नोकरी आइतवार, हप्ताको पहिलो दिन, शिव खड्का पन्ध्र दिनपछि आज अफिस जाँदै छ । कामको ज्यादै बोझले गर्दा तनाउ बढ्न गएकाले उसलाई गौरीले बलजफत गरेर नै छुट्टी लिनलगाएकी थिई तर स्वभावले लाचार शिवले कुनै दिन पनि अफिसका कामकाजहरूलाई बिर्सन सकेन । आज उसले झन् ज्यादा ती कामहरू सम्झदैछ र कुनलाई प्राथमिकता दिएर सिध्याउनु पर्ला भनेर ती थन्किएका संभावित कामहरूलाई केलाउन थाल्दै छ मनमनै । छान्दाछान्दै सबै उत्तिकै जरुरी भइसकेका पाएर त्यति लामो छुट्टी लिन कर लगाउने गौरीसँग पनि बिछुट्टै झोकिन्छ र अठोट गर्दछ राति अबेरसम्म बसेर भए पनि दुई चार दिनमा सबै काम समाप्त पारेर नै छोड्छ । त्यस बेला पनि किन अबेर आउनु भयो ? भन्न लागी भने अनि मैले जवाफ दिन जानेको छु भनेर मनैभित्र गौरीप्रति उठेका रिसलाई थिचारेर सन्तुष्टि लिन्छ । उसका अफिसको व्यवस्था भिन्दै प्रकारको भएकोले पनि उसलाई धेरै चिन्ता लागेको हो । त्यहाँ जो जसले छुट्टी लिए पनि कार्यालयमा फर्केपछि थुप्रिएका कामहरू आफैँले सिध्याउनु पर्छ । त्यसमाथि पनि सबैको विश्वासी सबैले रुचाएकाले माथिका हाकिमदेखि मुनिका सहयोगीहरूले समेत काम उसलाई पन्छाउने भएकाले उसका टेबुलमा फाइलहरूको थुप्रो कहिल्यै छुट्तैन थियो । उसको स्वभाव पनि त्यस्तै छ, कसैलाई “नाइँ, सक्तिनँ” भन्न नसक्ने । उसलाई कुनै मित्रले किन यसरी सबैको काम जिम्मा लिन खोज्छौ, काम बिग्रे दोष तिमीलाई आउँछ, राम्रो भए जसजति अरुमा जान्छ, भन्दा ऊ भन्ने गर्थ्यो, “काम गर्नु भनेको यस्तो कुरा हो, यसले नै हामीलाई अनुभवी बनाउँछ र अनुभवी हुनु सफल हुनु पनि हो । त्यसैले जस उनैले लिए पनि अनुभव मेरो त खोस्न सक्तैनन् । मसँग तिनीहरू जसले काम पन्छाउने गरेका छन् ती अनुगृहीत त हुन्छन् ।” यसरी आफ्नो उपस्थिति अफिसका लागि जरुरी बनाएर बसेका व्यक्तिलाई जब गौरीले एक दिन भनी, “कसैको पनि कतै खाँचो धेरै दिन टिक्न सक्तैन । परिस्थितिले त्यसलाई मिलाउँदै गएको हुन्छ । तपाईं मात्र एक यस्तो हुनुहुन्छ जसले आफू नभएमा सबै डुब्छ भनेजस्तो गरी छोप्तै हिंड्नुहुन्छ । यो सोचाइ तपाईंको भ्रम मात्र हो, अफिसको आवश्यकता होइन”, भन्दा ऊ कति रिसाएको थियो भने त्यस दिन ऊ घरमा खाना खान पनि आएन र कसैसंग बोल्दा पनि बोलेन । त्यस बेलादेखि गौरीले उसलाई जुन बेला अफिसबाट घर फर्के पनि केही भन्दिनथीई । सोच्थी, “उसलाई अफिसका बारेमा केही भन्नु व्यर्थ छ ।” मस्तिष्कमा विभिन्न कुरा खेलाउँदै शिव ठीक समयमा अफिस पुग्छ । उसलाई कामको चिन्ता लागे पनि अफिसका प्राङ्गणमा पुगेपछि खुसी लाग्छ । दश बज्ने बेला भएकाले कर्मचारीहरू चारैतिर छरिएका देखिन्छन् । कोही हस्याङ फस्याङ गर्दै आफ्नो कार्य कक्षतर्फ लाग्दै छन् भने कोही सूचना पाटीमा टाँसेको खबर पढ्न झुम्मिँदै छन् । पदोन्नतिको योग्यताक्रमको सूची निकाल्ने कुरा चलेको ऊ सम्झन्छ र अड्कल पनि गर्छ, सके त्यो त्यही नै होला । उसलाई त्यहाँ त्यसरी थुप्रिएर त्यो खबर पढ्न जिज्ञासु भएकाहरूलाई देख्दा भित्रभित्रै हाँस उठ्छ र एक व्यक्तिसँग सोध्छ पनि, “ककसको नाम निस्किएछ ? तपाईंको छ कि छैन ?” त्यस व्यक्तिले उसका प्रश्नलाई अनसुनी गर्दै यसै पन्छिन्छ । त्यस व्यक्तिका त्यस व्यवहारले उसको मन खल्लो हुन्छ र आफैँ त्यहाँ गएर हेर्न तम्सिन्छ । यत्तिकैमा अर्को एकले उसलाई देखाउँदै, “ऊ माडसाहेव पनि आइपुग्नुभएछ,” भनेको सुन्छ । शिवले पुलुक्क उसको अनुहार हेर्दा खिसिक्क परेको देखेर उससँग केही सोध्दैन । सम्झन्छ, सायद उसको नाम त्यस सूचिमा परेनछ क्यारे ? यस्तो पनि कसरी हुनसक्छ ? उसको नाम त आउनै पर्ने थियो ज्ञ काम पनि राम्रो गर्ने हो, नोकरीका वर्षले पनि पुरानो कर्मचारी नै हो, फेरि के भएछ ?” शिवलाई त्यो सूचना पढ्न अरु उत्साही गराउँछ र ऊ अगाडि सर्छ । हाकिम नै त्यहाँ आएको देखेर अरु कर्मचारीहरूले उसलाई बाटो छोडिदिन्छन् र ऊ त्यो पढ्न थाल्छ । सूचनाको व्यहोरा पढ्दैमा ऊ सननन्न हुन्छ र त्यहाँ उल्लिखित नामहरू ध्यान दिएर पढ्न थाल्छ । अन्त्यमा आफ्नै नाम पढेपछि ऊ खङ्ग्रङ्गै हुन्छ । विश्वास लाग्दैन र दोहोर्‍याएर पढ्छ “त्यहाँ प्रष्टसँग अङ्कित थियो शिव खड्काको नाम ।” ऊ लाजले त्यहाँ भेला भएका कसैको पनि अनुहार हेर्न सक्तैन र त्यहाँबाट फुत्केर कार्यालय बाहिर निस्कन्छ । मनमा प्रश्न प्रतिप्रश्नको आँधी चल्न थाल्छ र सोच्छ, “एक फेर ती हाकिमहरूसँग भेटेर सोध्नै पर्छ, “मेरो निष्काशन गरिनाको कारण के हो ? कुन आधार अपनाउनु भयो ? के यही हो तपाईंहरूको विश्वासी भएर काम गरेबापत मैले पाएको इनाम ? यस्तै हो भने यहाँ न्याय जीवित रहन सक्तैन ?” ऊ त्यसरी ठिङ्ग उभिएर सोचिरहेकै बेलामा अर्को ऊजस्तै पीडित आइपुग्छ । दुवैले खिस्स हाँसेर आआफ्ना वेदना पोख्छन् र शिवले सोध्छ, “के हो यस्तो ? कुनै तुक पाउन सक्नुभयो ?” उसले पनि खिन्न हुँदै जवाफ दिन्छ, “भन्छन्, पजनी हुँदा यस्तै हुन्छ रे ? अहिले मात्र होइन, २०१५ सालमा पनि यस्तै भएको थियो रे ? जुनसुकै व्यवस्थामा पनि मार खाने हामी जागिरे नै हुन्छौं । राणाशासनदेखि आजसम्म पनि यो प्रथा जान नसकेकाले डर लाग्छ, कहीं यो हाम्रो परम्परा नै बन्न नजाओस् । यस्तै हो भने हामी बलियो कहिले हुने खै ? झन् यो त प्रशासन व्यवस्था नै परिवर्तन भएका बेलामा भएको छ । कसले विचार गर्ने, दोषी कोहो भनेर, व्यवस्था कि कर्मचारी ?” यति भनेर ऊ एक छिन चुप लाग्छ र चारैतिर हेर्दै असजिलो मानेर भन्छ, “हिंड्नोस् जाऔं । के उभिएर ढोकाबाहिर बसिरहने ? यो एउटा मात्र ठाउँ छ र जागिर खानलाई ? आफ्नो इलम छ भने जहाँ पनि यत्तिको नोकरी पाउन सकिन्छ ।” यसो भन्दै त्यस साथीले शिवलाई लिएर अफिसका प्राङ्गणबाट नै टाढा हुन चाहे पनि ऊ भन्न छोड्दैन “होइन, एकफेर त्यस मुख्य हाकिमसँग यसरी अकस्मात् निष्काशित गराउनाको कारण नसोधेर कसरी जाने ? यो त हामीले बुझ्नै पर्छ । हिंड्नोस् बरु हामी दुवै जाऔं र सोधौं । कुनै अर्थ त जरुर होला नि ?” शिवको प्रस्ताव सुनेर त्यो साथी दिक्क हुन्छ र भन्छ, “त्यसो भए तपाईं नै अनर्थमा अर्थ खोजेर बस्नोस् र अर्को अनर्थ भोग्नोस् , म त हिडें” भन्दै फतफताउँदै आफ्नो बाटो लाग्छ । शिवलाई साथीका कुराले कुनै असर पार्दैन र ऊ भेट गर्ने निश्चय गर्दै फेरि अफिसतर्फ फर्कन्छ । हाकिम साहब निकै व्यस्त भैकाले केही बेर कुरेपछि मात्र भेट पाउँछ । वादविवाद निकै हुन्छ । चर्को स्वर दुवैको सुनिन्छ । केही बेरसम्म भनाभन भएपछि शिव खड्का हाकिमका कक्षबाट निस्केर यताउति कतै नहेरी सरासर घरतर्फ लाग्छ । नोकरी गएको सङ्कोचले भन्दा हाकिमसँगका कुराकानीले ऊ आक्रोशित भई विचलित हुनगएको छ । उसलाई लागिरहेछ कहाँ गएर के विध्वंस पारी तिनका गालीको प्रत्युत्तर दिऔं । यस्तो भरङ्ग मनस्थिति लिएर घरमा पुग्दा त्यहाँ उसलाई सान्त्वना दिने कोही पाउँदैन । त्यस रित्ता घरले झन् मनलाई चिढाउँछ । गौरी पनि नोकरी गर्थी र ऊ पनि आजै पन्ध्र दिनको बिदापछि अफिस गएकी छे । शिव कोठामा पस्नासाथ लुगै नफुकालेर बिछ्याउनमा आफूलाई हुत्याउँछ र हात पछाडि लगी शिर अड्याउँदै रित्तो भित्तालाई एकनाससँग हेर्दै मनलाई एकत्रित पार्न खोज्छ तर, कसरी शान्त हुनसक्छ त्यो मन ?

एकोहोरोसंग उही प्रश्न दोहोरिरहन्छ, “किन मलाई निष्काशित गरे ? मैले के गरें त्यस्तो ? त्यस हाकिमले किन कुरा खोल्दैन ?” अनुत्तरित प्रश्नले गर्दा ऊ झन् अशान्त हुँदै जान्छ र जुरुक्क उठेर तबला बजाउन थाल्छ जोडजोडले । टाउको तालकासाथमा नाच्न थाल्छ र ऊ आँखा चिम्लेर बजाइरहन्छ …….., बजाइरहन्छ । औंलाहरू ठोकिइरहन्छन् । ती दुई तबलाले उसको आक्रोशको वेग थामेर पड्किरहन्छन्, सुनाइरहन्छन्, शिवका मनभित्र अन्धाधुन्धले चलेको आँधी । राधा त्यस घरकी नोकर्नी । मालिकले दिउँसै अफिस छोडेर आई त्यसरी तबला बजाएको देखेर डराउँछे । लाग्थ्यो, त्यहाँ आकाश गडगडाएर बर्षा हुन लाग्दै छ । ऊ आत्तिंदै घर बाहिर निस्कन्छे र कता जाऊँ भएर चारैतिर आँखा घुमाएर हेर्न थाल्छे । दिलबहादुरले भरखरै विवाह गरेर पहाडबाट शहर ल्याइएकी त्यस राधालाई न त मालिकको स्वभावको राम्रो ज्ञान हुनपाएको छ, न त शहरिया वातावरणकै । ऊ निकै हडबडाई के गरूँ भएर छटपटाइरहेका बेला टाढाबाट गौरी आइरहेकी देख्छे । ज्यानमा केही शक्ति अनुभव गर्दै मालिकनीलाई पर्खिन्छे । दूरभाष भनूँ या अरु केही, त्यस दिन गौरीलाई अफिसमा बस्न पटक्कै मन नलागेर कुनै आपत् आउन लागेको जस्तो सङ्केत भइरहेकाले, यस्तो मनस्थिति लिएर अफिसमा बसिरहँदा के हुन्छ, के भनी आधा दिनको छुट्टी लिएर घर फर्केकी थिई । नभन्दै घरका ढोकामा आइपुग्दा राधालाई त्यस स्थितिमा देखेर सोध्छे “किन यसरी आत्तिएर बाहिर आएकी ? कि कतै जान लागेकी हो ?” गौरीलाई देखेर राधाले लामो सास तानेर ढुकक्क हुँदै भन्छे “बल्ल तपाईं आइपुग्नु भयो । म त कहाँ जाऊँ, कता लागूँ भएर बाहिर निस्केकी । “यी दुई बीच कुरा चल्दा पनि तबलाको आवाज सुनिरहन्छ । गौरी राधाको कुरा सुनेर विचलित हुँदै फेरि सोध्छे, “किन घरमा के भयो र बाहिर आएकी ? त्यो तबला बजाउने को नि ? कि दिलेले पनि तबला किनेर ल्यायो ?” “छैन उसले के किन्थ्यो ? त्यो बजाउने त साहब हो । अघि नै घर फर्किसक्नु भयो ।” यति भनेर ऊ चूप लाग्छे । गौरीले राधालाई घरभित्र हिँड् भनेर साथमा लिएर जान्छे र उसलाई चिया ल्याउन अह्राएर आफू कोठामा पस्छे । शिवले एक सूरले तबला बजाइरहेको देखेर सोध्छे “के सूर चल्यो यस्तो ? आफिसै छोडेर आई यसरी एक्लै तबला बजाउनथाल्नु भएको ? कि सन्चो भएन ? अनुहार पनि अँध्यारो छ”

शिवले गौरीका प्रश्नको जवाफ नै नदिएर बजाउँदैको तबलालाई घचेटेर पन्छाइदिन्छ । एउटा तबला भुइँमा ठोक्किएर फुट्छ पनि । तबला त्यसरी फुटेको देखेर गौरीले भनी, “केको रिस यस तबलामाथि घोप्टाइदिनु भएको ? यो फुटेर नाश कसको भयो ? हेर, यहाँ प्वालै भएछ ।” तबला उठाएर हेर्दै भन्छे । शिवले पुलुक्क गौरीलाई हेर्छ र भन्छ “यो तबला फुटेको जस्तो गरी म सबैलाई छ्यालब्याल पारिदिन्छु । मलाई यिनले चिनेकै छैनन् ।” “कसलाई त्यसो भन्नुभएको ? मैले यसो भने भनेर रिसाउनु भएको ? लौ हुन्छ, तपाईंलाई जे गरेर तपाईंको रिस शान्त हुन्छ त्यही गर्नोस् ।” गौरीलाई थाहा छ शिवले उसँग रिसाएर भनेको होइन तर कुरा फुत्काउन मात्र त्यसो भनेका हो । “छोड यी कुरा, अनि भन, तिमी कसरी आज चाँडै आयौ ? कि कसैले खबर गर्यो ?” शिव सशङ्कित हुन्छ । “कस्तो खबर ? अहँ मलाई कसैले केही भनेको छैन, अलि सन्चो नहोला जस्तो भएर बेचैन भएकीले मात्र आएकी हुँ अनि तपाईं नि ? अफिसमा थुप्रै काम छ, तिमीले गर्दा बिनसित्ति बिदा लिनु पर्यो भनी कराउने तपाईं अहिले आफैँ अफिस छोडेर आउनु भएछ । यसपटक त मैले छुट्टै घर आउनुहोस् भनेकी थिइनँ । दोष मलाई लगाउन पाउनु हुन्न है ?” खुसी पार्न जिस्काउँदै गौरीले कुरो उठाउँछे । उसले अनुमान गरेकी छ, शिव आज ककससँग अफिसमा रिसाएर आएको छ । त्यसैले ऊ शिवको ध्यान अर्कैतर्फ खिच्न र रिसजति आफूमै खनाइदिएर भए पनि शान्त होस् भनेर ठट्टाका भाकामा कुरा गर्छे । ठट्टा गर्नुपर्ने त शिवको पनि बानी नभएको होइन । यी दुई दम्पतिमा यस्तै भाकामा संवाद चलिरहन्थ्यो । त्यसैले गौरीले यस्तो प्रश्न गरेका थिई, तर आज उसको मनस्थिति अर्कै भएकाले जवाफ दिने तरिका पनि फरक हुन्छ । सोध्छ, “तिमीलाई कारण जान्नु पर्यो होइन ? सुन्छ्यौ, म किन घर फर्के ?” “ऊ आक्रोशित हुन्छ । गौरी डराउँछे । राधाले चिया ल्याइपुर्‍याउँछे र टेबुलमाथि राखेर जान्छे । एक छिन कोही केही नबोलेर चिया समाउँछन् । गौरीले पुलुक्क शिवको अनुहार हेर्छे । शिव केही शान्त भए पनि ठूलो स्वरमा नै त्यस स्थगित प्रश्नको जवाफ यसरी दिन्छ, “तिम्रा लोग्नेलाई नालायक भएकाले आजदेखि नोकरीबाट निकालिदिए, थाहा पायौ त तिमीले ? फेरि सोधौली ( त्यसो भए योग्य जागिरदार कस्तो हुनुपर्छ भनेर ? म त्यसको जवाफ दिन सक्तिनँ । कति मात्र म भन्नसक्छु भने म उनीहरूले लगाउने जागिरदारको परिभाषामा पर्न नसकेको रहेछु । तर म यत्तिकैमा कहाँ छोड्छु र ? उनीहरूको परिभाषा मात्र होइन, मेरो आफ्नै परिभाषा तिनीहरूलाई सिकाइदिन्छु । प्रजातान्त्रिक व्यवस्थामा जागिरदारहरूलाई कुन स्थानमा राखेर काम गराउनु पर्छ र उनीहरूको अधिकार र दायित्व के कस्ता हुन्छन् भन्ने कुरा माथिदेखि तलसम्मका जागिरदारहरूले बुझ्न सकेनन् भने यस व्यवस्थाले नकारात्मक रूप लिन्छ ।” “भो छोडिदिनोस् । कति चिन्ता तपाईं मात्र लिनुहुन्छ ? देश बनाउँछौं, हामी नेता हौं, भन्नेहरूलाई पनि राम्ररी चिनिसक्नुभएको छ । आफ्नो इलम र इमान भएसम्म यस्ता नोकरी जहाँ पनि पाइन्छन् । बरु यिनीहरूलाई नै इमान्दार कर्मचारी पाउन गाह्रो हुन्छ ?” “मनभित्र त्यो खबर सुनेर आफू दुःखी भए पनि शिवलाई सान्त्वना दिन गौरीले यसरी सम्झाउँछे । शिव धेरै थाकिसकेका हुन्छ । उसको मन अशान्त भएको र आफ्नो पूरा शक्ति लगाएर घण्टौंसम्म तबला पिटेकाले ऊ शिथिल भइसकेको प्रस्ट देखिन्छ । गौरीका आँखा टेबुलमा फ्याँकिएका चिठीमा पर्छ र त्यो झिकेर पढ्दै भन्छे, “यस्तो पनि कहीँ हुन्छ ? कारण यो भनेर बताउन पनि त सक्नुपर्छ ? खै त्यो दिनसकेको ? जे मन लाग्यो त्यही गर्ने हो भने हामीले व्यवस्था परिवर्तन गराएर के पायौँ ? उस्तै गरी शासित हुँदै जानुपर्छ भने, व्यर्थ छ प्रजातन्त्रको नारा लगाउनु । व्यर्थ छ हामी स्वतन्त्र भयौँ भन्नु ।” “ऊ दिक्क हुन्छे । गौरीका यस्ता कुरा सुनेपछि बल्ल शिवका अधरमा मुस्कान आउँछ मानौँ त्यस मुस्कुराहटले उसका प्रश्नको समर्थन गर्दै भनिरहेछ, “मैले खोजेका पनि त तिनै हुन् । कसले दिन सक्छ तिम्रा हाम्रा प्रश्नको जवाफ र बेकार छन् तिम्रा प्रश्नहरू बेकार छन् तिम्रा जिज्ञासा ।

  • “नोकर भने भनेर किन पिरोलिन्छेस् ? हेरिल्याउने हो भने तिनीहरू पनि हामीजस्तै नोकर हुन् । नोकरी नगरेर यहाँ कसको जीविका चलेको छ ? सरकारका हुन् या दुनियाँदारका, हुन् त नोकर नै ? जा भनेपछि जानुपर्ने र बस भनेसम्म झुकेर बस्नुपर्ने । अहिले साहेबले कसरी बस्नुपरेको छ ?” “त्यसो भनेर कहाँ हुन्छ ? हामी नोकरको पनि नोकर भएनौँ र ? त्यति पनि बुझ्न नसक्ने ठानी फकाउन थाल्नुभएको होला, हेर्नोस् म त …….. ? पहाडकी केटी हेप्नलाई कति सजिलो भनेर नछकाउनुहोस् । फेरि म माइत गएर आउँदै आउन्नँ ।” ती दुईका गन्थन शिवका कानमा टड्कारै पर्छ । उसलाई यो निकै घत लाग्छ र सुतेकी स्वास्नीलाई घच्घच्याउँदै सोध्छ, “ए गौरी, ए गौरी, दिलेको कुरा सुन्यौ ? कि निदाइसक्यौ ? “के गरी सुत्नसक्नु माहुरी भुनभुनाएजत्तिकै गुन् गुन् गुन् गुन् चल्दै छ । कुरा पनि कति आएको ? त्यो राधा कम्ताकी कहाँ छे र ? कस्ताकी छोरी गाउँबाट टिपेर ल्याएको हो, आफूलाई मै हुँ भन्ने ठान्छे । सानो कुरा पर्नु हुन्न, उसलाई पुगिहाल्छ । के भएको थियो, त्यति नोकर्नी भन्दैमा ? म त्यसलाई नन्द भनेर पनि त मान्न सक्तिनँ नि ? विमलाले त्यसलाई देखेर “नन्द” हो भनेर सोधेकी थिई, मैले होइन नोकर्नी हो के भनिदिएकी थिएँ, कालो मुख लगाएर फनक्क फर्केकी त्यो फेरि माथि उक्लिँदै उक्लिन । भाँडा पनि मलाई नै मजाई र आफू अरिङ्गालले टोकेको जस्तो मुख पारेर बसेकी बस्यै थिई । अहिले त्यही कुरा बुट्टा भरेर लोग्नेलाई सुनाउन थालेकी छे ।” “तिमीलाई पनि नोकर्नी भनेर किन भन्नुपरेको नि ? सहचरी भनेकी भए पनि त हुन्थ्यो । सुन्दा पनि मीठो, कसैको दिल पनि नदुख्ने । काठमाडौंमा के के न काम गरेर बसेको छु भनेर विवाह गरेर ल्याएको होला दिलेले, यहाँ नोकर्नी भन्दा छाना बाट खसेकी जस्तो हुने नै भई नि । यस्तो मानसिक धक्का परेपछि सबैलाई त्यस्तै हुन्छ । यसमा अलिकति गल्ती तिम्रो पनि भएको रहेछ । हेर्दा यिनीहरू जस्तासुकै देखिए पनि बुद्धि नभएका हुँदैनन् । सुनिनौ तिमीले, त्यस दिलेले कस्तो मार्मिक कुरा बोल्यो । (अलि गंभीर भएर ) साँचै हामी नोकरै त हौ नि, सरकारी कर्मचारी कहाँ हुनपुगेका रहेछौं र ? आदेशअनुसार अह्राएपराएको काम गर्नुपर्ने, आफ्ना भनाइको सुनाइ नहुने, आफ्नो सोचाइ अनुसार काम गर्न नपाइने । हाम्रो पनि घरको नोकर भन्दा अर्कै अस्तित्व के भयो र हामी नोकर होइनौं भनौँ ? ठिक भनिस् दिले तँले ?” “त्यस्ताका कुराको समर्थन गर्दै तपाईं आफूलाई नोकर मान्नुहुन्छ भने मलाई केही भन्नु छैन । उसका आँखाले त सबैलाई आफूजस्तै नोकरै देख्छ । छि …….. यिनीहरूको यो गुनभुन पनि कतिबेरसम्म चल्ने हो । यिनका लागि एउटा छुट्टै घर बनाइदिऔं भने पनि सकिने भइएन ?” यति भन्दै आफू कोल्टे फर्किएका र सुत्ने कोसिस गर्छे र शिवलाई पनि रात छिप्पिइसकेको सङ्केत दिँदै सुत्ने अनुरोध गर्छे । शिवलाई पटक्कै निद्रा लाग्दैन, उसका मस्तिष्कमा दिलबहादुरले भनेको “सरकारी नोकर” भन्ने शब्दले हावा खाँदै तहलका मचाइरहन्छ एकनाससंग । ऊ सोच्छ, मैले यति कुरा जान्न पन्ध्रवर्ष नोकरी गरेर पनि सकिनँ, यसले यति सजिलोसँग कसरी अर्याइदियो ? म सोच्थें, म त कर्मचारी हुँ । आदेशको मात्र पालना गर्ने म अब हैन । मेरा पदको पनि केही दायित्व छ र यसको निर्वाह गर्न चाहिने हक मैले प्राप्त गर्नै पर्छ । यही सोचाइ लिएर म वादविवादमा आफूलाई पार्दै गएँ र आफ्ना आत्माले ठहऱ्याएको काम मात्र गर्नथाले । प्रजातन्त्रको पुनःस्थापना भयो भनेर जब आम जनताले खुसियाली मच्चाको सुनें जब नेताहरूले मन्त्रीको पद सम्हालेर प्रजातान्त्रिक राज्य घोषणा गरी शासन सञ्चालन गर्न थाले, म मूर्खले पनि प्रजातान्त्रिक देशको स्वतन्त्र नागरिक मानेर आफूले नोकरको काँचुली फेरेको संझन थालें । कत्रो भूल गरेको रहेछु । अविश्वासले भरिएका नियम कानून तानाशाही शासनपद्धति रहँदा जागिरदारलाई नोकरको हैसियतले मात्र प्रयोग गरी नियन्त्रणका साथ राज्य सञ्चालन गर्ने गरिन्थ्यो, तिनै नियम कानूनको अझै पालना गर्दै त्यसैले तोकेका परिधिभित्र रहेर प्रशासन चलाउनु पर्ने हामीले आफूलाई कर्मचारी या पदाधिकारी भनेर मान्नु सरासर झुटो हो ? यतातिर प्रजातन्त्रको नारा, उतातिर पुरानै प्रशासनिक कानून व्यवस्था, यसले त जाली फटाहालाई बदला लिने मौका मात्र प्रदान गर्ने रहेछ । तसर्थ जबसम्म तन्त्र सुहाउँदो व्यवस्था र व्यवस्था चलाउन सापेक्ष नियम कानून बन्दैनन् एक घोषणाले मात्र सत्ता परिवर्तन भइसक्यो भन्ने ठानेर आफूलाई स्वतन्त्र छु भन्न नसुहाउँदो रहेछ । पार्टीका नेताहरू मन्त्रीका पदमा आसीन हुनु संविधान निस्कनु देशव्यापी चुनाव हुनु र संसदको स्थापना हुनुले मात्र प्रजातान्त्रिक शासन चलाउनलाई कहाँ पर्याप्त हुँदो रहेछ र ? लुडो खेलका गोटीहरू दाउ पर्दा सर्केर माथि पुग्ने र सर्पका मुखमा पुग्दा पुच्छरबाट निस्कनु पर्ने जस्तो हाम्रा हाकिमहरू भएको देख्दादेख्दै पनि मलाई बुद्धि आएन र भन्दै गएँ “हिजोका दिन बितिसके । स्वतन्त्र भएका हरेक हामीमाथि अब देशको भलाइको जिम्मेदारी आएको छ । यो तन्त्र हाम्रो आफ्नै हो । यस्ता धारणा लिएर म जहाँ, जसको त्रुटि देख्थें, प्वाक्कै भनिदिन्थे र सुधार गर्न सकेजति गर्थे पनि । आफू खुलेर सबैसँग व्यवहार गर्थे र भन्थे “प्रजातन्त्रमा पारदर्शी पनि हुनुपर्छ ।” त्यसैले आफूलाई शङ्का लागेको कुनै पनि काम खोतलेर त्यसको निचोड निकाल्न छोडिनँ । मैले उठाएका यी चालहरू धेरैलाई असहनीय भएका रहेछन् र मलाई यस निष्कर्षमा ल्याएर पछारी दिए । म छक्किएँ । मैले सोच्न सकिनँ, भावना परिवर्तनका लागि भावनात्मक क्रान्ति ल्याएर मात्र हाम्रो प्रजातन्त्रमाथिका आस्थालाई दिगो बनाउन सकिन्छ र त्यस्ता क्रान्तिको आह्वान भएकै छैन ? हाम्रो आन्दोलन अधुरो रहेको छ । प्रजातन्त्रको खिल्ली उडाउनेहरूले भन्दैछन् ( “यिनले के परिवर्तन ल्याए भन्छन् । प्रशासन चलाउने व्यक्ति पनि उही नै छन् । नियम कानून पनि उही नै छन् । आयो, आयो, फर्कियो, फर्कायौ भन्छन्, के आयो, के फर्कियो ? के थियो, के गयो ? के छ ? यी सबै विरोधाभास छन् । परिवर्तन प्रष्ट देखिएको भने एउटैमा छ, संविधानका फेरोभित्र राजा सुरक्षित ।” “के यति नै हो त, हामीले आन्दोलनबाट चाहेको ? शासक र जनता, जनता र शासकको मध्यस्थता कायम गर्ने चौथो निकाय भनिएको पत्रकारिताको भूमिका आफैँमा अल्मलिएको छ । पक्ष र विपक्षको द्वन्द्व लिएर आफैँमा प्रष्ट हुन नसकेका खबरले जनता अझ धेरै भ्रममा परेका छन् । यहाँ पार्टीहरूका शक्तिको होडबाजी भुसभुसे आगोसरह सल्किरहेछ । जससँग जे सोधे पनि असन्तुष्टि नै व्यक्त गर्छन् । भ्रष्टाचार र विकाससम्बन्धी नारा दिन प्रतिदिन अकाशिदै छन् भने प्रजातन्त्रको परिभाषा खुलेको छैन । देश र संस्थाको हितका लागि यस्ता विरोधाभास नियमलाई समयमा नै निर्णय लिनुपर्दा उल्लङ्घन गर्नु पर्यो भने पनि आरोप आइलाग्छ (“भ्रष्टाचारको” । नियमकै परिधिभित्र बाँधिएर हात चलाउँदा समय फुत्किएमा पनि दोष आइलाग्छ उही जागिरदारमाथि काम भएन भन्ने ? हुन त यस्तै अवस्थाको सिर्जना गरी आफ्ना भुँडी भर्नेहरू नभएका पनि होइनन् तर कर्मका आधारमा न्याय हुने चलन किन बस्न सकेको छैन ? कि नियम कानून समय सुहाउँदा, व्यवस्था सुहाउँदो हुनु पर्‍यो कि त न्याय बलियो भई हित र अहितको विश्लेषण गरी कर्मचारीहरूको मनोबल र आस्था बढाउने प्रकारले फैसला गर्ने हुनुपर्थ्यो । यहाँ त यस्तो भएकै छैन । हामी कुन सँघारमा उभिएका छौं ? यस्ता कुरा खेलाउँदै शिव छटपटाउन थाल्छ र गौरी फुसुफुसु फेरि निदाइसकेकी देखेर घच्घच्याएर उठाउन खोज्दै भन्छ, “ए कुम्भकर्ण, कति निदाएकी ? उठ्, एकछिन कुरा गरौँ ।” “गौरी उठ्नलाई अल्छीगर्दै भन्छे, “सुत्नसक्नु भएन ? यसरी नसुतेर रात बिताउन थाल्नुभयो भने शरीर के होला ? ज्यानजस्तो ठूलो अरु के छ ? “केही हुँदैन तेरो लोग्नेलाई, मैले गर्नुपर्ने थुप्रै काम बाँकी छन् । यति छिट्टै के मरिहाल्यें । हो, निदाउनु स्वास्थ्यका लागि जरुरी छ, पीर नगर र कहिलेकाँही जसले पनि थोरै सुतेमा केही फरक पर्दैन । त्यसैले आज तिमी मसँग गफ गछ्यौ र यो रात फेरि अर्को एक सुहागरात बनाएर बिताउँछ्यौ । कुरा बुझ्यौ के ? प्रेमका कुरा नभए पनि वेदना पोखेर बिताउँला । लौ उठ र मतर्फ फर्क ।” गौरी त्यसै गर्छे र मनमनै भन्छे, “यो दिलेको बुद्धि कहिले आउला ? भरखर नोकरीबाट निष्काशित भएर दुखेका मनमा यसले कुनै तुकै नभएको कुरा उठाएर यत्रो चोट लगाइदियो । त्यो जस्तो नोकर पनि कहीं सरकारी नोकर हुन्छ ? स्वास्नीसँग आफूलाई ठूलो देखाउन हामीलाई नै खसाली दियो । अब यसले उहाँको मुटु छोइसक्यो । कति दिनरात यसरी नै छटपटाएर बिताउने हो । हामीले सम्झाउन थाल्यौँ भने झन् उल्टै भन्नथाल्नु हुन्छ, “घरमा त मैले साँचो कुरा सुन्न पाऊँ । यस सभ्यताले पनि हामीलाई के बनाउने हो ? घरलाई कूटनीतिबाट टाढा राख, नत्र साँचो थाहा पाउन नसकेर के हुन्छ के, यसका खोजमा कहाँ पुग्नुपर्छ, त्यो झन् ठूलो आपत् हुनसक्छ ?” यस्तो बोल्न थाल्नुभएपछि मलाई झन् डर लाग्छ । के गरूँ, सहनुबाहेक मेरो अर्को उपाय नै भएन । यति मनमा कुरा खेलाउँदै शिवलाई भन्छे, “के चिन्ताले सतायो तपाईंलाई ? सक्नुहुन्छ भने तपाईंको ती सबै चिन्ता मलाई दिनोस् । तिनलाई म ठिक पारेर राखिदिन्छु । तिनको टाउको उठ्नै दिन्न । चिन्तासँग त मेरो दुस्मनी छ । “अनि तिमी म हुन्छ्यौ र म तिमी । मैले पनि तिमीले भनेको जस्तै भन्न थाल्नुपर्ने हुन्छ । त्यसैले त्यो भारी काम पनि त बाँडौँ भनेको ?” “बल्ल यो वाक्य बोलेपछि शिवका चेहरामा अलिकति हाँसोको रेखा देखापर्छ । यसले गौरीलाई हौसला दिन्छ र विजय प्राप्त गरेको अनुभूति लिएर सम्झाउने भाकामा भन्छे, “दिलेको त्यति साधारण कुराले तपाईंलाई यत्रो घत पर्यो ? अनुशासित हुँदा आफू अपमानित भइन्नँ ।

व्यवस्था सञ्चालन गर्नलाई नै अनुशासनको जरूरत पर्छ । तह र पदको मर्यादा राख्नुपर्छ जसमा जिम्मेदारीको भार तोकिएको हुन्छ भनेर मलाई सम्झाइ, बुझाइ गर्ने तपाईं नै आज नोकरीबारे दिलेले लगाएको परिभाषालाई समर्थन गरेर भन्नुहुन्छ, “यसले ठिकसंग अर्यायो, हामी पनि उस्तै नोकर हौं ।” “कसरी तपाईं त्यससरहको नोकर हुनुभयो ? यस्तो अर्थ न बर्थको कुरालाई पनि समर्थन गर्ने ? बोल्दाबोल्दै गौरी एक छिन चुप लाग्छे र दिक्क भएर भन्छे, “यस्ता कुरालाई लिएर महत्व दिन के बहस तपाईंसँग गर्ने ?” “अहिले पनि अनुशासनहीन हुनु नै कर्मचारी या पदाधिकारी हुनु हो भन्ने म मान्दिनँ । अनुशासन नभई प्रशासन नै चलाउन सकिदैन । फरक कति मात्र छ भने अनुशासन एक कर्म हो भने नियम एक निर्दिष्ट लक्ष्य लिएको नीति हो । कुनीतिका पालना गराउन जागिरदारमाथि अनुशासनको लगाम लगाइन्छ भने त्यो शोषण हुनजान्छ अनि त्यो महत्वहीन व्यक्ति बन्छ । अहिले संविधान आइसकेको छ । यस अन्तर्गत रहेर प्रशासनिक नियमावलीलाई प्रजातान्त्रिक बनाउँदै कर्मचारीमा जिम्मेवारी दिएर, विश्वास गरेर बदलिनु पर्ने आवश्यकता आइसकेको छ । भ्रष्टाचार के, कसले गरेको छ भन्ने जाँचबुझ गरी अभियुक्तलाई सजाय दिलाउनलाई नै प्रजातन्त्रमा न्यायपालिका स्वतन्त्र हुन्छ । त्यसैले स्वतन्त्रताको परिचालन गर्न दिनका लागि कार्यको जाँच व्यक्तिगत, राजनीतिगत र पक्षका आधारमा नभई स्वतन्त्र नागरिकको हक उचित न्याय पाउन हो भन्ने उद्देश्य राखेर हुनुपर्छ भनेको । यो अहिलेसम्म किन, हुन नसकेको ? यो सोच्ता दुःख लाग्छ र ? गौरी त्यसैले तिमीसँग गफ गरेर भए पनि शान्त छु भनेको । “तपाईंको सोचाइ जस्तै सबैको हुनुपर्छ भन्ने के छ र ? फेरि पनि त हामीलाई थाहा छैन कहीं उनीहरूले तपाईंले भन्नुभएजस्तै गरी सोच विचार पुर्‍याएर नै आदेश दिने र पालना गर्ने गरेका छन् कि ? यस्ता विभिन्न अर्थ लाग्नसक्ने कुरालाई लिएर पनि तपाईं गन्गन गर्नुहुन्छ ।” यसरी गौरीले शिवका कुराको प्रसङ्ग बदल्न प्रयास गर्छे तर ऊ छोड्दैन । उसलाई यसै विषयमा कुरा गरेर शान्त हुनुछ । त्यसैले भन्छ, “एउटै मात्र अर्थ लाग्ने नियम हुनुपर्छ भन्ने त मेरो भनाइ हो । नत्र कर्मचारी नियमावलिको कमजोरी पक्षलाई समातेर उच्च पदका जागिरदारले तल्लो पदका जागिरदारलाई दुःख दिने प्रवृत्ति बस्न गयो भने त्यो लाचार शोषित जागिरदार एउटा नोकर हुन्छ । प्रशासनको होइन प्रशासकको । उदाहरण खोज्छ्यौ भने मलाई हेर । नोकर भएर बस्न सकिनँ र कर्मचारी हुँ भन्दै नोकर बनिनु पर्ने नियम तोड्दै हिंडें । म कर्मचारी भनिएकाले कर्मचारी खोसुवा अभियानमा परें र जसले सरकारी नोकरै भएर रहन मन्जुर गरे, ती बहाल नै रहिरहे ।” “त्यसो भन्नुहुन्छ भने कुरा आफैँ खुलेन र ? तपाईंले नियमबद्ध भएर रहन नचाहनु नै तपाईंको निष्काशनको कारण हुनसक्छ ।” “के हो, के होइन ? यो नै हो भनेर कसरी भनूँ । त्यही कारण थाहा पाउनलाई नै मुद्दा दिऊँ कि भन्ने सोचिरहेको छु । मैले नियमै उल्लङ्घन गरेको रहेछु भने पनि संस्थाका हितका लागि त्यो सुहाउँदो नभएको पाएर नै गरें हुँला ? राम्रो नै गर्ने उद्देश्य राखेर कुनै चलनलाई पन्छाएर अगाडि सर्नु बेइमानी नहुनु पर्ने हो । फेरि त्यस्तो पनि कुनै गरेको जस्तो लाग्दैन । हो, म स्पष्टवक्ता भने छु तर त्यसलाई अनुशासनहीन भन्न पनि त मिल्दैन । के कुरामा कुनबेला मसँग रुष्ट भएका थिए, मौका छोपिहाले । आफ्नो भूल थाहा नपाई यस्तो सजाय मात्र भोग्नु पर्दा ज्यादै गाह्रो पर्दो रहेछ ? नत्र भन न, प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलनमा भाग लिन अफिसबाट छुट्टी लिएर सघाउ पुर्‍याउने म प्रजातान्त्रिक शासन चल्दा निकालिन्थें ? ती हाकिमहरू पनि टेलिफोन गर्दै भन्थे, “लौ लौ शिव तपाईं त्यतैतिर लाग्दै गर्नोस्, यहाँ हामी छौं । के गर्नु, हामीले देखिने गरी लाग्नु भएन, हाम्रा तर्फबाट तपाईंलाई पूरा बल मिल्नेछ । यो व्यवस्था, यस तन्त्रलाई ढाल्नै पर्छ ।” “म पनि आफूले के के न बहादुरी गरेको छु भन्ने ठान्दै सबै कुराको विस्तार लगाउँदै सुनाउँथें तिनैलाई । प्रजातन्त्रको पुनर्बहालीपछि अफिस जाँदा मेरो कत्रो कदर भएको थियो, मानौं म पनि विजयी नेता हुँ र समस्त जागिरदारको प्रतिनिधि हुँ । धेरै वर्षदेखि दबाबमा बस्ताबस्तै सहन अभ्यस्त भएका ती जागिरदारहरूमा २०४६ साल चैत्र २६ गते पश्चात् आफूहरूलाई बन्धनमुक्त भएको सम्झँदै अनुशासनलाई समेत स्वतन्त्रताको बाधक मान्दै प्रजातन्त्रका नाममा उल्कँदै स्वच्छन्दपना देखाएर अफिसका मर्यादालाई उल्लङ्घन गर्न थाल्नेहरूको सँख्या ह्वात्त बढ्दै जान थालेकाले ममाथि नै तिनीहरूलाई सम्झाई बुझाई गर्ने कामको जिम्मा थप गरिएको थियो । त्यसबेला म नै अनुशासन र स्वतन्त्रता जान्ने भएको थिएँ ।” ऊ सम्झन्छ, त्यो दिन जब उनीहरूले उसलाई हाकिमको चम्चा, प्रजातन्त्रको स्वाँगी भनेर जथाभावी बोलेका थिए । यस सम्झनाले उसका मनमा खेद हुन्छ र मनसँग आज त्यो अनुशासित चम्चा स्वतन्त्रता र स्वच्छन्दताको परिभाषा अर्याउँदै अफिसको मर्यादा तिनीहरूलाई सम्झाउन खटिएको त्यो व्यक्ति प्रश्न गर्दै छु, “मैले के बिराएँ र यो सजाय पाएको छु ?” थाहा पाउन थाल्दैछु । समय बित्तै जाँदा मेरा ती साहसी कदम, ती प्रजातान्त्रिक भावना, उद्देश्य सबैलाई अर्कै दृष्टिले हेर्न थालिएछ म पो त स्वतन्त्रताप्रेमीबाट उच्छृङ्खलमा गनिदै जान थालिएछु । एक दिन मलाई हाकिमले बोलाएर भनेका थिए, “ए शिव, होस् गर्नोस् है, यहाँ को कांग्रेस, को कम्युनिष्ट, को पूर्वपञ्च, को राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षधर छन् भनेर छानबीन हुँदै छ रे भन्छन् । के थाहा, यिनै आधार बनाएर पजनी पनि गर्छन् कि ? पर्नु होला फेरि । धेरै चम्केर नहिड्नोस् । म कुनै पार्टीको पनि सदस्य होइन, म त स्वतन्त्रताप्रेमी मात्र हुँ भन्नु भएर सुख पाउनु हुन्न । त्यस्तै कुनैको पनि पक्षधर नभएका लागि त निकालेर बिदा गर्न सजिलो हुन्छ । तसर्थ अह्राए पराएका काम गरेर बस्नोस्, नत्र पछुताउनु पर्ला ।” मैले पनि निर्भीकताका साथ भनेको थिएँ, “जे गर्छन् गरून् । आफैँले कर्मचारीहरूले राजनीतिमा लाग्न नपाउने, कुनै पनि पार्टीको सदस्य हुन नपाउने भन्ने, फेरि जे मन लाग्यो त्यही दोष लगाउन पाइन्छ र ? म त आफूलाई स्वतन्त्रताप्रेमी भन्न छोड्दिनँ । मेरो सबै पार्टीका नेतादेखि ल्याएर सदस्यहरूसँग एकै प्रकारको सम्बन्ध छ । मैले चाहेको नेपाल प्रजातान्त्रिक मुलुक भएर रहिरहोस् भन्ने मात्र हो । यदि यो प्रजातन्त्र, जसलाई पुनःस्थापना गर्न हामीले कति मानसिक, शारीरिक दुःख भोग्यौं, त्यसैलाई धक्का लगाउने काम कुनैबाट हुन्छ भने म त्यसलाई छोड्दिनँ, चाहे त्यो अन्तरङ्ग मित्र नै किन नहोस् या …… ?” सके मैले यसो भन्नु नै उनीहरूका लागि खतरा भयो कि ? सोचे होलान् (हिजो अरुमाथि जाइलाग्ने यो आज हामीमाथि पनि आइलाग्न सक्छ । यसैले संभावनाको जरो नै उखेलेर फ्याँक्नु बेस मानी मलाई निष्काशन गरी आफू मुक्त भएका पनि हुनसक्छन् । यस्ताहरूलाई, स्वादै चखाउन भए पनि, मैले मुद्दा हाल्ने निश्चय गरिसकें । “बोल्दाबोल्दै ऊ पुलुक्क गौरीको अनुहार हेर्छ” । गौरी निद्राले लट्ठिएको स्वरमा भन्छे, “मुद्दा हाल्छु भन्नुहुन्छ अनि जितिएन भने के गर्नु हुन्छ नि ? त्यो कानून पनि त तपाईंकै भनाइ अनुसार परिवर्तन भएको छैन होला ? त्यसपछि न्याय खोज्न कहाँ जानुहुन्छ ?” “फैसला हुँदा लुड्काइ नै दिएछन् भने पनि थाहा त पाउँला, मेरो दोष के रहेछ भनेर ? एक दुई शब्द मनमा लागेको ओकलेर शान्त हुन त पाइएला ? जितें भने त म नोकर होइनँ, कर्मचारीमा स्थापित हुने नै छु । यस जितले हामी जागिरदारहरूलाई प्रोत्साहित पार्नेछ र हामीले आफूलाई कर्मचारी मानेर ओहदा अनुसार निर्णय लिन सक्ने ठान्नेछौँ । यसभन्दा बढी मैले चाहेको पनि छैन ।” “मुद्दा हाल्ने निश्चय नै गर्नुभएको हो भने मैले भनेर के हुन्छ र ? तर मुद्दा मामिलामा पर्नु भनेको वकिललाई पोस्नु हो र आफ्नो भएभरको समय अदालत धाउँदैमा बिताउनु हो तैपनि यसले तपाईंलाई शान्ति दिन्छ भन्ने ठान्नुभएको छ भने पछुताउने बाटो राख्नुहुन्न । हाल्नोस् मुद्दा । हामी पनि तपाईंलाई सहयोग गर्छौँ ।” रातको चकमन्न र गहिरो विषयको शान्त छलफललाई खलबलाउँदै दिलेको आवाज सुनिन्छ । ऊ राधालाई खुसी पार्न उसको जाँगर र पाक्कलाको तारिफ गर्दै भनिरहेको हुन्छ, “यति रात बित्ता पनि जाँगर चलाएर यति मीठो मासु पकाएर ख्वाइस्, म तँलाई भोलि नै इनाम दिन्छु । एकफेर खिस्स हाँसिदे न । ए …. राधा, तेरो रिस अझ मरेको छैन कि कसो ? किन त्यसरी मुन्टो फर्काएकी ? मलाई हेर त ?” शिव र गौरीका कुराको प्रवाह यहीं टुङ्गिन्छ । गौरी दिक्क मान्दै भन्छे, “यसले दिने इनाम त्यही सिनेमा हेर्न लैजाने त होला नि ? भोलि छुट्टी पारेर साथीहरू बोलाएकी थिएँ, यसले एक्लै पार्ने भयो अब ?” “म हुँदाहुँदै पनि तिमी एक्लै कसरी हुन्छ्यौ ? व्यर्थै दिक्क किन हुन्छ्यौ ? त्यसले पनि त स्वास्नीलाई फकाउन सक्ने यति नै त छ । जान्छन् भने जानदेऊ । भरखर विवाह गरेर आएका छन् । तिमीले आफ्नो पालो बिर्सियौ ? घरबाट माइत जान्छु भनेर आमासँग बिदा लिएर हामी कहाँ कहाँ पुग्यौं ? कति सिनेमा हेर्दै त्यसका मज्जामा डुब्यौँ, भन त ? यिनको त्यो बाहेक जाने ठाउँ पनि कहाँ होला र ? आफ्नो जन्मथलो छोडेर यहाँ आएका छन् । दिनभर एउटा एकातिर अर्को अर्कातिर हुन्छन् ।” शिवको कुरा सुनेर गौरी भन्छे, “कत्रो माया, कत्रो दया, रात ठाडै पारिदिइसक्यो । बरु माया नै लागेको हो भने सम्झाइदिनोस् आफ्नो कमाइ यसरी मोजमजामा मात्र उडाउने होइन भनेर ? बालबच्चा होलान् कतिसम्म अर्काको नोकर भएर बाँच्ने ?

  • राधाको उमेर पन्ध्र सोह्र वर्ष मात्रको छ । उसको अनुहारको कट निकै मिलेको छ र कुनै पनि दाग नलागेको गालाको छाला अति कोमल देखिन्छ । सेतो वर्णकी राधाका यस्ता गालामा चढ्न थालेका गुलाबी रङ्गले उसलाई पुतली जस्तै देखाइदिएको छ । उसले हाँसी भने त्यो गालामा पर्ने खोपिल्टाभित्र दिललाई चुर्लुम्म डुबाइदिन्थी । दिलबहादुरले राधालाई विवाह गरेर ल्याएपछि आफूलाई विजयी सम्झेको छ र जुन बेला मौका पाउँछ, राधालाई जिस्काइरहेकै हुन्छ । भन्छ, “ए राधा, तँ इन्द्रपुरीबाट पृथ्वीमा झरेकी होस् कि पृथ्वीबाट नै सीता झैँ उत्पन्न भएकी होस् तर तँलाई मान्छेले जन्माएकोचाहिँ होइन । यस अँध्यारा कोठामा पनि तेरै ती गालाका रङ्गले मलाई उज्यालो देखाइरहेछन् । तेरो नाम “राधा” होइन बिजुली पो राख्खूँ कि ? लोग्नेले स्वास्नीलाई आफूलाई मन लागेको नाम राख्नु पर्छ भन्छन् ?” राधा पनि लाज मान्दै भन्छे, “नाम मेरो जेसुकै राख्नोस् तर आफू भने झ्याउरे भएर हिड्ने होइन ? गाउँबाट शहर आएर पनि यस्तो गतिछाडा भएर हिड्ने हो ? सिनेमाको हिरोजस्तो बनेर हिंड्नोस् न । राम्रोमा त तपाईं पनि कमको कहाँ हुनुहुन्छ र मलाई मात्र यस्तो भन्नुहुन्छ । बस हामी पनि त्यो रानीवनमा गएर गाउँघर बिर्सने गरी गाना गाउँदै नाच्तै रमाइलो गरौँ न ? भाँडा माझ्दा त्यो वन आँखाअगाडि नै पर्छ । जाऊँ जाऊँ लाग्छ तर तपाईं भने जहिले पनि आधा रात बितेपछि आउनुहुन्छ ।” यी जोडी वास्तविकतादेखि टाढा भागेर मुखैको रमाइलामा आफूलाई यसरी नै अल्मलाइरहेका छन् । दिलबहादुर आमाबाबुको एक्लो छोरो दुई दिदीपछि जन्मिएको कान्छो सन्तान, बाबुको मृत्युपछि स्थितिले गर्दा गाउँघर छोडेर पैसा कमाउन शहर पसेको तीन चार वर्षजति भइसकेर पनि फर्केर गाउँमा गई बस्न पुग्ने रकम जोड्न सकेको छैन । त्यसमाथि अहिले भरखरै विवाह पनि गरेको छ । स्वास्नी छे, सानो उमेरकी धनीकी छोरी, व्यावहारिक अझ बन्नसकेकी छैन ।

उनीहरूलाई सिनेमा हेर्न मन लाग्छ, मीठो खाने, राम्रो लगाउने त्यो त उमेरले नै गराउने भैहाल्यो । यसैले गर्दा द्वारपाल भएर कमाएको पैसा र राधाले घरधन्दा गरेर पाएको पैसा सबैजसो मासु, रक्सी र सिनेमामा उड्न थालिरहेछ । उनीहरूको मोजमस्ती भन्नु नै यही भएको छ । जुन बेला गाउँमा छोराका कमाइको आश गर्दै कुरेर बसिरहेकी आमालाई खर्च पठाउन सक्तैन, त्यसबेला दिले खिन्न भएर राधालाई भन्छ, “राधे हेर, मेरा बाले गरीबी निम्ताएर बित्नुभयो । म पनि यसभन्दा उभो लाग्न सक्छु सक्तिनँ । हाम्रा सन्तान भए भने तिनको गति के होला ? मैले बरु रातिको पालो पनि गरूँ कि ? केही त कमाउनु पर्‍यो ? आमाकहाँ पनि पैसा पठाउन सकेको छैन । उमेर गएपछि त्यो पनि गर्न नसक्ने भइएला ?” “पर्दैन, राति पनि बेपत्ता हुन । मैले भनिदिएकी छु । म एक्लै यहाँ बस्न सक्तिनँ । यी कुरा पहिले नै सोच्नुपर्थ्यो ? कस्तो नै नोकरी शहरमा गरेको छु जस्तोगरी गाउँमा रवाफ देखाउँदै विवाह गरेर ल्यायौ, अब के छटपटाउँछौ ? “अनि, के गरूँ त ? राम्रो जागिर खान पढेको हुनुपर्थ्यो कि यस्तै नोकरी पनि लामो समयसम्म गर्नुपर्थ्यो । त्यसै पर्दैन भनेर हुन्छ ? औकातले पनि पुर्‍याउनु पर्छ । कुरा बुझिस् मेरो ? त्यसो हो भने हामी पनि पढ्न जाऔं न त ? पढेपछि राम्रै काम गरौँला ? तलब पनि पुग्ने नै पाइएला, हुन्न ?” यति भनेर जवाफको प्रतीक्षा गर्छे । दिले चुप लागेकाले, फेरि सोध्छे, “किन नबोलेका ? मेरो कुरा मन परेन ?” राधाको यस्तो अल्लारे कुरा सुनेर दिलबहादुरलाई हाँसो उठ्छ साथै झोक पनि चल्छ । तर भन्न केही सक्तैन किनकि ऊ राधालाई खूब माया गर्छ । उसको चित्त दुखाउन ऊ चाहँदैन । राधालाई पाउनु उसको एउटा सफलता थियो र गाउँ छोडेर शहर पस्नु पनि त्यसैका लागि अपनाएको उपाय थियो । ऊ सँधै मनैमन डराई रहन्थ्यो, “कहीं राधाले मलाई छोडेर गाउँ नै त फर्किन्न ?” पहाडमा राधाको माइत र दिलबहादुरको घर धेरै टाढा थिएन । यी दुईको भेट भइरहन्थ्यो । दिलेलाई राधा चौपट्टै राम्री लाग्थ्यो र एक दिन आमाले यसलाई अब तैंले विवाह गर्नुपर्छ भन्दा मुखै फोरेर भनेको थियो, “आमा, मलाई विवाह गर भन्नुहुन्छ भने म राधासँग मात्र गर्छु, अरुसँग गर्दिनँ ।”

छोराको यस्तो इच्छा सुनेर उद्भ्रान्त भएकी आमाले सम्झाउँदै भनेकी थिई, “औकात हेरेर चाहना राख्नुपर्छ । तँजस्तालाई उनीहरूले आफ्नी छोरी के दिन्छन् र तँ विवाह गर्छस् ? भएका जमिन सबै बन्धकमा परेको निखन्न सकेको छैन, गाउँघरमा सबैलाई थाहा छ, हामी के खाएर कसरी दिन काटिरहेछौं भन्ने । तेरो पढाइ सिद्धिएर राम्रो कमाइ गर्लास् र ऋणमुक्त हुन पाउँला भनेर बाबुले बाँकी छोडेका सम्पत्ति जति पनि सबै धितो राखिसकें । न त तेरो पढाइ सकिएको छ, नत बाँकी दिन काट्नलाई सम्पत्ति नै छ । यस्तो अवस्थामा पुगेका हामीले गाउँको ठालुकहाँ उमकी छोरी माग्न गयौँ भने के गर्लान्, के भन्लान् ? हेर, जे जस्तो दुःख भए पनि गर्ने बेलामा नातिको अनुहार हेरूँ भनेर तँलाई विवाह गर भनेकी । तँ भने आकाशकी चरी ताक्छस् । ऊ…….त्यो मुडुल्लीलाई ठीक पारेकी छु, त्यसैसँग चुप लागेर विवाह गर ।” दिलबहादुरले जङ्गेर भनेको थियो, “त्यसो गर भन्नुहुन्छ भने म भाग्छु र फेरि फर्केर यस गाउँमा आउँदै आउन्नँ । अनि तपाईं र मुडुल्ली साथै बसेर रोइरहनु होला ।” धम्कीले लाचार भएकी दिलबहादुरकी आमाले राधाका माइतमा विवाहको कुरा पठाउँदा यस्तो जवाफ पाएकी थिई, “गाउँमा यसै लरबराइरहने, खान बस्नलाई समेत धौ धौ पर्ने तिनले हामी छोरीको हात माग्नसक्ने कत्रो ताकत ? हाम्री छोरीसँग विवाह गर्ने हो भने सुनाइ दिनोस्, पहिले उसले कमाइगरेर देखाओस्, ऋण मुक्त होस्, अनि के गर्नुपर्छ सोचौंला ।” यस्तो मार्मिक बचन सुनेपछि गाउँ छोडेर काठमाडौँ पसेको दिलबहादुरले प्रसस्त कमाइ गर्न थालेको देखाउन आफ्नो छ्याक काटेर भए पनि रातोदिन ज्यालादारी काम गरेर भए पनि घरमा पैसा पठाउन थालेको थियो । गाउँलेहरूमा उसले गरेका तरक्कीको प्रचार भएपछि ढोकेकै उर्दी पोशाक लगाएर गाउँमा पस्ता पनि यसको खाइलाग्दो रूप देखेर र शहरबाट बुजुक भएर आएको ठानेर मान पाउन थालेकाले नै हो, राधाका बाबु दुई वर्षपछि नै आफ्नो मन बदलेर छोरी दिन राजी भएका । नभन्दै नोकरी गरेको पहिलो वर्षदेखि नै ऋण निखन्न थालेको विवाह गरुन्जेलसम्म झण्डै आधाआधी ऋण तिरिसकेको थियो । जब राधाका बाबुले आफ्नो पूर्ववचन अनुसार विवाह गरिदिन तयार भए त्यसपछि उसले केही सोचेन, मानौं उसको उद्देश्य पूरा भइसकेको छ ।

राम्रा राम्रा सारी, आधुनिक श्रृङ्गारका सामान र झल्कने र चम्कने गहना ल्याएर विवाह गर्ने दिलेलाई आजभोलि औंल्याएर गाउँका अल्लारे केटाहरूलाई उपमा दिन थालेको कुरा उसले सुन्न थालेको छ । यता राधाको फर्मायस दिन प्रतिदिन बढ्दो छ । गाउँबाट काठमाडौं आउने पाहुनाहरू पनि त्यस्तै बढेका छन् । यस्ता समस्याले गर्दा दिले बेलाबेलामा विचलित हुन्छ र पनि ऊ खुलेर राधालाई आफ्नो अवस्थाबारे बताउन सकिरहेको छैन । राधालाई थाहा छैन ढोके पाले भनेको कस्तो नोकरी हो । यसले साइकल चढेर घर अफिस पनि अरुले गर्नेजस्तो गरी गर्छ । त्यही साइकलमा राखेर उसलाई घुमाउँछ पनि । कुन नोकरी ठूलो, कुन नोकरी सानो, ऊ के जानोस् । राधाले सोचेकी छे काठमाडौंमा उनीहरूको घर नभएकैले मात्र बास दिने ती घरपटीको भाँडा माझेर उनका घरधन्दामा ऊ सहयोगी भइदिनु परेको हो । आफ्ना जीवीकाका लागि नोकर्नी भएकी चाहिँ होइन । यस्तो भावना लिएर काम गरिदिने गरेकी राधाले उसको परिचय जब नोकर्नी भनेर दिएको सुन्छे, ऊ झनक्क रिसाउँछे र त्यस दिन कुनै न कुनै बहाना बनाई काम गर्न जान्न । ऊ भन्छे, “मलाई यिनीहरूले खोजेर ल्याई नोकर्नी राखेका हुन् र त्यसो भन्छन् ? तपाईले सकेजति काम सघाईदेऊ भनेकाले पो लौ त भनेर गरिदिएकी । यसै मालिक बन्न खोज्दा रहेछन् ? अब म काम सघाउन पनि जान्नँ र तपाईले पनि जा भन्न पाउनु हुन्न । त्यति पैसा चुरा धागो लगा भनेर दिने गरेका महिनावारी दिएको ठानेका होलान् । त्यो पनि अबदेखि लिन्नँ ।” राधाको कुरा सुनेर दिलेले भन्नसक्ने यति मात्र हो, “त्यति भनेर तँलाई के भयो ? यिनीहरू यतिमै खुसी हुन्छन् भने तैले सुनिदिएर तँ सानी हुन्नस् ? आफ्नो कर्तव्य यसै छोड्नु हुन्न । हेरिल्याएमा उनीहरू पनि कुन ड्याङ्गका मूला हुन् र ? उही नोकर नै त हुन् । कति सम्झाऊँ तँलाई यी कुरा । राधाले चित्त बुझाएर चूप लागे पनि दिलबहादुरलाई भने दुःख लागिरहन्छ । सम्झन्छ राधाले विवाह हुने निश्चय भएपछि पधेरामा भेट हुँदा भनेका ती कुराहरू । लाज मान्दै भनेकी थिई, “विवाह गरेर काठमाडौं फर्कंदा मलाई यही छोड्ने हो भनें म तपाईंसँग विवाह गर्दिनँ । यहाँ त अहिले पनि बसेकी नै छु । काठमाडौं शहरमा सुरुवाल कुर्ता लगाएर, कपाल काटेर नाडीमा घडी लगाएर घुमुँला भन्ने आफ्नो कस्तो रहर तपाईं भने यही आमाका लागि साथी छोडेर जान्छु भन्नु हुन्छ रे ।”

दिलबहादुरले पनि राधालाई मीठो भाकामा भनेको थियो, “तिमीले विवाहपछि मबाट चाहेकी यतिमात्र हो ? लौ लौ म तिमीलाई चिटिक्क परेकी पुतली बनाएर नै काठमाडौं मात्र किन भक्तपुर, पाटन शहरै घुमाउँला, भएन अब ?” यति जवाफ सुनेपछि खुसी हुँदै मृग उफ्रेको जस्तो गरी उच्चालिदै भागेकी राधालाई विवाहपछि उसँग गरेका बाचा पनि दिलबहादुरलाई पुर्याउन धौ धौ भइरहेछ । राधाले बारम्बार ती बाचाहरू कोट्याई सम्झाउन खोज्छे । नसुनेको झैं गरी पन्छिन खोजे ऊ आफै ठुस्किन्छे, कहिले हाँस्छे त कहिले जिस्किन्छे तर ती बाचालाई लिएर भन्न छोड्दिन । राधाले विवाह गरेर चाहेकी तिनै दुई इच्छा पूरा गर्ने थियो । एक दिलबहादुरलाई पाउने र अर्को काठमाडौं शहरको तमासा रमझम हेर्ने । एक दिन राधाले निकै रहस्यमय तरिकाले दिलेलाई कुरा सुनाई । ऊ भन्दै थिई, “दया मैयाँको पनि विवाह हुने भयो रे, सुन्नुभयो तपाईंले ? त्यो दुलाहा हुने केटो अर्काको देशमा धेरै वर्षदेखि काम गर्छ रे र विवाह भएपछि मैयाँलाई पनि त्यही लैजान्छु भन्छ रे । तर मैले त मैयाँलाई भनिदिएँ,” मैयाँ, त्यस्तो टाढा गएर काम गर्नेहरूमाथि विचार पुर्याएर मात्र विवाह गर्नुहोला । कस्तो काम गर्छ कस्तो ? न गोराको जुठा भाँडा माझेर घर कुरुवा भएर पो बसेको छ कि ? त्यहाँसम्म पुगेपछि बस्नै नसकेर फर्कनु पर्यो भने विवाह नै त्यस्तासँग किन गर्ने ? हामी छोरीको त विवाहले पनि भाग्य राम्रो नराम्रो बनाई दिन्छ । यस्ता कुरामा पहिले नै होस् पुर्याउनु होला, नत्र धोका खाइन्छ । मैले ठीकै भने होइन त ?” राधाका यस्ता कुराले दिलेको मुटु छोएको थियो र उसले राधासँग नै सोधेको थियो, “मैयाँले तेरो कुरा सुनेर के भन्नुभयो त ? मलाई सिकाउन आउने नोकर्नी भनेर गाली गर्नुभयो होला, होइन ?” “किन गाली गर्नुहुन्थ्यो ? भन्नुभयो, हेर्दा यस्ती लाटीजस्ती तिमी त हुनसम्मकी बाठी रहिछौ । दिले दाइले तिमीलाई झुक्याइ दियो कि कसो ?” उहाँको कुरा सुनेपछि पो मैले के भनेछु त्यस्तो भनेर लाज लाग्यो । अनि त के भनूँ, के भएर फरक्क फर्किहालें । कहिलेकहीं के बोलिन्छ के ?” राधाका यी कुराबाट दिलबहादुरले राधाका मनमा उसप्रति के धारणा लुकेर बसेको रहेछ भन्ने थाहा पाएको थियो । वास्तवमा दिलबहादुरले झुक्याएर राधासँग विवाह भने गरेको थिएन । कसैले पनि उसलाई काठमाडौंमा कस्तो नोकरी गर्छस् भनेर सोधेनन् त ऊ के गरोस् ? त्यस बेला उसले गाउँमा आमालाई ऋण निखन्न पैसा पठाउनु, राम्रो लुगा लगाएर गाउँमा आउनु नै विवाहका लागि योग्य भएको ठहरियो । त्यो लुगा लगाएर दिनरात, शहर गाउँ गर्नु उसको मजबुरी थियो किनकि अर्को लुगा किनेर लगाउने ऊसँग पैसा थिएन । यसरी आवश्यकताले उसलाई ठूलो बनाइदियो भने उसले गरोस् के ? काठमाडौंमा काम गर्ने योग्य वर पाएकी छु भन्ने सोच्ने सुनौला सपना बोकेर आएकी राधालाई सत्य कुरा बताएर चित्त दुखाउने काम मात्र गर्न उसले आँट नगरेको हो र अहिले त्यही सानो कमजोरीले दिन प्रतिदिन उनीहरूको जीवनभरका लागि भनेर जोडिएका नातामा पनि के हुने हो भन्ने प्रश्न उठ्न थालेको उसलाई अनुभूति हुँदैछ । ऊ राधालाई आफूसँग रत्याउन पनि खूबै सम्झाउने र आफूले भ्याएसम्मको उसको इच्छा पूरा गरिदिने गर्छ । जब जब गाउँबाट माइतका मान्छे राधालाई भेट्न आउँछन्, दिलबहादुर कहीँ राधा यिनैका पछि लागेर त जान्न भनेर डराउँछ र समर्पित हुन्छ । एक दिन कामबाट फर्कंदा राधालाई निकै दामी सुरुवाल कुर्ता दिलबहादुरले ल्याएर दिएको थियो । राधाले पनि तुरुन्तै खुसी भएर लगाई र दिलेलाई देखाउँदै भनेकी थिई, “मलाई सुहायो, हेर्नोस् त, यस्तै लुगा धेरै दिनदेखि लगाउने मन लागेको थियो, बल्ल तपाईंले ल्याउनु भयो । लुगा मिलाउँदै भनेकी थिई,” यो रातो रङ्ग त मलाई अतिनै मन पर्छ । कति पर्दो रहेछ यसको ?" पैसा भन्न नचाहेर अलमलाउने तरिका खोज्दै दिलबहादुरले भनेको थियो, “पैसाको तिमीलाई किन चासो चाहियो ? राम्रो लागे भइहाल्यो नि ? भोलि यही लुगा लगाएर बस्नू हामी रानीपोखरी घुम्न जाऔंला । त्यहाँ गएर राम्रो गाना मात्र गाउने होइन, नाच्नु पनि पर्छ, हुन्छ ?” “तपाईंसँग विवाह गरेपछि नाच्नै बिर्सिसकें जस्तो छ । एक फेर पनि नाच्न पाएको होइन । गाना गाइदिन्छु हुन्न ?” “अँहँ, गाना मात्र गाएर हुँदैन, नाच्नै पर्छ । त्यो दिन तैले नाचेको देख्ता त यो कम्मर च्याप्प समातिदिऊँ जस्तो लागेको थियो” भनेर उसको कम्मर समात्ता छिः तपाईं त ? कस्तोसँग सासै फेर्न गाह्रो पर्ने गरी ऐंठेको, छोड्नोस्, भन्दै सोध्छे, “तीनओटा अरू किनिदिने हो त ? हरियो, र निलो रङ्ग पनि मलाई खूबै मन पर्छ । यो एउटा मात्र कति रगड्ने ?” राधाको फुर्माइस् सुनेर झस्केको दिलबहादुर राधाका अनुहारमा टोलाएर हेरेको हेर्यै भएको थियो र राधाले नै के कहिल्यै नदेखेको जस्तो गरेर हेरेको, कि पैसा सिध्याउने भई भनेर वाल्ल पर्नु भएको भन्दा पो ऊ नियन्त्रणमा आई मुखबाट सत्य कुरा फुत्कन गएको थियो, “यस्ता लुगा हामीले आफ्ना कमाइले किनेर लगाउन सक्ने हो र फेरी फेरी लगाउने इच्छा गर्छेस् । मेरो साहेबनीले तँलाई भनेर दिइन् र पो ल्याएको ।” सोच्तै नसोचेको कुरा दिलबहादुरका मुखबाट निस्केकाले छक्क परेकी राधाले घृणाले भनेकी थिई, “त्यसो भए यो जडाउरी लुगा उठाएर स्वास्नी खुसी पार्न ल्याएको ? मेरो लोग्नेले कति माया गरेर आफ्ना कमाइबाट किनेर ल्याइदिनु भयो भनेर म कस्तो खुसी हुँदै लगाएकी थिएँ । यो त त्यस्तो पो रहेछ ? मेरा आङमा यस्तो लुगा कहिल्यै परेको थिएन । यो के गर्नुभएको तपाईंले ?” यसो भन्दै लगाएको लुगा फुकालेर फ्याँक्तै खूबसँग रोएकी थिई । दिलबहादुरले जब सम्झाउँदा सम्झाउँदा थाक्यो । त्यसपछि उसले पनि आक्रोशित हुँदै भनेको थियो, “के गर्छेस् त ? तेरा बाबुले यस्तैलाई छोरी दिएर पठाइहाले । यी हेर, यो कोट पनि तिनै मालिकले जाडामा काँपेर उभिइरहेको हेर्न नसकेर दिएका हुन् । मैले लगाउन हुने, तैले नहुने ? के भएको छ, यो लुगा । नयाँ जस्तै देखिन्छ । राम्रो पनि छ । ज्यादा जिद्दी गर्ने बानी छोड् र यी लुगा खुरुक्क उठा ।” “के मान्थी राधाले । उसले भनेकी थिई, “तपाईंले किन्न सक्नुहुन्न भनेको भए मैले ल्याउनुहोस् पनि भन्दिन थिएँ । यस्तै जडाउरी लगाउँदा लगाउँदै राम्रो मात्र लगाउने बानी बस्यो भने के गरी पुर्याउनु हुन्छ ? अहिले नै कत्ति बानी बिग्रिइसक्यो । खर्च बढ्यो भनेर किन्ने नाम लिएँ कि पुरपुरामा हात राख्न थाल्नुहुन्छ अनि यहाँ भने जडाउरी बटुलेर ल्याएर भए पनि राम्रो लगाउने बानी बसाउनु तत्पर हुनुहुन्छ । औगात आफ्नो के छ, त्यो सोच भन्ने तपाईं मलाई किन आफ्नै औगातमा रहन दिनुहुन्न ? राम्रो लगाऊँ मीठो खाऊँ भन्ने मेरो मात्र इच्छा होइन, तपाईंको पनि राम्रो मैले लगाएको हेर्ने इच्छा छ । यो कुरा किन लुकाउन खोज्नुहुन्छ ? म फेरि भन्छु, “राम्रो म त्यस बेला मात्र लगाउँछु जब तपाईंले आफ्नै कमाइले किनेर दिनसक्ने हुनुहुन्छ ।” राधाका भनाइमा केही सच्चाई नभएको होइन । हामी मुफतमा पायौं भने जे पनि बटुल्छौं र सोच्तै नसोची प्रयोग पनि गर्छौं । दैनिक उपयोगमा यसको बानी बसेपछि ऋण काढेर पनि त्यो नकिनी नहुने हुन्छ । यसै गरेर त हामीले आफ्ना आवश्यकता बढाउँदै गएका हुन्छौं । हिजोसम्म सोख मानेर प्रयोग गरिएका वस्तु आज आएर आवश्यक बनेका हुन्छन् । होइन र ?

यस विवादमा दिलबहादुरले नै राधासँग चुपलाग्नु परेको थियो किनकि राधाको सोचाइले मुक्ति खोजेको थियो । राधाले यस्ता धेरै घटनाहरू र व्यवहारहरूबाट आफू को रहेछु र भविष्यका लागि अब उसले के गर्नुपर्ने भएको छ भन्ने कुराहरू बिस्तारै बुझ्दै जाँदै छे । उसका चञ्चलता, कल्पना र इच्छा पनि नियन्त्रित हुनथालेका छन् । गाउँकी त्यो राधा जिम्वालकी छोरी राधा अब ऊ दिनदिनैको परिवर्तनले शहरिया हुँदै गाउँका संस्कृतिबाट पर पर हुँदै छे । ऊ गाउँबाट आएका पाहुनाहरूलाई अहिले काइदा कदर सिकाउने भइसकेकी छे । भन्छे, “यहाँ सबै कुरा लुकाउनु पर्छ, नत्र पाखे भनेर हाँस्छन् ।”

  • गौरी अझै नोकरी गर्दै छे । शिव खड्काको नोकरी छुटेपछि घर खर्च धान्नु परेको छ उसको र जेठी छोरीको कमाइले । बेलासपुरको पुख्यौली थलाबाट धान मकै आए पनि घरका अरु खर्च बेपत्ताकै छन् । दुई छोरी, दुई छोरामा जेठी छोरी विवाह गर्ने उमेरमा पुगिसकेकी छे भने जेठो छोरो हिन्दुस्तानमा इन्जिनियरिङ्ग पढ्दै छ आफ्नै खर्चमा । कान्छी छोरीले यसै वर्ष बि.कम. पास गर्दै छे भने कान्छो छोरो भरखर आइ.एस्सी. को प्रथम वर्षमा छ । उसको इच्छा पनि दाजुले जस्तो गरी बाहिरै गएर पढ्ने छ । शिव खड्काले अवकाश पाउँदा आएको रकम मुद्दामा खर्च भइरहेछ । ऊ भन्छ, “यस रकममा भर गरेर व्यवहार चलाउँछु भन्ने नठान । सक्छ्यौ भने दैनिक खर्च के कति घटाउन सकिन्छ त्यसतर्फ विचार गर र मलाई यो मुद्दा लड्नमा सहयोग गर । यो नै एउटा माध्यम मैले पाएको छु, आफूलाई स्वतन्त्र देशको स्वतन्त्र नागरिकको परिचय दिने । यो मुद्दा दिनु भनेको मैले कर्मचारीको अधिकारको माग गरेको हुँ । यस्तो भन्ने लोग्नेलाई गौरीले के भन्ने ? उसको मनस्थिति बुझेर उसलाई अरु दुःख नदिन घरधन्दा चलाउनेबारे केही भन्दिन थिई भने आफ्ना भएका गहनाहरू हरेक महिना सुनारकहाँ पठाउनु परेको छ । शिवले अवकाश प्राप्त गरेपछि दुनियाँलाई राम्ररी चिन्न थालेको छ । हिजोका घनिष्ठ मित्रहरू आज उसदेखि पर पर हुन थालेका छन् भने कार्यालयमा आफ्ना साथ काम गर्नेहरू र आफ्ना मातहतमा काम गर्नेहरू पनि नयाँसडक, असन, इन्द्रचोकमा यदाकदा भेट भईहाले छ भने पनि कुनैले देखे नदेखेको जस्तो गरी जान्छन् भने कुनैले औपचारिकता पूरा गरेर पन्छिहाल्छन् । कुनैसँग उसैले कुरा गरौं भनेर अगाडि बढ्दा पनि अर्कातर्फ लाग्छन् । त्यसैले उसलाई शहर घुम्न, मानिसहरूको समूहमा जान मन लाग्दैन । उसलाई बाहिर जानै पर्यो भने अदालतमा जान्छ कि त बेलासपुरका गाउँमा । त्यहाँ जाँदा उसलाई अझै आफू जिउँदो नै छु जस्तो लाग्छ ।

एकपटक उसलाई आफ्ना पुराना साथीसँग भेट गर्ने इच्छा लाग्छ । त्यो साथी उसका अरू साथीभन्दा धेरै नै सम्पन्न छ । त्यसैले उससँग कुरा गर्दा कतै कतैबाट उसको घमण्डीपना झल्किएको आभास हुन्छ । शिवले उसलाई चाहने किन हो भने ऊ धनलाई अति महत्व दिई कुरा गर्ने गर्छ र ज्ञानलाई दोस्रो तहमा मात्र राख्छ । विवेकलाई अव्यावहारिक मान्दै यसरी भन्छ, “विवेक, माया, सहानुभूति भन्ने यी भावनाहरूले व्यक्तिलाई कमजोर बनाइदिन्छन्, लिने र दिने दुवै पक्षलाई । तसर्थ, सहयोग नै गर्नु छ भने पनि त्यस व्यक्तिलाई परिश्रम गराएर मात्र देऊ । धन भनेको लक्ष्मी हो । यसलाई जथाभावीसँग नचाउनु हुँदैन । यही धन जोड्नलाई हामी उद्योग गर्छौं, पढ्छौं काम गर्छौं, परिश्रम गर्छौं र ठग्छौं पनि । कुनै कुनै स्थितिमा त ज्यानको पनि मतलब नगरेर धनकै पछि दौडन्छौं । इज्जत नै फालेर पनि पछि लाग्नेहरू प्रशस्त छन् । यसैले धनले थिचेर मर्नु नै पर्यो भने पनि त्यस व्यक्तिलाई त्यसले दुखाएको हुँदैन र मरिनै गयो भने पनि हाम्रो संस्कार कस्तो छ भने उसलाई यी धन, सोख, आराम परलोकमा पनि पुर्याइ दिने विधि बताइदिएको छ । धनको महत्व कहिल्यै सकिंदैन । मलाई आज जुन अवस्थामा देखेका छौ त्यो मेरो पुर्ख्यौली देन होइन र मेरो विगत पल्टाउन पनि नखोज । यति मात्र म भन्न सक्छु हाम्रो आर्थिक स्थितिको इतिहास धेरै ठाउँमा शून्यमा पुग्दै उठेको छ र कति ठाउँमा चूलीमा पुगेर पतन भएको पाइन्छ । शून्यमा पुग्नुभन्दा पहिले र पतनतर्फ लाग्नुभन्दा पहिले आफूलाई सम्हाल्न सकियो भने मात्र यथास्थितिमा रहन सकिने हुँदो रहेछ । संझ, म शून्यमा पुर्याएर आफ्नो भाग्यसँग लडेर जिउनलाई हूँ र आफ्नै प्रयासले धनको कदर गर्दै यहाँसम्म आइपुगेको छु । यो लामो दौडमा चल्दा मैले विवेक, माया, सहानुभूति जस्ता मन छुने भावनाहरूसँग राम्ररी खेल्न पाएको छु र यसको असर र नतिजा पनि देखेको छु । शायद, तिमीहरूका जीवनमा यस्तो अवस्था नै आएन होला र आदर्शका कुरा गर्छौं । मलाई धेरैको दयाले ठाउँ ठाउँमा पोलेर नमेटिने टाटो लगाइदिएका छन् । त्यसैले म यस्ता दुःख अरूलाई नहोस् भनेर दया गर्दिनँ, बरु काम मिलाइदिन सहयोग गर्छु ।” शिवलाई जीउनको सच्चाइ जुन अति तितो हुन्छ, त्यो जान्न ऊ प्रतापकहाँ जाने गर्छ र त्यस दिन पनि ऊ प्रतापको दार्शनिक प्रवचन मात्र सुन्न गएको थिएन । उसलाई यसपटक पैसा सापट लिनु पर्ने आवश्यकता पनि परेर गएको थियो । उसले सोचेको थियो, अरूलाई जे जस्तो गरे पनि मलाई भन्दैन होला ? प्रतापले निकै बेरसम्म शिवका मागलाई हाँसोमा लटपटाइरहन्छ तर उसले पनि जब दोहोर्याई तिहर्याई छोरीको विवाहका लागि सापट खोजेको बताइरहन्छ, ऊ क्रूर भएर गर्जदै भन्छ, “त्यसो भए तँ पनि सन्तानलाई उस्तै शून्यमा पुर्याउने बाटो खोज्दै छस् ? आफू शून्यमा पुगेर सोच, त्यहाँ पुग्दा कति कष्ट सहनुपर्छ । आधाभन्दा बढी जीवन तेरो त बितिसकेको छ र दुःख भोग्नु पर्यो भने पनि केही वर्षका लागि मात्र हुनेछ तर तेरा ती केटाकेटीहरूलाई त्यहाँ पुर्याएर छोडिस् भने तिनीहरू जीवनभर रुने छन् । तेरो छोरो कसरी इन्जिनियर होला ? कान्छी छोरी र छोराले के पढ्छन् ? भाउजूले कति हाड घोट्ने ? दिन्न जा, तँलाई म एक पैसा पनि छोरीको विवाहका लागि सापट दिन्नँ दिन्नँ । विवाह नै गराउनु छ भने भनिदे त्यो दुलाहा हुनेलाई केही पनि दाइजोमा दिन सक्तिनँ भनेर । विवाह गराउने विभिन्न तरिका छन्, जुन अपनाउनाले तँलाई ऋण लिनु पर्दैन । तँ त्यसो किन गर्दैनस् ? मसँग नरिसा । हेर, यस ऋणले तेरी छोरीलाई आशीर्वाद दिंदैन, बरु पोलेर छोरीप्रतिका प्रेममा फाटो मात्र ल्याउँछ । छोरीलाई देख्नासाथ तैले आफूले लिएको ऋण सम्झिनेछस् । मेरी आमाले झैं हुनसक्छ छोरीलाई नै पर पर गर्न थाल्नेछस् ।” शिवले पनि झोक्किएर भन्छ, “ए आमालाई किन निठुरी बनाउँछस् ? सोझै भन्न, “तेरो ऋण तिर्न नसकेर पचाइ दिन्छु भनेर डराएको, जागिर खुस्किएको ममाथि तँलाई विश्वास लागेन । कुरा बुझिहालें । तेरो निमित्त मित्रताभन्दा ठूलो धन रहेछ । दुःखसुखमा साथ दिनेलाई साथी भन्छन् तर तँ साथी होइन रहेछस् । धनले हुङ्कार गरिरहेको हान्ने साँढेलाई शिव बाँध्न भनेर छुन पुगेछ । यो मैले ठूलो भूल गरेको रहेछु । यही भूल स्वीकारेर तँकहाँ अब म कहिल्यै पनि आउँदिनँ । धन्दा नमान्, म तँसँग पैसा त के, कुनै पनि सहायता लिन्नँ । दिन भनेको सबैको एकनासको सँधै हुँदैन । हिम्मत छ, मलाई ऋण लिए पनि तिर्नसक्छु भन्ने । यस पाखुरीको बल हराएको छैन, बुझिस् । इज्जत भनेको बेलामा राख्नुपर्छ, त्यो टरे पछि फर्केर आउँदैन र इज्जतै गएपछि समाजमा के गरी बाँच्नू ? तँ प्रवासीलाई न त यहाँको समाज चाहिन्छ, न त इज्जत नै । मलाई त दुवै चाहिन्छ । ऋण पनि लिन्छु, विवाह पनि गरिदिन्छु, त्यो ऋण तिर्छु पनि ।” त्यसरी रिसाएर शिवले फलाक्ता पनि ऊ हाँसेर नै जवाफ दिन्छ, “सापट लिएको इज्जत कति दिन टिक्नसक्छ ?” यस जवाफले छेड्छ शिवको मुटु र ऊ त्यहाँबाट जुरुक्क उठेर हिंडेको घरमा पुगेपछि गौरीले “के भयो यस्तो ? किन नीलोकालो अनुहार लगाएको भनेर” सोद्धा पो बल्ल बोल्न सक्छ । ऊ एकोहोरोसँग त्यसपछि बोलेको बोलै हुन्छ ! भन्छ, “त्यसले आज मेरो आत्मसम्मानमा धक्का लगाएको छ । त्यो नफर्काई कहाँ छोड्छु ? धन मात्र मनुष्यको सब थोक होइन । धनले किन्न नपाइने अरू पनि आवश्यकता जीवनमा हुन्छन् ।” यस्तो बेतालको कुरा लोग्नेले गर्न थालेकाले गौरीले सुनेर पनि केही सोध्न सक्तिन । डराएर मनमनै भगवान्सँग प्रार्थना गर्छे उसका लोग्नेका मनलाई शान्त पारी देऊ, रिस रागबाट बचाइ देऊ । ऊ चारैतिरबाट गिज्याइएको छ । उसको जिजीविषा सुरक्षित रहोस् । जस्तै दुःख भोग्नु परे पनि सहनसक्ने शिव खड्काको आत्मवलले उसलाई किन लाचार हुनदिन्थ्यो ? किन मृत्युलाई खोज्दै हिंड्नु पर्ने बनाउँथ्यो ? यो गौरीको पतिप्रतिको माया र कमजोर सोचाइ मात्र थियो । मायाले झस्काई उत्पन्न गराएको उसको त्रास मात्र थियो । शिवले जीवन र जिउनु दुवैलाई घृणा होइन, प्रेमले हेर्ने गर्छ र भन्छ, “जिउँदो रहँदा आइपर्ने बाधाहरूले नै मलाई अनुभवी बनाउँछन् र यी अनुभवहरू नै मैले आउने पुस्तालाई छोडेर जानसक्ने ज्ञान हुनेछ । मलाई “एकादेशमा” भनेर भए पनि सम्झिऊन् भन्ने आशा छ र मेरा यस्ता आशालाई पूरा गर्ने मेरा कर्महरू हुन् । तसर्थ म कर्म गर्नबाट हट्तिन र हरेस खाएर बेपत्ता पनि हुन्नँ । तिमी नडराऊ, गौरी, तिम्रो लोग्नेले संघर्ष गरी बाँच्न जानेको छ ।”

  • पैसा छैन भनेर दयाको विवाह टार्ने स्थितिमा पनि शिव छैन । केटो राम्रो, पढेलेखेको र विदेशीले समेत पत्याई नोकरीमा राखेको छ । घर पनि सुसम्पन्न र परिवार सबै शिक्षित छन् । त्यसैले शिव र गौरीले केटाका परिवारकहाँ छोटकरीमा विवाह गर्ने प्रस्ताव लिएर जाने निश्चय गर्छन् तर उनीहरूले जेठा छोराको रहरको विवाह त्यसरी गर्दैनौं भनेर मानेनन् भने सुहाउँदो उपाय के गर्नुपर्ला भनेर सोचाइमा डुबेका छन् अनि त्यसरी नै प्रतापले साथीलाई चोट पुर्याई भगाएपछि अति दुःखी भएर बसेका छन् । प्रतापले समाज सुधारपट्टि लिएको धारणा ज्यादै जटिल हुनुका साथसाथै यसतर्फ अपनाएको बाटो पनि अप्रिय छ । ऊ यस्तो धारणा लिएर त्यस बाटामा कति टाढा पुगिसकेको छ भने ऊ फेरि फर्कन सक्तैन । दुनियाँले उसलाई कसरी चिनिसकेका छन् भने ऊ निर्दयी छ, धन खर्च गर्न कन्जूस्याई गर्छ र धन नै उसका लागि सर्वश्रेष्ठ छ तर, सत्य त्यो होइन । उसको सोचाइ छ, हामीले आत्मसम्मान राख्न आफ्ना अवस्थासँग सम्झौता गर्नुपर्छ । आत्मनिर्भरताले नै व्यक्तित्व विकास गर्नसक्छ । तसर्थ ऊ भन्ने गर्छ, “उद्यमी भएर धन कमाऊ, परिश्रम गर र धनको प्रयोग उचित लक्ष्य हासिल गर्नेतिर गर नत्र भने यही धनले तिमीलाई नाशतर्फ धकेलिदिन्छ । स्वभाव बिगारी दिन्छ र ऋणका खाल्डोमा निस्कन नसक्ने गरी गाडीदिन्छ । त्यसैले ऋण माग्नेलाई सहयोग गर्नु त्यसलाई पतन पार्नु हुनेछ । आत्मसम्मान हराउनाले त्यो अगाडि बढ्न नसक्ने हुन्छ । समयसँग, अवस्थासँग आफूलाई मिलाएर लैजान जानेन या सकेन भने त्यो व्यक्ति जतिसुकै विद्वान् होस्, आँटिलो होस्, दुःख पाउँछ । यही कारण हो, सहयोग गर्दा पनि विचार कसरी पुर्याउनु पर्छ भने ऊ आत्मनिर्भर हुनबाट कमजोर नबनोस् । यस अवस्थामा सहयोग गर्नु र दया गर्नु पनि कठिन छनौट हुन्छ । मैले आज यही सिद्धान्तमा रहँदा आफ्नो घनिष्ठ मित्रलाई समेत गुमाउने सम्भावना छ । थाहा छ मलाई शिवले मेरो वचन सहन सक्तैन । मैले उसलाई खिज्याएको उसको अवस्थाप्रति होइन, उसले ऋण लिनुको सट्टा आफ्नो स्थितिसँग सम्झौता गरोस् भनेर उसलाई सुझाव दिएको मात्र हूँ । ऋण माग्ने कर्म कस्तो हो भनेर देखाएको हूँ । उसले मेरा भनाइको अर्थ जे जस्तो लगाए पनि मकहाँ फर्केर त ऊ अवश्य आउँदैन । शायद अरूकहाँ पनि माग्न गइहाल्न अलिक सङ्कोचले गर्दा हतोत्साही अवश्य होला । यही नै मेरो विजय हो र साथीमाथिको सहयोग पनि हो । प्रतापले यसो भनेर आफ्ना मनलाई बुझाउन खोज्छ । ऊ सोच्छ शिवले यदि मसँग कुनै काम शुरु गर्ने प्रस्ताव ल्याएर पैसा मागेको भए म त्यो दिन तयार हुन्थें । पैसा मात्र दिएर यसै बस्ने थिइनँ । काममा सहयोग पनि गर्थेंहोला । तर ऊ त्यसतर्फ लाग्नै खोज्दैन । अनि म के गरूँ ? म आफ्नो सिद्धान्त छोड्न पनि त चाहन्नँ । ऊ सम्झन्छ, शिवले खिन्न भएर एक दिन भनिरहेको थियो, “हेर यार, आजभोलि यो दिन काट्न पनि कति पट्यार लाग्ने रहेछ । सबै काममा गएपछि रित्तो घरमा एक्लै माथितल गरिरहँदा अफिसमा बिताएका समयको याद आउँदो रहेछ । कत्रो फरक हुँदो रहेछ । त्यस बेलाको बेफुर्सतमा सोचिन्थ्यो कति मेसिन चलेको जस्तो गरी काममा घोटिइरहने ? बिदा लिएर घरमा आराम गर्नुपर्यो क्यारे । अहिले आरामै आराम पाउँदा यो छटपटी छ । फुर्सतको मज्जा पनि व्यस्त भएकै बेलामा हुँदो रहेछ जस्तो अति दुःखमा सुखको छायाले मात्र पनि कति रमाइलो गराउँछ । यस कहालिलाग्दा अवस्थाबाट बच्ने उपाय नगरी भएको छैन भन्दा प्रतापले दोहोर्याई भनिरहन्थ्यो, “फेरि अरू कुनै ठाउँमा नोकरी गर्न थाल । देखाइ देऊ न तिमी नबिक्ने खोटो पैसा होइनौ । समयको प्रयोग गर, यो अति अमूल्य छ । ती व्यर्थैमा बित्दै गएका दिनहरूसँग तिम्रो जीवनी पनि छोट्टिदै गएको हुन्छ भन्ने तथ्यलाई नभूल । यसै बसिरह्यौ भने तिम्रा ह्याउ निष्क्रिय हुँदै जान्छन् अनि तिमी चाहेर पनि अगाडि बढ्न नसक्ने हुन्छौ । यस कुराको अनुभव मैले गरिसकेकाले तिमीलाई यसरी सल्लाह दिंदैछु । तिमीले अर्को नोकरी गर्ने पर्छ र यहाँ नोकरीको कमी छैन । तिमीहरू जस्ता पढेलेखेकाहरूले त नयाँ व्यवसाय पनि निकाल्न सक्छौ । यहाँ चाहनाको थुप्रो बढ्दैछ । कति हिजोको मनोरञ्जन आजका जरूरत भइसकेका छन् । नयाँ ज्ञान, नयाँ जरूरत, नयाँ प्रयोगले नै नयाँ व्यवसायको सिर्जना गराइरहेको हुन्छ । तिमी यसतर्फ लाग्न चाहन्छौ भने म तिमीलाई सहयोग गर्छु भनेको पनि थिएँ ।” प्रतापका यस्ता कुराले उसलाई कुनै असर पारेको थिएन । ऊ भन्थ्यो, पहिले मलाई कर्मचारी हूँ भन्ने प्रमाण प्राप्त गर्नुपरेको छ र त्यसपछि नोकरीबाट मुक्त भई व्यवसायतर्फ लाग्न सोचुँला । नोकरी गरेर फेरि म नोकर हुन भने चाहन्नँ । यो पेट पाल्न कुनै समस्या छैन । समस्या छ भने समयको सदुपयोग कसरी गर्नु भन्नेमा छ । यसैले मैले प्रशासन व्यवस्थाबारे केही लेख्न थालूँ कि भन्ने पनि सोचिरहेको छु । यो पनि भएन भने म नेपाल भ्रमणतर्फ लाग्छु । त्यहाँ लुकेका जनजीवन, संस्कृति र व्यवसायको अध्ययन गर्छु । अनि नेपालको परिचय दिन्छु । यसो भन्दै उसले कुरा टुङ्ग्याइदिने गर्थ्यो । त्यस बेला पनि मित्रको मन फर्काउन प्रतापले हाँसेर, ए त्यसो भए मन्त्री बन्ने विचार लिएको छौ या प्रधानमन्त्री नै बन्ने इच्छा राखेका छौ ? त्यसमा पनि विचार भने गर है, ती मन्त्रीहरूले पनि आफूलाई “जनताको नोकर” भनेर घोषित गरेको पढेर्कै छौ होला । यसो भन्दा पनि ऊ यसरी जवाफ दिन्थ्यो, “पढेको पनि छु र भाषणमा भनेको सुनेको पनि छु । कोही जनताको नोकर हूँ भन्दै आए पनि होलान् । तर म त्यस्ता नोकर बनेकाहरूलाई कसरी कजाउनु पर्छ, त्यो सिकाउन देशका कुना कुनामा पुग्न चाहन्छु । तिनीहरूलाई ठीक तरिकाले राख्न सकिएन भने नोकर बनेर आएका ती मालिक बन्छन् र मालिकहरू नोकर । कुरा बुझ्यौ त तिमीले ? अब पनि तिम्रो केही भन्नु बाँकी छ ? छ भने घाँटीमा नै अड्काएर नराख ।” त्यति सानो प्रश्नको यति लामो जवाफ पाएपछि प्रतापले त्यसमा अरू के थपोस् ? हुन पनि उसले देख्दै आएको छ, कैयौं नोकरहरूले मालिकलाई मूर्ख बनाई छक्याएका हुन्छन् । सेवाको नाममा लुट गर्दै उल्टै जण्ड बनेर मालिकलाई काकाकुकुक पारेर आफूले रजाइ गरेर बसेका पनि छन् । यस्तै गरी यी दुई बीच आ(आफ्ना विचारको प्रस्तुति भइरहन्थ्यो । खुसी पनि हुन्थे, रिसाउँथे पनि र छेडछाड पनि गरिरहन्थे । जति मनमोटाउ वादविवाद भए पनि धेरै दिन टिक्न पाउँदैनथ्यो । यी दुई खोजी खोजी फेरि भेटिहाल्थे र त्यस्तै गरी छलफल गरिरहन्थे । तर त्यस दिन चोट लागेर फर्किएको शिव प्रतापकहाँ गएको छैन । शिवले बिर्सने प्रयास गर्दा पनि मनले दोहोर्याइ हाल्छ, “सापट लिएको इज्जत कति दिन टिक्नसक्छ ।” उसको यो भनाइ सत्य भएकाले नै उसलाई धेरै बिझेको छ र प्रतापले यस्तो बचन लगाएर उसलाई तिरस्कृत जानीजानी गरेको हो भन्ने ठानेर उसँग धेरै जङ्गिएको छ, साथै अठोट पनि गर्दै छ ऊ छोरीको विवाह गरेर नै छोड्छ चाहे उसलाई ऋणै लिन किन नपरोस् ।

छोटकरीमा विवाह गर्ने प्रस्ताव लिएर केटाकहाँ जान सङ्कोच लागे पनि जब उनीहरूले केटीका बाबु आमाको यस्तो धारणा रहेको चाल पाउँछन्, केटापक्षले आफ्नो सहमति दिई यस समस्याको हल गरिदिन्छन् । त्यसैले पनि शिव आजभोलि दङ्ग परेको छ । उसलाई लाग्न थालिरहेछ, यो छुटकारा प्रतापको तीतो बचनले नै दिलाएको हो । उसले हिम्मत गरेर आफ्नो औगात खोल्नसक्ने बनाएको नै प्रतापका व्यङ्ग्यले हो । एक मनले उसलाई धन्यवाद दिने इच्छा उठे पनि अर्को मनले क्षमा समेत दिन चाहँदैन । अझै ऊ त्यही सोचाइमा छ, प्रतापले उसको नोकरी नहुँदैमा असमर्थ सम्झियो । साथीमाथि गर्नुपर्ने व्यवहार समेत धनमो तुजुकमा गर्न छोड्यो ।

  • गाउँबाट आमाले पठाएको चिठी पढेर दिलबहादुर ज्यादै चिन्तित भएको छ । लेखिएको छ ( तिरो तिर्ने, म्याद नाघिसकेकाले रातोदिन कचकच सुन्न थालेकी छु । यस्तै दुःखमा तेरी कान्छी दिदीलाई दुई जिया भएको बेला बात लगाएर घरबाट माइत लगारिदिएकाले अर्को चिन्ता थपिएको छ । के गर्छस् बाबु तँ एक्लो छोरो भइस् । दुःखका कुरा नभनूँ भने पनि अरू कुनै उपाय पाइनँ र सुनाउनै पर्यो । खेतीका उब्जनीले वर्ष धाउन्न सकिँदैन । हुन त तैले पनि विवाह गरिस्, त्यहाँको पनि खर्च बढेकै होला ? तर के गरूँ, बुझेर मात्र गर्जो टर्दो रहेनछ । सक्छस् भने यही चिठी लिएर आउनेको हात केही रकम पठाइदिएमा मलाई होलो हुने थियो । यो सानुको बारे म के गरूँ ? रातोदिन रोई मात्र रहन्छे । भन्छे, “मेरी आमा, मैले तपाईंहरूको नाक कटाउने काम गरकी छैन । घरबाट निकालिदिएपछि म तपाईंकहाँ नआएर कहाँ जाऊँ ? बस्ने बास र जिउन गाँस त चाहियो । यस घरको अवस्था जे जस्तो भए पनि म तपाईंका काखमा पर्न आएकी छु । मलाई जा नभन्नु होला । यो कोखको नानी जन्मने बेलासम्म मलाई राख्नोस् । त्यसपछि म पनि केही गरेर नै खान्छु । भाइको बोझ म हुन्नँ आमा ज्ञ म भाइको सहयोगी भई सघाउ पुर्याउँछु ।” “सानुमाथि यस्तो अन्याय गर्न पाउँदैनौं” भनेर त्यसको घरमा गएर भनिदिने पनि हाम्रो कोही छैन । गाउँलेहरूलाई कुरा गर्ने एउटा विषय सानु भएकी छे भने ऊ त्यसरी सबैका लागि तमासा बन्न गएकीले ज्यादै पिरोलिइरहन्छे । गरीब र असहाय हुनु ठूलो दोष हुँदो रहेछ । तेरा बाबुलाई मैले यसरी धन उडाउन थाल्नुभयो भने छोरानातिले दुःख पाउलान्, धनको इज्जत गर्नुपर्छ भन्दा ठाडो जवाफ दिँदै भन्नुभएको थियो, “आफैले कमाउँछन्, अनि जे मन लाग्छ गर्छन् ।” भएका राम्रा(राम्रा गराहरू बेचिए, सुनाचाँदी केही रहेन, न त मन्त्री बन्न सके, हामीजस्तो गाउँले किसान ले चुनावमा भएभरको संपत्ति लगाएर पनि हार्नु परेकाले त्यही नै मृत्युको कारण बनेर आफू बित्नुभयो । आजभोलि आफ्नो पेट कोक्याएको बेला ती हाम्रा बेचिएका गरामा झुलेका बालाहरू देख्ता र मैले लगाउने गरेका बाआमाले दिएका ती ढुङ्ग्रीमुन्द्री अरूका कानमा झुण्डिएका देख्ता यो मन यसै धुरुधुरु रुन्छ । ती गहनाहरू बा अङ्ग्रेजको फौजमा हुँदा उतै विदेशको नमूना ल्याएर बनाएकाले नौला र निकै राम्रा थिए । आफ्ना हातबाट गएका तिनलाई किन हेरूँ भने पनि कसो कसो आँखा तिनैमा परिहाल्छन् अनि आफ्ना बाआमादेखि ल्याएर सबै कुरा संझन थाल्छु । त्यस मोरीले पनि नकुच्याएर त्यही अर्काको जडौरी लगाएर के हिंड्नु परेको होला जस्तो लाग्छ । मलाई त्यस्तो लागेर के गर्नु, उसलाई त्यो देखाएर नै मलाई इर्ष्याउने मन छ कि ? हामीले आफू जल्दोबल्दो हुँदा उसको भाइका लागि तेरा दिदीको हात माग्दा “दिन्नौं” भनेका थियौं । त्यस बेला ती परिवार अलि खस्केका थिए । त्यो रिस अझै मरेको छैन जस्तो छ । तेरी कान्छी दिदीले अहिले दुःख पाउनाको मुख्य कारण पनि यही धन हो । जेठीको विवाह जति गरगहना दिएर गरेका थियौं त्यति नै कान्छीका पालामा दिन सकेनौं । आशा लागेको थियो होला, के गर्ने त्यस बेला हामी आर्थिक सङ्कटमा परिसकेका थियौं । यी दुःखका कुरा बताएर कहिल्यै अन्त्य हुँदैन । यति भए पनि तैंले बुझ्नु पर्ने आवश्यक भएकाले लेखाउन लगाएकी हूँ । दुवैतर्फ ठिक्क हुन खोज्नेले पाउनुपर्ने सजाय तेरा बाबुका स्थितिमा पुग्नु रहेछ । तँ भने कहिल्यै दुई जिब्रे नबन्नू र फाइदाको खोजीमा आफै नहराउनू । अँ, बुहारीलाई कस्तो छ । दुई जिया त्यो पनि भई कि भएकी छैन ? नाति हेर्ने इच्छा त पुर्याइदेलास् । बुहारीले नानी पाउने भई भने यहाँ पठाइदिनू । तैंले त्यहाँ के जान्लास् कुन बेला के गर्नुपर्छ ? राधालाई, हामी बुहारी हुन लेखेको रहेछ र तेरा बाबुले त्यसलाई सानैदेखि खूबै मनपराउनु हुन्थ्यो । तिमीहरू खेलिरहेको देखेर भन्नुहुन्थ्यो, “हेर त दिलेकी आमा, यो राधा कति राम्री छे । यसको बोली कति मीठो छ । गाउँ घरमा जन्मी, नत्र यसले गाना गाउनेमा तालिम लिई भने निकै नाम कमाउने थिई । कोइलीको स्वर त तीखो मात्र हुन्छ यसकोमा त मिठास छ ।” मलाई तेरा बाबुले गरेको यो टीकाटिप्पणी कत्ति मन परेन र खिजाउँदै भनेकी थिएँ, “गाइनेमा नाम कमाएर कुन ठूलो भइन्छन् र ? अर्काकी छोरीलाई नानाथरी नभन्नोस् है । त्यसका बाबुले सुने भने झन् हामीमाथि वैरभाव बढ्छ !” “मूर्खहरूले मात्र यस्तो कुरा गर्छन् । गाउने भन्दैमा सबैले सक्ने हुन् र ? स्वर, शक्ति र तालिम तीनै कुरा मिल्नुपर्छ । त्यसमा पनि स्वर र शक्ति प्राकृतिक देन हो जसलाई तालिमले निखारेर सुर ल्याउन सके मात्र पनि पारङ्गत भइन्छ । यो त कला हो, प्रतिभा हो । यसलाई साधारण नमान ।” “साधारण कहाँ मानेकी छु र ? गाउँमा सबै चेलीहरूले भन्दा राम्रो यसैले गाउन जानेकी छ । खालि स्वर सुनाएर के ठूलो भइन्छ भनेकी मात्र हुँ । छोरीले ठूलो स्वर समेत नगर्नु भन्छन् ।” मैले यति के भनेकी थिएँ तेरा बाबु उफ्रेर झण्डै मलाई हान्नुला जस्तो गरे । म वाल्ल परें किन रिसाएको, मैले के नचाहिने बोलें । केही थाहा पाउन सकिनँ । ठूलो स्वरले उहाँ कराएकाले सदाको झैं म चूप लागें । अहिले त्यसको अर्थ बुझ्दै आएकी छु र एकफेर त्यसको स्वर सुन्ने इच्छा छ । कहिले राधालाई यहाँ पठाउने सुर गरेको छस्, अबेर भने नगर है मेरो ज्यानको के भरोसा ? एकपल्ट नातिलाई काखमा लिइहालूँ । नातिको मुख हेरे एक सिँढी उक्लिइन्छ भन्छन् । हालको गर्जो टार्नलाई केही रकमको बन्दोबस्त गर्ने नै छस् भन्ने आशा राखेकी छु । शुभ आशिष् । चिठी सबै पढिसकेपछि रणबहादुरसँग दिलेले सोध्छ, “खोइ चिठी लेख्ने पनि कहीं तिमी नै त होइनौ ?” “अक्षर चिन्यौ कि कसो ? यसमा मैले जे लेखें त्यो कुनै बुट्टा बनाएर लेखेको छैन । ठूलीआमाले मनको वेदना पररर पोख्तै जानुभयो, मैले त्यसैलाई टिपेर लेखिएको मात्र हो । मकहाँ आएर भन्नुभयो,” तैंले भाखा मिलाएर लेख्न जानेको छस्, दिलेलाई एउटा चिठी लेखिदेन भनेपछि मैले लेखेको हुँ । ज्यादै दिक्क भएर भन्नुहुँदै थियो, “के गर्नु आफूले लेखपढ गर्न नजान्नाले आफ्ना मनका कुरा पनि आफूले अरूलाई भनेर लेखाउनुपर्ने हुँदो रहेछ । हाम्रो यो कथा अरूलाई नभने है भनेर अनुरोध नै गर्नुभयो ।” “तिम्रो यही खूबीले त हो, मलाई लोभ्याइरहेको । स्कूलमा पढ्दा पनि तिमीले कविता लेखेर कथा सुनाएर सबैलाई धुरुधुरु रुवाएको थियौ । यसले पछि लक्ष्मीप्रसाद देवकोटाको ठाउँ लिन्छ भन्दा म तिम्रो रिस गर्दै लेख्ने कापी लुकाइदिन्थें । तिमीलाई यस कुराको संझना छ ?”

“किन नसम्झनु । म पनि त त्यो खोजेर ल्याई गुरुलाई भनेर तिमीलाई पिटाउँथें । “हेर रणे, मलाई यस्तो हुनु लेखेको रहेछ । त्यसैले सानैदेखि बुद्धि पनि त्यस्तै हुँदै गयो । बाचुन्जेलसम्म त स्कूल गएको नै थिएँ । त्यस बेला पनि पढ्नमा भन्दा बढी मन यताउति चहार्नु, खेल्नु वनजङ्गलमा पसेर ढुकुर, चराचुरुङ्गी मारेर हिड्नुले गर्दा कुनै तरक्की गर्न सकिनँ । बा बित्नुभएपछि घरको मालिक बनेको मैले कसलाई टेर्ने ? पढ्नमा वाक्क लागेको मैले आमालाई रुँदै जब गुरुले मैले जति पढे पनि पास गरिदिंदैनन्, पिट्छन् मात्र । अब स्कूल जाँदै जान्नँ, भनेर सुनाएँ । उनले पनि पढाइमा म अब खर्च गर्न सक्तिनँ, नजाने भए नजा भनेर समर्थन गरिन् । त्यो माया थियो कि के थियो ? त्यसरी पढाइबाट छुट्कारा लिएको म अहिले यस रूपमा छु । केटाकेटीको भविष्य बा( आमाका हातमा हुन्छ भनेको सत्य हो, रणे एक्ली मैले के मात्र हेरूँ ? अब तैंले मेरा साथमा खेतीपाती गर्नुपर्छ भन्नुका बदलामा उहाँले एक चड्कन मलाई दिएर लौ स्कूल जान्नँ भन्नु भन्नुभएको भए….? त्यो उमेरमा हामीले के नै जानेका हुन्छौं र ? त्यस बेला सम्हाल्ने बाआमा नै हुन्, रणे उनै हुन् ? तिमी र म नै एउटा उपमा भएका छौं । तिमी मास्टर छौ भने म नोकर । ऊ हाँस्छ र सोध्छ, “आजभोलि स्कूलमा कतिका केटाकेटी पढ्न आउँछन् ? काम त प्रशस्त पाएकै छौ होला ? " “पाएकै छु भन्नुपर्यो । राम्रो नोकरी गर्न पढ्नुपर्छ भनेर तम्सिएका त धेरै छन् तर ज्ञान बढाउनलाई पढ्छु भन्नेचाहिँ छँदै छैनन्, “भाग्यमा ठूलो जागिर खाने मन्त्री हुने लेखेको भए पो पढ्न जान्छन् दुखे भोग्ने कर्म लिएर आएकालाई हामीले मुख दुखाएर के हुन्छ ?” “उहिले उहिले पढ्नुको अर्थ ज्ञानआर्जन मानिन्थ्यो । ठाउँ ठाउँमा भेला भई ज्ञानोपदेश दिन्थे । धर्मको किन नहोस्, नीतिज्ञान जीवन आदर्शको कुरा सुन्न पाइन्थ्यो । अहिले यस्तो केही छैन । भेलामा सुन्न पाइने नेताको आफ्नो र आफ्नो पार्टीको बढाइचढाइ मात्र हो । सबै बदमास, सबै मूर्ख केवल आफू र आफ्नो पार्टी मात्र देशभक्त भन्ने सुनाउँछन् र जान्छन् । यस्तो सुन्दा र तिनका गति देख्ता लाग्छ भक्ति उन काठमाडौंमा छ र देश मात्र पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको छ । देश र भक्ति कहिले जोडिने हो र देशभक्त निस्कन्छन् ? दुवै हाँस्छन् । राधाले खाना ठीक पार्छे । दिलबहादुरलाई घरको खबर सुनेर दिक्क लागे पनि रणेको सत्कारमा कुनै कमी नपार्न खल्लो हाँसो हाँसीरहन्छ । मनले भने गुन्दै हुन्छ, अब पैसा कहाँबाट ल्याउने ?

दिदी र आमाको अनुहार थालमा पस्किएका भातमा देख्छ । ऊलाई लाग्न थाल्छ ती दिदी र आमाले उसँग भनिरहेका छन् “एक गाँस अन्न यता पनि फ्याँकी देऊँ, हेर हाम्रा पेट सारङ्गी जस्ता भइसके । ऋणमा परेका खेत गराहरू धेरैजसो निखनी सके पनि त्यसमा काम गरेर अन्न उब्जाउने कसले ? मेरा यी हाड मक्किसकेका छन् । छोरीको अवस्था राम्रो छैन । अब तैमाथि मात्र हाम्रो आशा छ, बाबु !” दिलबहादुर आफ्ना मनले उब्जाएका यस्ता आमाका बिलौनादेखि डराउँछ । राती सुत्ने बेलामा दिलबहादुरले राधालाई चिठीको व्यहोरा सबै बताउँछ । त्यस्ता मार्मिक कुरा सुनेर राधा पनि चिन्तित हुन्छे र जुरुक्क उठेर गई आफ्ना भएभरका गहना ल्याएर लोग्नेलाई दिँदै भन्छे, “यी गहना धरौटी राखेर हुन्छ या बेचेर हुन्छ, आमाकहाँ पैसा पठाइदिनोस् । कमाउँदै गयौँ भने यस्ता गहना पछि बनाउँला ।” गहनाको पोको लिएर उभिएकी राधाको अनुहार र उसका हातका पोकालाई हेर्दै स्तम्भित भएका दिलबहादुरलाई देखेर राधा आफ्नो हात अगाडि बढाउँदै फेरि भन्छे, “लिनोस्न किन अक्कनाउनु भएको ? यो हाम्रो आफ्नो त हो ।” “तैँलाई थाहा छैन राधा, यी गहना गहना मात्र हुन्, धनको आवश्यकता यिनले पूरा गर्न सक्तैनन्” दिलबहादुरले यति मात्र के बोलेको थियो बीचैमा कुरा काटेर राधा भन्छे, “सक्तैन रे ? किन सक्तैन ? गहना नै त हो, जरूरत परेका बेला बेचेर हुन्छ या बन्धक राखेर हुन्छ, खाँचो टार्ने । यो नलगाएर म मर्दिँन तर त्यहाँ पैसा नपुगे जे पनि हुनसक्छ । त्यस्तो परेको रहेछ । साँचै भन्ने हो भने मलाई गहना लगाउने सोख पनि छैन । दिलबहादुरलाई राधाका यस्ता प्रश्नले उसका धैर्यलाई खलबलाईदिन्छ र अलिकति ठूलो स्वरमा दिक्क हुँदै भन्छ, “सक्तैन भनेपछि किन चुप लागेर थन्काउन्नस् ? यी पित्तलका गहना हुन् । यसबाट के पाइन्छ र बेच्छेस् ? तेरो यस्तै जिद्दीले मलाई मुखै फोर्नु पर्ने पार्छ ?” यति भन्दै ऊ अति अफशोच मानेर बस्छ । राधा पनि दिलबहादुरको कुरा सुनेर जिल्ल पर्छे र रुँदै भन्छे, “कति मलाई छक्याउनु हुन्छ ? अब त लाग्न लागिसक्यो कहीँ तपाईँ नै पनि उही दिलबहादुर हो कि होइन ? किन तपाईँलाई यस्ता गहना ल्याएर विवाह गर्नुपर्थ्यो ? कसलाई के रवाफ देखाउनु परेको थियो ? भन्नोस्, तपाईँले अरू पनि कुरामा मलाई ढाँट्नु भएको छ भने आज म सबै सुन्न चाहन्छु ।” यसो भन्दै ती गहनाहरू भुइँ भरी छरिदिन्छे ।

कोठो पहेँला गहनाले सिंगारिन्छ । दिलबहादुर र राधाका आँखा त्यसैमा नाच्न थाल्छन् । दिलबहादुर केही बेरपछि साम्य भएर सम्झाउँदै भन्छ, “के गरुँ त, मैले पनि ? तैँलाई मन पराइहाले । तेरा बाबुले गहना नल्याएर विवाह गर्न आएँ भने छोरी नदेलान् भनेर यिनै पित्तलका भए पनि लगेँ । यस्ता महँगीमा सुनचाँदी कसरी जोड्नु ? यसलाई राखी राख, यसरी फ्याँक्ने होइन । गाउँमा कसलाई के थाहा हुन्छ ? कसीमा घोटेर जाँच्ने होइन । हेर्दा राम्रा छँदै छन् । कसले भन्न सक्छ यी पित्तल हुन् भनेर ? “राम्रो छ अझै लगा भन्दै हुनुहुन्छ । म त लगाउन्न यस्ता ? जे पनि यस्तै दिनुहुन्छ र लगा भन्नुहुन्छ म पनि अब कमाइ गर्नथाल्छु । रेडियो नेपाल र नेपाल टेलिभिजनमा गाना गाउँछु । कति झूठझूठमा दिन काट्ने ?” हिक्क हिक्क गर्दै रुन्छे । “ए मेरी राधा, यसरी दुखी नहो न ? के मेरो इज्जत राख्न भए पनि गाउँमा जाँदा यी गहना लगाउन्नस्” भन्दै ती छरिएका गहना बटुलेर दिन्छ । लोग्नेले मायालु स्वरले भनेका कुराले छिट्टै प्रभावित भइहाल्छे र ती गहना समातेर नबोले पनि टाउको हल्लाई लगाउँछु भन्ने सङ्केत दिन्छे । उसका मन्जूरीले दिलबहादुर ज्यादै खुसी हुन्छ र ढाडस दिँदै सम्झाउँदै भन्छ, “कुनै बेला हाम्रो पनि राम्रो दिन आउला, अनि सक्कली गहना लगाउलिस् । त्यतिन्जेललाई यस नक्कली समाजलाई नक्कली नै गहना लगाएर देखाइदे । म तैँलाई तेरै इच्छा अनुसार गाना गाउन पठाइदिन्छु । दया मैयाँसंग भोलि नै कुरा गरी हाल ।” राधा दिलबहादुरले त्यति भनेपछि आफूलाई सम्हाल्न सक्तिन र बिस्तारै दिलबहादुरको नजिकै गएर टुसुक्क बस्छे । दिलबहादुरले उसलाई अङ्गालामा लिएर निकै बेरसम्म सम्झाइरहन्छ । चित्त बुझे पनि नबुझे पनि राधा दिलबहादुरका कुरामा फेरि पत्याएर आफूलाई सुम्पिनुभन्दा अर्को कुनै उपाय पाउँदिन । ऊ उज्यालो भविष्यको आशा गर्दै दिलेको सबै आश्वासनमा फेरि विश्वास गर्दै सम्झौता गर्दै जान्छे ।

  • शिव खड्काको आज पेसीको दिन छ । ऊ अड्डा जाने तयारीमा छ । गौरीले यसपटक पनि छुट्टी लिएर घरमा बसेकी छे, हरेक पेसीका दिन ऊ घरैमा शिवलाई पर्खेर बस्छे किनकि उसलाई शिवको स्वभाव राम्ररी थाहा छ, मुद्दा हारियो भने के गर्ने भन्ने कुराको चिन्ताभन्दा बढी उसले हार्नु पर्यो भने के गर्ने हो भन्ने सोचेर त्राहि । त्राहि भई फैसला सुन्न पर्खिरहेकी हुन्छे । मोजा लगाउँदैको शिव मनमनै गुनगुनाइरहन्छ । सोच्छ, आज मेरो जित भयो भने पहिले म त्यही मलाई फुस्काउने हाकिम कहाँ जान्छु र हारेँ भने …… ? ती हराउनेहरूको योग्यता जाँच्न थाल्छु । कुन पानीका तहमा रहेर न्याय दिलाउँदा रहेछन् भन्ने पत्ता लगाई न्यायको परिचय कि आफू लिन्छु कि तिनीहरूलाई बताइदिन्छु । यसका लागि जुनसुकै, जस्तोसुकै बाटो समात्नु परे पनि म छोड्दिनँ । मलाई बदमाश अहिलेकाले भने पनि आउने पुस्ताले थाहा पाएर भन्नेछन् “त्यसबेला पनि बोल्ने जिउँदो मान्छे रहेछ ।” देश मसान नभई जिउँदो नागरिकले भरिएको बस्ती पो रहेछ । खान, लगाउन र बस्नका जरुरत पूरा गरिसकेपछि पनि व्यक्तिलाई समूह जीवन यापन गर्न अर्को जरुरत न्यायको पर्दो रहेछ । उसले इमान दिएर इज्जत खोजिरहेको हुँदो रहेछ । सम्झन्छ, त्यो दिन जब उसले निष्कासनको सूचना पढेर चिठी बुझेको थियो र हाकिमका कक्षमा सरासर पुगेर त्यसको अर्थ सोध्दा जवाफ पाएको थियो, “के गर्ने हामीले तपाईँलाई बचाउन यति गरेनौँ, यति भनेनौँ तर हाम्रो कुरा सुने पो ? आखिर निर्णय अनुसार गर्नै पर्यो । हामीले तपाईँलाई त्यस बेला पनि नसम्झाएका होइनौँ । मान्नु भएन । उल्टै हाम्रो विरोध गर्दै हिँड्न थाल्नुभयो । हामी नोकरी गर्नेले कुन सरकार हुँदा के भन्न सक्छौँ ? लगाए अह्राएको खुरुक्क गर्नै पर्दो रहेछ । देशको कानून, प्रशासनिक नियम सबैमा उनैको बोल भएको बेला हामीले भनेर के हुन्छ ? जति म्याँ… म्याँ… गरे पनि बोकाको जन्म लिएपछि दीर्घायु हुन पाइन्छ र ?” शिव खड्काले पनि प्रतिकार गर्दै यसरी भनेको थियो, “दैनिक गीता पाठ गर्ने तपाईँको यो सोचाइ ? धर्मको लडाइँ गर्न उक्साउने ग्रन्थको पाठ गर्नाको नतिजा यस्तो निस्केको देखेर मलाई तपाईँहरूप्रति खेद लाग्दै छ । के ज्ञान प्राप्तिका लागि, के मोक्षका लागि पाठ गर्नुहुन्छ जब त्यसले बताएका चालमा चल्न सक्नुहुन्न भने ? मेरो तपाईँसँगका प्रश्नको मतलब तपाईँको सफाइ सुन्ने होइन । मेरो खोज मेरो निष्कासनको आधार र भूल केहो ? तपाईँले के गर्नु भयो, के भन्नु भयो, त्यो त यस नतिजाले नै देखाइसकेको छ । केही समयसम्म दुवै चुप लागेपछि शिव खड्का त्यहाँबाट फर्केर घरतर्फ लागेको थियो । घरमा पुगेर आफूलाई नियन्त्रणमा ल्याउन तबला बजाएको र त्यसलाई घचेड्दा फुटेको सम्झेर हाँस्छ । त्यस्तै गरी सम्झन्छ, त्यस बेलुकी ऊ कोठाभित्र पस्दा छोराछोरी सबै जम्मा भएर बसेका थिए र गौरीले भन्दै थिई, “नोकरी पेशा नै यस्तो हो हुँदा पनि चैन दिँदैन र नहुँदा पनि आनन्द हुँदैन । तेरो बाबु जस्तो समयलाई सँधै यसै खेरफाल्नु हुँदैन भन्नेले अब के गर्छन् कुन्नि ?” शिवले त्यसै प्रश्नलाई टिपेर भनेको थियो, के कुरा गर्छ्यौ तिमी ? चैन लिन आनन्द भोग्न भनेर पनि त नोकरी गरेको होइन नि ? सुन, प्रत्येक पेशामा उस्तै चिन्ता र छटपटी हुन्छ र यही बेचैनीले उन्नति पनि गराउँछ । त्यसमा हुनुपर्ने दुई कुरा छन्, न्याय र इमानदारी । तेरा बाबुले यस पेशामा रहँदा इमानदारी दियो तर पाउनु पर्ने न्याय भने पाएन । त्यसैले म न्यायको धुकधुकी अझै कतै लुकेको छ कि भनेर खोज्ने प्रयास गर्छु । मलाई विश्वास छ, सत्य हराउँदैन र तिमीहरूमाथि पनि मलाई आशा छ, यस लडाइँमा साथ दिनेछौ । म बकिएँ भने पनि सम्हाल्ने काम तिमीहरूले गर्नुपर्छ । हाम्रो निर्दिष्ट लक्ष्य यही हो । यसलाई नबिर्सिएर परिवारको धर्म पूरा गरेँ । नोकरी गयो भनेर मलाई पीर लागेको छैन, लागेको छ भने न्याय कता गयो भन्नेमा छ । समाजभित्र रहेर बाँच्नलाई चाहिने बन्धन नै यही न्याय हो । यसैले अधिकारको सुरक्षा गरेको हुन्छ र कर्तव्य जन्माएको हुन्छ । यी तीनै न्याय, अधिकार र कर्तव्य हुन् जसले हामीलाई पशुजगत्बाट छुट्याएर बेग्लै प्राणी सबैभन्दा श्रेष्ठ जीव बनाएको छ एउटा समाजको सिर्जना गरेर ।

बाबुको मनस्थिति र उमको जीवनको परिभाषा बुझेका ती छोराछोरीले पनि “आफूले उसलाई सहयोग गर्नेछौँ, तपाईँ निश्चिन्त हुनोस्” भनेको सम्झन्छ । यी सम्झनाले शिवलाई सन्तानमाथि गर्व गराउँछ र सम्झना जगत्बाट जाग्रत् भई फटाफट तयार हुँदै टेम्पो बिसौनी तर्फ लाग्छ । त्यसबेला नौ बजिसकेको थियो । विक्रम टेम्पोको ट्यार् ट्यार् आवाज र त्यसले पछाडिबाट फ्याँकेको धुवाँ यति पिरो थियो, ऊ नाक रगड्दै मन्त्रीसँग भेट गर्न जाँदा भएको वार्ता सम्झन्छ । धेरै व्यक्तिहरू मन्त्रीसँग भेट गर्न बाहिर कुरिरहेका थिए । त्यस धेरै माझ पनि उसको अनुहार देखेपछि मन्त्रीज्यूले पहिले उसलाई नै बोलाएर भित्री कोठामा लगेर त्यहाँ आउनाको कारण सोधेका थिए । शिवले बाटाभरि मन्त्रीज्यूसँग भेटेर उसलाई निष्कासन गराउनाको कारण के हो भनेर यसरी सोध्छु भनी गुथेका कुराहरू सबै मन्त्रीज्यूको शिष्ट भाषा र सौहार्दपूर्ण व्यवहारले गर्दा कताकता पुर्याइदिएकाले यति मात्र सोध्न सकेको थियो, “तपाईँलाई धन्यवाद दिन आएको प्रजातन्त्रको पुनःस्थापनापछिको पहिलो फल हामीलाई नै चखाउनु भएकाले गर्व लाग्यो । हो, काम सिद्धिएपछि ती रित्ता ट्वाकहरूलाई यसरी नै पन्छाउनु पर्छ ।” मन्त्रीज्यूले छक्कै परेर भन्नुभएको थियो, “के तिनीहरूले तपाईँलाई पनि पारेछन् ? कति वर्षको नोकरी भएको थियो ? ३० वर्ष पुगेको अवश्य थिएन होला ? यहाँ यस्तै भइरहेछ । एउटा कुरा भन्यो, अर्थको अनर्थ लगाइदिन्छन् । आआफ्नो मतलब जताबाट पनि पुर्याइहाल्छन् र हामीलाई बदनाम गराउँछन् । जब काम फत्ते भइसक्छ अनि मात्र हामीलाई थाहा हुन्छ ।” “मेरो मात्र कुरा नगर्नोस् न तपाईँ पनि ? जहाँ जाऊ आफ्नै सफाइ मात्र लिन आएको सम्झन्छन्, नोकरीबाट झिक्न कुनै आधार चाहिन्छ र ३० वर्षको कुरा गर्नुहुन्छ ? ६,७ वर्ष मात्र नोकरी गरेका पनि के निष्कासित भएका छैनन् र ? फेरि यो तीस वर्षको नोकरीको अवधि तोकेर के फाइदा हुन्छ भन्ने सोच्नु भएको छ ? यसले यता पूर्वाग्रह राखेको हो कि भन्ने झल्केको छ भने उता अनुभवी दक्ष प्रशासकहरूको कमी भएको छ । जागिरदारहरूले न्याय पाएका यही हो त ? मलाई निकाल्नाको के आधार हो, त्यो मलाई भन्न सक्नुहुन्छ ? सक्नुहुन्न भने यसलाई पनि दमन नीति नै भन्नुपर्छ । सम्झनोस् २०४६ सालमा हामी जागिरदारहरूले पनि साथ नदिएको भए के हुन्थ्यो ?

मन्त्रीज्यूले पनि अनजिलो मान्दै भनेका थिए “हामीले ३० वर्षको अवधि तोकेको कुनै पूर्वाग्रह राखेर होइन । यो पञ्चायत कालको शासनअवधिसँग प्रसङ्ग मिल्न गएको मात्र हो । हाम्रो कुनै उद्देश्य यसमा छैन । अलि रोषका साथमा भनेका थिए, “हेर्नोस् हामीले मात्र के गर्ने ? एउटा कुरा भन्यो अर्को, गरिदिने त छँदैछ । त्यसमाथि के कस्तो हुँदै छ, त्यो समेत भन्दैनन् । अरू त के तपाईँलाई निष्कासन गरेको कुरा समेत भनेका छैनन् । को इमान्दार छ, को छैन भन्ने छुट्याउन सक्ने क्षमता यिनीहरूमा नभएकाले त हामीलेमाथिदेखिनै पजनी गर्नुपरेको हो । हुनु नपर्ने जे थियो, त्यो भइहालेछ । अब केही दिन पर्खनोस् कुनै संस्थानमा जनरल म्यानेजर नै बनाइ दिउँला । यता तपाईँले नालिस दिनोस् । आफ्नो अधिकार यसै छोड्न हुँदैन । प्रशासकहरूले मौका पाए भने हामीलाई झुक्याउन खोज्छन् । त्यसै बेला भनेका थिए ( हामी प्रशासनद्वारा नै बदला लिन्छौँ । जागीरदारहरू पनि थरी थरीका छन् ।” मन्त्रीका यस्ता कुरा सुनेपछि मनमा लागेको थियो, उसलाई निष्कासित गर्ने मन्त्रीचाहिँ नहुन सक्छ । त्यसो भए को हो त ? हाकिम भन्छ माथिको आदेश भनेर माथिको भनाइ यस्तो छ ? के यी सबै दोष लिनबाट उम्कन खोजी रहेका त छैनन् ? यस्तालाई यसै छोड्नु हुँदैन भनेर शिवले झोक्किएर भनेको थियो, “जसलाई निकाल भन्नुभएको भए पनि त्यो जागिरदारप्रति गरेको अपमान नै हो । भ्रष्टाचारीलाई राख्नु पनि हुँदैन र निर्दोषलाई निकाल्नु पनि हुँदैन । त्यसैले दोषको किटान गरेर मात्र निष्कासन गर्न सक्नुपर्छ । प्रशासनमा सुधार ल्याउनलाई यसो गरेको भन्नुहुन्छ भने नियम कानून, नीति, उद्देश्यलाई समयसापेक्ष बनाउँदै लैजानु जरूरी हुन्छ । ती जागिरदारहरू हिजो त्यो व्यवस्था हुँदा पनि त्यसै मुताबिक चले कै थिए र आज यो व्यवस्था आउँदा पनि सुहाउँदो रूपले चलिनै हाल्छन् । त्यस्ता नियमकानूनका पालकलाई चलाएर के उपलब्धि पाउने आशा लिनुहुन्छ ? बरु अनुभवीहरूको खाँचो पर्नगई प्रशासनमा सुस्ती अरू बढ्नसक्छ । प्रशासन चलाउनुलाई सजिलो नठान्नोस् र यसलाई महत्वहीन पनि नठान्नोस् ।” “आफ्ना तरिकाले काम चलाउने, आफूले विश्वास गर्नसक्ने व्यक्ति पनि त ठाउँठाउँमा हुनुपर्छ । जुन कुरामा पनि नियमै मात्र तेर्स्याइराख्ने पुराना शैलीमा हिँड्नेलाई राखेर पनि त काम राम्रो र छिटोसँग हुन सक्तैन । उनीहरू सक्षम र अनुभवी छन् भने अहिले हातमा पैसा परेका बेला नयाँ व्यवसायतर्फ पनि लाग्न सक्छन् । हाम्रो आर्थिक नीति खुला बजारको स्थापनातर्फ छ जसअनुसार धेरै व्यवसाय खुल्न सक्छन् । बेरोजगारी हट्छ र साथसाथै प्रतिस्पर्धा बढ्नाले देशमा गुणात्मक प्रगति आउन सक्छ । यसलाई नकारात्मक दृष्टिले हेर्नु हुँदैन ।” यति भनेर मन्त्रीज्यू टक्टकिएका थिए । “ए, यस्तो घुमाउरो बाटोबाट विकास ल्याउने लक्ष्य राख्नु भएको छ भने त्यसलाई छिटै बदल्नेतर्फ लाग्नुहोला, नत्र हामीले ल्याएको २०४६ सालका उपलब्धिलाई बाथको रोगले डल्ल्याइदेला । तपाईँहरूलाई नियम तेर्स्याउने पनि मन पर्दैन र नियम तोड्ने पनि । तपाईँहरू के चाहनु हुन्छ, त्यो आफैँलाई थाहा छैन । मलाई फेरि यस्तो नोकरी गर्नु छैन केको जनरल म्यानेजर हुने ?” शिवलाई यस सम्झनाले हाँसो उठाउँछ । विद्यार्थी युनियनको झण्डा उठाएर उसैसंगसँगै पढ्ने त्यो साथी आज मन्त्रीज्यूका हुँदा देखिएका फरकलाई केलाउँदै मनै सँगभन्छ, “यसले राजनीतिका क्षेत्रमा समर्पित भएर पाएको उपलब्धि के यसरी बोल्न जान्ने मात्र हो ? लामो समयसम्म राजनीतिमा निष्क्रिय भएर रहन पर्दा उसले के सबै बिर्सिसकेछ ? राजनीतिको पनि आफ्नै तरिकाको नैतिकता र निष्ठा हुन्छ । कहाँ गए ती सबै ? यसरी मनमा कुरा खेलाउँदाखेलाउँदै कति बजिसक्यो बिर्सन्छ र एउटा टेम्पोमा तँछाड् मछाड् गर्दै पस्छ । भित्र पसेपछि थाहा हुन्छ, त्यसरी लडाइँ गर्ने नपर्ने थियो, एउटा सिट अझै खाली नै छ । हामीमा आएको हुलदङ्गा गर्ने प्रवृतिलाई सम्झेर ऊ आफैँ विषादित हुन्छ । टेम्पो आफ्ना गतिमा गुड्दै थियो, एउटा यात्रीले हात उठाएर रोक्ने सङ्केत गर्छ । ड्राइभरले गुड्दागुड्दैका टेम्पोलाई ध्याच्च अडाउँछ ! सहयात्रीहरू आपसमा ठोकिन्छन् र कराउँछन् “ऐया ! झण्डै मारेको ? के गरेको यस्तो जथाभावीसंग ब्रेक लगाउनु हुन्छ ? कसो पल्टेन ?” चढ्न पाउने यात्री शान्त छ । ऊ टेम्पोभित्र फैलिएर बसेका यात्रीहरूलाई अगाडिसरेर पछाडिको सिट खाली पार्न भन्छ । टेम्पो ड्राइभरले कराउने ती यात्रीलाई रुख्खा जवाफ दिँदै भन्छ, “दौड्दैको टेम्पोलाई रोक्नुपर्दा कस्तो हुन्छ भन्ने थाहा छैन कि कसो ? चोट लाग्छ कि भन्ने डर लागे राम्ररी समातेर बस्नुपर्छ ।” यस्तो जवाफ दिँदै स्टार्टर तान्छ र फेरि गति बढाउँछ । अहो ! यहाँ कसैले कसैलाई पनि भूल गर्यौ भन्न नहुने भएको छ । उल्टो जवाफ सुनेर पनि लौ तेरो मिजासले पाएको सजाय भनेर सबैले मिलेर केही गर्न सक्तैनौँ र उसैमाथि समर्पित भएर आफ्नो जरुरत पुर्याउनु परेको छ । सेवाका व्यवसायमा काम गर्ने यिनीहरूको त व्यवहार यस्तो छ भने अरूमा के होला ? प्रजातन्त्रको अर्थ यिनले लगाउन थालेका छन् (जे मन लाग्यो बोल्ने, जहाँ मन लाग्यो जाने, जे गर्नलाई पनि छुट खोज्ने, आफ्नो मात्र हकहितको दाबी गर्ने र आफ्नोतर्फको कर्तव्य भने बिर्सने ? कसले सम्झाउने ? को निस्कन सक्थ्यो यिनीहरूलाई सम्झाउन जब धेरै जसोको धारणा यस्तैतर्फ बढ्दै छ । अनुशासन बेगर कुन देशमा प्रजातन्त्र फस्टाएको छ । प्रजातन्त्रमा आत्मपरख आत्मअनुशासन हुनुपर्नेमा यो स्थिति देखा पर्दैछ ? यस्तो सोचिरहेका शिवका आँखा झ्वाट्ट फोहोरमैला थुपारेका रासमा पर्छ । प्लास्टिकका थैला, खाना झिकेर फ्याँकेका टिनका ट्वाक्रा, कुहिएर मिल्किएका फलफूल, पराल, शिशी थुप्रै केके र त्यसमाथि मिल्किएका मरेका कुकुर, तिनलाई पन्छाउँदै खोतली जिउने साधन जम्मा पार्दैगरेका केही केटाकेटीहरू ? त्यो देखेर ऊ मनमनै अरू कुँडिन्छ र सोच्छ, यस देशका भविष्यका तारा हाम्रै देशका नागरिक यसरी हुर्कँदै छन् । के होलान् यिनीहरू ? यिनको संस्कार कस्तो बन्ला ? यसतर्फ ध्यान हामीहरूले किन दिनसकेका छैनौँ ? फेरि आफ्नै मनले भन्छ, “हाम्रो सोचाइको क्षेत्र त यही फोहोरमैलाको थुप्रो सडकमा फ्याँकिएकाले नै बताइरहेछ भने यहाँ अरू संयुक्त सोचाइको भावना कहिले जागरण हुने ? हामीले जान्न थालेका छौँ विभिन्न आधुनिक सामानका प्रयोग गर्नलाई, घरभित्रका फोहोर सडकमा ल्याएर फ्याँक्नलाई तर फोहोरलाई त्यहाँबाट हटाउनु पर्छ, सडक हामी सबैको साझा हो भन्ने अर्थ भने जानेका छैनौँ । घर ठूलठूला बनाउँछौँ र त्यहाँबाट बग्ने पानी सडकमा ल्याएर प्रत्येक सडकका किनारमा बनेका घरका पर्खालमा फ्याँक्न हुन्छ ? त्यसमा आँखा सबै निकायका परेकै छन् होला तर उनीहरू त्यो बन्द गराउन सक्तैनन्, किनकि घर ठूलो छ । अवश्य त्यहाँ बस्नेहरू पनि ठूला व्यक्तिनै होलान् । जताततै थिचोमिचो छँदैछ । सार्वजनिक भावनाको खाँचो जबसम्म पूरा हुँदैन र नागरिक सहभागिताको जरूरतको ज्ञान जबसम्म हामी सबै नागरिकमा आउँदैन यस्ता असामाजिक क्रिया अरू बढ्दै जाने छन् । यसमा ज्ञान फैलाउने दायित्व लिएर को अगुवा हुने ? अफसोच त यसमा छ । यही स्थिति कतिसम्म लम्बिने हो ? शिव खड्का ठिक यसै बेला आफ्नो पुरानो साथी मोटरसाइकलमा गएको देख्छ । उसले हात हल्लाएर आफूलाई चिनाउँछ भने त्यो साथीले हाँसेर भेटको अभिवादन गर्छ । यो अर्को उसको दुःखसुख साट्ने साथी थियो । दुवै एउटै अफिसमा एउटै पदमा, एउटै विभागमा काम गर्थे । शान्त शर्मा शिवका दाँजामा धेरै शान्त प्रकृतिको थियो । उसको काम शिवलाई सम्झाईबुझाई गर्नु मात्र नभई अब के गर्नुपर्छ भनेर सल्लाह दिने पनि हुन्थ्यो । दुवैको राय धेरैजसो मिल्थ्यो पनि केवल त्यसलाई कार्यान्वित गर्ने पद्धतिमा फरक हुन्थ्यो । मन्त्रीज्यूसँग भेट गरेको दिन शिव यिनै शान्त शर्माकहाँ गएको थियो । हाकिमको भनाइ र मन्त्रीज्यूको भनाइ कुनै कतै पनि नमिलेको पाएर जङ्गिदै भनेको थियो, “कसले किन निकाल्यो त मलाई ? सत्य कुरा लुकाएर व्यर्थै मलाई किन छटपटी पार्छन् ? म भौँतारिएको भौँतारिएकै छु ?” शान्त शर्माले शिवलाई शान्त पार्न भनेको थियो, “कस्तो नबुझेको तिमीले ? यस्ता बेलामा बोल्ने भाषा यस्तै त हुन्छ । यता तिमीलाई त्यसरी अर्ध्याए, उता हामीलाई तिम्रै उपमा दिएर धम्क्याए । निकाल्ने पक्कै यिनैमध्ये छन् । यसलाई छोड्न भने हुँदैन । उजुरी दिनै पर्छ । तिमीलाई अब केको डर ? नोकरी जान्छ कि भन्ने छैन, बरु फर्कन्छ कि भन्ने आशा त छ ?” “आशा” भनेको सुनेर उसले हाँस्दै भनेको थियो “ठिक भन्यौ तिमीले । हामीलाई हौसला दिने पनि त यही आशा हो, होइन र शान्ते ? आन्दोलनमा पिटाइ खाएको यहाँनिर अझै बेलाबेलामा चस्किदै छ । त्यति बेला पनि म आशै लिएर सञ्चालित भएको थिएँ । हाकिमहुनेहरू र अहिले मन्त्री बनेकाहरूले नै उक्साउँदै भन्थे, “तपाईँहरू जस्ता जोशिलाहरूले नै अगाडि सर्नुपर्छ । तपाईँहरूलाई समर्थन गर्ने हामी छौँ । निर्धक्क हुनोस् अहिले यी नोकरीको झन्झटबाट नै मुक्त पारी दिए । कस्तो सहयोग गरे ?” “बल्ल तिमी लाइनमा आउन थाल्यौ । अरूलाई खाने बाघले मलाई पनि खान्छ भन्ने सोचेर पनि निष्कासन गरेको हुनुपर्छ । नत्र तिम्रो ल्याकत, तिम्रो लगनशीलता, संस्थामाथि रहेको तिम्रो माया, तिम्रो इमानको नतिजा यो हुनुपर्दैनथ्यो । तिमीबारे थाहा नभएको कसलाई थियो र ? त्यो पनि आफूले चाहेर ल्याएका सरकारका शासनमा ? चित्रकारले प्रयोग गरी फ्याँकिएको कुची पो तिमीलाई बनाइ दिए ? त्यसैले देखाइदेऊ तिम्रो अस्तित्व अझै बाँकी छ भनेर ।” शान्त शर्माका यस सल्लाहले पनि ऊ धेरै प्रभावित भएर मुद्दा हालेको थियो ।

  • बिहानीपख मधुरो स्वरमा झ्याउरे लयमा गाएको गाना सुन्दा अति मीठो लाग्छ । एउटी उमेर पुगेकी चेलीका बिलौनाले भरिएका त्यस गानालाई राधाले आफ्नो सुरिलो कण्ठबाट लय मिलाएर गाउँदा र त्यस गीतको भावना र राधाका स्वरले साधना र दया दुवैका मनलाई प्रभावित पार्छ । त्यो मधुरो गीतको रसपान गर्दा उनीहरूलाई त्यस शान्त वातावरणलाई आफू उठेर खल्बलाउन मनलाग्दैन । बिहानको उठ्ने समय बित्तै जान्छ । भान्छाबाट आमाले अझै ती उठेका छैनन् भन्दा पो झस्केर उठ्दै साधना भन्छे “कति मीठो झ्याउरे गाना गाएकी राधाले ? साँच्चै यसको स्वर त अति मीठो छ ?” बहिनीले गरेको राधाका स्वरको टिप्पणीलाई औँल्याउँदै दयाले थप्छे, “झ्याउरे लय नै यस्तै हुन्छ । मनलाई कस्तो कस्तो पारी हाल्छ । अझ यसमा सारङ्गी बज्यो भने त रुवाएर नै छोड्छ ।” “किन हाम्रा बाजा, गानाको लय सबै रुवाउने मात्र हुने, दिदी ? के हामीले खुशी मनाउनै जानेका छैनौँ । सारङ्गी हेर्यो त्यस्तै, सनाईको त के कुरा गर्ने रुवाउन नै बजाउँछन् । मादल र तबला नहुँदा हुन् त गानाको जगत्मा के हुन्थ्यो होला ?” “यसमा धेरै विकास हुन नसकेको कारण अर्कै छ । उहिले गाना गाउने, गानाबाट रमाइलो लिने व्यक्ति निकै कम हुन्थे । कि हुन्थे ठूला बडा शौखिनहरू कि गाना गाउँदै माग्ने गाइनेहरू । यिनीहरू यस्तै सवाइ कहाँदै गाना गाउँदै कसैका दिलमा चोट पुर्याएर रुवाएर या कसैलाई खिज्याएर रमाउने गराएर पैसा माग्ने गर्थे । हामी जस्ता मझौला वर्गले गाना सुनेर रमाउनै जानेका थिएनौँ भने पनि हुन्छ । २००७ सालपछि जब रेडियो नेपाल खुल्यो, त्यसपछि गाना बजानाहरूमा प्रगति देखा पर्यो र हामीजस्ताले पनि गानाको रसपान गर्न थाल्ने भयौँ । अब त के टेलिभिजन आएपछि गाना मात्र कहाँ हो र नाटक र अरू ज्ञानवर्द्धक खबरहरू पनि सुन्न पाइने भइसकेको छ । नत्र पूरा विश्व एकातिर, नेपाल छुट्टै अर्कोतिर जस्तो हुन्थ्यो । सबै विकास सबै देशहरू एकादेशका कथासरह थिए । साधनाले दयालाई ऊ टेलिभिजनमा काम गर्ने भएकीले जिस्क्याउँदै भन्छे, “भन्नोस् न, टेलिभिजन आएपछि देखेर सुनेर छोटो समयमा नै रमाइलो वातावरणमा रही दिमागलाई सोच्ने कष्टै नपर्ने गरी निरक्षरहरूले पनि धेरै कुरा जान्नसक्ने भएका छन् र साहित्यकारलाई किताब छपाउने समस्या नै नपर्ने भएको छ ।” “तिमी जस्ती पढेलेखेकीले पनि यसरी टेलिभिजनका बारेमा भन्न मिल्छ ? फेरि निरक्षरहरूले यसरी सिक्नपाउनु के नराम्रो हो र ? हो, शिक्षितवर्गले किताब पढेरभन्दा बढी यस्तै टेलिभिजनका कार्यक्रम हेरेर बिताउन थालेका समय बचाउनलाई हो या अरू कुनै अर्थले हो त्यो भने सोचनीय छ तैपनि यो दोष टेलिभिजनलाई लगाएर साहित्य साधकहरूलाई निरुत्साही बनाइदिएको छ भन्नचाहिँ मिल्दैन । याद गर, ती देशहरूमा जहाँ गाउँगाउँमा टेलिभिजन प्रसारण पुगेको छ, त्यहाँ पनि साहित्य क्षेत्रमा त्यतिकै प्रगति भएको पाइन्छ । समयकै कुरा गर्छ्यौ भने उनीहरूले जस्तोगरी लामो समयको उपभोग हामीले कहाँ गर्न सकेका छौँ र ? अझै पैतृक सम्पत्तिमा मोजमस्ती गरेर बसिरहेकाहरू र काम गर्न नतम्सी दिउसो पनि सुतिरहनेहरूको संख्या हामी कहाँ छँदैछ । यसरी समय बिताइरहेकाहरूलाई के भन्छ्यौ ? दोष टेलिभिजनद्वारा कार्यक्रम प्रसारण गर्नेको छैन । छ भने आफ्नो रुचि छानेर मात्र हेर्ने नगर्नेहरूको छ । टेलिभिजनले त सबै स्तरका, सबै क्षेत्रका व्यक्तिहरूका लागि कार्यक्रम दिनुपर्छ । यो राष्ट्रिय कार्यक्रम हो । “ए दिदी, तपाईँको जवाफ दिने कला त बोलिनसक्नुको छ । आफ्ना व्यवसायमा धक्का पुर्याएको सोचनुभयो कि कसो ?” “मेरो कार्यक्रमका बारे कुरा गर्ने पर्दैन मैले सुनाउने खबर हो । त्यो सुन्ने सबैको इच्छा भइहाल्छ । मेरो व्यवसायमा तिम्रो भनाइले कुनै असर पार्दैन ।” यसरी दुवैबीच वार्ता चल्दाचल्दै राधाले चिया ल्याइपुर्याउँछे र दुवैलाई एक एक ग्लास हातमा थमाइदिन्छे । साधनाले चिया खाँदै राधाले बिहान गाएका गानाको तारिफ गर्छे । राधा पनि दङ्ग पर्दै आफूले पहाडमा गाउने गरेको बताउँछे र सोध्छे, “मैयाँहरूलाई यो गाना सुनेर रूँ रुँ लाग्यो कि लागेन ? यो गाना हाम्रा घरतिर सबैजसो छोरीहरूले गाउने गर्छन् ।”

“के त्यहाँ छोरीहरूको जिन्दगी त्यस्तै हुन्छ कि गानामा बढाई चढाई लेखिदिएका हुन् ।” “के बढी भनेको छ र त्यस गानामा ? यसभन्दा पनि दुःखी हुन्छ गाउँका चेलीबेटीको जिन्दगी । यो त शहरकाले गाउँका छोरीहरूलाई सम्झेर मात्र लेखेका हुन् । यो गाना हाम्रा गाउँमा ल्याएर सुनाउँदा नरुने कोही पनि भएनन् । आज मलाई त्यही गानाको याद आयो र गाउँदै घर कसिङ्गर गरेकी । सानामा पढलेख गर्न पाएकी भए र तपाईँका कान्छा दाइले पनि पढाइ पूरा गर्न पाएको भए हाम्रो योगति केही गरे पनि हुँदैनथ्यो । उनले धन नभएर पढ्न पाएनन् मैले छोरी भएर जन्मिनाले पाइनँ । हजुरहरूले पत्याउनु हुन्छ, या हुन्न गाउँमा मेरा दुइटै दाजुहरू एउटा हेडमास्टर छन् त अर्को मास्टर । मेरो बाबुको खेतबारी यति छ, आठ हल त गोरु नै पालेका छन् । घर पनि पक्की इँटको ठूलो फराकिलो छ । २० जना हामी छोरा बुहारी छोरी, नातिनातिना गरेर छौँ । छोरीमा जेठी म नै हूँ ।” राधाको कुरा नटुङ्गिँदै दयालाई राधामाथि दया उठ्छ र सोध्छे, “अनि तिमीलाई कान्छा दाइसँग कसरी विवाह गराइदिए त ? कतै वनपाखा जाँदा प्रीती बसेको त होइन ?” “होइन, मैयाँ होइन । मेरो त प्रीती बसेको थिएन तपाईँका कान्छा दाइको भने मैसँग मात्र विवाह गर्छु भन्ने जिद्दी थियो । मेरा बाबुले यस्तो गाउँडुलुवालाई पनि छोरी दिन्छु भनेर जङ्गेर कुरा ल्याउने मान्छेलाई पठाएपछि त उहाँ चिन दुखाएर गाउँनै छोडेर कमाइगर्न यहाँ आउनुभएको हो । आफ्ना बाबुले लगाएको ऋण निखनेर देखाएपछि पराइघर पठाउनै पर्ने छोरीलाई शहरमा नोकरी गर्न थालिसकेकोलाई छोरी दिएपछि दुःख पाउन्न भनेर दिएका हुन् ।” “ए, त्यसो भए कान्छा दाइले के नाकरी गर्छन्, कति कमाउँछन् भन्ने केही जानकारी नराखेर नै छोरी दिए ?” “के थाहा पाउनु यहाँ ढोके पालेलाई पनि त्यस्तो उर्दीपोशाक दिदा रहेछन् भन्ने ? त्यही पोशाक लगाएर डटेर गाउँमा पस्ता, खर्च पनि नडराई गर्न थालेपछि बाबाले माने होलान् उहाँले राम्रै नोकरी गर्न थाल्नुभएको छ गाउँघरमा अझै बढेका छोरी घरमा भएपछि निद्रा नै पर्दैन भन्छन् । तपाईँहरू गाउँका छोरी भएको भए कममा पनि तीन नानीकी आमा भइसक्नुहुन्थ्यो ।”

साधना र दया राधाको कुरा सुनेर खुबै हाँस्छन् र सोध्छन्, “अनि तिम्रा दाइहरू त पढेलेखेका रहेछन् । उनीहरूले त यसो बुझ्नु पर्ने नि ?” “के गर्थे उनीहरूले पनि । बाबुसँग भन्दै थिए यत्तिकोलाई बहिनी दिन नहुने म त देख्तिनँ । केटो आफ्नै जातको आफ्नै गाउँको हो । हाम्री बहिनी भनेर हुरुक्कै भएको छ । अहिले त कमाउन पनि थालिहालेछ । केही गरी पछि दुख्खै पाई भने यत्रो खेतबारी हाम्रो छँदै छ लौ कमाएर खाओ भनेर दिउँला । एउटा छोरो भएको खानदानी परिवार पनि त यसै कहाँ पाइन्छ । त्यसका बाबु चुनाव जितेका भए मन्त्री हुन्थो । हिडनभए पनि हिडबाँधेको टालो त हो । यसरी दाजुहरूले भने पछि लौ त अब तिमीहरू त्यसो भन्छौ भने छोरी दिने पक्का गरौँ भनिहाले नि । आमाले त भन्दै हुनुहुन्थ्यो अहिले बाबुलाई उक्साउछौ, पछि बहिनीले दुःख पाई भने हेर विचार गर्न पन्छिन पाउँदैनौ । हामी डाँडामाथिका घाम कति दिनका हौँ र भन्दा त्यसमा पीर नलिनोस् त भनेका छन् । यति भनेर राधा आँखा भरी आँसु पार्दै दयालाई भन्छे, “मैयाँ, हजुरको पनि विवाह विदेशमा काम गर्नेसँग हुनलागेको कुरा सुन्छु । आफ्नै देशको केटा भए पनि त्यहाँ के कस्तो काम गर्दैछ, त्यो राम्ररी बुझेर मात्र गर्नु होला । विवाह भएपछि कुरा अर्कै हुन्छ । तपाईँ जस्ताका लागि हजार केटा यहीँ पनि पाइन्छन् ।” राधाले देखाएको आत्मीयताको समर्थन गर्दै दयाले राधाले दिएको सल्लाह अनुसारै बुझेर मात्र विवाह गरूँला भन्दा ऊ खुशी हुँदै भन्छे,” यहाँ आएपछि तपाईँहरू दुई दिदीबहिनीलाई देखेर नै मैले आफ्नो माइत बिर्सेकी छु । यसरी नै हामी दिदीबहिनी कुरा गरिरहन्थ्यौँ । तपाईँहरूको कति माया लागिरहन्छ, सत्ये नहोला ?” हामीलाई पनि त तिम्रो कस्तो माया लाग्छ । तिमी पढ्छ्यौ भने हामी पढाइ दिन्छौँ भनेर दयाले भन्दा राधाले केही ढाडस पाएको अनुभव गर्छे र अनुरोध गर्छे टेलिभिजनमा लोकगीत गाउने काम मिलाइदिने । दयाले नोकरी मिलाउन कति गाह्रो हुन्छ भन्ने तथ्य बताउँदै कुनै बेला मौका परेमा म तिमीलाई काममा लगाउने छु तर तिमीले रियाज गर्नुपर्छ र नेपाली अक्षर पढलेख गर्नसक्ने हुनुपर्छ भनेर पनि आवश्यकता बताइदिन्छे । राधाले त्यति लामो समयसम्म प्रतीक्षा गर्नसक्ने धैर्य लिन सक्तिन र कुनै उपाय छ भने अहिलेदेखि नै काम शुरु गरेर पैसा कमाउनु परेको आवश्यकता बताउँछे । घरबाट दिलबहादुरका आमाले खर्च पठाउन लेखेको चिठ्ठी देखि लिएर आफूले घरबाट दिएका गहना खोटो भए पनि माइतीले दिएको ढुङ्ग्री मुन्द्री समेत बेच्न पठाएको बताउँदै भन्छे, “तपाईँका कान्छा दाइलाई निकै ठूलो सङ्कट आइपरेको छ । मैले पनि बुहारी भएर उनलाई परेका आपत्मा तिनका छोरालाई साथ दिँदै सहयोग गर्ने पर्छ । छोरामाथिको बाबु आमाको इच्छा यस्तो हुन्छ भनेर हाम्रा गाउँमा भन्ने गर्छन् भनेर सुनाउँछे “यो छोरा बढ्ला, कमाइ गर्ला दूधभात खान देला ।” “अनि तिमीले आफ्नो माइतको चिनो पनि बेच्न पठाएकी कान्छा दाइले उसकी आमालाई दूधभात खुवाओस् भनेर हो त ?” राधा भन्छे , “हो त , बूढी आमालाई भोक्भोकै राख्नु पनि त भएन । लोग्नेको अँध्यारो मुख हेर्दै ती गहना मैलँ झुण्डाएर के हुन्छ ? कसलाई देखाउनु परेको छ र यो बिरानो ठाउँमा ? कमाउन सके त्यसभन्दा राम्रो लगाउँला नसके बुच्चै बसुँला । खुशीले हाँसीखुशी बाचनु त पर्यो, भनेर दिएँ । मैले ठिक गरिनँ त मैयाँ ?” राधाका प्रश्नको जवाफ दिनुभन्दा पहिले साधना दयालाई जिस्क्याउँदै भन्छे, “सुनिराख्नोस् दिदी विवाह भएपछि लोग्नेको सहयोग कसरी गर्नुपर्छ ।” “दयाले लाज मान्दै बहिनीलाई थप्पड लाउन खोज्दै भन्छे, “तँ धेरै नकरा है, दिदीलाई पनि बहिनीले सिकाउँछे ?” यतिकैमा गौरीले माथि चोटामा बोलेको सुनिन्छ । ऊ भनिरहेकी हुन्छे, “छोरीहरूका कोठामा गएकी त फर्कनै जाँन्दिन यो राधासँग पनि म वाक्क भइसकेँ । कुन बेला पकाउने, कुन बेला ख्वाईपिलाई अफिस जाने । एक दिन होइन सधैँ अफिस जाँदा अबेर हुन्छ । कुन दिन मलाई पनि बिदा दिन्छन् ।” “म आएँ भनेर रित्तो ग्लास लिएर राधा भान्सातिर लाग्छे । साधना पनि आमालाई सघाउन जान्छे । दयाले राधाले औँल्याएको विवाह गर्दा लिनुपर्ने सतर्कप्रति गहिरिएर सोच्न थाल्छे र निष्कर्षमा पुग्छे पनि विवाहका बन्धनलाई क्षणभङ्गुर नबनाउन र विवाहलाई पछुताउमा परिणत नगराउन उसले दीपेशबारे जाँचबुझ गर्नै पर्छ । यस विषयलाई लिएर दयाले प्रेरणासँग भेट्ने निश्चय गर्छे । कुरा जतिसुकै अगाडि बढे पनि सो हेर्दा केटो बेसै प्रकृतिको देखिए पनि उसको पृष्ठभूमिके कस्तो रहेछ र त्यहाँ अमेरिकामा के गर्दै छ त्यो जान्नु नितान्त जरुरी छ । विदेशमा जागिर खाएकोसँग विवाह भयो भने त्यहाँ जान पाइन्छ भनेर मोहित हुनु डलरको कमाइ छ भनेर खुवै राम्रो लोग्ने पाएँ भनेर आफूलाई सुम्पिहाल्दा धोका पनि पाइनसक्छ । अहिले के भएको छ र ? बरमाला लगाइसकेको छैन । चित्त नबुझे छोड्न पनि सकिन्छ ।

फेरि अर्को मनले भन्छ, प्रेरणाले पनि त्यतिभित्रको कुरा के थाहा पाउन सक्ती र ? त्यस परिवारसँग कत्तिको सङ्गत छ । मैले बाबालाई यत्रो चोट परेको बेला यति अगाडि बढिसकेका प्रस्तावलाई खल्बलाई दिए भने उहाँहरूको मनस्थिति कस्तो होला ? त्यसो भए म के गरुँ त , यति तुच्छ कुरा पनि मैले कसरी याद गरिनँ र त्यस राधाले सम्झाइदिनुपर्यो ? धन्यको रहेछ मेरो बुद्धि ? कता कताबाट आँट पनि पलाउँछ र सोच्छे, इन्जिनियर हुँदै हुन् त्यहाँ पुगे भन्दैमा ज्यामी भएका त छैन होलान् । डलर कमाउने भनेर यसरी आफ्नो अहम् पनि त्यागेको त छैन होलान् ? जे पर्छ त्यही सहुँला ? आखिर जीवनको एक पक्ष परिस्थितिसंग भिडेर जिउनु पनि त हो । आँट आए पनि मनले मान्दैन । मनले भन्छ मैले विदेशमा काम गर्नेसँग नै विवाह गर्छु भनेर बाचा गरेकी पनि छैन । योसँग विवाह नभए नहोस् केही दिन तनाउ होला, कुरा त्यतिममै टुङ्गी हाल्छ जीवनभरको समस्या बोकेर त बस्नु पर्दैन । साधनाले आएर उसलाई गंभीर मुद्रामा परेकी देखेर भन्छे, “राधाका कुराले तपाईँलाई सोचमा डुबाइदियो कि क्या हो ? मेरो कुरा कस्तो रहेछ ? व्यक्तिको स्वभाव, त्यसको संस्कारले बनेको हुन्छ, पढ्नालेख्नाले त्यसलाई परिमार्जित मात्र पार्ने हो । कति अनपढहरू पनि पनि गहन विचार हुन्छ, आदर्श हुन्छ, त्यस्तै विद्वान् कहलाएका पनि कर्म गर्नु पर्दा अनैतिक चाल चल्छन् । राधालाई नै हेर्नोस् त्यो पढलेख नगरेकी भए पनि काम गरेर खान चाहन्छे आफ्नो आत्मसम्मान राख्न गहना बेच्न पठाउँछे । लोग्नेलाई ढाँटेकामा क्षमा दिँदै सहयोग गर्न तत्पर हुन्छे, आफ्नै मनले, कसैले दबाब दिएर होइन । उसले चाहेकी भए त्यसरी छक्याउने कान्छा दाइलाई छोडेर माइत जान सक्थी तर उसले त्यसो गरिन किनकि ऊ आफ्नो भन्ने कोही चाहन्छे । आशा राख्तै परिश्रम गर्छे, सोच्छे राम्रा दिन उनीहरूको मात्र कसो नआउला ? यदि यिनीहरूले साँच्चिकै परिश्रमी हुँदै समयको उचित प्रयोग गरे भने त्यो कल्पेको दिन पनि आएरै छोड्छ । दिदी, त्यसैले म भन्दैछु मैले अब नोकरी गर्न शुरु गर्नु पर्छ र दाजुका पढाइमा सहयोग पुर्याउनुपर्छ । तपाईँ त केही दिनपछि विवाह गरेर गइहाल्नु हुन्छ । एउटी आमाका कमाइले के गर्न सकिन्छ ? दाजुलाई कुनै हालतमा पनि यता न उताको बनाउनु हुँदैन । दुई वर्षको मात्र कुरा हो, त्यसपछि इन्जिनियर बनिहाल्नु हुन्छ ।”

“के भन्छे यो ? विवाह भइसकेको त छैन । के थाहा अन्त्यमा पुगेर पनि नहुन सक्छ ? हामी छोरीको भन्दा अझै छोराका रोजाइले नै विवाहमा महत्व पाउँदै छ । झोक चल्यो भने अहिले पनि म गर्दिनँ भनेर खबर पठाए भने हामीले चुपै लाग्नुपर्छ । म त्यहाँ कि भिमजस्ती छैन । कालो कपालको चुल्ठो बाट्छु, सारी लगाएर मात्र हिँड्छु । तडकभडक पटक्कै मन पर्दैन अनि …… ? “भो … भो अब धेरै भन्नु पर्दैन । हेर्नोस् त्यो दीपेशले तपाईँलाई विवाह नगरी छोड्दैन । यो कुरा मलाईभन्दा बढी तपाईँलाई नै थाहा होला । स्वाड धेरै पार्न खोज्नु भयो भने ठूलो भ्वाङ पर्ला है, त्यसको बरु याद गर्नोस् ।” “थाहा छैन साधना, मान् यो मैले स्वाड पारेको होइन किनकि मेरा मनले यो सम्बन्ध पक्कै बाँधिन्छ भन्ने मानेको छैन । देख्छु बाआमाले विवाहका लागि तयारी गर्न थालिसक्नु भएको छ । उताबाट पनि कुराको ओहोर दोहोर भइनै रहेको छ, तर मेरा भित्री मनले भने पत्याएकै छैन । डर लाग्छ किन हो कुन्नि, म भरङ्ग हुन्छु । केही हराउन लागेजस्तो हुन्छ र आमा, बा तिमीहरू सबैलाई सम्झेर रुँ रुँ लाग्छ । भनिदिऊँ म विवाह नै गर्दिनँ भन्ने लाग्छ । सोच्छु ती कलिला उमेरमा विवाह गरेर जाने केटीहरूका मनमा कति कुरा खेल्दा होलान् के गरेर मनलाई शान्त पार्लान् ? “तिनीहरू अशान्त नै हुँदै हुँदैनन् । सोच्न सक्ने, सम्झन सक्ने भएपछि मात्र चिन्ता लाग्ने, पीर पर्ने, अशान्त हुने हुन्छ । केटाकेटी तिनीहरूलाई विवाह त एउटा रमाइलो खेलजस्तो लाग्छ होला तपाईँलाई जस्तो लाग्ने हो र ? लौ हिड्नोस् माथि आमाकहाँ गएर काम सघाइदिऔँ । एक्लै भान्छामा रुडिरहनु भएको छ ।” दयाले घडी हेर्छे र अहो साढे आठ बजिसकेछ । यो बिहान पनि कति छिटो बित्छ भन्दै जुरुक्क उठ्छे । साधनाले आफ्नो स्वभाव अनुसार फेरि जिस्क्याउँदै भन्छे, “हाम्रो उमेर बितेको जस्तो गरी होइन त, दिदी ? दयाले साधनालाई पुलुक्क हेर्छे अनि केही नभनेर कोठाबाहिर जान्छे । मलाई यो केको नशा चढेछ ? छोरीस्वास्नी नै किन नहुन् अफिस जाने बेला भयो भनेर जब उनीहरू तयार हुनथाल्छन् म अनियन्त्रित भई त्यसै त्यसै कराउन मन लागिहाल्छ । कहीं म उनीहरूले नोकरी गरिरहेकामा ईर्ष्या गर्न लागेको त होइन ? छि … म के स्वभावको हुन लागेँ ? शिव खड्का यस्तै कुरा मनमा खेलाउँदै हैरान हुन्छ ।

ऊ सोच्छ । दया र गौरी दुवै मजस्तै भएर घरैमा बसून् भन्ने पनि त मैले अवश्य सोचेको छैन, फेरि म किन उनीहरूलाई अल्मल्याउन खोज्छु ? मेरो समय यसै बित्दछ र पनि म उनीहरूलाई सहयोग गर्न तम्मिन्नँ बरु उनीहरूलाई नै आफ्नो व्यक्तिगत काम पनि अह्राउँछु अनि आफैँ ठूलो भएर भन्छु, “अफिसमा काम तिमीहरूले मात्र गरेका छौ ? मैले पनि गरेको थिएँ । कति बेला घरबाट निस्कनु पर्छ, त्यो मलाई थाहा छ ।” शिव खड्का यसरी आत्मपारख गर्दै आफूलाई अवकाश प्राप्त जीवनसँग अभ्यस्त हुन खोज्दै छ भने परिवारले उसलाई किन विरक्त तुल्याउनु भनेर नोकरीका बारे जे जसो भने पनि सहिदिने गरिरहन्छन् । कहिलेकाहीँ परिवारको सहनशीलतासँग पनि उसलाई हुनसम्मको रिस उठ्तैन । ऊ सुन्न चाहन्छ, तिनीहरूलाई गाली गरेका बेलामा उनीहरूले भनिदिऊन्, “तपाईँले गरे जस्तो त कसले गर्न सक्छ र ?” अनि उसले त्यसका जवाफमा भन्न पाओस्, “कसले बुझ्न सके मेरो इमान्दारी ।” यति भन्न सुन्न पाएमा पनि उसलाई सन्तोष लाग्ने हुँदा त्यस्ता स्थितिको सिर्जनामा लागिरहन्छ । तर उसको यस्तो आशय पनि असफल भइदिएकाले धेरैपटक अफसोच मानेर चुपलाग्छ । यता मुद्दाको छिनोफानो भएको छैन । उसका मनको स्थिति यस्तो छ । उता छोरीको विवाह नजिकै आइसकेको छ । घरमा विवाहका लागि सहयोग गर्न आउनेहरू बढ्दैछन् र त्यसका साथसाथै शिवको नोकरी गएका बारे चर्चा पनि चम्किन थालेको छ । जति आउँछन् उनीहरूको पहिलो प्रश्न नै यही हुन्छ, “फैसला सुनायो ? बिचरालाई कसरी फसाइदिए ।” त्यो बिचरा शब्दले उसलाई हुनसम्म दिक्क गराउँदैन । यस्तै कुरा सुन्नुपर्ला भनेर बिदाको दिन आयो कि त ऊ बाहिरै हिडिदिने गर्छ । आजभोलि ऊ आफ्ना गाउँमा पनि जानेआउने गर्न थालेको छ । लेखनमा अल्झाई समयको सदुपयोग गर्ने मनसायले नेपालको प्रशासन व्यवस्थाका बारे अध्ययन गर्न थालिरहेछ । यस्तै क्रममा पर्दा उसले थाहा पाउन थालेको छ, शासन प्रणालीले प्रशासनिक व्यवस्था मात्र होइन, यसले सामाजिक स्थितिमा समेत असर पारी देशको अवस्था र जनताको मनस्थिति नै बदलिदिन्छ । तसर्थ यसलाई सुहाउँने प्रकारको व्यवस्था बसाउनु आवश्यक छ ? यसै आधारमा ऊ सोच्छ १९९५ सालदेखि प्रजातन्त्र ल्याउने उद्देश्यले उठेका पाइलाहरू २००७ सालमा पुगेर क्षणिक विश्राम पाए पनि ती उठ्तै मडारिदै गएका काला बादलले २०१७ सालमा बर्खेर प्रजातन्त्रको पहिरो नै खसाल्यो । पुनर्निमाण गरेर व्यवस्थित गराउने चाहनाले २०४६ साल कुर्नुपर्यो । प्रजातन्त्र प्राप्ति र स्थापनाकालका लागि चलेको यस लामा अवधिमा तीनचारपटक ठूलै आघात पर्न गएर पनि किन हामीले प्रशासनिक व्यवस्थामा शासनप्रणालीलाई सुहाउँदो रूपमा सुधार ल्याउनपट्टि लागेका छैनौं ? खुला बजार नीति अपनाई प्रतिस्पर्धाबाट गुणस्तर बढाउने र जनतालाई राहत दिने भनेर निकै उद्योगहरू खोल्नलाई अनुमति दिइन थालिए तर के यस खुला नीतिले जनताले राहत र उद्यमीहरूले सुरक्षा पाएको छ त ? “खुला” को परिभाषामा प्रजातन्त्र नै गिज्याइएको छ । सायद, यो मजस्तो चोट परेका व्यक्तिका मस्तिष्कमा नघुसेको पो हो कि ? शिव खड्का यिनै तथ्य बुझ्ने हेतुले साथीहरूसँग छलफल गरी निचोडमा पुग्न कोसिस गरिरहन्छ । अहिले आएर “यो के हो” भनेर सोधौँ भने लाज लाग्छ नसोधौँ भने आफूले बुझेको भ्रम हो कि भनेजस्तो हुन लागिरहेछ । के यस्ता तन्त्रहरूका परिभाषा पनि बदलिइरहन्छन् कि कसो ?” “जनताका बौद्धिक स्तरमा आधारित हुने यस तन्त्रको परिभाषा बदलिएको होइन यसलाई कसरी जनताले बुझेको हुन्छ फरक त्यसैले गराउछ । नैतिकता, अनुशासन, सद्भावना र दायित्वलाई स्वतन्त्रतामाथिको रुकावट मान्न थाल्यौँ भने हामी प्रजातन्त्र नबुझ्ने मात्र होइन, उही अवस्थामा फर्कन थालेका हुन्छौँ जुन बेला हामीले समाजको स्थापना गर्न आपसमा सम्झौता समेत गर्न सकेका थिएनौँ । सम्झौताको पहिलो ज्ञान हुनु नै बौद्धिक उदय भएको हो जसले मनुष्यको परिचय एकले अर्कालाई दिएको हुन्छ जसबाट मिलापको भावना विकसित भई लडाइँ झगडा हटेर शान्तिको वातावरणको सिर्जना हुन थालेको हुन्छ । विचार गर्ने हो भने यो मन यति चञ्चल छ छिनैमा यो कहाँ कहाँ पुग्छ, के के गराउँछ के के खोज्छ ज्ञ तर ती सोचाइ जब कर्ममा व्यक्त भई जनसमक्ष आउन थाल्छन् के ती आफै छाँटिएका हुँदैनन् र ? त्यहाँ कर लगाउने कोही पनि त हुँदैन । यसलाई छाँट्ने त्यही संस्कार हो, उही सम्झौता हो, जसमा सम्पूर्ण जनताको र मनुष्य जातिकै भलाइ रहेको हुन्छ । यस्तो आत्म अनुशासन नै प्रजातन्त्रको सफलताको मुख्य आधार हो । शिक्षा र ज्ञान् सफलताका आधार हुन् । सोचाइमा विवेक र बुद्धि लगाउन र आफू स्वयम् पनि सद्भावना र नैतिकताका बलले अनुशासित हुनसक्नुपर्छ । व्यावहारिक पक्षमा यस्तो हुन नसकेकाले भ्रम उत्पन्न हुनु स्वभाविक कुरा हो । यसैले हामी सबै मिलेर नै यसलाई व्यवहारमा ल्याउन के उपाय निकाल्नु पर्छ, त्यसो गर्नपट्टि लाग्नु पर्छ । आखिर प्रजातान्त्रिक सरकार भन्नु आफ्नो हाम्रो सरकार हो, हाम्रो सम्झौताबाट स्थापित सरकार हो । यसको सफलताका तर्फ लाग्नु हाम्रो दायित्व हो । ” साथीको यस्तो कुरा सुनेर शिव भन्छ (“यो तथ्य थाहा नपाउने कुनै नेता छैनन् होला, फेरि यस्तो किन हुँदै छैन त ? शिक्षाको प्रतिशत निकै कम भएकाले त्यसै अनुपातमा प्रजातन्त्रको सफलता भएको छ भन्ने तिम्रो भनाइ हो ?” “केही अर्थमा हो पनि । अहिले जे जति हुँदै छ त्यो पर्याप्त छैन र यसलाई बढाउँदै लैजानु पर्छ । आजै अक्षरारम्भ गर्दैमा शिक्षाको स्तर बढी हाल्छ भन्ने पनि छैन, यसलाई जरुरी गति दिएर बढाउँदै लैजानुका साथसाथै यस तन्त्रको परिचय दिदै ज्ञान प्रवर्द्धन गराउन ज्ञानोपदेश दिने व्यवस्था बसेमा या कसैले यो समालिदिएमा छिटै यो के हो भन्ने धेरैले थाहा पाउनेछन् । जब सबैले थाहा पाउँछन् यसलाई अमरत्व दिनसक्ने हामीले नै हो भनेर त्यसपछि मात्र जनता र सरकार दुवैको एकत्रित बल पाएर सबै कर्महरू त्यसैतर्फ लक्षित हुँदै जान्छन् । यसमा धैर्य र आस्थाको निकै ठूलो भूमिका रहेकोहुन्छ ।” “ज्ञानोपदेश त दिने भन्यौ तर यो कसरी र कहाँ दिने ? नेताहरूका वक्तृत्व नसुनेका छैनन् । के त्यो पनि पर्याप्त छैन भन्ने लागेको छ ?” हाल हामीले सुन्ने गरेका भाषणहरूमा पार्टीको प्रगति रिपोर्ट, अर्का पार्टीको आलोचना र तेस्रो भइहाल्यो भने बृहत् देश विकासका आकाशिएका योजनाहरू मात्र छन् । यो पनि हुनु केही हदसम्म आवश्यक होला तर ती जनता, जसले केही जानेकै छैनन् तिनका अगाडि गएर जे भने पनि त्यसबाट के परिणाम निस्कन सक्छ ? अनि यी सबै प्रयास केवल भोट प्राप्तिका लागि मात्र सीमित हुन्छन् ।” “मैले दिने ज्ञानोपदेश भनेको तन्त्रबारेका ज्ञान हो जुन प्रवचनका रूपमा ठाउँ ठाउँमा गई प्रत्यक्षरूपले जनता समक्ष गएर दिन सकिन्छ, अर्को रेडियो, टेलिभिजनबाट रोचक तरिकाले यस विषयमा कार्यक्रम बनाएर बताउन सकिन्छ र तेस्रो पढेलेखेकाहरूको ध्यान आकर्षण गर्ने लेखहरू लेखाएर पत्रपत्रिकामा छपाएर गर्न सकिन्छ जसले गर्दा लेख्ने र पढ्ने दुवैले यसतर्फ आफूलाई फूर्तिलो बनाई राख्न सक्छन् । यसरी तन्त्रबारे व्याख्या गर्दा पार्टीहरूको व्यवस्था, यिनका नीति के कस्ता सबै थाहा हुन्छ । सबै नीति पारदर्शी हुनुपर्ने पनि आवश्यक छ । राज्यप्रणाली के कस्तो हुनुपर्छ, यो के हो, कसका लागि हो भन्नेदेखि लिएर सम्झौता के हो, नैतिकता, अधिकार, कर्तव्य, समाज के हो, अनि हाम्रो संस्कृतिले के सिकाउँछ, नेपालको विश्वमा परिचय केमा छ इत्यादि धेरै जान्नु पर्ने कुरा छन् र यी सबै सिक्ने उपायहरू यिनै हुन् ज्ञानोपदेश, भाषण र प्रवचन अनि प्रचारका माध्यमहरू ।” अहिले, प्रवचन भन्दा धर्म प्रचारको माध्यम मात्र मानिन्छ । हुन त पहिले धर्मबाट नै कर्तव्य, नैतिकता र आदर्शको ज्ञान दिइने गरिन्थ्यो र त्यसबेला यस अर्थले पनि केही फरक पार्दैनथ्यो तर अहिले धर्मलाई दर्शनशास्त्रको रूपमा मात्र लिन थालिएकाले पृथक् तरिकाले यस्ता विभिन्न विषयहरूमा ज्ञान हासिल गर्नु पर्ने भएको हो र प्रवचन धर्मज्ञानका लागि मात्र नभई सबैको लागि प्रचारको माध्यम बनाउनु पर्ने भएको छ । यति हुन सकेमा प्रजातन्त्रको सफलताको औसत निकै बढ्ने संभावना म ठान्छु । आजका युगमा आइपुग्दा मनुष्यले थाहा पाइसकेको छ उसका जीवनमा आधारभूत आवश्यकता बाहेक अरू धेरै आवश्यकताहरू पनि छन् जसका लागि ऊ ज्यानलाई भन्दा बढी महत्व दिएर लागिरहेको हुन्छ । यही अर्थमध्येको एक हो शहीदहरूको संख्या बढ्दै जानु । ती शहीद आफ्ना लागि भएका होइनन् मानव जातिका लागि स्वच्छ वातावरणको चाहना राखेर विभिन्न अवरोधहरूसँग संघर्ष गर्दा ज्यान फ्याँकेर भएका हुन् ।” स्वच्छ वातावरणको सिर्जना गर्नु प्रगतिको मार्ग खोज्नु हो र प्रत्येक व्यक्तिको चाहना समयको गतिअनुसार ज्ञानको विकास गरी परिवर्तन ल्याउनु नै हो । एकफेर पछाडि फर्केर हेयौँ भने थाहा हुन्छ समय र अवस्थाले शासनप्रणालीमा छोडेको छाप कति गहिरिएर बसेको हुन्छ । जुन बेला जसको शक्ति उसैको राज भन्ने थियो त्यस बेला सीमा विस्तारको नीति अनुसार जो लडाकू र शक्तिशाली छ त्यो नै जमातको मुखिया हुने गर्थ्यो र तिनैले जब पदको स्वाद पाए त्यस पछि चलाकी गरी वंशप्रणालीको स्थापना गरी आफ्नो वंशका लागि पदको सुरक्षा, शक्तिका आधारमा गरेर एक शासक अर्को शासित दुई वर्ग खडा गरे । शासक वर्गलाई शक्तिले मत्यायो र शासितले संझन थाले, उनीहरूले आपसमा सम्झौता गरी समाजको सिर्जना गरेका र आफूमध्ये बुझुक पाका र शक्तिशालीलाई त्यसको मूली छानेका कुरा । त्यही सम्झौताको संस्मरण गराउँदै भन्न थाले, “हे, शासक हो हामीले तिम्रो शासन रुचाएको सास्ती खानका लागि होइन । व्यवस्थित शासन प्रणाली बसाएर सबैले समानरूपले अधिकार पाउन न्यायोचित तरिकाले समस्याहरूको समाधान होस् भनेर हो । यदि त्यसो गर्न सक्तैनौ भने त्यो स्थान हामी फिर्ता लिन्छौँ र जो योग्य व्यक्ति छ र जसले हाम्रो भलाई मात्र सोचिरहन्छ त्यसैलाई छनोट गरी पठाउँछौँ । जनतातर्फको चेतावनी र शासकको शक्ति र पदलिप्साले गर्दा रक्तपात भई भूमि रङ्गियो । कतिका सन्तान शहीद भए । आवाज उठ्यो प्रजातन्त्रका लागि । आज समयको माग भएको छ । प्रजातन्त्रको जस अन्तर्गत हामी स्वशासित हुन्छौँ र यसरी प्रजातन्त्रको माग गरेर हामीले आफूलाई सक्षम भइसकेको पनि देखाएका छौँ । शासन शक्ति खोसेर आफैले परिचालित गर्न तम्सनु पनि ज्ञानोदय भएको नै मान्नु पर्छ ।” शन्त यति भाषण गरेर एक छिन चुप लाग्छ । शिव खड्काले उसको भनाइको व्याख्या यसरी गर्छ । “यसको मतलब हो पहिले मुखियातन्त्र, त्यसपछि राजतन्त्र अनि प्रजातन्त्र र त्यसोगरी पहिले सीमाना निर्धारण नीति अनि यसको विस्तार र त्यसपछि व्यवस्थित स्थिति बन्यो ? आज भोलि ठाउँठाउँमा चल्न थालेका लडाइँ झगडालाई हेर्दा हामी उही विस्तार वादमा नै छौं कि जस्तो के लाग्दैन र ?” शिवले यसमा अरू सफाइ खोज्दै प्रश्न गर्छ । “यस्तो लाग्नसक्छ तर यसमा फरक छ । यो विस्तार सीमानाको होइन, यो हो व्यवस्थाको विस्तार, तन्त्रको विस्तार र यस विस्तारको उद्देश्य हो सुरक्षा आफूले ओगटेर मेरो भन्ने टाँचा लागिसकेकालाई शान्तिको साथ सुरक्षित राख्ने ।” छोटो जवाफ शन्तले दिदै कुरा टुङ्ग्याउन खोज्छ । “अर्थअझै हमला होला कि भन्ने त्रास छँदै छ ? नत्र सुरक्षाको प्रश्न नै उठ्दैनथ्यो ? यो वैज्ञानिक युगमा आएर लडाइँ भइहाल्यो भने युगको अन्त्य प्रलय भयो भन्ने सोचे हुन्छ, होइन र ? “त्यो त्रास यसै कहाँ हट्छ र ? विस्तारवादले ल्याइरहेकै हुन्छ तर लडाईंको पारा भने बेग्लै हुन्छ । यसले सीमाना ओगट्नेलाई हमला गर्दैन, व्यवस्था हातमा पारी आफ्ना तरिकाले उनीहरूमाथि शासन त्यस देशमै जनताबाट गराउन लगाई चालबाजी खेलिरहन्छन् । रक्त युद्ध नभए पनि शीत युद्ध चलिनै रहन्छ । ज्योतिषीहरूले भनिसकेका छन् तेस्रो महायुद्ध हुन्छ भनेर । यो लडाइँ वैज्ञानिक अस्त्र शस्त्र प्रयोग गरी खेलिने हुँदा हेर्न लायककै होला, होइन त, शिव ?” “आआफ्ना अहम्‌ले कुतकुत्याएर निम्त्याएको आफ्नै अन्त्यको खेल आफ्नै सृष्टिको अन्त्य आफैले रचेको आत्महत्याको साथसाथै सभ्यताको पराकाष्ठाको यो खेल हुनेछ ।”

“त्यसैले त यी सब देख्दा कहिले सोच्छु प्रगति पनि के चक्रका बिन्दुबाट शुरु भई त्यही पुगेर अन्त्य हुने त होइन ? यदि यस्तै हो भने यो सभ्यता मानव नाताको बन्धन भएर किन आयो जब उस्तै हाहाकार मच्चाउनु छ भने, उसैगरी लडाइँ झगडा चलिरहने हो भने ? आज रक्तयुद्धबाट शीतयुद्धमा उत्रिएका छौँ भने के भोलि बरफयुद्ध भन्दै अर्को नामकरणको युद्ध निस्कँदैन र ? आखिर यी सबैको उपलब्धि मानव हत्या नै हो । रातदिन टि.भी.मा देख्दै आएका छौँ मनुष्यको हत्या मनुष्यले नै गर्दै आएका । बौलाहा कुकुरलाई मारेको जस्तो गरी मारिएका छन् । मानवताले यहाँ खिज्याउँदै छ शिव ? “प्रत्येक शुरुको साथ अन्त्य र प्रत्येक अन्त्यको विन्दुबाट नयाँ शुरु हुन्छ भने यस अन्त्य र शुरुका समयभित्र सद्भावना राखेर चल्न सक्यौँ भने पनि सायद अन्त्यलाई पछाडि धकेल्न सक्छौँ कि कसो, शन्त ? “कुरा त तिम्रो ठीक हो, तर यहाँ सद्भावना राखेर नै यी सब गर्दै छौँ भन्छन् र पो यो चिन्ताको विषय भएको छ । सुरक्षा र शान्तिका लागि नै यस तर्फका विध्वंसकारीको नाश गर्नुपर्छ, भन्ने सोचाइले नै यस्तो गराउँदै छ । यहाँ कसको कहाँ के दोष छ त्यो जाँच्ने को ? एकले अर्कालाई दोष लगाउँछ र आफू उत्तम छु भनेर अर्काको नाश गर्छ । “जस्तो मलाई निकाल्दा सोचेका थिए ?” शिव यति भनेर हाँस्छ ।

“कस्तो सुत्न सक्छ यो ? संगसंगै बहिनी खाएर कहाँ पुगिसकी यसको भने निद्रा पुगेको छैन ।” यति भन्दै गौरीले मुख छोपेर सुतिरहेको विनोदको सिरक हटाईदिदै भन्छ “ए, मुख छोपेर सुत्दैमा रात पर्छ ? उ, हेर बाहिर झलमल्ल घाम लागेको । के त्यहाँ पनि यति नै बेला मात्र उठ्थिस् कि कसो ? विनोदले आमाको कुरा सुनेर हाँस्तै भन्छ, “निदाएको ठान्नुभयो ? नउठेर यसै पल्टिरहेको पो । सोच्दै थिएँ म अब कुन बाटोतर्फ लागौं । पढाइलाई यही नै टुङ्ग्याईदिएर नोकरी गर्न पो लागौं कि ? घरको आर्थिक स्थिति यस्तो छ ?” “नोकरी गर्न पनि त इलम नै चाहिन्छ ? दुई वर्ष मात्र इन्जिनियर हुन बाँकी छ । यस अवस्थामा पुगेर कसरी छोड्ने ? यसलाई यतिकैमा अधुरो छाडिस् भने तेरा बाउलाई जागिर खुस्केर लोगेका आलो चोटमा नून छरेको जस्तै हुन्छ ।” “अनि मैले कसरी के गरी विदेशमा बसेर पढ्ने भन्नोस् त ? खर्च त्यतिकै चाहिन्छ । जे जसो भए पनि आइ.ए.सम्म पढिसकेकै छु । सानोतिनो नोकरी कसो नपाइएला त ? नोकरी गर्दै विषय परिवर्तन गरेर जे पढ्न सजिलो पर्छ जति पढ्न सकिन्छ पढ्दै जान्छु । इन्जिनियर नै तपाईको छोरो हुनुपर्छ भन्ने केही छैन ।” विनोदले आफ्नो मन यसरी उदाङ्ग पारेपछि गौरीले पनि जिद्दीको साथ आफ्नो राय व्यक्त गर्दै इन्जिनियर हुनै पर्छ भन्छे । खर्च कसरी पुऱ्याउने भन्ने प्रश्नमा पनि आफूले त्यसको व्यवस्था मिलाइसकेकी बताउँदै आफ्नो राय यसरी व्यक्त गर्छ, “परिवारमा एकले अर्कालाई जरुरत परेका बेला सहयोग गर्न सकेमा मात्र सुखी शान्त परिवार हुन्छ । अहिले कसरी खर्च टार्ने भन्ने तैले सोच्ने होइन, त्यस कुरामा सोच हामी पुऱ्याउँछौँ, बरु पछि भाइलाई पढाउने जिम्मा तैले लिनू । तेरी बहिनी आज बिहानै बाहिर गएकी नोकरीका लागि अन्तर्वार्ता दिनलाई हो । दिदी त विवाह भएर जाने भइहाली त्यसको कमाइको के आश गर्नु । विवाह भएर गएकी छोरीको कमाइ यता ल्या भन्न पनि भएन । विवाहमा केही दिन सक्तैनौँ भनेर पहिले नै टकटुकी सकेका छौं ।

कुरा चल्दाचल्दै विनोदले बीचैमा प्रश्न गर्छ, “अनि साधनाले कहाँ नोकरी गर्न अन्तर्वार्ता दिन गएकी ? हिजो त्यतिका बेरसम्म कुरा गर्दा पनि मलाई बताउँदै बताइनँ ? “मिल्छ मिल्दैन यसै बाबादाजुलाई किन भन्ने भन्थी, शायद त्यसैले नभनेकी होली । फेरि तिमीहरूको स्वभाव पनि कस्तो छ नि ? “पर्दैन” भन्न बेर लगाउँदैनौ ।” गौरीले यति भनेर कुरा फेरि खोल्दिन । “कुरा थाहा भइहाल्यो नि । आमाछोरीको सल्लाह नै त्यस्तो रहेछ । कुन ठाउँमा कस्तो नोकरी गर्न खोजेकी हो, राम्ररी नबुझेर पठाउन हुन्नथियो । तपाईंलाई त थाहा होला कहाँ नोकरी खान तम्सेकी छे ?” “एअरहोस्टेस हुने रे ? भन्छे पैसा राम्रो दिन्छन् रे घरको र दाजुको पढाइ खर्च दुवै पुऱ्याउन सकिन्छ । अनि मैले पनि खाने भए खा भनिदिए । दर्खास्त हालेकी थिई अन्तर्वार्तामा बोलाइहालेछ ।” “ए आमा, तपाईंले छोराको पढाइका लागि छोरीलाई एअरहोस्टेसमा जागिर खान स्वीकृति दिनुभयो ? के म बहिनीका कमाइले विदेशमा बसेर पढ्छु भन्ठान्नु भएको छ ? लोकले तपाईं हामीलाई के भन्छन् ( त्यो पनि सोच्नु भएको छ ? नोकरी पनि कस्तो रे ? एअरहोस्टेसको ? थाहा छ, यो कस्तो नोकरी हो ? हेर्नोस् आमा, केही गरी त्यो छानिइछ भने पनि एअरहोस्टेस हुन पठाउने होइन ?” विनोदले आवेशमा आउँदै बहिनीलाई त्यस्ता नोकरीमा नपठाउनु भन्छ । आमालाई छोराको विचार मन पर्दैन र भन्छे, “किन नपठाउने ? हवाइ परिचारिकाको नोकरी गरेर के हुन्छ ? राम्रो आम्दानी हुनसक्छ, देशविदेश घुम्न पाउँछे । मान्छेहरू त्यही नपाएर कति कल्पिरहेका छन् । तँ भने नपठा भन्छस् । छानिइछ भने नोकरी गर्छे । काम गरेर खान केही पनि लाज हुँदैन ।” “लाज हुन्छ या हुँदैन त्यो मलाई थाहा छैन तर एअरहोस्टेसका पेशालाई सम्मानजनक मानिदैन र कुलघरानाका छोरीहरूले त्यस्ता नोकरी गर्न जाँदैनन्, यसमा तपाईंले जिद्दी नगर्नु नै बेस हुन्छ । यति भन्दै ऊ जुरुक्क उठ्छ र फत्फताउन थाल्छ घरका मूलीले नै संस्कृतिको रक्षा गरेको हुन्छ भन्छन् यस घरमा भने के भएको हो यस्तो ? छोराको पढाइका लागि छोरीलाई नोकरी गराउने ।” “संस्कृतिका बारे जसलाई केही थाहा छैन ऊ नै यसका बारे बोल्न थालेपछि के हुन्छ ? समयसापेक्ष यसलाई पनि बनाउँदै लगेनौँ भने यो आफै इतिहास भएर थन्किन्छ र कोही पनि यसको अनुयायी हुन सक्तैन ।”

छोरी बहिनी, स्वास्नी र आमाको कमाइ खानु भन्नेले संस्कृतिलाई अहिले आएर पालना गर्छु भन्न खोज्यो भने के त्यो संभव हुन्छ ? हो, उहिले स्वास्नीमान्छेलाई पढाइन्न थियो, कुनै सीप तालिम दिइन्नथ्यो, त्यस बेला उनीहरूको कमाइ खानु भनेको अनैतिक काममा लगाएर धन कमाएको मानिन्थ्यो । त्यसैले संस्कृतिद्वारा नै नारीलाई शोषण हुनबाट बचाउन यसो भनिएको हो । तर अहिले नारीहरूको अवस्था त्यस्तो छैन । उनीहरू बौद्धिक स्तरमा समानरूपले काम गर्न सक्ने भइसकेका छन् । त्यसैले इमानको कमाइ छोरीको छ भने पनि मज्जाले लिए हुन्छ र यदि त्यो कमाइ छोराको छ जसमा भ्रष्टाचारको दुर्गन्ध आउँछ भने त्यो त्याज्य हुन्छ । संस्कृतिका कट्टरवादलाई अँगालेर हामी प्रष्ट हुन सकेनौं भने लुकीलुकी हामीलाई कति अनैतिक काम गर्न पनि बाध्यता आइपर्न सक्छ । कुरा राम्ररी बुझिराख ।” “यहाँ पेशन बहिनीको कमाइको मात्र छैन पेशाको छ । म फेरि दोहोऱ्याउँदै छु, यस पेशामा म साधनालाई छिर्न केही गरे पनि दिन्नँ । तपाईं जे जति भन्नोस् । मेरो पनि बहिनीको भविष्यबारे अधिकार छ ।” “कस्तो एकहोरो लागेको लाग्गै भएको ? कुनै पनि व्यवस्थापनले सेवाका लागि स्थापित गरेको पेशा घृणित हुँदैन । त्यस पेशामा लाग्ने व्यक्तिको व्यक्तित्व कुन स्तरको छ त्यसैमा यो निर्भर हुन्छ । मलाई विश्वास छ जुन प्रकारले मैले त्यसको चरित्र निर्माण गरेकी छु त्यसले आफ्नो नैतिकता जोगाउन राम्ररी सक्छे । यसमा तैंले हामीले चिन्ता लिनु पर्दैन । म त्यसकी आमा बोलिरहेकी छु मैले जति त्यसलाई कसले चिनेको छ ? आमाछोरा बीच यस्तै गलबन्दी चलिरहेकै बेलामा राधा आइपुग्छे र भान्सा अझै नउठेकाले केही घन्टा लोग्नेसँग बाहिर गएर आउन अनुमति गौरीसँग माग्छे । हुन्छ, हुन्न केही भन्न नसकी गौरी राधाको अनुहार हेर्छे । राधालाई कुरिराख्ने फुर्सत छैन ऊ त्यति सूचना दिएर कोठाबाट हिंडिहाल्छे । ज्यादै व्यस्त हुनु परे पनि राधा आजभोलि धेरैजसो प्रसन्न मुद्रामा हुन्छे । उसलाई दयाले रेडियो नेपालमा गाना गाउने काममा लगाइदिएकी छ । यसरी आफूले पनि पैसा कमाई दिलबहादुरलाई सहयोग पुऱ्याउन सकेकीले ऊ प्रफुल्ल छे भने दिलबहादुर आफूलाई दिलोज्यानले साथ दिने राधालाई के कसरी खुशी राख्नूँ भनेर प्रयत्न गरिरहेको हुन्छ । छुट्टीका दिनमा उनीहरू पनि घरधन्दा दुवै मिलेर सिध्याई बाहिर घुम्न निस्कने गर्छन् ।

त्यस दिन पनि घुम्न जाने योजना बनाएर पर्खदापर्खंदै आमाछोराको गन्थन नटुङ्गिएकाले दिलबहादुरले राधालाई छुट्टी माग्न पठाएको थियो । जब ती दुई डटेर बाहिर निस्केको गौरीले झ्यालबाट देख्छे अनि छोरालाई तिनीहरूले नोकर र नोकरीको परिभाषा लगाएको सुन्दा शिवलाई कति चोट परेको थियो भन्ने कुरा सुनाउँछे । कुराका सिलसिलामा उनीहरूले बाबासँग आफूलाई दाँजेर उनीहरू र बाबा उस्तै नोकर त हुन् मालिक कहाँ हुन् र भनेको सुनेर बडबडाउँदै के भन्न थाल्नुभएको थियो त्यो सबै सुनाइदिन्छे । “जेसुके कुराको पनि यस्तै खिन्न अर्थ लगाउने बाबाको बानी बसिसकेको रहेछ । मुद्दाको फैसला नभएसम्म यो यत्तिकै भइरहन्छ । मसँग पनि यस्तै कुरा धेरै बेरसम्म गरिरहनु भयो । उहाँमा देखा पर्न थालेको यस्तो परिवर्तनले त मलाई डरलाग्न थालिरहेछ । हामीसँग यस्ता दिक्क लाग्दा कुरा गर्न थाल्नुभयो भने हामीले हाँसोमा नै त्यसलाई उडाइ दिनुपर्छ ।” विनोदका कुरामा समर्थन गर्दै आफूले त्यस्तैगरी हँसाउने गरेको बताउँदै भन्छे “बाबाले आफूलाई नोकर मात्र भनको सुनेर दिक्क भई मैले पनि एक दिन भनिदिएँ तपाईं आफूलाई हाकिमको आदेश मान्नुपर्ने नोकर भन्नुहुन्छ भने घरमा तपाईंको र अफिसमा हाकिमको आदेश मान्नु पर्ने मलाई तपाईं के भन्नु हुन्छ ? विनोदले हाँसेर सोध्छ, “बाबाले डब्बल नोकर त भन्नु भएन ?” “कहाँ त्यसो भन्नू । भन्नुभयो तिमी कसरी नोकर हुन्छ्यौ ? तिमी त नोकर्नी पो त ।” उहाँसँग यस्तो कुरा गरेर कहाँ जित्न सकिन्छ र ? “जे होस्, कुरा त मिलाउनु नै भएको हो । त्यस बेला तपाईंलाई कति हाँसो उठ्यो ?” “के उठ्नु हाँसो ? झन् झोक पो चल्यो । त्यति भनेर चुप लाग्ने हो र ? भन्दै हुनुहुन्थ्यो सरकारी नोकरले त अफिसको ड्युटी सिध्याएपछि पनि मालिक हुन पाउँदैन उसको नोकरीको सीमानै रहँदैन । घर पस्ता पनि त्यो नोकर छाप टाँसिएर नै आएको हुन्छ । कि हाम्रासाथ फाइल आएको हुन्छ कि त आदेशका लागि टेलिफोन बज्न थाल्छ । यसरी आदेश लिने र आफ्ना मातहतका लागि दिने अनि हाकिमको आशय बुझेर त्यसतर्फ आफूलाई मोड्दा नै हो कहिले चिप्लने, कहिले उक्सने त कहिले लुड्कने भइरहने । यसोउसो गरी कुरालाई उही बिन्दुमा ल्याएर राखी हाल्नुहुन्छ । हाँसो त केही छिनका लागि मात्र हो । कसरी यस निराशाबाट आशावादी बनाउनु भन्नेतर्फ लाग्दालाग्दै म पनि कुनै बेला हरेस खाई चिप्लिन हाल्छु । मनमा एउटा कुरा, बोल्दा अर्को कुरा गर्ने अभ्यासमा नपरेकी मेरो कुरा तेरा बाबुलाई बुझ्न के गाह्रो पर्नु ? हाँस्तै भनिहाल्नु हुन्छ, “सत्य कुरालाई लुकाउन खोज्दैमा लुक्छ र ? मलाई भन्न नहच्के पनि हुन्छ । अब कुनै कुराले पनि मलाई छुँदैन । म त्यति चाम्रो भइसकेको छु ।” “बाबाको कुरा सुनाएर मलाई जति अलमलाउन खोज्नु भए पनि साधनाले विमान परिचालिकाको जागिर खान्न । बरु अर्को कुनै नोकरी गरोस् त्यसमा म केही भन्दिनँ । यो सत्य पनि बाबाले भन्नु भएजस्तै लुकाउन नसकिने छ । मैले थाहा पाइसकेको छु साधनालाई यो नोकरी गराउन पठाउनु तपाईंको विवशता हो चाहना भने पक्कै होइन, उसको धारणाबारे विनोदले यस्तो अड्कल गरेको सुनेपछि गौरीले यस पेशामा छोरीलाई लाग्न उसले मन्जुरी दिएको विवशताले होइन, चाहनाले नै हो भन्ने बताउन यस पेशालाई यसरी अर्थ्याउँछे “यो पेशा सेवामूलक छ र यसले देशविदेश घुमाउने हुँदा विभिन्न सोचाइ रहका यात्रीहरूसँग एक नाशको व्यवहार गर्नु पर्ने हुँदा र रातमा बास पनि बाहिरी मुलुकमा समेत बस्नु पर्नेले गर्दा यस स्वतन्त्रतालाई लिएर तेरोजस्तो भावना भएकाले यसको बदनाम गरेका हुन् । पहिले तेरा सानीमालाई एअरलाइन्समा लेखा विभागमा काम गर्दा पनि के मात्र भनेनन् । त्यसले आफ्नो चरित्रमाथि कसैले औंला उठाउन सक्ने नबनाई काम गर्दै जाँदा अहिले उसैको राम्रो तारिफ गर्छन् । यहाँ कुरा काट्नेको कमी छैन । यस्ता कुरा सुनेर त्यसलाई प्रोत्साहन पनि दिनु हुँदैन । साथमा बसेर काम गर्दा साथी अवश्य बनिन्छन् र एकै प्रकारको काम हुन जाँदा एकले अर्काको सहयोग गर्नु उनीहरूको दायित्व बनेको हुन्छ र जुन संबन्ध यसले बसाएको हुन्छ, त्यसमा अनुशासनको रेखा कोरिएको नै हुन्छ । त्यसैले मलाई विश्वास छ जबसम्म उनीहरूले स्वेच्छाले त्यस बन्धनलाई नाघेर अगाडि बढ्न चाहँदैनन् त्यसलाई पेशाले घचेट्दैन । त्यस्तै सीमा नाघ्दै जान चाहनेलाई नोकरीको पेशा खोज्दै हिंड्नु पनि पर्दैन । घरैभित्र कडा निगरानीमा रहेकाहरू कतिले आफूलाई चरित्रहीन बनाएका पनि छन् । यो कुरा बुझ्ने स्थितिमा त पुगिसकेको छैनन् । त्यसैले यस विषयमा चुप लागेर खुरुक्क भात खान हिंड भनेर भान्छातर्फ लैजान्छे ।

भात पस्कँदै भन्छे, “ती जोडी गइहाले कुन बेला फर्कने हुन् । यो धन्दा आफैले गर्नुपर्छ । तेरो विवाह भएर बुहारी घरमा नआउन्जेलसम्म यो यतिकैले बित्ने भयो ।” विनोद पनि हाँस्तै भन्छ, “ए, त्यसो भए तपाईंलाई ट्रिपल नोकर चाहियो ?” “हेर, अहिले नै उसकी स्वास्नीलाई दुःख दिने भए भनेर भनेको ? लौ त्यसलाई केही पनि भन्दिनँ भयो अब ?” ऊ हाँस्तै भन्छे । “काम नलगाउनु होस् भनेको हो त ? डब्बल नोकरको नोकर भएपछि ट्रिपल नोकर भएन र ? त्यस अर्थले पो हाँसेको । अब तपाईं पनि बाउठेको कुरा गर्न थाल्नुभयो ।” बाउठेको कुरा होइन, तेरी स्वास्नीलाई मैले जे गरे पनि ट्रिपल नोकर बनाउनै सक्दिनँ ? विनोदले आमाले भनेको कुरा बुझ्छ र भन्छ, “ए…..हो त ? त्यो त भई भने पनि ट्रिपल नोकर्नी पो हुन्छे, होइन आमा ?” हाँस्छन् । समय दिनको ११ बजेको छ । घरमा ती आमाछोरा बाहेक अरू छैन । शिव भ्रमणमा गएको छ र सबै आआफ्ना काममा । गौरीलाई सन्चो नभएकाले छुट्टीमा घर बसेकी छे । यो घरको व्यवस्था बेग्लै प्रकारको छ । आमाबाबु, छोराछोरी सबै हुर्किसकेकाले साथी जस्ता भई कुराकानी गर्छन् । राख्नु पर्ने मान मर्यादा आमाबाबुलाई नराख्ने होइनन् । तर हाँसखेल, ठट्टा, दुःखसुख सबै आपसमा बाडिरहेका हुन्छन् । गौरी शिव दुवै भन्छन् “यो घर यो परिवार हाम्रो रचना हो । यहाँ हामी एक छौं । एक अर्काका साथी छौं ।” कुनैले छोराछोरीसँग पनि यस्तो के व्यवहार गरेको भनेर सोधे भने भन्छे, “सानोमा पनि यी आमाकै साथमा हुन्छन् र बढेर ठूला भएपछि ती साथी हुन्छन् । मैले त्यही त व्यवहार गर्दै छु । नत्र यी छोराछोरीले साथी खोज्दै कहाँ पुग्ने हुन् कहाँ, आआफ्नो लक्ष्य नलागेसम्म उनीहरूको दुःखसुख सुनिदिने, अतीबुद्धि दिदै सुऱ्याउनु पर्ने कुरामा सुऱ्याउने र थुम्थुम्याउनु पर्नेमा थुम्थुम्याउने र त्याज्य कुरालाई छोड्ने सल्लाह त दिनुपरिहाल्छ नि । आजभोलिका छोराछोरीलाई उहिलेको जस्तो गरी दबाएर राख्नु हुँदैन । दबाबले त सन्तानको भित्रि हयाउ नै सखाप पारिदिएर समयसँग सामना गर्न अगाडि सर्ने नसक्ने बनाइदिदो रहेछ । यसले त्यसरी मनस्थितिमै धक्का पार्ने हुँदा हामीले यिनीहरूलाई मुठ्ठीमा राख्नु उचित हुँदैन । देशको शासनप्रणालीले पनि समाज र घरका वातावरणमा प्रभाव पार्दो रहेछ जसरी दवाब नभई समझदारीमा सरकार चल्दैछ, त्यसरी नै छलफल गर्नु, न्याय खोज्नु जस्ता स्थिति घरघरमा ल्याउनु पर्ने हुन्छ । यदि यस्ता कुरा हामीले छोराछोरीको सुनिदिएनौँ भने ती विद्रोही भएर निस्कन सक्छन् । अनुशासन, मर्यादा र नैतिकता हामीले घरैबाट सिकाउँदै लैजानु पर्ने कुरा हो नत्र स्वतन्त्रतालाई बुझ्न नसकेर घर मात्र होइन, देशै पनि विकृतितर्फ लाग्न सक्छ । त्यसर्थ म कहिले यिनीहरूको साथी भई छलफल गर्न सिकाउँछु, त कहिले गुरु भई अर्थ्याउँदै सम्झाउँदै अवस्थाको परिचय दिन्छु । यसरी आफूले जाने बुझेको ज्ञान सन्तानसम्म पुऱ्याउनु सकेनौँ भने हामीले बिताएका समय र जीवनसङ्घर्ष व्यर्थका हुन्छन् किनकि यति नै अनुभव र ज्ञान तिनलाई बटुल्न हामीले जतिकै उमेर बिताउनु पर्छ । अनि प्रगति कता उन्मुख हुन्छ ? त्यसैले भनिएको हो, “आमाबाबु नै जीवनका पहिला गुरु हुन् र घर नै पहिलो पाठशाला ।” जति गम्भीर कुरा गरे पनि हाँस्ने स्वभाव उसको भएको हुँदा अन्त्यमा हँसाउन भनिहाल्छे, “आज भोलिका गुरुहरूले पनि स्कूल जाँदा लठ्ठी छोडेर जान थालेका छन् ।” यसको प्रतिकार कसले गर्ने ? यस्तो भइरहेकै छ ।

  • सौर्य मण्डलबाट उछिट्टिएको एक चोइटाले पृथ्वीको सिर्जना भएझैं शिवगौरीका घरबाट अन्भाइएर पठाइएकी दयाले दीपेशका घरमा पुगी नयाँ जीवन सृष्टितर्फ लागेकी छे । व्यवहार नयाँ, मान्छे नयाँ, तिनीहरूसँगका सम्बन्धबाट उमार्नु पर्ने माया भएको हुँदा ऊ समर्पित हुदै छे हरेक क्षेत्रमा । ऊ चनाखो हुन सिक्ने कोसिसमा लागेकी छ । त्यस घरको व्यवहार जुन उसका घरकोभन्दा बेग्लै छ, कतिमा ऊ आफूलाई ढाल्न सक्तिन र अलमलिएर आदेशका लागि प्रतीक्षा गर्छे त कतिमा ऊ अचम्मित भएर लोग्नेको सहयोग माग्छे । यस नयाँ घरमा सरस्वतीको भन्दा लक्ष्मीको बास बढी रहेको उसले पाएकी छे । सबै भौतिक साधनहरूले पूर्ण भएकाले त्यहाँ कमी केहीको छैन भने जस्तो देखिन्छ । त्यसैले त्यहाँ कोही पनि प्रयत्नशील रहेको देखिएन । ससुराले जीवनभर नोकरी नै नगरेर बिताएका छन् भने सासू घरव्यवहारमा मात्र सीमित छे । समय फुर्सतका साथ बितिरहेछ । आमाबाबु एकातिर आफ्ना धुनमा छन् भने छोराछोरी अर्कातिर । कसैलाई केही थाहा हुँदैन को के गरिरहेको छ र त्यो जान्ने चासो पनि कसैमा छैन । अहिले मात्र नयाँ दुलही भित्रिएकीले सबैको ध्यान उसतर्फ खिचिएको छ । उसले देखाएको नयाँपनाप्रति उनीहरू पनि त्यत्तिकै मजा लिदै हाँस्तै छन् र सिकाउने, संझाउने गर्दै उसलाई आफ्ना घरको व्यवहारमा ढाल्न खोज्दै छन् । सबैले घरमा उसलाई चाहेको हुनाले दया अति खुसी भएकी छे र पनि बाआमाका घरलाई बिर्सन सकेकी छैन । आमा, बहिनी, भाइहरूसँग टेलिफोनमा कुरा भए पनि बाबुसँग न कुरा हुनसकेको छ न त भेट नै । सङ्कोच गर्दै दीपेशलाई एक दिन बाआमासँग माइतीमा भेट गर्न जाऔं भन्ने प्रस्ताव राख्दा उसले जब स्वीकार गर्यो त्यहाँदेखि झन् दयाको माया र श्रद्धा दीपेशतर्फ बढेको छ । मनमनै भन्दै छे, “मैले लोग्ने भगवानका कृपाले नै यस्तो सज्जन पाएकी छु ।”

यस्तै रमाइला दिनलाई खल्लो पार्न दीपेशको अमेरिका फर्कने तरखर घरमा शुरु हुनथाल्छ । दयाले फकाउँदै छुट्टी बढाउन अनुरोध गर्छे तर दीपेशले उसको यस अनुरोधलाई पूरा गर्न असमर्थ रहेको बताउन अमेरिकाको नोकरी गर्नुपर्दा स्वीकार्नु पर्ने नियम बताउँछ । जागिरदारको कर्तव्य के हो भन्ने बुझेकी दयाले त्यसपछि यसमा धेरै जोड गर्दिन र सोध्छे “तपाईंको इच्छा आफूले अवकाश प्राप्त नगरुन्जेलसम्म त्यही नोकरी गर्ने छ कि केही वर्षपछि स्वदेशमा नै फर्कने छ । तपाईं इन्जिनियर हुनुहुन्छ । पैसाको समस्या पनि नपरेको तपाईंले त आफ्नै फर्म खोलेर यही काम गर्न थाल्नु भए पनि हुन्न र ? आफ्नो देश जस्तो त अरूको देश हुँदैन होला ? यहाँ जे भए पनि आफ्ना भन्ने धेरै छन् । परिवार छ, समाज छ, आखिर धन कमाउनु, यश कमाउनु पनि त यिनै परिवारका र समाजका लागि हो नि ? यिनै हुन् आफ्नाको मान, कदर गर्नसबने । त्यहाँ प्रवासीलाई भुसुनासरह पनि गन्दैनन् रे भन्ने सुन्छु । भनाइमा कति सत्य छ, त्यो मलाई थाहा नभए पनि ज्ञान हासिल गर्न विदेशी सहयोग लिए पनि त्यसको प्रयोग स्वदेशमा नै गर्नु देशसेवा हुन्छ कि भन्ने लाग्छ । हेर्नोस् न, यही हुर्की, बढी, यहीकै अन्नपानी खाएर बाआमाको स्याहारसुसार पाएर यहाँकै शिक्षादीक्षा प्राप्त गरी हामीले आफ्नो परिचय बनाउन सक्यौँ । के हामीमाथि यस देशको ऋण लागेको हुँदैन र ? “हुन्छ तर म आदर्शलाई मात्र होइन, यथार्थलाई पनि मान्छु । यत्रो भावनामा बग्ने तिमी यति त सोचेर हेर, यो देश, तेरो र यो देश मेरो भन्नु नै गलत होइन र ? हामीले किन मान्न सकिरहेका छैनौं, यो एउटा पृथ्वी हो र यहाँ बस्ने हामी सबै प्रकारका मनुष्य मात्र हौं । यहाँ के फरक छ ? उस्तै छ प्राकृतिक देन उस्तैगरी बनेको छ मनुष्य शरीर र उस्तै छन् बाँच्ने आधारभूत आवश्यकताहरू । अझ सीमाना रेखाइन गरेका ठाउँमा गएर हेर्यौ भने लाग्छ, हाम्रो सोचाइ कति खुम्चिएको छ ।” दीपेशले आफ्नो मन्तव्य त्यसरी राखेपछि दयाले भन्छे, “यति कुरा जानेर तपाईंले यसो भन्नु मलाई खिज्याउनु भएको त होइन ? पूरा पृथ्वीलाई एक मानिन थालियो भने यहाँ कार्य विभाजन र शासन विभाजन नभएर कसैले पनि दायित्व नलिइदिदा प्रगति नै रोकिन्छ । समष्टिगतका आधारमा हेर्नुपर्ने मानवता र मानव सभ्यता मात्र हो ।” “सीमाना तोकिनु पर्ने आवश्यकता किन छ भने प्रत्येक नागरिकले आफ्नो राज्य सीमानाभित्र रही आआफ्नै क्षमता अनुसार आफ्ना भलाइका लागि यिनै प्राकृतिक देनहरूबाट के उपलव्ध गर्न सकिन्छ भनी बुद्धि प्रयोग गरी परिश्रम गर्दै जानाले नै दिकासमा फरक आएको हो । त्यसैले अर्काका क्षेत्रमा पनि अर्काका विकाससँग निर्लिप्त भई त्यही रमाइरहनुमा आफू र आफ्ना देशलाई आफैले निम्न ठान्नु हुनआउँछ कि भन्ने मेरो सोचाइ मात्र बताएकी हुँ । हामीले परिश्रम गर्न सकेनौँ, हाम्रो बुद्धि विकास हुन सकेन, आफ्नो राज्य सीमानाभित्रका प्राकृतिक बनोट धनी भएर पनि यसबाट फाइदा लिन सकेनौँ भनेर विदेशिनुले झन् झन् हामीलाई पछाडि धकेल्ने त होइन भन्ने लाग्छ ? त्यसैले मैले त्यहाँबाट ज्ञान प्राप्त गरेपछि यही फर्कने पो हो कि भनेर प्रस्ताव राखेकी हुँ ? गाउँका शहर पस्ने, शहरका विदेशिने सबै विकासको खोजमा भन्छन् । विकास भने भागिरहन्छ क्या रे ? मृगतृष्णा जस्तै जति नजिक पुग्यो उति परपर त्यस्तै आकर्षण देखाउँदै ।” दयाका कुरा निकै घतलाग्दा भए पनि दीपेश फर्केर जान नै तैयार हुँदै आफूले विदेशिनु परेका कारणको माथमाथै यहाँ योग्यताको पारख नहुने परम्परा बस्दै आएको कुरा अग्नीका चाइना पलायन हुनु र त्यो मरर्तिकार जसले पलान्चोक भगवतीको मूर्ति अति राम्रो बनाएकाले कलालाई नै मार्न हातखुट्टा टुन्क्याइदिएका उपमाहरू दिदै भन्छ, यहाँ नोकरी योग्यताले मात्र पाइँदैन । कृपावादले योग्यतालाई झुकाइदिएकाले स्वयं हामी आत्मग्लानीले भुतुक्कै हुनुपर्छ । मैले पहिले यही नोकरी गर्छु भनेर कोसिस नगरेको पनि होइन । आफ्नो देशले पत्याएन विदेशले बोलाए पछि नाई जान्न म भनेर बसिरहूँ ? यस्तो भने म गर्न सक्तिनँ । अहिले म एक्लै जान्छु र त्यहाँको चाँजो मिलाएपछि चिठी लेख्तै गरुँला । मलाई पनि तिमीलाई छोडेर जाने मन कहाँ छ र ? नोकरी छोड्न सकिंदैन ? म विवश छु दया । दयाले जे जति भने पनि सबैको रायअनुसार दीपेशले अमेरिका फर्केर जानु उत्तम मानेकाले त्यसमा धेरै जिद्दी गर्न सक्तिन र आँखाभरी आँसु लिएर बिदा गर्दा खुसुक्क संझाउँछे, “चिठी लेख्न नभुल्नु होला, म पर्खिरहन्छु ।” दीपेश गएपछि दयालाई निकै शून्य लाग्छ । माइती जान पनि मन लाग्दैन । अफिसबाट घर फर्कंदा झिनो आशाले सताइरहेको हुन्छ र नन्दसँग सोधिहाल्छे, “दाजुको चिठी आयो, मैयाँ ?” लोग्नेसँग यति छिटो, यति गहिरो प्रेम बसेको संझेर दया छक्कपर्दै सोच्छे, “तिनै बाआमासँग जन्मैदेखि अहिलेसम्म रहँदै आएकामा त्यस संबन्धको वियोग बिर्सेर यो नयाँ व्यक्तिप्रति ज्यादा संझना कसरी र किन आउँदै छ ? संस्कृतिको या, धर्मको या स्वार्थको, केका शक्तिले मलाई यस्तो बनाइरहेछ ? सुँखदुःख भन्नु नै लोग्ने हो, लोग्नेको सबै अब तेरो आफ्नो हो, भनेकाले त्यसैका मोहले ज्यादा चाहेकी त होइन ? आमाबाबुसँग त जीवन नै गाँसिएको छ, उनीहरू गल्तीनै भएमा पनि क्षमा दिनसक्ने माया र ममताको भण्डार छातीमा राखेर बसेका हुन्छन् । त्यसैले यतातर्फको चाहना बढ्नु मायाको भन्दा बढी मोहले नै हो त ? या छोडिदेला भन्ने डरले हो ? यस्तो प्रश्न उठाएर दया आफ्नै सोचाइमा अलमलिन्छे । यही हो भनेर ठम्याउन नसकी प्रेरणासँग बसेर यसबारे छलफल गर्ने निधो गर्दै मनलाई लगाम लगाउँछे । प्रेरणा दयाकी खुबै मिल्ने साथी हो । उसको विवाह भई नानी समेत भइसकेको र दीपेशका परिवारसँग पनि चिनारी भएकाले उसका घरमा जाँदा कसैले पनि केही नभन्ने भएकाले त्यहाँ गएर उही प्रश्न दोहोऱ्याउँदा प्रेरणाले भन्छे, “शुरु शुरुमा तिमीले भन्ने झैं मोह, त्रास, स्वार्थ, सामाजिक रीति अनि धर्मले नै अङ्कुश हाल्छ त्यसपछि जीवनका हरेक क्षेत्रमा साथ रहँदा माया बस्तै जान्छ । तिमीले दीपेश जस्तो लोग्ने पाउनचाहि संयोग भन्छ्यौ या भाग्य यो राम्रो भएको छ । उसले कुनै कुरामा पनि कहिल्यै कुनैभन्दा कम हुनु परेन । एकफेर, जागिर खान भनी अन्तर्वार्ता दिंदा अनुत्तीर्ण भएको थियो र यहाँ नोकरी नै गर्दिनँ भनेर आवेशमा आई एउटा फर्म भरेर अमेरिकामा के पठाएको थियो, तुरुन्तै बोलाइहाले । त्यसपछि पनि यसै कहाँ गएको हो र ? मलाई यो चाहिन्छ त्यो चाहिन्छ भनेर लेखी पठाउँदा पनि त्यो समेत दिन राजी भएर बोलायो । अहिले त नोकरी पनि पक्का भईसक्यो रे ? त्यसैले तँलाई त्यहाँ लैजान उसलाई कुनै गाह्रो पर्दैन । केही दिनको मात्र कुरा हो । अँ, त्यहाँ पुगेपछि तँ पनि काम गर्न थाल्नू । विदेशमा काम गर्दा कस्तो हुन्छ भन्ने अनुभव त लिन सकिन्छ । “मैले आफूलाई भाग्यमानी नै संझेकी छु । विदेशमा यति लामो समयसम्म बस्ता पनि कुलतमा नपरेर पैसा कमाई घर पठाउनु भनेको सराहनीय नै हो । अब पीर लाग्न थालेको अर्कै कुराले छ । अब त उहाँले पहिलेको जस्तो फुक्का आफूलाई सोच्नु हुँदैन । विवाहका बन्धनले यसतर्फको दायित्व कति संझाउने हो भन्ने छ । विवाह भएर एक महिना पनि साथ बस्न पाएका छैनौँ । त्यसैले उहाँको पूर्ण स्वभाव बुझ्न सकेकी छैन । यहाँबाट जानु भएकै आज झण्डै १५/२० दिन भइसक्यो । न त टेलिफोन आउँछ न त चिठी नै । अमेरिका फर्कने बेलामा पनि मेरो एउटै अनुरोध “चिठी पठाउँदै गर्नोस् है” भन्ने थियो । ख्वै कुनै समाचार त्यहाँको पाउन सकेकी छैन । यता आफ्नो भने …..?” यति भन्दै ऊ लज्जाउदै टक्क अडछे ।

“भन् भन् के भयो तेरो ? आँसुले तकिया भिज्यो कि मन कुँडिएर छियाछिया भयो ? यही हो हाम्रो स्थिति । मायाका खानी हामी, यसैगरी भावनामा डुबिरहन्छौँ, अन्तर्मुखी भइरहन्छौँ, यसलाई हामी आफ्नो कमजोरी मान्ने कि नारीस्वभाव भन्ने कि संस्कारको छाप ज्ञ मलाई लाग्दै छ, दया, यो स्थिति हाम्रा छोराछोरीका पालामा पुगेर पनि जान्छ जादैन भन्न सकिंदैन समय निकै अगाडि बढी सकेको छ दायित्वले ठूलो भाग ओगटेको छ ।” मेरो कुरा सबै सुन्दै नसुनेर तिमीले एक्लै यति लामो कुरा फलाक्यौ । मेरो अर्थ त्यो होइन । अब हामी दुई मात्र नभई तीन हुने भयौँ जस्तो भान मलाई हुन थालिरहेछ भनेर दयाले आफ्नो स्थिति प्रेरणालाई बताएपछि, प्रेरणा खुशी हुदै भन्छे, “अब त झन् राम्रो भयो । तिमीले समय काट्ने खेलौना जोड्न थालिछौ । अनि यो कुरा परिवारलाई थाहा भइसक्यो त ?” “कसरी भन्नु ? यो घरको काइदा कदर हाम्रो माइतको जस्तो छैन । अझै के कोसँग भन्न हुन्छ र के हुन्न भन्ने थाहा पाउन सकेकी छैन । यस्तो कुरा कसलाई सुनाउने म आफैंले ?” यसरी दयाले आफ्नो असमर्थता बताएपछि प्रेरणा भन्छे, “गजबकी छेस् तँ ? अहिले कसैलाई पनि नबताएर पनि यो लुक्ने कुरा हो ? त्यस बेला घरकाले मात्र होइन, टोलकाहरूले समेत थाहा पाउँछन् । यस्ता कुराको खबर घर परिवारलाई पहिले दिनुपर्छ । फेरि तिम्रो त लोग्ने पनि यहाँ छैन । भरखर विवाह भएको छ ।” “उहाँ नभएर के भयो त ? नानी त उसैको हो, यसमा कुनै शङ्का यसै लिन कहाँ पाइन्छ ?” दया यति भन्दै प्रेरणालाई हेर्छे र प्रेरणा पनि दयाले उसले बोलेका कुरामा त्यस्तो अर्थ लगाएकाले दिक्कहुँदै भन्छे, “होइन, कसले के भन्न आएको छ ? यस्तो कुरा गरेर बचाउ लिन तम्सिन्छेस् । यस बेलामा स्वास्थ्य परीक्षण भइरहनु पर्छ, कसैले ध्यान दिनुपर्छ भनेर पो त मैले त्यसो भनेकी । तिमीलाई भन्न अप्ठ्यारो लाग्छ भने म नै गएर यो शुभ समाचार सुनाइदिन्छु । भयो अब ?” प्रेरणाले लिएको जिम्माबारे दयाले त्यसपछि अरू केही पनि भन्दिन बरु अर्को पनि सहयोग गर्न अनुरोध गर्छे, “ए …. सक्छेस् भने उहाँको अमेरिकाको टेलिफोन नम्बर पनि लिइदेन । बाहिरैबाट भए पनि म एकफेर कुरा गर्छु । हेर्न म कस्ती हुस्सु छु । छुट्टिने नै भएपछि त्यहाँको टेलिफोन नंबर माग्न पर्दैनथ्यो ? त्यस्तो खर्च गर्ने बानी नभएकी मैले त्यस बेला यसको आवश्यकता नै बिर्सिएँ । अझ अचम्मको कुरा त यो छ प्रेरणा, मसँग उहाँको ठेगानासम्म पनि छैन ।”

एक दिन साह्रै सङ्कोच मानेर भए पनि नन्दसंग सुटुक्क उहाँको ठेगाना के मागेकी थिएँ कुरा उनीहरूलाई पुगी हाल्यो । नन्दले मैले कुनै माग्नै नहुने कुरो मागेकी जस्तो गरी हाँसेर सबैलाई सुनाउनु भयो । उनीहरूका अट्टहासको आवाज सुनेर म लाजले भुतुक्क भएँ । तैपनि न त्यो सुन्नेले न त सुनाउनेले मलाई अमेरिकाको ठेगाना दिए । व्यर्थै किन माग्न गएँछु भनेर आफैंसंग कुपित भए । लौ तँ नै भन् मैले आफ्ना लोग्नेको ठेगाना माग्दैमा तिनीहरूलाई त्यसरी किन हाँसेर उडाउनु पर्यो ? “तँ लाज मान्ने भएकीले नै उनीहरूलाई जिस्क्याउन मज्जा लाग्यो होला । फेरि जिस्क्याउने पनि त भरखर विवाह भएकालाई त हो नि ? साना साना कुरालाई लिएर पनि तँ कति सोचेर बस्छेस् ? यस बानीलाई छोड्नेतर्फ लाग् । नत्र दुःख पाउलिस् । जे भए पनि तेरो यस पटकका दुवै काम म गरिदिन्छु त्यसपछिको जिम्मा भने म लन्नँ । त्यो तैंले आफैंले सल्टाउनु पर्छ । तेरो काम गरिदिए बापत मलाई के दिन्छेस् ?” “मसँग के छ र तँलाई दिऊँ ? यस्तो व्यापारीको जस्तो कुरा गर्न कहिलेदेखि थालिस् ?” “यो अनुहारलाई उज्यालो पारेर एकफेर हाँसिदिन त सक्छेस् ? तँ धेरै दुखी भइस् भने तेरो त्यो अदृश्य नानी पनि तँजस्तै चिन्ता लिने हुन्छ । अनि के त्यसको नाम चिन्तामणि राख्छेस् ?” दया पनि हाँस्तै भन्छे, “होइन, त्यसको नाम म हँसमुख राख्छु । तिमीले हँसाइ हाल्यौ ।” दुवै केही छिन हाँसीखुशीले बिताउँछन् र भोलि अफिसबाट फर्केपछि दयाका घरमा पस्ने बाचा गरेर प्रेरणाले दयालाई बिदा गर्छे । साधनाले जहाजका ढोकामा उभिएर जहाजभित्र छिर्दैका सबै यात्रीहरूलाई हाँसेर नमस्कार गरी अभिवादन गर्छे । जब जहाजको ढोका बन्द गरिन्छ र त्यो धावन मार्गतर्फ बढ्छ यात्रीहरू “सिटको पेटी बाँध्नोस्” भन्ने सङ्केत अनुसार धमाधम पेटी बाँध्न थाल्छन् । परिचारिकाहरू हातमुख पुस्ने रुमाल बाँड्दै यात्रीहरूले पेटी बाँधे नबाँधेको जाँच्दै ओहोरदोहोर गर्न थाल्छन् । केही छिनमा नै जहाजले टाउको उठाएर जमिन छोड्दै आफ्ना पाङ्ग्राहरू पखेटामुनि लुकाउँछ र निर्धारित उचाइ समात्न आफ्नो गति बढाउँछ । जब जहाज आफ्नो उचाइको तहमा आउँछ “पेटी बाँध्नोस्” भन्ने सङ्केतको बत्ती निभ्छ । अनन्त आकाशमा बादललाई चिर्दै बढिरहेका जहाजभित्र साधनाले जीवन सुरक्षाको ज्याकेट प्रयोग गर्ने विधि बताइरहेकी छ । सबै यात्रीहरू उसले सङ्केत गरेको ठाउँ हेर्न र पहिरन कसरी गर्नुपर्छ भनेर आफैंले लगाई सिकाउन थालेकीले त्यो तरिका सिक्न साधनामाथि आँखा घुमाइरहेका छन् । शुरु शुरुमा साधनालाई त्यतिका यात्रीहरूलाई आफूतर्फ ध्यान आकृष्ट गराई त्यो विधि सिकाउँदा सङ्कोच लागे पनि अब ऊ अभ्यस्त भइसकेकी छ । जब जब अर्की परिचारिकाले बताउन थाल्छे, त्यही अनुसार उसका हातहरू चल्दै सङ्केत दिन थालिहाल्छन् । जहाजभित्र यात्री कक्षमा परिचारिकाहरू भान्सा र स्टोभमा खाना तताउन र मिलाउन थाल्दा खत्राकखुत्रुकको आवाजका साथसाथै खानाको बास्ना हरहर चल्न थाल्छ, एउटा यात्रीले परिचारिका बोलाउने घण्टी थिच्छ । पिलिक्क बत्ती बल्नासाथ साधना छिटोछिटो हिडेर त्यस यात्रीनजिक पुग्छे र बत्ती निभाउँदै बोलाउनको तात्पर्य सोध्छे । यात्रीबाट जवाफ अनौठो आउँछ । ऊ अलि त्रस्त भएर नै सोधी रहन्छ, “तपाईंले त्यो ज्याकेट लगाउन किन सिकाउनु भयो र कुनै आपत् आएकाले बताएको त होइन ? हो भने, भन्नोस् हामी अहिले नै लगाएर बसिहाल्छौं । त्यस बेला अत्तालिएला लगाउनै पनि नजानिएला बरु ओर्लिदा यसको जरुरत परेन भने तपाईंलाई फिर्तै दिउँला ?” यात्रीको यस्तो प्रश्न सुन्दा साधनाले के थाहा पाउछे भने ऊ पहिलोपल्ट जहाज चढेको हो र नम्रताको साथ भन्छे, “यो विधि सिकाएको आपत् आइपरेको छ भनेर होइन, आपत् आइपरेमा के कस्तो गर्नुपर्छ भनेर उपाय मात्र सिकाएको हो । केही सङ्कट पर्नआएछ भने हामी खबर गर्छौं । त्यसबेला अक्सिजन मास्क यहाँबाट आफैं झर्छ । हामी फेरि आएर नजान्नेका लागि लगाउन सिकाउँछौं र अरूलाई लगाउन पनि सिकाउँछौं । यो पढ्नोस्, यसमा पनि सिकाइएको छ भन्दै पढ्नलाई सिटका खल्तीबाट एउटा प्रति झिकेर दिन्छे । त्यसै बेला अर्की परिचारिकाले पेय पदार्थ र खाना बाँड्न थालेको सूचना दिएको सुनिन्छ र त्यस यात्रीलाई निश्चिन्त भएर बस्न र खाना खाएपछि आराम लिनलाई के कसो चाहिन्छ त्यो भन्नलाई अनुरोध गर्छे ।” केही थाहा नपाएको त्यस यात्रीले भन्नोस् के ? उसैलाई सोध्छ, “के के दिन सक्नुहुन्छ, त्यो थाहा पाए पो त यो चाहिन्छ भनूँ ?” “कम्मल, तकिया, शिर दुख्न लागेमा र उल्टी आउन लागेमा औषधी सबै छन् । उल्टी थाप्ने यो ब्याग भने हेर्नोस् यहाँ छ भनेर देखाइदिन्छे ।” यतिकैमा अर्को सिटबाट घण्टीको आवाज सुनिन्छ । साधना त्यहाँ पुग्छे र सहयोगका लागि सोध्छे । त्यस यात्रीले केवल पढ्ने लाइट बाल्नलाई बोलाएको रहेछ । त्यो सुनेर साधना खिस्स हाँस्तै बत्ति बालिदिन्छे । अर्को यात्रीले सबैकहाँ साधना पुगेकी र उसकहाँ नआएकीले अलि रिसाउँदै भन्छ, “यहाँ खोइ, के चाहिन्छ भनेर सोध्ने चलन छैन कि कसो ? म जाडाले अघिदेखि काँपिरहेछु । अन्तर्राष्ट्रिय क्षेत्रमा उड्न थालेपछि यस्ता कुरामा ध्यान दिनु पनि पर्छ । कसरी यिनीहरूले प्रतिस्पर्धा ग्लान् खै ?” साधनाले, “सरी” भनेर कम्मल निकालेर दिँदै सोध्छे, “चिया कफी या कुनै ड्रिङ्क ल्याऊँ ?” उसले त्यसो भन्नाको आशय सेवामा सुधार ल्याउनलाई हो भन्ने देखाउन भन्छ, “मलाई अरू केही चाहिदैन । बरु तपाईंहरूले यात्रीहरूकहाँ बीचमा गएर के कसो चाहिन्छ भनेर सोध्ने गर्नोस् । अरू एयरलाइन्समा कस्तो हुन्छ, यहाँ भने ?” यति भन्दै गम्क्क परेर कम्मल ओढ्छ र आँखा चिम्लिन्छ । साधनाले उससंग केही बहस गर्दिन र एकफेर केबिनको तलदेखि माथिसम्म घुमेर सबै यात्रीहरूलाई निरीक्षण गर्छे र कुनै कुनैलाई हाँसेर, “के ल्याऊँ” भनेर पनि सोध्छे । कुनै यात्री जिस्कने पाराले भन्छन् पनि, “के छ तपाईंसँग त्यो सबै दिनोस् ।” यस्तो जवाफ सुनेपछि त्यहाँ उभिरहनु उचित ठान्दिन र आफ्नै ठाउँमा फर्कन्छे । यीमध्ये एउटा यात्रीले उससंग सोध्छ, “तपाईंले यो काम गर्न थाल्नुभएको कति भयो ?” साधना यात्रीको प्रश्न सुनेर स्तम्भित हुन्छे । यात्री फेरि बोल्न थाल्छ, “यस्तो प्रश्न सोधेकामा नराम्रो नठान्नोस् । म पहिले नै माफ माग्छु । त्यसपछि साधना झस्किन्छे र जवाफ दिन्छे, “किन नराम्रो मान्नु मेरो सेवामा केही कमी पो भयो कि ?” “तपाईंले गर्नुसम्मको सेवा गरेको, भनाइ सहेको देख्दादेख्तै पनि यसो भनूँला के ? तपाईंलाई देख्ता र तपाईंको स्वभाव देख्ता तपाईं कुलीन परिवारकी छोरी हो कि जस्तो लाग्यो र सोधेको अनि तपाईंको बाबुको नाउँ के नि ? घर त काठमाण्डूमै त होला ?” साधनालाई यात्रीको सबै जवाफ दिनु जरुरी संझिन्न र आफू अलि व्यस्त भएकी देखाउँदै एक छिन ल, फेरि आउँछु भनेर जान्छे र मनमनै भन्छे, “अर्काका बाबुको नाम र ठेगाना जान्न यसलाई कति चासो परेको ? सायद यसले पनि सोचेको होला, कुलीन परिवारको छोरीले यस्तो नोकरी गर्दिन भनेर । यस नोकरीका सेवामा त्यस्तो के छ र यहाँ काम गर्ने नहुने ? यस्ता सोचाइमा परिवर्तन कहिले आउने हो ।” फेरि घण्टी बजेको सुनिन्छ । त्यसै यात्रीका सिटमाथिको बत्ती पिलिक्क बलेको देखिन्छ । साधनाले सोध्छे । उसले उही अधुरो प्रश्नको जवाफ खोज्न उसलाई बोलाएको होला । त्यसैले उसले आफ्ना साथीलाई त्यस यात्रीकहाँ जान अनुरोध गर्छे । बन्दना त्यहाँ पुगेर बत्ती निभाउँदै बोलाउनको अर्थ सोध्छे । त्यस यात्रीले पनि अर्कै परिचारिका आएकाले अन्कनाउँदै चिया ल्याउनलाई प्वाक्क भन्छ । बन्दनाले साधनाको नजिक आएर भन्छे, “चिया पिउने रे, अब त्यो भने तँ नै लिएर जा, म त जान्न । त्यो बुढो मलाई त कस्तो कस्तो लाग्यो । हामीलाई हैरान पार्न के के बोल्छ के के ? मैले अरू त केही पनि बुझिनँ, “चिया” भनेको मात्र सुने र “हस्” भनेर आइहाले । “तिमीले अर्डर लिएर आएपछि जान्न भनेर हच्कन पाइन्छ ? अहिले चिया लिएर तिमी जाऊ र त्यसपछि बोलायो भने म जाउँला । यात्रीहरूले जे जस्तो भने पनि आफूले प्वाच्च बोलिहाल्नु हुँदैन । यति छोटो समयका साथले के नै हुन्छ । उनीहरूको कुरा सुनिदिएर यदि तिनीहरू खुशी हुन्छन् भने हामीले सुनिदिएर के हुन्छ ?” साधनाको यति कुरा सुनेपछि वन्दनालाई चिया लिएर जान करै लाग्छ । ऊ चिया लिएर त्यहाँ पुग्छे र उसलाई दिँदै भन्छे, “चिनी र दूध यसमा छ, कति चाहिन्छ मिलाएर खानु होला ।” चिया समातेर दूध र चिनी मिलाउँदै यात्रीले सोध्छ, “दुवईबाट फ्र्याङ्कफोर्ट पुग्न कति समय लाग्छ ? प्लेनमा बस्ताबस्तै कहिले पुगिएला जस्तो लाग्दो रहेछ । तपाईंहरूलाई लाग्दैन ? सधैं यसरी उड्नु पर्दा कति पट्यार लाग्दो हो ।” “पट्यार मानेर हामीहरूलाई कहाँ पुग्छ र ? बरु तपाईंलाई झर्को लागेको भए यो म्यागजीन पढ्नोस्, समय बितेको पत्तै लाग्दैन भनेर साङ्ग्रीला म्यागजीन पढ्न दिन्छे । म्यागजीन नसमातिकन भन्छ, “जहाजभित्र न त पढ्नै सक्छु न त सुत्न नै । हेर्नोस् न, त्यता, यहाँ कति जना मस्तसंग निदाइरहेका छन्, आफ्नो बानी भने यस्तै छ । मान्छेले दुःख पाउने गरेको नै आफ्नै स्वभावले हो ।” वन्दना त्यतिखेर हिडीसकेकी हुन्छे । यात्रीले आफूले मात्र बोली रहेको थाहा पाएर चुप लाग्छ । जहाज उड्दाउड्दै बादलभित्र छिर्छ । हुप्प हुन्छ र माथि तल हुँदै थरथराउन थाल्छ, सिटको पेटी बाँध्नोस् भन्ने सङ्केतको बत्ती फेरि बल्छ । हवाइ परिचारिकाहरू यात्रीहरूले पेटी बाँधे नबाँधेको जाँच्तै कुनैलाई बाँध्नमा सहयोग गर्दै घुम्न थाल्छन् । एकफेर जहाज उफ्रदा साधना भन्नै यात्रीमाथि परेकी थिई । सिट समातेर आफूलाई सम्हालिहाली र पो केही भएन । परिचारिकाहरूको लागि सुरक्षित राखेका सिटमा पुगी । ऊ पनि उनीहरूंसंग बसेर पेटी बाँध्दै त्यो घटना साथीलाई बताउछे र खूबसंग सबै हाँस्छन् । हाँसोले उज्यालो भएको अनुहार त्यस यात्रीले पनि देख्छ । उसको ध्यान साधनातर्फ नै खिचेको खिचिएकै हुन्छ । साधना र त्यस यात्रीको आँखा जब जुध्छन् साधनाले पर्दा तानेर यात्री कक्षलाई छेकिदिन्छे । केही समयपछि नै जहाज पुनः नियन्त्रणमा आउँछ । यात्रीहरू रगरगाउन थाल्छन् । शौचालयर्तफ जाने, त्यस बाहिर पर्खने र साथीहरूका सिट नजिकै गएर उभिई उभिई कुरा गर्न क्रम चल्नथाल्छ । साधना फेरि त्यस यात्री कक्षामा घुम्दा उसले प्रश्न गरिहाल्छ, “तपाईं मसँग साँच्चै रिसाउनु भयो जस्तो छ ? मैले तपाईंको परिवारबारे सोध्नु नपर्ने थियो, सोधिहाले, माफ गर्नोस् है ?” उसैका साथमा बसेको यात्री टाढो भएर उसको कुरा सुनिरहेको हुन्छ । साधनाले “छैन, मलाई यति साना कुराले रिसै उठाउँदैन तपाईं ढुक्क हुनोस्” भन्दा त्यो यात्री दङ्ग पर्छ । अर्को यात्रीले अब फ्याङ्कफोर्ट पुग्न कति बाँकी छ भनेर सोध्छ र साधनाले एक घण्टा मात्र बाँकी छ भन्ने जवाफ दिंदा त्यो यात्री अलि गंभीर भएर भन्छ, “त्यसो भए हाम्रो छुट्टिने बेला आयो ।” एकफेर लामो स्वास तान्छ र फेरि भन्न थाल्छ, “मेरो पनि तपाईं जस्तै छोरी थिई । त्यो पनि यस्तै विमान परिचारिका थिई । तपाईंंसंग यहाँ भेट हुँदा मैले त्यसैलाई संझिरहें ।” “अहिले तपाईंंकी छोरी के गर्दै हुनुहुन्छ त ? यो काम छोडि दिनु भयो ?” “थाहा छैन के गर्दै छे ? घरबाट उड्न हिडेकी फेरि फर्किन । मैले यस्तो नोकरी नगर भन्दा तपाईंहरूले यहाँ यात्रीहरूंसंग गरेको व्यवहार र तिनीहरूलाई पुर्याएको सेवा देखेर मेरा मनले त्यस छोरीले पनि यस्तै गर्यी होली भनेर कुरा खेलाइ रहें । मलाई एकपटक त्यो भएको जहाज चढ्ने रहर थियो । त्यो पुग्नै पाएन ।” ऊ एकपटक भावविभोर हुन्छ । साधनालाई के भनूँ के हुन्छ । त्यस यात्रीले भन्न छोड्दैन ऊ भन्छ, “तपाईंहरूजस्ता कलिला केटीहरू यसरी उडिरहेको देख्ता कस्तो कस्तो लागिहाल्छ र के के भन्न थाल्छु पत्तै पाउन । भगवान्‌ले त्यस्तो अन्याय कसैमाथि पनि नगरून् । साधनाको मन पनि उसको कुरा सुनेर विरक्त हुन्छ र वास्तविकता संझाउन भन्छे, “जीवन लिएपछि मर्नु त परिहाल्छ । कुनै न कुनै कुरा निमित्त भएर आउँछ नै । ऊ मात्र होइन, त्यस जहाजमा चढ्ने कति थिए सबैको त्यस्तै गति त भयो होला ? यो सबै भवितव्य हो । उड्ने र गुड्नेको त कुरा छोडी दिऔं, हिड्नेहरूलाई त कुन बेला के हुन्छ थाहा हुँदैन । यस्ता कुरा संझेर किन दुःखी हुनुहुन्छ ?” यति भन्दै ऊ त्यहाँबाट उम्केर फेरि आफ्ना साथीहरू भएका ठाउँमा पुग्छे । त्यस यात्रीको कुरासुनेपछि उसप्रति सहानुभूति लाग्नुका साथसाथै स्नेह लाग्न थाल्छ र एउटा कागजका टुक्रामा आफ्नो नाम र ठेगाना लेखेर उसलाई दिंदै भन्छे, “काठमाडौं फर्केपछि भेटगर्न आउनु होला । मेरा बाआमासंग पनि चिनाजानी हुन्छ । मलाई चाहनु हुन्छ भने तपाईंले “छोरी” भन्नु भएको थियो त्यही छोरी मसँग आकाशमा नै भेट भयो र ऊ ड्युटीमा रहेका बेलामा उससंग उड्ने इच्छा थियो भन्नुभएको पनि आज मसँग उड्दा पूरा भयो । त्यस यात्रीले साधनाले दिएको ठेगाना लिएर छक्कपरी हेर्छ । साधनालाई अब त्यहाँ अरुबेर अङ्ने फुर्सत हुँदैन । अवतरणका लागि सेवाका तयारीमा लाग्नुपर्ने बेला भइसकेको हुन्छ । त्यस दिन होटलमा पुगेपछि साधनालाई त्यस यात्रीको निकै माया लाग्छ र उसकी छोरीबारे कल्पना गर्न थाल्छे । यो पेशा निश्चय नै ज्यादै कठिन हुनुको साथसाथै आकर्षक पनि छ । सरसर हेर्दा हामी सबै शान्त देखिन्छौं । राम्रो लगाएर, श्रृङ्गारिएर हाँस्तै सेवामा हाजिर हुनु, ठाडो जवाफ यात्रीलाई दिनुहुन्न भन्ने सिद्धान्तको पालना गर्दै जानु, आकाशमा उड्दा सबै यात्रीको केन्द्रविन्दु भई सहयोगी भई दिनु कत्रो कठिनको जिम्मा छ, जसलाई हामीले शीतल तरिकाले निर्वाह गर्नुपर्छ । सबै यात्री एकै प्रकारका सभ्य हुँदैनन् । कसैको दृष्टि हामीमाथि अति नै तुच्छ हुन्छ मानौं हामी सेवाका लागि होइन, यात्री मनोरञ्जनका लागि त्यहाँ खटिएका छौं । त्यही भावना लिएर जिस्क्याउने, सताउने, त्यतिले चित्त बुझेन भने गाली गर्ने कसैले गर्छन् भने कसैले “पैसा तिरेका छौं यसै भनेका छैनौं तिम्रो एयरलाइन्सलाई छानेर आउनुको मतलव यही व्यवहार पाउनलाई हो” भनेर असन्तोष व्यक्त गरेको पनि सहेर बस्नुपर्छ । सबै यात्रीले सोचेका हुन्छन् उनीहरूलाई एक एकलाई समय दिएर सेवा गरून् तर हामी चार पाँच परिचारिकाले छोटो समयभित्र सबै यात्रीहरूलाई त्यस रूपको सेवा पुर्याउन सक्तैनौं र तोकिएको सेवा मात्र गर्दा, छोटो जवाफ दिएर आफू काममा व्यस्त हुँदा चढेकी र बढेकी भन्ने लाञ्छना सुन्नुपर्छ र त्यस्तै विभिन्न माँग गर्दा आफ्नो असमर्थता व्यक्त गर्दै “सरी” भन्यौं भने उनीहरू झन् रिसाउँछन् । खासगरी खाना र पेय पदार्थ दिदा कोही शाकाहारी भइदिन्छन् भने कोही गुलियो नखाने, कसैलाई अमिलो पिरो चाहिने इत्यादि । तोकिएको खाना र तोकिएको पेय पदार्थ लिएर उडेका हामीले माग अनुसार दिन नसक्ता आफू र एयरलाइन्स बारे गाली गरेको सुनेर पचाउनु पर्छ र मुसुक्क हाँसेर भावहीन भई फेरि काममा जुट्नुपर्दा निकै मानसिक कष्ट सहनुपर्छ । यो कठिनाइ हामीलाई देख्नेहरूले बुझ्न सक्तैनन् र भन्छन्, “क्या मोज छ यिनलाई ? हातभरि पैसा छ रातदिन खुट्टा देशविदेशमा पर्छन् । जोमसोमको स्याउदेखि दुवई र हङ्कङको सुन भित्र्याउन पाउँछन् । यस्तो बोल्दा के सोच्न बिर्सन्छन् भने हामीमाथि पनि कम्पनीको नियम र सरकारी कानून लाग्छ भनेर । हाम्रो अर्को कठिन अवस्था त त्यो बेला आउँछ जब जहाज उड्दाउड्दै आपत्कालीन अवस्थामा पुग्छ । यात्रीहरूको सुरक्षाको व्यवस्था गर्नु, उनीहरूको चिच्याइ, घबराहट, रुवाबासी सबै को सामना गर्दै र तिनलाई सान्तावना दिंदै हौसला दिन हामीले अगाडि बढ्नुपर्छ । त्यस बखतको हाम्रो अवस्थाको ज्ञान कसैलाई पनि हुँदैन । अरुले त भन्छन्,” ती परिचारिकाहरूले के गरे आफैं सुरक्षित हुन खोज्दै थिए । हामीलाई हेर्ने को ? यस्ता कुरा मनमा खेलाउँदा खेलाउँदै त्यो दिन संझ्न पुग्छे जुन बेला ऊ आन्तरिक क्षेत्रमा उड्दै थिई । श्रावणको महिना थियो, आकाश काला बादलले ढाकेको थियो । जहाज उडेको केही समयपछि नै मौसम अरू खराब हुँदै जानथाल्यो । हावाका झोक्काले जहाजलाई कहिले यता त कहिले उता हुत्याउन थाल्यो । जहाज फर्कने स्थितिमा पनि आउन सकेन । यात्री कक्षामा कोही बान्ता गर्न थाले भने कोही राम…राम भन्दै भगवान्‌लाई गुहार्न थाले । कोही लौन नि अब कहाँ समाऊँ भनेर कराउन थाले भने एउटी आइमाई यात्रीले उसलाई नै च्याप्प समातेर भन्न लागी, “लौ न मेरो त पेट दुख्न थाल्यो नानी पो जन्मन्छ कि ?” भित्रभित्रै आत्तिएकी त ऊ पनि थिई तर गरोस् के आफ्ना मनको व्यथा उसले कसैलाई पनि सुनाउन सक्तिनथिई । मुखमा धैर्य ल्याई यात्रीलाई ढाडस दिनु परेको थियो, “नहडबडाउनुहोस् डराउनु पर्ने केही छैन हाम्रा कप्तान साहेबहरू खली छन्, एकै छिनमा ठिक भइहाल्छ । यो गडबड खाली मौसमको खराबीले मात्र भएको हो ।” वास्तवमा त्यस बेला जहाजले आफ्नो बाटो छोडी निकै पर हुत्तिइसकेको थियो र कप्तानहरूले ठिक बाटामा ल्याउन हरप्रयास गर्दै थिए । उनीहरू कुहिरोका काग भइरहेका थिए । अवतरण भइसक्नु पर्ने समयभन्दा झण्डै आधा घण्टा बढी जहाज उडिसकेकाले त्यहाँ इन्धनको समस्या आइपर्छ कि जस्तो स्थिति देखापर्न लागेको थियो । तर त्यसै बेला फेरि भयङ्करको हावा चल्नाले जहाज हुत्तिन थालेको थियो यात्रीहरू बेहोस हुने स्थितिमा पुग्न लागेका मात्र के थिए जहाजलाई कप्तानले नियन्त्रणमा लिन सफल भए र एकै छिनमा बादललाई छल्दै जहाज उज्यालोतर्फ बढ्न थालेको सबैले चाल पाए । बिस्तारै यात्रीहरू शान्त र सुस्त हुँदै गएका थिए र साधनाले पनि त्यस आवस्थाबाट छुटकारा पाएर आफ्ना सिटमा आई पसिना पुछ्तै आफ्ना बाबुआमालाई संझेकी थिई । उनीहरूका संझनाले कण्ठ रुद्ध भएको त्यस बेलाका पीडाका संझनाले अहिले पनि उसका आँखा रसाउन थाल्छन् । अनि संझन्छे त्यस यात्रीकी छोरीलाई उसले पनि यस्तै समस्या जहाजभित्र भोगी होली । तर हामीले जस्तो आपत्‌बाट सुरक्षित भएको खबर दिन नपाएर आफैंसहित हराई । मैले यसरी आपत्‌बाट बचेर घरपुगेपछि आमासंग टाँसिएर रोई शान्त भएकी थिएँ तर त्यस यात्रीले छोरीलाई तातो दिएर उसको आँसु पुछीदिन नपाएर आफैं उसका लुगाहरू समातेर कति रोयो होला । साधनालाई यस कल्पनाले त्यस यात्रीको अनुहार संझाउछ र त्यसैका साथसाथै उसकी छोरीको अनुहार कोर्छे जो आत्तिएर बाआमालाई पुकार्दै रुँदै भनी होली “मेरा बाआमा, म मरें भने तपाईंहरूले धेरै चिन्ता नलिनुहोला ?” यस सोचाइले दिक्कभएकी साधना फेरि आफ्ना मनलाई यसरी संझाउँछे, “जन्मनु, बाँच्नु र मर्नु जीवनका अवस्थाहरू हुन् । यिनलाई पेशाले के फरक पार्छ । मरिन्छ कि भनेर भाग्ने हो भने सन्सारमा कुनै ठाउँ छैन जहाँ लुक्ता मृत्युबाट बच्न सकिन्छ । घरमा बस्ने पनि त भवितव्यमा परेर मरेका छन् । बरु मर्नु नै छ भने पनि अन्तिम साहस देखाएर मर्नु नै के बेस होइन र ? जसले जेसुकै भनून् मलाई आफ्नो यस पेशासंग गर्व छ र यसलाई सबैका सोचाइमा आदर्श सेवा भन्ने पारेर छोड्छु । यस्तो अठोट मनमा लिएर ऊ सुत्ने कोसिस गर्छे । * रात पर्न लागेपछि शिव खड्का जङ्गलको अन्त्य भागमा पुग्छ । त्यहाँ एउटा घर देखिन्छ र ऊ त्यही बास बस्ने निधो गर्दै ढोका ढकढक्याउन पुग्छ । एउटी ९/१० वर्षकी बालिका आई ढोका खोल्छे । शिवले बासको माग गर्दा त्यस बालिकाले जवाफ दिन पाउँदा नपाउँदै माथि चोटाबाट आवाज आउँछ, “ए नानी, बास र गाँस खोज्दै आएका हुन् भने खुरुक्क माथि ल्याएर सत्कार गर । साँझका पाहुना देवता हुन्छन् ।” आजको भौतिक युगमा पनि त्यस्तो सत्कारको भावना राख्ने त्यस व्यक्तिसंग भेट गर्ने इच्छाले पनि ऊ त्यस बालिका पछिलागेर चोटामा जान्छ । त्यहाँ पुगेपछि बालिकाले गुन्द्री बिछ्याइदिंदै बस्ने अनुरोध गर्छे र आफू बाबाकहाँ पूजाकोठामा जान्छे । त्यहाँ ऊ ध्यानमा लीन भइसकेकाले भान्छाकोठातर्फ लाग्छे । कतै खाने कुरा छ कि भनेर खोज्दा एक दुई कोसा केरा फेलापार्छे र त्यही पानीका साथमा ल्याएर दिंदै भन्छे, “बाबा ध्यानमा बसिसक्नु भएछ । एक छिन पर्खनोस् ,उहाँ आएर भेट गर्नुहुनेछ । म त्यहीं तलका गाउँमा गएर आउँछु भनेर दौड्न्छे । शिवले उसलाई रोक्न खोज्दाखोज्दै ऊ ओझेल भइहाल्छे । ऊ विस्मित भएर बसिरहन्छे । केही बेरपछि एउटा वृद्ध हातमा फूल र नैवेद्य लिएर आइपुग्छ र त्यो पाहुनालाई दिंदै भन्छ, “यो प्रसाद ग्रहण गर्नोस् यसले मनलाई शान्ति दिन्छ । तपाईंले लिएका लक्ष्यलाई पूरा गर्छ । यसरी विचलित भएर हुँदैन ।” वृद्धको कुरा सुनेर शिव उद्‌भ्रान्त हुन्छ र झ्वाट्ट भन्छ, “मेरो लक्ष्यबारे तपाईंले के थाहापाउनु भयो र यसो भन्नुहुन्छ ?” त्यस वृद्धले पनि हाँस्तै जवाफ दिन्छन्, “यति मात्र थाहा छ, मनुष्य लक्ष्यविहीन जाग्रत् हुनै सक्तैन र तपाईंमा जागरण आइसकेको छ । यही भ्रमणको लक्ष्य पूरा गर्नलाई पनि त शान्ति र मनको स्थिरता चाहिन्छ नि, होइन ?” शिवलाई त्यस व्यक्तिका तर्कमा निकै सत्यता रहेको पाउँछ र भन्छ, “अकाट्य छ तपाईंको भनाइ । मैले त्यस्तो प्रश्न गर्नु नै मेरो अज्ञानता हो । माफ गर्नु होला, बाबा ?”

बाबाले शिवको आत्मप्रशंसा सुनेर हाँस्तै भन्छन्, “तपाईंको प्रश्न मेरो भनाइले उठाएको हो । त्यसैले माफ कसलाई कसले दिने ? दुई व्यक्तिको भेट भएपछि कुराको श्रृङ्खला बनिहाल्दछ । अरू भन्नोस् तपाईंको घर कहाँ हो ? “घर त मेरो काठमाडौंमा हो । अनि तपाईं, एक्लो व्यक्ति यस्ता जङ्गलका छेउमा कसरी बस्न सक्नुभएको छ ?” शिवको कुरा सुनेर ऊनी हाँस्छन् र एक छिन चुप लागेपछि भन्छन्, “म एक्लो कहाँ छु र ? यो सन्सारको बस्ती यति ठूलो छ म कहिले पनि एक्लो हुन्न । झलक्क हेर्दा यहाँ म र मेरी त्यो सानी नातिनी मात्र छौं जस्तो लाग्छ र यो वास्तविक सत्यता पनि हो । तर, यदि हामीले मनलाई साँघुरो र मतलबी बनाएनाैं भने हामी सबै साथमा रहेको पाउन सक्छौं । आजैको कुरा गरौं तपाईं आउनु भयो र हाम्रा साथमा हुनुहुन्छ । मलाई “बाबा” भन्न थाल्नुभएको छ र मैले तपाईंलाई “बाबु” । हाम्रा बीचमा बनेको यो संबन्ध र साथमा बिताउन लागेको यस रातले के हामीलाई “तँ एक्लो छस्” भन्छ र ? संबन्ध रगतले गाँसेको, मानवताले जोडेको र प्राणीको नाताले बनेको हुन्छ । यत्रो फैलिएको सम्बन्धलाई विखण्डित पारी यति मात्र मेरो भन्नु कहाँ हुन्छ र ? सबै मेरा हुन् र सबैको म हुँ भन्ने सोचाइ राखे एक्लो कहिल्यै भइन्न ?” अलि अकमकाउदै शिवले सोध्छ, “अनि व्यवहारमा ? सिद्धान्त र व्यवहारका फरकले ल्याउने गरेका भिन्नतालाई केले हेर्नुहुन्छ ?” बाबा यसपटक भने शान्त हुन्छन् र भन्छन्, “मैले बताएको सम्बन्धका विषयमा मात्र हो, व्यवहारबारे केही बोलेकै छैन । व्यवहारमा भिन्नता नैतिकताले ल्याउँछ नै र त्यस नैतिकताको प्रयोग गर्न समाजले आफ्ना रीति स्थितिका माध्यमबाट सिकाएको हुन्छ । समाज हाम्रो सभ्यताको परिचय हो र सभ्यता समयले ल्याएको विकास हो । याद राख्नोस्, समय जति अगाडि बढ्छ मनुष्यले मनुष्यलाई उति नै राम्ररी चिन्दै जानेछ र त्यसका नतिजाले अटुट सम्बन्धको सिर्जना गर्नेछ ।” भावनात्मक कुरा गर्नमा तल्लीन रहेका तिनको ध्यान मैनाका प्रवेशले भङ्ग पारिदिन्छ र मैनाले इसाराले बाबालाई बोलाएर भान्छा कोठामा लैजान्छे । झोलामा चामल र केही आलु मात्र ल्याएको देखाउँदै अरू बजार उठिसकेकाले नल्याएको बताउँछे । जे उपलब्ध भएको छ, त्यसैको खाना बनाउने आदेश दिएर बाबा शिवनिर आई बस्तै फेरि कुरा चालु गर्छन् ।

शिवलाई बाबाप्रति भन्दा बढी ध्यान त्यस बेला त्यो सानी बालिकापट्टि खिचिन गएकाले बाबासंग अनुमति लिएर मैनालाई भान्छामा सहयोग गर्न तत्पर हुन्छ । बाबाले उसलाई रोक्तै मैनाको खुबीको तारिफ गर्दै भन्छन्, “भान्छामा गएर के गर्नुहुन्छ ? मैनाले तपाईंलाई छुनै दिन्न । आजभन्दा दुई वर्ष पहिलेदेखि नै उसले अतिथिरूलाई पकाएर खुवाउने गर्दै आएकी छे । गरीब र दुःखीको सन्तान भएपछि उमेरलाई उछिनेर काम गर्नुपर्छ ।” शिवलाई बाबाको कुरा सुनेपछि के भनूँ के भनूँ हुन्छ र सोध्छ, “यहाँबाट गाउँ धेरै टाढा छैन क्या रे । थकाइ लागेपछि एक पाइला चाल्न पनि नपरोस् जस्तो भइहाल्छ अनि घर त के रुखै पनि अलि झ्याम्म परेको देखियो भने बसूँ बसूँ लागिहाल्छ ।” शिवले उनका कुरामा विशेष चाख नलिएजस्तो मानी बाबा भन्छन्, “मेरो गल्फत्तीसंग झर्को लागेर गाउँतर्फ किन बढिनँ भनेर पछुताउन थाल्नुभयो कि कसो ? यस बेला जङ्गलका छेउछाउमा हिड्नु यात्रीहरूका लागि उचित हुँदैन । बरु म चुप लागिदिन्छु । मेरो स्वभावसंग पनि म आफैं आजित भइसकेँ । कुनै पाहुना आए कि म तिनीसंग कुरा गर्दागर्दै दिक्कै लगाइदिन्छु क्यारे जो पनि मदेखि भाग्नै खोज्छन् ।” “मेरा सोधाइको तात्पर्य त्यस्तो होइन, बाबा ? त्यो सानी छोरी त्यति छिटो गाउँमा पुगेर आइसकी । मैले अलिकति हिडाइ अगाडि सारेको भए बस्तीमा पुग्थें । यहाँ तपाईंहरूलाई यसरी दौडनु पर्ने नौवत आउँदैनथ्यो भनेर मेरा अल्छिपनालाई जाँच्न मात्र मैले सोधेको हुँ, यसलाई अन्यथा नमान्नु होला” भनेर सफाइ दिदै उहाँको ज्ञानवर्द्धक कुराहरू सुन्न अझै आफू लालायित रहेको बताउँछ । बाबालाई शिवका कुरामा विश्वास लाग्दैन र भन्छन्, “मेरो फतौरोलाई यसै ज्ञानवर्द्धक बनाइ दिनुभयो । यो त मेरो मन बौलाहा जस्तोगरी कराइरहने भएकाले बोलिरहेको मात्र हुँ । कुनै दिन कोही पनि पाहुना भएनन् भने त्यही मैनालाई मात्र भए पनि राखेर बोलेको बोल्यै हुन्छु । त्यो बिचरी सुन्दासुन्दै जब निद्राले घुप्लुक्क भई ढल्छे अनि पो म झसङ्ग हुन्छु ।” यस बानीलाई नराम्रो भन्न मिल्दैन । हामी सामाजिक प्राणी भएकाले हाम्रो अन्तर इच्छा नै साथी खोज्ने हुन्छ बोल्ने र बोलेको सुन्ने व्यक्तिको आवश्यकता भइरहेको हुन्छ । म पनि त त्यस बेलादेखि तपाईंसंग बोलेको बोल्यै छु । मेरो पनि चुप लाग्न नसक्नुको अर्थ त्यही हो ।

“राजधानीनिवासी तपाईंलाई वाक्‌पटुतामा कसले छुनसक्ने ? सके पेशा पनि व्यापारी नै हो कि सुन्छु, काठमाडौंमा खेतीपाती गरेर खाउँला भन्ने नचिताए पनि हुने भइसकेको छ रे ? घरैघरले ढाकेर खुल्ला जग्गा देखिएको भन्नु त्यही टुँडिखेल मात्र छ । त्यो पनि कति दिन टिक्नसक्छ भन्छन् ? पहिले नाङ्‌ले पसलहरू जसरी ठाउँ ठाउँमा हुन्थे, अहिले ती हराएर ग्राहकहरूका सुविधाका लागि भन्दै आकाशिएका हात्ती पसारिए जस्तो फैलिएका घरहरू बनाई थुप्रै विभिन्न किसिमका सामानहरू एकै थलामा पाउन सकिने गरी पसलहरू खोलिएका छन् रे ? कहीं तपाईं पनि त्यहीका पसलमध्येको एक त होइन ? विदेशी सामान भित्र्याउँदै स्वदेशी र पर्यटकहरूलाई बेच्न चतुर व्यापारी ? कि सरकारी नोकरी दिएर पालेकोमध्ये पर्नुभयो ?” “पैसाको खेती गर्नु भनेको व्यापार हो । खेती गरेर खान सक्ने औगात मेरो छैन । सरकारी नोकरी दिएर पालेको हो कि भन्ने तर्फ गर्नु भएकामा भने” हो “म नोकरीमा थिएँ तर अहिले मलाई आफैं गरी खाऊ भनेर पाल्न छोडिदिएका छन् । " “ए बुझें, त्यसैले फुर्सत पाएर देशभ्रमणमा लाग्न थाल्नुभएको ? नोकरीमा रहँदा धेरै विदेशमा भ्रमण गर्नुभएको होला ? आफ्नो देश त्यसका अगाडि कस्तो पाउँनु भएको छ ? अर्काको देशको उन्नति देखेर आफ्नो देशलाई संझदा च्वास्स घोच्यो कि घोच्दैनथ्यो ?” अलि हाँस्तै भन्छन्, “घोचे पनि त्यो दुखाइ मेटिइ हाल्यो भन्नोस् न ? यही भएको छ हाम्रो देशप्रेम ।” शिवले केही जवाफ दिन नसकी शान्त हुन्छ । उनी अझै भन्दै हुन्छन्, “जागिर कुन अड्डामा खानुभएको थियो ? वकिल हुनुभएको त होइन ? बेला हेरी पीपलपाते बन्नसबने तिनै हुनसक्छन् र अहिले त्यस्तै मान्छे सबैको प्यारो बनेका पनि छन् । जहाँ पनि पुगेका छन् । जे जस्तो खबर बटुले पनि कसलाई के मन पर्छ, त्यसै प्रकारले रचना गरेर त्यसकहाँ पुर्याउने गर्छन् ।” “वकिललाई भन्नुभएको कि वकिलको पेशाबारे यसो भन्दै हुनुहुन्छ ? कुनै वकिल त्यस्ता निस्के पनि यो पेशा त्यस्तो पीपलपाते हुँदैन । पक्ष र विपक्ष दुवै दृष्टिकोणले हेरेर बहस गरेपछि मात्र साँचो कुरा पत्ता लाग्न सक्ने भएकाले नै यो मही मथेजस्तो गरी मथ्ने प्रथा बसाएर नौनी निकाल्न खोजेको हो । यसरी कहिले पक्ष र कहिले विपक्षबाट बोल्नुपर्ने तिनीहरूलाई पीपलपाते भन्न खोज्नु भएको हो भने पनि न्यायलाई यो परिभाषा नल्याउनु भए बेस हुन्छ ।”

शिवले अलि नराम्रो मानेको ठानेर बाबाले भन्छन्, “सबैले जानेका छन् यी वकिल डाक्टर, पुलिस र शिक्षकको पेशा देशका लागि कति जरुरी छ भनेर । यिनैले हुन् न्यायोचित अधिकार दिएर आत्मबल बढाउने, ज्ञानको भण्डार उघारेर उन्नतितर्फ लम्कन बाटो देखाउने र आइपर्ने बाधाहरू हटाई सहयोग गर्ने तर त्यस बेलासम्म उपयोगी हुनसक्छन् बाबु, जबसम्म यस पेशामा कार्यरत व्यक्तिहरूले सेवाको महत्व बुझेर आफ्ना निर्णयलाई व्यापारीले नाप तौल गर्ने ढक खोज्नेजस्तो गरी आर्थिक लाभका पछि लाग्दैनन् ।” “पेशा र त्यसमा संलग्न व्यक्तिमा फरक छ । यदि ती व्यक्तिले पेशाको नैतिकता पालन गरेका छैनन् भने त्यो गराउने जिम्मा पनि यसैको व्यवस्थाले लिनुपर्छ । व्यक्तिले पेशा धमिल्याउन पाइँदैन भन्ने मेरो लाटो बुद्धिले भन्छ । तर हो, तपाईंले भनेजस्तो गरी यहाँ यस्तो हुनसकेको छैन । विश्वास गर्न अति गाह्रो हुँदैछ । चोर फटाहा भनेर चिनिसकेर पनि जबसम्म तपाईं प्रमाण जुटाउन सक्नुहुन्न, तपाईं केही गर्न सक्नुहुन्न । विश्वासको सरकारको स्थापना भएपछि पनि यस्ता अविश्वासहरू हट्न सकिरहेका छैनन् । यही त दुःखलाग्दो कुरा छ । “मलाई यस उमेरकी नातिनीको समेत डर लाग्न थालिसकेको छ । स्कूलबाट फर्कदा अबेर भयो भने मन छट्पटाउन थाल्छ । मनले नराम्रा कुराको शङ्का उठाउँछ । धेरैले आफ्नो धर्म छोडिसके । यसतर्फ लाग्नु असम्भव भएकै ठान्न थालिरहेछन् । नैतिकताको रेखा कोर्नेहरू नै त्याज्य हुन थालेपछि मानवधर्म कता पुग्ला खै ? यसतर्फ ध्यान आकर्षण गराउन पनि कोही अगाडि सर्दैनन् ।” “तपाईंका भनाइको अर्थ पूजापाठमा लाग्नसक्नेको मात्र धर्म हुन्छ, नैतिकता हुन्छ र उसले मानवधर्म बुझेको हुन्छ भन्ने हो कि कसो ? के यसैले मानव संबन्ध सुदृढ गराउँछ ? धर्म कर्मको जरुरत यत्तिकैमा टुङ्गिन्छ ?” “बाबाले शिवका प्रश्नलाई आपूर्तिको वाक्य प्रहार संझेर हाँस्तै भन्छन्, “होइन, यसको अर्थ बुझ्न र बुझाउनलाई त म तपाईंहरू जस्ता ज्ञाताहरूलाई भन्दै छु । धर्म कर्मको रक्षा गर्ने जिम्मा तपाईंहरूले लिनुपर्ने जरुरी छ । आडम्बरको कुहिरो हटाई धर्मलाई चम्काउने गराउन यसतर्फको सोचाइ स्वच्छ राख्ने विधि निकाल्नोस् । यो मासिदै जानुको अर्थ हो हामीले यसलाई चिन्न सकेका छैनौं । धर्म कर्तव्य हो, धर्म आदर्श हो, धर्मले सिकाउँछ दार्शनिकता । यसको मनन गरेर आत्मशुद्धि गर्न सकेमा मानवधर्मको पालना हुन्छ । एकता आउँछ । अनि मनुष्यले मनुष्य भएर बाँच्न सक्छ । यो मेरो भनाइ हो र मेरो अनुरोध छ यसलाई लोप हुने स्थितिबाट बचाई व्यावहारिक बनाउन रूढीवादी र आडम्बरलाई पन्छाउनतर्फ लागिदिनोस् । म पूजापाठ गर्छु, यसको मतलब मैले मात्र मानवता चिनेको छु भनेको होइन । म गलतमा छु भने मलाई बताइदिनोस् ठीक के हो ? नत्र भने मान्नोस्, पूजापाठ गर्नु उपासना हो, मनमा आत्मबल जाग्रत् गर्न विश्वास उत्पन्न गर्नु हो, एक अदृश्यशक्तिप्रति अर्पित भएर जागरण ल्याउनु हो । अर्पण र जागरण अन्त्य र शुरुसरह छन् । हाम्रा नयाँ पुस्ताले आफ्नो संस्कृति छोड्दै पलायनोतर लाग्दैछन् । तिनलाई बचाउनु होस् बाबु । धर्म हाम्रो नीतिशास्त्र हो । यसमा वैज्ञानिक तत्वज्ञान पनि छ । हाम्रो धर्म चार वेदमा आधारित छ । यसका अठार उपनिषदहरूले जीवनका हरेक क्षेत्रलाई छोएका छन् र पथप्रदर्शकको भूमिका लिएका छन् । यो पुर्खाको धरोहर सुम्पन्न सक्छु या सक्तिनँ भनेर मलाई डर लागिरहेछ, बाबु ! म यहाँ बसेर सबै पाहुनालाई यसैगरी अनुरोध गरिरहन्छु, कसैको मन छोएर केही गरि नै हाल्छन् कि भन्ने आशा लिएर बसेको छु । मेरो कुरा बाबुले कस्तो मान्नु भयो त्यो थाहा छैन तर मैले आफ्नो चिन्ता पोखेको हुँ । “तपाईंका कुराले प्रभावित नहुने को होला ? मेरो पनि सोचाइ तपाईंसंग मिल्दोजुल्दो नै छ । केवल, मैले पूजाबारे भनेको अझ म विस्तृत पार्छु र त्यसपछि तपाईंलाई सोधुँला मेरा सोचाइबारे ।” म भन्छु, “हामीले जुन तरिकाले भगवान्‌को पूजा गर्दै छौं, के त्यस तरिकामा पाखण्डीपन छैन ? श्रद्धाभन्दा बढी पाखण्डीपनको प्रदर्शनको भाव छ । आँखा, मुख, नाक जताततै अबिर र केशरीले पोतिदिन्छौं । अक्षताले हानिदिन्छौं, पैसा छुवाएर मुखैमा ठोकिदिन्छौं अनि बरदान प्राप्तिका आशाले भाकल गर्दै आफ्नो माग राख्छौं । हामीले भगवान्‌लाई पनि हामीजस्तै आशे मानेर व्यापार गर्न खोज्छौं । छैनन् यहाँ, तपाईंले जस्तो धारणा लिएर पूजा गर्नेहरू ? भक्ति र ज्ञान मार्ग सम्झाउने शान्ति प्राप्तिका लागि लिनुपर्ने मार्ग सम्झाउने काम हामीले होइन तपाईं जस्ता ज्ञानी बाबाले लिनु भएमा मात्र हाम्रो संस्कृति र धर्म अमर रहन्छ ।” शिवको कुरा सुनेर बाबा भन्छन्, “पहिले हुन्थ्यो होला तर अहिले ? यी महात्मा र हामीजस्तै फुङ्गले धर्मको आर्ड लिएर धेरै तर्साउने काम गरेको हुनाले धर्मबारे हामीले भनेको भन्दा तपाईंहरूले भन्नुभएमा आजका नवयुवक युवतिहरूले मान्छन् । हामीहरूमाथि उनीहरूको विश्वास उठिसकेको छ ।” यति भन्दै उनी हाँस्छन् र भन्छन्, “छोड्नोस् यी कुरा, तपाईंलाई मेरा भनाइको विश्वास गर्न गाह्रो परेको छ भन्ने कुरा म बुझ्छु नि ?” शिवले हो, होइन केही भन्न नपाउँदै टाढाबाट स्याउलाभित्रैको जस्तो एकनाशको आवाज आएको सुनिन्छ । बाबा र शिवले कहाँबाट आवाज आएको पत्ता लगाउन ध्यान लगाएर सुन्छन् । लाग्छ, कुनै हात्ती आएर त्यस स्याउलालाई माडिरहेको छ या कुनै जनावरले त्यसमाथि लडिबुडी खेल्दै आङ्‌को चिलाइ मारिरहेको छ । शिवलाई त्यस ठाउँमा निरीक्षण गर्न जान मनलाग्छ र सोध्छ, “केको आवाज हो ? म गएर हेरूँ ?” “के भन्नु भएको यस्तो ? यस जङ्गलमा त भालु पनि आउँछ । यति राति यसै हिंड्नु हुँदैन । वनका छेउमा बसेपछि यस्ता सऱ्याकसुर्‌क् त कति सुनिन्छन् कति ? कतिपल्ट जदि फर्कंदै गर्नुहुन्छ । चुप लागेर बस्नोस् र खाना खाएर सुत्नोस् । कति थाक्नु भएको होला ?” यसरी बाबाले त्यहाँको स्थितिको अवगत गराउँछन् र मैनाले पनि खाना तयार भएको खबर दिन्छे । दुवै जना खाना खानलाई भान्छामा जान उठ्छन् । शिवका आँखा झ्यालबाट बाहिर खोज्न पुग्छन् । त्यहाँ एउटा सेतो आकृति हिडेको देख्छ र कराउँछ, “हेर्नोस् त बाबा, त्यो जनावर होइन, कुनै मान्छे नै हिडिरहेको जस्तो छ । त्यसले राति बाटो बिरायो या त्यो कुनै सङ्कटमा परेको छ त्यसलाई सहयोग गर्नु पर्छ । लौ म त हिंडे भनेर ढोकातर्फ लाग्छ । बाबाले रोक्ने प्रयास गर्दा पनि ऊ आफ्नो गति बढाइरहन्छ र ढोका खोलेर बाहिर जान्छ । आवाजलाई पछ्याउदै जाँदा ऊ यस्तो ठाउँमा पुग्छ जहाँ एक नारी आकृतिले आफ्नो घाँटीमा पासो लगाउन तयार भएकी देख्छ । शिव लम्केर त्यसलाई समात्छ र यसका गालामा चट्काउन थाल्छ । ठूलो स्वरले गाली गर्दै भन्छ, “ए लाछी आइमाई, के अधिकार छ तेरो यो अमूल्य जीवनलाई नाश गर्ने हँ ? सङ्घर्षदेखि भागेर के प्राप्तिको लागि मृत्यु खोज्दै हिड्छेस् ?” दुवैको होस त्यहाँका स्थितिले बिर्साई दिएको छ । एक बकबकाउदै छ भने अर्को चुप लागेर सुनिरहेकी छे । मानौं ऊ अपराधी हो । जब शिवले बोल्न थामेर “चुप लागेर हिंड” भनेर त्यसका पाखुरा समातेर तान्छ अनि त्यो नारी डाँको छोडेर रुन्छे र भन्छे, “कहाँ लैजान हिंड भन्नुहुन्छ ? मलाई मर्ने अधिकार छैन भन्ने तपाईं को मलाई बचाउने के अधिकार छ ? हिंड् भनेर कता लैजाने के अधिकार छ ? छोड्नोस् मलाई मैले यस्ता कुरा धेरै सुनिसकेकी छु । तपाईंले मलाई जोगाएर के पुण्य पाएँ भन्ठानु भएको छ ? किन मलाई लखेट्न तपाईंहरू छोड्नु हुन्न । यति भन्दै आवेशलाई रोके पनि बेफ्वाँकको कुरा बोल्दै अरू रुवाइ बढाउंछे र लाचारीका साथ भन्छे, हे भगवान् म तिमीकहाँ दुःख बिसाउन पनि आउन पाइर्नं यिनले मलाई रोके किन रोके ?” त्यस नारीले मनमा लागेका सबै कुरा बताई रुन थालेपछि शिवले उसैको घर फर्काउने कोशिश गर्दै संझाउन थाल्छ । उसका धेरै अर्तीबुद्धि सुनिसकेपछि र अब उसका लागि अर्को विकल्प पनि नहुँदा त्यो नारी यति भन्दै घर फर्कन तयार हुन्छे, “तपाईंले मलाई लाछी त भनिसक्नु भएको छ । अब आफैं मेरा घरमा पुगेर हेर्नोस् म सङ्घर्षदेखि भागेकी हूँ या थाकेर आरामका खोजीमा लागेकी हुँ । त्यहाँ पुगेर अनि बुझाइदिनोस् त्यहाँ रहेर बाँच्ने चाहना कताबाट पलाउन सक्छ र सङ्घर्ष गर्ने साहस कसरी बटुल्न सकिन्छ । अनि तपाईंँका अर्तीलाई शिरोपर गरी मलाई बचाएकामा उपकार गरेको ठानूँला नत्र तपाईं को हो म जान्दिनँ तर यति म भन्छु, तपाईं पापी हो, निठुरी हो र हो अधर्मी पनि । मेरा सरापले तपाईंलाई सुख चैन कहिल्यै दिने छैन । बुझ्नु भयो त मेरा कुराको सारांश ? “जति सराप दिन मन लाग्छ दिनोस्, मलाई यसमा विश्वास छैन र यसका डरले कर्तव्य गर्न पनि पछि पर्दिनँ । यो मेरो अधिकार नभए पनि तपाईंलाई यस कुकृत्यबाट बचाई घरमा जिम्मा लगाउने मेरो धर्म भनूँ या कर्तव्य म भुल्न सक्तिनँ ।” “हिड्नोस् त म भन्दै छु , त्यहाँ नपुगिकन तपाईंले मेरो कर्मको अर्थ बुझ्नु हुन्न ।” ऊ यति भनेर खेदको हाँसो हाँस्तै भन्छे, “कसैले पनि सितिमिति आत्महत्या गर्न चाहँदैन, जीवनप्रति मायामोह नहुने कसैलाई पनि हुँदैन । जब ऊ जताबट पनि हार खान थाल्छ, कुनै आशाको त्यान्द्रो कतै पाउँदैन, त्यसपछिको उपाय यही मात्र हुन आउँछ । यस्ता अवस्थामा नपुगेका तपाईंहरूलाई के थाहा हुन्छ मर्ने निर्णय लिन पनि कति गाह्रो हुन्छ । बाटाभरि यस्तै कुरा गर्दै उनीहरू गाउँमा पुग्छन् । नूरले आफ्नो घर देखाउँछे र शिवले निर्धक्क भएर ढोका ढकढकाउँछ । सायद, त्यति बेलासम्म सबै निदाइसकेका थिए क्यार, ढोका उघ्रन निकै बेर लाग्छ । झन्डै १५ मिनेट ढकढकाएपछि एक वृद्ध आएर ढोका खोल्छ र शिवले नूरलाई जिम्मा लगाउन खोज्दै भन्छ, “तपाईंंकी यिनी को हुन् झन्डै आत्महत्या गर्न लागेकी थिइन्, यिनलाई बचाएर ल्याइदिएको छु । फेरि अर्को के गर्छिन् अलि ध्यान दिनहोला ।” यति भन्दै ऊ फर्कन लाग्छ । त्यस वृद्धले एक्कासी उसलाई रोक्दै छोरा र स्वास्नीलाई बोलाउन थाल्छ ।

उनीहरूलाई जम्मा पारेपछि कड्केर भन्न थाल्छ, “ए पाजी, रातभर यससंग सुखभोग गरेर यस बेला कुन मुख लिएर फिर्ता ल्याउनमकिस् ? तँ को होस् ? यस्ती वेश्येलाई मेरा घरमा यसै छोडेर जान पाउँछस् ? आफ्ना साथ लैजान्छस् कि गाउँलेलाई उठाऊँ । यसले मर्न खोज्ने ? पहिले हामी सबैलाई यसले मार्छे ? बेइज्जत गरेर त मारिसकी, अब अकाल मृत्यु मात्र ल्याउन बाँकी छ । त्यहाँ अरू कोही पनि नबोलेर टुलुटुलु हेरि मात्र रहेको देखी त्यो वृद्ध अरू कुलिँदै भन्छ, “के हेरेर बसिरहछौ ? यसलाई घरभित्र हुल्छौ कि यस लुठाका साथ लगारिदिन्छौ ? के गर्छौ भनिहाल, म यसको अनुहार हेर्न पनि चाहन्नँ ?” त्यस वृद्धकी स्वास्नी अगाडिसर्दै भन्छे, “के भनेर राख्छन् यो बाइफालेलाई, यहाँ ? कुन सङ्को कुन सङ्को हामीलाई छलेर मोज गर्न गई, अहिले त्यसैका लुठाको শিষो कुरा सुनेर म आइज बुहारी भनेर घरभित्र हुल्छु के ? नानीदेखिको बानी कहाँ छुट्छ भनेर त्यसै बेला यो लतमा परि सकेकीलाई राख्न हुन्न भनेकी थिएँ, आखिर त्यही भयो कि भएन ?” “यत्रो ठूलो पाप नबोल्नुस् न आमा । म पहिले जे थिएँ तपाईंको बुहारी भएपछि गृहधर्ममा छु । उहाँसंग मेरो कुनै सम्बन्ध छैन । मैले तपाईंहरूलाई नै मबाट छुटकारा दिलाउन आफ्नो हत्या गर्न लागेकी थिएँ । हेर्नोस्, मेरो हातको डोरी यसलाई मैले कत्रो मेहनत गरेर यसैका लागि बाटेकी थिएँ” भन्दै देखाउँछे । उसका यी बयानले कसैलाई पनि कुनै असर पार्दैन र शिवले नूरका लोग्नेपट्टि फर्केर सोध्छ । उसलाई विश्वास थियो उसले यस सत्यलाई स्वीकार्छ “तपाईंकी जहानलाई मृत्युका मुखबाट बचाएर तपाईंंकहाँ जिम्मा लगाउन आएको छु । तपाईंले त मलाई उल्टो दोष लगाएर रोक्नुहुन्न होला ? तर यस्तो अनर्थ हुँदा पनि किन केही बोल्नु हुन्न ? न त मृत्युबाट जोगिएर आएकी स्वास्नीलाई आत्महत्य गर्न परेको कारण सोध्नु हुन्छ ? यो के हो यस्तो ?” “अब थाहा पाउलास् यसको अर्थ । बडो जान्ने हुन आउँदो रहेछ” भन्दै कराएर त्यस वृद्धले छिमेकीहरूलाई जम्मा पार्न थाल्छ । ओरिपरिका छिमेकीहरू आएपछि ती बुढाबुढीले झन् कुर्लेर नूरलाई देखाउँदै भन्न थाल्छन्, “हेर्नोस् यसलाई, यस बेला राति यो कहाँको गुण्डालाई समातेर घरैमा आफ्नो पेशा गर्न ल्याएकी ? बुहारी भइसकी, अब पुराना कुरा बिर्सिदिनोस् भन्नुहुन्थ्यो तपाईंहरू, अब यस्तो हुन लागेपछि हामीले के गर्ने, लौ तपाईंहरू नै भन्नोस् ? ती शहरका केटीहरू आएर यस वेश्येलाई यो घरमा के हुलेर गएका थिए, अब त यसको हिम्मत उनीहरूलाई जम्मा पारेपछि कड्केर भन्न थाल्छ, “ए पाजी, रातभर यससंग सुखभोग गरेर यस बेला कुन मुख लिएर फिर्ता ल्याउनसकिस् ? तँ को होस् ? यस्ती वेश्येलाई मेरा घरमा यसै छोडेर जान पाउँछस् ? आफ्ना साथ लैजान्छस् कि गाउँलेलाई उठाऊँ । यसले मर्न खोज्ने ? पहिले हामी सबैलाई यसले मार्छे ? बेइज्जत गरेर त मारिसकी, अब अकाल मृत्यु मात्र ल्याउन बाँकी छ । त्यहाँ अरू कोही पनि नबोलेर टुलुटुलु हेरि मात्र रहेको देखी त्यो वृद्ध अरू कुलिंदै भन्छ, “के हेरेर बसिरहछौ ? यसलाई घरभित्र हुल्छौ कि यस लुठाका साथ लगाइदिन्छौ ? के गर्छौ भनिहाल, म यसको अनुहार हेर्न पनि चाहन्न ?” त्यस वृद्धकी स्वास्नी अगाडिसर्दै भन्छे, “के भनेर राख्छन् यो बाइफालेलाई, यहाँ ? कुन सड्को कुन सड्को हामीलाई छलेर मोज गर्न गई, अहिले त्यसैका लुठाको कुरा सुनेर म आइज बुहारी भनेर घरभित्र हुल्छु के ? नानीदेखिको बानी कहाँ छुट्छ भनेर त्यसै बेला यो लतमा परि सकेकीलाई राख्न हुन्न भनेकी थिएँ, आखिर त्यही भयो कि भएन ?” “यत्रो ठूलो पाप नबोल्नुस् न आमा । म पहिले जे थिएँ तपाईंको बुहारी भएपछि गृहधर्ममा छु । उहाँसंग मेरो कुनै सम्बन्ध छैन । मैले तपाईंहरूलाई नै मबाट छुटकारा दिलाउन आफ्नो हत्या गर्न लागेकी थिएँ । हेर्नोस्, मेरो हातको डोरी यसलाई मैले कत्रो मेहनत गरेर यसैका लागि बाटेकी थिएँ” भन्दै देखाउँछे । उसका यी बयानले कसैलाई पनि कुनै असर पार्दैन र शिवले नूरका लोग्नेपट्टि फर्केर सोध्छ । उसलाई विश्वास थियो उसले यस सत्यलाई स्वीकार्छ “तपाईंकी जहानलाई मृत्युका मुखबाट बचाएर तपाईंकहाँ जिम्मा लगाउन आएको छु । तपाईंले त मलाई उल्टो दोष लगाएर रोक्नुहुन्न होला ? तर यस्तो अनर्थ हुँदा पनि किन केही बोल्नु हुन्न ? न त मृत्युबाट जोगिएर आएकी स्वास्नीलाई आत्महत्या गर्नु परेको कारण सोध्नु हुन्छ ? यो के हो यस्तो ?” “अब थाहा पाउलास् यसको अर्थ । बडो जान्ने हुन आउँदो रहेछ” भन्दै कराएर त्यस वृद्धले छिमेकीहरूलाई जम्मा पार्न थाल्छ । ओरिपरिका छिमेकीहरू आएपछि ती बुढाबुढीले झन् कुर्लेर नूरलाई देखाउँदै भन्न थाल्छन्, “हेर्नोस् यसलाई, यस बेला राति यो कहाँको गुण्डालाई समातेर घरैमा आफ्नो पेशा गर्न ल्याएकी ? बुहारी भइसकी, अब पुराना कुरा बिर्सिदिनोस् भन्नुहुन्थ्यो तपाईंहरू, अब यस्तो हुन लागेपछि हामीले के गर्ने, लौ तपाईंहरू नै भन्नोस् ? ती शहरका केटीहरू आएर यस वेश्येलाई यो घरमा के हुलेर गएका थिए, अब त यसको हिम्मत यतिसम्म बढी सकेको छ । कति कुरा त लौ भनेर सहँदै गयौ अब यो के गरी सहूँ ?” छोरापट्टि फर्केर भन्छे “के चुप लागेर बस्छस् तँ ? तँलाई पनि ती शहरियाले घाँडो लगाएर गएका थिए, अब तँ पनि यसैलाई यतिकाको सामुन्ने जिम्मा लगाएर पन्छाड्दे । तेरो बिहे यससंग पन्चै बाजा बजाएर गरेका छैनौ । यो देवकीसंग तेरो के स्वास्नीको नाता छ र मायाले भुतुक्क भई “जा” भन्न सकिनस् । यसका लोग्ने सहस्र छन् तँ मात्र हो र ? धर्मले पनि यसलाई घरमा राख्नु हुदैन । देवकी हो …… यो देवकी ?” आमाको आड पाएर जब लोग्नेले पनि जथाभावी बोल्नथाल्छ नूरलाई असहनीय हुन्छ र शिवलाई भन्छे, “थाहा पाउनु भयो त यहाँ बाँच्न कति गाह्रो रहेछ ? मलाई आत्महत्या गर्न नदिएर कसको उपकार गर्नुभयो ? बरु आफैं बद्नाममा पर्नुभयो । यस्ता जीवनलाई तपाईंले अमूल्य भन्नुभएको होइन ?” सबै छिमेकीहरूलाई सम्बोधन गर्दै नूरले भन्छे, “तपाईंहरूले, यिनीहरूले भनेका कुरामा विश्वास नगर्नोस् । यी व्यक्तिले मलाई आत्महत्या गर्न लागेका बेलामा फेला पारेर मलाई सम्झाउँदै घर फर्काएका हुन् । उनलाई मैले आफ्नो शारीरिक भोक पूर्ण गर्न घरमा ल्याएकी होइन, यो झूटो हो । मलाई पन्छाउने दाउ मात्र हो । यस पेटमा यस पापीको सन्तान हुर्कंदै छ । म कहाँ जाऊँ ? एकफेर ती दिदीहरूले मलाई यस घरमा हुलेर जानाले बाँचुन्भन्दा मृत्यु रोज्नुपर्ने बनायो अब तपाईंले बचाएर यो कस्तो भुमरी पार्ने हुनुभयो ?” नूर रुन्छे पनि कराउँछे पनि अनि बाँच्ने उपाय बताइदिन छिमेकीहरूसंग अनुरोध गर्छे । त्यहाँ कराउने र बोल्ने तिनै सासूससुरा अनि लोग्ने मात्र छन् । नूरको रुवाइ मात्र सुनिन्छ । धेरैपटक नूरलाई शिवका साथ लखेट्न कराइरहेका तिनीहरूका कर्कसा स्वर सुनेर एउटा युवक छिमेकीले भन्छ, “किन यस्तो दोष यी व्यक्तिलाई लगाउनु हुन्छ, दाइ ? आत्महत्या गर्न लागेकी तपाईं की स्वास्नीलाई यिनले बचाइदिएकामा स्याबासी पो दिनु पर्छ झन् उल्टै स्वास्नी नै उसलाई पन्छाउने दाउ पो गर्नुहुन्छ । यस्तो व्यवहार हुनलाग्यो भने सन्सारबाटै दया धर्म भन्ने हराउँछ । अनि यिनलाई मात्र होइन, यहाँ सबैलाई जिउन गाह्रो पर्छ । तपाईंहरूका घरको रातदिनको कलह हामीले नसुनेका छैनौ । पहिले त्यही देवकी तपाईं का छोरालाई नभई भएन, अब त्यो स्वास्नी हुन सुहाइन ? “आफू दोषी नहुँदो हो त ती शहरिया केटीहरूले तपाईं कै घर खोजेर किन जिम्मा लगाएर जान्थे र तपाईंहरूले पनि तिनीहरूले जे जति भने पनि नटेरेर घरमा राख्नुहुन्न थियो । अहिले पेट बोकेकीलाई जे पायो त्यही भनेर लगार्न कहाँ पाइन्छ ? ए दाइ, अब धेरै हल्लाखल्ला नगर र खुरुक्क स्वास्नीलाई घरमा लैजाऊ । होइन भने हामीले पनि के गर्नुपर्छ त्यो गर्न जानेका छौ ।” त्यस युवकले आफ्ना छोरालाई चेतावनी दिंदै नूरलाई सकार्न भनेको सुनेर त्यों बुढा रोषपूर्ण स्वर निकालेर कराउँदै भन्छे, “ए …… यो भुसुनाले पनि अब हामीलाई हेप्ने, धम्की दिने भयो । के गर्नसक्छस् तैंले, लौ गरेर देखा त ? बिनासित्तै यो छुचुन्द्रे फूर्ती देखाउँदो रहेछ ।” त्यो युवक पनि जोसिंदै, “के गर्न सक्तो रहेछ, हेर्ने हो” भन्दै सुरिएको देखेर दुवै पक्षलाई साम्य पार्न तिनै बृद्धबृद्धालाई संझाएर त्यहाँ जम्मा भएका छिमेकहरूले नूरलाई घरभित्र लैजान बाध्य पार्छन् । नूरलाई पनि आत्महत्या गर्नु महापाप हो । यस्तो काम कहिल्यै गर्न नतम्सिनू भनेर संझाउँदै समस्याको समाधान गर्छन् र शिवलाई पनि छुटकारा दिलाई अनर्थ हुनबाट रोक्छन् । त्यहाँबाट फर्केर बाबाकहाँ पुग्दा मध्यरात भइसक्छ । उसको निद्रा भोक दुवै यस घटनाले गर्दा मरिसकेको छ । अलिकति पानी पिएर सुत्ने विचारले पानी पिउन अँखरा उठाएको मात्र के हुन्छ, बाबाले खाना लिएर पर्खिरहेकी मैनालाई देखाउँदै भन्छन्, “खाना नखाई नसुत्नु होला, ऊ त्यसलाई हेर्नोस् त खाना लिएर पर्खंदापर्खंदै त्यही निदाएकी ?” त्यसपछि शिवलाई खाने मनै नभए पनि खान्छु भन्न करै लाग्छ र मैनालाई उठाएर आरामले सुत्न पठाई आफू त्यही चिसो खाना लिएर खान बस्छ । बाबाले यत्रो बेर लगाएर फर्कनाको कारण सोध्दै त्यस्तो आवाज गर्ने के रहेछ, के देख्नुभयो भनेर सोध्छन् । मैले देखें मात्र होइन, बाबा, कल्पनाभन्दा टाढाको मानव सभ्यताको अर्को रूपको पनि अनुभव बटुल्न पाएँ । यहाँ नारी र पुरुषको साथलाई किन एउटै अर्थ लगाएर हेर्ने गरिन्छ । मृत्युबाट एक नारीलाई कुनै पुरुषले बचाउँदा पनि आपत्ति आइलाग्छ भने यहाँ मानवता कता लुकेको हुन्छ ? लोग्नेस्वास्नीका बीचमा प्रेम र समझदारी नभई छुट्काराका लागि उपायको खोजी हुन्छ भने तिनीहरूको जीवन कुन् रूपले बितिरहेका होला ? आज यिनै तथ्यलाई नजिकै पुगेर अनुभव गर्न पाएँ । यो देख्ता त मलाई लागिरहेछ, मैले जीवनका अझै कति पक्षहरू देख्न बाँकी नै छ । बाबालाई शिवका कुराले बोल्न बाध्य तुलाउँछ । उनी भावनामा डुब्दै भन्छन्, “दया, माया जस्ता संबेदनशील भावनाले पनि कुनै बेला चिल्ल्याई दिएर बेपत्ता पारिदिन्छ । उसले थचार्दै लडाउँदै लाचार बनाएर हाम्रो परीक्षा लिन्छ । त्यसै बेला हो, तपाईंले आफूभित्र निहित दया मायालाई चिन्न सक्ने । यस्ता चिप्लेटीका खेलबाट उठेर तपाईं आफूलाई कति दरो बनाउन सक्नुहुन्छ, त्यो नै यसको मात्र हुने छ ? मेरी मैना यसैको त उपलब्धि हो ।” “त्यसो भए मैना तपाईं का दयाको परिचय मात्र हो ।” “दयाको परिचय मात्र होइन, मावनताको उपलब्धि पनि हो । मेरो तेस्रो पुस्ताकी नातिनी भएकी छे । मैले यसलाई संरक्षण दिएको मेरो दया मात्र देखाउनलाई होइन । यो मेरा घरमा मेरी छोरीले ल्याएकी मानव नातिनी पनि हो । यो कसरी आई, त्यसले कसरी ल्याई, थाहा छैन । न त यो मैनाले जान्दछे न त हामीले नै । यो को हो भन्ने कुरा रहस्यमै छ । एक दिन केटाकेटीहरू आपसमा लुकामारी खेल्दाखेल्दै यो मैना लुक्ने बहानाले पसलअगाडि रोकेका ट्रकभित्र पसिछ । ट्रकवालाले पनि आफ्नै धूनमा चलाएर यहाँ आयो । सामान खसाल्न लाग्दा पो यो त्यहाँबाट फुत्केर भागी छ । त्यसपछि रुँदै कराउँदै यताउती भड्किंदै त्यो बालिका यहाँ आइपुगिछ । त्यस बखत यसको उमेर ४/५ को मात्र थियो । यस घरमा मेरी एक छोरी थिई । त्यो आफ्नी छोरीका मृत्युको वियोगमा विरक्त भएर बसिरहेकी थिई । यसलाई देख्नासाथ घरमा ल्याई म्वाइ खाई माया गर्दै आफ्ना साथमा टाँसेर राखी । त्यस बेलादेखि यो यही छे । कसैले सोध्न आएका छैनन् । यो पनि घर कहाँ हो, बताउन सक्तिन । यसरी पनि मान्छे यहाँ अलपत्र परेका छन् र अरूका संरक्षणमा रहनुपरेको छ । यस्तो कथा बोकेकी यो मैना छे भने मेरी त्यस छोरीको जीवन अर्कै छ । म र त्यस छोरीका बीचमा बन्न गएको बन्धन झन् अनौठो छ । सुन्नुहुन्छ भने भनूँ ? कि नसुन्ने भन्नोस् न “मेरो आफ्नै जेठी छोरी र यो मानवी छोरीको स्थिति उस्तै थियो । मैले आफ्नी छोरी गुमाएका बेदनामा त्यसैबाट मलमपट्टी लगाउन पाएको थिएँ । यसैले ऊ मेरो दयाको स्वरूप हुनुभन्दा मैले उल्टै उसको दया, माया र सेवामा आफूलाई जीवित राख्न पाएको थिएँ । अहिले त्यो छोरी पनि बितेकीले यस नातिनीलाई लिएर परिवार बिर्सेको छु । यसैले म भन्छु सबै गुमाए पनि मानवताले हामीलाई एक्लो पार्दैन । यो भावनाको मात्र फरक हो । आफूले माया दिन सक्यो भने अरूबाट पनि त्यस्तै माया पाइन्छ र यो बन्धन पनि उत्तिकै बलियो राख्न सकिन्छ । । उनी आत्मकथा यसरी शुरु गर्छन् ।

हाम्रो आर्थिक अवस्था त्यति बलियो नभएकाले तीन छोरा र तीन छोरी, बूढी आमा र स्वास्नीलाई भौतिक सुख पनि दिऊँ र छोराछोरीलाई उच्च र स्तरीय शिक्षा पनि दिनसक्ने गरी आर्थिक क्षमता बनाऊँ भन्ने उद्देश्य राखी म केही वर्षका लागि घर सल्लाह गरेर भारतमा पसें । गाउँमा रहँदा मास्टरसम्म भइसकेको भए तापनि त्यहाँ मैले खतरायुक्त काम गर्ने मजदुर भएर केही वर्ष बिताएँ । मैले गरेको मेहनत र मेरा व्यवहारले प्रभावित भएर मलाई मजदूरी गराउने मालिकले मलाई अन्य व्यापारसम्बन्धी काममा लगाइदिए । त्यसपछि मैले स्वाध्ययन गर्न पनि पाएँ र पैसा पनि अलि धेरै नै कमाउन थालें । एक वर्ष पनि मैले त्यहाँ बिताउन सकिनँ । पैसा प्रसस्त कमाए पनि त्यहाँ नोकरी गर्नु मावनताप्रति आघात पुर्याउनु थियो । त्यसैले त्यहाँ छोडेर म एक विद्वान्‌का साथ उनका पुस्तकालयमा र अध्ययन कक्षमा काम गर्न थालें । पैसा यहाँ त्यति धेरै थिएन तर उहाँबाट जुन् जीवनदर्शन र धर्मप्रतिको ज्ञान पाउथें, त्यो अमूल्य थियो । मेरा दुवै चाहना पैसा कमाउने र ज्ञान प्राप्त गर्ने, यस नोकरीबाट पाउन थालें । धेरै वर्ष उहाँको साथमा रहँदा यत्ति आत्मीयता बढ्यो घरको संझना आए पनि त्यसमा चिन्तित हुन छोड्दै जान थालें । तर यो यात्रा पनि एक्कासी चुँडियो । मेरा ती मालिक किताब हातमा लिएको लियै परलोक हुनुभयो । त्यहाँ निकै हल्लिंखल्ली उहाँका मृत्युले ल्यायो । आमा, स्वास्नी, छोराछोरी सबै आइपुगे र रुँदै छाती पिट्दै बेदना पोख्न थाले । कुनैले त्यस्ता अवस्थामा पनि मलाई शङ्कालु आँखाले हेर्न लागे । म तिनीहरूसंग अर्थ न बर्थ डराउन थालें । उहाँको शव समेत जँचाइयो । हृदयाघातबाट मृत्यु भएको भन्ने ठहर भए पनि घर तलासी पुलिसबाट गराइयो । पुलिसका हातमा एउटा फाइल पर्न गयो जसमा लेखिएको विवरण पढेपछि उसले मेरो नाम लिंदै यो को हो भनेर सोध्यो । म त्यस बखत त्यही नै थिएँ र थरथर काँप्दै त्यो व्यक्ति म नै हुँ भनेर चिनाएँ । मालिकका छोराले पनि यसमा सही थपिदिए । त्यस पुलिसले तब त्यस फाइलमा लेखेको पढेर सुनाए जसमा मेरा मालिकले मैले उहाँको सेवा गरें बापत् पाँच लाख रुपियाँ मलाई दिनू भनेर परिवारका नाममा लेखेर छोडेका रहेछन् । म पनि त्यो सुनेर छक्क परें र उहाँको परिवार पनि । मेरा आँखाहरू रसाउन थाले मालिकप्रतिको श्रद्धा र मायाले । उनीहरू शान्त रहे । त्यहाँ मृत्युले ल्याएको शान्ति तवै मात्र देखियो । मालिकका कान्छा छोराले मेरा मुखमा हेरेर भने, “हामीले दिन नसकेको आराम र सुख यसले दिएको रहेछ । पिताजीलाई यतिका वर्ष स्याहार्यो, उहाँलाई सेवाका ऋणमुक्त पार्न भए पनि यति रकम दिएर हटाइ दिनुपर्छ । जेठा छोराले अलि चित्त भारी पारेर भने, “नदिएर सुख पाइयो र ? कागत पुलिसका हातमा परिसक्यो । यतिकाले पिताजीका महानता सुनिसके । नदिएमा हामी दुष्ट हुन्छौं । मान्छेको परिवारबाट मन उठेपछि कस्तोसम्म हुनसक्दो रहेछ त्यो बुझियो । गल्ती हाम्रो नै हो । यस्तो शान्तिप्रिय उहाँलाई हामीले त्यसरी कचंकच गर्नै नहुने ? एक्लो यहाँ आएर बस्ता पनि हामी भेट्न आएनौ । परिवारका मायाको बल्छीले तानेर ल्याउँछ भनेर पर्खेर बस्नु कति दुखदायी कुरा हो । भो, यी कुरा अहिले संझेर के गर्नु ? आमा र बजैले त्यतिका धन महात्मामाथि लुटाए र त हामीले सहेर बस्यौ भने बाबाले यति यस सेवकलाई दिएर के खती हाम्रो हुन्छ ? यसको पनि जीवन बन्छ । हाम्रा संपतिको पनि सदुपयोग हुन्छ ।” मालिकको मृत्युपछि चलेको यस्तो कुरा र मालिकका बूढी आमा र स्वास्नी रोएको देखेर जुरुक्क उठेर आफ्नो घरतर्फ लागि हालूँजस्तो भएँ । मालिकका मृत्युमा मैले आफ्नो मृत्यु देख्नथालें । जे जस्तो मलाई लागे पनि अन्त्येष्टिको काम नसिध्याई र त्यहाँ भएका धनदौलतको जिम्मा नलगाई भागिहाल्नु उचित नहुने हुँदा मनलाई थिचेर निहुरी रहें, सही रहें, के के भने त्यो सुनिरहें । यसबाहेक म गर्न पनि केही सक्तिनथें । केही दिन यत्तिकैमा बिताएपछि त्यो बक्स भएको धन र आफ्नो कमाई लिएर घर फर्कें । बाटाभरि यति सुखका कल्पना गरिनँ, यति सपना देखिनँ ज्ञ संझें, यति लामो समयसम्म परिवारसंग छुट्टिएर बस्ने कस्तो योजना बनाएको रहेछु, आफूलाई नै तँ कति मूर्ख रहेछस् भनेर मनमनै गाली गरें पनि । तर ती दिनहरू बिगत भइ सकेकाले आउने दिनहरूमा यस धनका प्रयोगबाट के गर्न सकिन्छ भनेर सोच्तै बाटो काट्न थालें । म घर फर्केंको महिना श्रावणको थियो । आकाश पूरा कालो बादलले ढाकेको थियो र कच्ची बाटो हिल्लैहिलाले खाल्डाखुल्डी परेको थियो । बिहानीपख बसबाट ओर्लिएर एउटा भरियालाई भारी बोकाई म आफ्ना गाउँको बाटो लागें । मेरो घर पूर्वाञ्चल क्षेत्रमा थियो । कोशी नदीका छेउछाउमा नै केही बिघा जमिन थियो र सानो एउटा घर । एक गाँस खान र शरीरलाई ओत दिन यिनै पुख्यौली संपत्तिले पुन्याउने गर्थ्यो । मेरी जहान अतिजाँगरिली थिई । घरमा बसीबसी खसीबाख्रा पालेकी थिई । भैंसीको दूध, घिउ र तिनै खसीबाख्रा बेलाबेलामा बेच बिखन गरेर घर खर्च धान्थ्यो । मास्टरको मेरो कमाइ यति थोरै थियो, जहानले यस्ता काम शुरु नगरेकी भए सन्तानलाई पढाइलेखाइ गराउनै सकिन्नथ्यो । जीवन हाम्रो शान्तसंग राम्रै गरेर बित्तै थियो । केवल हामीले धन बढाउन सकेका थिएनौ र सन्तानलाई शहरमा राखेर राम्रो स्तरीय शिक्षा दिन सकेका थिएनौ । मलाई यी दैनिक क्रमबाट मुक्त भई सन्तानलाई काठमाडौं पठाई पढाउने इच्छाले गर्दा विदेशमा बसी धन कमाएर फर्कने चाहना बढ्न थाल्यो र त्यसै गरें पनि । त्यहाँ पुगेपछि त्यहाँको स्थान र दूरीले गर्दा त्यतैतिर लामो समयसम्म भुल्याइ दियो । त्यही सानो एक भूलले मेरा स्मृतिपटमा ताडना दिदै रहनेभयो । यो घाउ कहिल्यै निको हुने भएन । अलि दुःखी हुंदै सुइ…. अ गर्दै भन्छन्, “म जब आफ्नो घरनिर पुगें त्यहाँ न त घर थियो, न त खेत नै । म त स्तम्भित भएर एक छिन ठिङ्ग उभिइरहें । आँखाबाट आँसु खस्न थालेछन् । त्यसै बेला मैले के देखें भने त्यो निर्दयी कोशीले आफ्ना तीरको माटो काट्तै एकै चोटि झ्वाम्म पारेर निलिदिइन् । म त्यो देखेर झन् विचलित भएर कराउन थालेछु । साथमा आएका भरियाले मेरो स्थिति देखेर सोध्यो, “के तपाईं पनि यही इलाकामा बस्नुहुन्थ्यो ? पहिले नै मलाई भन्नुभएको भए यहाँको बस्ती सरेका ठाउँमा पुर्याइदिन्थे ? केही भन्नु भएन लौ फर्कौ उतैतिर ।” कुरा त त्यसले ठिकै भनेको भए तापनि सुन्दा नराम्रो लाग्ने नै थियो । मनले कस्तो मूर्ख धेरै बकबक गर्नुपर्ने भने पनि मैले नम्रताका साथ भनेको थिएँ, “यहाँको यो गति थाहा पाएको भए यो सर्वनाश हेर्न किन आउथें ? ऊ हेर, त्यो कोशीका छातीमा त्यही नै मेरो सर्वस्व थियो …… दाई मेरो सर्वस्व । कहाँ होलान् मेरा गङ्गा, जमुना भागीरथी ? कहाँ पुगेहोलान् मेरा राम, श्याम र हरि ? ती बूढी आमा, त्यो एक्लै परेकी मेरी जहानले कसरी यस आपत्को सामना गरिरहेकी होली ? म तिनलाई पाउन सक्छु या सक्तिनँ भन्दै थचक्क त्यही बसेर रुन कराउन थालें । त्यस बेला पूर्वक्षितिजलाई छोड्दै सूर्य बादलसंग लुक्तै अगाडिसर्दै गिए । शून्य चकमन्द त्यहाँ कोशीको आक्रोश बाहेक केही सुनिदैन थियो, सायद मेरो आवाज पनि त्यसैभित्र हराएको थियो । त्यो भरिया मूर्ख भए पनि मानव थियो । उसले पनि मेरा साथमा आँसु खसालेको मैले देखें र मलाई त्यस बस्तीमा गएर आफ्नो परिवार खोज्न फेरि जोड गन्यो । मेरा लागि पनि यो बाहेक अर्को उपाय थिएन । त्यसैले त्यतैतिर लाग्यौ । बाटाभरि दुवैले केही बोलेनौ, त्यस भरियाले भनोस् पनि के ? उसले थाहा पाएको थियो, सयौ मान्छे, गाईवस्तुलाई कोशीले निलिदिएको । त्यसमध्ये मेरा परिवार परेका छन् या छैनन् । त्यहाँ पुगेर सबै गाउँलेहरूसंग सोधखोज गर्दा उनीहरू एक पनि नरहेको थाहा पाएँ । ती गाउँलेहरूले त्यस बेला हाम्रो बस्ती गुमेको कुरा सुनाउँदा यस्तो दृश्य कसरी हेरेर बस्न सकिन्छ भने जस्तो लाग्ने छ । पानीमा तैरिएको घरको छानो, साना हात उठाएर सहारा मागेका बालकहरूका हात, नानीलाई च्यापेर बगेका लाशहरू देख्नु कति हृदय विदारक हुन्छ भन्नोस् त ? म त्यहाँ भएको भए मैले पनि त्यो हेरेर आफूले केही गर्न नसकेको बेदना सहेर बस्नुपर्ने थियो । त्यही सुनेपछि म त्यहाँ टिक्न सकिनँ र म सोझै अञ्चलै छोडेर यतातिर आएँ र मालिकले बक्स भएको धनको सदुपयोग गर्न यो यात्री विश्रामगृह बनाएर बसेको छु । यात्रीहरूलाई खुवाउनु र आफूलाई खान जेनतेन मेरो पूर्व कमाइले धानिरहेको छु । अहिले यी यात्रीहरूको सन्तुष्टि नै मेरो सुख भएको छ । केही संझे झै गरी विषय फेरेर सुनाउन थाल्छन् “आफ्नो गाउँ छोडेर यस ठाउँमा आएपछि यस मैनाकी आमाप्रतिको स्नेह र कर्तव्यले खिचेर मलाई यहाँबाट फुत्कन नदिएकाले नै मैले यहाँ दोस्रो बसोवास बसाएँ । मेरी जेठी छोरी गङ्गा जस्तै यसकी आमा थिई, लरखराएर हिड्थिई र मागेर खाइजीविका चलाउँथी । रुखमुनि बस्नलाई एउटा सानो छाप्रो थियो । बस्, यही उसको गुजाराको बाटो थियो । उसलाई कसैले भन्थे, “यो देवकीकी छोरी हो, कसैले भन्थे, कहाँबाट आई यहाँ थाहा छैन । त्यो राम्री त थिइन नै साथै स्वस्थ पनि देखिन्न थिई । थियो भने उससंग जवानी थियो । चिथरा मागेका लुगा लगाउँथी र राम्ररी लगाउन नजानेकीले कुनै कुनै बेला उसको भित्री अङ्ग पनि देखिन्थ्यो । केटाकेटीहरू हाँस्तै त्यसलाई उल्याउँथे । उसलाई बौलाहीभन्दा बढी केही मान्दैनथे । मलाई भने त्यसलाई देख्नासाथ लाग्न थालेको थियो, कोशी उल्टेर बगी मेरी गङ्गालाई यहाँ छोडेर गएछ । मैले त्यसलाई नयाँ लुगा किनेर सिलाई दिएँ र खानलाई पैसा दिएर मद्दत गर्न थालें । उसलाई त्यसै बेला आफ्ना साथमा राख्न सक्तिनथें किनकि स्वयम् म नै त्यस समयमा एउटाका घरमा पाहुना भएर बसेको थिएँ पैसा तिरेर । केही महिना त्यतिकैमा बिताएपछि मात्र यहाँ जग्गा लिएर यो घर बनाएको हुँ । तलको एक कोठा बनेपछि म यही घरमा सरें । त्यतिन्जेल म त्यस बस्तीमा राम्ररी नै भिजिसकेको थिएँ र सबैले मलाई बाबा भन्न थालेका थिए । यहाँ म सरेको यस्तै १०/१५ दिन मात्र भएको थियो । एक बिहान बस्तीतिर जाँदा त्यस मैनाकी आमालाई आफ्ना छाप्रोअगाडि भरखर समूहरूपमा बलात्कार गरेर छोडेका अवस्थामा देखें । मैले सहन सकिनँ र त्यसका अस्तव्यस्त भएका शरीरलाई छोपी दिएँ उठाएर बसाएँ । त्यसैले पनि पहिलोपटक मलाई अँगालो हालेर खुबसँग रोई । मैले त्यसका आँसु पुछिदिँदै अँगालोबाट आफूलाई छुटाई जोडजोडले ती अधर्मीलाई अगाडि आइज भनेर ललकारें । मैले ठूलठूलो स्वरले कराएको सुनेर छिनैमा हुल जम्मा भयो । मैले त्यसमाथि भएका अत्याचार बताउँदा, थाहा छ तिनले के भने ? उल्टै मैमाथि आरोप लगाउँदै जथाभावी भन्न थाले । म जिल्ल परें । तिनीहरूले कतिसम्म पनि भने मैले पहिलेदेखि त्यसको माया गरेको कारण यही कर्म गर्नलाई हो रे । म पराई बस्ती सरेर आएकालाई कसले साथ दिने ? भोग्ने र देख्ने त्यो लाटी र त्यो छाप्रो मात्र थियो । त्यस असमर्थले के बताउने ? मलाई हूल आक्रोशित भएर पिट्न आउन थाल्यो । म पनि गरेको पाप भए पो डराउनु । निर्धक्कसंग भने, “ए अधर्मी, पापी हो, यो बिचरीमाथि यत्रो अत्याचार भएको छ । पुलिसलाई बोलाएर तथ्य पत्ता लगाउन छोडेर यस्तो बोल्दै हुनुहुन्छ ? अनर्थ गर्न नतुल्नोस् र सक्नुहुन्छ भने यो पीडितलाई हूलमा घुमाएर अपराधी समात्न लगाउनु होस् । घरमा लुकेर बसेका कोही छन् भने बाहिर निकाल्नोस् । म भन्दै छु मलाई यस्तो दोष लगाउनु महापाप हो । ममाथि यसरी झुटो आरोप लगाउनु हुन्छ भने ती निर्दयीहरूले अरू अपराध गर्न प्रश्रय पाउने छन् र गाउँका अरू चेलीहरूले पनि दुःख भोग्नु पर्ने छ ।” म एकोहोरो कराउँदै थिएँ । हूलबाट लगाइएका लान्छना पनि सुन्दै थिएँ । यत्तिकैमा मैनाकी आमा दौडेर हूलभित्र पसी र एउटा अधबैंसे बूढालाई समातेर क्वाँ क्वाँ रुँदै कराउँदै पिट्न थाली । ऊ छोड् भनेर पन्छिन खोज्दा पनि बिरालाले झम्टेको जस्तो गर्न थाली । बल्ल हूलको ध्यान त्यतातिर मोडियो । त्यस लाटीलाई पन्छाउन अरूहरू लाग्दा पनि त्यसले छोडिन र रुँदै टोकुँला जस्तो पनि गरी । यिनले त्यसपछि त्यस व्यक्तिलाई केर्न थाले । पोल खुल्दै गयो । दुइटा अरू जवान केटाहरू पनि त्यसमा मुछिए । पुलिसले तिनीहरूलाई समातेर कारवाही चलाउन लगेपछि मैले त्यही हूललाई साक्षी राखेर छोरी बनाएर घरमा ल्याएँ । केही महिनापछि त्यसले छोरी जन्माई । त्यस लाटीले पनि छोरी पाएपछि खूब रमाई । थाहा छ, त्यसले पनि कसैले नसिकाएर पनि छोरीलाई राम्रोसंग स्याहार्न सकी र हुर्काउन थाली । तर के गर्ने, सुख कहाँ धेरै दिन टिक्न सक्तीरहेछ र ? एक दिन त्यो छोरी एकै रातका बिमारीले मरी । त्यसपछि त्यो मेरी छोरी पनि बिरामीको बिरामी नै भएर गई । मैना नाम त्यस बच्चीलाई त्यसैकी आमाले मर्नुभन्दा पहिले राखेकी थिई । एक दिन त्यसले बारीमा मलाई घुमाउन लगी र त्यहाँ चिरबिराईरहेका चराहरूलाई देखाउँदै आफ्नी छोरीलाई देखाई । मैले त्यसको अर्थ बुझें र धेरै चराहरूको नाम लिन थालें । जब मैले “मैना” भनें, उसले टाउको हल्लाएर समर्थन गरी, नत्र मैले त्यसको नाम “सहज” राख्न खोजेको थिएँ । त्यसपछि जब त्यो नातिनी मैना मरी, त्यसैले यस नातिनीलाई यहाँ ल्याई । मैले बुझिहालें त्यसले छोरीलाई संझेर त्यसको माया पाउन ल्याएकी हो भनेर । तसर्थ मैले यसको नाम पनि संझना स्वरूप “मैना” नै राखी दिएँ । बाँचिन्जेलसम्म त्यस छोरीले यस मैनालाई उही काखकी छोरी जस्तै गरी माया गर्थी । यही हो, म, “मेरी छोरी र नातिनी मैनाको सम्बन्ध । आजभोलि यो बढ्दै जान थालेकी मैनालाई देख्ता गाउँमा सबैले माया गरे पनि कसैको गिद्धे आँखा यसमा नपरोस् भनेर म रातदिन भगवान्संग प्रार्थना गर्छु ।” यस्तो लामो बेदनापूर्ण कहानी बाबाको, मैनाको र त्यस छोरीको सुनेपछि शिवलाई लाग्न थाल्छ, सुख र दुःख जीवनको अंश हो । कहीं सुख पाउनलाई दुःख उठाउनु परेको छ भने कहीं दुःखले आफ्नो परिचय दिलाउन सुखको नाश गर्दै जाँदो रहेछ । यो सुखी र यो दुःखी भनेर कसलाई छुट्याउने ? कोही धनले खुशी छन् भने मनले दुःखी छन् । कोही मनले आनन्दित छन् भने धनले दुःखी छन् । म के भनूँ । म दुःखी कि यी बाबा ? यिनै कुरा मनमा खेलाउँदै उसलाई एउटा प्रश्न बाबासंग गर्न मनलाग्छ र सोध्छ पनि, “आजभोलि तपाईंले आफूलाई के सोच्नु हुन्छ ?” शिवको प्रश्न गराइ थियो “सुखी कि दुःखी”? तर बाबाले हाँस्तै जवाफ दिन्छन्, “म केही पनि सोच्तिनँ, सबै परिस्थितिलाई सुम्पिदिएको छु । त्यसले जुन बेला जे गराउँछ त्यही भइदिन्छु । केवल म आफूलाई मानव हुँ भन्ने चिनाउन मानव धर्म छोड्दिनँ । यस मिथ्या सन्सारमा केलाई मेरो भनेर टाँसी रहूँ । सबै त परिवर्तन शील छन् । तपाईं, म र यो मैना एक अर्काका को हौं ? कसरी एकै ठाउँमा जुट्न पुगेका छौं । कसलाई कसले कुन दृष्टिले हेर्छ, त्यसले त्यसै अनुसारको प्रतिफल पाउँछ । मन, विचार र व्यवहार नै हो जसले हामीलाई सन्तुष्टि दिन्छ र सुखदायी बनाउँछ । भलै दुःखका स्रोत पनि यिनै भएका किन नहुन् ?

सबैको मूल जड हो, आत्मशुद्धि । यस आत्मालाई मानवताको परिचय दिन नछोड्नोस् ।” ति भनेपछि बाबा अरू केही बोल्दैनन् । रात बित्तै जान्छ । सबै सपनाका सन्सारमा घुम्न थाल्छन् । भोलिपल्ट बिहान मैनाले दैलो खोल्दा एक विक्षिप्त अवस्थामा अनुहारभरि नीलडाम लिएकी एक अपरिचित नारी सुतिरहेकी देख्छे र “बाबा” भनेर जोडतोडले चिच्याउँछे । मैनाका चिच्याइले त्यो नारी पनि बिउझन्छे र शिव र बाबा दुवै आइपुग्छन् । शिवले नूरलाई चिन्छ । बाबाले पनि नूरलाई त्यस अवस्थामा पुगेर आफ्ना ढोकामा आई लम्पसार परेकी देखेर असमन्जसमा पर्छन् । नूरले रुँदै भन्छे, “ए अपरिचित व्यक्ति ज्ञ तपाईंले मलाई मर्ने अधिकार छैन त भन्नुभयो, अब मेरो बाँच्ने अधिकार के छ त्यो पनि बताइदिनोस् । कि हाम्रो यस्तै ताडना भोग्ने मात्र अधिकार छ भन्ने मान्नु भएको छ ? मलाई तपाईंको जवाफ चाहिएको छ ?” “हामीलाई देवकी बनाई हाम्रो भोग गर्दै रमाउने अधिकार कसले यिनलाई दियो ? तिनैमध्ये एक भोगीलाई समातेर गृहस्थ जीवन बिताउँछु भन्दा मलाई तुच्छ मान्दै पन्छाउने अधिकार त्यसलाई कसले दियो ? भन्नोस् बाबा, तपाईं त ज्ञानी हुनुहुन्छ । म त्यसको यो भारी कहाँ गएर बिसाऊँ ? मलाई यति मात्र बाटो देखाइदिनोस् त यो अत्याचार मम पुगेर त्यही अन्त्य होस् र गर्भका सन्तानलाई आँच पनि नपरोस् ।” ऊ रुन्छे र रुँदै आफ्ना पाखुरीका डामहरू देखाउँदै भन्छे, “समाजले तोकेका सन्मार्गमा हामी पनि लाग्न तम्सदा भोग्नुपरेको ताडना यी यस्तो छ । यो नै गृहस्थ जीवनमा नारीले बेहोर्नु पर्ने चलन हो या हामीलाई यस्ता स्थितिबाट उब्कन लगाइएको बन्देज हो । म अज्ञानीलाई संझाइदिनोस् बाबा ।” नूरका रोदनले पग्लिएका बाबाले सभ्य भएर जवाफ दिन्छन्, “यो कुनै पनि होइन । यो सभ्यताको विकासमा उम्रिएको असभ्यताको झ्याउ हो । यसलाई फाँड्न संघर्ष गर्नबाट नहच्क । यसैले अत्याचारको अन्त्य गराई अधिकार दिनेछ । जति तिम्रा शरीरमा नील डाम लाग्न थाल्छन् तिनलाई तिम्रो विजयको छाप भन्ने ठान । तिमीले यस शरीरलाई त्यागी नै सकेकी थियौ भने त्यस्तो त्याज्य शरीरलाई किन माया गर्दै सुम्सुमाउँछ्यौ ? हेर, भगवान् बन्नलाई त्यस ढुङ्गाले छिनाका थुप्रै चोट सहिसकेपछि मात्र त्यसमा आकार आउँछ भने छोरी, तिमीले पनि संघर्ष गर्नै पर्छ । तसर्थ त्यही घरमा जाऊ र भन, मलाई तिमीहरूले कसरी निकाल्न सक्छौ । यो गाउँले थाहा पाएको छ म तिम्रो वंशलाई धारणा गर्दै छु । भन, तिमीहरूले मलाई देवकी भन्ने जानेर नै सम्पर्क गर्यौ र अहिले कसरी उम्कन सक्छौ । अनि सुन, तिनीहरूको जवाफ । म तिम्रै पछि रहनेछु । अहिले माथि आऊ, केही छिन आराम गर अनि म तिमीलाई त्यहाँ पुन्याइदिन्छु । तिमी मर्न पाउँदिनौ । बाँच्न र अरूलाई पनि बाँच्न सिकाईदिने बन् ।” नूर यति सुनेपछि भुइँबाट जुरुक्क उठ्तै भन्छे, “हामीलाई थोक्रो दिन्छु भनेर झुटो आश्वासन नदिने हो भने म पनि सङ्घर्ष गर्नबाट पन्छिन्नँ । नैतिक पतनको छाप लगाएर छोडिदिएकाले हाम्रो शक्ति यसैले खर्लप्प पारेर निलिदिएको छ । नबिर्सिनोस् म यहाँ सहाराको खोजीमा आएकी, तपाईंको विश्वास लिएर फर्कंदै छु । एकफेर धोका पाइसकेकी म बारबार तड्पिंदै हिड्न नसक्ने भइसकेकी छु ।” बाबाले नूरलाई आफ्नातर्फबाट दिन सक्नेजति सहयोग पुन्याउने विश्वास दिलाउँदै बिदा गरेपछि शिव सोध्छ, “के नारी विकासको नमूना यही हो त ?” “यो नमूना होइन, यो त नारीका अवस्था मात्र हो” यत्ति भन्दै बाबा भावविभोर भएर बोल्दै जान्छन्, “यस अवस्थासंग सामना गरेर सुधार ल्याएपछि मात्र यसको नमूना निस्कन्छ । विकासका शुरुलाई नै नमूना मान्न थालियो भने विकास हराँ भएर निस्कन्छ । मुखै बाँध्ने टर्रो थुकथुक लाग्ने ।” शिव हाँस्नै भन्छ, “यो मेरो भनाइ व्यङ्ग्य थियो, सत्यत तपाईंले भन्नभएकै हो ।” बाबाले मैनालाई यताउति खोज्छ । मैना त्यहाँबाट बगैंचामा फूल टिप्न पुगिसकेकी हुन्छे बाबाकै पूजाका लागि । घरका सबै परिवार बिबाहको निम्तो मान्न गएकाले घर कुनै जिम्मा दयामा आइपरेको छ । त्यसैले आज ऊ अफिस गएकी छैन । मधुरो धूनमा नेपाली गाना कोठामा बजिरहेको छ र ऊ किताब पढ्नमा मस्त भएकी छे । उसको रुचि साहित्य अध्ययन गर्नमा झन् झन् बढ्दो छ । लोग्नेसंग भएका बिछोडको मर्म यस्तै अध्ययन गरेर र कविता लेखेर बिताउन खोज्दै छे । त्यस घरको शोभा भएका एउटा घरेलु पुस्तकालय छ जहाँ धर्म, विज्ञानदेखि लिएर साहित्य रचनाका विभिन्न किसिमका किताबहरू छन् । त्यही नै दयाको दिन काट्ने उपाय भएको छ । किताब पढ्दापढ्दै दया टक्क रोकिन्छे र सुन्न थाल्छे । तल कसैले ढोका ढक्ढकाएको जस्तो लाग्छ । ऊ त्यहाँ पुग्छे र ढोका खोलेपछि देख्छे हलकाराले चिठी बुझाउन ल्याएको । चिठी अमेरिकाबाट आएको थियो, उसको नाममा होइन, दीपेशका नाममा भन्ने तीन महिनापहिले पठाएको ।

चिठी बुझेर लिएपछि खोलूँ कि नखोलूँ भई ओकाईंफर्काई गरिरहन्छे । झवाट्ट विचार आउँछ । ऊ दीपेशकी स्वास्नी भएकी हैसियतले त्यो खोल्नसक्ने उसले अधिकार पाएकी छे । सोचाइ गलत थिएन । त्यसैले ऊ त्यो खोलेर सरसरी पढ्न थाल्छे । त्यहाँ लेखिएका खबरहरू पढेर ऊ तीन छक्क पर्छे । विश्वास गर्न सक्तिनँ मनुष्यको व्यवहार पनि त्यस्तो हुनसक्छ भनेर । दीपेशको त्यो सुन्दर चेहरा जसलाई उसले आफ्नो स्मृतिपटमा सजाएर राखेकी छे, छिनैमा त्यो कुरूप भएको पाउँछछे । दयालाई त्यो अनुहार च्यातेर टुक्राटुक्रा पारि दिऊँ जस्तो लाग्छ । माया छिनैमा घृणामा परिवर्तित भएका पाएर ऊ बारबार एकै शब्द दोहोर्याउन थाल्छे, “धोका, कत्रो धोका दिएछ ।” क्यासेटमा पनि उसका मनको कुरा बुझे झै गरी अर्को गानाको धून बज्न थाल्छ । दया लम्केर गई त्यसलाई अलि ठूलो स्वरमा बजाउँछे । गाना गुन्जिरहन्छ “तिम्रो माया कागजको रङ्गी चङ्गी फूल जस्तो, तिम्रो माया श्रावणको भेलभन्दा पनि सस्तो…… ।” साँच्चै दयाका लागि दीपेशको माया श्रावणको भेलभन्दा पनि सस्तो भएको पाउँछे । त्यो झुट्टो मायामा आफू परेकी सम्झिएर दयालाई सिकसिको लाग्छ त्यसै बेला फेरि गानातर्फ उसको ध्यान जान्छ । त्यहाँ गाना बजिरहेको थियो, “भगवान्संग फेरि तिमीलाई माग्ने छैन ।” आफूले दीपेशलाई पहिलोपल्ट देख्नास्को रूपर कुरा गर्ने तरिका देखेर मुग्ध भई भगवान्संग लोग्नेका रूपमा यसैलाई वरणगर्न पाऊँ, भनेर मागेकी थिई । त्यसरी त्यो लोग्ने मागेर आफूले कत्रो भूल गरेकी रहेछु भन्ने सोचेर धुरुधुरु रुन्छे । चिठीका भाखाबाट दयाले थाहा पाएकी छे । दीपेशले त्यहीकी विदेशी मिससंग विवाह गरिसकेको रहेछ र ऊ एउटा छोरी “मेरी” को बाबु भइसकेको छ । त्यो विदेशी केटी र आफूलाई दिएको धोका सम्झेर दयालाई लाग्छ एउटा चिठी लेखेर त्यस मिसका हात पर्नेगरी पठाइदिऊँ । ऊ निर्णय लिन सक्तिनँ र प्रेरणासंग सल्लाह लिने विचार गर्छे । यसरी एक्लै छटपटाइरहेकी अवस्थामा माइतीबाट राधा आइपुग्छे । आमाले उसलाई मनपर्ने भनेर टुसा र मासु पकाएर पठाएकी रहिछन् । आफ्नी मैयाँसंग भेट गर्न पाएकीले राधा खुशी भएकी छे र मैयालाई पनि खुशी पार्न सोच्छे, “ज्वाइँ साहेब, अमेरिका पुगेको खबर आयो, मैयाँ ?” दयाले उसका प्रश्नको जवाफ दिन पन्छिदै सोच्छे, “अहिले, आमालाई कस्तो छ ? अफिस जान थाल्नुभयो ? अनि बाबा कहिले फर्कने रे थाहा छ तिमीलाई ?”

राधाले दयाले गरेको चलाखी थाहा पाउँदिन र आफूले गरेको प्रश्न नै बिर्सन्छे । ऊ दयाको प्रश्नको जवाफ दिनथाल्छे, “मालिकहरूको कुरा हामीलाई कहाँ थाहा हुन्छ र ? हजुरको विवाह भएपछि त्यो घर यति शून्य भएको छैन । साधना मैया धेरैजस्तो बाहिरै हुनुहुन्छ । साहेब घरमा त्यति बस्नै चाहनु हुन्न जस्तो लाग्छ । कहिले त साहेबनीले बोल्ने साथी पनि पाउनु हुन्न । म एउटीसंग के कुरा गर्नु ? कति गर्नु ?” राधालाई आमाको एक्लोपनाबारे सुनेपछि दिक्क लाग्छ र मनमनै भन्छे, “के गरुँ आमा, तपाईंहरूले मेरो भविष्य राम्रो होस् भनेर मेरो घर बसोस् भनी विवाह गरेर पठाइदिनु भयो । म यता यस्तो फसादमा परेकी छु भने तपाईं त्यहाँ यसरी एक्लै पर्नुभएको छ । बिरामी पर्दा एक्लो हुनु कति गाह्रो हुन्छ ? मेरो हालको कुरा सुन्नुभयो भने आफ्नी छोरीको भविष्य सम्झेर के गर्नु होला ? बाबाको नोकरी गएको पीरमाथि यो थपिदा थामेर बस्न सक्नुहुन्छ ? मेरी आमा के गर्नु तपाईंहरू जस्तैलाई यस्तो दुःख परीपरी आउँदो रहेछ । अब म तपाईंको एक्लोपन हटाउन साथी बनेर छिटै आउँदै छु । हामी दुई भएर फेरि घर थामौंला ।” आफूसंग कुरा गर्दागर्दै दया त्यसरी टोलाउन लागेकीले राधाले फेरि सोध्छे, “यसो हेर्दा, मैयालाई सन्चो छैन जस्तो छ नि, हो ? अनुहार अँध्यारो देख्छु । घरमा पनि छैन जस्तो शून्य छ । हिड्नोस् मसंग आज उतै आमाकहाँ जाऔं । यसरी एक्लो यत्रो घरमा कसरी बस्ने ? दयाले यसपटक पनि राधाका कुरालाई हाँसेर उडाउँदै विषय बदल्दै भन्छे, “गाना गाउन जाँदै छ्यौ कि छोड्यौ ? कान्छा दाइले पढ्दैन भने पनि उसलाई फकाएर हुन्छ या के गरेर हुन्छ, आफू इलममा लागिसकेको यसै चहृ नछोड्नू । कसलाई के थाहा हुन्छ, कुन बेला कस्तो आपत्ति भोग्नु पर्छ । त्यस बेला मद्दत गर्ने आफ्नो इलमले मात्र हो, बुझ्यौ कुरा ?” मैयाले बोल्न थालेकाले राधा दङ्ग परेर भन्छे, “के छोड्थें त्यस्तो काम । भनेजस्तो काम पाएकी छु । कान्छा दाइले पनि मलाई “नजा” भन्नुहुन्न । बरु सुन्नोस् न, मैयाँ हिजो उसलाई के जड चलेछ । घर फर्कंदा मलाई हार्मोनियम र आफूलाई तबला किनेर पो आइरहनु भएको । मैले हाँसेर यो कसले बजाउने भन्दा भन्नुभयो, “यो तैंले र यो मैले बजाउने” भनेर हार्मोनियम र तबला देखाउनु भयो । मैले पनि हाँस्तै भनें “लौ लौ, तबला तपाईं बजाउनु होस्, यो हार्मोनियम हाम्रो यो सन्तान जन्मेपछि बजाउँछ । मैले कहिले फुर्सत पाएर यो बजाउने भन्दा यति हाँस्नु भएन ।” राधाका कुराबाट ऊ गर्भवती भएकी रहिछ भन्ने बुझेर दयाले जिस्क्याउँदै भन्छे, “मिठाइ खुवाउनु पर्ला भनेर हामीलाई आमा बन्न लागेको नबताएकी ? कति महिना भयो ?” “भरखर भरखरै हो । यस्तो कुरा पनि आफू उताउलेर कसरी प्वाक्क बोलिहाल्नु भनेर नभनेकी । अहिले कुराकुंरैमा फुस्कीहालेंछ ।” यति भनेर ऊ लाज मान्दै निहुरिन्छे । “हेर यसले लाज मानेकी ? मेरो पनि तिमीलाई लाज लाग्छ ? कान्छा दाइसंग भने लाज लागेन मसंग भने यस्तो ?” “छि, यो मैयाँ पनि । कति मलाई मात्र जिस्क्याउनु हुन्छ । हजुरको कुरा पनि मैले थाहा पाएकी छु । मालिकनीले भन्दै हुनुहुन्थ्यो, “दुवै जना झण्डै साथसाथै जस्तो गरी बस्ने भएछन् । सुत्केरी स्याहार्न कसलाई ल्याऊँ भनेर पिरोलिंदै हुनुहुन्थ्यो ।” “आमाको पीरको पनि अन्त्य कहिल्यै हुने भएन” यति भन्दै दया फेरि गंभीर हुन्छे । उसको चेहरा मलिन भएको देखेर राधालाई व्यर्थै बोलेछु भन्ने लाग्छ । दया मनमनै भन्छे, “हाम्रो विवाहपछिको उपलब्धि यही त रहेछ । पहिले समर्पण अनि नानी ।” दयाका मनमा के कुरा खेलिरहेछ त्यो राधाले कसरी बुझोस् । कति मात्र थाहा पाई भने आज उसकी मैयाँलाई निकै विरक्त लागेको छ । कुरैपिच्छे चुप लागिहाल्नु राम्रो लक्षण होइन । त्यसरी हाँस्ने, सबैलाई खुसी पार्न खोज्ने यस मैयाँलाई के भएको यस्तो ? राधा मनमा यस्तो भावना लिएर दयालाई हेरिरहन्छे । दया पनि राधाको हेराइ देखेर डराउँछे र बलजफत्तीले ओठमा हाँसो ल्याई भन्छे, “के हेरेकी मेरा मुखमा आँखा झिम्काउन बिर्सियौ कि कसो ? यसरी मलाई मात्र हेरिरहयो भने मजस्तै दुःखी छोरी पाउली है, याद गरे । तिम्रो त छोरा पाउने रहर छ होला, होइन ?” “हजुरको पनि त यस्तै रहर होला नि ? कसले मात्र आफ्ना इच्छाले आफू जस्तै दुःखी जीवन हुने छोरो जन्माउन खोज्छ र ? बाचुन्जेल आफू पनि दुःखी हुने आमा बाबुलाई पनि पीरै पार्ने हुन्छ छोरीको जन्म । कस्तै पढाइ लेखाइ यिनलाई गराए पनि बाआमालाई चिन्ताले छोड्दो रहेनछ हजुरकै आमाले साधना मैयाँको बारे पीर गरिरहेको देख्छु ।” “त्यो त आमाको बानी नै हो । भाइकै कुरा लिएर पनि चिन्ता गरिनै रहनु हुन्छ । अलि केही संझेको जस्तो गरी दयाले भन्छे, “तिमीले मेरा बारेमा अड्कल काटी हाल्यौ र मात्र म सफाइ दिँदैछु । सुन, म छोरा होइन छोरी पाउन चाहन्छु । एउटी यस्ती छोरी जसले आफूलाई उपमा भएर प्रस्तुत गर्न सकोस् र यस दुनियाँलाई बताउन सकोस् छोरीमा पनि आवश्यक गुणहरू छन् जसले गर्दा ऊ त्याज्य छैन ।” राधाले दयाका भनाइको अर्थ बुझदिन र उससंग दया रिसाइन् कि भन्ने सोचेर सोध्छे “मैले नचाहिदो तपाईंको चित्त दुख्ने कुरा बोलेको भए माफ पाऊँ । के गरुँ बोल्न थालेपछि म आफूलाई लगाम लगाउन सक्तिनँ । उही गाउँको ठालुकी छोरी संझिहाल्छु ।” राधाका नम्रताले प्रभावित भएकी दयाले उसलाई संभाउदै भन्छे, “तिमीले त्यस्तो केही भनेकी छैनौ । तिमीले साँचो मात्र बोलेकी छ्यौ । लोकको सोचाइ नै यस्तो छ । कसैले लुकाउँछन् त कसैले प्रष्ट बताउँछन् फरक यति मात्रको हो । म यस लोकका धारणालाई बदल्न चाहन्छु । त्यसैले छोरी होस् भनेकी हूँ । म फेरि तिमीले जस्तोगरी आफू छोरी भएर जन्मेकीमा दुःख मान्दिनँ । यही जुनिले हो, लोकलाई केही सीर्जना गरी दिनसक्ने । छोड यी कुरा, यो रुपियाँ लेऊ र मेरा तर्फबाट के मीठो खान मनलाग्छ किनेर खानू । फेरि छोरा त जन्मेला र्याले होला, अतृप्त ?” राधा त्यहाँबाट बिदा लिएर गएपछि दया फेरि एक्लै हुन्छे र मनमनै वादविवाद गर्दै विवाह मात्र गरेर गएकाहरू घर नफर्केपछि प्रेरणाकहाँ गएर आफ्ना मनको बह खोलेर सल्लाह लिने निश्चय गर्छे । धेरैपटक त्यो चिठी पढ्छे र आफ्ना भ्रमलाई मेट्ने कतै कुनै शब्द छन् कि जसले अर्थको अनर्थ लगाएको छु भनेर हरफ हरफ दोहऱ्याई पढ्छे । आह ज्ञ यदि त्यस्तो भइदिंदो हो त ज्ञ * * * साधनाले नोकरी गर्न शुरु गरेपछि घरको स्थितिमा धेरै सुधार आएको छ । कान्छा भाइलाई पनि हिन्दुस्थानमा पठाएर भए पनि स्तरीय शिक्षा दिनुपर्छ भन्ने सोचाइ शिव र गौरीको नभए पनि साधनाले लिनथालेकी छे । ऊ भन्छे, “थाहा छ मलाई, तपाईंहरूले छोरीको कमाइ खर्च गराउँदै भाइलाई पनि पढाउन चाहन हुन्न । तर यो सोचाइ लिएर भाइको भविष्य नबिगारिदिनोस् । जागिरै खान पनि जहाँ गए पनि उनीहरूले हेर्ने नै कत्तिको फुर्तिलो छ नहच्चकी सललल्ल अंग्रेजी बोल्न सक्छ सक्तैन, सामान्य ज्ञान कति छ खेलकूद, साहित्य, कलामा कस्तो रुचि राख्छ भन्ने नै हो । त्यसपछि मात्र आउँछ राजनीतिक दलमा कुनमा आस्था छ र कसको छोरो नाति हो, कहाँको जन्म हो इत्यादि । तसर्थ व्यक्तिमा विशेष गुण ल्याउन भाइलाई बाहिरै पढाउनु पर्छ । तपाईंलाई मैले बताएकी थिएँ । मेरो अंग्रेजी अलि कम्जोर भएकाले भन्नै नोकरी नदिन आँटेका थिए । मैले म सिक्छु, त्यसो नभन्नोस् भनेपछि के लागेछ अनि मात्र दिए । आफूले भोगिसकेको कुरा जानाजानी आफ्ना भाइलाई पनि भोग्न दिऊँ ? तपाईं नै भन्नोस्, दाजुभाइले मात्र हामी दिदीबहिनीप्रति खर्च गरे हुन्छ, हामीले हुँदैन भन्ने यस चलनले के हामी दाजुभाइ र दिदीबहिनीमा फाटो ल्याउने होइन ? के तपाईं यसको समर्थन गर्नुहुन्छ ? अहिले दिदीभाइ, दाजुबहिनी बीच मिलाप हुनु जरुरी छ । आमा छोरीकामाझ यस्ता कुरा भइरहन्थे । त्यस दिन पनि कुरा चल्दाचल्दै शिव आइपुग्छ र आफ्नो राय यसरी व्यक्त गर्छ भाषाका विकासले देशको उन्नति देखाएको हुन्छ । यही भाषाका माध्यमबाट ज्ञानविज्ञानको अध्ययन गर्न सक्चौं । सन्सारमा तीन भाषाले ओगटेका स्थानलाई अझै अर्को कुनले उछिन्न सकेको छ । ती तीनमा पनि पहिलो स्थान अंग्रेजीले नै लिएको लिएकै छ । भारतले अंग्रेजलाई धपाए तर अंग्रेजी भाषालाई धपाउन सकेका छैनन् । आजभोलि यस्ता भाषामा लेखिएका पुस्तक आफ्ना भाषामा उद्धित गरेर पनि राष्ट्रिय भाषामा सिकाउन थालिएको छ तर हाम्रा देशलाई त्यस स्थितिमा पुग्न पनि निकै थियो, त्यो मैले देखेकी छु । दिदीलाई दाइजोको अधिकारी मानेर मगनन्ते बनाइएको मैले बिर्सेकी छैन, बाबा ?” “ए आमा, तपाईं त भनिदिनोस्, भाइ मभन्दा सानो भएकाले उसलाई सहयोग गर्नु मेरो कर्तव्य हो भनेर ? दुनियाँको गलत धारणा छ भने त्यहाँ बदलिदिनास् त्यसैका पछि लाग्यौ भने हामी के गरी अगाडि सर्ने ? तपाईंहरूको समर्थन हामीलाई चाहिएको छ, आमा । मलाई सन्तानको दायित्व पूरागर्न दिनोस् ।” “तँलाई समर्थन गरेर नै त आजसम्म तँलाई नोकरीमा पठाउँदै छौँ । समाजमा बसेपछि कुनै कुरो यसै गर्छु भनेर कम्मर कस्न सकिदो रहेनछ । परम्परा, धर्म, संस्कृति र इतिहासको कुम्लो बोकेर आधुनिक परिप्रेक्षमा मिलजुल गर्न खोज्दा कहाँ के भइदिन्छ भन्ने सकिंदैन । त्यसैले आफू हाँसोको विषयबाट उम्कन कसो कसो लोकोक्तिको पछि लाग्न मन भड्किहाल्दो रहेछ । आफ्ना चरित्रलाई नैतिकताका परिधिभित्र राखेर आफ्ना योग्यताबाट धन कमाउनमा कहिल्यै तिरस्कृत हुनुपर्दैन । तैंले नोकरी गर्न जाँदा एक ठाम उद्देश्य लिएर गएकी थिइस् । त्यसैले तँलाई कुनै कुराले पनि पथभ्रम पार्न सक्तैन भन्ने कुरामा म विश्वस्त छु । तेरा बाबा र दाइलाई तैंले नोकरीमा प्रवेश गरी धन आर्जन गर्न लागेकामा ठेस लागेको कुरा हो हामी पुरुषले पो नारीलाई संरक्षण दिनुपर्छ, तिनीहरूबाट लिने होइन भन्ने भावनाले गर्दा र आफू परिवारमा ठूलो र जेठो भएर पनि आफ्ना लक्ष्यका प्राप्तिका लागि एक सानी केटीलाई कमाइमा लगाउनु शोषण त हुने होइन भनेर डराएका हुन् । तँलाई सन्तान नै नमानेर भने होइन । यति भन्दै शिवपट्टि फर्केर सोध्छे, “हो कि होइन, लौ भन्नोस् त हजुरले ?” शिव पनि हाँस्तै भन्छन्, “एक्लो परेकामा के भनूँ ? भएका दुवै छोराहरू यहाँ साथ दिने छैनन् होइन त भन्ने भएन ? आमाछोरी साथ लागेर भन्दैछौ ।” “हजुरहरूसँग यसरी कुरा गर्नु मेरो धृष्टता हो । माफ पाऊँ । आवेशमा आई के के भने के के । धेरैले यस पेशामा लागेका हामीलाई निरुत्साही पार्न नानाथरी भनेको सुन्दा दिक्क भइसकेकी मैले तपाईंहरूबाट पनि यस्तो सुन्दा आफूलाई नियन्त्रण गर्न सकिनँ । हुन त, यस पेशामा लागेका सबका सबले संभाव्य विकृतिबाट आफूलाई जोगाउन सकेका छन् भनेर पनि म भन्दिनँ । किनकि यस्तो मति भएका व्यक्ति नभएको कुनै पेशा नै छैन । तर कुनै भइदिए रे भनेर यस पेशालाई नै दोष दिन भने मिल्दैन । असल, खराब, राम्रो, नराम्रो भन्ने व्यक्तिको स्वभाव हो ।

त्यस्ता व्यक्तिहरू जहाँ जहाँ पुगेका छन्, त्यहाँ त्यस्तै हुन्छ । घरमा बसेर गृहस्थ सेवामा लागे पनि यस्ता अनैतिक कामबाट रोकिएको हुँदैन । भन्ने नै हो भने यो हवाइ परिचारिकाको पेशा सेवा हो । त्यहाँ कसैले पनि यात्रीलाई सेवा पुऱ्याउने विषयमा बाहेक अरू व्यक्तिगत दबाव दिँदैनन् । यस पेशाबारे कसैले केही भने भने म जवाफ मात्र दिएर छाड्दिनँ त्यसलाई अर्थ्याएर यो के हो भन्ने बुझाएर नै छोड्ने गरेकी छु तर यी छोरा र छोरी एउटै बाआमाका सन्तान भए पनि यिनीहरूका कर्तव्यमा रहेको भिन्नता दाजुभाइप्रतिको दिदीबहिनीको दायित्वमा फरक जे छ त्यो म स्वीकार्न सक्तिनँ । त्यसैले भाइलाई पढ्न पठाउँछु भन्दा तपाईंहरूले नकारात्मक सङ्केत दिनु भएको मानेर मैले आफ्नो अधिकार सन्तानका हैसियतले मागेकी हूँ । यसमा हुन्न भनी भाइका जीवनको उन्नति नबिगारि दिनोस् । म त्यसलाई डक्टर बनाउन चाहन्छु । म ज्येष्ठताका हैसियतले भाइलाई पढाउन चाहन्छु ।” “तिमी छोरीहरू माया, दया र मर्यादाका अधिकारी हौ, बाहिर क्षेत्रमा उत्रिएर कर्तव्य गर्ने तिमीहरूको अधिकार होइन भन्ने भनाइ मेरो होइन, समाजको हो । मेरो भनाइ के छ, त्यो आमाले अर्थ्याउलिन् उनैसँग सोध, म त गएँ” भन्दै घडी हेर्छ र शिव बाहिर निस्कन्छ । आमाले साधनालाई शिवको सोचाइ नारीप्रति राम्रो रहेकाले नै स्वयं उनले र दयाले पनि नोकरी गर्न पाएका हुन् भन्ने जनाउँदै भनिन् पढ्न पनि छोरासरह पाएको मुख्य कारण बाबाको स्वच्छ विचारधाराले गर्दा नै हो । यदि म नोकरीमा प्रवेश नगरेकी भए तिमीहरूलाई उच्च शिक्षा नदिएको भए अहिले के हुन्थ्यो ? नोकरीको भरोसा हुँदो रहेनछ । तसर्थ तैंले आफ्नो व्यक्तित्व विकास गर्दा कसले के भन्छ भन्नेतर्फ नलागेर मेरो कर्तव्य के हो र यसका घेराभित्र म कति चलमलाउन सक्छु भन्ने सोचाइ राखेर कर्म गर्दै जानू । काममा रहँदा घरको समस्या तेर्साएर काम चोर हुने बानी बसाउनतर्फ लागिस् भने त्यसले तँलाई क्षणिक विजयी बनाउला तर नारी कामदारमाथि लगाउने गरेका काला धब्बामा अरू रङ थप्ने मौका मात्र तिनले पाउँछन् । हामीले प्रगतिका पथमा उभिएका झ्याउ र काँडाहरू थप्ने होइन, तिनलाई सफा गर्दै जान सकेमा मात्र आउँदा सन्ततिले छिटो अगाडिबढ्न सहयोग पाउने छन् । प्रमाणित गर्नुपरेको छ, हामीले अधिकार सम्हाल्न सक्ने रूपले आफ्नो व्यक्तित्व विकास गरिसकेका छौँ । त्यो तैंले गरेर देखाउँदै छस् पनि । यसर्तफ के कस्तो सहयोग कुन बेला चाहिन्छ त्यो हामीले दिएका छौँ र दिन्छौँ पनि ।

सुमार्गमा लागेर छोरीले कमाएको धन परिवारको प्रगतिका लागि लगाउन नहुने होइन, तर यहाँ आएर समाज अल्मलिएको छ केवल एक प्रश्नले । अब के छोरीलाई छोरासरह अभिभारा बोकाउन सकिन्छ त ? प्रश्न उठेको छ अभिभारा बोकाउने हो भने समान अधिकार अंशमा पनि त दिनुपर्ला ? त्यसैले समाज आफूले यसमा लालमोहर लगाउन हच्किँदै यसमा विभिन्न पक्षलाई आफैंले निर्णय गर्न छोडिदिएको छ । थाहा छ हामीलाई, यता छोरीको कमाइ खानु हुँदैन, छोरीको शोषण गर्नु हुँदैन, यी माया, दया र मर्यादाका मूर्ति हुन् भन्ने अर्कातर्फ तिनैलाई लुकीलुकी देह व्यापार गराएर पनि पैसा कमाउन लगाई आफ्नो जीवननिर्वाह गरेको समाज आफ्नै सदस्यहरूसँग डराई आफैंले बनाएका नियम र चलनलाई राम्रो पर्दाले ढाकेर भित्रभित्रै भट्काइरहेका टुलुटुलु हेरिरहेछ । ती नाशकारकहरू आफ्नो बेइज्जत हुने डरले सामुन्ने आउँदैनन् र आफूलाई चोखो, सज्जन प्रमाणित गराउन र समाजलाई अल्मल्याउन अगाडि बढेका तिमीहरूजस्ता शूरवीर नारीहरूलाई आँखा चिम्लेर निन्दा गर्छन् र आफूले गरेका कामसँग जोड्दै खसाल्न खोज्छन् । यस्तासँग नडराई आफू अगाडि बढ्दै जा, त्यसैमा तेरो मात्र होइन, नारी जातिकै भलाइ हुन्छ । भाइलाई जे जस्तो बनाउन चाहन्छेस्, गर । यसरी परिवारमा एक अर्कालाई सहयोग गर्न सके स्नेहको गाँठो अरु बलियो हुन्छ । तिमीहरूको आपसी स्नेह देखेर हामी शान्तिले जिम्मेवारीबाट पर हुन पाउँछौं । आखिर हामीले पनि त आफ्नै लागि बाँच्ने समय पाउनुपर्छ । व्यवहारबाट, कर्मबाट र जिम्मेवारीबाट अवकास दिलाई शान्तिले जिउने अधिकार हामीलाई दिने तिमीहरूले हो । यस्तो कर्तव्यपथको चाल चाल्नेलाई सत्य र इमानले सहयोग पुऱ्याएको हुन्छ । आमाको यस्तो ओजस्वी अर्ती सुनेर साधनालाई आफूमा आत्मबलको वृद्धि भएको अनुभूति हुन्छ । छोरीलाई दिनभरको उडानले थकायो होला भनेर आराम गर्न भनी कोठाको ढोका ढप्काई बाहिर निस्कन्छे । साधना लुगा फेर्दै आफ्नो हवाइ परिचारिकाको जीवन केलाउन थाल्छे । ड्रेसिङ टेबुल अगाडि उभिएर कपाल कोर्छे, अनुहारलाई कपासले पुछेर कोल्ड क्रिम लगाउँछे र संझन्छे भोलि ड्युटीमा जाँदा उज्याली हुनुपर्छ । केशहरू राम्ररी मिलाएर फूर्तिलो हुनुपर्छ । साधनालाई चिटिक्क परेर हिँड्ने रहर नभए पनि यस नोकरीले प्रभावकारी देखिनु, हँसमुख हुनु र फूर्तीका साथ छरितो भई सेवा गर्नसक्ने हुनु यसका अनिवार्य गुणहरूलाई मान्नै पर्छ । दुःख, कष्ट, चिन्ता जस्ता मनोभावनालाई थिचेर किचिक्क हाँस्नसक्ने हुनु यसको योग्यता हो । तसर्थ उसले आफूलाई यस्ता कुरामा ढाल्नै पर्ने हुँदा आफ्ना इच्छाहरूलाई धेरै महत्व नदिएर आफूलाई यसमा अभ्यस्त बनाइसकेकी छे । जस्तै वेदनालाई पनि पन्छाएर यात्रीहरूका समक्ष पुगी हाँस्तै सोध्नसक्छे, “यहाँलाई के ल्याऊँ, कोल्ड ड्रिङ्क, ह्विस्की या चिया, कफी ?” यस्तै प्रश्न उसले हनीमून मनाएर फर्कँदैका मेघलाई पनि सोधेकी थिई । मेघले गौरवका साथ आफ्ना साथमा बसेकी श्रीमतीलाई देखाएर उसलाई कोल्ड ड्रिङ्क र मलाई ह्विस्की अनि स्टुड है भन्दा उसले भनेकी थिई “निट नै ल्याइदिएकी छु पुगेन भने बोलाउनु होला, यहाँ परिचारिकालाई बोलाउने कलबेल छ ।” मेघसँग साधनाको सानैदेखिको सङ्गत थियो । दुवैले साथै खेल्दै, पढ्दै, घुम्दै जाँदा जीवनसाथी बन्ने सोचाइमा पुऱ्याइसकेका थिए । जब शिवको नोकरी छुट्यो, दयाको बिवाह हुने पक्का भयो र साधनाले घरको आर्थिक स्थितिमा सहयोग गर्ने हवाइ परिचारिकाको नोकरी गर्न थाली, त्यस बेलादेखि मेघ साधनादेखि परपर हुनथाल्यो । साधनाले कति संझाइ बुझाइ गर्दा पनि मेघले आफ्ना मनलाई फर्काउन सकेन । मेघले प्रष्टसँग भनिदिएको थियो, “छोरीले बाबुआमाको घर धान्नुपर्छ भन्ने छैन त्यो पनि नोकरी गरेर ? स्वास्नीमान्छेले नोकरी यस्ता ठाउँमा गर्नुपर्छ, जहाँ काम गर्दा इज्जत होस् । तिम्रो अहिले अझै पढ्ने उमेर छ, पढ्दै जाऊ र बिवाह पछि जे गर्नु पर्छ त्यो मेरो जिम्मा हो । पैसा मात्र जोड्नु जीवनको लक्ष्य होइन र तिम्रा बाबुको एक ठाउँको नोकरी गयो भनेर आफूले अन्त काम नगर्ने र छोरीलाई यस्ता काममा लगाउने सोचाइ पनि राम्रो होइन ।” मेघको कुरा सुनेर साधनाले भनेकी थिई, “हेर मेघ, मेरो बाबुलाई तिमीले केही भन्न पाउँदैनौ र छोरीको दायित्वबारे पनि विचारमा परिवर्तन ल्याउन सिक । लोकको भनाइ अनुसार मात्र आफूले कर्तव्य गर्दै जाने मेरो सोचाइ छैन । म मानव हूँ मेघ, घरको यस्तो अवस्था हुँदाहुँदै म उच्च अध्ययनका लागि विश्वविद्यालय कुन् मनस्थिति लिएर जान सकुँला ? हेर, बाबुआमाले हामी छोराछोरीलाई समानरूपले पढाए र अब उनीहरूलाई सहयोग गर्ने बेलामा मात्र यो दाजुभाइको जिम्मा, मेरो त बिवाह गरेर लोग्नेका घरमा गएपछि मात्र जिम्मा हुन्छ भन्न सुहाउँछ ? मैले कुन् मुखले भनूँ मलाई एम.ए. सम्म पढाइ दिनोस्, लोग्नेका घरलाई राम्रोसँग सम्हाल्न काम लाग्छ भनेर । यस्तो स्वार्थी काम त त्याज्य हुनुपर्छ । केही हामीले पाउन चाहन्छौँ भने हामीले दिन पनि सक्नुपर्छ । अब रह्यो हवाइ परिचारिकाको नोकरीबारे आँखा चोरेर, बेइमानी गरेर, देहव्यापार गरेर धन कमाउनु पो हुँदैन । आफ्नो खूबी देखाएर यात्रीसेवा गरेर इमान्दारीपूर्वक आर्जन गरेका श्रमको मोल लिन नहुने के छ ? केही क्षण यात्रीहरूका साथमा रहँदा उनीहरूको सेवा गर्दा कस्तो अनर्थ भइहाल्छ ? जहाजभित्र सबै आफ्ना काममा व्यस्त रहेकै हुन्छौँ क्याप्टेन ककपिटमा र हामी केबिनमा । कसलाई फुर्सत हुन्छ नचाहिँदो काम गरेर त्यत्रा यात्रीहरूको सामुन्ने तमासा देखाउने ? राती होटेलमा रहँदा पनि हाम्रा कोठाहरूको बेग्लाबेग्लै अफिसले नै व्यवस्था गरिदिएको हुन्छ । हामीले आफैंले नचाहेसम्म कसैसँग पनि कुनै सम्बन्ध राख्नु जरुरी पर्दैन । तपाईंले केवल मेरो चरित्र, मेरो प्रेममाथि विश्वास गर्नोस् । म यही पेशामा रहेर पनि आफूलाई अनैतिकताबाट जोगाउन सक्छु । मैले दाइ फर्केर नआउन्जेल यो नोकरी छोड्नु हुँदैन । “हेर मेघ, म साधना हूँ, एक व्यक्ति हूँ, मेरो व्यक्तित्वलाई पेशासँग मिलाएर निखार भएर निस्कन देऊ । हाम्रो प्रेमलाई जस्तै अवस्थामा पनि बचाएर राख्न म सक्छु, यस नोकरीलाई हाम्रा बीचको तगारो नबनाइदेऊ ।” जति साधनाले संझाए पनि, आश्वासन दिए पनि मेघले विभिन्न परिचारिकाहरूको उपमा दिएर कसले कप्तानसँग प्रेम विवाह गरे र कुनले स्टुवाटसँग र कसले व्यापारीसँग गरे भन्ने बताउँदै कति अवैध ओसारपसारमा पक्रिए भन्ने गणना गराउँदै भनेको थियो, “तिम्रो भावना उच्च होला । तिमीले आफूलाई आदर्शभित्र नियन्त्रित राख्यौली । यस पेशालाई श्रद्धाको दृष्टिले हेर्ने बनाउन प्रयास गरौली तर तिमी यसरी रुन्जेल एउटी योद्धा मात्र हुन्छ्यौ, विकृतिसँग लड्ने, विकृतिभित्र परेकी एउटी योद्धा । हेर, दलदलबाट निस्कन र त्यहाँबाट निकाल्नलाई पहिले आफू त्यहाँ पुगेको हुनुपर्छ र म चञ्चल मनका प्रकृतिकालाई राम्ररी जान्दछु जुन समय परिस्थिति हेरी परिवर्तन भइरहन्छ । एकफेर यस नोकरीमा पसेपछि यिनीहरूले आफूलाई कुनै अन्तरिक्षबाट अवतारित भएकी सोचेका हुन्छन् । प्रशस्त पैसा उमेरमै खेलाउन पाउँदा घमण्डले चूर भएर कसैलाई टेर्दैनन् । समाजले हाम्रो पुरुषत्वलाई नै आघात पार्ने गरी हामी तिनका सम्बन्धी भएमा परजीवीका रूपमा लिएर भन्छन् । तिम्रा परिवारलाई त्यस्तो केही नलागेको भए पनि म सहन सक्तिनँ । म समाजसुधारक हुन हवाइ परिचारिकासँग विवाह गरेर इज्जत नष्ट गरी बस्न सक्तिनँ ।” “तपाईंले यस पेशालाई लिएर मलाई खसाल्दै लगेर पातालमा पुऱ्याइ दिनुभयो तर मलाई एउटा पेशा मात्र बताइदिनोस् जहाँ नारीले नोकरी गरेकामा निन्दा गर्न छोडेको छ ? कुन् नोकरी तपाईंले भनेजस्तो नारीका लागि इज्जतदार छ, डक्टरी, इन्जिनियरिङ्ग, शिक्षिका हुनु, प्रशासनका क्षेत्रमा या नर्स बनेर सेवा गर्नु । यी सबैमा हाकिमसँग या सहकर्मीसँग यस्तै प्रेमकथा जोडिएका हुन्छन् । नारीले बाहिर कर्मक्षेत्रमा उत्रेकामा निरुत्साही पार्न यस्ता कुरा उब्जाइरहन्छन् । नारी र पुरुष साथै रहेर काम गर्दा यस्ता घटनाहरू भइरहन पनि सक्छन् तर यी सबै उपमा होइनन् । यो व्यक्तिको चाहना हो र आफूलाई मर्यादाका घेराभित्र राख्नसक्ने नसक्ने खूबीको कुरा हो । फेरि म दोहोऱ्याउँछु, यस पेशाले गराएको भने पक्कै होइन । होइन, तिमी उपमा नै बटुल्न खोज्छौ भने राम्रो काम गरेर बसेका नारीहरू पनि छन्, तिनको उपमा किन दिंदैनौ ? हेर, म साफसाफ भनिदिन्छु, म यो नोकरी झट्ट छोड्न सक्तिनँ र यदि तिमी आफ्नो धारणा बदल्न सक्तैनौ भने मैले आफ्नो जीवनको बाटो बदल्नुपर्छ । म यस्ता अनैतिक दोष लिएर तपाईंको त्याज्य प्रेमिका हुनुभन्दा म नै तपाईंलाई छोडिदिन्छु । प्रेमको अन्तिम लक्ष्य विवाह मात्र पनि होइन । लौ भन्नोस् तपाईं के चाहनुहुन्छ ?” साधनाको प्रश्नको जवाफै नदिएर हिडेको मेघले अर्की केटीसँग विवाह गरी उसैलाई ईखाउन र उसको हातबाट आफ्नी स्वास्नीलाई सेवा दिलाउन ऊ त्यो जहाज छानेर चढेको थियो । यो कुरा बुझेर पनि साधनाले कुनै प्रतिक्रिया नदेखाई ती दुवैलाई चाहेजति र दिन सकेजति सेवा दिएकी थिई । ऊ आत्मपरख गर्दै आफैंलाई मनको गुनासो सुनाउँछे । ऊ मनसँग सोध्छे, “के म मेघले भनेजस्तो गरी परिवर्तन भएकी छु त ? नोकरी शुरु गरेको पनि एक वर्षभन्दा बढी भइसक्यो ।” मनैले जवाफ दिन्छे, “तँ बदलिएकी त छस् नि । त यति ठूलो यति, अटल कहिले भएकी थिइस् । ? समय र परिस्थितिले तँलाई कति अनुभव दियो भने आज तँ डटेर नोकरीसम्बन्धी आफ्नो राय दिनसक्ने भइस् भन्न सक्ने भइस् कर्मचारीको व्यक्तित्व जसले चिनाउने र इज्जत दिने गर्छ । पेशा त केवल एक अवसर हो त्यसलाई हामी कसरी प्रयोग गर्छौं त्यो नै हाम्रो योग्यताको परिचय हो । नारीले आफ्नो व्यक्तित्व विकासका लागि र आत्मनिर्भरताका लागि अरूको जे जस्तो भनाइ रहे पनि नोकरी गर्दै जानुपर्छ । नोकरीका प्रदूषणलाई हटाई स्वच्छ वातावरणको सिर्जना गर्नै पर्छ ।” नयाँ दुलहीका साथमा बसेर ह्विस्की खाँदै गरेका मेघसँग साधनाले सोध्न चाहेकी थिई, “के तपाईंको पुरुषार्थको अर्थ यही नै हो त ? यति मलाई देखाएर तपाईंले के सन्तुष्टि पाउनु भयो ? के आनन्द पाउनु भयो मलाई ईखाएर ? प्रश्न मनमा उठे पनि जवाफको कल्पना गर्दिन किनकि यति बेला रात निकै बितिसकेको थियो । साधनाको आँखा झ्यालमा पर्छन् । खुला झ्याल बाहिर पूर्ण चन्द्रमा चम्किरहेको देख्छे मानौँ त्यो आफ्नो पूर्ण रूपमा भोलिको दिन देखेर हाँस्तै छ या रुँदै छ । रात छिप्पिदै गएकाले शान्त र शीतल छ । टाढा कता कताबाट बाँसुरीको धून बजेको सुनिन्छ । कुन विरहीले रात काट्न मुस्किल परेर बाँसुरीका धूनसँग आफूलाई शान्त पार्न खोजिरहेको छ भन्ने सोचेर साधना आफूलाई त्यस वादकको मनसँग आफूलाई दाँज्दै सुत्ने चेष्टा गर्छे । निकै बेरसम्म छटपट भइरहन्छ । चाहेर या नचाहेर केले भनूँ आज उसलाई मेघको सम्झना खूबै आइरहेछ । उसकी नयाँ दुलहीलाई देखेर उसका चाहनाको अड्कल गर्छे । उसका पेशासँग नारीप्रतिको सङ्कुचित भावना संझेर उसका सम्बन्धबाट आफू उम्कन पाएकामा छुटकाराको अनुभव गर्दै बिस्तारै निदाउन थाल्छे ।

  • घर फर्केर पनि प्रेरणाले बिर्सन सकिरहेकी छैन आफ्ना अफिसका कुराहरू । ऊ सोच्छे, किन नारीलाई नोकरी गरेर खान अप्ठ्यारो पार्छन् ? त्यस शैलीलाई अफिसमा नचाहेका बोझको स्थापना मात्र भएको जस्तोगरी व्यवहार गर्छन् । पिउनले समेत टेर्दैन । पुरुष जागिरेको त कुरै के गर्ने ? सोझै भन्छन्, “यी स्वास्नीमान्छे किन जागिर खान आउँछन् । घरैमा बालबच्चा स्याहारेर बसे भइहाल्थ्यो । यहाँ बसेर पनि अफिसको भन्दा बढी घरैको चिन्ता लिन्छन् । यस्तालाई हाकिम भनेर कसरी मान्नू सबै काम हामीले नै गरिदिनुपर्छ । तलव सोहोर्न मात्र आएका हुन्छन् यी आइमाईहरू ।” वास्तवमा शैली त्यस्ती छैन । पढाइमा पहिला दोस्रा मात्र भएकी छे । काम पनि पन्छाउने उसको स्वभाव छैन । केवल ऊ जवान छे, राम्री छे र साथै कसैसँग पनि झ्याम्मिएर गफ मात्र गर्ने प्रवृत्तिकी छैन । हा हामा पैसा खर्च गर्न अलि हात कमाउँछे । यसलाई गुण भन्ने कि दुर्गुण ? उसको आफ्नै विवशता पनि त हुनसक्छ ? यसको अर्थ कसैले पनि सोच्तैनन् र भन्छन्, “त्यो अति हठी छे ।” पुरुष जागिरे पनि भगुवा, गफी, कामचोर र पढाइमा डिग्री प्राप्त गरेका भए पनि काम गराइमा फितलो नहुने होइनन् । तर उनीहरूका यस्ता कमजोरीहरूलाई उनीहरूको स्वभाव संझेर साधारण मानिन्छ र यस्तामा छुट पनि पाइएकै हुन्छन् भने त्यस्तै नारी भएमा ऊ हाँसोमा उडाइन्छे र उसले छेडछाड निकै सहनुपर्छ । नारीको स्वामित्व हतपती स्वीकार्न चाहँदैनन् किन ? किनभने ऊ अल्पमतमा छे, भरखर घिस्रन थालेकी छे । सामाजिक स्थिति र भावनामा परिवर्तन ल्याउन अगाडि बढ्दै छे । पिउनदेखि हाकिमसम्म ज्यादा पुरुष कामदार छन् । पुरुषका नाताले उनीहरू एक हुन्छन् तर नारी जागिरदार त्यहाँ कागका हूलमा बकुल्ला भएकी हुन्छे । ऊ संझन्छे, शैलीले नानीका निम्ति दूध किन्न पठाएका बेलामा पिउनले बोलेको भाषा र त्यस्तै एउटा पुरुष कामदारले रक्सी किनेर ल्या भनेर पठाउँदा रमाउँदै गएको । उसका मनले भन्छ, यस्तो मनस्थिति रहेकाहरूसँग जुधेर कर्मक्षेत्रमा उत्रिनु पर्दा निश्चय नै हामीले आफ्नो स्वभावलाई बदल्नु पर्छ र उनीहरूभन्दा बढी मेहनती र सुयोग्य हुने कोशिस हामीले गर्नुपर्छ । यस्तो प्रतिस्पर्द्धात्मक स्थितिमा रहेर हामीले काम गर्नुपर्ने हुँदा र नारी जातिलाई कुर्सीमा स्थापित गराउनु पर्ने आवश्यकता परेकाले हामीहरू जो अहिले अगुवाका रूपमा रहेका छौँ कार्यक्षेत्रभित्र चल्दा आफूलाई निष्ठावान् बनाई अनुशासित हुनु अत्यावश्यक छ, नत्र नारीलाई कर्मक्षेत्रमा भित्रिएर सफल हुन युगौँ कुर्नु पर्नेहुन्छ । अयोग्यमा दर्ता भई नोकरीमा झनै नलिने पनि हुनसक्छ । प्रेरणा संझन थाल्छे मीरालाई, उसको बानी अफिसमा बसेर स्वेटर बुनिरहने छ । आफ्नो खूबी र रुचि बुन्ने काममा रहेको देखाउँदै अर्की महिलालाई भनिरहेकी हुन्छे, “यो बुट्टा कस्तो लाग्यो ? मैले अमेरिकामा श्रीमान्‌सँग जाँदा जहाजमा एउटाले यस्तै बुट्टाको स्वेटर लगाएको देखेर टिपेकी । यो कति सजिलो छ तैपनि हामीले पहिले आफैंले यस्तो बुट्टा काट्न किन नजानेका ? साँच्चै हामी सोच्नै सक्तैनौ क्यारे । देखे पछि मात्र बुद्धि आउने । त्यसैले पनि हो हामी जे कुरामा पनि पिछडिएका ।” प्रेरणाले मीराका यस्ता कुरा सुनेर आफूलाई थाम्नै नसकी त्यही पुगेर भनेकी थिई, “हो हामी त्यस्तै छौँ । घर र अफिस कुन हो, कहाँ हाम्रो कस्तो जिम्मा छ त्यति पनि सोच्ने कष्ट नगरी नारी जागिरदारको खिल्ली उडाउने मौका दिइरहेका हुन्छौँ । अमेरिकासम्म पुगेर त्यहाँ नारीहरूले पनि अफिसमा डटेर कसरी काम गर्दा रहेछन् भन्ने, सिकेर आएकी भए र यहाँ आई आफ्ना साथीहरूलाई बताएकी भए एक चाल प्रगतितर्फ बढ्ने थियो कि ?” प्रेरणाको पेचिलो भनाइ सुनेर मीराले भनेकी थिई, “नारी भएर तपाईं पनि खाली हामीलाई मात्र सधैं गाली गरिरहनु हुन्छ । ऊ त्यता पनि हेर्नोस् न, उनीहरू त्यस बेलादेखि चुरोट फुक्दै नयाँ सडकदेखि सिनेमाको हिरोहिरोइन, संसददेखि मन्त्रीहरूसम्म, राजनीति पार्टीदेखि राजासम्मका गफ हाँकेर बसिरहेका छन् त्यस्तालाई केही भन्नुहुन्न । खाली हामीलाई मात्र साथी साथी मिलेर केही कुरा गर्न लाग्यो कि के के न बिराएका छौँ जस्तोगरी हपारिहाल्नु हुन्छ । हामीले त जस्तो भए पनि उपयोगी काम अफिसको काम सिद्ध्याएपछि गरेका छौँ । तिनीहरूले जस्तोगरी फाल्तु गफ गर्दै काम थुपारेर समय बिताएका त छैनौँ । त्यसैले हामीले मागेका हौं, हाम्रो यहाँ पनि युनियन हुनुपर्छ । यस्तो अन्याय त सहनु पर्दैन ।” अफिसमा यस्तो काम नगर भन्दा अन्याय हुन्छ भने म अन्यायी हुन पनि तयार छु । अर्काले यसो गर्न हुने, हामीले नहुने भनेर सिक्ने नै हो भने ऊ त्यो त्यता पनि हेर उनीहरू कति व्यस्त छन् भनेर देखाउँदै आफू फर्केकी मात्र के थिई, एउटीले भनेको हुन्छे, “पहिले यही ठाउँमा लोग्नेमान्छे हाकिम थियो । उसले कहिल्यै हामीलाई यस्तो भनेन । सुइटर बुनेको देखे भने त्यो नदेखेको जस्तोगरी आफैं जान्थ्यो । यसलाई जस्तो ठूली कसैलाई हुनुपर्दैन ।” अर्कीले त्यसमा थपेकी थिई, “कसैले मन पराए पो त कुरा गरेर बस्थी । यस्ती ठाडी छे । घरको इलम केही आउँदैन, अर्काले गरेको पनि सहँदिन । यसले लोग्नेलाई घरमा के गर्दी हो ? बिचरा लोग्ने ?” प्रेरणालाई यस संझनाले हँसाउँछ र आफैं सँग भन्छे, “हो, स्वास्नीमान्छे नै स्वास्नीमान्छेको अवरोध हुन्छन् । म तिनीहरूलाई स्वास्नीमान्छेको प्रगतिको अवरोध संझन्छु जसले गर्दा नारी जातिलाई नालायक घोषित गर्न प्रमाण बनिदिएको छ र त्यस्तै म उनीहरूको बाधक भएकी छु किनकि म उनीहरूलाई होसियार रहन खबरदारी गर्दै छु । मेरो खबरदारीले पछाडि ताँती लागेर बसेकाहरूलाई अगाडि सर्ने बाटो दिन्छ भने नारी जाति काम नलाग्ने प्रमाण बटुल्नेहरूलाई तिनीहरूका यस्ता कर्मले सहयोग गर्ने हुँदा कसैले केही बोल्दैनन्, रोक्न चाहँदैनन् हेरिरहन्छन्, हाँसोमा उडाइरहन्छन् र बेलामा औंल्याएर भन्छन् पनि, “स्वास्नीमान्छे जागिरेले सात घण्टाको ड्युटीमा तीन घण्टा पनि काम गर्छन्, गर्दैनन् बहाना बनाएर गइहाल्छन् । यिनले त अरू कामदारलाई भाँड्ने मात्र गर्छन् । ऊ हेर्नोस्, त्यो नानी बिरामी छ भनेर गई, ऊ त्यो सासूले आइज भनेकी छ, गइन भने मार्छे भनेर अघिनै गइसकी इत्यादि । प्रेरणा यी सब संझेर छटपटाउँछे र अठोट गर्छे, म यसको विरोध गर्न छोड्दिनँ । यसले गर्दा राम्रो जिम्मा लिएर काम गर्ने नारीहरू पनि बदनाम भएका छन् र आउनेलाई पनि हाँसो भएको छ । संझाउँदै जान्छु अफिसमा रहँदा जागिरदार भएर बस्नुपर्छ । हाम्रो समय पैसा दिएर अफिसले किनेको हुन्छ । स्वास्नीमान्छेको परिचय दिने ठाउँ अफिस होइन । यहाँ कुर्सीमा भेदभाव रहन नदिन व्यवहार ठीक राख्ने उपाय हामी नारी आफैंले गर्नुपर्छ । समानता खोज्यौँ भने समान हुनसक्छौँ भनेर पनि देखाउनसक्ने हुनुपर्छ ।” “कस्तो गहिरो सोचाइमा डुबेकी हूँ ? म आएर यहाँ उभिएको उभिएकै छु, कहिले आँखा पर्ला भनेर कुर्दाकुर्दै आफैँले भन्नुपऱ्यो ( म आएकी छु भनेर । हेर, कुन बेलादेखि यस चियाले पनि तँलाई ताकेर सेलाइसकेछ ।” दया यति भनेर हाँस्तै उसैका छेउमा गएर बस्छे । उसका हँसाइले प्रेरणालाई केही शान्ति दिन्छ र सोध्छे, " खूब दङ्गदास देखिन्छेस्, के खबर छ त्यस्तो ? अमेरिकाबाट ट्रङ्कल आयो कि चिठ्ठी ? श्रीमान् कहिले फर्कने रे ? यति थोरै दिन लोग्ने साथमा नहुँदा पनि तेरो होसहवास उडिसक्यो जस्तो छ । तिमीहरूका मायाले परेबाका जोडीलाई पनि मात गरिदिन्छ कि कसो ?” “ए हो त्यस्ती देखिएँछु ? कहिलेकाहीँ मलाई के हुन्छ के, यसै यसै के के सोच्न थाल्छु । असन्तुष्ट छु क्या रे म आफू आफैं सग । विद्रोह गर्न मन लाग्छ आफ्नै नारी कमजोरी सँग, दया, म अधुरो छु ।” “एउटा स्थापित परिवार आफ्नै भएकी तँ आफूलाई अधुरो मान्छेस् भने मैले आफूलाई के संझू ? तेरो हाम्रो संझाइले कसैलाई केही असर पार्दैन । जीवनको गति आफ्नै प्रकारले चलिरहन्छ । हामी मात्र यसै चिन्तित भइरहेका हुन्छौँ । “जीवनको प्रवाहसँग मिलेर चल्न नसक्नाले त म असन्तुष्ट भएकी छु जस्तो मान्छु । अशान्त छु म, दया लाग्छ, कहिले म आफ्नो नारी शक्ति निकालेर विध्वंस गरी शान्ति ल्याउनपट्टि लागूँ ।” दया हाँस्तै भन्छे, “तर मलाई थाहा छ, तँ त्यसो गर्न सक्तिनस् । तँ निरन्तरतामा विश्वास गर्छेस् र तँमा धैर्यको मात्रा धेरै छ ।” “अनि” “अनि के तँ मात्र होइन, तेरी साथी म पनि फुटेर बाहिर निस्कन सक्तिनँ । हामीमा सङ्कोच छ, समाजसँग डर छ । हामी इज्जत चाहन्छौँ, प्रशम्सा सुन्न मन पराउँछौँ । त्यसैले हामी विद्रोहको कल्पना मात्र गर्न सक्छौँ, साक्षात्कारमा उत्रन सक्तैनौँ । यस्तो आँट बटुल्ने हो भने हामीले धेरै कुरा त्याग्नसक्ने हुनुपर्छ जुन हामी गर्न सक्तैनौ । हामी मोहमा भुलेका छौं ।” “कस्तो मोहको कुरा भनेकी ?” “यही सांसारिक मोह ।” यति भनेर एक छिन अड्छे र प्रेरणाको अनुहार हेर्छे । ऊ छक्क परेकी देखेर भन्छे, “तेरो र मेरो बीचको यस दोस्तीको मोह कमको छ र ? तेरो र मेरो, छोरीका बीचको स्नेहलाई के भन्छेस् ? त्यस्तै तेरो र मेरो लोग्नेका बीचको प्रेमलाई त्याग्न सक्छेस् ? यस्तै असमर्थता ल्याउने नै मोह हो । “म त यसले के के न भन्न लागी भनेकी त यसै फिस्स पारेर छोडी ।” “यसरी मैले बेला बेलामा तँलाई थेचारिन भने तँ त उडेको उडै हुन्छेस् अनि चिया त के म पनि तेरअगाडि ठण्डा भइसकेकी हुन्छु ।” दुवै दङ्ग पर्छन् र अर्को एक कप तातो चिया खाउने इच्छा राख्दै प्रेरणाले हरिलाई बोलाउँछे । केही छिनका लागि कोठा फेरि शान्त हुन्छ । दयाले सरसरी अखवार पढ्न थाल्छे र प्रेरणा आफूले फेरेको सारी पट्याउन थाल्छे । यतिकैमा इला आइपुग्छे र बाहिर खेल्न जान आमासँग अनुमति माग्दै लाडिन थाल्छे । रात पर्ने बेला हुन लागेकाले चिया ल्याएपछि हरिको साथ खेल्न जाने कुरा सम्झाउँदै छोरीलाई फकाउँछे । दयाले प्रेरणाको ध्यान खिच्दै भन्छे, “यहाँ यस्तो के उल्का हुँदै छ ? हरेक दिन मान्छे हराएको छापिएको हुन्छ । कहाँ जान्छन् यी ? कसले कता लगिरहेछ ? बालकबालिका, बूढाबूढी सबै उमेरका हराउन थालिरहेछन् । तिनीहरू फेला पर्छन् या हराएको हराएकै हुन्छन् । त्यसतर्फ सरकारको ध्यान गएको छैन जस्तो लाग्छ । अहिले कति वर्ष भइसक्यो यसरी हराउन थालेको ? यसको कारण के त भन्ने अझै पत्ता लगाएर जनचेतना ल्याउन सकेको छैन । यस अपराधबारे पनि खोजी हुनुपर्ने होइन ?” “हुनु त पर्ने हो नि ? आफै भागेका भए पनि किन र कसरी भन्ने प्रश्न हुनसक्छ या कसैले लैजाने गरेको भए पनि किन र कहाँ भन्ने त हुनु पर्ने हो । यसैले त मलाई साँझबिहान इलालाई एक्लै खेल्न पठाउन डर लाग्छ । हराई भने आफ्नो त बितेको बितेकै हुन्छ ?” “उहिलेउहिले नेपालमा यस्तो कुरा पटक्कै सुनिन्नथ्यो, अहिले त यस्तो विकृति दिनदिनै बढ्दो छ । अरू त के, धर्म र सम्प्रदायको अहं पनि फाटफुटट सुनिन थालिदै छ । हामीलाई नेपालमा एकताको जरूरत छ तर यहाँ भने यस्तो दङ्गाफसाद भित्र्याएर फूट ल्याउने तत्वहरूले प्रश्रय पाउँदै छन् । यसको नतिजा के हुने हो ? राम्रो त अवश्य हुँदैन होला” भन्दै दया खिन्न हुन्छे । “यही हो स्वतन्त्रताप्रतिको गलत धारणा । यसले दवाइ दिन्छ कि भनेर बचाउका लागि जमातको सिर्जना गर्न थालेको । यसलाई हामीले विकास मान्ने कि फेरि फर्केर उही जातीय व्यवस्थाको आधिपत्यमा जान लागेको भन्ने । अहिले जुन किसिमले यो बढ्दै छ, यसले कुनै बेला पनि एक समूहको अर्को समूहसँग लडाइँ गराउँछ । यसरी त हामीले झगडाको बीउ रोप्तै छौं ।” “त्यही त दुःखको कुरा छ । मानव सभ्यताको यत्रो विकास भइसकेर पनि यो के देखा पर्दै छ ? के यो शक्ति र घमण्डको प्रदर्शन मात्र हो ? मानवधर्म, मानवता चिनाउने कयौँ संघ संस्थाहरू खोलिएका छन् तर यहाँ जानेका कर्महरू पनि त्यही रूपले बिर्संदैछन् । बरु यस्ता समूह खोलिनुभन्दा पेशागत समूह खुल्दै गएका भए विकास हुने थियो कि ?”

“विकासको के कुरा गर्छेस् तँ ? हामी त अझै विकासको रेखा छुने ठाउँमा पनि पुगेका छैनौँ । त्यसैले हामीलाई अग्रेजीमा “अण्डर डिभेलपड कन्ट्री” भन्छन्, डिभेलपड पनि होइन याने यहाँ विकासको पूर्वाधार नै अझ बन्न सकेको छैन । “हामी जतिसुकै पढे लेखेका भए पनि हाम्रो भावना र सोचाइ स्वार्थीपनबाट हुन सकेका छैनन् हामीले हामीजस्तै अर्को व्यक्तिको पनि उस्तै चाहना र जरूरत हुन्छ भन्ने बुझ्न सकेका छैनौँ । तसर्थ हामी अर्काका लागि र देशका लागि केही गर्न सक्तैनौँ । देश कसको हो भनेर सोधियो भने नारावाजीले सिकाएको हुनाले फ्याट भन्छौं, “हाम्रो हो” तर त्यसमा साधारण प्रश्न कसरी र किन भनेर मात्र सोधियो भने पनि हामी अल्मलिन्छौँ, थाहा पाउँदैनौँ किनकि हामीले त्यो बुझ्ने कोशिस नै गरेका छैनौँ र त्यसतर्फ भावना जागृत गराउने अवसर पनि पाएका छैनौँ । देशको व्यवस्था एकातिर छ, हामी अर्कातिर छौँ । हामी आफ्नै धुनमा छौं, देशको व्यवस्था आफ्नै पाराले कसको स्वार्थको लागि चल्दैछ, त्यो थाहा छैन ।” प्रेरणाको आजको उदासीपन दया सँगको वार्ताले झन् प्रज्ज्वल भएको छ । ऊ भन्छे, “हुन त स्वार्थमा नै देशभक्ति, देशप्रेम, राष्ट्रियता टिकेको हुन्छ तर त्यस्तो स्वार्थ हामीले कहाँ फैलाउन सकेका छौं ? यहाँ त पढेलेखेका, विद्वान् कहलाएका व्यक्तिहरूले समेत स्वास्नीमाथि स्वार्थीपना राखेर व्यवहार गर्ने गर्छन् । भाषण दिन्छन्, नारी स्वतन्त्रता दिनुपर्छ भनेर अनि घरमा आएर तिनैले स्वास्नीलाई भन्छन्, “त्यस्ता नारी जागृति हामीलाई चाहिएको छैन । हाम्रो घर, हाम्रा समाजमा भाँडभैलो हुन दिँदैनौँ । धेरै तिमीहरू चम्कने होइन । आफ्नो संस्कृति, परम्परा छोड्नाले दुःख पाइला ।” दयाले पनि यसको समर्थन गर्दै भन्छे, “हो, त्यसो त भन्ने गर्छन् । तर यस्तो बोल्नेको संख्या घट्दै जानुलाई पनि विकास मान्नु पर्छ । झ्वाट्टै परिवर्त्तन ल्याउने हो भने आन्दोलन गर्नु पर्दछ र आन्दोलन सबै क्षेत्रमा गर्दै जानु पनि उचित हुदैन ।” दया अलिकति आफूलाई आशावादी बनाउँछे र प्रेरणाले यसमा समर्थन गर्दिन र भन्छे, “पर्खने ? कतिसम्म ? " दया छक्क पर्छे । प्रेरणाले गरेका कुरा सुनेर भन्छे, “किन पर्खनु पर्छ भने आन्दोलन र क्रान्तिले धेरैको ज्यान लिन्छ, कति सुधार यस्ता हुन्छन् जसलाई देशका कानूनले बदल्न सक्छ, त्यस्तै कति यस्ता छन् जसलाई व्यवहारले परिवर्तन गर्न सकिन्छ, संझदारीले हल गर्न सकिन्छ । आन्दोलनलाई केटाकेटीका हातमा झरेको बन्दुक दिएसरह दिनु हुँदैन ।

आन्दोलन मच्चाउनु अन्तिम निर्णय हो ब्रह्मास्त्र जस्तै र यसको प्रयोग भीषण सङ्कट आइपर्दा मात्र गर्नुपर्छ ।” “मलाई थाहा छ तँ विद्रोह चाहन्नस् “भन्ने त्यस्तै म पनि धैर्य धारण गर्न सक्तिनँ तँ दया होस् र म प्रेरणा । “प्रेरणाले दया सँगको बहस यसरी टुङ्ग्याउन खोज्छे तर दयाले कुरा उठाउँदै भन्छे, “त्यसो भन्छेस् भने एकफेर हामी आपसमा आफ्ना धारणा साँटेर यस समस्यालाई निराकरण गरौँ न त भनेर दीपेशको अमेरिकाबाट आएको चिठ्ठी पढ्न दिन्छे, प्रेरणा खरखरी पढ्न थाल्छे । दयाले उसका चेहरामा कस्तो परिवर्तन देखापर्छ त्यो हेर्न थाल्छे । चिठ्ठी पूरा पढी सकेपछि प्रेरणाले त्यो दयालाई फर्काउँदै भन्छे, “जीवन छोटो नाटक त होइन, के संझेका छन् यिनीहरूले ? के उसका घरका परिवारलाई पनि यो सब थाहा छ ?” “थाहा होला नि । आफ्ना छोराको कुरो पनि थाहा नपाउने हुन्छ र ?” “त्यसो नभन् दया, थाहा नभएको पनि हुनसक्छ । नत्र कसरी तँसँग विवाह गराउँथे । विवाहमा ती कति खुसी थिए । त्यो दीपेश पनि तँलाई हेरेर आएका दिन यति खुसी भएको थिएन, मैले कति जिस्क्याएँ । यदि यो कुरा थाहा थियो भने त्यस्तो खुसी आउनै सक्तैन ।” “थाहा छ । यी सबै कुरा थाहा छ । यिनीहरूले कति कुरा देखे नदेखेको जस्तो गरेर व्यवहार गर्नसक्छन् । यिनीहरूलाई नेपाली बुहारी आफ्नै जातको वंश थाम्ने, पिण्ड दिने नेपालमा चाहिएको थियो । त्यसैको लागि व्यवस्था मिलाएका हुन् । यिनीहरूका घरको अर्को कुरा पनि तँलाई थाहा छैन होला । सुन, मेरो देवर लागू पदार्थको सेवन गर्नुहुँदो रहेछ । मैले त्यो कुरा थाहा पाएर खूब संझाउँदै गाली गरेँ र सासूससुरालाई पनि सुनाएँ । मेरो उनीहरूलाई देवरको बारे सुनाउनुको अर्थ थियो उहाँहरूले पनि देवरमाथि निगरानी राख्नू र यस लतबाट छुटाऊन् तर अचम्म ज्ञ त्यहाँ कसैले पनि यसमा चासो राखेनन् । मलाई नै त्यसपछि किन सुनाउन गएँछु भन्ने लाग्यो र म आफैँले देवरलाई जे जसो भन्नु छ भन्न थालें । एकफेर त देवर नै धुरुधुरु रुँदै भन्नुभयो, “तपाईं किन पहिले नै यस घरमा आउनु भएन ? सायद म यस स्थितिमा पुग्ने थिइनँ । अहिले म न त छोड्न सक्छु, न त खानलाई नै पैसा जुटाउन सक्छु । कहिले त एक सर्को तान्न नपाई थरथर काँप्न थाल्दा आमाको होस् या तपाईंकै घाँटीमा लगाएको तिलहरी छिनालेर लैजाऊँ र एक छिनलाई आनन्दित भई डङरङ्ग लडिदिऊँ जस्तो लाग्छ । के छ यस संसारमा ? सबका सब मजस्तै भएर नशामा हराइरहेका छन् । जागिरदार जागिरका नशामा, नेताहरू राजनीतिका, व्यापारी नाफाका, उद्योगपति धन्धाका, धर्मावलम्बीहरू धर्मका र प्रेमीहरू प्रेमको नशामा त छन् । माया जाल हो यो संसार । नशाले लरखराएका छौँ हामी सबै । तपाईं पनि त्यो चिप्ले दाजुका प्रेममा हराइरहनु भएको छ, मेजस्तै भएर । हो कि होइन, लौ भन्नोस् त ?” त्यसो भनेको सुनेर म के भएँहुँला लौ भन् त ? उसले किन दीपेशलाई चिप्ले भन्यो ? उसको स्वभाव थाहा रहेछ भनेर के म लख नकाटूँ त ?” “खै के भन्ने ? नहुनु पर्ने कुरो तँमाथि भइहालेछ । अब हामीले खूब सावधानीसँग व्यवहार गर्दै जानुपर्छ । यो कुरा तैंले आफ्ना बाआमालाई भन्छेस् ? बरु यी सासूससुरालाई पनि दीपेशको त्यो मिससँग रहेको सम्बन्ध र दीपेश बाबु भईसकेको तिमीले थाहा पाइसके कीछ्यौ भन्ने नबताऊ । उनीहरूको नाटकीय खूबी हेर्दा तँलाई समय काट्न सजिलो हुनेछ र मलाई विश्वास छ एक दिन दीपेश आफैँले यो कुरा तँसँग ओकल्छ । त्यस बेला तेरो विजय हुनेछ र दीपेश तँसँग झुक्नेछ । सत्य कुरा लुकाएर लुक्छ र ? तैंले दीपेशलाई लेख्दै रहनु कहिले तँलाई बोलाउने भनेर । यो पनि बताइ दिए, तँ आमा हुने भएकी छेस् । अब प्रेमको कुरा त, यो लेख उ लेख भनेर भनूँ त्यो तँ आफैं जान्ने नै छस् । यति मात्र म भन्छु, प्रेम घृणामा बदलिसकेको भए पनि उसलाई सजाय भोगाउनलाई नै भनेर पनि प्रेमको भाषालाई जीवित राखेस् ।” “म त्यसका स्वास्नीलाई मसँग त्यसले विवाह गरेको खबर पठाउँछु भनेर तँसँग राय लिन आएकी त तँ यस्तो सल्लाह पो दिन्छेस् । मलाई समय काट्न तिनीहरूको नाटक किन हेर्नुपर्छ ? ती घिनौला चाललाई म कसरी हेरेर बस्नसक्छु ? मैले त सोचिरहेकी छु यो छोटो दाम्पत्य जीवनका उपलब्धिलाई नै यस घरको अन्तिम चिनो मानेर छोडिदिऊँ । यो दाम्पत्य जीवन के रहेछ त्यो पनि त बुझिनै हालें । अब पनि केका लागि बेइज्जत सहेर बस्ने ? के पाउनका लागि ? केवल उनीहरूको नाटक हेर्न या उनीहरूलाई मानसिक ताडना दिन मेरो उपस्थिति त्यहाँ रहिरहन दिने ? यसले उनीहरूलाई केही पनि गर्दैन । यसरी छक्याएर विवाह गराइदिनु नै भूल हो भन्ने लागेको छैन भने पछुताउ किन हुन्छ ? दीपेशले पनि सोचेको होला नेपालको कानून अनुसार एउटै सँग विवाह भएको छ र त्यहाँ ? घरदेखि टाढा हुँदा दिलबहलाउ गर्ने एउटा उपाय मात्र । हामी दुवैले धोका पाएका छौँ । “दयाले पटटट यति उत्तेजित भएर भन्छे ।

“अहिले तेरो मनस्थिति काबुमा छैन । त्यसैले केही दिन शान्त मनले सोच र फेरि हामी दुई भएर कुनै निक्यौल गरौंला । दलदलमा परिसकेपछि त्यहाँबाट उम्कदा पनि फेरि कुनै आपत् नआइपरोस् भनेर सोचेर मात्र काम गर्नुपर्छ । यहाँको कानून तँलाई थाहा छ, नानी ठूलो भएपछि त्यसमाथि बाबुको हक लाग्छ, आमाको हुँदैन । तँ त जन्माएर हुर्काउने मात्र होस् अनि नानी उसलाई सुम्पेर बुझो हुनुबाहेक केही उपाय अर्को लाग्दैन । त्यस बखत नानीका प्रेमले तँलाई के के बनाएर छोड्छ, त्यो तँलाई थाहा छैन । अर्को कुरा, यति सजिलोसँग सन्तान उसलाई दिने र आफ्नो सम्बन्ध उनीहरूसँगको छोड्ने गर्यो भने यसको बढी दुःख तँलाई हुन्छ, उनीहरूलाई होइन । हाम्रा देशको नारीप्रतिको व्यवस्था यस्तै छ । यसलाई संरक्षण दिएको भन्ने कि यातना ? त्यसैले यदि तिनीहरूलाई सास्ती नै दिने हो भने आफू त्यही घरमा रहेर, त्यस घरका सबै पक्षलाई विश्वासले जितेर वशमा लिनुपर्छ र ती परिवारमाथि माया नभए पनि दयाले त्यस्ताको मन जित्नुपर्छ । दया मायाले दिएको सजाय चोटपटकको भन्दा गहिरो हुन्छ । स्मृतिपटमा बारबार त्यसले हानिरहन्छ । लाचारी र समर्पण बाहेक त्यसको प्रत्युत्तर अर्को हुँदैन । यसरी चोट परेका तिनीहरूले जब आफ्नो गल्ती कबुल गर्छन् त्यसै बेला आफ्नो अधिकार देखाउँदै उनीहरूकै खर्चमा अलग बस्ने इच्छा व्यक्त भर्नुपर्छ । कानूनले एक तर्फबाट हामीलाई शोषण गरेको छ भने त्यही कानूनलाई फर्काएर आफ्नो सुरक्षाको आधार पनि बनाउनु पर्छ । अहिलेसम्म त हामीले शोषणमात्र सहेका छौँ, त्यसको उपयोग गरी आफूलाई विजयी बनाउन जानेका छैनौँ । यसरी हामी आफैंले आफूलाई शोषण गराइरहेका छौँ । थाहा छैन त्यसको उद्देश्य के हो ?” “उद्देश्य केही नहुन पनि सक्छ तर यो नारीभित्रकै कमजोरीले गराएको हुनसक्छ । पढेलेखेकी तँ त अझै भन्दै छेस् सहेर हेर, आफूलाई मानसिकरूपले मारेर तिनैमाथि दया गरेर हेर । यो नै उनीहरूलाई सजाय दिएको हुन्छ भन्छौँ । यस्तै निरन्तरतावाद र सहनशीलताले हो हामी आफू आफैँ शोषित भएका । बहिनी साधनाले ठीक भन्दै थिई, दिदी तपाईं ज्यादै नरम हुनुहुन्छ । डर लाग्छ कतै कसैले तपाईंलाई माडमुड गरेर नफ्याँकी देओस् । दया, माया र नम्रतालाई पनि सीमाको जरुरत छ । यसरी जे जसो भन्दा पनि लौ हुन्छ भन्नु हुँदैन । यो दीपेशका विवाहको प्रस्तावलाई राम्ररी सोचेर मात्र आफ्नो निर्णय दिनोस् । राधाका कुरा संझनोस् । अमेरिका जान पाउँछु भन्ने रहरलाई एक कुनामा छोडेर स्वच्छन्दमनले सोच्नोस्, “किन उनीहरू तपाईंसँग नै विवाह गर्न मरिमेर्दै छन् । तपाईंमा त्यस्तो के देखे, तपाईं नै उनीहरूलाई चाहियो । तपाईंको प्रेमविवाह भएको त होइन अनि किन यत्रो त्याग ? यो त्याग नभएर अरू नै केही हुन पनि सक्छ ।” उसको कुरा सुनेर बाआमादेखि लिएर सबैले त्यसैलाई गालीगरे । बाले भन्नुभयो देशविदेश घुमेर जान्नेसुन्ने भएकाले सुधारको नीति लिन लागे पनि तिमीहरूलाई त्यसैमा शङ्का लाग्छ अनि खोज्छौ “नारी विकास ?” पहिलें आफ्नो बुद्धि र सोचाइको विकास गर्नु पछि बाँदरको हातमा नरिवल होला ?” त्यस बेला मैले पनि साधनाका भनाइलाई अपरिपक्व मान्दै हाँसिदिएकी थिएँ । अब त्यही ठीक हुन आएपछि मैले कुन मुख लिएर त्यससँग यो सब कुरा गरुँ ? लाज लाग्दै छ मलाई आफ्नै बहिनीसँग पनि । “यो पनि नाई, ऊ पनि नाई भन्ने हो भने गर्ने के ? न हिजो न आजको दोसाँधमा परेका हामीले भोग्नु पर्ने समस्या नै यस्तै हुन्छ । म त फेरि उही कुरा दोहोऱ्याउँछु उनीहरूलाई पछुताउमा पारेर सत्यको सामना गर्नसक्ने बनाइदे ।” “के बन्छन्, के बनाउन सक्छु, त्यो त म केही जान्दिनँ । यति भने अवश्य गर्छु “यो भारी नबिसाएसम्मलाई म तैंले भनेका बाटामा चल्छु । हेरूँ, साक्षात् नाटक हामी कसरी खेलिरहेका हुन्छौँ र तमासा बनेर देखाइरहेका हुन्छौँ ।” “दीपेशले तँलाई रुवाएर धेरै अधर्म गर्दै हुनुहुन्छ । उहाँले कसरी डाँट्न सक्नुभयो । यो कुरा नै मैले सोच्न सकेकी छैन । दीपेश त्यस प्रकारको व्यक्ति नै थिएनन् । मलाई राम्ररी थाहा छ मेरा श्रीमान्‌लाई सही बाटामा ल्याउने नै तेरा श्रीमान् हुन् । रक्सी, चुरोट र स्वास्नीमान्छेमा नै रमेर कुख्यात भइसकेका उहाँलाई म सम्हाल्छु भनेर आँट गरी विवाह त गरेँ तर हार खाएर पन्छिने अवस्थामा पुगिसकेकी मलाई र उहाँलाई यही दीपेशले मिलाइ दियो र अहिले मैले उहाँलाई मेरो मात्र बनाउन सफल भएकी छु । दीपेशलाई नारी मनोविज्ञान र वेदना थाहा छ तर कसरी यस्तो भयो ? समय र वातावरणले कत्रो परिवर्तन ल्याउन सक्तो रहेछ । यो संझेर पो म हैरान हुन थालिरहेछु । विश्वासै गर्न सकिरहेकी छैन ? दया, तँ नआत्ती, तेरो साथ दिन म तयार छु । यस जङ्गमा विजय हाम्रो नै हुनुपर्छ ।”

स्वछन्दमनले सोचोस्, “किन उनीहरू तपाईंसँग नै विवाह गर्न मरिमेट्टै छन् । तपाईंमा त्यस्तो के देखे, तपाईं नै उनीहरूलाई चाहियो । तपाईंको प्रेमविवाह भएको त होइन अनि किन यत्रो त्याग ? यो त्याग नभएर अरू नै केही हुन पनि सक्छ ।”

उसको कुरा सुनेर बाआमादेखि लिएर सबैले त्यसैलाई गालीगरे । बाले भन्नुभयो देशविदेश घुमेर जान्नेसुन्ने भएकाले सुधारको नीति लिन लागे पनि तिमीहरूलाई त्यसैमा शङ्का लाग्छ अनि खोज्छौ “नारी विकास ?” “पहिले आफ्नो बुद्धि र सोचाइको विकास गर्नु पछि बाँदरको हातमा नरिवल होला ?”

त्यस वेला मैले पनि साधनाका भनाइलाई अपरिपक्व मान्दै हाँसिदिएकी थिएँ । अब त्यही ठीक हुन आएपछि मैले कुन मुख लिएर त्यससँग यो सब कुरा गरुँ ? लाज लाग्दै छ मलाई आफ्नै बहिनीसँग पनि ।

“यो पनि नाई, ऊ पनि नाई भन्ने हो भने गर्ने के ? न हिजो न आजको दोसाँधमा परेका हामीले भोग्नु पर्ने समस्या नै यस्तै हुन्छ । म त फेरि उही कुरा दोहोर्याउँछु उनीहरूलाई पछुताउमा पारेर सत्यको सामना गर्नसक्ने बनाइदे ।”

“के भन्छन्, के बनाउन सक्छु, त्यो त म केही जान्दिन । यति भने अवश्य गर्छु “यो भारी नबिसाएसम्मलाई म तैँले भनेका बाटामा चल्छु । हेरू, साक्षात् नाटक हामी कसरी खेलिरहेका हुन्छौँ र तमासा बनेर देखाइरहेका हुन्छौँ ।”

“दीपेशले तँलाई रुवाएर धेरै अधर्म गर्दै हुनुहुन्छ । उहाँले कसरी ढाँट्न सक्नुभयो । यो कुरा नै मैले सोच्न सकेकी छैन । दीपेश त्यस प्रकारको व्यक्ति नै थिएनन् । मलाई राम्ररी थाहा छ मेरा श्रीमान्‌लाई सही बाटामा ल्याउने नै तेरा श्रीमान् हुन् । रक्सी, चुरोट र स्वास्नीमान्छेमा नै रमेर कुख्यात भइसकेका उहाँलाई म सम्हाल्छु भनेर आँट गरी विवाह त गरें तर हार खाएर पन्छिने अवस्थामा पुगिसकेकी मलाई र उहाँलाई यही दीपेशले मिलाइ दियो र अहिले मैले उहाँलाई मेरो मात्र बनाउन सफल भएकी छु । दीपेशलाई नारी मनोविज्ञान र वेदना थाहा छ तर कसरी यस्तो भयो ……. ? समय र वातावरणले कत्रो परिवर्तन ल्याउन सक्तो रहेछ । यो सम्झेर पो म हैरान हुन थालिरहेछु । विश्वासै गर्न सकिरहेकी छैन ?

दया, तँ नआत्ती, तेरो साथ दिन म तयार छु । यस जङ्गमा विजय हाम्रो नै हुनुपर्छ ।”

“म रोएँ, दिक्क भए पनि हिम्मत गर्न पन्छिने मेरो स्वभाव छैन । रुन्छु त म एक्लै रुन्छु दुःखलाई आँसुले बगाएर फ्याँक्न र नयाँ उत्साह बटुल्न यसै त गर्नु पर्दो रहेछ । जब म रुन्छु, म खाली खाली हुन्छु । मस्तिष्क शान्त हुन्छ, एक छिन शून्यमा हराउँछु अनि नसामा दौडिएको रगत तात्न थाल्छ, म आँसु पुछ्दै उठ्छु र मनमा अठोट गर्छु । आँसुको मूल पत्ता लगाई त्यसलाई त्यही नै सुकाइ दिन्छु । म बारम्बार रोएर जीवन यात्रालाई अधुरो राख्न चाहन्नँ र त्यस्तै मेरो हिम्मत र उत्साह व्यर्थमा यस्ता समस्यामा लगाई समय खेरफाल्न पनि चाहन्न । अहो यत्रो लामो समय गफ गर्दैमा बिताएछौँ । अब म घर गइहाल्छु । चाँडै आउँछु भनेर आएकी ।” दया यसो भन्दै घर जान जुरुक्क उठ्छे ।

“पुर्याइ दिनुपर्छ भने भन् म साथमा जान्छु”

“अनि त्यहाँबाट तँलाई कसले यहाँ पुर्याउन आउने नि ? कि रातभर तँ मकहाँ, म तँकहाँ एक अर्कालाई पुर्याउन हिँडी राख्ने ? बरु टर्च भए दे । क्याच्चु हिलामा खुट्टा पर्यो भने असाध्यै सिकमिको लाग्छ ।”

केही दिन बितेपछि एक दिन दयाको टेलिफोन प्रेरणाको घरमा आउँछ । ऊ भन्दै हुन्छे, “मैले सेक्सपियरका भनाइमा “यो सन्सार एउटा नाट्यशाला हो, हामी यहाँका अभिनयकर्ता हौँ” भनेको अर्थ राम्ररी बुझ्ने मौका पाइरहेकी छु र मैले पनि एउटी अभिनेत्रीको भूमिका निर्वाह गरिरहेकी छु, तैँले भनेअनुसार । रमाइलो लाग्दो रहेछ वास्तविकता र कृत्रिमपन नमिलेर निस्केको बेढङ्गी नतिजा हेर्न । अर्को पराकाष्ठा पनि सुनिराख, दीपेशको पहिलो सन्तान जन्मन लागेकाले हरेक दिन जस्तो मलाई मन्दिरमा लिएर जान्छन् र के केको हो पूजा आजा गराउँछन् । थाहा छ, त्यही घरको एउटा कोठामा आफ्नै छोरो नशालिएर अचेत भई लडिरहेछ । त्यो छोरो जसलाई गर्भधारण गर्दा सायद यस्तै पूजाआजा गरिएको हुँदो हो, आफ्नो परम्परा अनुसार । एउटा छोरो के भन्ने, भनाइ अनुसार दोस्रो छोराको चाहना लिएर गर्भवती भएकी थिइन् होलिन् ती आमा ।

यहाँको स्थिति हाँस्यास्पद र संवेदनशील दुवै छैनन् त प्रेरणा ? लौ भन् तँ, मलाई कुन स्थितिमा रहेकी मान्छेस् ?”

उताबाट जवाफ आउँछ, “तँ । तँ, त डाँफेचरी भएकी छेस्, कुरो बुझिस्, होइन त ?”

“बुझें, तर तैँले ममा अरू रङ्ग पनि थपिदिइस् कि कसो ?”

हाँसो दोहोरो चल्छ । अनि दयाले भन्छे, “म यी सब हेरेर रमाइरहेकी छु । आफूलाई बिर्सेर यिनीहरूलाई नै हेर्दै छु । सिक्दै छु जीवन के हो, मनोभावना के हो, सुख दुःख के हुन्, सबै सबै थाहा पाउने मौका यही पाइरहे पनि रातमा एक्लै रुनु नपर्ने स्थितिमा भने पुग्नसकेकी छैन । अरु बाँकी कुरा भेटैमा गरुँला भनेर टेलिफोन राखी दिन्छे ।

“तिमीले आजको अखबार पढ्यौ ? विचरा शर्मालाई बित्यासै पारेछन् ।” यसो भन्दै शिवले गौरीलाई गोरखापत्र पढ्न दिन्छ । गौरी पनि अखबार पढ्दै भन्छे, “हेर, कस्तो बेइज्जत भएको ? पैसा धेरै कमाएर के गर्नु ? सबैले थुक्ने काम भइहालेछ । आफूले ठाउँ छोड्न थालेपछि यस्तै के के भोग्नुपर्छ के के ?

“नियम कानून उल्लङ्घन भयो भन्नु बेग्लै कुरा हो तर नियत नै खराब रहनु, घुस मुट्ठा लागेर जेलै जानुपर्ने हुनु भनेको सानो कुरा होइन ।” शिवले आफ्नो र उसको निष्कासनको फरक यसरी बताउँछ ।

गौरीले समर्थन अर्कै तरिकाले गर्दै भन्छे, “कुन्लाई ठूलो र कुन्लाई सानो भन्ने ? निष्कासन हुनु नै नराम्रो हो । यहाँ कसले लेखाजोखा गरेर भन्छ ? निकालिएका जति सबैलाई एकै दृष्टिले त हेर्छन् नि ? यो दमनले त गर्न पनि उल्कै गरेको हो त ? बाहिरबाट आएर डेरामा बसेर जीवन गुजारा गर्ने त्यो ठूलो हुँदै आफ्नै मोटर चढेर हिँड्ने भयो । त्यसका छोराछोरी कोही अमेरिकामा, कोही अष्ट्रेलियामा पढ्न जाने भए । स्वास्नी हुनेको फूर्ति कसले हेरिदिओस् जस्तो भएको थियो । त्यत्रो पैसा कहाँबाट आयो होला भन्ने शङ्का न मलाई पनि लागेको थियो । जसले विष खान्छ त्यसले त ओकल्नै पर्छ, हामीले चिन्ता गरेर के गर्ने ? लौ चिया खानुहोस्” भनेर एक कप अगाडि सार्छे ।

शिवले चियाको चुस्की लिँदै मनमनै गम्न थाल्छ, “कुनै पनि व्यक्तिको चरित्रमा त्यसका परिवारका आकाङ्क्षाले प्रभाव पारेको हुँदो रहेछ । उसले सम्झन्छ, एक दिन दमनले दिक्क भएर भनेका कुराहरू । “यार, मलाई तिमीहरू केही नभन । मैले यस्तो काम गर्न सक्तिनँ भन्दा पनि नगरी धर पाइनँ । हात हालेको छु, कति सफल हुन्छु या मिल्काइन्छु थाहा छैन । छोराछोरी पढाउनेदेखि लिएर घरजम जोड्नु पर्दा खर्च थामिनसक्नुको भयो । नयाँ नयाँ सौखिन सामग्रीको प्रयोगले बानी बिगार्दै गयो । साथीभाइ, इष्टमित्रका अगाडि आफ्नो इज्जत राख्नै पर्यो । तलबको भरमा चल्नै के सक्ने भयो र । अनि मैले पनि उपरी आम्दानी बढाउन थालेको छु । रातदिनको घरको कचकचबाट यति भयो भने मुक्त हुन त सकुँला ?”

छिः परिवारको यो मोह ज्ञ यसैमा आफूलाई टाँसी राखौँ भने निस्कने नतिजा यस्तै त रहेछ नि ? दमनले यदि आफ्नो आम्दानी मुताबिक आफ्नो खर्च मिलाउन सकेको भए आकाश छुने इच्छा नराखेको भए र आफ्नो सैद्धान्तिक र नैतिकताका बलले आफूलाई विजयी बनाउनपट्टि आफ्नो कर्तव्य सम्झेको भए आज त्यसको यो गति पक्कै हुने थिएन । त्यस बेला उल्टै हामीलाई भन्न थालेको थियो, “मौका आउँछ पर्खंदैन । त्यसैले मौकाको फाइदा लिइहाल्नुपर्छ । छोराछोरीका शिक्षामा अहिले जे जति खर्च गर्न सकिन्छ, त्यही नै हाम्रो यिनीहरूका लागि गरेको लगानी हो । अहिले हाम्रा पालामा त काम पाउन यति गाह्रो छ, यो बढ्दो प्रतिस्पर्धाले कस्तो स्थिति ल्याउला ? हेर यार, अहिले नै हामीले यिनका लागि केही गरेनौँ भने यिनीहरू कहिल्यै शिर उठाउनसक्ने हुँदैनन् । मनोबल गुमाएर हरेक क्षेत्रमा अपमानित हुनुपर्नाले अगाडि बढेर केही गर्न नसक्ने हुन्छन् । यो नोकरको जीवनबाट कहिल्यै छुटकारा यिनले पाउँदैनन् । एक न एकपटक परिवारमा कसै न कसैले यस्तो खतरा बोक्नु नै पर्छ । सन्तानलाई यस्तामा फस्न नदिई म आफैँले उठाएको छु । मेरो अन्त्य भएपछि यी सबै मेरो साथै जान्छन्, छोराछोरीहरू मुक्त भइहाल्छन् ।”

दमनका यस्ता कुराहरूका सम्झनाले उसलाई जङ्ग चलाउँछ र मनमनैमा उसलाई हकार्न थाल्छ, “खूब गरिस् तैँले ? के अब तेरा सन्तानको शिर ठाडो हुन्छ भन्ठानेको छस् ? छोराछोरीको भविष्य सपार्छु भनेर आँखा चिम्लेर सकेसम्म कुम्ल्याउन थालिस्, अहिले त्यस कर्मले नै तेरा सन्तानका भविष्यमा कहिल्यै नमेटिने कालो छाप लगाउँदै छ । जति ठूला तेरा सन्तान भए पनि भन्न छोड्दैनन् यो त्यही घुस्याहाको सन्तान हो । त्यसका बाबुले दुनियाँलाई मारेको थियो ।”

शिव एक छिन शून्य हुन्छ । उसको तातेको रगत सेलाउँछ अनि व्यवहारिक रूपले सोच्छ । के गरुँ ? एकफेर त्यससङ्ग भेट गर्न जाऊँ कि ? त्यसले अरूसँग जे जस्तो भनेर फूर्ति देखाए पनि मलाई त साँचो कुरा पछुताएर नै गर्थ्यो । आफ्नो शिर झुकाएकै हुन्थ्यो । अहिले म त्यसलाई राखेका ठाउँमा भेट गर्न गएँ भने के पो गर्ला ? त्यसका घरका परिवारसँग भेट कसरी गर्न जाऊँ ? नजाऊँ मनले मान्दैन, जाऊँ तिनीहरूले के सोच्ने हुने ? यसरी उदासिनु परेकाले पीर त परेकै होला । यस्ता व्यक्तिहरूले हामीले देखाएको सहानुभूतिप्रति खिसीट्युरी उडाउँदै हामीले जासूसी गर्न आएको पनि भन्नसक्छन् या भन्छन् उनीहरूलाई खुच्चिङ् गर्न आएको ।

हे भगवान् ज्ञ भगवान्‌बाट मैले कुनै वरदान पाएको रहेछु भने मेरा परिवारलाई आफ्नो औकात सोच्नसक्ने शक्ति दिएका रहेछौ । मैले यिनैप्रतिका मोहमा बाँधिएर पथभ्रष्ट हुनु परेन । छन त मसँग पनि के नै थियो र ? छाक टार्दैमा कमाइ सिद्दिन्थ्यो । थियो भने एउटा कुरा थियो । सन्तोष ।

जागिर खाएर निष्ठावान् रहनु र इमान्दारीपूर्वक कामगर्नु र गराउनु दुवै निकै गाह्रो हुँदो रहेछ । यहाँ आफूलाई चिप्ल्याइदेला भन्ने डरले होँसियार हुनुका साथसाथै विभिन्न किसिमका आकर्षणले हामीलाई छोप्न आउँदा त्यस्ता कर्मबाट उम्कनु र आफ्ना मातहतकालाई उम्काउनु एक जागिरदारका लागि चुनौती हो उसको निष्ठा र इमान्दारीको परीक्षण गरिने बेला हुँदो रहेछ । हे भगवान् ज्ञ मेरो प्रार्थना छ, मेरा सन्तानले सुबुद्धिको आशीर्वाद पाइरहुन् । यिनका पेट इमान्दारीपूर्वक कमाइएका अन्नले मात्र भरियून् ।

दमनका बारेमा सोच्तासोच्तै शिवले आफ्नो अर्का साथीलाई सम्झन्छ । उसको छोरो सबै क्षेत्रमा योग्य भएर पनि नोकरी पाउन नसकेर भौतारिनु परेको गुनासो थियो, “भई नभई ऋण काढेर छोरालाई पढाएँ । ठूलो भएपछि राम्रो नोकरी पाउला, यी ऋणहरू निखन्ला भन्ने कत्रो आशा राखेको थिएँ । अहिले नोकरीका खोजमा छोरो छटपटाइरहेछ तँपनि काम पाउने यत्ति पनि आश छैन । जहाँ जाऊ भन्छन् रे, “हामीकहाँ जागिरै धेरै भएर भरखर निकालेका छौँ कसरी तपाईंलाई अहिले लिइहाल्नु ? ज्यालादारीमा बस्ने हो भने साना दर्जामा लिन सकिएला तर तपाईंको योग्यता अनुसार लिन सकिँदैन । लौ, भन त त्यस्तै पनि खा कसरी भनूँ ? हाकिमको जागिर खोज्दै जाँदा पिउनको पाइन्छ । २०४६ साल यता भन्नै दुई वर्ष हुन लाग्यो त्यो लोकसेवा आयोगले पनि कर्मचारीहरू माग गरेको छैन । गोरखापत्र किन्यो, पढ्यो । त्यतिकै भइरहेछ । फेरि अचम्म त एउटा कुरामा लागिरहेछ, एउटा मेरो आफन्त नै भन्नुपर्यो, त्यसको छोरो आइ.ए. सम्म पनि पटक्कै भएर पास गरेको थियो । त्यसको मार्क ३३ पर्सेन्ट जति पनि छ, छैन तर त्यो एउटा संस्थामा ज्यालादारीमा, जागिरै भएछ कुन् ओहदामा थाहा छ ? म्यानेजमेन्ट एक्सपर्टमा रे ? यस्तो छ, यहाँ ? मन कसरी बुझाउने । हाम्रो योग्यता बाहेक अरू कस्तो गुण हुनुपर्छ जागिरै हुन, त्यो थाहा पाउन सकेको छैन ।

बिचरा कति दुखी भएको छ ऊ । होइन, सबैलाई सरकारी नोकरी नै किन चाहिन्छ ? आफै कुनै नयाँ व्यवसाय शुरु गरे चाँडै नै उठिन्थ्यो । यो जागिर खाएर पचाउन कति गाह्रो छ, त्यसको ज्ञान यिनलाई छैन । शिवले दुवै साथीहरूका समस्यासँग आफ्नो मिलाएर जाँच्छ र त्यसबाट मुक्त हुन ऊ फेरि तबला बजाउन थाल्छ एक सुरले एक्लै । शिव त्यस्तै स्वभावको छ । उसको सङ्गीत माथिको प्रेमको पक्ष अर्कै छ । ऊ आफू बेचैन भएको बेला मनलाई काबूमा राख्नुपरेमा तबलावादन गर्न थाल्छ । सिरिरिर्र हावा कोठाभित्र पस्छ । शिवलाई केही चङ्गा भएको अनुभूति हुन्छ । ऊ उठेर झ्याल बाहिर हेर्न जान्छ । टाढा उसले स्वयम्भूको स्तूप देख्छ । गौरीले उसलाई तबलावादन छोडेर झ्यालमा टोल्याएर हेरिरहेको देखेर सोध्छे, “तपाईंलाई पनि कति चिन्ता, के केमा लाग्ने हो ? कर्मअनुसार फल त कुनै बेला भोग्नै त पर्छ । दमनले यसकी परिणाम यस्तो पनि हुन सक्छ भन्ने थाहा पाएर नै त अगाडि बढेको होला । सायद, उसलाई यति चिन्ता लागेको छैन होला जत्तिको तपाईंलाई लागेको म देख्दै छु । बरु आउनुहोस्, तपाईं तबला बजाउनु होस्, म हार्मोनियम बजाउँछु ।”

मैले बजाइ सकेँ । फेरि बजाउने मन छैन । हिँड, बरु घुम्न जाऔँ “भन्दै गौरीलाई लुगा बदलेर आउन पठाउँछ र आफू डोटीका बाबाका घरमा नूरलाई सम्झन पुग्छ ।

दिनभरका भ्रमणले थाकेर त्यस घरमा बास लिएर घुप्लुक्क सुत्छु भन्दा उसले त्यहाँ सामाजिक प्राणी मानिएका मनुष्यका जीवनलाई समाजले नै थिचोमिचो गरी कुच्याएर निकालिएका ती प्राणीहरूसँग भेट भएको थियो । उसले जीवनका अविस्मरणीय ती गाथाहरूलाई आफ्नो अवस्थाकोभन्दा धेरै दयनीय ठानेको छ ।

उसका सोचाइले कोल्टे फेर्छ र आफैँसँग भन्छ, “मनुष्य ज्ञ तिमीले जति दुख पाएको छौ, त्यो आफ्नै जातिबाट पाइरहेछौ र जति, सुखको अनुभूति हुन्छ त्यो पनि उनैबाट पाएका छौ । हामी एक अर्काबाट टाढा किन हुन सकिरहेका छैनौँ भने सुख दुःखको स्रोत नै हामी बीचको सम्बन्ध हो । यस सम्बन्धलाई चेतना र विवेकले हेर्न किन सकिरहेका छैनौँ ? आखिर हामी नै त चेतनशील प्राणी हौँ ।”

सोच्तासोच्तै शिवका मुखबाट यस्ता शब्दहरू फुत्कन थाल्छन्, “आयु काट्नु नै कत्रो समस्या बनेको छ भने हामी के नै गर्न सक्ने भएका छौँ ? बाँच्न सक्नु नै जीवनको ठूलो उपलब्धि हो भन्न सुहाउनेभइ सकेको छौँ । जसलाई हेर्यो सबै आफ्नै दुखका बोझले रोइरहेका मात्र छन् । यी हाँस्ने र हँसाउने कहिले हुनसक्लान् ?”

लुगा फेरेर आई टक्क उभिरहेकी गौरीले शिव एक्लै यसरी फत्फताएको सुनेर भन्छे, “सुख दुःख भनेको मनको स्थिति हो । तपाईं आफैँ दुःखी हुनुहुन्छ भने तपाईंले सबैका जीवनमा दुख मात्र देख्नुहुन्छ ।

सुखको कि वास्ता गर्नुहुन्न कि जान्नै खोज्नुहुन्न । म त अरूलाई दुःखी होइन, तपाईं नै किन हाँस्न नजानेको भन्छु ?”

“यसै हाँसेर हिँड्नेलाई के भन्छन् थाहा छ ? सिल्ली हो, म त्यो होइन । लौ हिँड, एक छिन भए पनि यस गुम्म वातावरणबाट मुक्त होऔँ ।” भन्दै गौरीलाई लिएर निस्कन्छ ।

बाटामा हिँड्दै शिवले पश्चिमाञ्चल क्षेत्रमा घुम्न जाँदा नूरसँग कुन अवस्थामा भेट हुनगयो, त्यसपछि कुन परिस्थितिको सामना गर्नुपर्यो र बाबा र मैनाको जीवन कथा कस्तो रहेछ सबै सुनाउँदै दमन, शन्त र प्रतापलाई पनि जोडेर आफ्ना मनमा उकुसमुकुस भएर रहेका सबै कुरा गौरीलाई बताउँदै जान्छ ।

स्वयम्भूको सिँढी चढ्दै शिवले गौरीसँग सोध्छ, “के तिनीहरूका कथा सुनेर पनि तिमी मलाई सुख बिर्सने प्रकृतिको भन्ने ठान्छ्यौ ? यहाँ हाँसोभन्दा ज्यादा आँशु नै छ । यिनीहरूको जीवन नै हेर, यिनीहरूले सुख के हो भनेर चिन्न पाएका छन् ? म त भन्छु, जसले धेरै आँशु देखेको छ, खपेको छ, त्यसले जीवन पनि राम्रोसँग बुझेको हुन्छ । सुखैसुखमा रङ्गमङ्गिएर मस्त हुनेको एउटै सोचाइ हुन्छ भने दुःखमा गाडिएर उक्सन खोज्नेले हरेक क्षेत्रमा सोच्ने उम्कने प्रयास गरिरहेको हुन्छ । यिनै अटुट प्रयासले ज्ञान दिन्छ, सफलता ल्याउँछ र अनुभवी पनि बनाउँछ ।

“त्यसो हो भने दमनले दुखबाट उम्कन जुन प्रयास गरे त्यसबाट के उनले सफलता पाए भन्नुहुन्छ ? यो तदुर्बलता हो । जीवनलाई दिशाहीन बनाउने असफलता हो । यस सफलताका खोजमा पाएको असफलता हो, जुन उनका प्रयासको लक्ष्य दुर्बल हुनाले भएको छ । जसमा पहिलोपटक असफल हुँदा त्यसबाट उठेर फेरि सफलताका लागि प्रयास गर्ने ठाउँ रहँदैन । सुन, प्रयास भन्दैमा र सफलता भन्दैमा सबै उत्तम नै हुन्छन् भन्ने छैन । जब अटुट प्रयास गरिन्छ त्यसको नतिजा अन्त्यमा पुगेर सफलता नै हुनसक्छ । तर त्यो सफलता कति उपयुक्त छ या हानिकारक छ, त्यो प्रयासका लक्ष्यमा आधारित हुन्छ । त्यसको आधार सत् या मिथ्या हुने गर्छ ।

सत् मार्ग अपनाउनाले दुःख दिए पनि धोका दिँदैन र मिथ्या लावण्यमय भए पनि शान्ति र सुख दिँदैन । तसर्थ सत् प्रयासका क्रममा धेरै असफलता पनि आइपर्न सक्छन् तर पूर्णत्व प्राप्तिका लागि अटुट प्रयास गर्दै जाने बाटो भने रोकिँदैन मानौँ असफलता नै सफलताका लागि अनुभूति प्राप्त गर्ने स्रोत हो ।

हेर न, अहिले हाम्रो यो सिँढी चढाइलाई नै लिऔँ । हामी थाकेका छौँ तैपनि माथि पुग्ने लक्ष्य नछोडी अगाडि बढ्दै छौँ । यसैले हामी त्यहाँ पुग्छौँ पनि तर यदि हामी सक्तैनौँ भनेर यहीबाट फर्कियौँ भने के पाउँछौँ ? यी स्वाँ फ्वाँ पनि व्यर्थका हुन्छन् । त्यस्ता निरुत्साही पार्ने तत्वहरूलाई निराकरण गर्दै जानुपर्छ, आफ्ना आत्मबलले थिच्तै जानुपर्छ गौरी । प्रयास, लक्ष्य र नतिजाबाट नै हाम्रा जीवनमा सुखदुःख आइगइरहेका हुन्छन् । यी तीनैलाई हामीले होशियारपूर्वक बारम्बार ल्याउनुपर्छ ।

तपाईं आत्मबलको कुरा गर्नुहुन्छ । त्यो आत्मबल बढाउनलाई प्रतिस्पर्धा गर्नसक्ने गुणको प्रवर्द्धन पनि त गर्नुपर्छ । दमनजीले त्यसैले भनेको होइन, “मेरा सन्तानले कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा गर्दा हार खान नपरोस् भनेर उच्चस्तरीय शिक्षा पाऊन् भनेर मैले पैसा कमाउनपट्टि लागें । यो आदर्श मात्र खोजेर हिड्यौँ भने जीवनमा दुःख बाहेक के पाइँदो रहेछ र ।”

“अहिले त्यसले के पायो त ? आदर्श छोडेर कुबाटामा दौडिदा क्षणिक सुख पायो होला तर के त्यो दाग जीवनभर मेटिने भयो र ? वर्षाको भेलजस्तो सुख भोगेर आफ्नो अस्तित्व गुमाउन लाग्यो भने नतिजा यस्तै हुन्छ । मलाई त्यसैले आफ्ना परिवारसँग गर्व छ । तिमीहरूले मलाई कहिल्यै यसतर्फ धकेलेनौँ । इच्छा त तिमीहरूको पनि विदेशमा पढ्ने, शौखमा बस्ने थियो होला ।

तिमीहरूको आत्मबल पनि कसैको भन्दा कम छैन । योग्य छौँ, त्यसैले आफैँ कमाउँछौँ । मन बलियो छ, त्यसैले अरूको पछि पनि लाग्दैनौँ र आकर्षणले लोलुप पनि हुँदैनौँ । यही त हो आत्मबल भनेको ।

कसैले आएर स्वास्नीमान्छेलाई किन पढाउनु पर्छ । घर धान्न र बालकहरूको रेखदेख गर्न जान्नेसम्मको ज्ञान भए भइहाल्यो भन्छन् भने म यो घरको उपमा दिएर भन्नसक्छु, “यस्तो सहयोगी जीवन गुजार्नका लागि शिक्षा र बुद्धिको जरुरत सबै परिवारका लागि हुन्छ । यिनैका सुबुद्धिले गर्दा आत्मसम्मानका साथ बाँच्न र शिर ठाडो गरेर हिँड्न सकेको छु । मेरी अर्धाङ्गिनीले पढेलेख गरेकी हुनाले यी मेरा छोराछोरीले शिक्षा प्राप्त गर्नमा नै प्राथमिकता पाए र आज घरमा आपत् विपत् आइपर्दा पनि परिवार मिलेर घरका इज्जतलाई थामिरहेका छन् । यदि म एक्लोमाथि सबै भार परेको भए अहिले हाम्रो के गति हुन्थ्यो ?”

“यी कुरा थाहा पाउने सबै भइसकेका छन् तर के गर्नुहुन्छ यिनैले स्वास्नीछोरीहरूको कमाइ खान पल्केको भनेर तपाईंमाथि नामर्देको शिरपेँच लगाइ दिन पनि छोडेका छैनन् । सम्झनु हुन्छ, तपाईं हैरान भएर के भन्नुभएको थियो ?”

“बिर्सन सक्ने कुरा हुँदो हो त म हैरान हुने नै थिइनँ । थाहा पाएर बिर्सन खोज्नु र ज्ञान भएर मूर्ख बन्नु जस्तो गाह्रो के हुन्छ ? समाजलाई तिमीले चिनेकै छ्यौ ।

यो समाज एक समूह हो, समाजका सोचाइको स्तर देशको ज्ञान क्षेत्रका विकासमा निर्भर हुन्छ र तिमीलाई थाहा छ, विकास भनेको परिवर्तनका लागि रोपेको बीज मात्र हो । यो शुरुमा अत्यन्त सानो हुन्छ र यसले बाँच्ने र फैलिने यिनै वातावरणसँग मिलेर गर्नुपर्ने हुन्छ । जब यो बढेर ठूलो हुन्छ यसमा फल लाग्न थाल्छ, तब मात्र थाहा हुन्छ, त्यस बीजको उपयोगिता के हो ? त्यसले के दिन्छ ? कस्तो स्वाद दिन्छ ?

अहिले हामी जुन स्थितिमा पिल्सिएर बाँची रहेका छौँ, जुन बोली समाजले बोलेर विपाक्तै पार्न खोजिरहेछ, यसले बीजैका अवस्थामा यसलाई मार्न तत्पर भएको हो । तर यो हलचलले नै अयोग्यलाई सदाएर हटाउँछ भने निक्खर र उपयुक्तलाई मात्र हुर्कन दिई विजयी बनाउँछ । त्यसैले नारीका उत्साह र उमङ्गहरूलाई गालेर झार्ने प्रयासमा लाग्न खोज्नेहरू अझै बहु संख्यामा छन्, तिनीहरूले हामी पुरुष जातिलाई जागरण गराएर, फैलाएर आफ्नो स्थान नछोड्न र सबै आफैँले ओगटेर नारीलाई आदर्शको संज्ञा दिई पन्छाउन पुरुषहरूलाई उसका शक्ति र योग्यताको उपेक्षा गर्दै ललकारेका हुन् ।

त्यो म बुझ्दछु र यसले मलाई, मेरा विचारधारालाई डगमगाउन सक्तैन । यसो सुन्नु पर्दा नराम्रो लाग्छ नै, हैरान पनि हुन्छु तर त्यो हैरानी पछुताउले ल्याएको असक्त भएर आएको म मान्दिन किनकि ती अफसोचका सुस्केराहरू हुन् हाम्रो समाजप्रतिको जसलाई बुझ्न धेरै समय लिँदैछ । बीज अङ्कुरित हुने अनुकूल वातावरणको सिर्जनागर्न नलागि समय काटिरहेछ । यस्ता बाधक हामी पुरुषभन्दा बढी तिमी नारीहरू नै रहेकाले नै हो म धेरै दिक्क भएको । यस विचित्रतालाई मैले बुझ्न सकिरहेको छैन किन नारी नै नारीका उन्नतिमा बाधक हुन्छन् ?”

“मलाई त बुझ्न गाह्रो छ भने तपाईं त लोग्नेमान्छे हुने नै भयो ?”

यतिन्जेलसम्म उनीहरूले सिँढी उक्लिसकेका हुन्छन् र थकाइको सुस्केरा हाल्दै थाप्लाका सिँढीमा थचक्क विश्राम गर्छन् ।

पश्चिमको अस्तायचल आकाश शान्त र रङ्गीचङ्गी देखिन्छ । स्तूपका वरिपरि राखेका माने घुमाउदै “ऊँ मणि पद्मे हुँ” भनेर एक चित्त भई भक्तजनहरूले पाठ गर्न थालेको सुनिन्छ त कूनैले चैत्यका अगाडिका दियामा बत्ती बाल्नथालेको देखिन्छ । त्यहाँको वातावरण पनि शान्त र रमणीय छ ।

शिवले यही शान्तिलाई लक्ष्य गर्दै कुरा उठाउँछ, “हाम्रो अन्तिम चाहना पनि त यस्तै शान्ति हो । असफलता र सफलताको लामो दौडाइपछि प्राप्त अनुभूति र ज्ञानले ल्याएको यो शान्ति नै हाम्रो अन्तिम उपलब्धि हो गौरी, तिमीलाई थाहा छ कि छैन गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि मात्र शान्ति चिनेका थिए । त्यसैले उहाँका उपदेशले भन्छ, “सङ्ग्राममा लाखौँलाई जित्नेभन्दा आफूले आफैँलाई जित्नसक्ने नै सच्चा विजयी हुन् ।” यसैले आशीर्वाद दिँदा सबैलाई भन्थे, “अप्प दीपो भव” । आफ्ना दर्शनहरू सबै व्यक्त गरेपछि भन्थे, “वत्स, म मोक्षदाता होइन, म त मार्ग दर्शक मात्र हुँ ।”

तसर्थ गौरी मेरो धर्म हिन्दू भए पनि यी बुद्धका आदर्शलाई म विश्वास गर्छु र मान्छु पनि । उहाँका सिद्धान्तमा व्यक्ति नै सर्वोत्कृष्ट हुन्छ र यो नै यथार्थ पनि हो । शान्ति, विजय र मोक्ष प्राप्त गर्न स्वयं व्यक्ति आफैँले प्रयास गर्नुपर्छ । मनुष्यभित्र सबै प्रकारका भावनाहरू हुन्छन् इन्द्रियहरू छन् । हरेक इन्द्रियले आफूलाई सञ्चालित राख्न चाहन्छन् र एक अर्कालाई निष्क्रिय पार्न तँछाड मछाड गर्न थाल्छन् । प्रत्येक व्यक्तिभित्र नै कुरुक्षेत्रको लडाइँ मच्चिरहेको हुन्छ । पाँच इन्द्रिय एक पक्षमा छन् भने पाँच कर्मेन्द्रिय अर्का पक्षमा हुन्छन् र दुवैलाई एक विन्दुमा ल्याउन दौडेको हुन्छ मन ।

यस मनलाई बल ज्यादा दिई कर्म गराउन अग्रसर पार्नलाई नै ज्ञानेन्द्रियहरू लाई बढी परिचालित गराउनु आवश्यक पर्छ । विद्या आर्जनको महत्व पनि यही ज्ञानेन्द्रियलाई अतिरिक्त बल पुर्याउनलाई हो । मनुष्यका मनभित्र विभिन्न कामनाहरू उर्लन सक्छन् र ती सबै कामनाहरू पूर्ण गर्नपट्टि व्यक्ति लाग्यो भने त्यो त्यसैका थुप्रामा हराउँछ । यसको छनोटको अभिभारा ज्ञानेन्द्रियलाई दिन सक्यो भने ऊ सफल हुनसक्छ ।

इच्छा अनुसार उठेका भोगलाई भोग्नाले इच्छाको पूर्ति हुन्छ भन्न सकिँदैन । यसले झन् इच्छा भड्काउने काम मात्र गर्छ जस्तो बल्दै गरे का आगोमा घिउ थप्नाले त्यो उत्तेजित हुन्छ । भोगविलासकामा लागेका मनुष्यले सिद्धि प्राप्ति कहिल्यै गर्न सक्तैन जस्तो हाल दमनको भएको छ ।

शिवका यस्ता तथ्यज्ञान सुन्दासुन्दै गौरी भन्छे, “तपाईंका यी विचार र ज्ञान सुन्दा त मलाई आभास हुँदैछ, कही तपाईं त्यागी भएर जङ्गलमा मठ खोलेर उपासक त बन्नु हुन्न ? रातदिन यस्तै धर्मका पुस्तक अध्ययन गर्नमा व्यस्त हुनुहुन्छ ।”

“ज्ञान प्राप्त गरेपछि जङ्गलमा पस्ने होइन, त्यो ज्ञानको रसपान गराउन त मनुष्यका समूहमा पो पस्नुपर्छ । फेरि म कुन ज्ञानी हुनसकेको छु र तिमीले जङ्गलतिर लाग्छु कि भनेर शङ्का गर्छ्यौ ?

म त सोच्तछु, गौरी जसले म त्यागी हूँ भनेर देखाउँछ, त्यो त्यागी नै होइन । ऊ त आफ्नो बढाइ सुन्नका लागि बनेको हुन्छ । त्यसको त्यो त्याग होइन, कामना लिप्सा हो ।

“हो यो कुरा साँच्चै चित्त बुझ्ने भन्नुभयो । त्यागी भन्ने कति सन्यासीहरू गार्हस्थ्य जीवनमा फर्किएका पनि छन् । एउटा कुरा तपाईंले ज्ञानेन्द्रिय, कर्मेन्द्रिय अनि मनका बारे जुन भन्नुभयो, त्यसमा कति म थप्न चाहन्छु भने यी इन्द्रियहरूलाई प्रज्वलित पार्ने, सक्रिय पार्ने कृत्य गरेको छ वातावरण र परिस्थितिले पनि । यसमा तपाईंको भनाइ के छ ?”

“यही वातावरण र परिस्थिति त मनुष्यको समस्या हो, गुरु हो र प्रेरणा पनि हो र यसैले निम्त्याएको छ सभ्यता पनि ।

अस्पतालको बाहिर दिलबहादुर अधैर्य भई छटपटाइरहेछ मानौँ राधाको प्रसूति पीडा उसलाई नै सरेको छ ? ऊ सकुशल नानी जन्मेको सुन्न आतुर भएको छ । ऊ सम्झन थाल्छ ती खबरहरू जसमा लेखिएको थियो रे दुई टाउके बालक जन्मेको, कसैका खुट्टा नभएको, ओठ काटिएको, तीन हात भएको या आँखा नभएको बेरुपका शिशुहरू । उसलाई कता कता डर लाग्छ कहीँ राधाले पनि कुनै त्यस्तै पाई भने ….. ?

ऊ सम्झन्छ, राधालाई पेट दुखेर जँचाउन ल्याउँदा डाक्टरले सोधेका कुराहरू । ऊ पछुताउँछ पनि किन उसले खुवाउन हुन्न भन्दा पनि राधालाई दुई जिया भएका बेलामा पनि रक्सी खुवायो । हेर्दा हातखुट्टा सबै ठीक भए पनि लुरे लाम्रे भयो भने के गर्ने ? आफूलाई बुढेसकालमा हेरचाह गर्ला भनेर सन्तान जन्माइन्छ । त्यसैलाई उल्टै स्याहारेर बस्नुपर्ने त हुँदैन ?

यस्ती अवस्थाकी आइमाईलाई बारम्बार डाक्टर जँचाउनुपर्छ भन्दा केको स्वाँङ्ग हामीलाई पार्नुपर्छ भनेर मानिनँ, यसको फल के कस्तो देखाउने हो । अहिलेसम्म त अप्रेसन मात्र गर्नुपर्छ भनेका छन् । त्यसपछि के के सुनाउने हुन् ।”

मनमा यस्ता कुरा खेलाउँदा खेलाउँदै एउटी नर्स भित्रबाट निस्केकी मात्र के हुन्थे, उसले सोधीहाल्छ “राधाको के भयो ?” हतारमा निस्केकी त्यस नर्सले के बेलिविस्तार लगाएर बताउन पाउँथी, “थाहा छैन” भनेर जवाफ दिँदै जान्छे ।”

दिलबहादुरलाई उसका जवाफले कुपित पार्छ र झर्कंदै भन्छ, “थाहा छैन भन्ने जवाफ सुन्न हामी यहाँ पर्खेर बसेका होइनौँ । हाम्रा जहानहरूलाई भित्र लगेको यतिका बेला भइसक्यो के भयो भनेर सोध्दा थाहा छैन भन्ने जवाफ आउँछ । केही थाहा नै नहुने तपाईंहरूले यो प्रसूति गृहमा किन नोकरी गर्नुहुन्छ ?”

ऊ रिसाएको देखेर त्यहाँ पर्खेर बस्ने अरूहरू पनि भन्छन्, “खै के हो के ? यहाँ पर्खेर बसेको बिहानदेखि नै हो केही भन्न आउँदैनन् सोधे यस्तै ठाडो जवाफ दिन्छन् । मैले त आ लैजान्नँ अस्पताल भनेको थिएँ, मानेनन् ।”

एउटी नर्स फेरि निस्कन्छे र सोध्छे, “श्याम भन्ने यहाँ को हुनुहुन्छ ?” खबर सुन्न हतारिदै श्याम भन्ने मै हूँ भनेर ऊ अगाडि जान्छ र सोध्छ, “के जन्मियो ?” नर्सले छोरो जन्मियो मात्र के भनेकी थिई ऊ खुसी हुँदै भन्नथाल्छ, “मैले पहिले नै भनेको थिएँ यसपटक छोरा नै जन्मन्छ भनेर । अनि कस्तो छ त्यो ?”

नर्स रोकिँदै भन्छे, “पहिले मेरो कुरा त सबै सुन्नोस् । त्यो नानी जन्मन त जन्मियो तर त्यसलाई बचाउन भने सकिएन । तपाईंकी जहान रोएकी रोयै छन् गएर फुलाउनु होस् ।”

यस्तो हृदयविदारक खबर सुनेर श्याम चुप लाग्दैन । ऊ कराउन थाल्छ, “तपाईंहरूले राम्रो उपचार गर्न भएन, त्यसैले त्यो मर्यो । तपाईंहरू ज्यानमारा हो, मेरा छोरालाई मार्ने तपाईंहरू हो । घरैमा ग्यालग्याल्ती सात छोरी जन्माउँदा न त आमालाई कष्ट भयो, न त नानी नै मर्यो । छोरो जन्माउँछे यसले भनेर अस्पताल ल्याएँ, यो दशा भोग्नु पर्यो । यसो भन्दै छाती पिटीपिटी ऊ रुन थालेपछि नर्सले पनि अस्पतालमाथि लगाएको आरोप सहन सकिनँ र भन्छे, “यहाँ ल्याउनु भएकाले मात्र तपाईंकी जहान बाँचिन् नत्र सात नानी जन्माइसकेकी त्यस उमेरकी तिनको के अवस्था हुनेथियो होला ? आपत् नपरी तपाईंहरू पहिले जँचाउनु हुन्न अनि यस्तो उस्तो भन्नुहुन्छ । ऊ त्यो लेखेको पढ्न सक्नु हुन्छ भने पढ्नोस् र यस्तो गल्ती आफ्ना सन्तानले कहिल्यै नदोहोर्याउनु भनेर सम्झाउनु होला ।

“अब पनि त्यसले अर्को नानी पाउन सक्ली र त्यो पढी रहुँ ? लौ, मेरो जहानलाई भेटाइ दिनोस्” भनेर जान्छ । श्याम गएपछि त्यहाँ कुरेर बस्नेहरू त्यस नर्सले देखाएका पाटीमा हेर्न जान्छन् जहाँ लेखिएको थियो १८ वर्षभन्दा कम र ३५ वर्षभन्दा बढी उमेर पुगेपछि गर्भवती हुनुहुँदैन र प्रत्येक गर्भवती महिलाले आफ्नो र नानीको स्वास्थ्य जँचाइरहनु पर्छ । पौष्टिक आहार खाने गर्नुपर्छ इत्यादि कुराहरू उनीहरू क्रमैले पढ्छन् ।

दिलबहादुरलाई श्यामका घटनाले झन् छटपटी थपिदिन्छ र नर्स आउने जाने बाटोतर्फ हेरिरहन्छ । उससँग रहेका हूलमध्ये सबैजसो एक एक गरेर आआफ्नो खबर सुनेर जान्छन् केवल दिलबहादुर पर्खिरहेको हुन्छ । गर्भवती महिलाहरूको प्रवेश चलिरहन्छ । उनीहरूका साथमा आएका अभिभावकहरूका नयाँ नयाँ अनुहार थपिँदै जान्छन् । उस्तै छटपटी, उस्तै गरी चनाखो भएर उनीहरू पर्खिरहेका हुन्छन् । अनिश्चित समयसम्म उपलब्ध पर्खेर बस्ता हुने मानसिक तनाव पनि कमको हुँदैन के गर्नु जन्म र मरणमाथि कसको के लाग्छ ? दिलबहादुर अस्पतालका एक कुनामा थुप्रिएर बसिरहन्छ, कुरिरहन्छ, कल्पना गरिरहन्छ, सम्झिरहन्छ आफ्नो गाउँ, त्यहाँको घर, आफू जन्मदा दुई दिदीहरूपछि छोरो जन्मिएकाले आमाले खुसी हुँदै के के गर्नु भयो होला ।

उहाँहरूको त्यो प्यारो चाहनाको छोरो आज आफ्नो भन्नु सबै छोडेर यस बिरानो ठाउँमा आएर आफ्नो भाग्यसँग यसरी जुद्दै जिइरहेछ । केका लागि ? थाहा छैन बाँच्नका लागि हो या बचाउनका लागि ? ऊ बलभद्रलाई पनि सम्झन्छ, जो विदेशमा नोकरी गर्न गई धन कमाएर गाउँमा फर्केपछि ठूलो मान्छे भएर मान पाएको रवाफ देखाउँदै भन्नेगर्थ्यो । एकफेर नविदेशिएर धन कहाँबाट फल्छ ? त्यसरी नै ऊ सम्झन्छ सेतेलाई, जो संयुक्त राष्ट्रसंघ मार्फत् शान्ति स्थापना गराउने फौजमा सामेल भई ती लडाइँ चलिरहेका देशहरूमा छिरी कार्यरत हुनपसेको मगनी आमाको छोराको अभिलाषा पनि धन कमाई फर्कने नै छ भन्ने मेरो जस्तो ।

के पाए ती आमाबाले हामीजस्ता छोरा जन्माएर । बुढेसकालमा हामी उनीहरूको सहारा बन्न सकेका छैनौँ । आफ्नो भविष्य बनाउने विचार राखेर उनीहरूलाई आफ्नै जीवनसँग लडेर जिउन यसै छोडिदियौँ शून्य घरमा, उजाड बस्तीमा बुढ्यौलीले कमजोर भइसकेका ती आमाबाबुलाई । अचम्म यो छ, तैपनि हामीले उनीहरूबाट माफ पाएका छौँ, उनीहरूको आशीर्वाद र स्नेह रहिरहेको छ । अझै उनीहरूमा झिनो आशा छ हाम्रो सुख समृद्धि र सन्तान हेर्ने । यो माया साँच्चै अनन्त छ ।

दिलबहादुरले सोच्तासोच्तै आफ्नो र ती साथीहरूको जीवनी केलाउन थाल्छ । ऊ मनमनै भन्छ “हो, हामी साथै बसेर माया बाँड्न नसके पनि बिर्सिएका छैनौँ त्यो दैलानेर उभिएर बिदाइको टीका लगाइदिएको । घर छोडेर शहर पस्नु या विदेशिनु हाम्रो इच्छा होइन विवशता हो । यहाँ बसेर पनि हामीले के नै पाएका छौँ र ? कसैले ज्यान सङ्कल्प गरेर गाउँ छोडेका छन् भने कोही बिरानो देशमा एक्लै लडेर जिउन कम्मर कसेर जान तयार भएका छन् । के सुख तिनले पाएका छन् ? एक नोकर भएर जिइरहेका छन् केवल भविष्यलाई सम्झेर, कल्पेर आज बिताइरहेका छन् । गरिबीले ल्याएको यस विवशतालाई निठुरीपना पनि त भन्न सकिँदैन ।

दुखको अन्त्य पनि छिटै होला कि भन्ने पनि म देख्तिनँ । अहिले मेरो छोरो नै जन्मियो भने पनि त्यो नोकर बाहेक अरु के होला ? यो आफ्नै देशमा, आफ्नै गाउँमा शिक्षाको र आर्थिक स्थितिको सुधार नआई हट्दैन ।

यहाँ हामी छोराहरू मात्र विदेशिएका छैनौँ, गाउँबाट शहर पसेका थुप्रै छोरीहरू पनि छन् जसका आँखाका परेलीहरू कहिल्यै ओभाएका छैनन् । गरिबी र समस्याका अजिङ्गरले हामी सबैलाई निलिदिँदै छ ।

थाहा छ, पढ्नु कति जरुरी छ, ज्ञान हासिल नगरी केही पनि गर्न सक्तैनौँ तर हामीले थाहा पाएर चाहेर पनि पढ्न पाएका छैनौँ । हामीले भविष्य होइन, आजको समस्या टार्न प्रयत्नशील हुनुपरेको छ । भोको पेट, नाङ्गो शरीर, रुखमुनिको ओतले पहिलो प्रश्न यही गर्छ, “हामीलाई प्राथमिकता देऊ ।” यसैमा हामी रडमङ्गिएका छौँ ।

गरीब हुनु कुनै अपराध होइन, गरीब हुनाको कारण भने सोचनीय छ । वंशका कुनैले जथाभावी धन उडाएर या परिश्रमी हुन नसकेर नै गरिबी बढ्दै गएको हुनुपर्छ । ज्ञानको कमी, मौकाको कमी र धनको कमीले गर्दा उसले आफूलाई आत्मसंरक्षण दिन सक्तैन, अनि ऊ के हुन्छ ? जससँग यी शक्ति, यी गुण छन् उनैमा समर्पित हुन्छन् र उनैबाट शोषित पनि । ऊ जानाजानी यसलाई स्वीकारी रहेको हुन्छ ।

कमजोरी कतै न कतै गरीब हुनुमा हाम्रो आफ्नै हात छ । त्यसैले भगवान्सँग यति नै प्रार्थना छ, तिमीले मलाई छोरी दिन्छौ या छोरो, जे भए पनि त्यो परिश्रमी होस् । मैलेभन्दा केही बढी उपलब्धि गर्नसकोस् । आफ्नै आउने पुस्तालाई यस महामारीका गरिबी रोगबाट बचाउन सक्नेहोस् ।

मिठाइको थाल शिवतर्फ बढाउँदै गौरी उसलाई मुख मीठो बनाउन आग्रह गर्छे । शिव अकमकिन्छ र हाँस्नै भन्छ, “ए, त्यसो भए हामी बाजेबज्यै भयौँ ? कहिले पाई ?”

“हिजो पाई, छोरी राम्री छे ।”

“ए राम्रो भयो लक्ष्मी आइछ । अनि ज्वाइँसाहेव नि ? कहिले आइपुग्ने रे ?”

“कस्तो थाहा नपाउनु भएको, तपाईंले ? दयाको सुत्केरी हुने बेला नै भएको छैन । यो त दिलेले खुसी भएर मिठाइ खुवाएको नि ? घरमा माथै बसेपछि त्यो पनि त हाम्रै परिवार मान्नुपर्छ । त्यसैले तपाईंले हामी बाजेबज्यै भयौँ भन्दा चुप लागेकी । साँच्च नै, त्यस दिलेले राधालाई कति माया गरेको ?” यति रोएन त्यो । नानी पनि अप्रेसन नै गरेर निकाल्नु पर्यो । अलि ठूलो ओजनकी रही छ ।

शिवले मिठाइ चपाउँदै भन्छ, “लोग्नेले स्वास्नीलाई माया नगरे कसलाई गर्छ ? खूब अचम्मको कुरा थाहा पाए जस्तो गर्यौ तिमीले त ? बरु त्यो त राधाले छोरो पाइन भने पहाड लखेटिदिन्छु भन्थ्यो । अहिले छोरी भएकोमा पनि मिठाइ खुवाउन तम्सिछ । कसरी त्यसले मन फर्काएछ ।” अर्को एक बर्फी मुखमा हाल्दै भन्छ, “मिठाइ पनि राम्रो छानेर ल्याएछ । तिमीले त्यसको मुख हेरेर के दियौ ? राम्रै कुरा दिनू जे भए पनि त्यसले हामीलाई आफ्नै ठान्न थालेको छ ।

“यति कुरा पनि म जान्दिनँ र तपाईंले बताउनुपर्छ । म अस्पतालमै गई मुख हेरिसके । त्यसले नानी जन्माउन शल्यक्रिया गर्नुपर्छ भन्दा अस्पतालमा नै मरिआएर यति रोएन, राधा बाँचिन भने म के गरुँ भनेको भने थियो । त्यस्तो पो माया ?”

“तिम्रो र हाम्रो मायामा पनि कहाँ कम्ती छ र ? मलाई रुने मौकै दिइनौ, झट्ट पालिहाल्यौ, नत्र म पनि दुई तीन हाते रुमाल भिज्ने गरी रोइदिन्थे” शिवलाई आज ठट्टा गर्न मन लाग्छ । ऊ बाहिरबाट घर फर्कंदा नै प्रसन्न मुद्रामा थियो त्यसमाथि पनि मिठाइ खाएको ।

लोग्नेको ठट्टा सुनेर गौरीलाई लाज लागे पनि कता कता रमाइलो लाग्छ र हाँस्तै भन्छे, “के कुरा गर्नु तपाईंसँग । लौ अरू पनि मिठाइ खानुहुन्छ भने लिनोस् हामीले त खाइसक्यौँ ।”

शिवले अर्को एक समाते थालै आफ्नो अगाडि नराख न भन्छ । गौरीले थाल लिएर नै भान्छातिर जान्छे । शिवले नूरले पनि नानि जन्माइहोली भनेर सम्झन्छ । नूर उसको सम्झनामा झलझक आइरहन्छे ।

सोच्छ, नूरलाई बाबाले आफू उसको पछाडि रहिरहूँला भनेर आश्वासन दिई लोग्नेका घरमा पठाएको थियो । त्यसले उसलाई घरमा राख्यो या राखेन ? फर्केर आई बाबा कहाँ नै बसेकी रहिछ भने बाबाले के गरी धानिरहेको होला ? कतिलाई संरक्षण दिँदै जाने ती बाबाले ? उनीसँग नै के छ र ? एकपटक मृत्युको मुखबाट मैले नूरलाई जोगाएकाले मेरो केही कर्तव्य त्यसमाथि हुनुपर्छ ।

शिवलाई यस सोचाइले च्वाँस्स घोच्छ र गौरीलाई बोलाउँछ । गौरी दुई कप चिया लिएर आइपुग्छे । एक कप शिवलाई दिँदै बोलाउनको अर्थ सोध्छे । उसको हाँसी खुसी त्यति छिटै बदलिएको देखेर गौरीलाई असजिलो लाग्छ र जवाफको प्रतीक्षा गर्छे ।

शिवले नूरको कुरा उठाउँछ र गौरीसँग सोध्छ, “हामीले त्यसलाई यहाँ ल्यायौँ भने के तिमीले नूर र त्यसको नानीलाई संरक्षण दिन सक्छ्यौ ? लोग्नेले घरबाट निकालिएकी रहेछ भने त्यो कहाँ जाओस् ? बाबालाई पनि राख्न गाह्रै हुन्छ दुई दुई थपिन्छन् ।”

झट्ट आएको प्रस्ताव सुनेर गौरी स्तम्भित हुन्छे र अकमकाएर शिवको अनुहार हेर्छे । उसको अनुहारमा झल्केको दृढ संकल्पलाई जाँचेर ऊ सोच्न थाल्छे भने शिवले सोही प्रश्नलाई विशेष जोड दिएर दोहोर्याउँछ ।

गौरीले त्यसपछि पनि केही नबोलेकीले शिवले सम्झाउने प्रकारले भन्छ, “कुमार्ग छोडेर सन्मार्गमा लाग्न चाहनेहरूलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो, गौरी ? त्यो अब फेरि देवकीको रूपमा रहन चाहन्न । त्यसले त्यो चाहेकी भए आत्महत्या गर्न तयार हुने थिइन । त्यसले सुमार्गको स्वाद चाखिसकेकी छ तर उसलाई स्वीकारी नदिएकोले त्यो आपत्मा परेकी छे । तसर्थ नडराऊ, त्यो यहाँ आई भने हाम्रो तेस्री छोरी भएर बस्छे । साधनाले पनि यस प्रस्तावलाई नकार्ने छैन भन्ने मलाई विश्वास छ । तिमी नारीहरूले यी समाजले कुल्चिएका नारीहरूको रक्षा गर्नुपर्छ । म पहिले त्यहाँको स्थिति बुझ्छु । त्यसपछि मात्र यहाँ ल्याउँला । जब मैले नूरलाई मर्न दिइनँ, त्यसले आक्रोशित हुँदै मलाई गाली गर्दै आफ्ना असमर्थता जुन फलाकी र त्यसका घरमा पुग्दा परिवारले उसलाई देखेर गरेको व्यवहार जुन् छ त्यो म बिर्सन सक्तिनँ । गौरी, त्यसलाई जीवनसँग घृणा होइन, रहरले बाँच्न तिमीले सिकाइ देऊ ।

“भावुक भएर लिएको निर्णय गलत पनि हुनसक्छ । यसलाई शान्त मनले सोचौँ र के गर्न उपयुक्त हुन्छ अनि त्यसै गरौँला । भाग्ने र भगाउने नीति कमजोर पनि हुनसक्छ त्यसले लक्ष्यदेखि टाढा लैजान पनि सक्छ ।” गौरीले यसो भन्दै शिवको अनुहारमा यसले कस्तो प्रतिक्रिया पार्छ, त्यो हेर्न खोज्छे । शिवलाई गौरीको भनाइ चित्त बुझ्दो नलागे पनि जवाफ दिँदैन र मनैमन भन्छ, “यो पनि डराई नुरदेखि पन्छिने नै यसको नियत छ । “देवकी” भन्ने चिन्नासाथ हच्किहाल्छन् चाहे त्यो लोग्नेमान्छे होस् या स्वास्नीमान्छे ।

शिव जति दिन डोटीमा बस्यो यी देवकीहरू र बदनीहरूकहाँ गई भेट गर्न छोडेन । प्रत्येक देवकीहरूको आत्मकथा बटुल्ने हो भने नारी सुधारका लागि विषयवस्तु आफैँ उपलब्ध हुन्छन् । ती देवकीहरू पढेलेखेका त थिएनन् तर तिनीहरूले जीवनको अर्को तस्विर नजिकैबाट देखेका हुँदा रहेछन् । धेरैजसोको यस वृत्तिबाट मुक्त हुने नै चाहना हुँदा रहेछन् । उनीहरू भन्थे, “हामीलाई कहिल्यै गृहस्थी कस्तो हुन्छ, लोग्नेस्वास्नी बालबच्चा र अन्य परिवारसँग साथ रहेर जिउँदा कस्तो अनुभूति हुन्छ, लोग्नेको माया कस्तो हुन्छ, त्यो केही पनि थाहा छैन । रातदिन यिनै लोग्ने मान्छेसँग हुन्छौँ यीनैसँग क्रीडा गरिरहेका हुन्छौँ तर लोग्नेको भूमिका के भन्ने जानेका छैनौँ । ती लोग्नेमान्छेलाई सोध्छौँ “तपाईंहरूको घरमा स्वास्नी छैन र यहाँ पैसा खर्च गरेर दिलबहलाउ गर्न आउनुहुन्छ भन्दा जवाफ दिन्छन्,” “ती घरका मूली दाल बराबर भइहाले नि । उनीहरूलाई घरधन्दा गर्दैमा, नानी जमाउँदै हुर्काउँदै तिनैलाई माया गर्दै स्याहार्दैमा हामी तर्फ विचार गर्ने कहाँ फुर्सत हुन्छ र ?” जति सन्तान बढ्दै जान्छन् गृहस्थीमा झन् झन् डुब्दै जान्छन् अनि स्वास्नी कहिलेकाही खाँचो टार्ने मात्र हुन्छे । हामी उनीहरूका कुरा सुनेर सोच्छौँ, “यस्तो कसरी हुनसक्छ ? हामी सबैको भएर पनि तपाईंहरूलाई सन्तुष्टि दिन सक्छौँ भने उनीहरू एउटा लोग्नेलाई पनि सक्तैनन् ?” हाम्रा कुरा सुनेर उनीहरू हाँस्तै भन्छन् ,“तिमीहरूको जस्तो कला तिनलाई के थाहा छ ? ती त मूर्ख छन् ।”

कुनैलाई त भन्यौँ पनि, “किन दिनदिनै यत्रो कष्ट उठाउँदै लुकिछिपी आउनु हुन्छ । विवाह गरेर लैजानोस्, घरैमा म तपाईंको एकलौटी भएर धेरै सुख दिन्छु । तपाईंलाई एड्स सर्ला कि भन्ने डर हुँदैन भने मैले पनि स्वास्नी बन्ने रहर पूरा गर्न पाउँछु । हाम्रा कुरा सुनेर उफियाँ फट्केजस्तो गरी फट्कन खोज्दै भन्छन्, “गार्हस्थ्य जीवनमा के देखेका छौ र त्यसमा तिमीहरू यसरी आकर्षित भएका, यही जीवन स्वच्छन्दको छ । अधिकार र कर्तव्यको द्वन्द्वले गर्दा त्यस जीवनमा हरेक दिन रुनुबाहेक केही हुँदैन । फेरि तिमीहरू भयौ देवकी ! धर्मसँग जोडिएका ।”

के हो यो कुनचाहिं ठीक, हामीले जान्ने पाएका छैनौ । एकपटक एउटा गृहस्थकी स्वास्नी आफैं आएर हामीलाई उसको लोग्ने भाँड्ने दोष लगाउंदै भन्नुसम्म भनी अनि आफैं खूबसंग रोई । त्यो देखेर हामीलाई पनि खूबै माया लाग्यो । विचरी कठै त भन्यौ तर हामीले गर्ने के ? तिनका लोग्नेहरूलाई नआउ भन्दा पनि मान्दैनन् । उल्टै हामीलाई देवकी बनाएको अर्थ बताउँदै हामीले नाई भन्न पाउँदैनौं भन्छन् ।

यस्तो अवस्था आफ्नै घरबार बालकहरू भएका आङ्‌माइलाई पनि किन आउँछ ? स्वास्नीमान्छे त्यहाँ पनि किन सताइएकी छे त्यो हामीलाई थाहा छैन । हेर्नोस् न त बाबु न त दाजुभाइ नै हाम्रो साथमा बसेका छन् । छन भने, आमा, दिदी, बहिनी मात्र यो वृत्ति लिएर जीविकोपार्जन गरेर बसेका छौं । त्यस्ता हामीलाई के थाहा हुन्छ लोग्नेमान्छेको स्वास्नीमान्छेसँगको सम्बन्ध रतिक्रीडामा मात्र सीमित नरही अरु क्षेत्रमा पनि हुन्छ । हामी धेरैजसो यस वृत्तिबाट निस्केर अरु जीवन पनि हेर्न चाहन्छौ । अनुभव गर्न चाहंदै पर्खिरहेछौ, कहिले त्यस्ता उद्धार नीति भएका आउलान् र हामीलाई सहयोग गर्लान् । यहाँ हामीलाई खान लगाउन गाह्रो छैन । हाँसो, ठट्टा र मोजमस्तीमा नै जीवन गुजारी रहेका छौँ भन्नुपर्यो । तर आज भोलि यी छोरीहरूको चिन्ता लाग्न थालिरहेछ । हामी यिनीहरूलाई मात्र भए पनि यसबाट उम्काउन चाहन्छौँ को छ, यहाँ यिनीहरूको जिम्मा लिइदिने ? स्कूलमा पढाउन पठायौ । ती छोरीहरू घर फर्कदा रुँदै आउँछन् र हामीसंग नै प्रश्न गर्छन्, “आमा तिमी खराब आङ्‌माई रे हो ? तिम्रो छोरी म पनि त्यसैले खराब हुन्छु रे ? तिमीहरूले पढेर के गर्छौ” भन्छन् । किन आमा हामीलाई त्यसो भनेको भनेर प्रश्न गर्दै दिक्कै लगाउँछन् । लौ भन्नोस् यस्ता प्रश्नको हामीले के जवाफ दिने ?”

एकपटक त स्कूलको माष्टरै आएर हामीलाई धम्की दिँदै भन्यो, “ए तिमीहरूले छोरी पढाउने अरु कुनै स्कूल पाएनौ र हाम्रोमा नै पठायौ ? तिम्रा कारणले गर्दा विद्यार्थीहरू दिनदिनै स्कूल छोडेर अन्तै जाँदै छन् । खबर पठाइसकें, हाम्रा छोराछोरीलाई कुसंगतमा लगाउन तिम्रो स्कूलमा पठाउँदैनौं । याद गर, भोलिदेखि छोरीहरूलाई स्कूल पठायौ भने म के गर्छु ? तिमीहरूका एक दुई छोरीहरूले गर्दा गाउँका केटाकेटी सबै अनपढ हुने छाँट आइसक्यो । तिम्रा छोरीहरूले पढेर कुन् अड्डाअदालत जानुपर्छ र स्कूल पठाउँछौ हँ ?”

हिजोको आमाको जीवनी हेर्छौं, आजको हाम्रो स्थिति संझन्छौं र आउने भोलि त सपारीं भनेर यी छोरीहरूलाई स्कूल पठाउँदा यस्तो सुन्नुपर्छ । अनि हामीले के नै गर्न सक्छौँ ? यो नारी जागृति र नारी सुधार भन्ने पनि के हो ? बिग्रिएको कहाँ छ, त्यसमा पो सुधार ल्याउनुपर्छ । सुधारमाथिको सुधार गर्न चाहन्छन् हामीलाई हेर्ने हो को ? यता न उता पर्न थालेका हामी भएका छौँ । छिर्न कसैले कतै दिंदैनन् ।

यस अवस्थामा परेका हामी आफैं बांच्ने उपाय नपाएर मरिरहेको बेला गाउँका यी बरालिएकाहरू आएर हाम्रा ती साना छोरीहरूमा पनि आँखा गाड्दै जब नमीठा बोली ओकल्न थाल्छन्, त्यस बखत तिनलाई मुन्ट्याएर त्यही जमिनमा गाडी दिउँ कि जस्तो लाग्छ । ती बरालिएकाहरू यति साह्रो भइसकेका छन् लाजै नमानेर झन् छिल्लिन थाल्छन् । लौ भन्नोस् त, हामीलाई कस्तो बनाएका छन् यिनले ? यस्तो चलन कसले ल्याएको हो देवकी बनाउने ? धर्मको नाममा पुरुषले आफ्नो स्वार्थपूर्तिका लागि रचेको चलन हो यो । यसमा हाम्रो के गल्ती छ, दाइ ? त्यस्तै आमाले हामीलाई जन्माई कुरो त्यतिमात्र होइन र ? हाम्रो आमादेखि ल्याएर हाम्रा छोरीहरूसम्मलाई देवकी बनाई मजा लुट्ने यिनै मै हुँ भन्ने त हुन् नि । हामीमा मात्र सीमित राखी यो प्रथा हटाउन सरकारले मद्दत गर्छ कि, दाइ ? कुनै बन्दोबस्त मिलाउन सकिन्छ भने गरिदिनोस् र यी छोरीहरूलाई बचाइदिनोस् ।”

देवकी, बदिनी र झुमाका जीवन सुधारका बाटाहरू केही छन् भने बताइदिनोस् ? कसैले यसतर्फ अगुवाइ नगरी यी छोरीहरूको लुट हट्दैन । तपाईं लोग्नेमान्छेले जब यस्तो धार्मिक नियम, कानून बनाउनु भयो, अब यो पनि तपाईं नै मिलेर हटाउनु होस् र समयको परिचय दिनोस् । यो कुन् राम्रो चलन हो र यसलाई जगेडा गरेर राख्नुपर्छ । एकदेशको कथा भएर बस्छ भने बसोस्, सुन्नेले एक दुई थोपा आँसु चुहाउलान् । कुरा त्यतिम‌ै सिध्दिन्छ ।

यस्ता मार्मिक व्यथा ती देवकी र बदिनीहरूको र नूरको सुनेपछि शिवले संकल्प गरेको छ ऊ यो नोकरीको फैसला भएपछि त्यसतर्फ नै लाग्ने र के योगदान दिएर उनीहरूका छोरीहरूलाई जोगाउन सकिन्छ, त्यो गर्दै जाने । नूर यसको संरक्षिका हुनेछे । साधना र म सहयोगी ।

शिवको संकल्प र संझनाको ताँदोलाई बाहिर बजेको मोटरको हर्नले खलबल्याइ दिन्छ । उसको ध्यान त्यतैतिर जान्छ । साधनाको स्वर सुनिन्छ, “लौ त भोलि भेटौंला” । त्यसपछि ऊ घरभित्र पसेकी जुत्ताको ट्वाक ट्वाक आवाज बढ्दै गएको बाट थाहा हुन्छ ।

  • साधना आज धेरै खुसी भएकी छे । के कसलाई सुनाऊँ जस्तो भई आमाको छेउमा जान्छे र आमाको हातबाट काट्दैको आलु पन्छाएर भन्छे, “आमा, दिदीले सङ्कट पारगरिन् । अब उनी खुसी छन् विवाहले ल्याएको वितृष्णा गयो, आमा गयो ?”

गौरी छक्कपर्दै भन्छे, “के सङ्कट थियो तेरी दिदीलाई र अब गयो भनेर खुसी भएकी ? ज्वाई साहेबसंग केही महिना छुट्टिएर बस्नु पर्यो भनेर ? त्यो त चाँडै बोलाउँछु भनेकै थिए ।”

साधना अलि गंभीर भएर भन्छे, “त्यो कारण होइन आमा । त्यति नबुझ्ने हामी दिदी कहाँ छिन् र । दिदीले तपाईहरूलाई केही पनि सुनाउनु भएन भन्दैमा उहाँ खुसी हुनुहुन्थ्यो भन्न सक्नुहुन्न । हाँस्ने मान्छे विवशतामा पनि हाँस्छ र आफ्नो दुःख लुकाएर त्यसले अरुलाई दुःखी नपारोस् भनेर पनि बाहिर देखावटी हाँसो निकाल्छ । हामी दिदीको अवस्था त्यस्तै थियो । मसँग कति रुनु भएको थियो । प्रेरणा दिदीको सल्लाह मानेर मात्र जिउ हलुङ्गो नहुन्जेललाई त्यहाँ बस्न राजी हुनुभएको थियो । नत्र दिदी यहाँ कहिल्यै घर छोडेर आइसक्नु हुन्थ्यो ।

मलाई पनि लागेको थियो, पराइकी छोरीमाथि यी कति निठुरी हुँदा रहेछन् । स्वार्थले के मात्र गराउँदो रहेनछ ।”

साधनाले अझै आमालाई तथ्य कुरा नखोलेर भूमिका मात्र बाँधिरहेकी सुनेर गौरी झर्कंदै सोध्छे, “कुरो के हो, त्यो भन्न ? कति लामो बखान मात्र छाँटिरहेकी । ज्वाईबाट केही त्यसो भएको रहेछ भने अहिले यहाँ भएकै बेलामा संझाउँ । त्यसको जीवन यसै बिग्रन दिनु त भएन ? विवाह भएपछि घर छोडेर माइत बस्नु भनेको निकै गाह्रो कुरा हुन्छ ।”

साधना हाँस्तै भन्छे, “भिनाजुको दोस्रो विवाह हामी दिदीसंग भएको रहेछ । अमेरिकामा छोरी रहिछे । विवाह भएको तीन महिनाभित्रै लोग्नेको छोरी भएको कुरा थाहा पाउनु, यता आफू आमा हुनलाग्नु, लोग्नेले भिसाको कुरा उठाएर अमेरिका एक्लै फर्कनु र उताबाट आएका चिठीहरूमा प्रेमका स्वाङले मात्र भरिएको पाउनु वास्तविकता कतै नलेखेको हुनु के ती सबै कष्टदायी होइनन् र ? चिन्ताले चुर्लुम्म डुबेकी थिइन् । हामी दिदीले भनोस् पनि कसलाई, बदल्नसक्ने कुरै थिएन र त्यसैमा मिलौँ भने पनि मनलाई निकै निमोठ्नु पर्ने स्थिति भयो । उहाँको अवस्था देख्ता हामीले नै केही दिन सहेर बस्नोस् दिदी, भन्नुपर्ने थियो ।”

“अनि अनि ? अहिले कसरी खुसी भई त ? कि ज्वाईंले आएर जादू गरिदिनु भयो ? तँ पनि दिदीका त्यस्ता दुःखलाई “थियो” मा पुर्याएर खुसी हुनथालिस् ? इमान नभएकाहरूलाई त म फुटेको आँखाले पनि हेर्न चाहन्न” भन्दै ऊ रिसाउँछे ।

साधनाले आमाको रोषलाई हाँसोमा परिवर्तन गर्न हाँस्तै भन्छे, “ए आमा तपाईंको यो उखानको अवधि सकिइसकेको छ । फुटेको आँखाले के देखिन्छ र हेर्दिनँ भन्नुहुन्छ ? अब सबै कुराको रहस्य खुलिसकेकाले तपाईंले चश्मा लगाएर राम्ररी हेरे पनि हुन्छ । दिदीको शङ्का निर्मूल भइसकेकाले उहाँ खुसी हुनुभएकी छ ।”

“लोग्नेले आएर के के भनेर फकायो, त्यसैमा फुरुङ्ग परी होली । यही त हामी नारीहरूको कमजोरी हो । त्यस्ता चिप्लाको कुरा साँचो पनि कसरी मान्नु ? राम्रोसंग बुझबुझारथ गर्नुपर्छ, जीवन नै बिग्रिने कुरा हो, यो । हाँसेर नउडाओ ।”

“पीर गर्ने बेला बितिसक्यो आमा । मैले पनि भिनाजुसँग भेटेर कुरा गर्दा उहाँले दिदीको अगाडि भन्नुभयो, “मेरी छोरी अवस्य हो तर स्वास्नी भने तिम्री दिदी मात्र हो । त्यस बालिकासंग मेरो मानवताको नाता छ । मैले त्यहाँको सामाजिक संस्थामा पनि काम गर्नेगरेको छु । त्यहाँका बालकहरू मसँग ज्यादै झ्यामिने गर्थे र मलाई ड्याडी भन्थे । म यहाँ आउँदा धेरै दिनसम्म तिनको साथ छुटेकाले त्यो स्याहार्ने संस्थाकी आमालाई दुःख दिइछ र तिनले चिठी लेखेर पठाएकी रहिछे । त्यहाँ पुगेपछि मैले थाहा पाएको थिएँ, तिनले घरमा चिठी पठाएकी छन् भनेर । म चुप यसैले थिएँ किनकि त्यो चिठी सायद घरमा पुगेको छैन होला नत्र दयाले यसबारे केही न केही लेख्थी होली । तर तिम्री दिदी साधारण अरु आइमाई जस्ती रहिनछे । मेरो अनुमान झूठो निस्कियो ।

जब मैले आफ्नै सन्तान जन्मने भयो भन्ने सुने, त्यसपछि म यति खुसी भइनँ । हप्ता हप्तामा चिठी पठाउन थालें । तिम्री दिदीलाई यसो गर्नु, उसो गर्नु भनेर सिकाएर पठाउँथें । मलाई केटाकेटी अति मन पर्ने, त्यसमा पनि आफ्नै अंश । लौ भन त म कसरी त्यहाँ ६,७ महिना दिन गनेर बसें हुँला । यता भने त्यस्तो शङ्का तिम्री दिदीका मनमा पसेर हुर्किसकेको रहेछ । यसमा तिमी मलाई के दोष लगाउँछ्यौ ? समाज सेवा गर्नु अधर्म हो ? ती बालकहरू जसले बाबुको माया पाएका छैनन्, त्यस्ताहरूलाई मैले माया गर्नु के अनर्थ हो ? दयाजस्ती शिक्षित नारीले यसबारे सोच्नुपर्थ्यो या सोधेर तथ्य पत्ता लगाउनपट्टि लाग्नुपर्थ्यो ।”

मैले पनि दिदीको पक्ष लिएर भने, “के प्रमाण छ त्यो तपाईको आफ्नै सन्तान होइन र संस्थाको हो भन्ने ? हामीले देखेका छैनौं भन्नेले तपाईलाई “ड्याडी” भनेकै छन् ।

मेरो कुरा सुनेर भिनाजुले हाँस्तै दिदीलाई भन्नुभयो, “यिनले पनि तिमीले जस्तो विश्वास गर्न जानेकी रहिनछिन् । लोग्नेमान्छेले तर्साएको छ कि कसो ? लौ दया, अब तिमी नै आफ्नी बहिनीलाई प्रमाण देखाएर देऊ । मैले भनेको पत्याउन्न होली ।”

अनि दिदीले मलाई फोटो र भिनाजुको परिचयपत्र देखाउनु भयो त्यो स्याहार्ने आमासँग पनि टेलिफोनमा कुरा भयो । त्यो मेरी पनि अरु बालकहरूसरह संस्थाको संरक्षणमा नै रहिछे ।

एक्लै खुलस्त नभन्नु र अर्कोले शङ्का मात्र लिएर त्यसबारे खोज खबर नगर्नु दुवैको सानो गल्तीले गर्दा जीवनले अर्कै मोड लिन लागिसकेको थियो । प्रेरणा दिदीका सल्लाहले बचाइदियो र पो आज दुवै साथमा रहन पाएका छौँ ।

अहिले त दिदीले मलाई संझाउने पाराले भन्नु हुँदै छ, “साधना, हेर यो दाम्पत्य जीवनको सफलता समझदारी, धैर्य र दूरदर्शितामा निर्भर हुँदोरहेछ । तैंले पनि यो कुरा नबिर्संनू । (अलि हाँस्तै) मानौं मैले पनि विवाहित जीवन बिताउँछु ।”

“मेरा त सन्तानै कपटी । यत्रो कुरा भइसक्ता पनि हामीलाई अत्तोपत्तो दिएको होइनन्, आमाबाबुले केलाई सुख र केलाई दुःख भनेर मान्छन्, त्यस कुराको ज्ञानै छैन । तेरो पनि मनमा के छ, भन् ? विवाह गर्नुपर्ने उमेर भइसक्यो ? यो बेला घरकैपछि भनेजस्तो लोग्ने पाउन गाह्रो हुन्छ । कोही तेरो मनले ठम्याएको छ भने भन्, नत्र हामी खोज्न थाल्छौं । दाजुको पनि फर्कने बेला भइसक्यो ?” यति भनेर जवाफको प्रतीक्षा गर्छे ।

साधना आमासंग टाँसिदै भन्छे, “तपाईंले कान्छो ज्वाई कहिले हराउनु भयो र खोज्छु भन्नुहुन्छ । त्यस्तो भगुवा र लुक्वासांग मैले कसरी जीवन निर्वाह गर्न सकुँला ? त्यसलाई लुकेर नै बस्न दिनोस् र मेरो विवाह भइसकेको खबर त्यही सुनाईदिनोस् ।”

“के रे विवाह भइसक्यो रे ? कोसंग कहिले विवाह गरिस् ? तिमीहरूका लागि हामी कोही भएनछौँ ? जा मसँग टाँसिन पनि आउनु पर्दैन” भनेर घचेडिदिन्छे ।

रिसाएकी आमालाई संझाउने हेतुले भन्छे, “मेरो कुरा त पूरा सुनिदिनोस् । अनि जे गर्न मन लाग्छ, गर्नास् । घचेड्ने मात्र होइन घरैबाट निकाले पनि निकाल्नोस् । बाआमाको छहारी पाएकी थिएँ, त्यो पनि हरिने भयो छोरीको जुनी मानेर सहुँला ।”

छोरीको कुरा सुनेर गौरी शान्त हुन्छे र मनमनै भन्छे, “विवाहको बन्धन के हो भन्ने यिनलाई थाहा छैन । लुकिछिपी जोसँग यसो भेट भयो, केही दिन मीठा कुराहरू गर्यो, पुगीहाल्यो । के हावा चल्नथालेको यस्तो ?”

गौरीको मनले जे जसो भनिरहेको भए पनि साधनाले आफ्नो विवाह भएको यसरी बताउँछे, “म विमान परिचारिकाको नोकरीमा समर्पित भइसकेकी छु, मेरो विवाह यसैसँग भइसकेको छ याने ( “सेवा” सँग । मैले व्यक्तिसँग विवाह गरी वैवाहिक जीवन बिताउने सपना देख्न छोडिसकेकी छु । ती हाम्रा साथीहरू जसले विवाह गरेका छन्, जसले विवाहको प्रस्ताव पाएका छन्, ती धेरैजसोको कुरा सुन्दा हामी यस पेशामा लागेकाहरूले सेवामा नै समर्पित भई जीवन यापन गर्नु श्रेयस्कर हुन्छ जस्तो मानेका छौँ । हजुरआमाले बाबालाई यसका शिरमा राजाको सिन्दूर परेको छ भन्नुहुन्थ्यो । त्यस्तै नोकरी गर्नेहरूमाथि पर्ने त्यो छाप हामीमा पनि लागिसकेकाले यसैसंग विवाह भइसकेको भनेकी हुँ । मैले गल्ती भनें आमा ?”

“अहिले पैसा कमाएका छौँ, उडेका छौँ र उमेर र समय बितेको पत्तै हुँदैन । पछि यिनै धनको प्रयोग गरी सामाजिक सेवा गर्छु भन्ने सोचेकी छु । शिशुको रहरै लागे कि कृत्रिम गर्भधारण गर्छु कि अनाथ आश्रम खोल्छु । एक मात्र होइन, बीसौँ सन्तानमाथि मभित्र उम्लिएको ममता पोख्न पाउनेछु । अनि मलाई के नै चाहिन्छ र ? अहिले हेर्छु, त्यो संझनाले के पाएकी छे ? जसले घरमा विरोध गर्दै बाआमासंग बोलिचाली छोडेर विवाह गरी केबल लोग्नेको माया पाउन । तर लोग्नेले भने संझनासंग होइन, उसका कमाइंसंग विवाह गरेको रहेछ । यो कुरा पछि मात्र थाहापाई जब समय उसका हातबाट चिप्लिसकेको थियो ।

त्यस्तै छ सुधाको जीवन पनि । लोग्नेले उसलाई आफ्नो व्यापार बढाउन प्रयोग गरिरहेको छ । कुनै दिन पनि उससँग प्यारको व्यवहार गरिएको हुँदैन रे । भन्छ रे, यसपटक यो ल्या, त्यो ल्या । समात्छ कि भन्ने डर पनि उसलाई छैन रे । “नाई” भन्ने शब्द निस्क्यो कि त “सहिनसक्नु गरी गाली गर्छ रे । पैसाका लोभले के कस्तोसम्म गराउँदो रहेछ भन्ने यही पैसा कमाउन थालेपछि थाहा पाउँदै छु । यो मोह महजस्तै रहेछ जसको स्वाद लिन भिंगा झम्टेर जान्छ र त्यहीँ भुनभुनाई रमाइरहन्छ । उसले त्यसभन्दा बढी आनन्द अरुमा सोच्नै सक्तैन । कुनैको यस्तासँग संबन्ध हुनगई यस प्रकारले जिइरहेका छन् भने अर्की साथीको प्रेमवियोग भएको छ यही नोकरीले गर्दा । उसको प्रेमीले भन्छ रे, यो नोकरी छोडिस् भने मात्र म तँसंग बिहे गर्छु । उसलाई यो नोकरीप्रति घृणा छ रे । रैनाले यो नोकरी म त्याग्न सक्तिनँ । मेरो योग्यताले यति पैसा कमाउनसक्ने अर्को नोकरी पाउन सक्तिनँ र यो सेवाको प्रकृति नै लावण्यमय छ । नोकरी र प्रेमको चेपामा परेकी रैना विचलित भएकी मैले देखेकी छु । त्यसैले म विवाह गरेर समस्यामा पर्न चाहन्नँ । मलाई पनि वैवाहिक जीवनभन्दा यही नोकरी गर्नमा ज्यादा प्रसन्नता छ । म आफू भएर बाँच्न चाहन्छु । म कसैको पनि प्रयोगका लागि न त दबाब सहन सक्छु न त आफूलाई अर्पण गर्न नै । त्यस्तो स्वभावको मैले विवाह गरेर के सुख पाऊँला ?”

गौरीले छोरीको कुरा सुनिरहन्छे । ऊ कहिले शान्त त कहिले आवेगमा आउँदै बोलिरहन्छे । उसका अनुहारमा विभिन्न रङ्गहरू उलँदै भावनासंग खेल्दै उत्रन थाल्छन् । हाँस्तै साधनाले उठाएका कुराको अन्त्य गंभीर स्थितिमा पुगेर प्रश्नवाचक भई अड्छ । गौरीले छोरीको मनस्थिति बुझेर सोध्छे, “साथीहरूको कथा मात्र सुनाएकी हो कि तेरो आफ्नै पनि हो ?”

झूटो बोल्दिन भन्ने अठोट लिएर चल्ने साधनाले पनि यसपटक बाआमाका मनको शान्तिका लागि भनिदिन्छे, “अरुको व्यथा सुनेर बेलैमा सतर्क भएकी मेरो के घटना हुनसक्छ ? तपाईंहरू निश्चित हुनोस्, यस्ता समस्या म आफ्ना जीवनमा आउनै दिन्नँ । त्यसैले त म संकल्पबद्ध भई भनिरहेकी छु, विवाह नै गर्दिनँ भनेर । तपाईंहरूलाई दुःख लाग्नसक्छ मैले बुढी कन्या रहेर नै जीवन बिताउने निश्चय गरें भनेर । विवाहित जीवन नै उत्तम जीवन हो भनेर भन्ने पनि केही छैन । जसरी हरेक क्षेत्रमा नयाँ नयाँ तरिका देखा पर्दैछन् त्यसैगरी जिउने क्षेत्रमा पनि आउनुपर्छ । म परिवर्तन चाहन्छु, म नयाँ बाटाको खोजीमा छु, म साधना गर्न चाहन्छु जिन्दगी र जीवनका शैलीबारे । यसप्रति तपाईंहरूले आफ्नो अरुचि नदेखाई, सक्नुहुन्छ भने सहयोग गरिदिनोस् । त्यसले मलाई हौसला दिनेछ । शारीरिक सम्बन्धबाट संतुष्ट हुनुभन्दा बढी नारीले खोज्ने अरु पनि छन् ।”

यति पररर बोलेर आँखाभरि आँसु पार्दै साधना आमासंग बस्न नसकेर उठेर हिड्छे । छोरीको मनस्थितिको अड्कल काटेर गौरी सोच्छे साधनाको जीवन उजाड पारिदिने कारण उनीहरूको आर्थिक स्थितिको बोझ उसमा लाद्नुले त होइन ? यस सोचाइले गौरीलाई छोरीको पछिलाग्ने पार्छ र उसले साधनालाई आफूपट्टि फर्काई उसको आँसु पुछ्दै भन्छे “तिमीलाई दुःख दिने हामी भयौँ माफ गरिदेऊ छोरी ?”

साधनालाई आमाको क्षमायाचनाले झसङ्ग पार्छ र छिनैमा हँसिलो अनुहार पार्ने प्रयासगर्दै भन्छे, “केमा क्षमा माग्नु भएको, आमाले ? तपाईंले मलाई बलजफती नोकरी गर्न लगाएको ठान्नु भएको ? तपाईंले यसो भन्न थाल्नुभयो भने मेरो स्वल्प सन्तुष्टि पनि हराउँछ । मैले आफ्नो कर्तव्य संझेर तपाईंहरूसंग जिद्दी गरेर जागिर खाएकी हुँ । मेरो आँखामा आँसु देखेर तपाईंले मेरो मनमा चोट परेको छ भन्ने सोच्नु भएको होला, कुरो त्यो होइन । मलाई अफसोच मात्र लागेको हो हाम्रो सोचाइको तह संझेर । लोग्नेस्वास्नीको नाता, बाबुआमा छोरीको नाता, दाजुभाइदिदीबहिनीको नातामा समेत के भावना आउन थालेको आमा ? यसलाई विकास भन्ने कि अधोगति मान्ने ?

हरेक दिनको अखबार पढ्दा एक न एक खबर यस्तो छापिएको हुन्छ जसमा नजिकका नाताले पनि नारीलाई धोका दिएको हुन्छन् । केका लागि ? छिः, सोच्न पनि मन लाग्दैन । कस्तो भौतिकवादतर्फ मोह बढ्दैछ । मृगतृष्णा लिएर भौतारी रहेछन्, केका प्राप्तिको लागि, थाहा छैन । त्यो सुखको लागि हो या दुःखको लागि । यो पनि थाहा छैन यी सब उनीहरूले कसका लागि गर्दै छन् । केवल हामा हा मिलाएर दौडिरहेछन् । कसले पथप्रदर्शन गराउने ? यही सोचेर रुन मन लाग्छ । कमजोर भएर रोएकी होइन, आमा, यो आँसु बगाएर शान्त हुन मात्र चाहेकी हुँ ।

“किन शान्तिको खोजीमा परिस्, त्यो बुझेर नै मैले भनेकी हुँ । आँसुलाई त जे जसो भन् त्यो असमर्थताको परिचय नै हो । तँभित्र चिन्ताको चिता जलिरहेछ, तँ त्यस अग्निलाई लुकाउने प्रयास गर्दै छेस् । पथप्रदर्शनको आवश्यकता तँलाई पनि त्यतिकै छ जतिको तैंले अरुमा देखेकी छेस् । तैंले चुनौती स्वीकारेर नै प्रमाणित गर्न सक्नुपर्छ कुन धारणा कसले लिएको गलत रहेछ । भागेर होइन त्यागेर होइन अपनाएर अगाडि बढ्दै जा । त्यो नै नारीको आजको जरुरत हो । सक्छेस् भने हौसला बटुलेर भन्न सक्नुपर्छ मैले नोकरी गरेर कुनै अकर्म गरेकी छैन । नारीले पनि बाहिरी क्षेत्रमा काम गर्नसक्छे ।”

साधना आमालाई हेरिरहन्छे र मनमनै भन्छे, “थाहा छ, आमा तपाईंले मेरा प्रगतिमा साथ दिनुहुन्छ भनेर । त्यही विश्वास लिएर त म दढ़ी भएकी छु ।”

आमाछोरीका सबै कुरा नसुने पनि छोरीले विवाह गर्दिन र सेवामा समर्पित हुन्छु भनेको सुनेर शिव खड्का टुप्लुक्क त्यहाँ आइपुग्छ र भनिहाल्छ, “विवाह गर्दिन, सामाजिक सेवामा लाग्छु भन्ने यो धून तँलाई कताबाट आयो ? ए नानी सेवा नै गर्ने तेरो इच्छा छ भने विवाहले कहिल्यै रोक्तैन । जीवनको हरेक अटालीबाट नै अर्को जीवनयात्रा शुरु हुन्छ । पूर्णत्व प्राप्तिका लागि विवाह र दाम्पत्य जीवनको पनि अनुभव चाहिन्छ । यस दुनियाँमा सबै व्यक्तिको एउटै विचार हुँदैन । तेरो सामाजिक सेवा गर्ने इच्छालाई पूरा गर्न तेरी आमाले मात्र होइन, म पनि तयार छु ।

तर तैंले एउटा कुरामा भने याद राख्नुपर्छ, सामाजिक सेवा गर्छु भनेर नै तम्सने हो भने जातीय भेदभाव (पुरुष र नारी) राख्नु उचित हुँदैन । समाजमा पुरुषको विकास भएन भने नारी विकास असम्भव हुन्छ । आजको नारा “नारी विकास” लाई बदल्नु पर्छ र केवल भन्नुपर्छ “मानव विकास” ।

साधना बाबाको तर्क सुनेर केही पनि बुझ्दिन र सोध्छे, “नारी विकास पुरुष विकास बेगर असम्भव रे ? किन बाबा ?”

शिव संझाउने भाकाले भन्दै जान्छ, “आजको समाज पुरुषप्रधान छ । पुरुषमा चेतना आउन सकेमा मात्र उसले थाहा पाउनसक्छ मानवको अर्को रूप नारी शोषित भएकीले नै उसले समाजमा पहिलो स्थान ओगट्न सकेको हो । यस्ता सोचाइले जाग्रत् भएर मात्र सुधारका लागि अग्रसर हुन सकिन्छ । नत्र जे छ, त्यसैलाई अँठ्याइ राखेर सुधारलाई निम्त्याउँदैन । बरु नारी स्वतन्त्रताप्रति घोर विरोध गर्दै आफ्नो समाजमा प्राप्त प्रधान स्थानको सुरक्षा गर्न थाल्छ । तैंले याद गरेकी हुनुपर्छ जुन घर सुसम्पन्न छ, त्यस घरका नारीहरू जतिसुकै शिक्षित भए पनि घरभित्रै रही आफ्नो इच्छा अनुसार आफ्नो व्यक्तित्व विकास गर्न पाएका छैनन् । काम गर्न बाहिरी दुनियाँमा निस्कनु केबल पैसा कमाउनलाई मात्र हो भन्ने धारणा छ । अहिलेसम्म नारी विकासको लागि पहिलो एक पाइला मात्र उठेको छ । त्यसतर्फ चाल चल्न अझ सकेको छैन । बल्ल थाहा हुन थालेको छ, छोराछोरी दुवैको लागि पढाउनु उत्तिकै आवश्यक छ । मैले छोरीको विवाहको लागि योग्यता बढाउन र छोराको नोकरी नै योग्यता बढाउनलाई मात्र भन्ने संझिएको होस् । “यति भनेर ऊ खूबसंग हाँस्छ । गौरी र साधना यसको अर्थ राम्ररी नबुझेकाले एक अर्काको अनुहार हेराहेर मात्र गर्छन् । शिवले फेरि कुरा उठाउँछ, “यस्तो परिभाषा लिएको छ पढाइको आवश्यकताले । यो ज्यादै सङ्कीर्ण सोचाइ हो तर के गर्छेस्, धेरैको भनाइ यस्तै छ ।”

साधनाले फ्याट्ट जवाफ दिन्छे, “ती धेरैभित्र हामी त छैनौं । मैले पढेकी नोकरी गरेर जीविका चलाउनलाई हो, विवाह गर्नलाई योग्यता बढाएको होइन ।”

“फरक यति मात्र सोचिस् ? आफूलाई समानतामा पुर्याउन सके मात्रले पुग्यो ? ए छोरी, त्यसभन्दा माथि उठ्ने उद्देश्य राखी सोच्ने प्रयास गर अनि मात्र तैंले थुप्रै उपलब्धि पाउन सक्छेस् । मलाई यति मात्र थाहा छ शिक्षा र अध्ययन पैसा कमाउने उपाय मात्र होइनन् यिनले ज्ञानप्रबर्द्धन गराई जिज्ञासा उत्पन्न गराउँछ जसको खोजीमा हामी क्रियाशील बनिरहेका हुन्छौँ । आफ्नो व्यक्तित्वको विकास गरि रहेका हुन्छौँ यी नै विकासले हो आउने पुस्ताका लागि मार्गदर्शन गराउने । यही नै हाम्रो लक्ष्य हो मावन सभ्यताप्रतिको हाम्रो कर्तव्ययुक्त योगदान हो । यसै सिलसिलामा उसले आफ्नो भ्रमणबाट प्राप्त भएका ज्ञानहरू नूरको, देवकी, बदिनीहरूको जीवनगाथा र बालबालिकाहरूको गाउँबाटै शहरतर्फको भागदौड, गाउँको स्थिति सबैबारे क्रमबद्ध तरिकाले सुनाउँछ र भन्छ, “हेर नानी, सुधारको पहिलो चाल यिनका शिशुहरूलाई संरक्षण दिएर, यो बदिनी, देवकी र झुमा प्रथा हटाएर ती जो जति अहिले छन् तिनीहरूलाई नयाँ जिउने उपाय बताएर अनि बालबालिकाहरू जो भड्केर दिशाहीन भएका छन्, तिनीहरूलाई समालेर शिक्षा र स्वास्थ्यप्रतिको ज्ञान दिनुको साथ साथै अनुशासन, स्वतन्त्रता र हाम्रो संस्कृतिको बारे अर्थ्याउनु अनिवार्य भएको छ । समयले बताइसकेको छ, यी प्रथा स्वार्थपूर्ण छन् र यी धर्मको आडमा टिकेको शोषण नीति हो ।”

“तपाईंले भन्नुभएको मिथ्या त अवश्य होइन तर मैले यसबारे सुनेकी अर्कै छ । यी बदिनी र देवकीहरूलाई यो वृत्ति छोड्छौ भनेर सोध्दा भने रे, “किन छोड्ने र यसले हामीलाई कुनै बाधा दिएको छैन बरु आजभोलि हामीलाई यस्ता काम गर्न नदिएर दुख दिन लागिरहेछन् । हामी यसको विरुद्धमा जुलुस निकाल्ने भएका छौं ।” साधनाले आफूले सुनेको कुरा बाबालाई बताइ उहाँबाट यसबारे सफाइको माँग गर्छे ।

शिवले जवाफ दिन्छ, “कुनैले भने पनि सबैको धारणा यस्तो छैन । जीवन धान्न सक्ने अर्को उपाय नपाएपछि भनेछन् भने पनि यसलाई प्रतिरोध मान्नुपर्छ । यिनले परिश्रमी काम गर्न पनि सक्तैनन् न त घरेलु काममा नै कसैले लगाउँछन्, नत चाहेर स्वास्नीको रूपमा रहनपाएका हुन्छन् । त्यस अवस्थाका यिनले भन्छन् के ? तैपनि यिनीहरू सबैजसोले आफ्नी छोरीले यस वृत्तिमा बस्नु नपरोस् भनेर अनुरोध गर्दै हिड्न थालेका छन् । एक प्रकारको ज्ञानज्योति उनीहरूमा उदाइसकेको छ । तसर्थ यी हालका नारीहरू जो यस प्रथाको चेपोमा परेका छन् यिनलाई पनि कुनै कामना लगाइ बाँच्ने नयाँ आधार दियौं भने यिनले स्वीकार्छन् भन्ने मलाई विश्वास छ । यदि उपाय बताउँदा पनि मानेनन् भने त्यस्तालाई संझाएर, दबाब दिएर या के गरेर हुन्छ यसबाट छुटाउने प्रयास भने गर्दै जानुपर्छ । हामीले समय अनुसार छुटाउनपट्टि दबाब दिनपनिसक्नु पर्छ । यस्तो कामलाई अत्याचार भनिंदैन ।

बाबुआमाको छलफल र बाबुले दिएको धारणा र संकल्प सुनेर साधना मनमनै भन्छे, “यी नारीहरूको जीवन शोषणको एक भाग अवश्य हो । यस्ता शोषित यहाँ कैयौँ छन् । वाक्प्रहारले छटपटाइरहे पनि संघर्ष गरिरहेका छन् । यहाँ आफ्नै छोरीलाई हेर्नोस् न, मैले यो विमान परिचारिकामा नोकरी गरेको कसलाई मन परेको छ । म जुटपत्ती खेल्दा फ्याँकिएका तासको नमिल्ने पत्ती भएकी छु, किन ? एउटै अर्थले यहाँ सेवाको काम गर्नेहरू तुच्छ मानिने गरिन्छन् । मेरो त्यो नर्स साथीको के बिराम छ र त्यो बदनाम भइरहेकी छे । उसको नोकरीका प्रकृति नै के कलङ्क हो ? यदि यही नै हो भने किन यस्ता नोकरीका लागि स्वास्नीमान्छेको नै माँग हुन्छ ? के नोकरी गर्ने स्वास्नीमान्छेको सामाजिक स्थितिमा नीच तह रहनुपर्छ ? नारी यसै पनि व्यवहारमा दोस्रो दर्जामा छ्ने भने नोकरी गर्ने नारीलाई कुन तहमा झार्ने ?

यहाँ पनि स्वार्थ लुकेको छ । आफ्नो र अर्काको भावना नीतिशास्त्र अनुसार छुट्टिनु राम्रो कुरा हो तर गुण र अवगुणको पारख गर्ने दृष्टिमा आफ्नो र अर्काको विषयको फरक आउनु स्वार्थीपन हो । अर्काकी छोरी जेसुकै होस् आफ्नो असल हुनुपर्छ । अर्काकी स्वास्नी जुनसुकै स्वभावकी होस्, आफ्नो हुने असल हुनुपर्छ इत्यादि कति छन् कति ? थाहा छैन । यसरी छनोट गर्दै र आफ्नोमा अहम्ले बन्देज लगाउँदै जाँदा ती नारीहरू शोषित भई निकम्बा भइरहेका हुन्छन् । मेरो आफ्नै ठूला बाका छोरीहरू कुन स्थितिमा जीवन निर्वाह गरिरहेका छन् । तिनै दिदीहरू रुँदै भन्छन्, “तिमी त आफ्नै खुट्टामा उभिन सकेकी छ्यौ, कसले के ताना सुनाउन सक्छ ? बेलैमा हामीलाई इलममा लगाउन सकेनन् अहिले हातको गाँस आँखाभरि आँसु लिएर निल्नुपर्छ । घाँटीबाट जति तल निल्न खोज्छु दुःखका गाँठाले अठ्याउँछ । त्यस बखत आफ्नो इज्जत भनेर हामीलाई लन्ठाएर राखे, अहिले हामी नै यिनका बोझ भएका छौं ।”

अहिले पनि ठूलो बा घरकी आफ्ना छोरीलाई बिर्सेर नारी प्रगतिको महात्म्य सुनाउँदै भाषण दिँदै हिड्नुहुन्छ र साथसाथै बाबालाई भन्न पनि छोड्नुहुन्न, “कान्छा, के चाला हो तेरो ? हाम्रो सन्तानले पनि त्यस्तो नोकरी गर्ने ? त्यो पनि छोरीले । नाक कटाउने काम गर्दैछस् तँ, होस् राखे ? पैसाले पुग्दैन भन्छस् भने मसँग लिए म दिन्छु तँलाई भन् कति चाहिन्छ ? “यस्तो छ हाम्रो समाजको चलन ? ऊ अफसोच मान्दै बाआमालाई आपसमा कुरा गर्न छोडेर आफ्नो कोठामा जान्छे र झ्यालको पर्दा खोल्दै बाहिर हेर्छे । नीलो अनन्त आकाशमा बादलका टुक्राटाक्रीलाई छुने कोशिश गर्दै एउटा चङ्गा कावा खाँदै फरफराइरहेको देख्छे । त्यो दृश्य उसलाई निकै प्रभावकारी लाग्छ । त्यहाँबाट टक्कै हट्न मन लाग्दैन । हेर्दाहेर्दै आफूलाई त्यही चङ्गासंग उड्दै बादल छुने प्रयास गर्न थालेकी अनुभव गर्नथाल्छे ।

  • बिहानीपखको स्वच्छ वातावरण साँचै रमाइलो हुन्छ । चारैतीर शान्ति नै शान्ति । शिव खड्कालाई कहिले के हुन्छ के यस्तो वातावरणको आकर्षणमा फसी हाल्छ र जुरुक्क उठेर घुम्न हिंड्छ । फर्कंदा ताजासाग पातको मुठा बोकेर ल्याउने बानी नै बसिकेको छ ।

एक बिहानीमा यसरी नै घुम्दै जाँदा उसको ध्यान त्रिचन्द्र कलेजको भवनमा गएर अड्ड । जहाँबाट उसका जीवनका मुख्य मुख्य घटनाहरू शुरु भएका थिए । गौरी त्यही बाटो गरी पद्मकन्या कलेजमा जाने गर्थी र ऊ गौरीलाई पर्खालबाट टाउको उठाएर छेड हानेर बोलाउने गर्थ्यो । गौरीले आँखा तरेर रिसाएमा लुक्ने गरेको देखेर साथीहरूले उसलाई हुनसम्म खिज्याउँदन्थे ।

एकफेर यस्तै क्रममा कुरा बढ्दाबढ्दै कुटपीट पनि भएको थियो । त्यस उमेरको सोचाइ पनि कस्तो कस्तो ? कुनै ठोस कारणै नभएर झगडा हुने र मिलाप पनि भइहाल्ने, उसले संझन्छ उसको त्यही साथी मुकुन्दलाई जाँच्को नतिजा सुनेर दिक्क भईबसेका बेलामा आफूलाई सान्त्वना दिंदै संझाउने गरेको । अनि ऊ सोच्छ मैले जुन भावनाले उसलाई हेर्थे र व्यवहार गर्थे उसले मलाई ठीक त्यसको विपरीत रूपले माया गर्थ्यो र संझाउँदै भनेको थियो, “सफलताको खोजमा नै यस्ता असफलताहरू आइपर्छन् । यसैमा दुःखी हुँदै अरु प्रयास गर्न छोड्दै गयौ भने हामी परीक्षामा मात्र होइन, जीवनको हरेक क्षेत्रमा हार्दै जान्छौं । तिम्रो त यो असफलता पनि होइन आफूले अनुमान गरे जति भएन भन्ने मात्र हो । यति मै पढ्नै छोड्छु भनेर कुबुद्धि नलेऊ । तिमीले पढ्न छोड्यौ भने कसको मेख मर्छ ? तिमी आफैले दुःख भोग्नुपर्छ । यस्तो रिस निकालेर भविष्य नष्ट नपार ।”

त्यस्तो सल्लाह दिने मुकुन्द पनि अहिले हरेक क्षेत्रमा हारेर बाचिरहेछ । यो समयको कस्तो चक्र हो ? बद्लिदो परिस्थितिसंग आफूलाई मिलाउन नसक्ने सबै यस्तै हुँदा रहेछन् । मेरो हार पनि त कमको छैन । केबल मैले स्वीकारेको मात्र छैन । त्यस बेला परीक्षाफल सुनेका अवस्थामा जस्तै म हरेक नतिजामा अनुमानको विपरीत नै परेको हुन्छु । म ठान्छु, मैले राम्रो गरेको छु तर त्यो कसरी कहाँ चिप्लिन्छ म आफै छक्कपर्छु । समालिनु चिप्लनु र छक्कपर्नुमा नै आधाभन्दा बढी जीवन बितिसकेको छ, अब बाँकीमा के नै गर्ने सकुँला ? त्यसै बेला घण्टाघरले ट्वाङ ट्वाङ गरी सात हान्छ । उसको आँखा घण्टाघरको घडी हेर्दै भत्किएर जीर्ण स्थितिमा अल्पत्र परेको कलेजको दक्षिणपट्टिको लडमा पर्छ । उसको सोचाइ अरु गंभीर हुंदै जान्छ र मनमनै प्रश्न गर्छ, “यही कलेजमा अध्ययन गर्ने ती विद्यार्थीहरू अहिले देशका हर्ताकर्ता भएका छन् तिनका आँखा यसमा नपरेको किन होला ? या भवनको यस स्थितिले उनीहरूको मन नछोएको किन ?

शिव खड्का यस्तै सोचाइ र संझनाले घचेटिंदै दरवार स्कूल र रानीपोखरी तर्फ लाग्छ । उसलाई त्रिचन्द्र कलेज र सरस्वती सदनको अवस्था देखेदेखि दरवार स्कूल पनि हेर्न मनलाग्छ । जहाँ उसले प्रथम शिक्षा हासिल गरेको थियो ।

त्यो दरवार स्कूल आज भानुभक्त माध्यामिक नामाकरण भएर बाँचिरहेको छ त्यसलाई पनि त्रिचन्द्र कलेजका स्थितिमा पुग्न अब धेरै बाकी छैन । बूढो हातखुट्टा मर्किएको ढाड भाँचिएको लम्पसार परेर लडिसकेको छ । कसैको ध्यान त्यसतर्फ मर्मत गर्न तर्फ गएको छैन मानौं त्यसको अस्तित्वको जरुरत अब कसैलाई पनि छैन । विद्यार्थीहरूको संख्या हरेक वर्ष घट्दै गएकोले विस्तारै त्यस जीर्ण शरीरभित्र मृत्यु पस्तै छ । यस्तै स्थिति छ सरकारी स्कूल क्याम्पसहरू सबैको ।

भन्छन् परम्पराको जगेर्ना गर्नुपर्छ तर खोइ यी भवनहरूको संरक्षणप्रति ध्यान दिइएको ? यी त नेपाल अधिराज्यका पहिलो विद्यालयहरू हुन् जसले नेपालमा शिक्षाप्रति चेतना जागृत भएको समयको संझना गराउँछ । यस्ता स्कूल, क्याम्पसहरू सरकारी भएका हुँदा यिनले त देशले शिक्षाप्रति कस्तो स्तर निर्धारण गरेको छ, कस्तो नीति लिएको छ कस्तो शैक्षिक वातावरण खोजेको छ, आफ्ना जनताका भविष्यको कल्पना कुनरूपले गरेको छ, भन्ने बताउन नमूनाको रूपमा राख्नुपर्ने थियो । के पब्लिक स्कूल र क्याम्पसहरूभन्दा माथिल्ला स्तरमा गुणस्तर वृद्धिका लागि यिनलाई राख्न नसक्ने स्थितिमा नेपाल सरकार छ त ? विभिन्न क्षेत्रमा अनुदान लिन सकिन्छ भने यिनको मर्मत र सुधारका लागि किन एक बचन कसैले पनि नबोलि दिएको ? थाहा नभएको र नजान्ने यहाँ कोही छैनन् बरु ध्यान भने किन अन्तै अकाशिएको ? हाम्रो हिजो बिग्रियो भनेर कराउँदै सचेत गर्ने हामीले नै आजलाई हिजो कै स्थिति तर्फ धकेल्दै छौं । भोलिको चिन्ता अझै हामीमा आउन सकेको छैन । सडकमा बालकहरू रल्लिरहेका अझै देख्दै छौ । गाउँ, घर, पहाड, तराईतर्फ जाऔँ त्यहाँ बालक बालिकाहरूका जीवनमा कुनै नौलो परिवर्तन देखापर्न पाएको छैन । के देशको भविष्य भन्नु नै आजका यि नै बालबालिका होइनन् र ?

आफ्नो मनमा उठेको प्रश्नले शिव खड्कालाई केही बेरसम्म जवाफको खोजीमा अल्मल्याइदिन्छ । विकासका नाममा उठेका हजारौँ नाराहरूले एकै चोटि उसका स्मृतिपटमा आक्रमण गर्दा प्रश्नकर्ता ऊ आफैले ठम्याउन सक्तैन विकासको अर्थ नबुझ्ने ऊ हो या अरु कुन् जो देशको भविष्य निर्माण गर्ने हौं भनेर लागेका छन् । नेताहरू भने जनताको विश्वास जित्न हाहाकार मच्चाउँदै आफ्नै गुणगान गर्दै छन् ।

यस्ता सोचाइले आक्रान्त भएको शिव ठिमीलेहरूले बेच्न ल्याएका हरिया सागपात किनेर त्यहीबाट घर फर्कन्छ । गौरी चिया तयारपार्न लागेकी हुन्छे र उसलाई देख्नासाथ सोध्छे, “यति सबेरै कहाँ कहाँ पुगेर तरकारी किनेर ल्याइसक्नुभयो ? लौ, मैले पनि ठीक समय मिलाएर चिया तयार पारेकी छु भन्दै एक कप शिवका अगाडि बढाउँछे ।

चियाको कप समाएर मेचमा बस्दै शिव भन्छ, “गौरी, आज बिहानै स्वच्छ मन होस् भनेर घुम्दै सङ्‌कटाको दर्शन गरेर आउँछु भनेर निस्केको म दरवार स्कूलसम्म पुगी यी सागपात किनेर फर्किहालें । दिक्कै लाग्यो त्रिचन्द्र कलेज र दरवार स्कूलको स्थिति देखेर । सबै क्षेत्र पब्लिकलाई छोडेर प्रतिस्पर्धा गराई गुणस्तर बढाउने भन्दैमा एउटा कुनै मापदण्ड पनि नराखेर हुन्छ ? कसैका आफ्ना छोराछोरीलाई पब्लिक शिक्षालयमा पढाउन सक्ने आर्थिक क्षमता रहेनछ भने के तिनका केटाकेटीहरूले गुणस्तरीय शिक्षा नै नपाउने ? यसले त गरीब असहायहरूलाई कहिल्यै माथि उठ्नसक्ने मौका दिंदैन । यहाँ शिक्षाको पनि किन बेचको व्यापार हुन थालिरहेछ ।

गौरीलाई शिवका सधैं चिन्ता मात्र लिने बानि देखेर वाक्कै लाग्छ र भन्छे, “कति कुरामा चिन्ता लिनुहुन्छ ? सात क्लाससम्म पढाइ निःशुल्क गरिदिएकै छन् । भानु माध्यामिक स्कूलमा नै त्यतिका छोराछोरी पढ्न गएकै देख्छु । अब केको पीर लिनुहुन्छ ? भवन मात्र राम्रो भएर पनि त हुँदैन ।”

“मैले भवन मात्र राम्रो हुनुपर्छ भनेको छु र ? पढाइका गुणस्तरको पनि कुरा गरेको छु । पब्लिक स्कूलमा पढ्ने र यस स्कूलमा पढ्ने एउटै कक्षाका विद्यार्थीहरूलाई जाँचेर हेर, अनि थाहा हुन्छ मैले भन्न खोजेको के रहेछ भन्ने ? यहाँ पैसाको आधारमा गुणस्तर रहन गएकाले भनेकी हुँ । यिनै सरकारी स्कूलमा पनि त्यस्तै प्रकारको चौतर्फी ज्ञान बढ्ने गरी किन नपढाउने ? सरकारले अझ यी पब्लिक स्कूलहरूमा भन्दा बढी सुविधा दिनसक्ने हुनुपर्ने हो । यो स्कूल भनेको सरकारले चाहेको जस्तो गरी बालक बालिकाहरूको बौद्धिक स्तर बढाउने संस्था हो । यसलाई साधारण कुरा मानेर यसै प्याच्च नबोलिदेऊ आजभोलि यो खुला आर्थिक बजार नीतिले गर्दा सरकारी निकायहरू जे जति छन् सबै कङ्‌कालको रूप मात्र लिएर बाँचिरहेका छन् जसले गर्दा तल्लो आर्थिक स्तरमा भएका जनताले अरु बढी गरिबीका चपेटा सहनु परेको छ । अरु त के स्वास्थ्य र शिक्षा समेत यस समस्याबाट उम्कन सबनैभएका छैनन् । त्यस वीर अस्पताललाई हेर । त्यहाँ काम गर्ने डाक्टरहरू अयोग्य छैनन् त्यस्तै छन् यी सरकारी स्कूल क्याम्पस विश्व विद्यालयमा पढाउने शिक्षकहरू पनि । दक्ष यी सबै छन् तर अस्पतालमा बिरामीले पाउनु पर्ने सेवा र विद्यालयहरूमा विद्यार्थीहरूले पाउनु पर्ने शिक्षामा भने भिन्नता छ । किन यो सोच्नुपर्ने विषय हो । यहाँका डाक्टर र शिक्षकहरू संग कुरा गर्यो भने थाहा हुन्छ उनीहरू पनि कति असन्तुष्ट छन् आफ्नो संस्थाको स्थिति देखेर । तलब र भत्ताले मात्र होइन त्योभन्दा बढी अरु नै कारणहरू पनि छन् । समष्टिरूपबाट हेर्ने हो भने उही नियम कानून नै कारण हुन आउँछ ।”

“त्यसको मतलब”

“मतलब साफ छ । मैले भन्दै आएको उही व्यवस्था परिवर्तन हो यसमा आउनु पर्छ प्रजातन्त्रको सिद्धान्त अनुसारको हेरफेर । नत्र प्रजातन्त्रको नै बदनाम हुन्छ । सुनेकी हौलि, प्रजातन्त्र हामीलाई फापेन भन्न थालिसकेका ।

“जो सुकैले जेसुकै भनोस, हामी स्वास्नीमान्छेले भने प्रजातन्त्र आएपछि धेरै कुरामा विकास गर्न पाएका छौं । हाम्रो स्वतन्त्रता नपचेकाहरूले प्रजातन्त्रलाई जथाभावी भन्दै हिडेका पनि हुन सक्छ ।”

“तिमीहरू मात्र कहाँ हो र ? जातभातको प्रथा हट्नाले व्यवसायमा समानता आएको छ, आत्मबल बढ्न गई जो उद्यमी छन् तिनीहरूले आर्थिक स्थिति उठे छ । पैसा लगानी गर्न विभिन्न व्यवसायहरू खुल्दै छन् । लुकाएर राखेका धनहरू देखा पर्दै उद्योगमा लगनी हुँदैछ । यी सबै विकासका पूर्वाधारहरू बन्दै गएको पनि हामीले बिर्सेका छैनौं । केबल एउटै कुरामा ध्यान पुगेको छैन भन्ने म ठान्छु त्यो हो, यसरी उठेका यी बाढीका भेललाई व्यवस्थित रूपले के, कति, कुन ठाउँमा, कतिसम्मका लागि लगायनु पर्छ भन्ने योजनाबद्ध रूप दिनसकेको छैन । केमा प्राथमिकता दिने भन्नेतर्फ ध्यान जान सकेको छैन । धेरै गुलियो खाएपछि नमीठो स्वाद आउँछ भने भैं यस्ता राम्रा पाइलाहरू चलेका भए पनि भ्रममा परेका छौ हामी सबै । विकसित देशको नक्कल गर्न खोज्दै छौं पनि बिर्सदै छौं ती देशहरूले पनि हालका स्थितिमा पुग्न कस्तो समस्याहरूको सामना गर्नु परेको थियो । आजको हाम्रो अवस्था ५,६ वर्षको बालकले आफ्नो बाबुको कोट लगाएर खूब राम्रो भए भनेर दङ्ग परेको जस्तो छ यहाँ हामी र हाम्रो प्रजातन्त्र ।”

“ठीक छ ल, तपाईंले भनेजस्तै भएको होला रे ? अब हामीले गर्ने के त ? के गर्दा यो सुहाउने हुनसक्छ ?” गौरीले यसरी प्रश्न शिव सडै नै गरी उसको राय बुझ्न खोज्छे ।

“गर्नसक्ने धेरै छन् अहिले पख, मेरो मुद्धाको पहिले टुङ्गो लागोस् अनि यस देशको नागरिकको हैसियतले मैलें के गर्नसक्छु त्यो गर्नेतर्फ लाग्नेछु । देश बनाउने भनेको हामी एक एक जनताले आआफ्ना खूबीले कमजोर पक्षमा सुधार ल्याएर हुने हो । भरखर व्यवस्था परिवर्तन हुँदा यस्ता नमिल्दा कुरा देखापर्दै जान्छन् तर सुधारको क्रम पनि साथसाथै जानुपर्छ । अनि मात्र व्यवस्था सुहाउँने हुँदै जान्छ । प्रजातन्त्र भनेको हाम्रो आफ्नो शासन हो । त्यसैले प्रत्येक हामी एउटा सिङ्गो राष्ट्र हौँ । व्यक्तित्व विकास नै यहाँ राष्ट्रविकाससंग गाँसिएको हुन्छ । हामी सबै नेपालीको एकता नै यस व्यवस्थाको बल र सफलता हो ।”

कुराको प्रसङ्गलाई अर्कै तिर लैजान गौरीले शिवलाई भन्छे, “आज दयाका घरमा जाने निम्तो छ नि, संझनु भएको छ ? फेरि अस्तिको जस्तो गरी हामीलाई कुरेको कुरै पारिदिनु होला । खाना खाएर आज घरैमा आराम गर्नाेस् । साथीभाइंकहाँ एक दिन नगएर केही हुँदैन ।”

शिवले केही जवाफ दिंदैन र भान्छाबाट तल कोठातर्फ लाग्छ । कोठामा साधना अखवार पढ्दै चिया खाइरहेकी हुन्छे र बाबु कोठाभित्र पसेको चाल पाएर सोध्छे, “बाबा, यहाँ हेर्नोस् त तपाईंले बताउनु भएको नूरको फोटो यो त होइन ?” भन्दै अखवार बाबुलाई दिन्छे । शिव अखवार लिएर पढ्न थाल्छ । खबर नूरको नभए पनि एक देवकीको हत्या र आत्महत्याबारेकै थियो । शिव खड्काले त्यो अखवार छोरीलाई फर्काउँदै भन्छ, “यस्ता संस्कृतिको भने रक्षा गर्नुहुन्न ? उह, उह साधना उठ, छोरीलाई छोरी भएर बाँच्नसक्ने वातावरणको सिर्जना गरिदे । तँ अब सक्षम भइसकिस् । विद्या र धनको दुवै शक्तिलाई लिएर दुर्गा भई जागिदे ।

तँलाई याद छ या छैन जब तँ सानी थिइस्, मैले तेरा दाइलाई पढेन भनेर पिट्दै मपछि यस घरको जिम्मा लिनु पर्ने तेरो यो चाल छ, म कसमाथि यो भार बिसाऊँ, काँध थाम्न सक्ने कसरी हुन्छस् भनेर कराउँदा तैले भनेकी थिइस्, “बाबा, दिदीको काँध कस्तो बलियो छ ।

गौरीको कुरा सुनेर शिवले झ्वाट्ट सम्झन्छ लोचनको धम्काइ । उसले बारम्बार टेलिफोनबाट या पत्रपत्रिकाबाट उसको नियतिमा दोष लगाउँदै जथाभावी छापेको र बोलेको । ऊ सम्झन्छ, त्यस लोचनलाई ऊ कस्तो स्वभावको छ भन्ने नचिन्ने पनि कोही छैनन् र उसले त्यसमाथि कारबाइ चलाएर सजाय दिएकामा ठीक गरिस भन्ने पनि थुप्रै थिए तर उसलाई सताउनु पऱ्यो भने त्यसैलाई उठाएर पनि लगाइदिन्थे । यहाँ यस्तो नीति लिएकाहरूको गणना गरेर साध्ये छैन । त्यस बखत उसले त्यसमाथि दोष लगाएर कारवाइ चलाएकामा उनीहरूले प्रशंसा गर्दा ऊ गजबक परेर भनेको कुरा सम्झन्छ । उसले भनेको थियो “म त्यो जतिसुकै शक्तिशाली भए पनि अनुशासनहीन हुन्छ भने त्यसलाई छोड्दिनँ । न्यायलाई बचाएर राख्ने हो भने दोषीको ठहर गरेर त्यसलाई सजाय पनि दिनसक्ने हुनुपर्छ नत्र बेकसूर व्यक्तिले न्याय कहिल्यै पाउँदैन । त्यसैले न्याय दिलाउनु कठिन र जोखिम काम मानिन्छ । यसको पक्षधर हुन्छु भन्ने निर्भीक हुनुपर्छ, आफ्नै ज्यान र इज्जतमा पनि आँच आउनसक्छ । तसर्थ आँट नहुनेले म अत्याचार सहन सक्तिनँ भन्न फजूलको कुरा हो । यस लोचनले यस्तोसम्म गर्नसक्छ भन्ने त हामीलाइ पहिले थाहा थियो । त्यसमा यसले यसो भन्यो यसो लेख्यो भनेर व्यर्थै किन चिन्ता लिने ? भन्न दिनोस् त्यो भन्दा भन्दै आफै थाक्छ भनेर सुनाउन आउनेहरूलाई भन्ने गर्थ्यो । साँच्चै, त्यस लोचनले चुप लाग्नु त पऱ्यो नै तर सोझै बोल्न र लेख्न छोडे पनि भित्र भित्रै कैंची चलाउन भने छोडेन । मेरो बारे ठाउँ ठाउँमा गई नराम्रो कुरा गर्दै हिड्ने एउटा त्यो पनि हो । अफसोच त केमा लाग्छ भने यस्ता व्यक्तिले भनाइलाई आधार मानेर बुद्धिजीवी कहलाएकाहरूले जब आफ्नो स्वार्थ पूर्ण गर्नुपऱ्यो या इबी साध्न पऱ्यो या खसाल्न पऱ्यो भने यिनै कुख्यात व्यक्तिहरूको प्रयोग गर्छन् जसले गर्दा यिनले प्रश्रय पाई झनउग्र रूपले धम्की दिँदै हिड्छन् । यस्ताका भनाईलाई पुट्याइ दिन व्यवहारिकता र मानसिकता पारेमा नियम कानून सबैको सहारा लिन्छन् । यस्ता कुख्यात व्यक्तिहरूलाई पनि आवश्यकता हेरी प्रयोगमा ल्याउनसक्ने हुनाले नै कसैमाथि पनि दोष ठम्याई कारवाइ गर्न पन्छने भएका उनीहरू सज्जन प्रशासक कहलाई शान्तिले नोकरी थामेर बस्न पल्केका छन् । त्यसैले यहाँ न्याय हराउँदै जाँदै छ अनुशासनहीनता बढ्दै छ, लुच्चा फटाहाको अधीन र धम्की बढ्दै जाँदा जताततै दुर्गति मात्र देखिन थालिदै छ । कसले सम्हाल्ने यिनलाई ? जब सबैले थाहा पाएर कोही भाग्दैछन् भने कोही यिनैको साथ लिँदै प्रजातन्त्रको अर्थ स्वच्छन्दता लगाएर मनमानी गर्दैछन् अख्तियारको दुरुपयोग गर्दैछन् र प्रजातन्त्रलाई बदनाम गर्दैछन् । अख्तियारको दुरुपयोग गर्नु र अख्तियारको प्रयोगै नगर्नु दुवै प्रगतिका लागि उत्तिकै हानीकार हुन्छ । शिव आफ्नो मनसंग यति कुरा गरेपछि गौरीले लिएका धारणाप्रति यसो भन्छ “कसले के भन्छन्, के भन्दैनन् त्यो नै सुन्दै हिड्नथाल्ने हो भने तिमीले आफूले लिएको इमानदार हामी छौं भन्ने धारणालाई बचाएर राख्न मुस्किल पार्छ । तिमीले टेलिफोन पनि सुनेकी छ्यौ र मेरा विषयमा छापेको पनि अखवारमा पढेकी नै छ्यौ । यसलाई के भन्छ्यौ ?” “यसलाई म त्यही भन्छु जुन तपाईंका आत्माले भनिरहेको छ । तपाईंको आत्मासंग मेरो पनि परिचय छ । कि तपाईंकोचाहिं मेरो आत्मासंग छैन ?” गौरी यसरी प्रतिप्रश्न गर्दै ती गहन विषयलाई ठट्टामा लैजान खोज्छे । शिवले गौरीको मनसाय बुझ्छ र भन्छ, “यही त हामीले आजसम्म गरेका उपलब्धि भएको छ । अहिले जति दु:ख भोग्नु परे पनि मैले आफ्नो आत्मबल गुमाएको छैन र कसैका सामुन्ने नतमस्तक हुनुपरेको छैन । गौरी, हामीले यो निष्ठा यो भावना र नीति हाम्रा सन्तानहरूमा पुऱ्याउन सक्यौं भने यो पनि राष्ट्र को सुधार हुनेछ । औगातले नभ्याउने इच्छा राख्ने सन्तानका सामुन्ने कल्पने ऐश आरामले लोभिएर अरू संग दाँजेर सन्तानको मन भड्काउने जस्तो काम हामीले गर्नु हुँदैन । यी अल्लारेहरूले यहाँको बढ्दो आकर्षण देखेर यिनको आँखाहरू तिरमिराए या मन चञ्चल पार्न लागे भने हामीले सम्हाल्नुपर्छ । धन छैन भने सबै सन्तान मिलेर साथमा बसी प्रकृतिले दिएको पानी पिउँला तर कुकर्म गरेर कमाएका धनले गरिष्ट भोजन गरेर नडकारौं । भविष्यका लागि चिन्ता गर्नु पर्ने बेला तिमीहरूको आइसकेको छ । आजसम्म त म छु तिमीहरूका साथमा हारेको त्यागिएको र समय र व्यवस्थासंग मिल्न नसक्ने भनेर कहलाइएको मूर्ख जसले अझ गर्वका साथ आफूलाई मूर्ख हुँ भनेर स्वीकरे पनि कागजस्तो चडख छु भन्दैन । थाहा छ होइन चतुर कहलाइने त्यस कागले के पनि खान्छ ? गौरी, साधना र शिव सबै एकैसाथ हाँस्छन् र साधना आफ्ना कोठातर्फ लाग्छे ।

  • छुट्टीको दिन आज साधनालाई फुपूकहाँ जाने इच्छा लाग्छ । ऊ फुपूलाई खूबै आदरको दृष्टिले हेर्छे । उसले अनुभव बटुल्छे र आफूलाई नारीहरूको समस्याहरूसंग विज्ञ भई जिजीविषा उमाल्छे । उसकी फुपूले जेठा दाजु र बाबुको कडा निगरानीमाथि विरोध गर्दै पढ्न थालेको हो र अहिले वैदेशिक निकायमा काम गर्छे । उसकी नोकरी बारेमा प्रशस्त अनुभव भइसकेको छ । पदोन्नतिको इच्छा आन्तरिक अतृप्त रूपमा निहित रहे पनि बाहिर विदेशमा पनि खटिएर गइसकेकी छे । दिक्क भएर जब साधनाले आफ्नो कुरा बताउँछे तब उसले सम्झाउँदै भन्छे, “साधना, यस समाजले हामी नारी जातिले नोकरी गर्दा हाम्राबारेमा जुन कुरा काटेको सुनिन्छ त्यसलाई हामीले हामीलाई ललकारेको मान्नुपर्छ । हुन त यसरी कुरा काट्तै लान्छना लाउनुको मतलव हाम्रो मनोबल घटाउनु, हतोत्साही पार्नु र कर्तव्यबाट पन्छाउनु हो । तर हामीले बुझ्नु पर्ने अहिलेको स्थिति छ, यिनै सहकर्मी पुरुषको मनोविज्ञान र राख्नु पर्ने लक्ष्य हो आफूलाई कर्तव्यनिष्ठ बनाउनु । मैले जबसम्म घरेलु कारण देखाएर बाहिर खटिएर जान इन्कार गरें तबसम्म नारी जातिलाई यति कुरा सुनाएनन् । हाकिम हुनेले समेत लै लैमा लागेर प्याच्च बोल्यो, “यी स्वास्नीमान्छेलाई नोकरीमा लिएपछि यस्तै हो । बाहिर खटाएर प्रयोग गर्न पनि पाइँदैन, घरैको समस्या तेर्स्याइहाल्छन् । बलजफती गरेर पठाऊँ हल्ला हुन्छ, कस्ता निर्दयी हाकिम भनेर । समान छौं । समान हौं भनेर यस्तो ठाउँमा नोकरी गर्न आउँछन् । लौ, जाओ बाहिर भन्यो भने समानताबाट माथिउठेर विशेषता खोज्छन् । यिनलाई नोकरी नै किन गर्नु पर्छ, घरमा प्रसस्त संपति छँदै छ र लोग्ने पनि त्यति माथिल्ला ओहदामा काम गरि हालेका छन् । पैसाले नपुगेपछि के लाग्छ ? यिनको लोभ हाम्रो समस्या । लौ भन्नोस् त, यस्तो अड्चन आइपरेपछि हामीले सबै जागिरदारहरूमाथि समान व्यवहार कसरी गर्न सक्छौं ? घरको समस्या के लोग्नेमान्छे कामदारको हुँदैन र ? बाआमा बूढाबूढी होलान् ? स्कूल जाने नानीहरू होलान् ? उनीहरूले यसरी कुरा गरेर हाँसेको सुनेर मैले पनि श्रीमान्संग सल्लाह गरेर जब बाहिर खटिएर जान तयार भएँ, त्यसपछि पहिले यिनीहरू आश्चर्यमा परे, त्यसपछि फेरि ताना कस्न थाले । भन्नथाले, “पैसाका लोभमा घर परिवारको माया मोह समेत त्याग्न सक्ने यो कस्ती प्रकृतिकी आइमाई हो ? त्यसको लोग्ने कस्तो जोइटिङ्गरे रहेछ ? म ती कुरा अनसुनीगर्दै अगाडि बढ्दै गएँ । ती पुरुष जागीरदारहरू जो विदेशमा खटिएर जान खुट्टा उचालेर बसेका थिए यिनका भाग मैले हरिदिए भन्ने सोच्तै मप्रति अरू आक्रोसित हुँदै मलाई विफल बनाउने कोशिसमा लागे । त्यहाँका कर्मचारीहरूलाई भड्काउने, उचाल्ने गर्दै मलाई काम गर्नमा केन्द्रबाट समेत असहयोग गरी अप्ठ्यारोमा पार्न थाले । भन्ने कुरा त छोडिदेऊ, के भने के भनेनन् । कतिसम्म पनि भन्न छोडेनन् भने म सबैको सहानुभूति मतर्फ खिचियोस् भनेर आफूलाई लोग्ने जीवित हुँदाहुदै पनि विधवाको भेषमा उतारी लोग्ने नभएकी एक्ली स्वास्नीमान्छे म विदेशमा खटिएर बसेकी छु रे भनेर हल्ला चलाएकी छु साथै त्यहाँ नयाँ नयाँ केटाहरू समेत लिएर हिड्छु रे भनेर कुरा उठाई मेरो चरित्रहत्या गर्न पनि छोडेनन् । रिस इबी हुनेले जिब्रो काटेर पत्याए पनि मेरो उमेर र रूपले गर्दा धेरैले हो र होला र भनेर टारीदिए पनि । यो चालबाजी असफल भएपछि अफिसका काममा कुनै गल्ती गरेकी छ कि भनेर समेत खोतल्न थाले । मैले थाहा नपाएको जस्तै गरी आफ्ना लक्ष्यमा अडिक रहें । कुनैले निउ खोज्दै आइ लाग्नै थाले भने तिनीहरू प्रति जाइ लाग्न पनि छोडिन । अन्त्यमा मैले आफ्नो सरुवाको अवधी पूरा गरेर नै फर्कें । आजभोलि थाहा छ, यिनीहरूले मलाई भन्छन्, “फलामजस्ती दह्नी छे, यसलाई यसैउसै ढाल्न सकिदैन ।” त्यसैले म त भन्छु, आजका हामी नारीले जे जति सहनु परे पनि आफूलाई निर्भीक बनाई भोलि आउने नारीहरूका लागि फराकिलो बाटो बनाई दिनुपर्छ । अलिअलि धरमाराए पनि ठीक ठाउँमा खुट्टा पर्न सक्ने स्थितिको सिर्जना गर्नुपरेको छ । मेरो त हेर न, जीवन नै संघर्षमा वित्यो भने पनि हुन्छ जन्मन पनि लडाईंकै बेला जन्मेकी हूँ । सानामा ज्यादै रोगी भएकीले बाँच्नलाई वातावरण र रोगसंग लड्नु पऱ्यो । त्यसपछि पढ्न समाजसंग परिवारसंग अनि नोकरी गर्न थालेपछि अफिसको वातावरण र नारीप्रतिको धारणासंग । अहिले सबै क्षेत्रबाट विजयी भएपछि पनि छट्पटाइ रहेकी छु असन्तुष्ट भएकी छु । केही गर्न चाहन्छु तर छोराछोरीहरूले माया गरेर भन्छन्, “तपाईं अब आराम लिनोस्, जे जसो गर्नुपर्छ त्यो गर्न हामी सक्षम भइसकेका छौं ।” मलाई भने हेर न, आफू असक्त भइसकेँ जस्तो लाग्दैन । अझ त्यतिकै फूर्तिले त्यति नै काम गर्नसक्छु जस्तो लाग्छ । अनि म रिसाएर ती छोराछोरीहरूलाई भन्छु, “तिमीहरूले मलाई छिटै मुर्दा बनाउन खोज्दै छौ । मलाई उमेरले गालेको छैन ।” लाग्छ, छोराछोरीहरू पनि मसँग हैरान भइसके होलान् तर मलाई भने बुढ्यौली स्वीकार्न पटक्कै मन लाग्दैन । यही नै मेरो तृष्णा भएको छ । म भन्छु, मलाई काम देऊ म गर्नसक्छु । मेरो इच्छा छ काममा व्यस्त रहँदारहँदै मेरो जीवनको अन्त्य होस् । तिमीहरू मलाई किन आराम गर भन्छौ । मैले काम गर्न चाहेको पैसा कमाउनलाई होइन न त नाम कमाउनलाई नै हो । त्यो बेला अब वितिसक्यो । मैले काम गर्न चाहेको यस शरीरलाई मस्तिष्कलाई क्रियाशील राख्नलाई हो । यसमा मलाई किन रोक्छौ ? “तर तर उनीहरू मान्दैनन् र भन्छन्, “हामीलाई समाजले आमालाई दु:ख दियो भन्छ । “म भन्छु, अब पनि तिमीहरू आफ्ना लागि मेरो प्रयोग गर्न खोज्छौ ?” उनीहरूले के बुझे कुन्नी मसँग रिसाउँछन् । मेरो भनाइको अर्थ भने केवल यति मात्र हो, मलाई अब स्वतन्त्रले रहन देओ । म तिमीहरूलाई सहयोग गर्न नसके पनि म आफूलाई पनि तिमीहरूको बोझ हुन चाहन्न । मलाई आफ्नो जीवन बाँच्न देओ । आफ्नी फुपूको यी कुराहरूको संस्मरण गर्दै उसैकहाँ जान साधना तयार हुँदै थिई त्यसैबेला गौरी आइपुग्छे र उसलाई बाहिर निस्कन लागेकी देखेर सोध्छे, “आज छुट्टी होइन र ? फेरि कता जान तयार भएकी ? विनोद पनि आइपुग्ने बेला भयो ? दाजुसंग भेट्न पर्खिन्नस् ?” “ए हो त ? आज दाजु आउनुहुन्छ भन्ने कस्तो बिर्सिएकी ? मलाई आजभोलि के हुन्छ के चटक्कै बिर्सिहाल्छु । (खिस्स हाँस्तै) फुपूलाई सम्झे र आज उहाँकै साथमा दिन बिताउँछु भनेर जान लागेकी । विनोद दाजु आउँदा म हिडीसकेकी भए के सोच्नुहुन्थ्यो होला, भन्नोस् त ?”

मेचमा थ्याच्च बस्दै साधना आफ्नो हुस्सुपना सम्झेर दिक्क हुन्छे । उसलाई हेर्दै गौरीले भन्छे, “चिन्ता लिन थाल्यो भने यस्तै गरी सुद्दिबुद्दि हराउँछ यी बाबुछोरीलाई केले छोपेको हो केले ? हुटिट्याउँले आकाश थाम्छु भने झैं देश र समाज बनाउँछौं भन्नेमा लागेका छन् । कस्तो बनाउने हुन खै म त केही पनि जान्दिनँ ।” साधना पनि जवाफ दिन पछि पर्दिन । भन्छे, “शुरुमा ब्रम्हाले राम्रो जनावर निकाल्छु भन्दा ऊँटले जन्म लिए जस्तो होला तर त्यो ऊँट विचित्रको निस्के पनि कति उपयोगी छ । हाम्रा लागि त्यति मात्र उपयोगी भए पुगेन र ? राम्रोको मतलब उपयुक्त हुनु पनि त एक हो ? अफाप भयो प्रजातन्त्र भन्दै हिड्न थालेकामा उपयोगी छ भनेर त्यसलाई मेटाई दिनसके अरू त्यस भन्दा बढी के चाहिन्छ र ? तन्त्र त हामी जनताको नै रहन्छ । आफ्ना लागि आफै तन्त्र प्रजातन्त्र र स्वतन्त्रता, होइन त आमा ?

  • झण्डै तीनवर्ष सम्म अदालतमा धाउँदाधाउँदै बल्ल मुद्दाको फैसला भएको छ । बधाइ दिने र आफ्नै डिम्डिम पिट्नेहरू पनि आउँदै खुसी व्यक्त गर्दै भन्छन् “गर्ने नहुने काम गरेपछि लोप्पा आफैले खानु परेन ? मैले तलाई मुद्दा हाल भन्दा भैगयो छोडीदे भन्थिस्, आखिर जित तेरो भयो कि भएन ? न्याय भन्ने बुझिस् अझ हराएको छैन ।” अर्काले भन्छ, “यार, दु:ख त तैले पाइस् नै त्यसमा अर्को मत छैन तर अब मस्तसंग तीन वर्षसम्मको पैसा एकैबाजी कुम्ल्याउन पनि पाउने भइस् । यतिन्जेल अन्त कतै काम पनि गर भन्दा मानिनस् नत्र यता पनि हुने उता पनि बन्ने थियो । तेरो यो एकहोरो मिजासले धेरै दु:ख पाइसकिस् । अब भने त्यसो नगरे । हामी पनि तेरा हितैषीमध्येका नै हौं । हाम्रो कुरा पनि सुन्ने गर ।” मित्रहरूका कुरा सुनेर उसलाई नमज्जा पनि लाग्छ र भन्छ, “पैसा कुम्ल्याउने र पैसा कमाउने कुरा छोड् । पैसाले कसलाई कहिले सन्तुष्ट पारेको छ र ? कामका बारेमा जान्न चाहन्छस् भने त्यो मैले शुरुगरेको छु या छैन त्यसको प्रचार गर्दै किन हिडनु पर्छ ?” शिवका कुरा सुनेर साथीहरूले हाँस्तै उसले गोप्य काम शुरु गरेकोमा उल्याउँछन् । तिनका ती हाँसोको जवाफ हाँसेर नदिई ऊ छिनैमा गम्भीर भइदिन्छ । ऊ सम्झन्छ, ती बितेका दिनहरू जुन उसले कतिको हेला सहेर, कटु शब्द सुनेर आत्मग्लानिले गर्दा घरमा अशान्ति ल्याएर, भड्केर कता कता पुगेर बिताएको थियो के त्यो केही पनि होइन ? के ती बितेका दिनहरूलाई यो तीन वर्षका तलबले मेटाउन सक्छ ? सकिंदैन भन्छौ भने, “मस्तले कुम्ल्याउने” भन्ने त्यो शब्द कसरी आउँछ ? के थाहा छ, यदि मैले फेरि नोकरी शुरु गरे भने यस्तै परिस्थिति नआउला भन्ने ? मेरो स्वभाव झन् उग्र भएको छ । व्यवस्थामा सुधार देखापरेको छैन । हुनसक्छ यस जितले मलाई अरू प्रोत्साहित पारेर कर्मचारीको परिचय दिन वाध्य नपर्ला भन्ने ? अनि …..? भावना र नियममा परिवर्तन नआएसम्म हामीले के नै गर्न सक्छौं ? भ्रष्टाचार र संस्थाको हितका लागि चालेको पाइला कुन हो भनेर कसरी छुट्टयाउने ? बाँधिएको नियम भित्र आफू पनि बाँधिएर नै बस्ने हो भने प्रतिस्पर्धा गरी कसरी अगाडि बढ्ने जब अर्को पाटी फुक्का छ र ऊ चारैतिरबाट बाँधिएको हामी माथि हान्न थाल्छ । हामीले आफै विरोधमा कराउनु भएन अनुशासनको पालना गर्ने पर्छ अख्तियारको सीमा नाघेर निस्कन सक्तैनौ संस्थाको हितको लागि पनि । किनकी अविश्वासले अख्तियारको घेरालाई ठाउँ ठाउँमा मोडिदिएको छ । गर्जेर सोझै दोषारोपण गर्दै भन्न सक्छ, “यस संस्थाको हितका लागि होइन, भ्रष्ट आचरण भएकाले आफ्नो व्यक्तिगत भलाईका लागि नियम छलेको हो । यस्तो अविश्वासले एकतर्फ जागिरदारलाई समयमा निर्णय लिन नसक्ने निकम्मा बनाई प्रभावहीन नोकर मात्र बनाइदिएको छ भने उही अविश्वासका आड्मा लुकीकुनै जागिरदारहरूले अनैतिकताको खेल खेल्ने बाटो पनि यसैबाट निकालेका छन् जसले गर्दा इमान्दार र फटाहा छुट्टिन नसकी झन् अन्यौलको स्थिति उत्पन्न हुन थालेको छ । के यो नियम कानून र प्रशासनको कमजोरी होइन ? अन्तरराष्ट्रिय स्तरमा समेत् छिरेर काम गर्न थालेका हामीले अन्तरराष्ट्रिय क्षेत्रमा कसरी जाने भनेर सुहाउँदो नियम किन बन्न नसकेको ? यी नियम कानूनहरू जनतामाथि विश्वास नरहँदा व्यवस्थाले नियन्त्रण गर्ने हैसियतले बनाइएको जुन छ, त्यसलाई अब जनतालाई सुम्पिन पर्दा यसमा व्यवस्था सुहाउँदो रूपले परिवर्तन ल्याई विकेन्द्रीकरण गर्दै लैजानु आवश्यक छ । प्रजातन्त्रको अर्को उद्देश्य विकेन्द्रीकरण पनि त हो नि ? शिव यसरी आफैंमा हराएको देखेर साथीहरूले उसको गम्भीरमुद्राको लक्ष्य गर्दै भन्छन्, “किन तँलाई हामीले भनेको मन परेन कि कसो ? तँलाई हँसाऔं भनेर जिस्क्यायौं, तँ त यसै चुप लागिस् । ठट्टा गरेको कुरालाई लिएर चित्तनदुखा है ।” “मैले कहाँ चित्त दुखाएको छु ? तिमीहरू यसरी आएर मेरा खुसीमा सामेल भयौ । यसमा मलाई नराम्रो लाग्ने के कुरा छ ? म त्यति मात्र सोचिरहेको थिएँ भने मेरो यो लामो छटपटीको क्षतिपूर्ति यही तीन वर्षका तलबले गर्न सक्तैन न त मेरो यो लडाई यही रकम प्राप्ति गर्नलाई मात्र हो । म भावुक भएर यसो भनिरहेको छैन । यो चोट जुन ममा लागेको छ, त्यो त कहिल्यै निको हुँदैन । यो चर्केर दु:ख्न थालेपछि पैसाको परवाह कसले गर्छ ?” यस्तै कुरा चल्दाचल्दै चिया र खाजा लिएर गौरी आइपुग्छे र कुरालाई टिप्तै भन्छे, “जुन अमूल्य छ, त्यसको मोल कसरी लाग्छ । क्षतिपूर्तिको त के कुरा गर्ने ? हामीभरिको धन ल्याएर थुपारिदिए पनि त्यो चोटको खाल्डो पुरिंदैन । त्यो बेचैनी, त्यो भागदौड, त्यो बेइज्जत, कसले फिर्ता लिनसक्छ जसले हाम्रो जिन्दगीनै छोट्याइ दिएको छ ? हेर्नोस् न छोराको पढाइ उहाँको नोकरी खोसिदा शुरु मात्र भएको थियो, अहिले ऊ इन्जिनियर भएर फर्किसक्यो । यति लामो समय जुन हामीले कष्टले बितायौं, त्यो उमेरको क्षण के यस जितले फर्काउन सक्छ ? त्यो तिन वर्षको तलबको के कुरा गर्ने ? छोड्नोस् यी कुरा । आज खुसीको दिन छ, रमाऔं, हाँसौं र कामना गरौ हाम्रोजस्तो दशा कसैले पनि भोग्नु नपरोस् ।” “पुनर्बहाली भएपछि ध्यान खुबै राखे । एकपटक बाघी भइ नै सकेको छस् । के गर्छस्, हामीले नोकरी नगरी अर्को पेशा सम्हाल्न सक्तैनौ । यो १५ वर्षदेखि लागिसकेको छाप चटट जाँदो रहेनछ ।” साथीहरूले निकै सम्झाउँछन् । उसको मनभित्रको अठोट जे जस्तो भएपनि उनीहरूको मन राख्न सबै ध्यान दिएर सुन्छ र हो भन्दै समर्थन पनि गर्छ । चिया खाँदा सबै भन्दा बढी खाजामा हात बढाउने पनि ऊनै हुन्छ । शान्त भएको छ, शून्यमा पुगेको छ ऊ ।

  • शिव खड्काको नोकरीको पुनर्बहालीको पूर्जी लिन जाने आज पहिलो दिन हो । त्यसैले घरमा विशेष रौनक देखापरेको छ । पूजा पाठ एकातिर चल्दै छ भने राधा पनि भजन नै गाउर बसेकी छ । गौरी चिया ल्याउनुभन्दा पहिले आएर शिवलाई नुहाउन पठाउँछे मानौं यस भन्दा पहिले भोगेका दु:खहरूको लेउ जुन शरीरमा टाँसिई एक अङ्ग भएका छन् ती सबै पखालिएर जाऊन् र शरीर उडेको चङ्गासरह हलुका भई बित्न थालोस् । उसले लोग्नेको छटपटी हेर्दाहेर्दै थाकिसकेकी हुनाले अबका दिन शान्तिल् बितुन् भनेर प्रार्थना गर्दै छे । ढल्दो उमेरमा धेरै चिन्तामा डुब्न थाल्यो भने कही यसैले कुनै अनर्थ ल्याउने त होइन भनेर ऊ डराइरहेकी हुन्छे । भन्छे पनि, “अब फेरि यो गर्छु त्यो गर्छु भनेर भट्किरहने होइन । यही नोकरीमा होरियारीका साथ रहनोस् । यतिले नै हामीलाई पुग्छ । छोराछोरी हामी सबैको कमाइ हाम्रोजस्तो साधारण जीवन गुजार्नका लागि यथेष्ट छ ।” तर थाहा छैन शिव के चाहन्छ । उसले नोकरीलाई कुन दृष्टिले हेरेको छ । नोकरी मात्र होइन उसले जीवनको अर्थ र बाँच्नुलाई के मानेको छ ? ऊ गौरीका कुरा सुनेर हाँसी दिन्छ । त्यही हँसाइलाई गौरीले उसका प्रस्तावमा लोग्नेले दिएको स्वीकृति मानेर दङ्ग पर्दै छे । नोकरीमा पुन: प्रवेश सफलताले वितोस् भनेर भगवान्को आराधना गर्दै छे । आस्थाको आड लिएर लोग्नेलाई भन्छे, “भगवान्को पूजा आजालाई अब केही भन्न पाउनुहुन्न । जति भन्नु भयो, त्यति भोगी पनि सक्नु भयो । यो भक्तिको मर्यादा राख्नुपर्छ । हाम्रा पूर्वजहरूले यो प्रथा यसै निकालेको छैन ।”

शिथिल भइसकेको शिवले पनि यस विषयमा जवाफ दिन थालेको छ । ऊ भन्छ, “सङ्कटको दर्शन बिहानै गर्न जान्छ र तरकारी सस्तो ताजा किनेर ल्याउँछु । के यो नै पर्याप्त छैन र ? मलाई तिमीले शून्यवादमा लागेको ठानेकी छौ क्यारे ? हो, म ईश्वरलाई हाम्रो धर्मानुसार निराकार शक्ति नै मान्छु र भगवान्मा आस्था राख्छु आत्म विश्वास बढाउन मनको कुरा पोखेर क्षमा माग्दै शुद्धीकरण गर्न र आफ्नो लक्ष्यमा सफल हुन आशीर्वाद पनि माग्छु । त्यो आशीर्वाद जसले मलाई आँट दिन्छ । यो यस्तो अदृश्य शक्ति हो जसले हामीलाई विश्वास दिलाई हौसला दिन्छ, सुकर्म गराउन अगाडि सार्छ र हामी यसरी कर्म गरेर प्राप्त भएका फललाई नै भगवान्को वरदान मानेर दङ्ग पर्छौं । वास्तवमा त्यो हाम्रो आत्मविश्‍वास ले निकालेको परिणाम हो । यसैले हो कुकर्म गर्नेहरू पनि बाँचिरहेका छन्, आफ्ना लक्ष्यमा सफलता नै हासिल गर्दै छन् । उनीहरू पनि भगवान्कहाँ गएकै हुन्छन् । हामीले भन्दा बढी अर्चना गर्छन् । के त्यस्ता व्यक्तिका सफलतालाई पनि भगवान्को वरदान भन्छ्यौ ? के त्यस्ताहरूलाई पनि भगवान्बाट छहारी प्राप्त गरेको मान्छ्यौ ? होइन भने मान, भगवान् ध्यानको केन्द्र हो, विश्वासको स्रोत हो, उत्साहको प्रेरणा हो । यसैले म दावीको साथ भन्छु, म आस्तिक हुँ । आफ्नो शिर निहुराएर आफ्ना लक्ष्यमा सफल हुन शक्ति माग्छु । आफ्नो वेदनाहरू पोखेर शान्त हुन भगवान् कहाँ धाउँछु । मेरो र तिम्रो ईश्वरप्रतिको भावनामा मात्र फरक हो । आस्था हामी दुवैका भगवान्मा छ । यति भनेर शिव नुहाइ धुवाइ गर्न जान्छ । गौरी प्रसाद लिएर आउँछे । शरीर शुद्ध पारेर फर्केका शिवले प्रसाद ग्रहण गर्दै भन्छ, “मलाई मेरा लक्ष्यमा पुग्न सफलता मिलोस् । कुनै कारणले पनि मेरा जुर्मुराउन थालेका यी पाइलाहरू नरोकिऊन् ।” गौरी शिवले भगवान्संग सफलता मागेको सुनेर ढुक्क हुन्छे र चिया ल्याउन जान्छे । नौ बजेको साइत छोप्न शिवलाई अफिस पठाउने तयारी हुन थाल्छ । ढोकामा घडा राखिएका छन् । गौरी छोराछोरी सबै रमाएका छन् । माथितल उक्लेको ओर्लेको आवाज आइरहन्छ । दया पनि छोरालाई लिएर बिहानै माइत आएकी छ । शिव खड्का यसै यसै अलमलिराखेको छ । ऊ कहिले टोपी खोज्छ त कहिले मोजा पाउँदैन । यी सबै पाएपछि पनि फेरि केही हराएको जस्तो गरी आफैंलाई छामिरहन्छ । आज उसले आफैंलाई बिर्सि रहेको छ । ऊ फेरि त्यहीअफिसमा जाँदैछ जहाँ तिनै हाकिमहरू छन्, उनै सहकर्मी छन् । कता कता उसलाई असजिलो सिन लाग्न थालि हाल्छ । के गरेर अभिवादन तिनैलाई गर्ने र के भनेर मिलापका लागि अगाडि सर्ने ?

जस्तो सुकै मनस्थिति भए पनि उसलाई आज अफिस जानु नै पर्ने भएकाले घरका परिवारको मन राख्न माइतमा ने घरबाट अफिसका लागि निस्कन्ट.छ । उही अफिस, त्यसरीनै बसेका जागिरदारहरू, तीन वर्ष बिताएर अफिसमा यस्ता पनि त्यहाँका स्थितिमा कुनै परिवर्तन पाउँदैन । फरक देखिएको छ भने कामदारहरूले ठूलठूला स्वरले कुरा गर्न र हाँस्न थालेका छन् । उसलाई यो अलि बिझेको लागेतापनि निर्भिकता फैलिएको पाएर राम्रै मान्छ केवल मनका एक छेउमा मात्र शङ्का उठ्छ, कही यो निर्भीकता, अनुशासनहीनतामा बद्लिने त होइन ? छोटो एक दिनको पर्यबेक्षणमा उसले किटान गर्न सक्तैन । साथीहरूसंग कुराकानी गर्दै हाकिमसँग भेट गर्दैमा दिन बित्छ र पाँच बजे कार्यलय बन्द भई घर फर्कंदा ऊ बाटाभरि सोच्छ, “मैले गरेको यत्रो संघर्षको उपलव्धि फेरि अफिसमा काम शुरु गर्नु मात्र हो त ? मैले त जान्न खोजेको थिएँ, मैले के गल्ती गरेको रहेछु र म निस्कासित भएँ ? यो मेरो प्रश्न त अनुत्तरित नै रहयो ? म त फेरि फर्काएर थन्काइएको छु, त्यही स्थितिमा उस्तै गरी, समयकाट्न र नोकरीको वर्ष बढाई यसैमा पाको बन्न । के ममा अब पनि उस्तै धैर्य आउन सक्छ ? उसले आज पनि साथीहरू र हाकिमहरूबाट उही पुराना कुराहरूमा केही थप भएको मात्र सुन्न पाएको छ । ऊ अझ यसमा सन्दिग्ध नै छ । ती चिप्लाकुरा अरुमाथि दोष थुपारेर आफू चोखिने बाटो मात्र निकालेको सुन्दासुन्दै ऊ आजित भइसकेको छ । उसको विजयमा कुन अदृश्य शक्तिलाई खुच्चिङ मारेका हुन् ? कुन्नि भनेका थिए, “ अब थाहा पाए, होलान् विथैमा कसैलाई नोकरीबाट हटाउनाले कस्तो परिणाम निस्कदो रहेछ ।” हाकिमले समेत् भनेको थियो, “राम्रो भयो, तपाईंले मुद्धा लडेर जितेर नै आउनु भयो । जागिरदारको आत्मबल बढाउने काम यसले गरेको छ । तपाईंले मुद्धा हाल्नासाथ हामीले भनिसकेका थियौ तपाईं फर्केर आउनु हुन्छ । त्यसैले तपाईंको पुराना ठाउँमा कसैलाई पनि राखेका छैनौ । तपाईंले तिन वर्ष पहिलेको र अहिलेको अफिसको वातावरणमा धेरै फरक पाउनु भयो होला । दबाबमा काम गराउने यता बढ्दै छ भने उता अदवमा रहन छोड्दै छन् । अहिलेको अवस्थामा हाकिम भएर काम गर्न अतिनै गाह्रो छ । आँखा अगाडि आफू परिन्छ दुवैतर्फको मार आफूले भोग्नु पर्ने हुन्छ । यो कुरा तपाईंहरू जस्तो विद्वान्ले बुझि सक्नु भएको होला ।

तपाईं गएपछि शन्तको पदोन्नति भएको छ । तपाईंलाई आफूसरहका साथीको मातहतमा काम गर्न सङ्कोच लाग्ला भनेर उसलाई अर्कै शाखामा सरुवा गरी दिएको छु । के गर्ने, मुद्धाको छिनफान हुन यति लामो समय लागिहाल्यो । पर्खने पनि कति, झन्डै पन्ध्र सोह्र महिना पख्यौँ । अरूको हुन लागेको उन्नति पनि रोकि हाल्न भएन । यसमा नराम्रो नमान्नु होला । अब तपाईंको पनि पदोन्नति चाँडै होला । शिवलाई हाकिमका सफाइसँग भन्दा शन्तले आफ्नो पदोन्नति भएको यतिका महिना बित्ता पनि नसुनाएकाम चित्त दुख्छ । आजै पनि ऊ उसलाई देखेर अलि पन्छिएकै थियो । सायद पदोन्नतिले उसलाई शिवको अगाडि पर्न लाज लाग्यो होला । ऊ आफैंसंग भन्छ, “मैले त उसको पदोन्नतिको आधार सोध्ने थिइनँ किन उसले पन्छनु परेको ? म त उसको अन्तरङ्ग मित्रपो हुँ । के नोकरीका क्षेत्रमा भिन्नता जस्तो भावनाको कुनै अर्थ रहँदैन ? ऊ ज्यादै दु:खी हुन्छ र भन्छ, “त्यसैले आज मैले जुन् निर्णय लिएको छु त्यसलाई सान्दर्भिक मान्नै पर्छ ।” यस्तै गरी मनमा कुरा खेलाउँदा खेलाउँदै ऊ घरमा पुग्छ । घरमा बिहान देखि छाएको उल्लासमय वातावरण अझै यथावत् नै छ । ऊ घरभित्र पस्ता उनीहरूका खुसीमा अरू खुसी थपिने हुँदा प्रफुल्ल भइ दिन्छ । कसले के भने, के गरे, अफिसको स्थिति कस्तो पायौ भन्ने जान्न उत्सुक रहेका परिवारलाई रमाइलो नाटकीय शैलीमा सबै बताइदिन्छ । आफ्ना बाबालाई त्यहाँ छोराछोरी सन्तुष्ट हुन्छन् । सबैले रुचाएर स्वागत गरेको वर्णन सुनेर छोराछोरी सन्तुष्ट हुन्छन् । गौरीले भने औंला ठड्याउँदै सचेत गराउँदै भन्छे, “सबै राम्रै हुँदै छ तर आफू काग नबन्नु होला । अर्काका कुरा सुनेर काग/काग भनि कराउँदा रोटीको टुक्रा नै भुईमा खस्ला ? होशियार हुनु मूर्ख बन्नु हुँदैन !” शिव पनि उसको कुरा सुनेर दङ्ग पर्छ र एउटा चिठी गौरीलाई पढ्न दिदै भन्छ, “होशियार हुनलाई नै आजै यो चिठी दिएर आएको छु । अब कुनै पनि गल्ती दोहेरिन दिन्नँ ।” गौरी चिठी पढ्न थाल्छे । साधना बाबाको अनुहार हेरेर खिस्स हाँस्छे । गौरीका चेहराको रङ्ग उड्न थाल्छ र चिठी शिवलाई फिर्ता दिदै भन्छे, “बझिनसक्नुको हुनुहुन्छ तपाईं र तपाईंको कान्छी छोरी । एउटीले आजदेखिनै दुइवर्षको छुट्टी लिएर आएकी छे भने अर्काले यत्रो संघर्ष गरेर फिर्ता लिएको नोकरीलाई राजीनामा दिएर आएको छ । नोकरी छोड्न नै थियो भने यत्रो दु:ख किन उठाएको ? धन भनिएन, स्वास्थ्य भनिएन, चिन्ताग्रस्त भएर समय बिताइयो । अन्त्यमा यो उल्लासपूर्ण त्यो वातावरण छिनैमा शान्त हुन्छ । एक छिनसम्म कोही कसैसंग बोल्दैनन् ।

त्यसपछि शिवले नै गंभिर भएर जवाफ दिन थाल्छ, “त्यहाँका अवस्थामा झन् ह्रास आएको पाएँ । म कर्मचारी बन्न चाहन्छु, नोकर होइन । हामी त्यहाँ मेसिनको मान्छे सरह हुन्छौ विचारहीन, भावनाहीन सम्पूर्ण शक्ति केवलरिमोटका बटनमा आधारित । मलाई बन्नु छैन भूषिशेरचनको जस्तो “घुम्ने मेचमा अन्धो मान्छे ।” “अनि के गर्न चाहनु हुन्छ त ? उस्तै गरी छटपटीमा समय बिताउने ? बितेका यी तीन वर्षले तपाईंलाई कस्तो निस्क्रय बनाइदिएछ । केही दिन त्यहाँको वातावरणसंग मिल्न कोशिस गर्नु हुन्थ्यो होला । त्यसपछि पनि सक्नु भएन भने अनि नोकरी छोड्नु हुन्थ्यो होला । आज एक दिनमा नै के थाहा पाएन भयो र नोकरी छोडेर आउनु भयो ? यसरी भाग्नु पनि राम्रो होइन ?” “म भागेको होइन, न त म निस्क्रयनै भएको छु । मैले चाहेको छु स्वच्छ वातावरणको सिर्जना गर्न जहाँ प्रजातन्त्र बाँचन सकोस् मानवता फस्टाउन सकोस् । साधना र म सामाजिक प्रदूषण हटाई मानव एकता ल्याउने अभियानमा लाग्छौं । मैले स्वतन्त्रताको अनुभव गर्न नपाए पनि मेरा आउने वंशजहरूले पाउने छन् । यहाँ भावना परिवर्तनको पनि खाँचो छ । मैले परिवारतर्फको दायित्व पुरा गरिसकें । तिमीहरू सबै कमाएर आफ्ना खुट्टामा उभिन सक्षम भइ सक्यौ । अब मेरो दायित्व देशप्रति बाँकि छ । यस देशका नागरिकका हैसियतले मैले अब यसतर्फ लाग्नु जरुरी भंझेको छु ।” गौरी अलि आत्तिन्छे र भन्छे, “अनि साधनालाई किन नि ? उसको त जीवन शुरु नै भएको छैन भने पनि हुन्छ । म एक्ली यहाँ बसेर के गर्ने नि ? त्यसै भन्नु हुन्छ भने मेरो पनि त यहाँ काम छैन ।” “छ यहाँ तिम्रो धेरै जिम्मा छ । यहाँ तिमीले यी छोराहरूको अभिभावक भई यो घर र यी सन्तानलाई मार्गदर्शन गराउनु छ । यिनीहरूलाई प्रगतिशील बनाउने जिम्मा हाम्रो हो । तिमी सक्षम छौ र मेरी अर्धाङ्गिनी पनि हौ । मेरो तिमीमाथि विश्वास रहेकाले नै यसरी कर्मक्षेत्रलाई बाँडेर त्यसतर्फ लाग्ने साहस गरेको हुँ । मेरो यो गृहत्याग सदाका लागि होइन । म फर्केर नआउन्जेलसम्म तिमीले हाम्रो गृहस्थीलाई एक्लो भएर चलाइराखे । घर हाम्रो सभ्यताको चिय हो यसको जरुरत हामीलाई छ गौरी । तिमी अहिले मेरो यो लक्ष्य पूरा गर्न सहयोगी भइदेऊ बाधा होइन । अनि साधनालाई मैले साथमा यसैले लैजादैछु किनकि यस अभियानलाई सफल पार्न नयाँ पुस्ता र तिनका अभिभावकहरूलाई साथसाथै सम्झाई बुझाई गर्दै अगाडि सार्न सकेमा मात्र नयाँ वातावरणको सिर्जना हुनसक्छ । साधनाचै आफ्ना पुस्तासंग मिलेर अगाडि बढ्छे म उसलाई र उसका अभिभावकहरूलाई सहयोग गर्छु । गौरी छोरीको चिन्ता तिमीलाई जस्तै मलाई पनि छ । यसको पनि घर गृहस्थी बसोस् भन्ने म पनि चाहन्छु । यसैले म यसलाई दुईवर्षका लागि मात्र लैजाँदै छु । त्यसपछि यो गृहस्थ जीवनमा प्रवेश गर्छे । अहिले यसको विवाह गर्ने उमेर ढल्किसकेको छैन, किन व्यर्थै चिन्ता लिनछ्यौ ? बाबु आमाको कुरा सुनेर साधना पनि भन्छे, “आमा म अब हुर्किसके मैले आफ्ना लागि के गर्नुपर्छ त्यो मलाई नै छोडिदिनोस् । बाबाले मलाई यस अभियानमा बलजफतिले लैजान लाग्नु भएको छैन । मेरो इच्छा र बाबाको इच्छा मिल्यो । मलाई पनि बाबा जस्तै परिपक्व व्यक्तिको जरुरत थियो । त्यसैले म पनि उहाँकै साथमा जान तयार भएकी हूँ । अलि हाँस्तै भन्छे, “तपाईं त बाबाका साथमा म जान लागेकीमा खुसी हुनुपर्थ्यो ? मैले जहाँ गए पनि आफ्ना अभिभावकलाई छोडेकी छैन ।” यसरी लक्ष्यमा हठ रहेका तिनीहरूलाई गौरीले कुनै उत्तर दिन सक्तिनँ । ऊ मूक भउर उनीहरूको कुरा सुनिरहन्छे र आँसुले डबडबाएका आँखा तल झुकाउँछे । आँसुका थोपा तपतप गरी तप्कन थाल्छन् । शिवले यो के गरेकी भनेर सोध्दा आँसु पुछ्तै भन्छे, “यसलाई हर्षका आँसु सम्झी परवाह नगर्नोस् र आफ्नो लक्ष्यमा लाग्नोस् । नबिर्सिनोस् म यहाँ तपाईंहरूका प्रतिक्षा गरेर बसी रहेकी हुन्छु, बहादुर लोग्ने र छोरीको स्वागत गर्न ।”

  • केही दिनपछि एक बिहानी ती बाबुछोरी आफ्नो बाटो लाग्छन् । सूर्यको राप र जमीन र रुखका पातहरूबाट उठ्न थालेका बाफले उनीहरूलाई छोपेर छिनैमा अदृश्य बनाई दिन्छ । गौरी मनैमनले उनीहरूका अभियानको सफलताका कामना गर्दै घरभित्र उनीहरूलाई बिदाइ गरी पस्छे । त्यहाँ राधाले पनि आफ्नो लोग्ने दिल बहादुरलाई उठाउँदै भनीरहेकी गौरीले सुन्छे, “उठ्नोस्न कति अल्छी गरेर सुतीरहनु भएको ? ऊ हेर्नोस् त छोरी रुदै तपाईंलाई बोलाउँदैछे । उसलाई फुल्याउनु हुन्न ?” दिलबहादुर आफ्नो आङ तन्काउँदै जुरुक्क उठ्छ । बिहानी भइसकेकाले ऊ आत्तिन्छ र मनमनै प्रण गर्छ, अब ऊ पनि समयको ख्याल राखि आफू क्रियाशिल हुन ढिलाई गर्दैन । त्यसैबेला छोरी रुदै आमाबाबुलाई खोज्छे । आफ्नो सुरक्षाको लागि, आफ्नो भविष्यको लागि ।

समाप्त