आइतबार, हप्ताको पहिलो दिन, शिव खड्का पन्ध्र दिनपछि आज अफिस जाँदै छ । कामको ज्यादै बोझले गर्दा तनाव बढ्न गएकाले उसलाई गौरीले बलजफत गरेर नै छुट्टी लिनलगाएकी थिई तर स्वभावले लाचार शिवले कुनै दिन पनि अफिसका कामकाजहरूलाई बिर्सन सकेन । आज उसले झन् ज्यादा ती कामहरू सम्झँदैछ र कुनलाई प्राथमिकता दिएर सिध्याउनु पर्ला भनेर ती थन्किएका सम्भावित कामहरूलाई केलाउन थाल्दै छ मनमनै । छान्दाछान्दै सबै उत्तिकै जरुरी भइसकेका पाएर त्यति लामो छुट्टी लिन कर लगाउने गौरीसँग पनि बिछट्टै झोकिन्छ र अठोट गर्दछ राति अबेरसम्म बसेर भए पनि दुई चार दिनमा सबै काम समाप्त पारेर नै छोड्छु । त्यस बेला पनि किन अबेर आउनु भयो ? भन्न लागी भने अनि मैले जवाफ दिन जानेको छु भनेर मनैभित्र गौरीप्रति उठेका रिसलाई थेचारेर सन्तुष्टि लिन्छ ।

उसका अफिसको व्यवस्था भिन्दै प्रकारको भएकोले पनि उसलाई धेरै चिन्ता लागेको हो । त्यहाँ जो जसले छुट्टी लिए पनि कार्यालयमा फर्केपछि थुप्रिएका कामहरू आफैँले सिध्याउनु पर्छ । त्यसमाथि पनि सबैको विश्वासी सबैले रुचाएकाले माथिका हाकिमदेखि मुनिका सहयोगीहरूले समेत काम उसलाई पन्छाउने भएकाले उसका टेबुलमा फाइलहरूको थुप्रो कहिल्यै छुट्तैन थियो । उसको स्वभाव पनि त्यस्तै छ, कसैलाई “नाई, सक्तिनँ” भन्न नसक्ने । उसलाई कुनै मित्रले किन यसरी सबैको काम जिम्मा लिन खोज्छौ, काम बिग्रे दोष तिमीलाई आउँछ, राम्रो भए जसजति अरूमा जान्छ, भन्दा ऊ भन्ने गर्थ्यो, “काम गर्नु भनेको यस्तो कुरा हो, यसले नै हामीलाई अनुभवी बनाउँछ र अनुभवी हुनु सफल हुनु पनि हो । त्यसैले जस उनैले लिए पनि अनुभव मेरो त खोस्न सक्तैनन् । मसँग तिनीहरू जसले काम पन्छाउने गरेका छन् ती अनुगृहीत त हुन्छन् ।”

यसरी आफ्नो उपस्थिति अफिसका लागि जरुरी बनाएर बसेका व्यक्तिलाई जब गौरीले एक दिन भनी, “कसैको पनि कतै खाँचो धेरै दिन टिक्न सक्तैन । परिस्थितिले त्यसलाई मिलाउँदै गएको हुन्छ । तपाईं मात्र एक यस्तो हुनुहुन्छ जसले आफू नभएमा सबै डुब्छ भनेजस्तो गरी छोप्दै हिँड्नुहुन्छ । यो सोचाइ तपाईंको भ्रम मात्र हो, अफिसको आवश्यकता होइन”, भन्दा ऊ कति रिसाएको थियो भने त्यस दिन ऊ घरमा खाना खान पनि आएन र कसैसँग बोल्दा पनि बोलेन । त्यस बेलादेखि गौरीले उसलाई जुन बेला अफिसबाट घर फर्के पनि केही भन्दिनथी । सोच्थी, “उसलाई अफिसका बारेमा केही भन्नु व्यर्थ छ ।”

मस्तिष्कमा विभिन्न कुरा खेलाउँदै शिव ठीक समयमा अफिस पुग्छ । उसलाई कामको चिन्ता लागे पनि अफिसका प्राङ्गणमा पुगेपछि खुसी लाग्छ । दश बज्ने बेला भएकाले कर्मचारीहरू चारैतिर छरिएका देखिन्छन् । कोही हस्याङ फस्याङ गर्दै आफ्नो कार्य कक्षतर्फ लाग्दै छन् भने कोही सूचना पाटीमा टाँसेको खबर पढ्न झुम्मिँदै छन् । पदोन्नतिको योग्यताक्रमको सूची निकाल्ने कुरा चलेको ऊ सम्झन्छ र अड्कल पनि गर्छ, सके त्यो त्यही नै होला । उसलाई त्यहाँ त्यसरी थुप्रिएर त्यो खबर पढ्न जिज्ञासु भएकाहरूलाई देख्दा भित्रभित्रै हाँस उठ्छ र एक व्यक्तिसँग सोध्छ पनि, “ककसको नाम निस्किएछ ? तपाईंको छ कि छैन ?” त्यस व्यक्तिले उसका प्रश्नलाई अनसुनी गर्दै यसै पन्छिन्छ । त्यस व्यक्तिका त्यस व्यवहारले उसको मन खल्लो हुन्छ र आफैँ त्यहाँ गएर हेर्न तम्सिन्छ । यत्तिकैमा अर्को एकले उसलाई देखाउँदै, “ऊ माडसाहेव पनि आइपुग्नुभएछ,” भनेको सुन्छ । शिवले पुलुक्क उसको अनुहार हेर्दा खिस्रिक्क परेको देखेर उससँग केही सोध्दैन । सम्झन्छ, सायद उसको नाम त्यस सूचिमा परेनछ क्यारे ? यस्तो पनि कसरी हुनसक्छ ? उसको नाम त आउनै पर्ने थियो ज्ञ काम पनि राम्रो गर्ने हो, नोकरीका वर्षले पनि पुरानो कर्मचारी नै हो, फेरि के भएछ ?” शिवलाई त्यो सूचना पढ्न अरु उत्साही गराउँछ र ऊ अगाडि सर्छ । हाकिम नै त्यहाँ आएको देखेर अरु कर्मचारीहरूले उसलाई बाटो छोडिदिन्छन् र ऊ त्यो पढ्न थाल्छ ।

सूचनाको व्यहोरा पढ्दैमा ऊ सननन्न हुन्छ र त्यहाँ उल्लिखित नामहरू ध्यान दिएर पढ्न थाल्छ । अन्त्यमा आफ्नै नाम पढेपछि ऊ खङ्ग्रङ्गै हुन्छ । विश्वास लाग्दैन र दोहोऱ्याएर पढ्छ “त्यहाँ प्रष्टसँग अङ्कित थियो शिव खड्काको नाम ।” ऊ लाजले त्यहाँ भेला भएका कसैको पनि अनुहार हेर्न सक्तैन र त्यहाँबाट फुत्केर कार्यालय बाहिर निस्कन्छ । मनमा प्रश्न प्रतिप्रश्नको आँधी चल्न थाल्छ र सोच्छ, “एक फेर ती हाकिमहरूसँग भेटेर सोध्नै पर्छ, ‘मेरो निष्काशन गरिनाको कारण के हो ? कुन आधार अपनाउनु भयो ? के यही हो तपाईँहरूको विश्वासी भएर काम गरेबापत मैले पाएको इनाम ? यस्तै हो भने यहाँ न्याय जीवित रहन सक्तैन ?’”

ऊ त्यसरी ठिङ्ग उभिएर सोचिरहेकै बेलामा अर्को ऊजस्तै पीडित आइपुग्छ । दुवैले खिस्स हाँसेर आ-आफ्ना वेदना पोख्छन् र शिवले सोध्छ, “के हो यस्तो ? कुनै तुक पाउन सक्नुभयो ?” उसले पनि खिन्न हुँदै जवाफ दिन्छ, “भन्छन्, पजनी हुँदा यस्तै हुन्छ रे ? अहिले मात्र होइन, २०१५ सालमा पनि यस्तै भएको थियो रे ? जुनसुकै व्यवस्थामा पनि मार खाने हामी जागिरे नै हुन्छौँ । राणाशासनदेखि आजसम्म पनि यो प्रथा जान नसकेकाले डर लाग्छ, कहीँ यो हाम्रो परम्परा नै बन्न नजाओस् । यस्तै हो भने हामी बलियो कहिले हुने खै ? झन् यो त प्रशासन व्यवस्था नै परिवर्तन भएका बेलामा भएको छ । कसले विचार गर्ने, दोषी कोहो भनेर, व्यवस्था कि कर्मचारी ?”

यति भनेर ऊ एक छिन चुप लाग्छ र चारैतिर हेर्दै असजिलो मानेर भन्छ, “हिँडनोस् जाऔँ । के उभिएर ढोकाबाहिर बसिरहने ? यो एउटा मात्र ठाउँ छ र जागिर खानलाई ? आफ्नो इलम छ भने जहाँ पनि यत्तिको नोकरी पाउन सकिन्छ ।” यसो भन्दै त्यस साथीले शिवलाई लिएर अफिसका प्राङ्गणबाट नै टाढा हुन चाहे पनि ऊ भन्न छोड्दैन “होइन, एकफेर त्यस मुख्य हाकिमसँग यसरी अकस्मात् निष्काशित गराउनाको कारण नसोधेर कसरी जाने ? यो त हामीले बुझ्नै पर्छ । हिँडनोस् बरु हामी दुवै जाऔँ र सोधौँ । कुनै अर्थ त जरुर होला नि ?”

शिवको प्रस्ताव सुनेर त्यो साथी दिक्क हुन्छ र भन्छ, “त्यसो भए तपाईं नै अनर्थमा अर्थ खोजेर बस्नोस् र अर्को अनर्थ भोग्नोस्, म त हिँडें” भन्दै फतफताउँदै आफ्नो बाटो लाग्छ ।

शिवलाई साथीका कुराले कुनै असर पार्दैन र ऊ भेट गर्ने निश्चय गर्दै फेरि अफिसतर्फ फर्कन्छ । हाकिम साहब निकै व्यस्त भैकाले केही बेर कुरेपछि मात्र भेट पाउँछ । वादविवाद निकै हुन्छ । चर्को स्वर दुवैको सुनिन्छ । केही बेरसम्म भनाभन भएपछि शिव खड्का हाकिमका कक्षबाट निस्केर यताउति कतै नहेरी सरासर घरतर्फ लाग्छ ।

नोकरी गएको सङ्कोचले भन्दा हाकिमसँगका कुराकानीले ऊ आक्रोशित भई विचलित हुनगएको छ । उसलाई लागिरहेछ कहाँ गएर के विध्वंस पारी तिनका गालीको प्रत्युत्तर दिऔँ ।

यस्तो भरङ्ग मनस्थिति लिएर घरमा पुग्दा त्यहाँ उसलाई सान्त्वना दिने कोही पाउँदैन । त्यस रित्ता घरले झन् मनलाई चिढाउँछ । गौरी पनि नोकरी गर्थी र ऊ पनि आजै पन्ध्र दिनको बिदापछि अफिस गएकी छे । शिव कोठामा पस्नासाथ लुगै नफुकालेर बिछ्याउनमा आफूलाई हुत्याउँछ र हात पछाडि लगी शिर अड्याउँदै रित्तो भित्तालाई एकनाससँग हेर्दै मनलाई एकत्रित पार्न खोज्छ तर, कसरी शान्त हुनसक्छ त्यो मन ? एकहोरोसँग उही प्रश्न दोहोरिरहन्छ, “किन मलाई निष्काशित गरे ? मैले के गरें त्यस्तो ? त्यस हाकिमले किन कुरा खोल्दैन ?”

अनुत्तरित प्रश्नले गर्दा ऊ झन् अशान्त हुँदै जान्छ र जुरुक्क उठेर तबला बजाउन थाल्छ जोडजोडले । टाउको तालकासाथमा नाच्न थाल्छ र ऊ आँखा चिम्लेर बजाइरहन्छ ……., बजाइरहन्छ । औंलाहरू ठोकिइरहन्छन् । ती दुई तबलाले उसको आक्रोशको वेग थामेर पड्किरहन्छन्, सुनाइरहन्छन्, शिवका मनभित्र अन्धाधुन्धले चलेको आँधी ।

राधा त्यस घरकी नोकर्नी । मालिकले दिउँसै अफिस छोडेर आई त्यसरी तबला बजाएको देखेर डराउँछे । लाग्थ्यो, त्यहाँ आकाश गडगडाएर बर्षा हुन लाग्दै छ । ऊ आत्तिँदै घर बाहिर निस्कन्छे र कता जाऊँ भएर चारैतिर आँखा घुमाएर हेर्न थाल्छे । दिलबहादुरले भर्खरै विवाह गरेर पहाडबाट शहर ल्याइएकी त्यस राधालाई न त मालिकको स्वभावको राम्रो ज्ञान हुनपाएको छ, न त शहरिया वातावरणकै । ऊ निकै हडबडाई के गरूँ भएर छटपटाइरहेका बेला टाढाबाट गौरी आइरहेकी देख्छे । ज्यानमा केही शक्ति अनुभव गर्दै मालिकनीलाई पर्खिन्छे ।

दूरभाष भनूँ या अरू केही, त्यस दिन गौरीलाई अफिसमा बस्न पटक्कै मन नलागेर कुनै आपत् आउन लागेको जस्तो सङ्केत भइरहेकाले, यस्तो मनस्थिति लिएर अफिसमा बसिरहँदा के हुन्छ, के भनी आधा दिनको छुट्टी लिएर घर फर्केकी थिई । नभन्दै घरका ढोकामा आइपुग्दा राधालाई त्यस स्थितिमा देखेर सोध्छे “किन यसरी आत्तिएर बाहिर आएकी ? कि कतै जान लागेकी हो ?”

गौरीलाई देखेर राधाले लामो सास तानेर ढुक्क हुँदै भन्छे “बल्ल तपाई आइपुग्नु भयो । म त कहाँ जाऊँ, कता लागूँ भएर बाहिर निस्केकी । “यी दुई बीच कुरा चल्दा पनि तबलाको आवाज सुनिरहन्छ । गौरी राधाको कुरा सुनेर विचलित हुँदै फेरि सोध्छे, “किन घरमा के भयो र बाहिर आएकी ? त्यो तबला बजाउने को नि ? कि दिलेले पनि तबला किनेर ल्यायो ?”

“छैन उसले के किन्थ्यो ? त्यो बजाउने त साहब हो । अघि नै घर फर्किसक्नु भयो ।” यति भनेर ऊ चुप लाग्छे । गौरीले राधालाई घरभित्र हिँड् भनेर साथमा लिएर जान्छे र उसलाई चिया ल्याउन अह्वाएर आफू कोठामा पस्छे । शिवले एक सूरले तबला बजाइरहेको देखेर सोध्छे “के सूर चल्यो यस्तो ? आफैँसै छोडेर आई यसरी एक्लै तबला बजाउनथाल्नु भएको ? कि सन्चो भएन ? अनुहार पनि अँध्यारो छ”

शिवले गौरीका प्रश्नको जवाफ नै नदिएर बजाउँदैको तबलालाई घचेटेर पन्छाइदिन्छ । एउटा तबला भूयालमा ठोक्किएर फुट्छ पनि । तबला त्यसरी फुटेको देखेर गौरीले भनी, “केको रिस यस तबलामाथि घोप्टाइदिनु भएको ? यो फुटेर नाश कसको भयो ? हेर, यहाँ प्वाल परेछ ।” तबला उठाएर हेर्दै भन्छे । शिवले पुलुक्क गौरीलाई हेर्छ र भन्छ “यो तबला फुटेको जस्तो गरी म सबैलाई छ्यालब्याल पारिदिन्छु । मलाई यिनले चिनेकै छैनन् ।” “कसलाई त्यसो भन्नुभएको ? मैले यसो भने भनेर रिसाउनु भएको ? लौ हुन्छ, तपाईँलाई जे गरेर तपाईँको रिस शान्त हुन्छ त्यही गर्नोस् ।” गौरीलाई थाहा छ शिवले उसँग रिसाएर भनेको होइन तर कुरा फुत्काउन मात्र त्यसो भनेका हो । “छोड यी कुरा, अनि भन, तिमी कसरी आज चाँडै आयौ ? कि कसैले खबर गऱ्यो ?” शिव सशङ्कित हुन्छ । “कस्तो खबर ? अहँ मलाई कसैले केही भनेको छैन, अलि सन्चो नहोला जस्तो भएर बेचैन भएकीले मात्र आएकी हुँ अनि तपाई नि ? अफिसमा थुप्रै काम छ, तिमीले गर्दा बिनसित्ति बिदा लिनु पर्यो भनी कराउने तपाईँ अहिले आफैँ अफिस छोडेर आउनु भएछ । यसपटक त मैले छिट्टै घर आउनुहोस् भनेकी थिइनँ । दोष मलाई लगाउन पाउनु हुन्न है ?” खुसी पार्न जिस्काउँदै गौरीले कुरो उठाउँछे । उसले अनुमान गरेकी छ, शिव आज ककससँग अफिसमा रिसाएर आएको छ । त्यसैले ऊ शिवको ध्यान अर्कैतर्फ खिच्न र रिसजति आफूमै खनाइदिएर भए पनि शान्त होस् भनेर ठट्टाका भाकामा कुरा गर्छे । ठट्टा गर्नुपर्ने त शिवको पनि बानी नभएको होइन । यी दुई दम्पतिमा यस्तै भाकामा संवाद चलिरहन्थ्यो । त्यसैले गौरीले यस्तो प्रश्न गरेकी थिई, तर आज उसको मनस्थिति अर्कै भएकाले जवाफ दिने तरिका पनि फरक हुन्छ । सोध्छ, “तिमीलाई कारण जान्नु पऱ्यो होइन ? सुन्छ्यौ, म किन घर फर्के ?” ऊ आक्रोशित हुन्छ । गौरी डराउँछे । राधाले चिया ल्याइपुऱ्याउँछे र टेबुलमाथि राखेर जान्छे । एक छिन कोही केही नबोलेर चिया समाउँछन् । गौरीले पुलुक्क शिवको अनुहार हेर्छे । शिव केही शान्त भए पनि ठूलो स्वरमा नै त्यस स्थगित प्रश्नको जवाफ यसरी दिन्छ, “तिम्रा लोग्नेलाई नालायक भएकाले आजदेखि नोकरीबाट निकालिदिए, थाहा पायौ त तिमीले ? फेरि सोधौली (त्यसो भए योग्य जागिरदार कस्तो हुनुपर्छ भनेर ? म त्यसको जवाफ दिन सक्तिनँ । कति मात्र म भन्नसक्छु भने म उनीहरूले लगाउने जागिरदारको परिभाषामा पर्न नसकेको रहेछु । तर म यत्तिकैमा कहाँ छोड्छु र ? उनीहरूको परिभाषा मात्र होइन, मेरो आफ्नै परिभाषा तिनीहरूलाई सिकाइदिन्छु । प्रजातान्त्रिक व्यवस्थामा जागिरदारहरूलाई कुन स्थानमा राखेर काम गराउनु पर्छ र उनीहरूको अधिकार र दायित्व के कस्ता हुन्छन् भन्ने कुरा माथिदेखि तलसम्मका जागिरदारहरूले बुझ्न सकेनन् भने यस व्यवस्थाले नकारात्मक रूप लिन्छ ।” “भो छोडिदिनोस् । कति चिन्ता तपाई मात्र लिनुहुन्छ ? देश बनाउँछौ, हामी नेता हौ, भन्नेहरूलाई पनि राम्ररी चिनिसक्नुभएको छ । आफ्नो इलम र इमान भएसम्म यस्ता नोकरी जहाँ पनि पाइन्छन् । बरु यिनीहरूलाई नै इमान्दार कर्मचारी पाउन गाह्रो हुन्छ ?” “मनभित्र त्यो खबर सुनेर आफू दुःखी भए पनि शिवलाई सान्त्वना दिन गौरीले यसरी सम्झाउँछे । शिव धेरै थाकिसकेका हुन्छ । उसको मन अशान्त भएको र आफ्नो पूरा शक्ति लगाएर घण्टौँसम्म तबला पिटेकाले ऊ शिथिल भइसकेको प्रस्ट देखिन्छ । गौरीका आँखा टेबुलमा फ्याँकिएका चिठीमा पर्छ र त्यो झिकेर पढ्दै भन्छे, “यस्तो पनि कहीँ हुन्छ ? कारण यो भनेर बताउन पनि त सक्नुपर्छ ? खै त्यो दिनसकेको ? जे मन लाग्यो त्यही गर्ने हो भने हामीले व्यवस्था परिवर्तन गराएर के पायौँ ? उस्तै गरी शासित हुँदै जानुपर्छ भने, व्यर्थ छ प्रजातन्त्रको नारा लगाउनु । व्यर्थ छ हामी स्वतन्त्र भयौँ भन्नु ।” ऊ दिक्क हुन्छे । गौरीका यस्ता कुरा सुनेपछि बल्ल शिवका अधरमा मुस्कान आउँछ मानौँ त्यस मुस्कुराहटले उसका प्रश्नको समर्थन गर्दै भनिरहेछ, “मैले खोजेका पनि त तिनै हुन् । कसले दिन सक्छ तिम्रा हाम्रा प्रश्नको जवाफ र बेकार छन् तिम्रा प्रश्नहरू बेकार छन् तिम्रा जिज्ञासा ।