताम्बरले के खाए होलान्, रमेश ?’
रमेशले वातावरणलाई केही हलुको पार्नलाई भन्यो, “हामीले पनि त यहाँ कुनै छत्तीस व्यञ्जनको ज्युनार गरिरहेका छैनौँ !"
उसको लक्ष्य थियो- बूढी आमाकहाँबाट ल्याएर मैले पकाएको चामलको भात, खोस्टे मासको कालो दाल र रायोको सागपट्टि ।
मैले किञ्चित् अप्ठ्यारो मानें तर उदासी भने दूर भयो । “भोलिदेखि तरकारी र अचारहरू बनाएर पीताम्बरलाई पठाउने गर्छु है?”
रमेशले भन्यो, “हुन्छ ।"
त्यस दिनदेखि मेरो जीवनले फेरिदेखि बाटो समात्यो । पीताम्बरको गिरफ्तारीपछि छिन्नभिन्न भएको जीवनले पुनः बिस्तार-बिस्तार बाटो पायो । बिहानभरि घरको कामले व्यस्त रहन्थें । कोठाहरूमा कूचो लाउनु, घर सिनित्त-सुग्घर पारेर राख्नु, रमेशलाई नुहाउने कोठामा तातो पानीको व्यवस्था गर्नु, पीताम्बरकहाँ लग्नलाई एक-दुई थोक तरकारी, अचार या अरू खानेकुरा पकाउनु र भान्साका सारा काम गर्नु । पीताम्बरलाई खानेकुरा पुऱ्याएर घर फर्किएपछि म भान्साबाटै सोध्थें, “कस्तो छ रे पीताम्बरलाई ? के भन्थे ? हिजोको तरकारी कस्तो लाग्यो रे ?”
दिउँसो भोजन सिध्याएपछि धुने लुगा छ भने धारामा गएर लुगा धुन्थें । पीताम्बरको, रमेशको र स्वयं आफ्नोसमेत गरेर प्रायः दिनहुँ केही न केही धुने काम परि नै हाल्थ्यो । बेलुकीतिर रमेशको आग्रह टाल्न नसकेर हावा खान पनि निस्कने गर्थे ऊसँग । कहिले-कहिले हामी सिनेमा हेर्न पनि जान्थ्यौँ । बेलुकाको घर-काजमा म केही घडी फेरि व्यस्त हुन्थें र रातिको भोजन सकेर भाँडाकुँडा माझीवरी हात पुछ्दै रमेशको कोठामा आउँथें, त्यहीँ बसेर हामी एकछिन कुरा गथ्यौँ या कुनै राम्रो किताब छ भने सँगसँगै पद्ध्यौँ ।
यही घर पीताम्बर हुँदा अर्कै किसिमसँग चलेको थियो । साथीहरूको जमघटले, आपसी बहसको तीखो स्वरले हल्लीखल्ली रहन्थ्यो । सबैको हेरविचार गर्दा म बेफुर्सदकी हुन्थें । मेरो आफ्नो भन्ने कुनै क्षण थिएन । साथीहरू धेरै रात गएपछि मात्र जान्थे र कति रात पनि त्यहीँ बिताउँथे । कहिलेकाहीँ फुर्सद नै पाइएको छ भने पनि पीताम्बर चञ्चल स्वभावको नभएकाले ‘बाहिर जाऔं, रमाइलो गरौं’ भन्दैनथ्यो । तर त्यो जीवनको हडबडमय व्यस्तता या पीताम्बरसँगको शान्त प्रणय-सम्बन्धमा मलाई आन्तरिक तृप्ति भएको सुखको अनुभव थियो । लाग्थ्यो- आफ्नो उत्सर्गमा पाएको सुखमा म नारीजीवनको सार्थकताको प्रमाण भेट्टाइरहेकी छु । आफूलाई दिइरहँदा जुन शेष थपिँदै जान्छ, त्यही थपिँदै गएको शेष मेरो गएको सुख थियो । आज त्यही घर अर्कै किसिमबाट चलिरहेको छ । कोलाहलको ठाउँमा आज दुई व्यक्तिले मात्र आफ्नो सहबासबाट बनाएएको गहन निस्तब्धता छ त्यहाँ । छन त अहिले पनि मलाई फुर्सद छैन- केही न केही काममा व्यस्त नै रहन्छु तर अचेलको व्यस्तता मसिनो किसिमको छ- एक-दुई व्यक्तिका सानातिना कामको ध्यानपूर्वक सम्पादन गर्दा हुने व्यस्तता । रमेश त्यस्तो शान्त प्रकृतिको थिएन कि मलाई नीरव व्यस्ततामा छाडेर आफू पनि कुनै एकान्त चिन्तनमा दिन काटिरहोस् ! केही न केही योजना-प्लान उसको मनमा आइरहन्थ्यो । कहिले भन्थ्यो- सिनेमा जाऔं । कहिले भन्थ्यो- जाऔं भाउजू ! पिकनिक । कहिलेचाहिँ त्यसै नयाँसडक घुम्न जाऔं रे अथवा जाऔं हावा खान टुंडिखेल । भान्सामा आएर पनि के पकाएको छ के छैन हेरेर जान्थ्यो । मलाई सबभन्दा मन पर्ने उसको के कुरा लाग्थ्यो भने ऊ बाहिरबाट जहिले आउँदा पनि मेरा लागि केही न केही अवश्य लिएर आउँथ्यो । केही नभए एक धुँगा फूल नै भए पनि सम्झेर ल्याउने गर्थ्यो ।
म भन्थें, “रमेश ! किन यसो गछौं ?”
ऊ भन्थ्यो, “माया गरेको भाउजू !"
हाम्रो समयलाई यसरी रमेश रमाइलो पायर्थ्यो ।
तर बीचबीचमा ऊ यस्ता कुरा पनि गर्थ्यो कि बडो व्यग्र हुन्थें । एक दिन उसले भन्यो, “इन्द्रमाया भाउजू !”
भाउजूमा मेरो नाउँ गाँसेर बोलाएको मेरो मनले टिप्यो ।
उसले भन्यो, “इन्द्रमाया भाउजू ! यो कस्तो पर्दा हो ?"
उसको भनाइमा जुन सङ्केत थियो त्यसको लक्षण थाहा हुँदाहुँदै पनि आफ्नो व्यग्रता नदेखियोस् भन्नाका लागि मैले सहज स्वरमा भन्ने कोसिस गरेँ, “के भनेको पर्दाको कुरा, रमेश ?"
रमेशले भन्न त पहेलीमा भन्यो तर आफ्नो आशय पनि छर्लङ्ग पार्यो, “यदि तपाईंले पर्दाको कुरा नबुझेको भए भन्ठानोस्, आफैँसँग पनि पर्दा रहेछ तपाईंको ।”
मैले हडबडाहटमा भर्ने, “मसँग पहेलीको कुरा नगर, विरक्त लाग्छ मलाई ।”
रमेश एकछिन नबोलेर बसिरह्यो । तर उसको आकृतिमा कठोरता आएको देख्दा मलाई लाग्यो, केही कुरालाई बडो बलपूर्वक उसले भित्र दबाएर राख्न खोज्दा उसका नसाहरू तन्किएका छन् र अनुहार रातो हुँदै गएको छ । मलाई असाध्य अप्ठ्यारो लाग्यो ।
वातावरण एकदम भारी भयो । के गरूँ, के नगरूँजस्तो भएर त्यो अप्ठयारो स्थितिबाट उम्किने सहारा भेट्टाइन्छ कि भनेर अकस्मात् काम सम्झेजस्तो गरी उठ्दाउठ्दै भनें, “जा ! भरेलाई तरकारी केलाउन त भुसुक्कै बिर्सेकी ।”
रमेशले योभन्दा पहिलेसम्म आफ्नो प्रेमको अभिव्यक्ति यति स्पष्ट भएर गरेको थिएन । त्यस दिन पनि एकदम स्पष्टसँग, शब्द नै ओछ्याएर, केही भनेन उसले पर्दामा नै लुकाएर राख्यो आफ्नो भावलाई । तर आवरण कति पातलो, झलझली देखिने सबै गोपनीयता भित्रको । र त्यो त्यही दिन बोल्दाबोल्दै ‘तपाईं’ बाट ‘तिमी’ र ‘भाउजू’ बाट ‘इन्द्रमाया’ को घनिष्ठतामा मलाई बाँध्न पुग्यो ऊ ।
आज यतिका वर्षपछि सम्झेर ल्याउँदा इन्द्रमायालाई लाग्छ कि त्यस दिन उसलाई अत्याहट हुनाको कारण केवल सत्यको अनावृत रूपको दर्शन हुनु नै थियो। दैनिक व्यस्तता र नयाँ जीवनको आनन्द तथा निश्चिन्ततामुन्तिर एउटा त्यस्तो सत्य लुकेको थियो जसका बारे तिनताक उसले पाउन लागेको आनन्द, कार्यरतताभित्रै त्यो सत्य सदासर्वदा लुकेरै बसिरहला भन्ने सोचेकी थिई । एक-दुई पटक रमेशले पर्दा हटाएर त्यसलाई प्रकट गर्ने कोसिस गर्दा इन्द्रमाया हाँसेर कुराको सिलसिला अर्कैतिर डोऱ्याउँदै लग्थी । तर त्यस दिन भने रमेश मानो कुनै किसिमको छल मान्न तयार थिएन; यस्तो लाग्थ्यो, मानो भन्नै आँटेको छ इन्द्रमाया ! धोका, छल र वञ्चनाले कति दिन जिउन चाहन्छ्यौ । म आज मान्दिनँ यी छलनाका चेष्टाहरू र आज भनेरै छाड्छु कि ‘म तिमीलाई प्रेम गर्छु ।’
रमेशका कुरा मुखबाट निस्कनुभन्दा पनि पहिले नै इन्द्रमायाको हृदयमा रमेशले भन्न खोजेका कुराको ध्वनि सुनिएको थियो; त्यसैले अत्यासमा ऊ भागेर आएकी थिई तरकारी केलाउने निहुँ गरेर । त्यस घडीको अनुभवले इन्द्रमायालाई रमेशसँगको सहज सम्बन्धमा एकाएक सङ्कोचिलो, अप्ठयारोपन गाँसिदिएजस्तो लाग्यो ।
एक दिनको कुरा-
मैले बडो तन्मयतासँग धेरै बेर लगाएर पीताम्बरका लागि खानेकुराहरू तयार पारें । उनकहाँ पठाउन नयाँ लुगाहरू झिर्कै र सधैंको जस्तो. तर केही अप्ठ्यारो मान्दै रमेशको कोठामा गएर भनें, “पीताम्बरकहाँ लैजाने कुराहरू ठीक पारेकी छु ।”
रमेशले भारी गलाले केही झर्किएजस्तो गरी भन्यो, “लग्दिनँ मालमत्ता कसैकहाँ बोकेर ।"
साधारण अवस्थामा म भागेर फर्किन्थें तर रमेशको त्यस्तो आचरण देखेर म थामिएँ। मैले भनें, “यो कस्तो अत्याचार ! पीताम्बर अब के भोकै र नाङ्गै बस्ने भए ?”
उसले भन्यो, “जहिले पनि पीताम्बर, पीताम्बर; मानो दुनियाँमा अरू कोही छदैछैन … … ।”
र फेरि एक्कैचोटि रन्केर भन्यो, “इन्द्रमाया ! तिमीले यसरी विधवाको जस्तो व्यवहार गरेको म सहन सक्तिनँ । म तिमीलाई माया गर्छु, बुझ्यौ ?"
मैले पनि केही दृढतासँग जवाफ दिएँ, “के एउटी एक्ली नारी छ भनेर बलात्कारमा उद्यत भएका छौ तिमी, रमेश ?"
उसले पनि नरम भएर भन्यो, “तिमी ? तिमी एक्ली ! तिमीलाई थाहा छ, तिमीलाई कसैले बलात्कार गर्न सक्दैन; झन् जसले तिमीलाई सम्पूर्ण हृदय दिएर माया गर्छ, उसले ? बलात्कार त बरु तिमी पो स्वयं आफूमाथि र ममाथि गरिरहेकी छ्यौ बडो सफलतापूर्वक । तिमीलाई थाह छ, म तिम्रो घरमा भतुवाजस्तो छु र तिमीले नचाहेको खण्डमा मुखको एक शब्दले धपाइदिन सक्छयौ ।”
यस्तो भनाभनपछि पीताम्बरकहाँ लैजाने पोको टिपेर हुरिँदै रमेश बाहिर निस्क्यो । मेरो मनमा ठूलो हलचल मच्चियो । धेरै बेरसम्म म उद्विग्न भएर त्यसै बसिरहेँ । लाग्यो, रमेशको अन्धहठले कुन्नि कहाँ लैजाने हो ।
एकछिनपछि उठेर म घरको कामकाजमा लागें । भात पकाउँदा बारबार पीताम्बरको सम्झना भइरह्यो । मलाई लाग्यो कि पीताम्बरलाई झ्यालखानमा मैले यहाँबाट गर्न सक्ने सेवा पूरा गर्न सकेकी छैनँ । हुन त म गर्न नै के सक्थ र ! तर खानेकुरा पनि जति परिमाण र जति परिकारको पठाउनुपर्ने, पठाइनँ, लुगाफाटो, ओखतीमूलो, पढ्नेलेख्ने सामग्री इत्यादि केही कुराको पनि राम्रो व्यवस्था गर्न सकिनँ । जेलमा कति कुराको आवश्यकता पर्दो हो, र मबाहेक बाहिरबाट उनलाई सम्झिने अरू को छ र ? भोलि उनलाई पठाउने भोजनमा परिवर्तन गर्नुपर्यो भन्ने सोचें। अचेल एकनासको तरकारी जाने गरेको छ । सोचें- ‘गुलियो कुरो पनि बनाएर पठाउनुपर्यो । एकजोर जुत्ता किनेर ल्याउँछु र एक-दुईजोर मोजा पनि । र आजै कोगटीको एकजोर मयलपोस-सुरुवाल सिउन दिन्छु ।’ यस प्रकार सोच्दै आफूलाई धिक्कार्दै गरेपछि केही सान्त्वना पाएँ । रमेश फर्केर आइपुग्दा म पूर्ण आश्वस्त भइसकेकी थिएँ ।
उसले सुकेको मुखले भान्सामा चियायो । मैले भनें, “रमेश जाऊ, छिटो गर, तातो पानी राखिदिएकी छु, नुहाऊ । भात पाकिसक्यो ।”
ऊ नुहाएर आउनासाथ सदाको जस्तो म नुहाउन गएँ । जीउ हलुको भइसकेको थियो; नुहाएर आउँदा त एकदम फूर्तिली भएँ ।
बिहान सोचेअनुसार बजार गएर मैले लुगा, जुत्ता, मोजाहरू किनँ । रमेश मसँगै गएको थियो । मालसामान किन्नमा म उसको सल्लाह लिन्थें । घर फर्केर आउँदा हामी बडो प्रसन्न थियौँ । रमेशले भन्यो, “पीताम्बर दाइका निम्ति त यति मालताल किनियो; बिचरो मलाईचाहिँ केही नाइँ ?”
मैले आनन्दमा हाँसेर भनें, “उनी त हेर कति टाढा छन्, तिमी त मसँगै छौ नि ।”
रमेश खुसीले उज्यालो भयो । बाटामा उभिएर उसले एक गुच्छा फूल किनेर मलाई दियो ।
मैले भनें, “कति रमाइलो छ, हगि ?”
उसले भन्यो, “रमाइलो त छ तर … …”
मैले कुरा काट्दै भनें, “तर सर नभन । तिमीले कता लैजान आँटेका छौ कुन्नि मलाई, र आफूलाई पनि ।”
उसले भन्यो, “तिमी आफ्नो हठले कुबाटोमा हिँड्न खोजेकी छयौ; त्यसबाट झिक्छु म तिमीलाई । आफ्नाउपर अन्याय गरेर हिँडेको बाटो कुबाटो नै हो, इन्द्रमाया !”
यस्ता कुरामा मेरो रमाइलो घटेको थिएन; बरु झन् बढ्ता आनन्दित हुँदै थिएँ ।
उसले भन्यो, “हेर इन्द्रमाया ! तिमी आफ्नो अस्वाभाविक आचरणले हाम्रो सम्बन्धको मधुरतालाई तीतो बनाउँछयौ; वातावरण त्यसै सहज हुन दिन्नौ ।"
हामी सिंहदरबारको बाटो काटेर उकालो लाग्न थालेका थियौँ । बाँसको भ्याङमुनिको शीतलताले मेरो मन त्यसै रमायो । रमेश भन्दै थियो, “तिमी भनौली, मेरो प्रेमको अधिकारदावाले वातावरण क्षुब्ध भएको हो, मेरो प्रेमको याचनाले सम्बन्ध सहज हुन नसकेको । त्यो होइन, दावा गर्ने त प्रेमको धर्म नै हो । प्रेमै नभएको भए दावा हुने नै थिएन; प्रेम भएपछि दावा गर्नु त्यसको स्वाभाविक आचरण हो । तिमीलाई मैले बुझेको छैनँ ? तिमी पनि मलाई प्रेम गछौँ । त्यसको आग्रह र दावालाई आफ्नो हठले अस्वीकार गर्न खोज्दा सम्बन्धमा तिक्तता आउन गएको हो । ल, भइगयो, तिक्तता भन्दिनँ, सहजताको अभाव भन्छु । र त्यसैले हाम्रो घरको वातावरण बीचबीचमा क्षुब्ध हुन जान्छ ।"
एकछिनपछि रमेशलाई लागेछ क्यार ऊ एकनाससँग धेरै बेरसम्म बोलिरहेको छ र म भने केही नबोलेर हिँडिरहेकी छु । उसले थामिएर भन्यो, “किन केही नबोलेकी, इन्द्रमाया ?"
मैले भनें, “रमेश ! मलाई बडो रमाइलो लागेको छ- यावत् कुराले; आज बजारमा किनेका सामानहरूले, तिमीले मलाई दिएको फूलगुच्छाले, तिम्रो कुराले र बाँसको छहारीसम्मले पनि । रमाइलै रमाइलो छ ।”
इन्द्रमायाले आफ्नो जीवनमा सबभन्दा ठूलो अनुभव प्रेमको नै पाएकी थिई; तर आज त्यो अनुभवको आधारमा पनि यो भन्न सक्तिन कि प्रेमको मूल तत्त्व के हो आत्मा कि शरीर ? यदि त्यो आत्मा हो- यदि त्यो तत्त्व मन हो भने इन्द्रमायाले धेरै पहिलेदेखि नै रमेशलाई प्रेम गर्न थालेकी हो; र झन् अचेल त उसले आफ्नो मनमा यस सत्यलाई प्रतिपल अनुभव गर्दै पनि आएकी हो। उसलाई मनको एकान्तमा स्वीकार गर्न सङ्कोच हुँदैनथ्यो कि ऊ पनि रमेशलाई त्यस्तै खालको प्रेम गर्छ, जस्तो रमेश उसलाई गर्थ्यो । उसले केवल आफ्नो शरीरको मांस प्राचीर खडा गराइराखेकी थिई रमेशको र आफ्नो माझमा । समय-समयमा उनीहरूका बीच भनाभन त्यही मांस प्राचीरको छेकबारले समागमको सुगमतामा बाधा पुऱ्याएको हुँदा हुन्थ्यो । जब आस्थाको आत्मा नै मृत भइसकेको थियो भने शरीरले मात्र आफ्नो आस्थालाई यसरी टेवा दिइराख्नु के एउटा वञ्चना होइन ? केवल एउटा आडम्बर होइन र ?
कहिलेकहीँ इन्द्रमायाको मनमा प्रेमको असली तत्त्व शारीरिक नै हो- शरीरदान नै प्रेम हो भन्ने तर्क उब्जनासाथ उसलाई त्यस्ता वेश्याहरूको सम्झना हुन्थ्यो जो प्रत्येक ग्राहकलाई एकरत्ती नछुट्याएर, एकजात पक्षपात नगरी आफ्नो शरीरदान गर्छन् । त्यस्ता वेश्याहरूको र तिनीहरूका ग्राहकहरूबीचको सम्बन्धलाई प्रेम-सम्बन्ध कदापि भन्न सकिन्न । उनीहरूले शरीर दिए पनि प्रेमचाहिँ न त दिन सकेका हुन्छन् न लिन नै सकेका हुन्छन् ।
ऊ सोच्दछे, ‘बिचरा पीताम्बर ! म केवल यसकारणले पीताम्बरसँग बफादार छु भनी भन्छु कि मैले शरीरदान गर्नबाट मात्र आफूलाई बचाएर राखेकी छु । हुनसक्छ कि पीताम्बर आएका दिन म पूर्णरूपले अरूद्वारा विजित भइसकेकी भएर पनि, मैले अर्कैलाई सर्वस्व दिइसकेकी भएर पनि केवल आफ्नो खोक्रो शरीरले उसको स्वागत गरूँ- एकदम शून्य शरीरले ! तर के उसका प्रतिको प्रेमलाई यसरी छकाउन सकिन्छ र ?- र फेरि मांस प्राचीर कति दिनसम्म अड्न सक्छ जब बाहिरबाट रमेशको प्रहार र भित्रबाट मेरा आफ्नै मनको प्रहार दिनरात त्यसमाथि परिरहेको छ भने । शरीरको मर्यादा अत्यन्त सीमित हुँदो रहेछ । केवल मृत्युले त्यसलाई चारैतिरबाट घेरिराखेको मात्र हुँदैन कि रोगव्याधिले बारबार त्यसलाई आक्रान्त पार्छ; भोकप्यासले र आफ्नै इच्छा र कामनाले जर्जर । अनि कहाँबाट रहन्थ्यो त त्यसमा त्यति शक्ति कि त्यो बाहिरको प्रेमीको प्रणयदावा र भित्रको हृदयको झन् प्रेमको दावा, यी दुवैलाई सँगसँगै सहेर जीवनलाई संयमका साथ लैजान सकोस् ?’
यसरी दिन बितिरहेका थिए तिनताक; बिहान एक्लै हुँदा पीताम्बरलाई सम्झेर उदास हुँदै, दिउँसो रमेशसँग रमाइलो गर्दै र राति प्रेमका सम्बन्धमा नानाप्रकारका तर्कवितर्क गर्दै । ऊ बिस्तार-बिस्तार अनुभव गर्दै थिई कि प्रतिक्षण कायाको दुर्ग ठाउँ-ठाउँमा भत्केर गिर्दै गइरहेको छ ।
एक रात रमेशको व्यग्र आग्रह, बडो बलपूर्वक टारेर ऊ आफ्नो कोठामा आएर लेटेकी थिई । उसको सास त्यसै चड्का भइरहेको थियो र मुटु ढुकढुक । आँखामा निद्रा पटक्क थिएन । आज उसलाई लाग्यो कि सानो सन्तोषको सुख पनि पाइन रमेशलाई बलपूर्वक पन्छाउँदा, केवल पाई ताप र पीडा । त्यही बखत सोची, ‘यो बलप्रयोग त तमाम सत्यका प्रति केवल हठ गर्नु मात्र हो’, र उसलाई लाग्यो कि यो हठले पीताम्बरको प्रेमलाई पनि आडम्बरको सारहीनताले खोक्रो पारिदिएको छ । यस्तै विचारलाई उसले आफ्नो द्वितीय निर्णयको संज्ञा दिएकी हो जब उसले अन्त्यमा भनेकी थिई- ‘अब म हठ गर्दिनँ ।’
यस प्रकार उसले आफ्नो शरीरको बाधा फुकाइदिएकी थिई । यस प्रकार निर्बाध सम्बन्धमा इन्द्रमाया र रमेश बाँधिए त्यो रात ।
भोलिपल्ट ऊ सधैंको भन्दा चाँडो उठी । शरीरले न्यानो आनन्दको भोग गरिरहेको उसलाई लाग्यो । जीउ हलुका भएको थियो, मानो कुनै ठूलो बोझा मिल्काएर ऊ रातभरि कतै बिसाइरहेकी थिई । ऊ ओछयानमा उठेर बसी र हेरी, मस्त निद्रामा रमेशको शिर तकियामा सुतिरहेको थियो र हलुका सासले उसको शरीर सुस्तरी फुल्ने र बस्ने गर्दै थियो । उसको जीउबाट पन्छिएको दोलाई राम्ररी ओढाइदिएर ऊ कोठाबाट बाहिर आई। उसको निद्रा धेरै नै चाँडो टुटेछ; तर शरीरले पूर्ण विश्राम पाइसकेको थियो । प्रसन्न भएर उसले पूर्वपट्टिको झ्याल उघारी । उषाको फिका लाली आकाशमा पोतिन लागेको थियो । तल बारीमा उसको दृष्टि पर्यो । बारीका घाँसपात र बोटबिरुवाहरू शीतले भिजेका थिए । बारीको पल्लापट्टि पर्खालको फाटकमा आँखा पुग्यो । उसलाई सम्झना भयो- कुन्नि कति दिनपहिले हो एक दिन साँझ त्यही फाटक उघारेर ऊ यस घरभित्र पसेकी थिई । को थियो त्यस घडी ? बारीमा उभिएको, चकित दृष्टि इन्द्रमायातिर हेरेको- पीताम्बर ! पीताम्बरलाई सम्झिनासाथ इन्द्रमाया उदास भई। अहिले के गरिरहेका होलान् पीताम्बर जेलमा ? आजको रात उनले के गरी बिताए होला ? यो उनैको घर हो, म उनैकी पत्नी ।
इन्द्रमाया हतारिँदै गई र बैठकमा टाँसेको पीताम्बरको तस्वीरलाई उसले धेरै बेर घोरिएर हेरिरही । सुकेको माला अझै त्यसमा झुन्डिएकै थियो । एक-एक गरेर ऊ सबै कोठामा पसी । सबै ठाउँमा पीताम्बरका केही न केही चिह्न थिए- लुगाफाटा, किताबहरू र यस्तै किसिमका मालसामानहरू ।
शरीर र मनले आनन्दको स्वाद पाएको अनुभव हुँदाहुँदै पनि एउटा हलुको विषादको चिसो निश्श्वास उसको कण्ठबाट निस्क्यो - ‘पीताम्बर मेरो; म तिमीलाई माया गरि नै रहेकी छु, गरि नै रहेकी छु ।’
त्यसपछि धोती बोकेर ऊ बाग्मती नुहाउन हिँडी । उसलाई त्यस दिन पशुपतिको दर्शनको पनि कामना भयो ।
त्यस दिनदेखि पशुपति-दर्शन मेरो दैनिक कार्यमा थपियो । सधैं ब्रिहान झिसमिसेमै उठेर, रमेश उठ्नुभन्दा पहिले नै बाग्मतीमा नुहाई पशुपतिको दर्शन गरेर म घर फर्किन्थें । पछि रमेशले थाहा पाएर ऊ मलाई जिस्क्याउन पनि लाग्यो, “पीताम्बरको प्रेमले पशुपतिले आफ्नो भक्ति भन्ठानेर पाइरहेका छन् । बिचरा दुवै ठगिँदैछन् ।”
मीठो व्यङ्ग्य थियो यो; म रिसाउन्नर्थे । भन्थें, “रमेश ! तिमी पनि हिँडन कहिलेकाहीँ दर्शन गर्न ।”
रमेश भन्थ्यो, “बाबा ! यो तिम्रो र उनीहरूका बीचको कुरामा मलाई नतान ।”
हुन पनि त्यस्तै थियो । प्रतिदिन बिहानको मेरो पशुपति-यात्रा मेरो र उनीहरूका बीचको एकदम निजी कुरा थियो । बिहान रमाइलो मानेर उठ्थें, लाग्थ्यो- जीवन सार्थक हुँदैछ । शरीर पुलकित हुन्थ्यो । तर कोठाबाट बाहिर आउनेबित्तिकै, तत्कालै, बानी परेजस्तो पीताम्बरलाई झलझली सम्झिन्थें । विषादको पातलो बादलले आनन्दमग्न हृदयलाई छुन्थ्यो । उदास हुन्थें मानो पानी परेको जस्तो गरेर सधैं । बाग्मतीको स्नान र पशुपतिको दर्शनले मन सन्तोष हुन्थ्यो । म घर फर्केर आउँदा रमेश प्रायः सुतेकै हुन्थ्यो । मेरो सबभन्दा पहिलो काम हुन्थ्यो अगेनामा बसेर पीताम्बरका लागि त्यस दिनको भोजन तयार पार्नु । अत्यन्त तन्मयतासाथ म त्यो काम गर्थे, एकदम भक्तिपूर्ण तन्मयताका साथ । पशुपतिको दर्शनबाट ल्याएको मनको तन्मयता र भक्तिभाव त्यस बेलासम्म हरियो नै रहन्थ्यो । म पीताम्बरलाई नित्य नयाँनयाँ भोजन पकाउँथें । आफूहरूलाई नभए पनि उनका लागि मीठामीठा कुराहरू पाक्थे । खानेकुराबाहेक अरू पनि केही न केही सामान उनलाई प्रायः सधैंजसो पठाउने गर्न लागें। जबसम्म रमेश ती सामानहरूलाई पीताम्बरकहाँ पुऱ्याएर फर्कन्नथ्यो म पीताम्बरकै बारेमा सोचिरहन्थें । फर्कनेबित्तिकै रमेश नुहाउन जान्थ्यो । तबसम्म हाम्रो भोजन पनि तयार भइसकेको हुन्थ्यो ।
त्यसपछिको मेरो समय रमेशसँगको समय हुन्थ्यो- दिनभरि र रातभरि रमाइलो आनन्दको र सुखको ।
सुख ! - प्रत्येक बिहान बितेका दिनको सुखलाई उदासीले चुक्ता गर्दै र जतिजति बढी सुख पाउँथें उतिउति विषादको बढी मूल्य तिर्नुपर्थ्यो । यसरी प्रत्येक दिन मेरा लागि नयाँ दिन हुन्थ्यो; मानो जीवनलाई त्यस दिन फेरिदेखि प्रारम्भ गर्न लागेकी छु ।
सुख ! रमेशसँगको निर्बाध रमाइलो सहबासमा मैले सुख पाइनँ भनेर म कसरी भनूँ ? रमेशले मलाई प्रेमको उच्च सिंहासनमा राज गर्न राखिदिएको थियो । ऊ आफू भने एउटा अकिञ्चन याचक प्रेमी । मेरो प्रेमको उदारताले ऊ जे जति पाउँथ्यो त्यसको बदलामा आफ्नो कृतज्ञ प्रेमले ऊ मलाई मनग्य पुग्ने गरी तिर्थ्यो । यस्तो लाग्थ्यो, मानो प्रतिपल ऊ मलाई फकाइरहेको छ; प्रतिपल मानो मलाई नयाँ नयाँ गरेर जितिरहेको छ । मेरा सानातिना इच्छालाई, मेरा सानातिना आवश्यकतालाई थाहा पाएर पूरा गर्न पाउँदा उसलाई आफ्नो जीवन सार्थक हुँदैछ भनेझै लाग्थ्यो । यस्तै किसिमको सम्बन्ध मेरो थियो पीताम्बरका प्रति पनि । उसलाई प्रेमको सर्वोच्च आसनमा स्थापित गरेर म अकञ्चिन याचिका थिएँ त्यहाँ । त्यहाँ थियो मेरो प्रेमको समर्पणमय अनुभव । तर यहाँ निरन्तर मेराउपर समर्पित भइरहेको अनुभव थियो, मानो कुनै देवी भक्तले चढाएको भोग पाइरहेकी छ । प्रेमिका त्यहाँ भक्तिनी थिई भने यहाँ त्यही प्रेमिका देवी भएकी छ । देवीको आसन सन्तोषमय आनन्द दिँदैनथ्यो कसरी भन्ने ?
तर त्यो सन्तोष र आनन्दलाई किन मैले भोलिपल्टै बिहान तिर्नुपरेको नि पाई पाई चुक्ता गरेर ? किन तिनताकको मेरो सुखले बिहान विषादको रूप लिन्थ्यो ? र किन पशुपतिनाथको दर्शन गर्दा लाग्थ्यो कि मेरो पाप मोचन हुँदैछ ? के यसकारणले त होइन कि मेरो आस्थाको अवज्ञा हुँदा आफू खण्डित भएको मैले जुन आफ्नो अन्तरमा अनुभव गरेँ, जुन चोट मैले आफ्नो अवचेतनामा दिएँ शायद त्यसैको पापतापले आफ्नो सुखको मोल चुक्ता गर्नुपरेको त होइन ? मानवजीवनको सुखमा पनि फूलमा कीरा लुकेर बसेजस्तै पापबोध लुकेर बस्दो रहेछ ? रमेशसँग सुखानुभूति नभएको भए के म पापानुभूतिको दर्शन पाउने थिइनँ ?
पापबोध किन ? के शरीरदान भयो भनेर ? तर के शरीरदान दिनुभन्दा पहिलो अरू यावत् कुरा मैले रमेशलाई दिइसकेकी थिइनँ र ? केवल शरीर दिइनँ भन्दैमा आफूलाई चोखी भनेर किन सम्झिनु ?
यस्ता कुरा सोच्दासोच्दै इन्द्रमायालाई लाग्थ्यो कि प्रेममा कायादान पनि अनिवार्यतः निहित छ । ईश्वरभक्तिले पनि यदि प्रेमको भावना लिन्छ भने भक्तको शरीर पनि ईश्वरमा अर्पित भइसकेको हुन्छ । यदि ईश्वरबाट त्यो ग्रहण हुँदैन भने या त ईश्वर र मानवका बीच समागमको असम्भवताले या स्वयं ईश्वरको अनिच्छाले त्यो सहयोग हुन सकेको हो; भक्तको अनिच्छाले होइन । कृष्णका प्रेमी नारी उपासिकाहरू प्रेममा विभोर भएर आफ्ना शरीरमा सम्भोगका लक्षण देख्छन् रे । शरीरको अस्तित्व नभई प्रेम हुँदैन । त्यसो भए किन दिनप्रतिदिन शुचिताको सन्धान पशुपतिमा ? किन पापमोचनको त्यत्रो कामना ? किन बिहानभरिको विषाद ? किन पीताम्बरको प्रेमलाई सधैं हृदयमा माझेर टल्किएको पारिराख्ने यत्रो प्रयोजन ? किन; किन … ?
यस्ता नानाप्रकारका प्रश्नहरू उसका मनमा बिहानीपख उठ्थे । ती प्रश्नको उत्तर नपाएर पनि इन्द्रमायालाई जीवन रमाइलोसँग बिताउन कुनै गाह्रो परेन । अचेल भने इन्द्रमायालाई लाग्छ- जीवनका प्रश्नहरूको उत्तर नै छैन । सुख र विषाद यी दुवै अनुभूतिसँगसँगै मुटुमा निवास गर्न सक्ता रहेछन् । यी दुवैको आपसमा त्यत्रो वैषम्य रहेनछ कि हृदयमा एउटाले अर्कोलाई निर्मूल पारेर मात्र बस्नुपरोस् ।
एक दिनको कुरा; आज इन्द्रमायालाई यस्तो झलझली सम्झना हुन्छ मानो त्यो दिन उसको जीवनमा त्यसै उद्भासित भएर टल्किरहेको छ । सधैंको जस्तो ऊ बिहान उठी विशेष सुखको अनुभव गर्दै । उठ्दा शरीरले आलस्य मानिरहेजस्तो लाग्यो- सुखको थकाइले । सधैंको जस्तो कोठाबाट बाहिर निस्केर उसले पूर्वको भयाल उघारी । बिहानको मन्द बतासले देह पुलकित भयो । अल्छी मान्दै उसले आङ तानी । मुखमा हुल्ल अमिलो पानी आयो । पेट पनि हुँडलिएजस्तो भयो । मुखको पानी झ्यालबाट थुकेर ऊ कोठामा आई र लुगा बोकेर सधैंको जस्तो पशुपतितिर लागी । बाटोभरि ऊ त्यसै त्यसै आनन्दमग्न थिई । पीताम्बरलाई सम्झेर उदास पनि हुन्थी, तर रही-रही उसको शरीर आनन्दले कम्पित हुन्थ्यो । हावामा आश्विनको शीतलता मिसिएछ भन्ने उसले सोची। उसलाई लाग्यो, रमाइलो ऋतु आएछ, चाडबाडको अब लामो ताँती लाग्छ । वातावरण पनि चाडबाडले अहिलेदेखि नै रमाइलो हुँदै आएको छ । त्यस दिन नुहाएर निस्कँदा बडो निर्मल भएको उसलाई अनुभव भयो । र, पशुपतिको पूजामा पनि ऊ सधैंको भन्दा बढी तन्मय भएकी थिई । उसलाई अकारण नै लाग्यो कि पीताम्बर पनि अब चाँडै छुट्छन्; उसको शिवाराधना सफल हुँदैछ; जीवन झन् उत्सवमय हुँदै आएको छ । आनन्द, भक्ति र आर्द्रता सम्मिश्रित निश्श्वास पशुपतिमा अर्पित गरेर ऊ घर फर्की हे पशुपतिनाथ ! पीताम्बरलाई चाँडै नजिकै पारिदेऊ ।
घर आएर उसले बडो आयोजनाका साथ पीताम्बरका लागि खानेकुरा पकाई । भंडारबाट ठूलो किस्ती झिकेर त्यसैमा राम्ररी खानेकुरा सजाई । जेलका उसका साथीहरूले पनि हेरून् कि पीताम्बरको घरमा एउटी श्रद्धावती नारी उसलाई पर्खेर बसेकी छ ।
यी सब देखेर रमेशले भन्यो, “अरे, आज यत्रो केको आयोजना इन्द्रमाया ? मानो जेलभित्र कुनै उत्सवका सामान पठाउँदैछचौ !”
उसले भनी, “आज मन लाग्यो, रमेश ! तैपनि मलाई सन्तोष हुँदैन; लाग्छ, मैले आफ्नो पूरा सेवा उनलाई दिन सकेकी छैनँ !”
रमेशले भन्यो, “सुन्दा त तिम्रो कुरा उदासीले भरिएजस्तो छ, र अनुहार भने तिम्रो आज कति उज्यालो ! तिमी त आज आफ्नै उदारतालाई मात गरिरहेकी छ्यौ, इन्द्रमाया !”
इन्द्रमायाले भनी, “उदास त छु तर के आनन्द पनि छैन र ? सुख पूरा पाइरहेकी छु तर के वेदना पनि छैन र मनमा ? हेर रमेश ! तिमीले मलाई पुरुषले दिने प्रेम दियौ, मैले पनि नारीले पाउने सुख पाएँ। तर के मेरो अन्तरात्माले यो कहिले पनि बिर्सन्छ कि म यत्रो सुखमा पनि एउटी बिछुडिएकी नारी हुँ- मेरा आफ्ना, मेरा पीताम्बरबाट ? तिमी पाहुनाजस्ता छौ यो घरमा, स्वामी होइनौ । यो हाम्रो प्रेम जतिसुकै सुखदायी भए तापनि सहयात्रीसँगको अस्थायी सम्बन्ध हो । आनन्द छ यसमा चरम सुख पनि छ यसमा तर यो कुनै निश्चित थलोमा पुगिएको होइन, यो आवास होइन, यो निश्चिन्तता होइन ।"
रमेशले पनि एकोहोरो भनिरह्यो, “इन्द्रा ! तिमीले जतिसुकै विषादका कुरा गरे तापनि आज सुन्दरताले टल्किरहेकी छ्यौ र मैले तिमीलाई चरम सुख दिएँ भन्ने आश्वासन म तिम्रो उज्यालो अनुहारबाट पाउँदैछु ।”
इन्द्रमायाले भनी, “म बराबर भनिरहेकी नै छु प्रतिपल हृदयले अनुभव पनि गरिरहेकी छुः सत्ते भनेको रमेश ! मैले तिमीबाट बडो ठूलो सुख पाएकी छु । र मेरो आजको स्थितिमा - मेरा स्वामी जब जेलमा छन्- यत्रो ठूलो सुख मलाई सह्य हुने थिएन यदि यो अस्थायी हो भन्ने मलाई विश्वास नभएको भए । आखिर म दिनरात पर्खेर बसेकी छु पीताम्बर छुट्लान्, उनी कहिले यो आफ्नो घरमा आउलान् भनेर ।"
रमेशको अनुहार मलिन हुन लागेको देखेर इन्द्रमायाले मायाको स्वरमा भनी, “होइन त रमेश ! आखिर कुनै न कुनै दिन पीताम्बर छुट्छन् र यो घरको, स्वयं मेरो समेत स्वामी भएर बस्छन् । तिम्रो पनि आफ्नो घर छ, अचेल तिमीले त्यसको खोजिनिती नगरे पनि कहिले न कहिले त तिमीले त्यहाँ जानु नै पर्छ । होइन त, रमेश ?"
रमेशले भन्यो, “हो इन्द्रमाया ! र साँच्चै, एउटा कुरा त भन्नै बिर्सेको थिएँ । पीताम्बरको रिहाईको अचेल निक्कै हल्ला चलेको छ । शायद छिटै सबै जना छुट्छन् क्यार ! हो इन्द्रमाया ! साँच्चै भनेकी छ्यौ तिमीले कि आखिर मेरो घरले पनि एक न एक दिन मेराउपर दावा गर्छ । पीताम्बर पनि छुटेकै दिन आफ्नो अधिकारको दावा गर्न आइपुग्छन् ।"
यसको उत्तरमा इन्द्रमायाले भनेकी थिई, “अधिकारको दावा उनले गर्नु पर्दैन, रमेश ! उनको आफ्नो कुरा स्वभावतः उनको त छँदैछ नि उनी जेलमा नै भए पनि । तिमीलाई थाहा नै छ कि यदि प्रेमका विभिन्न किसिमका सम्बन्धहरूलाई कक्षामा विभाजित गर्न सकिन्छ भने मेरो र पीताम्बरको सम्बन्धलाई म प्रथम कक्षामा राख्छु । त्यसैले त अगि मैले भनेकी हुँ कि तिमीबाट पाइरहेको यत्रो सुख, यत्रो आनन्द, यत्रो नारीत्वको सार्थकता ! हो रमेश ! नारीत्वको सार्थकता पनि मलाई सह्य भइरहेको छ विरहको वेदनाले र यो विश्वासले कि मेरो वर्तमान सुख अन्त्यमा अस्थायी छ भनेर ।”
रमेशको अनुहार फेरि ओइलायो । इन्द्रमायाले हाँसेर भनी, “के भो, रमेश ? के सोचेको ?"
उसले गम्भीर मुद्रामै तर व्यङ्ग्यको वाक्यमा भन्यो, “तिम्रो सुख यदि वेदनाले सह्य पारेको छ भने सुन, मेरो सुख पनि सह्य भइरहेको छ- पुनः पुनः पाइरहेको सुखले ।"
इन्द्रमायाले हाँसेर भनी, “त्यसो भए मेरो पनि त्यस्तै छ, सुख नसिद्धिएकोले सह्य हुँदै गइरहेको छ ।”
यो कुरा भन्दा न इन्द्रमायाले नै साँचो कुरा भनेकी थिई न रमेशले नै यसलाई पत्याएर आश्वस्त भएको थियो । केवल वातावरणलाई होलो पारेकी थिई इन्द्रमायाले ।
रमेशले भन्यो, “हो इन्द्रमाया ! तिमीले भनेका सबै कुरा अक्षरशः सत्य हुन् । हाम्रो सुख यात्राको मग्नता हो । ल्याऊ, पीताम्बरलाई तिमीले आजको यत्रो ठूलो योजनाका साथ तयार गरेको तिम्रो उपहार पुऱ्याएर आऊँ ।"
शङ्का लागेर इन्द्रमायाले दिउँसो लेडी डाक्टरसँग जाँच गराउँदा उसले पुष्टि गर्दै भनी, “हो, तिमीले दुई महिनादेखि बोकेकी छ्यौ ।”
तीन
तृतीय प्रहरको अल्छीलाग्दो समय; आफ्नो उमेर पनि दिनजस्तै ढल्न लागेको । स्मृतिको प्रवाहमा इन्द्रमायाले आफूलाई खुकुलो पारेर छाडिदिएकी थिई । हलुको डुङ्गा जलको अन्तःप्रवाहले नजानिँदो गरी खिचिएर आफै बगिरहेको थियो । सम्झनाले सदैव केही न केही विषादको पातलो छाया पनि शायद लिएर आउँछ; सुखस्मृतिमा पनि केही न केही विषादको छाया रहेकै हुन्छ क्यार ! सुखको स्मृति वेदनारहित त हुन्छ तर त्यसमा पनि विषादको छाया परेकै हुन्छ उदासीले भरिएका केही क्षण !
कोठामा एक्लै पल्टिएर इन्द्रमाया आफूले जीवनमा भोगेका सुखदुःखका कुरा सम्झदै थिई । कोठामा झ्यालढोका थुनेर आत्मीयताको अँध्यारोमा ती क्षण बिताउँदा उसलाई रमाइलो लाग्यो । पश्चिमतिरको भ्यालको माथिल्लो खापाको झिलमिलबाट एउटा पातलो किरण पसेर पूर्वतिरको भित्ताको दक्षिण कुनामा प्रकाशबिम्बको सानो चक्र बनाइरहेको थियो । त्यसैले कोठाको अन्धकारलाई किञ्चित् पगालेको हुँदा कोठाको वातावरण घनिष्ठतर भएको थियो । त्यो वातावरणले रसाउँदै ल्याएको स्मृतिको स्पर्शमा आलिङ्गनको आत्मीयता भएझै इन्द्रमायालाई लाग्यो । कोठाबाहिरको जगत्बाट आएर ध्वनि तृतीय प्रहरमा यसै पनि कोमल सुनिन्छ । सडकमा गुच्चा खेलिरहेका बालकहरूको बोली या फाट्टफुट्ट हिँडिरहेका मानिसहरूको पदध्वनि अथवा पसलमा मोलतोल गरिरहेका ग्राहकका यदाकदा आउने केही उच्च कण्ठस्वर- यी सबै आवाज एकाकार भएर कोठाभित्र पस्दा तृतीय प्रहरलाई झन् बढी आलस्यमय बनाउँदै थियो ।
बाहिरी दुनियाँको यस्तो अल्छीलाग्दो ध्वनिका साथै तल बैठकको ढोका उम्रिएको आवाज पनि त्यसैमा मिसिएको इन्द्रमायाले सुनी; र साथसाथै नारीकण्ठबाट निश्चिन्त प्रसन्नताका साथ निस्केको चहकिलो हास्यमय बोली पनि उसका कानमा पर्यो । एउटी घरभित्र पस्दापस्दै भनिरहेकी थिई, “साथीहो, आज मलाई फुर्सद छैन, एकदम छैन ।”
आफ्नी छोरीको बोली चिह्नेर इन्द्रमायाले झल्याँस्स भएर सम्झी- आज उसले आफ्नो युवक मित्रलाई मसँग भेटाउने भएकी छ । बिहानै भात खाइसकेपछि मलाई भनेर बाहिर गएकी थिई, “आज साँझ उसलाई ल्याउँछु आमा !’
उसका साथीहरूको आग्रह थियो, “रमा ! आजलाई भन्न पाइन्न; गौरीले सबैलाई सिनेमा लग्ने निम्ता दिएकी छ ।”
रमा हाँसेर भनिरहेकी थिई, “नाइँ साथीहो! आज मेरो युवक मित्रलाई आमासँग परिचय गराउनु छ ।”
सबै साथीहरूले हाँसेको इन्द्रमायाले सुनी, रमा पनि प्रसन्न भएर हाँसेकी थिई ।
इन्द्रमायालाई यी किशोरीहरूका प्रति ममताको भाव उदय भयो; आफ्नी छोरीलाई सम्झेर त ऊ झन् विभोर भई । उसले पनि यस्तै घडी पाएकी थिई आफ्नो जीवनमा, यस्तै निश्चिन्तताको प्रसन्नताले उसका समस्त पल रङ्गिएका थिए । इन्द्रमायाले गद्गद भएर सम्झी- आज रमाले आफ्नो भावी पतिलाई आमासँग भेटाउने भएकी छ ।
रमा कत्री भई ? मनमनै हिसाब गुनी इन्द्रमायाले - भर्खर १९ सकेर २० मा हिँड्दैछे ।
ठीक बीस वर्षपहिले जब पति झ्यालखानामा थिए, रमा इन्द्रमायाको गर्भमा पसेकी थिई । केवल यति क्षुद्र कारणले कि रमाको बा रमाको आमाको पति होइन, ऊ दुनियाँबाट अवाञ्छित भएर केवल आमाको एकोहोरो ममत्वका आश्रयमा यत्री भएकी थिई । कति भुक्तमान बेहोरेर इन्द्रमायाले यसलाई हुर्काएकी थिई ।
‘म गर्भवती हुनेबित्तिकै रमेशको आचरणमा परिवर्तन आउन लागेको मैले लक्ष्य मरेकी थिएँ । साथीहरू पनि झ्यालखानाबाट एक-एक गरेर छुट्तै आउन लागेका थिए । तर जो-जो आउँथे मलाई रमेशसँग देखेर तर्किन्थे । सके उनीहरूलाई लाग्दो हो कि जेलमा बन्दी भएर बसेको उनको साथी पीताम्बरका प्रति म बफादार रहिनँ । मेरो असती आचरण, त्यो पनि झन् त्यस्तो स्थितिमा- उनका नजरमा अक्षम्य थियो होला । म आग्रह गरेर उनीहरूलाई बोलाउँथें, तर उनीहरूचाहिँ मेरो विषाक्त संसर्गबाट मानो भागेर जान्थे ! दिनदिनै बढ्दै जाने मेरो गर्भको स्थूलताले म हिँडडुल गर्न सक्तिनथै, कोठामै बसिरहन्थें । बसी-बसी हातले बुन्नेवर्ने काम गरिरहे तापनि मेरो मन उदास रहन्थ्यो र म पीताम्बरलाई सम्झिरहन्थें । पछि-पछि पशुपति दर्शन गर्न पनि जान नसक्ने हुँदै गएँ। मेरो चिन्तनको एकाग्रता पीताम्बरका प्रति बढ्दै गयो । झ्यालखानाबाट छुटेका साथीहरू आउन लागेदेखि रमेशले मकहाँ आउने-जाने कम्ती गर्दै गयो । एकाध पटक जिज्ञासाको दृष्टिले मैले उसलाई हेर्दा ऊ स्पष्टीकरण गर्थ्यो- “हेरन इन्द्रा ! बाहिर केही न केही परी-परी नै आउँछ, मैले घर पनि त चटक्क बिर्सिन भएन नि ! होइन त ?”
म पनि स्वीकार गर्थे, “हो ।”
अनि फेरि रमेश भन्थ्यो, “साथीहरू पनि हेरन, कत्रा ठूल्ठूला आँखाले हेर्छन् । मलाई मन पराउँदैनन् उनीहरू ।”
जतिजति मेरो जीउ भारी हुँदै जान्थ्यो, उतिउति मलाई लाग्थ्यो कि मेरा स्वच्छन्द आनन्दका दिन पनि गए अब । एउटा जिम्मेदारी थपियो मेराउपर- एउटा भार !
तर यसका साथै गर्भधारण गरेदेखि एउटा अनौठो, एउटा नूतन विस्मयपूर्ण आनन्दको अनुभव हुन लाग्यो मलाई । जुन बेला डाक्टरनीले म गर्भवती भएकी हुँ भन्ने कुरा बताई, आनन्द र विषादले एकैचोटि आक्रान्त भएर मैले कराएकी थिएँ, “हो र ? सम्भव छ र ?”
डाक्टरनीले भनेकी थिई, “किन सम्भव छैन ! तिम्रो स्वास्थ्य यति राम्रो छ, शरीरमा कहीँ केही खोट छैन ।”
सडकमा आएर मैले मेरो नयाँ दुनियाँको पहिलो सास छातीभरि तानेर चुनौतीको स्वरमा तर मसिनो गरी आफैलाई भनेझै भनेकी थिएँ, “बुझ्यौ ! अब म माता !’
र उत्निखेरै मैले सम्झै- अग्लो पर्खालभित्र एक्लो समय बिताइरहेको पीताम्बरलाई । लाग्यो यो गर्भ उसको पो त थियो !
अर्काको बाली बोकेकी धरती तैपनि हरियी, रमाइली भएकी थिई ।
त्यस रात निश्चिन्तताको गाढा निद्रामा म निस्लोट सुर्तें । भोलिपल्ट बिहान पशुपतिमा माता हुने सौभाग्य पाएकीले गद्गद भएर पूजा गरेँ । मैले भनें, “पशुपतिनाथ ! मेरो यो पेटको सन्तानको रक्षे गर, रक्षे गर मेरा बन्दी पतिको !!
जसैजसै समय बित्तै जाँदै थियो, जीउ भारी हुँदै जान लाग्यो, र शरीरचाहिँ शिथिल र जाँगर नभएको । आनन्दमा पनि सानो सुखको अभाव भएझै लाग्ने, यस्तो लाग्ने कि मुटुको कहाँ हो कहाँ सुखको पत्र जमेर बसेको छ- भारी किसिमको आनन्द, जसमा चञ्चलता थिएन । यति भारी कि पीताम्बरको सम्झनाको विषादक प्रभाव मनमा बसेको हो कि जस्तो ! जतिजति दिन नजिकै आउन लाग्यो उतिउति कोठामा बसेर म पीताम्बरलाई सम्झिरहन थालें, ‘हे ईश्वर ! पीताम्बर चाँडै आऊन् ।’
म र मेरो पेटको सन्तान त एउटै शरीर थियौं तर पीताम्बरलाई एकाग्र भएर सोच्ता उनी पनि कता कता मेरो मनमा हामीसँगै गाभिएका हुन्थे, घरमा हामी तीन जनाको गृहस्थी जम्न गएको छ ।
पछि त अलिअलि गर्दै रमेश पटक्कै आउन छाड्यो । पसले बूढीकी एउटी नातिनीलाई मेरो स्याहारका लागि बाहिरबाहिरै नियुक्त गरी उसैको मार्फत मलाई चाहिने रुपियाँ-पैसाको व्यवस्था गरेर ऊ मेरो जीवनबाट बिस्तार-बिस्तार बिलाउँदै गयो । यसमा मलाई उसले कुनै अन्याय गरेको लागेन किनभने यो घर उसको थिएन कि ऊ यहाँ सदा मेरै भएर बस्न सकोस् । न अर्को कुरा के भने म स्वयं माता हुने आशामा पीताम्बरका प्रति झन् बढी अनुरागिनी हुँदै गएकी थिएँ र मलाई लाग्न लागेको थियो कि यस घरका निम्ति अब रमेश अनावश्यक हुँदै गएको छ । मलाई पनि लाग्थ्यो कि ऊ मेरो सन्तानका प्रति एक प्रकारको बाधा हुन गएको छ । त्यति मात्र होइन, पतिका प्रति मेरो एकाग्रतामा समेत ऊ बाधा भएजस्तो मलाई लाग्न लागेको थियो । यस्तो हुनाले म स्वयं पनि उसका प्रति उदासीन हुँदै गएकी थिएँ । उसलाई मैले दिने समय म माता हुनमा लगाउन सक्ने थिएँ भन्ने मलाई लाग्न थालेको थियो । पीताम्बरप्रति मेरो प्रेम मानो उम्लिएर मेरो सारा समयलाई व्याप्त गरिरहेजस्तो मलाई भान पर्न लागेको थियो । प्रेमिकाको ठाउँलाई अब माताले ओगट्न लागेको थियो, त्यसैले होला मलाई पतिको बढ्ता खाँचो हुन लागेको थियो । पीताम्बरलाई प्रेम त म पहिले पनि एकनिष्ठ भएरै गर्थे, तर अब जुन प्रेमको मलाई अनुभव भइरहेको थियो त्यो पतिप्रेममा सन्तानको पिताको समेत खोजी हुन गएकाले त्यो प्रेम अनौठो, शक्तिसम्पन्न थियो । भारी जीउ लिएर एक्लै कोठामा बसेकी म भन्थें, ‘पीताम्बर ! चाँडो आऊ ।’
इन्द्रमायाले आफ्नो जीवनमा एक पल्ट मात्र माता हुन पाई, र त्यो पनि त्यस्तो असाधारण स्थितिमा । त्यसकारण सबै नारीमा माता हुने ज्ञानले पतिका प्रतिको प्रेमको त्यति बढी र त्यस्तो किसिमको विकास हुन्छ वा हुन्न भन्ने निर्णय उसले गर्न सकिन । भन्छन्- माता हुन्छु भन्ने ज्ञानले केही अंशमा नै भए पनि पतिको प्रेमको एकाधिकार खोसिन्छ रे । आमा हुनासाथ नारीलाई पतिको एकलौटी खाँचो पर्दैन भन्छन् । तर इन्द्रमायालाई त त्यसो भएन । बरु ऊ पीताम्बरका लागि विरहमा झन् ज्यादा पीडित हुँदै गई, मानो नयाँ किसिमले ऊ पीताम्बरको प्रेममा फँस्दै गएकी छ । उसलाई लाग्यो मानो पीताम्बरका प्रतिको उसको प्रेमले एउटा नयाँ असम्भव उचाइलाई छुन खोज्दैछ । व्यग्र हुँदै ऊ एक्लै बसेर भन्थी, ‘पीताम्बर ! चाँडै आऊ, बिन्ती चाँडै आऊ । हेर, तिम्रा लागि दुई व्यक्ति पर्खिरहेका छन् ।’
एक दिन पीताम्बर आए पनि । तर कस्तो अव्यवस्थाको घडीमा उनी छुटेर घर पुगे कि म उनको स्वागतका निम्ति ढोकामा उभिरहेकी हुन पाइनँ । बिहानैदेखि वेदनाले छटपटाउन लागेकी थिएँ । पसले बूढीकी नातिनीले यसको सूचना रमेशकहाँ सुटुक्क दिइछ भनेजस्तो मलाई लाग्छ, किनभने होश र बेहोशीको अवस्थामा मलाई अस्पताल पुऱ्याउने व्यवस्था उसैबाट भएको हुनुपर्छ । अस्पतालमा पुगेको सम्झना छ, त्यहाँको उज्यालोको ज्ञान पनि चेतनाको कुन्नि कुन कुनामा हो भएको थियो मलाई, त्यति मात्र । त्यसपछि वेदनाको एक भीषण लहरले अस्तित्वको कुन्नि कुन अतलबाट उर्लिदै ढाकेर मलाई चेतनाशून्यताको अन्धकारमा हुर्याइदिएको थियो । एकछिन अर्को र अर्कोपछि झन् अर्को लहरले मलाई निसास्सिने गरी छोप्न लाग्थ्यो मानो सास लिनै नपाई म वेदनाको अथाह गहिराइमा डुबेर मर्न लागेकी छु । झन्झन् उग्रतर हुँदै जाने लहरले छोप्तैछ मलाई चेतनाको मिर्मिरे प्रकाश अर्धनिमेषका लागि हो कि होइनजस्तो गरी देखेझै लाग्छ, अस्पतालको उज्यालो कोठाको छाप चेतनामा झिलिक्क चम्किएजस्तो … अनि फेरि वेदनाको लहरमा चुर्लुम्म - चुर्लुम्म डुबेजस्तो … …
मूर्च्छाको एक युगपछि जब म होशमा आएँ, शरीर एकदम हलुका भएको थियो- केवल तल्लो भागमा एउटा सानो मीठो पीडा तर मन एकदम चङ्गा, मानो म आकाशमा तैरिरहेकी छु, अस्पतालको नरम ओछ्यानमा सुखको अत्यन्त मीठो कुतकुती लागेर म निद्रामा भास्सिदै पनि जाँदै थिएँ । लाग्थ्यो, धेरै दिनपछि सुत्न पाइरहेकी छु । मन र शरीरमा कतै पनि कुनै वेदना थिएन । सुखको असीम अनुभवबाहेक अरू सबै थोक टाढाबाट देखेको जस्तो मात्र लाग्थ्यो- अनुभवको सीमाभन्दा टाढाबाट । केवल पीताम्बरको सम्झनाले त्यो सुखको तन्द्रालाई आनन्दले थपथपाएजस्तो लाग्यो । सुखले लोल्लिएको तन्द्रिल प्रवाहमा हलुको शरीरलाई आफ से आफ तैरिन छाडिदिऊँ र एकछिन निदाऊँ भनेर मैले आँखा चिम्लिएकी मात्रै के थिएँ कि नर्सले एउटा पोको मेरो छेउमा राखेर भनी, “हेर, कति राम्री छोरी !”
हठात् मलाई चेतना भयो । यसो हेर्छु त रातो मुजैमुजा परेको एउटा मांसपिण्ड ।
आनन्दले लग्गिएर फेरि म सुखको तन्द्रामा डुब्नै लागेकी थिएँ कि पसले बूढीकी नातिनीको स्वर कानमा पर्यो, “पीताम्बर बाजे घर आउनुभयो ।”
जीवनमा यति ठूलो सन्तोष मलाई फेरि कहिल्यै भएन । पलङको छेउमा सेतो थाङ्नामा बेरिएको मानव-आकृतिधारी जीवित मांसको सानो पुतली, मेरो आफ्नै सन्तानसँगसँगै सुतेकी म - आमा इन्द्रमाया । पति पनि धेरै दिनको काराबास बिताएर आजै घर आएका छन् । योभन्दा सन्तोष अरू के हुन सक्छ र जीवनमा ? मानवजीवनलाई ईश्वरले दिने वरदान यही त हो नि ! अपरिमित सुख र सन्तोषको चकमन्न निर्द्वन्द्वतामा सोच्दासोच्दै भुसुक्क निदाएँछु ।
उठ्दा देख्छु त मेरा निम्ति एउटा सानो किस्तीमा खानेकुरा लिएर एउटी नर्स उभिएकी छ । बिहानको सूर्यको कलिलो किरणले मेरो कोठा उज्यालो पारेको थियो । मेरो छेउको थानोमा सानो हलचल पनि भइरहेको थियो । नर्सले खिस्स हाँसेर भनी, “सुप्रभात !”
मैले भनें, “नर्स ! जीवन बडो रमाइलो छ; बडो सुखदायी छ, होइन ?”
उसले भनी, “अब भोजन गर्नोस् । शरीरले ताकत पाउनुपर्छ ।”
मैले भनें, “अब म घर जान चाहन्छु ।”
नर्सले भनी, “पर्सिसम्ममा जान सक्नुहोला । डाक्टरसँग सोध्नुपर्छ । तपाईंलाई थाहा नै छ कत्रो कष्टबाट तपाईं उम्किनुभयो यसपालि ।”
अनि फेरि मुस्कुराएर उसले भनी, “छोरीले निकै दुःख दिई आउने दिन । तर कति राम्री छ हगि ?”
हिजोको वेदनाको घडीलाई मैले अहिलेसम्म बिर्सिसकेकी थिएँ । अहिलेको सुख र सन्तोषको उज्यालो आकाशमा हिजो मैले पाएको पीडा मानो त्यस्तो कालो बादल थियो जो अहिले आकाशबाट बिलाइसकेको थियो । अहिले त मानो मेरो चेतनालाई आनन्दले पुछेर टलक्क टल्काउँदै केवल उज्यालो मात्र पारिराखेको छ। मेरो अन्तरहृदयमा मानो कहिले पनि अस्त नहुने सूर्यको उदय भयो जसले मेरो तमाम जीवनलाई प्रकाशमय पारिरहेको छ । मलाई केवल एउटै कुराको चाहना थियो- चाँडै घर फर्कें; मेरो जीवनको यतिका दिनदेखि छुट्टै प्रवाहित भएको भँगालो सकेसम्म चाँडै मूल स्रोतमा मिसिन पुगोस् पीताम्बरको जीवनको मूल स्रोतमा- अर्को एउटा काखको सानो जीवनधारालाई पनि सम्मिलित गर्दै ।
त्यही दिन मध्याह्नमा पीताम्बर पनि अस्पताल आएका थिए । शरीरबाट केही चङ्गा भएकी म ओछयानमा बसेर बालिकाको थानो फेरिदिन लागेकी थिएँ- असिपालु हातले । केटीले चाहिँ सुत्नबाहेक अरू केही जानेकी थिइन । यद्यपि त्यस बेलाको उसको अनुहारलाई सुन्दर भन्न सकिँदैन तैपनि नर्सले भनेकी थिई, ‘कति राम्री नानी !’
राम्रो-नराम्रोको विवेचनाभन्दा बढ्ता त्यस समय बालिकालाई बारबार हेर्दा मलाई केवल एउटै भावना हुन्थ्यो : पूर्ण परितृप्तिको, सन्तोषको र आफ्नो सार्थकताको । त्यही बखत मैले बाहिर बरण्डामा पीताम्बरले बोलेको सुनें । हठात् लाग्यो पूर्ण सार्थकताको घडी अब पो त आउनै लागेको छ जब प्रेमको विकासको पूर्णताको अहिलेसम्म अपुग रहेको एउटा अङ्गलाई पीताम्बरले यो कोठाभित्र आएर गाँसिदिनेछन् । आफ्नो नवजात शिशुलाई देख्नेबित्तिकै नारीलाई सबभन्दा पहिलो विचार उठ्छ- पतिलाई कस्तो लाग्ला यो शिशु ? यस्तो सोचेर नारी आफूलाई शिशुसँग घनिष्ठतर भएको अनुभव गर्छ । दुनियाँका बारे उसलाई अरू कुनै चिन्ता रहँदैन; केवल यति मात्रै सोच्छे ऊ आफ्नो मनमा के कस्तो विचार उठ्ला पतिलाई, ऊ के भन्ठान्ला शिशुलाई देखेर र सुन्दर, असुन्दर कस्तो लाग्ला उसलाई यो शिशु ? त्यसकारण सन्तान जन्मिनेबित्तिकै जब माताको ध्यान सन्तानभन्दा बाहिरको दुनियाँतिर जान्छ अनि ऊ सबभन्दा पहिले आफ्नो पतिलाई सम्झेर सोच मान्न थाल्छे, त्यस्तो सङ्कोच जस्तो सुहागरातमा पतिका साथ उसलाई हुन्छ । जुनसुकै सम्बन्धको प्रारम्भ पनि मानचित्र नभएको महासमुद्रको यात्रारम्भ हो जस्तो मलाई लाग्छ । माता भएपछि नारीले पतीपत्नीको प्रेम सम्बन्धलाई मानो पुनः एउटा नूतन स्तरमा नवीन शृङ्खला समाउँदै नयाँ किसिमले स्थापित गर्नुपर्दछ । सबभन्दा पहिले त उसलाई आफ्नो सबभन्दा प्रिय प्राप्ति, आफ्नो सबभन्दा ठूलो रचनाको परिचय गराउनुपर्छ त्यो पतिसँग जुन पति स्वयं पनि नारीका लागि आफ्नो परम प्रिय प्राप्ति भई आजसम्म आइरहेकै थियो । सोचले नुहेका लज्जालु आँखा नउठाएरै ऊ सोच्न लाग्छे कि पति कोठामा उभिएर सम्बन्धको यो नयाँ सृष्टिलाई गम्नेछ; एक मिनेटलाई नै भए पनि ऊ पृथक् भएर माता र शिशुलाई सके आलोचकको दृष्टिले हेर्ला । त्यसैले माताको हठात् सन्तानका प्रति झन् बढी घनिष्ठ ममताको सृष्टि हुन जान्छ; त्यसैले माता सन्तानका सम्बन्धमा पक्षपाती हुन्छे ।
इन्द्रमायाले फेरि एक पटक शिशुलाई हेरी । ऊ निदाएकी थिई । टालोले हलुकोसँग उसको निधार पुछिदिई इन्द्रमायाले यद्यपि यसरी शिशुको अनुहारमा कुनै फरक आएन । पुछ्दा किञ्चित् तानिएको छाला फेरि निद्रामग्न अनुहारमा मुजा पर्दै चाउरिएर बस्यो । तर इन्द्रमाया यत्तिले नै पनि मख्ख परेकी थिई । र, पीताम्बरका लागि सङ्कोच मानेर ऊ पर्खिरही ।
पीताम्बर ढोकानजिक आएर उभियो, अनुहारमा कुनै किसिमको भावना नलिएर । डाक्टर र नर्स पनि ऊसँगसँगै थिए । पीताम्बर अगाडि आएन, ढोकासँगै टाँस्सिएर उभिरह्यो । प्रेममय सङ्कोचले नुहेको शिर इन्द्रमायाले बिस्तारै उठाई। पीताम्बरका भावशून्य आँखामा इन्द्रमायाका आनन्दमय आँखा सरक्क मिसिए । के यतिका दिनसम्म सञ्चय गरेको आनन्दको ज्योति त्यति अकस्मात्, एक विपलका निम्ति मात्र झिलिक्क चम्केर विलुप्त हुन सक्छ र- केवल ग्लानिको एउटा असह्य अनुभव मात्र छाडेर ? पीताम्बरको भावहीन रित्तो अनुहारमा जतिसुकै खोजे पनि जब त्यहाँ सुखको, पुनर्मिलनको, उत्सुक आनन्दको कुनै एउटा हलुको रेखासम्म पाइँदैन भन्ने इन्द्रमायालाई लाग्यो अनि उसको हृदयलाई मानो एक प्रकारको अटेसमटेस गर्ने रिक्तताले किचेकिचेजस्तो लागेको हुँदा हठात् उसका सबै आनन्द विलीन हुन गए। पीताम्बरको रूखो अनुहार त जेलमा पाएको कष्टले पनि हुन सक्छ; तर उसको हेराइमा प्रकाशको एउटा मसिनो किरणसम्म पनि देखा नपरेका उसका आँखाको त्यो वितृष्णा निश्चय नै जेलले दिएको शून्यता होइन ।
नर्सले भनी, “छोरीलाई हेर्नुहुन्न ? हेर्नोस् त, कति राम्री नानी !” ढोकासँग टाँस्सिएर उभिएको पीताम्बर जस्ताको त्यस्तै उभिरह्यो, हल्लिनसम्म हल्लिएन । इन्द्रमायाका निराश आँखा निहुरिएर यस लोकको दृश्य र यहाँका झमेलाले भरिएका अन्य विषयपट्टि एकजात चाख नलिएर मग्नसँग सुतिरहेकी छोरीका उपर अड्न गए; र त्यहीँ अडिरहे । पीताम्बर बाहिर गएपछि उसले शून्य ढोकालाई आँखा उठाएर हेरी; बाहिर बरण्डामा नर्स भनिरहेकी थिई, “बाबुलाई पहिलो दिन लाज लाग्छ र आमालाई पनि ।”
पीताम्बर अस्पताललाई तिर्नुपर्ने हरहिसाब सोधिरहेको थियो । डाक्टरले भनिरहेको सुनी इन्द्रमायाले “अस्पतालको कुनै हिसाब पनि तिर्न बाँकी छैन मिस्टर ! पहिले नै कसैले बुझाइसकेको छ । तपाईं आफ्नी पत्नीलाई पर्सिसम्ममा लैजान सक्नुहुन्छ ।”
ग्लानि र लज्जाले जडवत् भएर कोठामा बसिरहेकी थिई इन्द्रमाया । यदि माताको गौरव लिएर धेरै दिनपछि फर्केर आएको पतिका लागि अत्यन्त उत्सुकताका साथ ऊ नपर्खेकी भए, यदि ऊ सन्तान र पतिका बीच हुने परिचय घडीका लागि नाना किसिमका सङ्कोचिला, रमाइला कुरा मनमा गुन्दै, खेलाउँदै पर्खेर नबसिरहेकी भए र यदि उसको मनमा सुमधुर लज्जालु सङ्कोच नभएको भए शायद उसलाई त्यतिबिघ्न ग्लानि र ताप हुने थिएन । रङ्गीन आशाका पखेटा हालेर ऊ जति माथि पुगेकी थिई, पीताम्बरको एकछिनको व्यवहारले उत्ति नै तल झर्न पुगी ऊ । तिरस्कारको त्यो हृदयभेदी अनुभव माता हुनेलाई सोध, जसको पति मातृरचनाको आयोजन र निष्पत्तिका प्रति एकदमै परचक्री भएर टाढाबाट एकपल्ट आग्रहहीन रिक्त दृष्टिपात गर्छ मानो उसलाई केही वास्ता छैन; अथवा त्यो नववधूलाई सोध, जो ढुकढुक गरिरहेको मुटु लिएर विवाहको प्रथम रात्रिको मङ्गलशय्यामा सोच र उत्सुकताका साथ अनुपस्थित पतिको प्रतीक्षामा रातभर जागेर काट्छे र अर्को दिन निराशको प्रभातमा शय्याबाट तल झर्छ ।
यस्तो भीषण क्षोभ र ग्लानिमा पनि कस्तो आश्चर्य कि छोरीका प्रति इन्द्रमायाको ममता घट्नु साटो प्रतिपल झन्झन् बढ्दै गयो । तर उसले दिनभरि ग्लानि र कुण्ठाको तीतो आँसु घुटुघुटु निलिरही ।
यही घटनालाई लिएर पछिसम्म धेरै पटक पीताम्बर र इन्द्रमायामा कुरा चल्ने गर्थ्यो किञ्चित् क्षोभको वातावरणको रचना गर्दै ।
इन्द्रमाया भन्थी, “पीता ! त्यस दिन तिमीले आउनु नै पनि केको खाँचो थियो र यदि तिमीलाई अनिच्छा थियो भने ?”
पीताम्बर अत्यन्त रूखो स्वरमा भन्थ्यो, “मेरो पनि आफ्नो कर्तव्य छ र त्यसको मैले विचार गर्नैपर्छ । तिमीजस्तो- तिमीहरू स्वास्नीमानिसजस्तो अनुत्तरदायी हामी पुरुष कहाँ हुन सक्छौँ र ?”
इन्द्रमाया आहत भएर भन्थी, “कर्तव्य ? मैले त्यही त भन्न खोजेकी हुँ कि कर्तव्यको प्रेरणाले मात्र तिमीले मेरा लागि किञ्चित् पनि कष्ट गर्नु पर्दैन यदि अरू किसिमको आग्रह मनमा छैन भने । मेरा प्रति कर्तव्य गर्ने तिमीलाई कुनै खाँचो छैन पीताम्बर !”
इन्द्रमायाले असाध्य संयमका साथ यो कुरा भनेकी थिई । हृदयको उम्लिँदो बाफलाई उसले बलपूर्वक घाँटीभन्दा मुनि नै थिचेर राखेकी थिई त्यस बेला ।
पीताम्बरले उस्तै शुष्कताले भरिएको वाणीमा भन्यो, “कर्तव्य म आफ्नो लागि गर्छु । तिमीलाई रिझाउँला भनेर होइन - आफ्नै सन्तोषका लागि । अस्पतालमा तिम्रो खर्चबर्चको व्यवस्था मिलाउने मेरो धर्म थियो ।”
यो वाक्यको कटाक्षले इन्द्रमाया उति आहत भइन । उसले केही तीक्ष्णताका साथ भनी, “तर पीताम्बर ! स्वयं तिमीले नै त्यस बेला देखेका थियौ कि त्यहाँ कर्तव्यको कुनै आवश्यकता थिएन किनभने त्यो त अरू नै कुनै व्यक्तिद्वारा पहिले नै सम्पन्न भइसकेको थियो, होइन त ? तर यदि कर्तव्यपालनको आडम्बरले तिमीलाई आत्मसन्तोष हुन्छ भने त मलाई केही भन्नु छैन । तर पीताम्बर ! मलाई त लाग्छ कि जीवनमा कर्तव्यका प्रति जागरुकता कुनै भित्री आत्मिक भावनाले प्राणवान् हुनुपर्छ, नत्र के कर्तव्यपालन आडम्बरको, अथवा भनूँ आत्मवञ्चनाको अर्को नाम हुन जाँदैन र ?”
इन्द्रमायालाई आफूले दिएको यो उत्तर केही तीखो भएजस्तो लागेको थियो ।
तिनताक ऊ साहै उदास रहन्थी । उसलाई लाग्थ्यो कि छोरी नभएकी भए जीवनमा अब उसको कुनै भविष्य बाँकी रहन जाने थिएन - जतातिर ऊ उत्सुकतासँग उन्मुख हुन सकोस् । त्यसकारण विरक्तिले गर्दा र अर्को छोरीको मर्यादाका लागि ऊ कहिले असंयत भएर तीखो उत्तर दिन्थी ।
त्यसैले कहिलेकाहीँ जब उनीहरूका बीच भनाभन हुन्थ्यो; इन्द्रमाया भन्ने गर्थी, “हेर पीताम्बर ! जसलाई तिमी कर्तव्य भन्छौ त्यसको म अवहेलना गर्न चाहन्नँ तर त्यसको सीमा हाम्रो लोक, यो समाजभन्दा बाहिर खिचिएको हुँदैन, त्यसैले त्यसलाई लोकाचार भने पनि हुन्छ । जीवनमा त्योभन्दा धेरै महत्त्वका आवश्यक वस्तु छन्, जसका प्रति जागरुक हुनुपर्छ मानिसले । तिमीले अस्पतालमा आएर मेरा प्रति लोकाचार गौ जीवनको त्यो आवश्यक तत्त्वका प्रति, मेरा प्रति- बिलकुल उदासीन रहेर । कर्तव्यभन्दा माथि उठ्न सकेनौ तिमी ।”
पीताम्बरले मुखलाई वक्र पारेर भनेको थियो, “तिमीले नि ? म जेलमा छँदा तिमीले मेरा प्रति कुन बफादारी गरेकी थियौ नि ?”
इन्द्रमायाले उत्तर दिएकी थिई, मैले लोकाचार गरिनँ, ‘लोक’ को नजरमा कर्तव्यपालन गरिनँ तिम्रा प्रति । तर जीवनको आधारभूत तत्त्वलाई पोषण दिएर मैले आफ्नो आन्तरिक बफादारी, आत्मिक कर्तव्य अक्षुण्ण राखें । त्यसैले छोरीलाई पेटमा धारण गर्नेबित्तिकै पश्चात्तापको भावनाले आफूलाई पटक्क छुन नदिई तिम्रा लागि म झन् बढी उत्कण्ठाका साथ पर्खिरहें । त्यसैले तिमीलाई पर्खेर बस्दा कहिले पनि मलाई अपवित्रता, लज्जा वा कुण्ठाको भावनाले छुन सकेन जब कि म गर्भमा दिन-रात एउटी सन्तानलाई हुर्काइरहेकी थिएँ ।"
इन्द्रमायालाई लाग्छ कि उसले यी सब उत्तर केवल तर्कले जित्नका निम्ति मात्र दिएकी थिइन । उसलाई त्यस बेला लागेको थियो कि माता हुने अवस्थामा पुग्दा ऊ नारीत्वको पूर्णतामा प्राप्त भएकी छ र त्यस पूर्णत्वबाट गौरवान्वित भएकी पत्नीको प्रेम झन् बढी पवित्र, झन् बढी तृप्तिकर, झन् बढी सन्तोषदायी हुन गएको छ पतिका निम्ति । त्यस बेलाको उसको प्रेम पूर्णाङ्गी भएको थियो भन्ने उसलाई लागेको थियो । यी सब कुरा किन सोच्तैन पीताम्बर ? किन समाजले बलजफ्ती थोपरेको वैवाहिक नियमको मर्यादाभन्दा गम्भीरतर प्रवेश उसको हुन सकेन ? प्रेमको सम्बन्धको मौलिकतापट्टि किन उसको ध्यान जान सकेन ? किन ऊ केवल वैवाहिक अधिकारको दावा गरेर गुदीलाई फ्याँक्दै खोस्टाको सङ्ग्रहपट्टि लागेको छ ? इन्द्रमाया र पीताम्बरको सम्बन्ध नै समाजको मर्यादाभन्दा अधिक तात्त्विक आधारमा खडा भएको कुरा किन आज पीताम्बर बिर्सिन लाग्दैछ ?
पीताम्बरले एक दिन सोधेको थियो अत्यन्त वितृष्णाका साथ, “के तिमीलाई यसको कुनै सङ्कोच हुँदैन कि एउटा पोलाहाका साथ तिमी पोइल गएकी थियौ भनेर ? भ्रष्ट हुनका लागि एउटा अर्को भ्रष्टलाई किन खोज्दै पुग्यौ ?”
सके पीताम्बरले सम्झेको हुँदो हो यस्ता वाक्यले विषालु वाणको काम गर्ला - इन्द्रमायाको मुटुमा । छिनछिनमा इन्द्रमायालाई घोचेर वेदनापीडित पार्दै बदला लिने पीताम्बरको उद्देश्य हुँदो हो । तर इन्द्रमायामा त्यसको कुनै असर पर्दैनथ्यो । आफ्नो आचरणका प्रति मानो ऊ परम निश्चिन्त थिई ।
उसले उत्तर दिएकी थिई, “हेर पीताम्बर ! यदि मेरो उद्देश्य केवल तिम्रो मुख टाल्ने मात्र भएको भए त तिम्रो प्रश्नको उत्तर यस प्रकार दिने थिएँ ‘पीताम्बरबाबू ! के स्वयं तपाईंले आफ्नो राजनीतिक विश्वास उसलाई दिएर अरू साथीहरूभन्दा बढी उच्च स्थानमा राख्नुभएको थिएन र ? यदि तपाईं राजनीतिक गल्ती गर्न सक्नुहुन्छ भने मैले पनि रोजाइमा गल्ती गर्दै भनी म भन्न सक्छु । त्यसकारण मेरो गल्तीको लागि कम से कम तपाईंले उलाहना दिनु अलि शोभा दिँदैन ।’ तर पीता ! म यस्तो उत्तर दिन्नँ किनभने यसमा केवल तर्क मात्र छ, सत्य छैन ।”
इन्द्रमायालाई लाग्यो उसको मुखबाट बिनसित्ति कडा शब्द निस्केछ । त्यसकारण उत्ति नै खेर उसले बडो नरम स्वरमा भनी, “पीता ! मानिलेऊ कथंकदाचित् रमेश पोलाहा नभएको भए, के स्थितिमा सुधार हुने थियो र ? यो छोरीको बाबु पोलाहा नभए पनि मेरा लागि कुनै फरक पर्ने थिएन । म ऊसँग जाँदा कस्तो पुरुषसँग गइरहेकी छु भन्ने तर्क-वितर्क गरेर गएकी थिइनँ । तिमी नै पनि चाहे साधु प्रमाणित हौ अथवा डाँकु, मेरा लागि तिमी उही पीताम्बर नै रहनेछौ जसका लागि म आफूलाई सम्पूर्ण रूपले समर्पित भएकी पाउँछु । मेरा निम्ति केवल रमेश त्यस्तो व्यक्ति मात्र रहन गएको छ जसले मलाई केही दिन रमाइलो पारिदियो र त्यही रमाइलो सहबासमा मैले छोरी आर्जन गरेँ । यदि अहिले मेरो प्रेमले तिमीलाई पुगेको छैन वा यदि मेरो प्रेमले अहिले तिमीलाई सन्तोष छैन भने के रमेश खास साधु भएको भए त्यो पुग्दो थियो त ? तिमी किन आफूलाई धोका दिन खोज्छौ पीता ?”
पीताम्बर इन्द्रमायाको विचार बुझ्न सक्तैनथ्यो । इन्द्रमायालाई लाग्थ्यो कि ईर्ष्याले आँखा नदेखेर पीताम्बर केवल अँध्यारामा भट्किरहेको छ । त्यसकारण पीताम्बरले जब यो भन्न लागेको थियो कि म समातिएपछि तिमीमाथि ठूलो विपत्ति पर्यो, तिमीलाई रुपियाँ-पैसाको खाँचो परेको थियो होला … इन्द्रमाया विरक्त हुँदै उठेर छोरीको कोठामा आएकी थिई । रुन लागेकी छोरी उसलाई देख्नेबित्तिकै मुस्कुराई । इन्द्रमायाको विरक्ति त्यसै बिलाएर गयो । छोरीलाई काखमा लिएर गद्गद हुँदै उसको मुखमा म्वाइँ खान लागी । त्यस क्षण उसलाई अङ्कमाल गर्दा पाएको सुख नै जीवनका तमाम सत्यहरूमा सर्वोपरि सत्य रहेछ ।
तर तिनताक बीचबीचमा उसका मगजमा किसिम-किसिमका प्रश्न उठ्थे- किन यी सब कुरा भए ? उसको प्रेम किन सर्वजयी हुन सकेन ? किन उसको प्रेमले पीताम्बरको हृदयको अन्धकारलाई हटाउन सकेन आफ्नो अन्तः प्रकाशद्वारा ? किन त्यसले आफ्नो गहिराइसम्म पीताम्बरलाई तानेर ल्याउन सकेन ? इन्द्रमायाको त्यत्रो समर्पणउपरान्त पनि ऊ के पाउँछे भने पीताम्बर छिपछिपे पानीमा नै छ, समाजको आधारभूत स्थलका उपर नै गोडा स्थापित छ उसको जीवनको सीमाहीन सागरमा पस्ने उसको साहस छैन ।
त्यसताक यस्तै उदास चिन्तन थिए इन्द्रमायाका । जीवनको रमाइलो अब सिद्धिएजस्तो लाग्यो उसलाई; त्यो त आमा हुनेबित्तिकै सिद्धिन्छ क्यार ! अब त केवल रहन गएको छ गाढा सुखको एउटा चिन्तन, अनुभव - छोरीले हाँस्ता, उसले रुँदा, उसलाई अङ्कमाल गर्दै छातीमा टाँस्ता, उसलाई स्तनदान दिँदा, लय हाल्दै थुमथुम्याउँदा, त्यसै उसलाई हेरिरहँदा, उसका बारे सोचिरहँदा, ……।
छोरीले उज्यालो पारेको उसको जीवनको एउटा पक्ष परम सुखकर थियो भने अर्को पक्षचाहिँ कस्तो उदास ! पीताम्बरका साथ त ऊ बसेकी नै थिई, तर कस्तो आग्रहशून्य व्यवहार हुन्थ्यो पीताम्बरको इन्द्रमायाका प्रति ! मानो दुवै पक्षका तर्फबाट उसले नै सम्बन्धको जिम्मेदारी बेहोर्नुपरेको थियो । उसले स्वयं आफ्नो हृदयलाई छामेर हेरी, तलसम्म डुबेर हेरी कि कहीं उसको हृदयमा नै प्रेमको हरियाली सुक्तै गरेको त होइन ? के स्वयं इन्द्रमाया नै भित्रबाट सुक्तै गएकी त होइन पीताम्बरप्रति ? तर जतिसुकै गहिरिएर सोच्ता पनि झन्झन् बढी विश्वासका साथ केवल एउटै निष्कर्षमा पुग्धी- प्रेमको कुनै सीमा नै हुँदैन रहेछ । प्रेमको सम्पूर्णतामा प्राप्त भएर पीताम्बरलाई प्रेम गर्छु भनी उसले जुन पहिलेपहिले सोच्ने गरेकी थिई, त्यो त सम्पूर्णता नै होइन रहेछ किनभने अचेल ऊ त्यसमा अरू बढी प्रेम थपेर माया गर्न लागेकी छ । सन्तानप्राप्तिको मातृअनुभवले मानो उसको हृदयभित्र प्रेम धारण गर्ने क्षमताको सीमाहीन विस्तार हुन गएको छ । र, त्यसकारण पीताम्बरका तर्फबाट जस्तोसुकै शुष्क व्यवहार भए पनि इन्द्रमायाचाहिँ एकनिष्ठ भएर पनि रमा पुत्रीको सेवामा संलग्न भएकी थिई ।
पीताम्बरको उसका प्रतिको प्रारम्भिक वैराग्यलाई पुत्रीस्नेहको आकर्षणद्वारा मेटाउनुपर्यो भन्ने प्रयत्न पनि उसले गरी । छोरीलाई पीताम्बरको कोठामा ल्याउँथी र कहिलेकाहीँ साहसका साथ उसलाई पतिको ओछ्यानमा राखिदिन्थी । पीताम्बर केही नबोलेर अलि परतिर सरेर बस्थ्यो । कहिलेकाहीँ भन्थ्यो, “मलाई केटाकेटी मन पर्दैनन् ।”
पीताम्बरको यो वाक्य केवल सभ्यताको मागले बोलिएको थियो भन्ने इन्द्रमाया बुझ्थी । उसको भनाइको अर्थ थियो- लैजाऊ, यसलाई यहाँबाट ।
पीताम्बरको कोठामा पुग्दा रमा प्रायः रुन लाग्थी । हो; रमा भनी बोलाउँदाबोलाउँदै छोरीको नाम त्यही रहन गएको थियो । रमाले रोएको पीताम्बरले खपिनसक्नुभएर कान थुन्दै झर्केर भन्थ्यो, “अब घरमा एक छिन पनि शान्ति पाइने भएन के ?”
कहिलेचाहिँ बामे सर्न लागेकी रमालाई सिँगारिवरी पीताम्बर बाहिर जान लागेको थाहा पाएर इन्द्रमाया बाटो छेकिने गरी बार्दलीमा छाडिदिन्धी र आफूचाहिँ कोठाबाट हेर्थी । रमा बामे सर्दै पीताम्बरको कोठाको ढोकामा पुग्दा पीताम्बर उसलाई नाघेर निस्कन्थ्यो । इन्द्रमाया आहत हुन्थी । दगुर्दै गएर छोरीलाई भुइँबाट उठाउँथी, म्वाइँ खान लाग्थी । पीताम्बरको पिठ्यूँ बिस्तारबिस्तार सिँढीबाट झरिरहेको हुन्थ्यो । कहिलेकहिले पीताम्बरलाई देख्नेबित्तिकै रमा रुन लाग्धी ।
एक दिन पीताम्बरले रमालाई लत्त्याएर गएको देखेर रोइरहेकी छोरीलाई बोक्तै इन्द्रमायाले पीताम्बरलाई भनेकी थिई, “पीताम्बर । बिचरी यसलाई किन दण्ड दिन्छौ ? दोष मेरो हो भने म पो दण्डको भागी छु !”
जवाफ नदिएर पीताम्बर खट्… खट्… खट्… गर्दै काठको भऱ्याङ ओर्हिलयो ।
छोरीप्रति पीताम्बरको यो व्यवहार अत्यन्त हृदयहीन लाग्यो । ऊ छोरीलाई धेरै बेरसम्म अँगालेर बसिरही । एक छिनपछि खुसी भएर छोरी फेरि कोठामा थई… थई… गर्दै हिँड्न लागी ।
पीताम्बर घर फर्केपछि इन्द्रमायाले बडो दृढतापूर्वक उसको सामुन्ने आएर भनी, “पीता ! दण्ड दिने भए मलाई देऊ किनभने तिम्रो नजरमा म दोषी छु । अपराध भए मेरो हो अपराध ।”
एउटा नयाँ कुराको अनुभव हुन लागेको थियो तिनताक इन्द्रमायालाई । प्रेमको समर्पणमा मर्यादाको अवसान भने कदापि हुँदैन रहेछ, बरु त्यसको झन् विस्तारित उदय हुँदो रहेछ प्रेममा । मर्यादा छाडेर प्रेम गर्न सकिन्न । झन् उसलाई यता पुत्रीको मर्यादाको पनि बारबार ख्याल हुन लाग्यो । लाग्थ्यो, मातृको सम्पूर्ण शक्ति लगाएर पनि यो मर्यादालाई उसले अक्षुण्ण राख्नुपर्छ । त्यसैले अचेल पुत्रीका प्रति किञ्चित् मात्र पनि अनादरको शङ्का हुन लागेको थाहा पाई भने ऊ चुप्प लागेर बस्दिनथी ।
र यहाँ अर्को एउटा कुरा पनि थियो । पहिलेपहिले आइपरेका जीवनका समस्याहरू त्यस्ता मौलिक थिएनन् जसका प्रति जीवनको गहिराइको अन्तिम सतहमा पुगेर भेट्टाएको सत्यको शिलाखण्डमा उभिएर उसले विचार गर्नुपरेको होस् । अहिलेको समस्या त उसको अस्तित्वसँग सम्बन्ध राख्थ्यो । आफ्नो अस्तित्व लोप गराएर मात्र इन्द्रमाया अहिलेको समस्यातर्फ विमुख भएर बस्न सक्ने थिई । पीताम्बरका कुरा मानेको खण्डमा इन्द्रमाया नै रहने थिइन । यदि उसले आफ्नो जीवनको सत्यलाई पीताम्बरको आचरण र उसको विचारका सम्मुख निर्धक्कसित राखिन भने- के ऊ प्रेमिका, पत्नी र माताको पदबाट आफूलाई झारेर केवल एउटा परान्नभोजी दासीमा परिणत हुन्न र ? त्यस स्थितिमा जीवनको अर्थ नै लोप भएर जान्छ ? उसले गरेको समाजत्याग, त्यसपछि उसले गरेको पीताम्बरको वरण र उसका प्रतिको प्रेम, रमेशबाट प्राप्त गरेको त्यो तृप्तिदायी आनन्द, आफ्नो गर्भको गौरव र अहिलेचाहिँ माताको मर्यादा, के यी सबै तत्त्वहीन आकाशमा निस्सार भई बिलाउने बाफजस्ता हुन्नन् र ? इन्द्रमायालाई लाग्यो कि उसले कम से कम यी सब प्राप्तिको संरक्षणका लागि पनि चुप्प लागेर बस्न हुन्न ।
यिनै सब कारणले उसले दृढतापूर्वक पीताम्बरलाई भनेकी हो कि तिम्रो दृष्टिमा अपराधी म ठहरिएकीले दण्ड दिने मन भए मलाई देऊ; यो सानी छोरीलाई होइन ।
सुनेको नसुन्यै गरेर पीताम्बर कोठाभित्र पस्यो । इन्द्रमाया पनि पछ्याउँदै कोठाभित्रै पुगी । पीताम्बर ओछयानमा बसेर सुरुवाल खोल्न लाग्यो ।
इन्द्रमायालाई लगत्तै पछि आएको देखेर उसले भन्यो, “इन्द्रमाया ! एउटा कुरा गर । तिमी आफ्नी छोरीलाई रमेशको जिम्मा लगाइदेऊ, अनि सब ठीक हुँदै जान्छ ।”
एक्कासि इन्द्रमायाले यो प्रस्ताव बुझ्नै सकिन । उसले भनी, “के … रे…?”
पीताम्बरले भन्यो, “तिमीले छोरीलाई पन्छायौ भने हाम्रो सम्बन्ध फेरि सहज भएर जान्छ ।”
अर्थ बुझेर इन्द्रमायालाई आश्चर्य लाग्यो । उसले भनी, “यो कसरी ? हाम्रो सम्बन्धलाई रमाले कसरी गडबड पारेकी छ र ? यदि मेरो असती आचरणले यो समस्या तिम्रा लागि उपस्थित गरेको हो भने छोरीको निर्वासनबाट त्यसको प्रतिकार कसरी हुन्छ- पीताम्बर ? यसरी कुनै प्रतिकार छैन- न सामाजिक स्तरमा न तिम्रो अल्पप्रेमको गहिराइमा नै ! प्रतिकार त केवल प्रेमका अन्तरालमा चुर्लुम्म डुब्न गएर मेरो सर्वाङ्गीणतालाई - असल खराब चाहे जस्तोसुकै म छु त्यो सम्पूर्ण मलाई निर्द्वन्द्र भएर अँगाल्नमा मात्र छ । तर त्यो त शायद तिमीबाट सम्भव छैन ।”
पीताम्बरले भन्यो, “त्यसो भए तिमी नै किन रमेशकहाँ जान्नौ ?”
इन्द्रमायाले भनी, “त्यसको कारण त एकदम स्पष्ट छ किनभने रमेश मेरो पति होइन जसलाई मैले एक दिन आफ्नो महान् निर्णय गरेर आत्माको एकान्तमा वरण गरेर पति तुल्याएकी थिएँ । म त्यो सत्यलाई केही गरेर पनि मेटाउन सक्तिनँ पीताम्बर !”
पीताम्बरले फेरि भन्यो, “रमेशसँगको यौनसम्बन्ध नि ?"
इन्द्रमायालाई हठात् अत्यन्त विरक्ति लाग्यो । उसलाई यस्तो लाग्यो मानो एउटा प्रस्तर प्राचीरका सम्मुख ऊ आफ्नो सत्यको मर्मस्थललाई उघारिरहेकी छ । उसले विरक्तिकै स्वरमा भनी, “यौन … यौन… यौन ! के तिमी यौनको चिन्तनबाट एक क्षणका निम्ति नै भए पनि मुक्त हुन सक्तैनौ पीताम्बर ? मानवजीवनमा यौनसम्बन्ध जतिसुकै आवश्यक भए पनि त्यसमा कम से कम त्यो अधिकारशक्तिचाहिँ कदापि छैन कि यौनप्राप्त पुरुषलाई केवल त्यति कारणले मात्र पतिको प्रतिष्ठा प्रदान गरोस् । के तिमीले आफ्नो जीवनको अनुभवबाट यो देखेका छैनौ कि यौनसम्बन्धले तिमीलाई जो जोसँग तिम्रो शारीरिक सम्बन्ध रहेको थियो ती सबैको पति बनाएएन ? र वेश्याका सबै ग्राहक उसका पति होइनन् ।”
पीताम्बरलाई एउटा तर्कबिन्दु भेट्टाएँ भन्ने लागेछ क्यार ! उसले भन्यो, “के त्यसो भए तिमी स्वीकार गछौं कि तिम्रो र रमेशको शारीरिक सम्बन्ध रसशून्य थियो भन्ने ?"
इन्द्रमायाले भनी, “रसशून्य थिएन, किनभने प्रेमशून्य थिएन त्यो सम्बन्ध । यदि प्रेमशून्य भएको भए मेरो सहबास वेश्याचरण हुन्थ्यो । कम से कम तिम्री पत्नी वेश्या त हुन सक्तिनथी !"
इन्द्रमायालाई लाग्यो कि उसका यी शब्दहरूलाई पीताम्बर घोरिएर सुनिरहेको छ; तर पटक्क नबुझेर । इन्द्रमायाचाहिँ भनिरहेकी थिई, “एउटा कुरा नबुझेर हाम्रो सम्बन्धमा यो कठिनता- प्रायः एकदम नै असम्भवता - उपस्थित हुन गएको हो; त्यो के भने मेरो सतीत्व तिम्रो खाँचोको विषय नै होइन, पटक्कै होइन; त्यो त मेरो विषय पो हो, मेरो आस्थासँग सम्बन्ध राख्ने सती या असती जे हुन्छ त्यो म पो हुन्छु त्यसकारण म सती भएँ वा असती भएँ भन्ने कुरा त मैले निर्णय दिने कुरा पो हो ! तिम्रो वास्ता त मेरो प्रेमसँग मात्र हुने होइन त पीताम्बर ?”
प्रत्येक बहसपछि उनीहरूको सम्बन्धको स्वाभाविकता झन्झन् लोप हुँदै जान्थ्यो र वातावरण झन्झन् विषाक्त ।
पछिपछि त कुराकानी, बहस, तर्कवितर्क पनि हुन छाड्यो । बहस र आपसी तर्कवितर्कमा जतिसुकै घोचाघोच भए पनि, ती जतिसुकै तीक्ष्ण भए पनि तिनले उनीहरूका बीच लोप हुँदै आएको सम्बन्धको सेतुलाई कुनै अंशमा अडाएर राख्ने कामसम्मचाहिँ गरेकै थियो । तर पछिपछि कुराकानीसमेत हुन छाडेकोले उनीहरूका बीच आदानप्रदानको कुनै माध्यम नै रहेन मानो दुवै आफ्नो आफ्नो कक्षमा असलग्न भएर घुमिरहेका थिए ।
इन्द्रमाया धेरैजसो आफ्नै कोठामा बसिरहन्थी । पीताम्बर पनि आफ्नो काममा प्रायः बाहिरै रहन्थ्यो, र यदि घर आयो नै भने पनि सोझै आफ्नो कोठामा जान्थ्यो र त्यहीँ बसिरहन्थ्यो ।
रमा ठूली हुँदै गएकी थिई तर ऊ आफ्नी आमालाई छाडेर एकछिन पनि बस्न मान्दिनथी। पीताम्बरका सामुन्ने पर्नासाथ ऊ कहालिएर रुन लाग्थी, उसको स्वास्थ्य पनि राम्रो थिएन । यस प्रकार इन्द्रमाया र रमा आपसमा मात्र केन्द्रित भएर, एउटाले अर्काको आश्रयमा आश्वासित भएर, त्यो घरबाट मानो अलगजस्तो भएर रहन लागेका थिए । इन्द्रमाया दिनभरि कोठा थुनेर छोरीसँग बस्न लागी । आमाको सान्निध्यमा आश्वस्त भएर छोरी या त सुतिरहन्थी या रमाइलो मानेर कोठामा खेल्ने गर्थी ।
तिनताक एक्लै बसेर सोच्दा सोच्दा इन्द्रमायालाई यस्तो लाग्न लाग्यो कि शायद उसले अब फेरि एउटा यस्तो निर्णयमा पुग्नुपर्ने भएको छ जुन निर्णय लिँदा उसले आफ्नो नारीत्वलाई स्वयं खण्डित पार्नुपर्नेछ । पीताम्बरले एक प्रकारले इन्द्रमायालाई परित्याग गरिसकेको थियो । उसको एउटा शर्त थियो ऊ छोरीको पनि परित्याग गरोस् । यद्यपि यो कुरा पीताम्बरले शब्दद्वारा भनेको थिएन, तर व्यवहारबाट उसले यो स्पष्ट पारिदिइसकेको थियो कि इन्द्रमायाले उसमा र रमामा एउटालाई मात्र रोज्न पाउँछे । एक दिन उसले इन्द्रमायालाई भनिसकेकै थियो कि यदि रमालाई रमेशकहाँ नपठाउने हो भने कुनै अनाथालयमा राखिदिए पनि हुन्छ ।” यसमा इन्द्रमायाले भनेकी थिई, “त्यसो भए मैले यहाँ किन बस्ने त ? के भोजन र वस्त्रका लागि ?”
एउटा अर्को कुरा पनि इन्द्रगायालाई लाग्न लागेको थियो । त्यो के भने पीताम्बर र ऊ भिन्नाभिन्नै लोकका प्राणी हुँदै गएका छन्, जसका बीचमा न विचारको, न भावनाको, न भाषाको नै आदान-प्रदान सम्भव हुन सक्थ्यो । इन्द्रमायातर्फ प्रेमको असीम पारावार उर्लिरहेकै भए पनि के भो त जब पीताम्बरतर्फ त्यसले स्पर्शसम्म पनि गर्न सकेको थिएन । ऊ आफ्ना जीवनका तात्त्विक सत्यलाई पीताम्बरका सम्मुख पोख्थी; पीताम्बर लौकिक मर्यादामा उब्जेका वाक्यहरू दोहोऱ्याउँथ्यो या आफ्नो अहङ्कार र स्पर्धाका कुरा मात्र गर्थ्यो । एउटै घरमा रहे तापनि पीताम्बर र इन्द्रमाया सँगसँगै कहाँ थिए र ? इन्द्रमायालाई लाग्यो कि दुई व्यक्ति आपसमा सबभन्दा टाढा तब हुँदा रहेछन् जब एउटाचाहिँ जीवनको स्तरको अनुभव गरेको स्थितिमा पुग्छ र अर्कोचाहिँ त्यहाँसम्म पुग्न नसकेर आफ्नो अहङ्कारकै सीमामा अडेर बसेको बसेकै रहन्छ ।
र यतिका दिनपछि इन्द्रमाया आफूले गरेका निर्णयहरूका बारे सोच्न लाग्छे । उसलाई लाग्छ, उसले गरेका निर्णयहरूको महत्त्व यसैमा छ कि ती निर्णय लिँदा उसले आफूलाई अनावश्यक कुरामा नफसाएर जीवनको अस्तित्वमा नै आधारित गरेकी थिई । जीवनका प्राप्ति दुई किसिमका मात्र हुँदा रहेछन्- या त एकदम प्रचूर या एकदम शून्य । र, अन्तमा दुवै किसिमका प्राप्ति फेला पर्दा रहेछन् । यसका साथै इन्द्रमायालाई यो पनि लाग्यो कि एउटा कुरो पाउँदा अर्कोलाई छाड्नुपर्दो रहेछ । जीवनको सापोनापो बराबर ।
पीताम्बरको प्रेमसुख पाउन खोज्दा समाजलाई त्याग्नुपरेको थियो उसले । रमेशबाट रमाइलो पाउन खोज्दा आस्थाको सन्तोष त्याग्नुपरेको थियो; र माताको सन्तोष पाउन खोज्दा पतिको सुख त्याग्नुपर्यो । त्यस्तै जीवनलाई वरण गर्दा मृत्युलाई पनि स्वीकार गर्नुपर्छ ।
तिनताक रमाका साथ एक्लै कोठामा हुँदा इन्द्रमायाको मनमा यस्तै किसिमका विचार आइरहन्थे । रमाको दुर्बल शरीर बीचबीचमा थाकेर आमाको काख खोज्दै आउँथ्यो । इन्द्रमायालाई लाग्यो- यसले आमाको आधारबाहेक अरू कुनै आधार पाइन ।
बीचबीचमा रमेश पसले बूढीकी नातिनीको हात खबर पठाउने गर्थ्यो कि उसले साथीहरूलाई पोलेको होइन; उसका बा दरबारमा सरदार भएकाले छोरालाई कोशिश गरेर छोडाएका हुन्; र साथीहरूले इन्द्रमायासँग बसेको देखेर रिसले उसलाई पोलाहा भनी प्रचार गरेका हुन् । इन्द्रमाया अचम्म मानेर सोच्दथी- ‘रमेशलाई आफ्नो सफाइ दिने आवश्यकता नै किन पर्यो र ? उसका लागि यी सबै निरर्थकका कुरा थिए ।’
एउटा मलिन मुस्कान उसको विषाद, गम्भीर मुखमुद्रामा खिचियो । उसले सोची- ‘अझै रमेशलाई उसका प्रति मेरो असल धारणाको खाँचो बाँकी नै रहेछ ।’ तर उसले रमेशका बारेमा खराब धारणा नै कहिले राखी र कहिले उसका गुण-दुर्गुणको विवेचना गरी र उसले ? राजनीतिको स्तरमा उभिएर उसले कहिले चिसो आँखाले निरीक्षण गरी र उसलाई ? उसले रमेशलाई प्रेम गरेकी थिई र उसबाट सन्तान पाई पनि । ऊसँगको सहबासमा के यिनै दुई मौलिक तत्त्व मात्र होइनन् र ? यसका अतिरिक्त अरू सबै कुरा अप्रासङ्गिक थिए इन्द्रमायाका लागि । यही कुरा नबुझेर पीताम्बर इन्द्रमाया र रमेशको सम्बन्धको केवल सामाजिक आधार मात्र खोजेर कोटचाइरहन्थ्यो ‘त्यो यौनसम्बन्ध र समय थियो कि थिएन ?’ मानो रसमय नभएको भए उसका निम्ति सन्तोषको कुरा हुने थियो । रमेश पनि आफ्ना सफाइ पठाएर सम्बन्धको छिपछिपे स्तरपट्टि मात्र उसको ध्यान रहेछ भन्ने प्रमाणित गरिरहेको थियो । ‘रमेश । तिम्रो सफाइ अनावश्यक, निरर्थक र अप्रासङ्गिक छ’ भनेर इन्द्रमायाले एउटा उदास हाँसो हाँसेकी थिई । रमेशले एकपल्ट यो पनि स्वीकार गरेर पठाएको थियो कि जब ऊ इन्द्रमायासँग बस्ने गर्थ्यो, त्यस बेला उसको बिहा पनि भइसकेको थियो तर लज्जाले यो सत्यलाई उसले इन्द्रमायाबाट लुकाएर राखेको थियो र त्यसका लागि ऊ आजकल क्षमाप्रार्थी पनि छ रे ! तर इन्द्रमायालाई यी सब कुरामा कुनै चाख थिएन । निष्प्रयोजन थियो रमेशको स्पष्टीकरण । बिहा भएको हुँदाहुँदै पनि उसले इन्द्रमायासँग सहबास गर्यो भन्दैमा उसले लज्जित हुनुपर्ने केही कारण थिएन यदि जीवनको कुनै त्यस्तो मौलिक आवश्यकताको अजेय आग्रहद्वारा यिनीहरूको सम्बन्धलाई स्वतः पवित्र पारेको थिएन भने जस्तोसुकै स्पष्टीकरणले पनि त्यसमा सुधार ल्याउन सक्तैनथ्यो । ऊ पनि त विवाहिता नारी नै थिई नि ! र त्यो स्थितिको पूर्ण ज्ञानका साथ पुरुषस्त्रीको मौलिक सम्बन्धमा ऊ रमेशसँग गाँसिन पुगेकी थिई । पीताम्बर त्यही त भन्थ्यो नि, “यो सम्बन्ध अपवित्र छ ।” रमेशले पनि त्यही तर्कलाई स्वीकार गरेर लज्जाबोधको अनुभव गरेको हो र अहिले स्पष्टीकरणद्वारा त्यसमा केही न केही तर्कसङ्गति ल्याउने प्रयत्न गरिरहेको थियो ऊ । रमेशले पनि उसको र इन्द्रमायाबीचको त्यस्तो आत्मीय सम्बन्धलाई पीताम्बरकै आँखाले हेरेको रहेछ त्यस बेला- साधारण मान्यताको आँखाले । पीताम्बरचाहिँ तटस्थ भएर न्यायकर्ताको आसनबाट फैसला गर्दै थियो- ‘तँ अपवित्र, तँ पतीत, तँ पापी ।’ रमेशचाहिँ इन्द्रमायासँगको सम्बन्धको अंशभोगी भएकोले न्यायकर्ताको आसन त लिन सक्तैनथ्यो, तर ऊ सम्बन्धको मौलिक गहिराइमा पुग्न नसकेकोले स्पष्टीकरणको प्रयोजन हुन आएको थियो । उसलाई पीताम्बर र रमेश दुवैको सदृश दृष्टिकोण रहेछ तिमीले सफाइ नपठाउनुपर्ने रमेश !
फेरि उसले एकपल्ट खबर पठायो, ‘छोरीको बन्दोबस्त गर्न तयार छ रे ऊ । इन्द्रमायालाई यो प्रस्ताव पनि निरर्थक लाग्यो । यो प्रस्तावको लाभ उठाउने प्रयोजन नै थिएन उसलाई किनकि छोरीलाई त्यागेर पीताम्बरसँग बस्ने प्रस्तावको मर्यादाहीनतालाई लक्ष्य गरेर के उसले पहिले नै पीताम्बरलाई भनिसकेकी थिइन र कि छोरीलाई छाडेर तिमीसँग बस्नुपर्यो भने म परान्नभोगी दासीको रूपमा बसेकी हुन्छु ?
समस्या छोरीको व्यवस्थाको थिएन । समस्या त थियो उसको नारी-अस्तित्वका दुई मौलिक आवश्यकता पूर्तिको, नारीको प्रियातत्त्व र मातातत्त्वको एकैसाथको संरक्षणको । इन्द्रमायाको अस्तित्व मौलिकको माग थियो- पुत्रीलाई नत्यागेर पीताम्बरलाई पाइरहूँ भन्ने र साथै पीताम्बरलाई नत्यागेर पुत्रीलाई पनि सदैव पाइ नै रहूँ भन्ने ।
इन्द्रमायाले स्पष्ट देखी कि उसका निम्ति कुनै पनि सहायता छैन । कुनै पनि संशोधन, कुनै पनि सुधारले अब स्थितिलाई मद्दत गर्न सक्तैन । केवल एउटै मार्ग उसका लागि खुला थियो- गृहत्याग ।
तर के गृहत्याग इन्द्रमायाका लागि सजिलो कुरा थियो र ? केही वर्षअगि पितृगृहलाई त्यागेकी थिई उसले - आफ्नो भविष्यलाई आफ्नो मुट्ठीमा लिएझै गरी आमाबाबुको घर छाडेकी थिई उसले । त्यो गृहत्यागको परिणामले रचेको यो दोस्रो गृहत्याग के त्यत्ति नै सुगम थियो र ? पहिलेको गृहत्यागपछि कुनै एउटा किनार त भेट्टाएकी थिई- मद्दत गर्न अगाडि बढेको एउटा बलियो हात समाउन पुगेकी थिई त्यस बेला ऊ । यो दोस्रो गृहत्यागचाहिँ आफूलाई छोरीसमेत शून्यमा अर्पित गर्नु थियो ।
एक दिन यस्तै विचार मनमा खेलाउँदाखेलाउँदै उसले रमालाई सफासुग्घर पारेर नयाँ फ्रक लगाइदिई । रमाले फ्रकमाथि पेटका उपर हात राखेर भनी, “अहहा ! कति नाम्नो नाना !”
इन्द्रमायाले लुगाफाटोको एउटा सानो पोको पारी । आफ्नो भन्ने नै के थियो र ऊसँग। बस, एक जोर लाउने लुगा ।
उसले छोरीलाई बोकी, पोको समाई र पीताम्बरको रित्तो कोठामा आएर एकछिन उभिई । ओछयान खजमजिएको थियो । पोको भुइँमा राखेर एउटा हातले राम्ररी ओछ्यान मिलाइदिई र आफूले लेखेको चिट्ठी तकियामाथि राखेर भुइँको पोको बोक्तै बाहिर निस्की । सडकमा पुगेर बाहिरको फाटक थुन्नुभन्दा पहिले ठिङ्ग उभिएर उसले एकपल्ट पूरा घर र बारीलाई हेरी। अनि बिस्तारै फाटक लगाई । रमा भनिरहेकी थिई, “काँ जाने आम्मा ?”
आजको अठार वर्षपहिले शहरको साँझमा छोरी र एउटा सानो पोको बोकेर ऊ निस्केकी थिई ।
त्यसपछि इन्द्रमायाको जीवनमा कुनै ठूलो कुरा भएन । आफ्नो र छोरीको जीविका चलाउन उसले कहाँ कहाँ जानु परेन ! के के काम उसले गर्नु परेन ! तर ती सबै त्यस्ता कुरा थिएन् जो इन्द्रमायालाई कुनै असाधारण लागोस् । सिंहदरबारमा टाइपिष्ट भई, नारायणगढमा अमेरिकी योजनामा काम पाएर ऊ त्यहाँ पनि पुगी । पछि छोरीको विद्याको सुविधाको विचार गरेर फेरि शहर फर्केर आई र एउटा बालिका विद्यालयमा शिक्षिकाको काम गर्न लागी । यी अठार वर्ष पनि उसका लागि बेफुर्सदका समय थिए । दिनरात मामुली तलबका लागि उसले घोटिइरहनुपर्यो । तर के, कुनै दिन पनि उसले पीताम्बरलाई बिर्सिन सकेकी थिई र ? के कहिले पनि पीताम्बरका प्रति उसको प्रेम घट्न सकेको थियो र ?
उसले घर छाड्दा चिट्ठीमा लेखेकी थिई- “प्रियतम ! सम्बोधनका लागि क्षमा चाहन्छु तर यो मेरो हृदयको भावनाले स्वाभाविक किसिमबाट उच्चारित गरेको सम्बोधन हो । म तिमीसँग बिदा लिँदैछु । यसकारणले म यो चिट्ठी लेख्दैछु कि बिदाको दिन म तिमीलाई कुनै किसिमको व्यथा दिन चाहन्नँ । रमासँग तिम्रो परिचय हुन पाएन, त्यसकारण बिदा हुने बेलामा ऊ रमाइलो मात्र मानिरही । तर तिम्री पत्नीले तिमीलाई छोड्नुपर्दा उसले मात्र बुझेकी छ कि जीवनलाई एकदम आधा पारेर, आफूलाई आधा मात्र बाँकी राखेर- ऊ गइरहेकी छ । म जहाँ पनि रहुँला तिमीलाई माया गरिरहुँला, र त्यो मायाले सदा गौरवान्वित भइरहुँला । हाम्रो फिक्री नगर्नू । म यति शिक्षित त छदैछु कि दुई प्राणीको दैनिक व्यवस्था गर्न सक्नेछु ।”
४५ वर्षकी प्रौढा इन्द्रमाया आज तृतीय प्रहरमा आफ्नो एकान्त कोठामा यस्तै कुरा सोचेर लेटिरहेकी थिई । उसले सम्झी- आजकाल पीताम्बर एउटा दलको नेता भएर सम्मानको पदमा आसीन छ । उसले गृहत्याग गरेको केही महिनापछि एउटी राजनीतिक अनुगामिनीसँग उसले बिहा गर्यो रे ! सुखसँग छ रे ! दुलही पनि सिपालु छ रे-’ गृहकाजमा निपुण र दुलहालाई रिझाएकी छ रे ! रमेश पनि सम्पन्न र सुखी छ रे ! बाबुसँग झगडा गरेर आफ्नो अंश लिएर छुट्टियो रे ऊ, आजकल संसद्को सदस्य छ रे ! मनग्ये छोराछोरी पनि छन् रे उसका ।
इन्द्रमायाले सुनिने गरी मधुरो स्वरमा एक्लै बोली, ‘जीवन यही हो ।’
तल सिँढीमा रमाले हाँसेको सुनी इन्द्रमायाले । फेरि झल्याँस्स भई । कुन्नि कहिले हो भित्तामा परेको अस्ताउँदो सूर्यको किरण लोप भइसकेको थियो । कोठा अँध्यारो भइसकेको रहेछ । साँझले झमक्क छोपिसकेको थियो । इन्द्रमाया ओछयानबाट उठी । आँखामा रसाएर थोपा बन्न थालेको आँसु पुछी उसले । हतारिएर भयाल उघारी अनि बत्तीको स्विच थिची- कोठा उज्यालो भयो ।
उत्निखेरै रमा र एउटा युवकले कोठामा प्रवेश गरे । रमा बडो प्रसन्न थिई, उसले भनी, “आयौँ हामी, आमा ! यिनै… ।” त्यति भनी सहज लज्जाले वाक्यलाई पूरा नगरेरै उसले आँखा तल झारी ।
इन्द्रमायाले छोरीलाई हेरी । उसलाई लाग्यो- ठिक्क यही उमेरकी थिई ऊ जब बाबुआमालाई छाडेर पीताम्बरकहाँ गएकी थिई बीस-एक्काइस वर्षपहिले । उसले छोरीसँगै उभिएको युवकलाई पनि हेरी । राम्रो, स्वस्थ युवक थियो । पीताम्बर पनि यही उमेरको हुँदो हो तिनताका ।
युवकले मुस्कुराएर भन्यो, “आमा ! हामी आशीर्वाद लिन आएका ।”
इन्द्रमायालाई लाग्यो, यसको फरासिलो स्वभाव रहेछ - रमेशकै जस्तो ।
उसले भनी, “भाग्यमानी भए !"