बितेका दिनहरू मेरो पिठ्यूँतिर धमाधम खस्दै नाना किसिमका विभिन्न आकारका-साना-ठूला गहिरा या भर्खरै बन्न लागेका- गुफाहरू रच्दै थप्प-धप्प बसेका छन् । यसो फर्केर हेर्दा म देख्छु- टाढा, यवनिकामा चित्रित भएझै पछिल्तिरका अरू तमाम दृश्यलाई पूर्णरूपले ढाक्दै एउटा कालो-नीलो पर्वतशृङ्गला दृढतापूर्वक उभ्भिएको छ र मतिर फर्केर त्यसको छातीमा कुनै पनि ठाउँ वाँकी नराखी मेरा बितेका दिनहरूले कुन्नि कैलेदेखि हो गुफैगुफा खनेर राखिछाडेका छन् । मेरा दिनहरूको काम गुफा बनाउनु हो । कहिलेकाहीँ एक्लै भएका बखत वर्तमानबाट आफूलाई फुत्काई म पछि फर्केर हिँड्न थाल्दछु, मेरा गोडा अनायास नै अतीतका कुनै गुफाभित्र प्रवेश गर्छन् । कुनै-कुनै गुफा त यति अन्धकारमय हुन्छ कि म त्यहाँको कुनै वस्तु पनि प्राप्त गर्न नसकेर बाहिर निस्किन्छु । कुनै-कुनैमा भने अत्यन्त मधुरो प्रकाश रहन्छ; त्यहाँभित्रको दृश्य पनि मेरा लागि अस्पष्ट नै रहन्छन् । तर, कुनै गुफाचाहिँ जतिसुकै गहिरो भए पनि, तल पुगेपछि, कुन्नि कुन स्मृति-लोकबाट फुटेर आएको प्रकाश-किरणले उद्भासित भएका हुन्छन् कि त्यहाँ पुगेपछि मेरा आँखाबाट विस्मृतिको पर्दा पन्छिन्छ र म पुरानो युगको रस-रङ्ग-ध्वनिको लोकमा पुग्छु । मानौँ, जीआमाहरूले भन्ने गरेका सुनकेसी राजकुमारीहरूका कथामा निवास गर्ने र बालकहरूका थाकेका आँखामा हलुकोसँग निद्राको शीतल मलम लाइदिने मायालु परीको कुनै अलौकिक छलबाट मेरो उमेर मबाट फत्फत् झर्न थाल्दछ, शरीरबाट लुगा झरेजस्तो । म एउटा बालक हुन्छु र एकपल्ट बिताइसकेका दिनहरूलाई उही पुरानै किसिमबाट फेरिदेखि बिताउन थाल्छु । अनि म डाक्छु- “ए सान्नानी, ए फगुनी, ए नरेन्द्रदाइ……!!”
त्यसो भए के यो गल्प हैन ? के यो खेलाँचीको फुस्सा भूमिमा कल्पनाले बिनसित्ति खडा गरेको एउटा स्वप्न-महल हुँदैनभएको एउटा मनगढन्ते कुरा-लेखको मात्र हो त ? मलाई लाग्छ, कुनै गल्प पनि असत्य हुँदैन । कल्पना झूटो हुँदै हुँदैन । फुस्सामा सपनाको महल पनि खडा हुन सक्दैन-किमार्थ सक्दैन । सपनालाई पनि बिपनाको आधार चाहिन्छ । चाहे म कुनै घटनालाई या कुनै कथालाई जतिसुकै बङ्ग्याएर बयान गर्न खोजें, चाहे त्यसलाई म कल्पनाले जतिसुकै माभने या निखार्ने प्रयत्न गरूँ, मेरा सारा प्रयत्नको परिणाम यही हुन्छ कि सत्य झन् स्पष्टतर हुँदै जान्छ र कथाले झन् झन् वास्तविक रूप लिंदै जान्छ । मानिस आफ्नो स्मृतिबाट आफूलाई जोगाउन सक्दैन ।
कल्पना भन्दै लेखेको कथा स्मृतिको भँडारबाट झिकेको एउटा सानो घटना मात्र हो-एउटा सत्य मात्र हो । त्यसो हुनाले कथाकार जे जति भन्छ त्यो सबै उसको आत्म-कथाको एउटा टुक्रा मात्र हो । एक पटक भोग गरिसकेका बितेका घटनालाई फेरिदेखि बिम्झाएर वर्तमानमा भोग गर्न खोज्नु नै शायद कथा हो, म पहिलेका कुरालाई झलझली सम्झन्छु, पहिलेका मानिसलाई झलझली देख्छु र विस्तारै विश्वासको ध्वनिमा म तिनीहरूलाई मुटुभित्रै डाक्छु- “ए, गौरीभाउजू, ए मुनरिया, ए नरेन्द्रदाइ…..!!”
नरेन्द्रदाइ आकर्षक व्यक्ति थिए । तिनको अग्लो शरीरमा सुकिलो सेतो कुर्ता र धोती, चार तह गरेर राम्ररी पटयाई गर्दनलाई एक फन्को बेरेको सेतो दुपट्टा, शिरमाथि हिफाजतका साथ पालेका लामा-लामा काला कपालका गुच्छा, गर्दननेर दुपट्टामाथि झुलिरहने केशका मुन्द्रा-नरेन्द्रले सहजै हाम्रो गाउँका नर-नारीको हृदय जितेका थिए । वर्ण सफा र स्निग्ध होइन, अनुहारको बनोट पनि बान्की परेको होइन, नाक सुलुक्क उठ्नुपर्नेमा किञ्चित् च्याप्टो, कान ढाकका पातजस्ता चौडा कन्पारोमा जरैदेखि खडा भएर उभ्भिएका, आँखा साधारण तर बाक्ला आँखीभुइँले ढाकेको हुँदा साना र गाडिएका जस्ता देखिने, गालाका हाड केही उठेकाले पुष्ट अनुहारमा पनि एक प्रकारको भोकोपनको छाप सधैं बनिरहेको हुने-रूखो छालाको उनको चेहरालाई झन् क्षुधित रूप दिइरहेजस्तो । तिनमा एक प्रकारको रूखो किसिमको आकर्षण थियो । सङ्गमरमरको चिल्लो मूर्तिको आकर्षण हैन, बरु साधारण चट्टानमा मोटामोटी किमिसले कुँदेर झिकेको आकारको आकर्षणजस्तो जसमा कठोरताको लुकेको दृढता र बर्बरताको-तत्त्व सर्वोपरि थियो-भीरको बर्बर आकर्षण जसमा त्रासको मात्रा अधिक रहन्छ । हामी केटाकेटीलाई नरेन्द्रदाइका सामुन्ने भय, सङ्कोच र त्रासको अनुभव हुन्थ्यो र हामी अकारण उनीबाट तर्केर हिँड्थ्यौँ ।
माथि त भनें- ‘ए नरेन्द्रदाइ’ ! तर हामी बालकहरू त्यति नजिकै भएर निर्धक्कको सम्बोधनले उनलाई बोलाउन सक्दैनथ्यौं । हाम्राप्रति उनको व्यवहार नराम्रो हुन्थ्यो, त्यो पनि हैन । बरु उनको कोशिश त हामीहरूसँग आत्मीय बन्ने नै हुन्थ्यो- हाम्रो खेलकुदमा भाग लिन खोज्ने र त्यसको व्यवस्था पनि गरिदिने । भन्थे - ‘केटाहरूहो, खूब खेल । अहिले शरीर बन्यो भने पछि सबै कुरा ठीक हुन्छ ।’
यसरी ऐले स्मृति-लोकमा पो नरेन्द्र त्यति नजिक भएर देखा पर्छन्; तर तिनताका हामी केटाकेटीहरूको आफ्नो हूल गाउँभरि चहारी हिँड्थ्यो, घरमा नरेन्द्र भए-नभएको सम्म पनि नसोचेर । झन् मेरो र सान्नानीको एउटा आफ्नै सानो लोक थियो- अरूको भन्दा एकदमै भिन्न ।
हुन त हाम्रो त्यो गाउँ मदेसको एउटा साधारण सानो गाउँ थियो कोशीको किनारमा, तर त्यो सानो ठाउँमा पनि कहिल्यै नसिद्धिने रमाइलोका खजानाको खोजी र आविष्कार हामी दुई प्राणी खेत-खेत र आली-आली चहारी हिँड्थ्यौँ ।
बडहरको रूखमुनिको भयाला जेलिएका लहराबाट रातीगेडी टिपेर सान्नानीले आफ्नो आँखाको कोसभित्र बडो कुशलतापूर्वक हालेर त्यसलाई आँखाभित्रै विलाइदिई, अनि हात टक्टकाएर भनी “हेर, हातमा रातीगेडी छैन ।”
म चकित भएर उसको अनुहार हेर्न लागें, हेर्दाहेर्दै देख्छु त उसको आँखाको कुनाबाट रातीगेडी फुत्त झर्छ ।
मैले भनें- “म पनि टिप्छु रातीगेडी ।” र झम्टेर रातीगेडीको लहरो लुछ्न थालें । सान्नानीले कराएर भनी “पख, पख, काउछोको लहरो तानौला नि फेरि ।"
बडहरको तल्लो हाँगोमा बेरिएको लहरोमा भूस टल्किने राम्रा राम्रा पोटिला कोसालाई देखाएर सान्नानीले भनी “उः त्यो टल्केको कोसा छ नि, त्यो काउछो हो; रातीगेडीको लहरो उः अलग्गै छुट्टिन्छ- उः त्यो……”
त्यस दिनदेखि म रातीगेडी र काउछोको लहरालाई छुट्टयाउन सक्ने भएँ; त्यति मात्रै हैन, रातीगेडीलाई कसरी यत्नपूर्वक आँखाको कुनामा बिस्तार-बिस्तार पसाउन सक्नुपर्छ भन्ने पनि त्यही दिन सकें ।
त्यही बखत आँप बगैंचाको छेउछेउ हुँदै गएको गोरेटोमा हामीले गाउँका मदिस्नी केटीहरू छिटी लिएर घाँस काट्न दक्खिनतिर लागेको देख्यौँ । मैले भर्ने- “ए फगुनी, मलाई पनि रातीगेडी हाल्न आउँछ आँखामा…… नपत्याए हेर……."
फगुनीले त जबाफ दिइन तर रम्पियरीले मेरो कुराको नबुझिने जवाफ दिई; भनी - “यति सानै उमेरमा त्यस्तो बानी नलाए बाबू ।”
केटीहरू हिल्लिएर हाँस्दै हिँडे, आपसमा धकेलाधकेल गर्दै, गोरेटोमा गोडा थचार्दै, छिटीले साथीको पिठ्यूँमा हिर्काउँदै,… र अनि एउटीचाहिँले भनी- “छिः है…यो मोरी पनि कस्ती चोथाले, कसरी भन्न सकेकी त्यस्तो……।”
सान्नानीले कराएर भनी “ए फगुनी, तेरो हँस्याले काउछोको जरो काट्दैन । बडहर पाकेको छ, टिप्नै पाएनौं…।"
बगैंचाको मालिक दीनानाथ कतै मचानमा हुँदो हो । ऊ आइपुग्यो हकार्दै - “भाग बगैंचाबाट- यी ठेट्नाहरूले बगैंचाका फूलपात क्यै राख्ने भएनन्……”
हामी बगैंचाको कर्चीको झ्याङ्ख्वाले टाटी च्यातेर त्यताबाट बेपत्तासँग भाग्यौँ र एक्कैचोटि लखन मडरको खलिहानमा उभ्भियौँ । सान्नानीले स्वाँ-स्वाँ गर्दै भनी – “दीनानाथ औधी रिसाहा छ……"
मैले भनें- “दौउँदा मेरा रातीगेडी सप्पै खसे……”
सान्नानीले भनी– “भोलि सुट्ट जाउँला फेरि……, पाकेको बडहर पनि…" अनि हामीहरू खलिहानमा दाउनी भैरहेको रमितो हेर्न लाग्यौँ । कहिले-
कहिले त्यस्सै रमाइलो मानेर गोरुको पुच्छर निमोठ्द्ध्यौँ- “ह ह ह ह ह… ए पियरी…”
लखन मडरको छोरोले भन्यो- “यो गोरु पियरी हैन ।”
मैले भनें- “हाम्रो गोरु पियरी हो….”
अनि हठात् त्यहाँको रमितो सक्किएजस्तो लागेर खलिहान छाडी अल्लारे हुँदै हामी गोसाईंथानको पोखरीको डिलमा पुग्यौँ । दक्खिनतिरको डिलमा बैरको ठूलो झ्याङ थियो । बैर खाएर हामी तल पोखरीमा झौँ र नाङ्गाभुतुङ्गा भएर नुहाउन थाल्यौँ ।
एकछिनपछि माथि डिलमा आएर हामी आङ सुकाउँदै थियौं कि पश्चिमतिरबाट आइरहेको बयलगाडीमा सान्नानीको दृष्टि पर्यो । उसले घबराहटमा कराएर भनी, “लुक लुक !… नरेन्द्रदाइ…! लुक लुक…!”
यसरी हामीलाई समय-असमयमा नरेन्द्रदाइको सम्झना हुने गर्थ्यो अपर्झटमा देखा पर्दा र यसरी हामी लुक्ने गथ्यौँ उनले नदेखून् भनी ।
हामीहरू फेरि पानीभित्र पस्यौं । पोखरीको डिलले फेरि हामीलाई छोपिदियो । सडक पोखरीको उत्तर डिलको पल्लापट्टि थियो गहिरोमा ।
सान्नानीले भनी - “कलकत्ताबाट आको नरेन्द्रदाइ आज…”
मैले भनें- “हामीलाई देखेको भए मार्नुहुन्थ्यो-काँचो वैर खायौँ नि त्यसैले; झन् घाममा पनि हिँड्यौं र पोखरीमा पनि न्वायौँ नि…।”
गाडीको चरक-मरक र घच्याधुचुक्को आवाज केहीबेर डिलैपर्तिरबाट आएपछि अलिअलि गर्दै टाढा हुँदै गयो । गाडीवानले गोरुलाई हकारेको ह ह ह ह… ल ह ह ह… पनि नजिकै हुँदै टाट्टाढा बिलाउँदै गयो र सडकको धूलोको एक गुब्बारा आएर पोखरीको डिलमा ओच्छियो ।
निर्धक्क भएर हामी फेरि डिलमा उक्लिदा नरेन्द्रदाइको गाडी मूल सडक छाडेर दक्खिनपट्टि घरतिरको बाटो लागिसकेको थियो र एकछिनमा सिसौका रूखहरूको आडमा बिलायो । हामी पनि आङ सुक्नासाथ घर फक्यौं ।
घरमा नरेन्द्रको आगमनले चहलपहल थियो । आनाबाहिरको घरको बाहिरी ढोकामा गाडीमा जोतिएका बयल काँधको जुवाबाट मुक्त भएर काठको हुँडमा खेसारी, पिना, माड र नून मुछेको परालको साँदी खाइरहेका थिए थुतुनोलाई साँदीभित्र गाडेर । सान्नानीले एउटा गोरुको पिठ्यूँमा हात राखी; गोरुको छाला जुरुङ्ग गर्यो, सानो चञ्चल लहर दौडेजस्तो भयो उसको शरीरमा । गाडीवानले भन्यो- “यस्तो राम्रो गोरुको जोडा यस इलाकाभरि छैन; कुसेसरथानमा मालिकले किनेको; बुझ्यौ ?… हावागाडीजस्तो कुदै आयो डिस्टीबोटको सडकमा -”
अनि गोरुलाई पुरुषार्थ गरेकोमा धाप दिँदै भन्यो- “खूब पेटभरी खाएस् भदेसरा-र तँ पनि जोगेन्दरा…।” अर्को गोरुलाई पनि उसले धाप दियो ।
हामीहरू नरेन्द्रको कोठाअगाडि आनामा उभ्भिरह्यौँ अलपत्रसँग । मैले भनें- “सान्नानी, हिँड जाऊँ भित्र ।"
उसले भनी - “मलाई डर लाग्छ ।”
मैले भनें- “तिमी त उनकी साक्खे बैनी, केको डर ?”
उसले भनी - “तिमी नै जाऊ न त नडराउने भए-”
नरेन्द्रले भित्रबाट हामीलाई देखेर भनें- “हेर, मैले तिमीहरूलाई फुटबल ल्याइदिया छु । ल आऊ ।”
म भागेर भान्साघरमा पसें । सान्नानी आझैमा उभ्भिरही, ऊ पनि नरेन्द्रको कोठाभित्र पसिन । सङ्कोचले गाडिएजस्ती लाग्थी ऊ आङ्ङ्गामा ।
त्यही दिन नरेन्द्रको गाउँका सबै केटाकेटीहरू भेला पारेर फुटबलको टीम बनाए । त्यस दिन असाध्य रमाइलो भएको थियो, खूब मजा आएको थियो । नरेन्द्रले फुटबलमा हावा भरिरहेका बखत हामीहरू उनको नजिकै घुँडा टेकेर उत्साहका साथ पर्खिरहेको थियौँ ।
“जा त सान्नानी, मेरो साइकलाट पम्प झिकेर ल्या”- नरेन्द्रले भने । सान्नानी दुगुर्दै गई ।
नरेन्द्रले मलाई सोधे- “फुटबल खेल्न आउँछ ?”
हठात् आफूलाई उनको कोठामा एक्लै पाएर म सशङ्कित भएँ । केही बोलिनँ । उनले फेरि भने- “फुटबललाई थिचेर हेर- कडा भएन कि, पम्पले हावा भर्छु अनि खूब कडा हुन्छ ।”
मैले घबडाएर यसो फुटबललाई छोएँ । तर नरेन्द्रदाइसँग एक्लै आफूलाई कोठामा पाएकोले असह्य अप्ठयारो भएर सान्नानीलाई बोलाउने बहानाले म कोठाबाट भागें ।
सान्नानी बाहिर आनामा उभ्भिरहेकी थिई । उसले भनी - “साइकलबाट पम्प झिक्दा हेर न यो कीला भाँच्चियो । दाइले मार्नुहुन्छ, अब के गर्ने !” ऊ बिचल्लीमा परेकी थिई ।
नरेन्द्रले कोठाबाटै कराए “सान्नानी, कति अबेर गरेकी ?”
हामीहरू डराई डराई नरेन्द्रको कोठाभित्र पस्यौं । नरेन्द्रले सान्नानीको हातबाट पम्प लिएर एकछिन खूब तन्मयसँग पुटवलमा हावा भर्न थाले । सान्नानीले कीला उखेलिएको कुरा भनिन र मलाई चाहिँ नरेन्द्रले आखिरी पम्प भरेर “ल, अब बल थिच त टाइट भयो कि भएन ?” नभनुजेल डर लागिरह्यो । सान्नानी र मैले एकैसाथ बललाई छोयौँ ।
नरेन्द्रले नै एकलासको फुलकाहा चउरमा हाम्रा लीग खेल्ने ठाउँ रोजे । हाम्रो गाउँभन्दा दक्षिण-पूर्वपट्टि कोशीको किनारको एउटा चिसो बाँझो जग्गा प्रशस्त फैलिएको थियो, नदीको पूर्वकिनारमाथि टाढा दक्षिणसम्म । त्यसको पूर्वपट्टि फुल्काहा बाबूहरूको ठूलो क्याम्पा शुरू हुन्थ्यो ठूलो आँपको बगैंचा, त्यसपछि हात्तीसार र अस्तबल, पोखरीनिरको डिलमा एउटा सानो चिटिक्कको रामको मन्दिर, अनि जमीदारी कचहरी जो उनीहरूको मूल ढोकाअगाडि पोखरीको दक्षिणपट्टि थियो । त्यसलाई अरू गाउँलेहरू अँगना भन्थे । उनीहरूको निवास-गृहलाई डेउठी भन्ने चलन थियो । नरेन्द्रले रोजेको चउरबाट उनीहरूको डेउढीको पक्का अजरीको मुडेरा र कौसीको सानो हिस्सा घाममा टल्किएको देखिन्थ्यो । चउर भने एकलासको थियो । ठाउँ-ठाउँमा गाईबस्तुहरूका हाडका टुक्राहरू छरिएका थिए र सिमल र शमीका रूखहरू र तिनका तलतिर खर र बैरका भयाङ ।
सान्नानीले सुस्तरी भनी “यो भुत्याहा चौर हो । होइन त भटना ?”
भटनाले उत्तरमा केवल ठूला आँखा पार्यो ।
छुतहरूले भने- “हो नपत्याए हेर, कस्तो ठाउँ ।”
नरेन्द्र, जो हामीभन्दा अगाडि केही टाढा हिँडिरहेका थिए, उनले भने- “ल खेल । म हेर्छु ।” र उनले भकुण्डोलाई उफारेर माथि आकाशमा पुऱ्याए ढप्प ।
त्यहाँ घाँस काट्न आएका केटीहरूले अचम्म मानेर भने- “हेर हेर गे, कति टाढा माथि आकाशमा पुग्यो गेंद ।”
फगुनीले भनी विस्तारै, “वाबू पनि आउनुभएको छ । वहाँले हानेको ।”
घाँस काट्न आएका केटीहरू लाज मानेर फिल्डतिर पिठ्यूँ फर्काएर टुक्रुक्क बस्दै खुर्पीले घाँस काट्न थाले छिट्छिटो ।
नरेन्द्रले भने- “हंगे मुनरिया, तेरो छिटी दे त; गोलपोष्ट छैन । त्यसैलाई घोप्ट्याएर एकातिर राखिदिन्छु । ल्या न, ल्या…।”
त्यस बेलासम्म हामीहरू स्वाँ-स्वाँ गर्दै गेंदलाई गोडाले अन्धाधुन्ध किसिमले जथाभावी हान्दै खेल्n थालिसकेका थियौँ, गोलपोष्ट न सोलपोष्ट । म उति कुन सक्दिनथें कि क्या हो, मलाई लाग्थ्यो, बल मेरो गोडामा कहिल्यै पनि पर्दैन जस्तो । छुतहरू र सान्नानीले ओगटेको जस्तो थियो बल । तैपनि उत्साहमा कसैको कमी थिएन, भकुण्डोको पछि दौडादौड गरिरह्यौँ हामी । बीच-बीचमा सान्नानी मतिर भकुण्डो हानेर भन्थिन्- “ल, ल, हानिहाल, हानिहाल ।” तर त्यस बेलासम्म बीचैमा छुतहरू त्यसलाई टिपेर अर्कोतिर हानिदिन्थे । सान्नानी रिसाउँथी छुतहरूसित । कहिले हातले बललाई टिपेर सान्नानी मेरो अगाडि भुइँमा राखिदिन्थी र म खूब कसेर हान्थें ।
हामी एकैछिनमा थाक्यौँ । घाम अझै बाँकी थियो । पसीनाले लतपत भएर मैले भनें- “भयो अब, भोलि खेल्ने ।” सान्नानीले बललाई टिपेर आफ्नो छाती र देब्रे हातको कोक्रोमा थिचेर राखी ।
घंसिनीहरूले घाँस काट्न छाडेर सान्नानीलाई घेरेर भने- “सान्नानी, हेरौं न, कस्तो रहेछ भकुण्डो ।”
सबैले एक-एक गरेर बललाई लिए-थिचे, चलाए र भने- “अरेत्तेरी, कस्तो हलुको । हावा भरेको छ हावा ।” फगुनीले बललाई भुइँमा राखेर एउटा हातले आफ्नो धोतीलाई पिहुँलामाथि सारेर खुट्टा मच्चाएर हानी । सबै हिल्ल गरेर हाँसे ।
मैले सम्झेर भनें- “नरेन्द्रदाइ खोइ ?”
फगुनीले भनी - “अगि नै जनुभो नि ।” अनि हाँसी ऊ, र फेरि भनी- “मुनरियाले आफ्नो छिटी दिन्नँ भनी वहाँलाई । भनी “घाँस काट्नु छैन र आजलाई ?” बाबूले भन्नुभो - “राम्रो घाँस त उत्तर-दक्खिन कित्तामा पाइन्छ, हरियो ।” उसले सोधी- “कहाँ ?” मोरी बढी मुखाले छे । बाबूले भन्नुभो - उः त्यो सिमल वनपारि । ल, हिँड् देखाइखिन्छु ।”
रामपियारीले दक्षिणपट्टि मुण्टो फर्काएर कराई “हेगे मुनरिया, अब हामीहरू गयौं घर, जाने भए आइन,… आइज ।”
मुनरियाको कतैबाट उत्तर आएन ।
साँझतिर हामी सबै घर फक्यौं । धँसवार्नीहरू पनि आ-आफ्नो घरतिर लागे, छुतहरू, भटना, परेमा पनि ।
सान्नानीले भनी - “खूब रमाइलो भयो ।”
मैले भनें- सान्नानी, भकुण्डो म आफ्नो कोठामा राख्छु है ?”
यसरी उनै नरेन्द्रदाइको प्रयत्नबाट फुटबलको टीम बन्यो हाम्रो गाउँमा । उनी हामीलाई गुलेली, मटेङ्ग्रा र धनुषवाण बनाइदिन्थे र आफू पनि चङ्गा-लट्टाई लिएर कात्तिक-मङ्सिरताका बाँधतिर जान्थे र हामीलाई भन्थे - “ल हिँड, मैले चङ्गा उडाएको हेर। लखनउमा पो यसको शौक र कदर छ मानिसमा ।”
तर हामी भने नरेन्द्रदाइका नजिक पर्न सक्दैनथ्यौँ । डर लाग्थ्यो, एक प्रकारको सोच पनि ।
त्यस दिन नरेन्द्रदाइ कतै बाहिर जान ठीक परेर आएका थिए । लामो सेतो कुर्ता लगाएका थिए, जसको धनुषाकार घाँटीको बटन छातीमा नभएर कुममा एउटा लुगाको घुण्टीको बनेको थियो । गुच्छा परेर गर्दनमा झुल्ने उनका कपाल, शान्तिपुरी धोती जसको अगाडिपट्टिको मुजाको तल्लो टुप्पो कुर्ताको देब्रे खल्तीमा घुसारेको राम्ररी पट्याएको दुपट्टा उनको कुमबाट तिघ्रासम्म लत्रेको र भर्खरै पालिस गरेका पम्प शू । त्यस्तो सुग्घर परिष्कृत पहिरन हाम्रो गाउँमा त के त्यस इलाकाभरिमा कसैको थिएन । त्यसैले त बृन्दाकट्टी र फुलकाहीका बाबूसाहेब पनि उनलाई आफ्नो समकक्षी मानेर चाडबाडमा निम्ता पठाउँथे । आमा र गौरीभाउजू एउटा गुन्द्रीमा बसेर बेलुका पाक्ने तरकारीहरू काटिरहनुभएको थियो भान्साघरकै ओसारामा । आमाको यस्तो दैनिक गृहकार्यमा गौरीभाउजू मात्र एकनाससँग वहाँलाई सगाउँथिन् । महारानी त माइत आएकी छोरी नै भइन्, जुण्टुनानी बैठकमा पुरुषहरूको सङ्गतिमा हा हा ही ही गर्नमा व्यस्त रहन्थिन्, काकीहरू धेरैजसो आफ्नै कोठाको कामले फुर्सत नपाउने र फुर्सत पाए नै भने पनि कप्तान्नी आमासँग बसेर धागो कात्न थाल्ने, बार्दलीको एउटा कुनामा जहाँ कप्तान्नी आमा दिनभरि महाभारत या रामायण या अरू कुनै पुराण पढ्नुहुन्थ्यो । गौरीभाउजूको मात्र आफ्नो कुनै त्यस्तो व्यक्तिगत काम थिएन, त्यसो हुनाले घरको काममा आमालाई दिनभरि उनी नै सगाउने हुन्थिन् । आमा र उनी कुरा गरिरहन्थे - पात गाँस्दा होस् चाहे तरकारी काट्दा । आमा मात्रै निर्धक्कसँग उनलाई काम अह्राउन सक्नुहुन्थ्यो- ‘ल, गौरी, यसो गर, उसो गर…।’ गौरी निःशब्द चालले हिँड्थिन् र अह्राएको काम सिद्धयाएर फेरि आमानेर बसेर आमाले गरिरहेको काम सगाउन थाल्थिन् ।
त्यस दिन म केही काम नपाएर त्यसै आमा र गौरी भएनेर पुगेको थिएँ । कप्तान्नी आमाले भर्खरै घिस्स्याउँदै सान्नानीलाई माथि बार्दलीमा लग्नुभएको थियो । बीच-बीचमा यस्तो घटना हुन्थ्यो जब कप्तान्नी आमा आफ्नी छोरी सान्नानीको ग्रामीण चालादेखि खपिनसक्नु भएर उसलाई घसार्दै-पसार्दै लग्नुहुन्थ्यो र उसका लट्टा परेका कपालमा चिपिचिल्ल तेल हालेर मोटो काइँयोले कोरिदिन थाल्नुहुन्थ्यो केही रिसाएजस्तो गरेर । सान्नानी कराउन थाल्थी नाके वोलीले - “ऐय्या… कपाल नलुछनोस् न कप्तान्नी आमा !” उत्तरमा ऊ आफ्नो पिठ्यूँमा एक मुड्की पाउँथी। सान्नानीको रुवाबासी चल्थ्यो र कप्तान्नी आमा के के गाली गर्दै फतफताउन थाल्नुहुन्थ्यो । निकैबेर लाग्थ्यो सान्नानीको कपाल कोराइमा घाचघुच, बाझाबाझ, रुवाबासी र गाली, हप्काइको लामो समयपछि शायद कप्तान्नी आमाको रीस पनि सिद्धिसक्थ्यो र सान्नानीको विरोधको उत्साह पनि ठण्डा भैसक्थ्यो । अनि त्यस बेलासम्म सान्नानी पनि परिष्कृत भैसकेकी हुन्थी- कोरिएको चिल्लो कपाल च्याप्प टाउकोमाथि टाँस्सिन्थ्यो र त्यसको पुच्छरमा सानो रातो धोगोको गाँठो पनि पारिन्थ्यो, मुख पानीले पुछिन्थ्यो, हात-खुट्टा पनि । कप्तान्नी आमा कपाल कोर्दा झरेको कपालको गुजुल्टोलाई लुंड्याएर त्यसमा थुथु गरेर थुक्दै, बार्दलीबाट तल खसाल्दै उठ्नुहुन्थ्यो । सान्नानी त्यही मौका छोप्दै भागेर आउँथी; म तल सिँढीको फेदमा पर्खिरहेको हुन्थें ।
कप्तान्नी आमाले सान्नानीको पाखुरा दृढतापूर्वक समात्नेबित्तिकै म त्यसै डराएर भाग्थें, लाग्थ्यो, सान्नानीले पाएको गालीको साझेदार म पनि छु, किनभने जुन-जुन कुराका लागि ऊ कप्तान्नी आमाबाट गाली पाउँथी ती सबै कुरामा म सान्नानीसित सहभागी हुन्थें- बारी-बारी चहारी हिँड्नु, घाममा काँचा फल टिप्दै खानु, कोशीमा नुहाउनु, अर्काको बारीमा लागेको कोसालाई पनि नछाड्नु (अर्थात् त्यस उमेरमा जति गर्न सकिन्थ्यो सबै गर्नु ।) सान्नानीलाई तानेर लगेपछि म केही काम नपाएर हल्लिदै हिँड्थें । त्यसरी नै म आमा र गौरीहरू बसेर तरकारी काटिरहेको ठाउँमा पुगेको थिएँ । त्यहाँ पनि मलाई रमाइलो लागेको थिएन । त्यसै बखत नरेन्द्र सिनित्त परेर आफ्नो कोठाबाट बाहिर आए र केही निहुरेर आफ्नो शिरलाई छानोबाट जोगाउँदै ओसाराबाट तल झरे । उनलाई आँगनमा देख्नेबित्तिकै गौरी जुरुक्क उठेर भान्साकोठाभित्र पर्ने आफ्नो कोठामा पसिन्। नरेन्द्र प्रसन्नजस्ता देखिन्थे । उनले आमालाई त्यसै सोधे – “सानीआमा, के काट्दै हुनुहुन्छ ?”
आमाले यसको उत्तर दिनुभन्दा पहिले नै उनले मलाई भने- “फुटबल खूब खेल्छौ, होइन ?”
म अप्ठ्यारो मानेर उठेर भागें र भान्सापछाडिको रछानतिर लागें । अनि त्यही टाटीनेर उभ्भिएर सान्नानीलाई पर्खिरहें ।
त्यही बेला नरेन्द्रले फेरि भने- “सानीआमा, मसँग केटाकेटीहरू किन भ्याम्मिदैनन् ? टाढा हुन्छन् !”
आमाले तरकारी काट्दै भन्नुभयो- “नरेन्द्र, तिमी पारिवारिक जीव हुन सकेनौँ ।”
मैले टाटीबाट बिस्तारै चियाएर हेरें ।
“किन ? म परिवारको एउटा प्राणी होइन र ?” - नरेन्द्रले भने । उनले एउटा गोडा ओसाराको डिलमा अड्याएका थिए ।
आमाले भन्नुभयो– “परिवारका सदस्य त हौ, प्राणी होइनौ । तिम्रो आफ्नै बाबुसितको सम्बन्ध… ल, छाडिदिऊँ त्यस कुरालाई; तिम्रो आफ्नो पत्नीसँगको सम्बन्ध… के यस्तो सम्बन्धले परिवारको न्यानो अगेनामा तिमीले सहजै स्थान पाउन सक्छौ र ? तिरस्कृत पत्नीले पतिलाई परिवारको भित्री सीमारेखाबाट बाहिर राखिदिन्छे ।”
आमाले अरू पनि के भन्न खोज्नुभएको थियो कुन्नि तर केही रोषमा आएर नरेन्द्रले भने - “जहिले पनि यही एउटा कुरालाई मात्र नकोट्टयाउनोस् । मलाई मन पर्दैन उसको कुरा गरेको । मेरा लागि ऊ छँदै छैन यो सत्यलाई तपाईंहरूले बुझिदिनुपर्यो र अबदेखि यस सम्बन्धमा कुनै कुरा नउठोस् ।”
आमालाई पनि अप्ठयारो पर्यो । नरेन्द्र आफ्नो छोरो होइन; उमेरमा पनि ऊ केवल पाँच-छ वर्ष मात्र कान्छो । शायद रिसाउने अधिकार नभएकोले वहाँले बडो कोमल स्वरमा भन्नुभयो– “त्यसो भए तिमी पनि माया र ममताका कुरा नगर नरेन्द्र; र तिमी यो पनि नभन कि केटाकेटीहरूको बर्ताव तिमीले बुझ्न सकेनौ र उनीहरू तिमीसँग भ्याम्मिदैनन् भनेर । तिमीमा भित्रको पुरुष सुकिसकेको छ, बुझ्यौ ?”
“किन ?”- घोरिएर नरेन्द्रले भने- “पुरुष-हृदयको जाँच के पति-पत्नीको सम्बन्धले मात्र गर्न सकिन्छ ? पति-पत्नीको सम्बन्ध त्यस्तो स्वाभाविक सम्बन्ध हो नभन्ठानोस् न !”
आमाले मुख केही बङ्ग्याएर भन्नुभयो- “गाउँमा केटीहरूका बीच कृष्ण बनेर डुली-डुली हिँड्नु के स्वाभाविक पुरुष-लक्षण हो त ?”
“कसले भन्यो म ”
कुरा काटेर आमाले भनिहाल्नुभयो- “भो भो नरेन्द्र, अब मलाई छकाउने कुरा नगर । कसलाई थाहा छैन यो घरभरि कि मुनरिया र तिमी……”
नरेन्द्रले चिच्च्याएर भने- “सानीआमा, बुझ्न सक्नुहुन्न भने व्यर्थ चाहिया-नचाहिया ठाउँमा मन्तव्य प्रकट गरी हिँड्नु हुन्न ।”
स्वभावानुसार शरीरलाई यसो एकचोटि झारेर, दुपट्टाको फुर्कोलाई दुवै हातले तलतिर तान्दै बहसलाई टुङ्ग्याउँदै उनले फेरि भने- “सानीआमा, तपाईं पत्नी भएर मात्र दुनियाँलाई हेर्नुहुन्छ, त्यसो हुनाले एउटा सानो क्षेत्र मात्र तपाईको आँखाअगाडि पर्छ । धेरै कुरा देख्नुभएको छैन, बुझ्नुभएको छैन तपाईले ।”
यस सम्बन्धमा आमाको बडो दृढ मत थियो । पत्नी पक्षले वहाँभन्दा ठूलो समर्थक हाम्रो समाजमा पाउन गाहारो छ । वहाँ मुखभरिको जवाफ दिन तयार हुनुहुन्थ्यो । तर नरेन्द्र बहसलाई स्पष्ट रूपबाट टुङ्ग्याएर हिँडिसकेका थिए ।
आमाले नरेन्द्र र गौरीमा मेल गराउने धेरै प्रयत्न गर्नुभएको थियो र वहाँलाई आफ्नो स्वाभाविक उत्साह र आत्मविश्वासमा सफल पनि हुन्छु भन्ने लागेको थियो । आमाले मात्र किन ? घरभरिका सबैले पिताजीले आफ्नो शान्त र कोमल ढङ्गबाट, भान्दाइले आफ्नो तर्कमा काव्य र पुराणहरूको उद्धरणको बाहुल्यबाट, स्वयं नरेन्द्रकी माता कप्तान्नी आमा र उनकी बैनी महारानीहरू सबैले, मित्रबान्धवहरूले कोशिश गरे । तर गौरीको छायासम्मबाट पनि नरेन्द्र टाढा र झन् टाढा भैरहे ।
त्यसो हुनाले एकचोटि बाबूसाहेबले आफ्नो प्रयत्न थाल्दा सबैमा एउटा उत्साह आएजस्तो भएको थियो । म पनि बालदृष्टिले स्थितिको अवलोकन गर्थे ।
जब फगुनीले लडुवा आँपको बोटमुनि मूजको सानो खालको खाट र त्यसमाथि चिप्लो शीतल-पाटी (सुकुल) ओछ्याएर आफ्नो भाँडा माझ्ने कामका लागि ऊ रछानतिर लागी, हामी केटाकेटीहरूले भवाट्ट बुझिहाल्यौं, केही विशेष समारोहको यो आयोजना हो । आमा सधैंको जस्तो बेलुकाको भान्सामा पाक्ने सामग्रीहरू भान्साघरकै ओसारामा बसेर मिलाउँदै हुनुहुन्थ्यो । आज भने जुण्टुनानी र महारानी दिदी वहाँलाई सगाउन पुगेका थिए । जुण्टुनानीले ओसारामा ओच्छिएको परालको सुकुलमाथि बस्दै सोधिन्- “आज के तरकारी छ, सानीआमा ?”
आमाले भन्नुभयो- “के छ र, उही त हो नि, आलु र साग, पालुङ्गोको । आज निगुरो पनि छ ।”
महारानीले निगुरोको कलिलो मुण्टो भाँचिन् र भनिन्- “उराठलाग्दो हुन्छ, यो जेठको दिन…… हरियो परियो हेर्नसम्म पनि पाइँदैन कतै । वाक्क लागिसक्यो आलु खाँदा-खाँदा ।”
आमाले भन्नुभयो- “एक झर पानी परेपछि त लहरे तरकारीहरू हुन थाल्छ, फर्सी, लौका, घिरौंला…….। बाहुननानी, ल चामल लग । राम्ररी पखाल्नू । किरिङ-किरिङ लाग्यो रे बाबूहरूलाई ।”
बजै भान्साघरको ढोकाको आडमा पर्खेर उभ्भिरहेकी थिइन् । ओसाराबाट उनको देब्रेपट्टिको शरीरको भाग मात्र अलिकति देखिएको थियो-मैलो धोतीले बेरिएको । बजै भान्साकोठाबाट फुत्त बाहिर आइन् । उनले आफ्नो धोतीको फुर्कोलाई गर्दनमा बेरेकी थिइन् । उनले निहुरेर चामलको डालो टिपिन् ।
जुण्टुनानीले बजैलाई भनिन्- “के लोत्र्याङ्-लोत्र्याङ् हल्लाइहिँडेकी बजै ! टम्म चोलो लाए त भैहाल्छ नि । धोएको चोलो लाए हुन्छ रे भात पकाउँदा पनि । सुनिनौ बाबूहरूले भनेको ?”
बजै नबोलेर भान्साभित्र पसिन् । बाहिरबाट उनले खंड्कुलोमा चामल खन्याएको सुनियो, फेरि गाग्री घोप्ट्याएको आवाज आयो ।
उता आनाको ठूलो आँपको रूखमुनि बसेर बाबूसाहेव र नरेन्द्रले धेरैबेरसम्म एक्लै कुरा गरिरहे ।
जुण्टुनानीले भनिन्- “मलाई व्यर्थको कुराजस्तो लाग्छ, होइन त महारानी दिदी ?”
आमाले सोध्नुभयो- “के ?”
जुण्टुनानीले भनिन्- “त्यही नरेन्द्रदाइ र गौरीमा मेल गराउने कुरा ।”
- अनि पो मलाई झल्याँस्स सम्झना भयो, गौरी सधैंको जस्तो आमालाई सगाउन त्यहाँ बसेकी थिइनन् । स्थितिलाई बुझेर होला उनी आज बाहिर नआएकी ।
हामी चाख लिँदै आमाहरूको हूलमा घुखिँदै मिसिन पुग्यौँ । बाहिर सधैंको जस्तो खेल्न गएनौं । गाउँका ठिटाहरू बाहिरको टाटीबाट यसो मुण्टो देखाएर चियाउन लागे- आज किन खेल्न नआएको भन्ने सम्झना गराउँदै ।
सान्नानीले आफ्नो आँखाको र टाउकोको सानो हल्लाइबाट उनीहरूलाई सूचित गरिन्, “आज हामीलाई फुर्सत छैन ।’
जुण्टुनानी भन्दै थिइन्- “लोग्ने र स्वास्नीमा बाहिरियाले गरेर मेल हुन्छ र कहीँ ।” आँखा र टाउको एकैचोटि नचाउने उनको बानी थियो । उनको कानका लामा एयररिङ पनि हल्लिन्थे । उनको उज्यालो अनुहार हाँसिरहेको थियो । टाउको हल्लाउँदै उनले भनिन्- “भित्र के खुस्किएको हुन्छ के, बाहिर टालेर के हुन्थ्यो !” अनि आफ्नो कुराको पुष्टिका लागि महारानीतिर हेरिन् ।
महारानीले भनिन्- “हो, त ।”
आमाले काटिसकेको तरकारी पिठ्यूँपट्टिको डालोमा खन्याउँदै भन्नुभयो- “बिहे गरेर ल्याएपछि त्यसै फ्याँक्न पाइन्छ त दुलहीलाई……!”
अनि फुस्केको कपाललाई एकचोटि फेरि देब्रे पाखुराले पछि सार्दै भन्नुभयो- “नरेन्द्रको सरासर दोष छ यसमा । यस्ता कुरामा हेर जुण्टुनानी ! लोग्नेमानिसकै दोष हुन्छ । हामी निर्धा आइमाईको के दोष ?
जुण्टुनानी किन मान्थिन्- “मलाई नरेन्द्रदाइको दोष छ जस्तो पटक्कै लाग्दैन । लोग्नेमानिस जातैले हक्की हुन्छन्, उनले जातैले पाएको अधिकार हो आफ्नी स्वास्नीमा… ही ही… खोज्ने । त्यसमा त्यो कुरा पाएन भने ऊ अर्कीलाई ल्याउँछ, र झन् अर्की ।” - फेरि समर्थनका लागि उनले महारानीलाई भनिन्- “होइन त महारानी दिदी ?”
स्वभावमा महारानी दिदी जतिसुकै जुण्टुनानीभन्दा भिन्न भए पनि उनी उदास र गम्भीर, यिनी हँसमुख र चञ्चल-तर यस कुरामा भने एकमत थिए क्यारे ।
जुण्टुनानीले भनिन्- “गौरीमा नरेन्द्रको के पाउँछ र-एक चिम्टी छाती छैन जहाँ मुनरिया अँजुलीभरी लिएर हिँड्छे ।” अनि जुण्टु खिल्ल हाँसिन् । बाहुनी बजै पनि फेरि भान्साघरको ढोकानेर आएर कुरा सुनेर उभ्भिरहेकी थिइन् । आफ्नो धोतीको फुर्कोलाई मुखमा च्यापेर उनी हाँसिन् र सुत्त भान्साकोठाभित्र पसिन् ।
आमाले झोक्किएर आँखा तर्दै भन्नुभयो, “के भनेकी जुण्टु ! तिमीलाई ठाउँ-कुठाउँको केही पर्वाह छैन ?”
आमाले आफ्ना ठूला आँखाले हामीतिर हेर्नुभयो हामी अहिलेसम्म खूब रमितो मानेर कुरा सुनिरहेका थियौं ।
जुण्टुनानीले हामीलाई लघारिन्- “जाओ, भाग तिमीहरू, केटाकेटी भएर आइमाईको हूलमा कुरा सुन्ने हो ? जाओ……”
म लाजले भुतुक्क भएँ । सान्नानी र म त्यहाँबाट निस्क्यौं । मिठु भने चाम्रो, टुक्रुक्क वसेको वस्यै अलिकति पछि सर्यो । ऊपट्टि कसैले ध्यान दिएन । ऊ त्यहीँ बसेर कुरा सुनिरह्यो । पछि त्यहाँका कुरा उसले हामीलाई सुनायो ।
हामीहरू त्यहाँबाट धपिएर बैठकमा पुग्यौँ । घरका वयस्कहरू बैठकमा वसेर यसैको आशा-आशाका कुरा गरिरहेका थिए । भान्दाइ भनिरहनुभएको थियो - “यस्ता कुराको एउटा मात्र समाधान छ-पारपाचुके-तलाक ।”
काकाको डाँको त्यसै ठूलो; वहाँले भन्नुभयो- “लोग्नेलाई स्वास्नी मन परेन भने अर्को ल्याए भैहाल्यो नि, केको तलाक र पारपाचुके चाहियो । स्वास्नीमानिस मनग्गे छँदै छन्, हामीकहाँ बहुपत्नीको चलन छदै छ नि !”
भान्दाइले भन्नुभयो- “नेपालमा स्वास्नीमानिसको सङ्ख्या बेसी भएकोले बहुपत्नीको चलन चल्न गएको हो ।”
काकाले हाँसेर भन्नुभयो, “भानिज, तपाईंले नेपालमा लोग्नेमानिस र स्वास्नीमानिसको कहाँबाट गन्ती गर्नुभयो ?”
भान्दाइले भन्नुभयो- “गन्नु पर्दैन, एउटा सामाजिक नियमलाई बुझ्न, भोटमा बहुपति प्रथा छ, किनभने त्यहाँ आइमाईहरूको सङ्ख्या कम छ । यहाँ त अर्को कुरा छ मामा ! पारपाचुके गरेर नरेन्द्र र गौरी छुट्टिन पाए कस्तो हुने थियो- ऊ कुमार, ऊ कुमारी…।”
पिताजीले मुलायम स्वरमा भन्नुभयो- “भानिज, तपाईं कस्तो अव्यावहारिक कुरा झिक्नुहुन्छ कैले कैले; किताबका कुरा । सामुन्ने एउटा प्रश्न छ, नरेन्द्र र गौरीमा कसरी मेल गराउने; तपाईं भने सिद्धान्तका लामा कुरा र समाजसुधारका कुरा झिक्नुहुन्छ । तिमी नि भाइ”-योचाहिँ काकालाई भन्नुभयो- “तिम्रो बहुविवाहको सल्लाह पनि यहाँ काम लाग्दैन । मुनरियाको बिहे भइसकेको छ, नरेन्द्रले उसलाई बिहा गरेर ल्याउन कहाँ पाउँछ र !”
भान्दाइलाई लाग्यो, वहाँको पक्षको पुष्टि भयो- “त्यसैले त पारपाचुकेभन्दा अर्को उपाय छैन भनेको मैले । अर्को कुरा पनि छ” - काकालाई लक्ष्य गरेर भान्दाइले भन्नुभयो- “कान्छा मामा, बहुपत्नी विवाहले गौरीको समस्या त हल हुँदैन ।” काकाले भन्ने कुरा केही पाउनुभएन क्यार । त्यसैले हठात् वहाँको दृष्टि म र सान्नानीमाथि पर्यो । वहाँले गर्जेर भन्नुभयो- “के खान यहाँ कुरा सुनिरहेका; खेल्नु, पढ्नु, कहाँ कहाँ ……”
हामीहरू त्यहाँबाट लखेटिएर तल भऱ्याङमा आत्तिदै झौँ । आङ्नामा आएर यसो हेौँ बाबूसाहेब र नरेन्द्रदाइ बिस्तारै कुरा गर्दै हुनुहुन्थ्यो बडो गम्भीर अनुहार लाएर । आङ्नामा हाम्रो पर्खिने कामै थिएन । हामी त्यसै कौतूहलले तानिएर भान्साकोठा हुँदै जानुपर्ने गौरीको कोठाको ढोकामा गएर उभ्भियौं । गौरी ओछयानमा उत्तानो परेर पल्टिरहेकी थिइन् र मीराको भजनको लाम्चो किताबलाई हेरिरहेकी थिइन् । किताबले उनको मुखलाई छोपिराखेको थियो । शायद उनलाई किताबपट्टि ध्यान थिएनः ढोकापट्टि थियो किनभने हामीहरू विस्तारै त्यहाँ पुगेर उभ्भिएको उनले चाल पाइन् र भनिन्- “को ?”
अनि हामीलाई देखेर भनिन्- “को, भाइ ? आऊ न भित्र ।” हामी त्यहाँबाट कुदै बाहिर आयौँ । हामी केटाकटीले स्थितिको महत्त्व त्यति राम्ररी नवुझे तापनि वातावरणको गम्भीरताबाट प्रभावित भएर हामी कहिले बैठक र कहिले आङ्गामा पुग्थ्यौँ तर यस्तो अनुहार लाएर कि हामीजस्ता निर्वाध र अज्ञान बालकहरूलाई आनाको परामर्श या बैठकको कौतूहलबाट वञ्चित राख्नुपर्ने आवश्यकता नै छैन । मैले मिठ्ठको अनुहारतिर रहस्यमय दृष्टि उठाएँ । उसले पनि रहस्यमय ढङ्गवाट मुण्टो हल्लायो । मैले सान्नानीलाई हात समात्दा पनि त्यही रहस्यमयता थियो मानौं वयस्कहरूको कुनै-कुनै अमर्यादापूर्ण दृश्यमाथिबाट पर्दा उठ्न थालेको छ । अश्लील आमोदको वाल-अनुभवको ढोकासम्म पुग्दै हामी कहिले बैठक, कहिले आना र फेरि कहिले गौरीभाउजूको कोठामा चियाउँदै पुग्थ्यौँ । बाबूसाहेब एकचोटि गौरीभाउजूको कोठामा जानुभयो । घरभरीको ध्यान उतैपट्टि लाग्यो। वहाँ फेरि आएर नरेन्द्रसँग कुरा गर्न थाल्नुभयो । सबैको ध्यान आङ्गापट्टि झुक्यो ।
त्यस दिनको असहनीय गम्भीरतालाई साँझमा आमोदप्रमोदले काटिदियो । पिताजीले भन्नुभयो- “महारानी, रामायण गाएर सुनाऊ न !” तबला, हारमोनियम आए । एउटा ठूलो बत्ती आनामा टाँगियो । ठूलो दरी ओछ्याइयो । घरभरीका भेला भए । र आश्चर्य, नरेन्द्र आए र आइन् गौरीभाउजू । लाज मान्दै पिताजीको पछाडि चुपचाप निहुरिएर बसिरहिन् । हाम्रो घरमा कहिल्यै यस्तो उत्सव भएको थिएन, जसमा नरेन्द्र र गौरी दुवै उपस्थित भएका होऊन् । पहिले-पहिले गौरी आउनेबित्तिकै नरेन्द्र उठेर जान्थे, त्यसैले गौरीले उत्सवहरूमा भाग लिन पटक्क छाडिदिएकी थिइन् । महारानीले मीठो स्वरमा रामायणबाट राम र सीताको विवाह-वर्णनको श्लोक लय हालेर गाइन् । जुण्टुनानीले एउटा गजल गाएर सुनाइन् ।
हामीलाई यो बुझ्न बेर लागेन कि बाबूसाहेब दौत्य सम्बन्ध स्थापित गर्ने आफ्नो प्रयासमा सफल हुनुभएछ । यो त हामी बालकहरूलाई पनि निश्चित थियो कि यस सन्धिले एक साँझको मेलमिलापको कुराले, नरेन्द्र र गौरीका वीचको त्यत्रो खाडललाई पुर्न सक्दैन । जुनसुकै कारणले बन्न गए पनि एकचोटि खाल्डो बन्यो भने सदाका लागि दुई मानवहृदयले खाल्डोको वार-पार नै रहनुपर्छ र झन् समयको गतिले स्थितिमा पूरा आधिपत्य गर्न सक्यो भने खाडलका दुईपट्टि उभ्भिएका मानवहृदय आपसमा पृथकै रहेर नयाँ मनोलोकका, नयाँ सम्बन्धका नयाँ जराहरू हाल्न थाल्छन् । पृथक् पृथक् धरतीमा जरा हालिसकेका प्राणीहरू फेरि कसरी आपसमा एक हुन सक्छन् ? तैपनि, एउटै परिवारमा रहेर पनि झन् पति-पत्नीको सामाजिक सम्बन्धको संज्ञा धारण गर्ने नरनारी, गौरी र नरेन्द्रको बेमेल आचरणले जुन एउटा भारी निस्सासिने वातावरण हाम्रो घरमा बन्न गएको थियो, त्यो बाबूसाहेबको प्रयासले हट्न गयो भन्ने धारणाले त्यो साँझ बडो उत्साह र उत्सवमा बित्यो । बाबूसाहेबले नरेन्द्रबाट केवल यति मात्र वचन लिन सक्नुभयो- गौरी परिवारको सदस्याजस्ती मानिनेछिन्, उनको शारीरिक स्पर्शका लागि नरेन्द्रलाई कर लाग्ने छैन तर उनको छाया भने अबदेखि परिवारमा बहिष्कृत हुने छैन । भान्साघरमा, बैठकमा, बेलुकाको गाना-बजाना र आमोदप्रमोदमा गौरीले निर्धक्क भाग लिन पाउनेछिन् र नरेन्द्रले त्यस ठाउँलाई बहिष्कार गरेर गौरीको अमर्यादा गर्न पाउने छैनन् ।
गाना-बजानाको उत्सव सिद्धिसकेपछि आमाले गौरीलाई भन्नुभयो, सबैले सुन्ने गरी- “गौरी, भान्सारा के-कसो भयो, गएर हेर । मलाई आज जाँगर छैन ।”
गौरीभाउजूले त्यस रात भान्साकोठामा गएर आलु-परबरको भुटुवा र सोइजनको झोल तरकारी पकाइन् र निगुरोको साग । अनि आफू तल अगेनामा बसेर दूध तताउँदै नरेन्द्रले खाएको हेरिरहिन् । हामीहरू सबैले कौतूहलको दृष्टिले यो दृश्य हेर्यौ, किनभने पहिले यस्तो कहिल्यै पनि भएको थिएन । गौरी भएको कोठामा नरेन्द्र जाँदैनथे, त्यस कारण नरेन्द्र भान्सामा आउन लागे भन्ने चाल पाउनासाथ गौरी कोठाबाट बाहिर निस्कन्थिन् । आज भने गौरीले एक कचौरा दूध चौकीमाथि राखिदिइन् र बाहुनीलाई इशाराले भनिन्, वहाँलाई त्यो देऊ । नरेन्द्रले यसमा केही आपत्ति गरेनन् । भान्सेबाहुनीलाई केवल यति भने- “बजै, दूध त मैले कहिल्यै खाने गरेको छैन, तिमीलाई थाहै छ नि; किन ल्याएकी ?”
नरेन्द्रको स्वभाव देखी सबै नोकर-चाकर डराउँथे । त्यसो हुनाले बाहुनीको त्यत्तिमै सातो गएजस्तो भयो । उनले हतारिएर दूधको कचौरा झिकिदिइन् । मलाई बाहुनीको त्यो घबराहट अझ सम्झना छ । अझै सम्झना छ-अगेनामा दूध उमाल्दाउमाल्दै रोकिएको गौरीको हात, जसको थोप्ले बुट्टाको हात्तीसँडे बाहुलामाथि बाक्ला-बाक्ला काँचका एक जोर चुरा चढेका थिए र एकछिनको स्तब्धता । दूधको त्यो सानो निहुँले मानौँ कुनै एउटा काण्ड नै रचेको जस्तो गरी वातावरण एकछिन क्षुब्ध भयो । पछि आमाले यो कुरालाई लिएर पिताजीसित भन्नुभयो, निकै विरक्तिका साथ खोइ, यो मेलमिलाप कता-कता अस्वाभाविक जस्तो लाग्यो । बाबूसाहेबको प्रयासले आएको सन्धिको आधारको अपूर्ण सम्बन्धले झन् आफ्नो अस्वाभाविक गुणले दुई जनाका बीच ठूलो नराम्रो कुरो ल्याउने त होइन ?”
खाइसकेर नरेन्द्र बाहिर निस्के । म त्यसै अप्ठ्यारो मानेर उभ्भिरहें । नरेन्द्र गइसकेपछि गौरीभाउजू चूलोबाट उठिन् र हात समातेर मलाई आफ्नो कोठाभित्र लगिन् ।
मेरो बालकपनले नारी-सुन्दतारलाई पहिलो पटक चिन्न खोज्दा गौरी-भाउजूको अनुहारमा आएर अड्न गएको थियो । मलाई उनी अत्यन्त सुन्दरी लाग्थिन् । घरमा सुन्दरताको चर्चा हुँदा म अनायास भन्थें- “घरभरीमा गौरीभाउजू सबभन्दा राम्री ।”
घरका स्वास्नीमानिसहरूको सर्वसम्मतिमा एउटै कुरा थियो- गौरी उज्याली त छिन् तर लोग्नेमानिसको जस्तो चौडा निधार, आँखा धेरै ठूला तर उनको सानो अनुहारलाई नसुहाउने, अनुहार डल्लो खालको र नाक पनि वानगी नपरेको र कद पनि होचो, अर्थात् हिस्सी परेको तर छाँट नपरेको लोग्ने-मानिस, झन् त्यसमा पनि नरेन्द्रजस्ताको लागि कुनै आकर्षण नभएको । स्वभावको दृष्टिबाट पनि यति साधु प्रकृतिकी र सौम्य कि पुरुषलाई उनीसँगको सम्वन्ध खल्लो हुँदो हो, आदि। अनि, कुनै पनि तेज प्रकृतिकी नारीले गौरीको दाँजोमा नरेन्द्रको हृदय जित्न सक्छे । गाउँकी एउटी मुनरियाले नत्र कसरी गौरीलाई उछिनेर नरेन्द्रलाई जित्न सकी ?
आमाहरूका बीचमा यस्ता विचारको आदान-प्रदान हुन्थ्यो । तर मेरो आँखामा गौरीभन्दा सुन्दर नारीको अर्को चित्र पर्न सकेको थिएन । उनी सधैं सिँगार गरेर बस्थिन्; कपाल चिल्लो पारेर टम्म कोरेकी, सिउँदोमा सिन्दूरको गाढा रेखा, स्निग्ध गोरो फराकिलो निधारमा एउटा ठूलो पीत-चन्दनको टीका, फस्टाउन नसकेको बालिका शरीरमा साना-साना राता-काला बुट्टा भएको छिटको टम्म परेको चोलो, हरियो सारी र गोडामा कल्ली र छातीमा सानो तिलहरी भएको पोतेको मोटो माला । उनका गोडा चिल्ला र साना जसलाई उनी बिहान र बेलुका इनारको बज्रमा खूबसँग घोटी-घोटी सफा पार्थिन् । ती साना सुन्दर पगमा उनी यति बिस्तारै हिँड्थिन् कि उनी कतै आए-गएको चाल नै पाइँदैनथ्यो । उनको शरीर जहिले पनि यत्नपूर्वक सिँगारिएजस्तै उनको कोठा पनि सधैं सफा र सुग्घर रहन्थ्यो, भुइँ र भित्ता चिप्लो पहेँलो माटोले सिनित्त लिपेको हुने, छानाबाट खर र ध्वाँसो नखसोस् भनेर माथि सेतो लुगाको चंदुवा टाँगेको, बिछ्यौनामा तनक्क कसेको सेतो तन्ना, त्यसमा राम्ररी पटघाएर राखेको अण्डीको चादर, र तकिया सेतो तौलियाले छोपेको हुन्थ्यो । एउटा कालो टीनको बाकस, त्यसमा पनि एउटा तौलिया बिछघाएको र त्यसमाथि चाहिँ केही किताबहरू ‘प्रिय प्रवास’, ‘जयद्रथ वध’, ‘भारत-भारती’, ‘विक्रमोर्वशी’ र केही मासिक पत्रिकाहरू ‘प्रभा’, ‘माधुरी’ इत्यादि । भित्तामा रवि वर्माको विश्वामित्र र मेनकाको जर्मनीमा छापेको टल्किने रङ्गीन तस्वीर । सिराननिर सधैं नयाँ माला लगाएको एउटा मुरलीधर कृष्णको मूर्ति । कोठामा सबै सामानहरू आफ्ना आफ्ना ठाउँमा सजाएर राखिएका हुन्थे । आज यति लामो वर्षको टाढाबाट त्यो कोठालाई हेर्दा लाग्छ- मानिसको आवासको गर्मी भने त्यसमा थिएन, न त्यसमा दैनिक जीवन बिताउँदा उत्पन्न हुने अस्तव्यस्तताको लक्षण नै थियो । ओछयानको सेतो तन्नामा न कहिले कुनै बालकको फोहर गोडाको डाम नै पर्यो, न कोठामा कहिले बाल-कण्ठको तीखो हाँसो नै फुट्न गयो । आज यो कुरा सम्झिदा आश्चर्य लाग्छ, हाम्रो घरका गाई-गाईं केटाकेटीहरू कहिल्यै पनि गौरीभाउजूको कोठामा पस्दैनथे । उनले रोकेकी थिइनन्, र उनीसँग डराउने पनि कसैलाई केही कारण थिएन किनभने उनको स्वभाव यति शान्त थियो- आमाहरू भन्नुहुन्थ्यो “गौरी आँखामा राखे पनि विझाउँदिनन् ।” तर कोही पनि केटाकेटीहरू उनीसित भ्याम्मिदैनथे । उनले माया गरेर बोलाइन् र खानेकुरा दिइन् भने पनि अप्ठयारो मानेर केटाकेटीहरू उनीनिर पुग्थे र हातमा मिठाई पर्नासाथ फुत्केर भाग्न आतुर हुन्थे । सान्नानी भन्थिन्- “दाइसँग मलाई डर लाग्छ, भाउजूसँग पनि ।”
सान्नानीले भनिन्, - “राम्री त मलाई पनि लाग्नुहुन्छ नि । तर हेर न कस्तो तुलसीको मठजस्तो लिपेर राखेको कोठा, गोसाईंथानजस्तो, र आफू पनि देवीजस्ती सिनित्त सिँगारिएर वस्नुपर्छ वहाँलाई ।”
अनि सान्नानी फेरि भन्न थाल्थिन्, “कथाहरूमा देवी-देवताहरू मानिसको चोला लिएर आउँथे पृथ्वीमा । सेमलबन बजारमा साहुनीकी छोरीलाई पहिले त बहुलाही भने, तर पछि थाहा पाए, उसमा देवी चन्दिरहिछिन् । दौलतपुरको जमीनदारकी बुहारी एक दिन त्यसै लोप भइन्, खोज्दा खोज्दा उनले कपालमा लाउने गरेको सुनको काइँयो जङ्गलमा भेटियो तर उनी भने फेला परिनन् । पूर्णिमा-पूर्णिमाको मध्यरातमा काइँयो खोज्दै उनी अझै जङ्गलमा आउँछिन् रे । फगुनीलाई यस्ता अरू पनि धेरै कथा आउँछ । ऊ भन्थी- “जसमा देवी आउँछिन् त्यस्ता आइमाई बाँझी हुन्छन् । डाक्टर-वैद्यले पनि केही गर्न सक्दैनन् यसमा । दिवानजीकी बुहारीलाई पनि त्यस्तै हुन्थ्यो । कति ओखती भयो, निकै भएन । दुब्लाएर काँडा भैसकी। अस्ति पनि त्यस्तै भयो राधोपुरबाट मिसिर-वैद्य आए, अङ्ग्रेजी डाक्टर आए, केही गर्न सकेनन्, बिचरी कल्पिन्छे मलाई सन्तान भएन भन्छे । कति देवी-देवताको भाकल गरी । के हुन्थ्यो र देवी आएपछि । हो नानी, देवी चढेका आइमाई बाँझी हुन्छन् ।”
गौरीसँग मलाई डर त लाग्दैनथ्यो तर अप्ठयारो भने अवश्य लाग्थ्यो । उनको सुन्दरताले म आकर्षित हुन्थें । र उनको जीवनलाई मैले जतिसम्म बुझ्न सकेको थिएँ त्यसले मेरो बालक मनमा उनका लागि माया पनि उम्रेको थियो तर म उनीसँग निर्धक्क हुन सक्दिनथें । उनको कोठाको व्यवस्था, स्वयं उनको सफाइको ध्यान र उनको शान्त व्यवहारले मलाई त्यसै उनीबाट टाढा राख्थ्यो । मलाई अहिले सम्झना हुन्छ, एकचोटि पनि आफ्नो मनले उनीकहाँ गएर मैले भनिनँ- ‘गौरीभाउजू, मलाई मिठाई दिनोस् ।’ अनि यो पनि भनिनँ- ‘मलाई भोक लागेको छ ।’ म उनको सौन्दर्यको वाल-पुजारी थिएँ । सानो मुटुमा अटेको प्रेमले टाढैबाट उनलाई माया पनि गर्थे। उनी नै मलाई हात समातेर आफ्नो कोठामा लैजान्थिन् । दिउंसो भात खाएपछि त वानी बसेजस्तै सधैं उनी मलाई तानेर लग्थिन् । सुपारी खाने वानी उनैले पारिदिएकी हुन् मलाई । एक दिन उनले भनेकी थिइन्- “वावू, यो सुपारी वहाँलाई दिएर आऊ न !” मैले सोधें - “कसलाई ?” फेरि उत्निखेरै भनें- “बुझै बुझै ।” अनि बडो उत्साहले दौडेर सुपारी नरेन्द्रदाइलाई लगेर दिएँ र स्वाँ स्वाँ गर्दै भनें- “गौरीभाउजूले दिएको ।”
नरेन्द्रले त्यो पोको बाहिर फ्याँकिदिए । फेरि गौरीकहाँ पुगें । गौरीले सोधिन्- “के भन्नुभयो वहाँले, बाबू ?” मेरो कुरा सुनेपछि उनको सानो शरीर अनौठो किसिमले काँप्यो, हाँसेको जस्तो गरेर । मुख खुम्चियो तर हाँसोको उज्यालो एकदम लोप भएको खुम्च्याइ । उनले मलाई समातेर आफूतिर तानिन् र पहिले त मायाले मलाई सुमसुम्याइन् । तर पछि मसँग टाँस्सिएर रुन पो लागिन् । म अप्ठयारो मानेर फुत्किन चाहन्थें । उनले मलाई झन् खूब जोडसँग अँठघाएर रुंदै मेरो म्वाइँ खान थालिन् । उनको आँसुले मेरो गाला पनि भिज्यो । उनको कपालको चमेलीको तेलको गन्धले म निस्सासिन थालें ।
मलाई उनीसँग अप्ठयारो लाग्ने यही कुरा थियो । विनाकारण हठात् मलाई बडो वेगले समातेर निर्दयतासँग उनी मेरो म्वाइँ खान थाल्थिन् । मभन्दा धेरै ठूलो उमेरकी गौरीको शरीर अझै अविकसित बालिकाको जस्तो थियो । कदमा पनि हामी एकनासका साना थियौँ । उनले त्यसरी माया गरेको अनौठो थियो, सहज किसिमको आमाले म्वाइँ खाएजस्तो होइन, र उनको माया नै नभएजस्तो केवल एकदम कठोर निर्दयतापूर्ण पेलाइ । उनको हाँसो पनि रोएको जस्तो र त्यस्तै रोएको पनि हाँसेको जस्तो । उनको सानो शरीर एकैचोटि कठोर हुँदै जान्थ्यो, थकिंदै जान्थ्यो र आँखाबाट निःशब्द बलिन्द्रधारा झर्न लाग्थे ।
त्यसपछि हठात् शान्त भएर उनले मलाई भनिन्- “जाऊ बाबू, म एकछिन सुत्छु । ल, यो सुपारी खाऊ ।” उनका आँखा, गाला, नाक राता थिए । म बाहिर निस्कनुभन्दा पहिले नै उनी घुप्लुक्क ओछयानमा पल्टिन् ।
यस प्रकार उनले सधैं भात खाएपछि मलाई सुपारी दिन थालिन् र बीच-बीचमा उग्र रूपबाट माया पनि गर्न थालिन् । मलाई घबराहट हुन्थ्यो । यही एउटा कारण थियो म पनि उनीबाट तर्किन खोज्थें । तर उनी मलाई तर्किन कहाँ दिन्थिन् र ?
उनको यस्तो अनौठो आचरणले मलाई एक प्रकारको लाजको पनि अनुभव हुन्थ्यो र लाजले नै गर्दा मैले सान्नानीसँगसम्म पनि उनको यस्तो असयंमी प्रेमको व्यवहारको चर्चा गरिनँ; गुप्त सुखको रूपमा यसलाई कसैको आँखामा पर्न नदिएर लुकाएर राखें । मलाई यस्तो पनि लाग्थ्यो कि यो कुरा कसैमा प्रकट हुन दिँदा गौरीको असम्मान हुन्छ ।
त्यस दिन नरेन्द्र भात खाएर गएपछि अगेनाबाट उठेर मलाई तान्दै गौरी कोठाभित्र पसिन् । एउटा सानो किस्तीमा ताछेको सुपारी, ल्वाङ, सुकुमेल, अलैंची र राम्ररी मसिनो चिरा पारेर काटेको छोहोरा, मुनक्का, दाखहरू सजाएर राखेको थियो । उनले मेरो हातमा किस्ती दिँदै भनिन्- “जाऊ बाबू, वहाँलाई यो दिएर आऊ ।” अनि उनले किस्तीलाई आफैले फूल-बुट्टा हालेको रुमालले ढाकिदिइन् ।
यसपालि पनि हुत्त्याइदिने पो हुन् कि भन्ने डर त थिएन तर तैपनि एउटा ठूलो काण्डको आशङ्काले काँप्दै म नरेन्द्रकहाँ पुगें बिस्तारै डराई डराई । उनले यति मात्र भने- “म सुपारी खान्नँ, लैजाऊ ।”
किस्ती लिएर म दौडदै फर्के । गौरीभाउजूले एकतमासको अनुहार लाइन् । केही दिनपहिले दूध उमाल्दाउमाल्दै उनको अनुहार यस्तै भएको थियो । मेरो म्वाइँ खाएर मसलाहरू दिँदै उनले टोलाएर मलाई हेरिरहिन् ।
बाबूसाहेबले गराएको मेल वेलुकीपखको पश्चिम आकाशजस्तो एकछिनका लागि रङ्गीचङ्गी भएर टल्कियो । भोलिपल्टै सबै कुरा भताभुङ्ग भयो, भान्दाइको शब्दमा ‘तासको घरजस्तै ।’ र नियतिको हातको कौशल पनि कस्तो थियो कि यो अश्वयम्भावी दुःखान्त नाटकको कारण निमित्तको रूपमा स्वयं नरेन्द्रकै आमा-हाम्री कप्तान्नी आमा-हुनुभयो ।
कप्तान्नी आमाको हाम्रो परिवारमा सबभन्दा सम्माननीय पद थियो, उमेरले र स्वभावले पनि । पिताजीभन्दा ठूली भएकीले पिताजी वहाँलाई भाउजू भन्नुहुन्थ्यो । आमाहरू त वहाँलाई सासूजस्तै मान्नुहुन्थ्यो । वहाँ विधवा हुनुहुन्थ्यो र वहाँको धेरै समय पूजापाठमा नै बित्थ्यो । भानुभक्तीय रामायण वहाँलाई कण्ठस्थ थियो । महाभारतका कथा र नीतिवाक्यहरू वहाँको जिभ्रोको टुप्पामा रहन्थे । बीच-बीचमा रामायण र महाभारतका टुक्का, श्लोक र नीतिवचनलाई मीठो लय हालेर वहाँ आफ्नो कुराको पुष्टि दिनुहुन्थ्यो । साँझमा पुराण र महाभारतका कथाहरू सुन्नलाई सुत्नुभन्दा अघि हामी केटाकेटीहरू वहाँकहाँ झुम्मिन्थ्यौँ । कहिले-कहिले पूजा लगाएको बखतमा नैवेद्य र प्रसाद पनि पाउँथ्यौं । वहाँ मलाई विशेष रूपले माया गर्नुहुन्थ्यो किनभने वहाँकी कान्छी छोरी सान्नानी मेरी प्रिय बालसखी थिइन् ।
वहाँ भन्नुहुन्थ्यो – “तिमीहरू नङ मासुजस्तै मिलेका छौ । पूर्वजन्ममा नअघाएर यस जन्ममा पनि सँगसँगै हुन पुगेका हौ ।”
सान्नानीले लाडे भएर सोधिन्- “पूर्वजन्म के, आमा ?”
कप्तान्नी आमा त्यस्तो नरम भएको बेला हामी वहाँको काखमा टाउको राखेर सुती-सुती वहाँबाट पुराणका कथाहरू सुन्थ्यौं । वहाँ भन्नुहुन्थ्यो– “सबै पूर्वजन्मको भोग हो ।” अनि त्यसै उदास भएको जस्तो गरेर एउटा सुस्केरा हाल्नुहुन्थ्यो- “नत्र एउटा छोरो कति आशा लिएर हुर्काएँ, यसरी बाउँठिन्थ्यो त ?”
छोरो नरेन्द्रको कुरा सुनेर वहाँलाई दुःख लाग्यो र त्यसैले होला मनको त्यस्तो अवस्थामा वहाँ सान्नानी र मलाई झन् विशेष माया गर्नुहुन्थ्यो । म चुप्प लागेर सुतिरहन्थें वहाँको न्यानो हुँदै आएको काखमा टाउको गाडेर । अर्को काखमा सान्नानीको टाउको हुन्थ्यो । सान्नानी भन्थिन्- “कप्तानी आमा ! म छँदै छु नि ! म पाल्छु, तपाईंलाई ।”
कप्तान्नी आमा हाँसेर भन्नुहुन्थ्यो- “भो तैंले पालिस् ! छोराले त केही गरेन, अव तैंले… भयो अब, गाईले दाइँ गरेर पनि……।”
सान्नानी जिद्दी गर्थिन्- “पाल्छु, हेर्नोस् न आमा ! कमाउँछु, ल्याउँछु र सुखसँग राख्छु तपाईलाई - धन्दा नमान्नोस् ।”
सान्नानीले केवल सुनेको कुरा, सन्तानहरूले गर्नुपर्ने कर्तव्यका कुरा भनेकी हुन्थिन् । तर कप्तान्नी आमा त्यसैले पनि झन् मक्ख पर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो- “हो, तेरो बेहोर मर्दको जस्तो छ । केटीजस्ती पटक्क छैनस् । बरु” - अनि मलाई देखाएर भन्नुभयो- “तिम्रो स्वभाव सुदो किसिमको छ । - सुदो केटो होलाउ जस्तो ।”
म लाज मान्थें, तर कप्तान्नी आमाको न्यानो मायाको काख र बोलीले बडो रमाइलो पनि मान्थें । अनि कप्तान्नी आमा हाम्रो कपाल सुमसुम्याउनुहुन्थ्यो, एकछिन केही नबोलेर । सान्नानी कपाल कन्याउँथिन्- ‘क्वार क्वार’ गरेर । भन्थिन् - “चिलाइरहेछ कपाल ।” उनको कपालको अमिलो गन्ध ह्वास्स मेरो नाकमा पर्थ्यो । कप्तान्नी आमा फेरि उदास भएर भन्नुहुन्थ्यो- “सान्नानी, तेरो स्वभावले गर्दा मलाई चिन्ता लाग्छ । बिहा भएपछि घर कसरी गर्ने होस्, दुलहालाई कसरी रिझाउने होस् ?”
सान्नानी झन् लाडे हुन्थिन्- “म दुलहालाई रिझाउँदिनँ !”
कप्तान्नी आमा भन्नुहुन्थ्यो- “दुलहलाई नरिझाएर हुन्छ दुलही भएपछि ?”
सान्नानी भन्थिन् - “खै, गौरीभाउजूले रिझाएको त नरेन्द्रदाइलाई ?”
कप्तान्नी आमाको स्वर एकछिन कडा भएजस्तो हुन्थ्यो । भन्नुहुन्थ्यो - “त्यसैले त त्यस्तो चाला भएको छ यो घरको । आफू त कुमारी हो कि, सधवा हो कि, विधवा-घर नै घर रहेन अब !”
मलाई र सान्नानीलाई एकैचोटि लाग्थ्यो- ‘गौरी असल भाउजू हुनुहुन्छ ।’ म त बोल्दिनथें, सान्नानी भन्थिन्- “मलाई नरेन्द्रदाइ मन पर्नुहुन्न ।”
कप्तान्नी आमा हठात् भन्नुहुन्थ्यो- “ल..ल…।” अनि सान्नानीको कपालको अवस्थालाई सम्झेर भन्नुहुन्थ्यो- “हेर, कस्तो लट्ठा परेको कपाल ! छिःछिः, लिखैलिखा छ ।” अनि मलाई भन्नुहुन्थ्यो - “यसले तिमीलाई पनि लिखा सार्ली । छि छि ! छि छि !” आफ्नो टाउको वहाँको तिघ्रामा राखेरै म कोल्टो फेरेर सान्नानीको मुखामुख हुन्थें र भन्थें- “मेरो आफ्नै लिखा छ, कप्तान्नी आमा ! होइन त, सान्नानी ?”
सान्नानी बडो उत्साहसँग सही थाप्थिन्- “हो, आमा ! उनका लिखा सेता-मसिना छन्, मेरा पुष्ट र काला…….”
कप्तान्नी आमा हाँसेर मायाले सान्नानीलाई यसो घचेट्नुहुन्थ्यो । वहाँको काख हल्लिन्थ्यो । म आफ्नो शिरलाई फेरि सजिलो पारेर राख्थें ।
कप्तान्नी आमा भन्नुहुन्थ्यो- “तिमीहरू खूब मिलेका छौ । दुलहा-दुलहीले यस्तै मिलेर बस्न सके पो !”
सान्नानी भन्थिन् - “हामी त मिलेर बस्छौँ पछि पनि । होइन त ?” उनी मतिर फर्केर मलाई सही थाप्न भन्थिन् । मलाई आज लाग्थ्यो । त्यस वेलासम्म लाज लाग्न लागिसकेको थियो यस्तो कुरामा । पहिले मलाई पटक्क लाज लाग्दैनथ्यो । त्यही अस्तिको एउटा सानो घटनाले म सान्नानीभन्दा फरकजस्तो लाग्न थालेको थिएँ । त्यसैले मानौँ लाज उत्पन्न गराएको थियो ममा ।
त्यस दिन विहानै कप्तान्नी आमाले सान्नानीलाई अक्षताको टीका लगाइदिनुभएको थियो। औंसी, पूर्णिमा कुन्न के तिथि पर्थ्यो जव समय-समयमा सान्नानीको कालो निधारमा सेतो अक्षता टाँस्सिन्थे र दक्षिणामा एक-दुई पैसा पनि पाउँथिन् उनी । कप्तान्नी आमा भन्नुहुन्थ्यो- “कन्नेकेटी तँ होस् !” अनि उनको गोडा पनि ढोग्नुहुन्थ्यो । म नजिकै उभ्भिएर हाँस्यें, सान्नानी पनि ही ही गर्थिन् । दक्षिणाको पैसा गाउँको सानो पसलमा खर्च हुन्थ्यो । पसल पनि के भन्ने त्यसलाई नजरिया मुसलमानको एउटा ध्वाँसोले कालो पारेको छाप्रो थियो, पश्चिमतर्फ जाने बाटोको ठीक दक्षिणतिर लड्ला-लड्ला जस्तो गरेर उभ्भिएको । उसको आङ्गामा उभ्भेर हामी कराउँथ्यौँ- “नजरिया ।”
त्यस दिन पनि हामीले त्यसै गरी करायौँ । नजरियाकी स्वास्नीले भित्रवाट आएर भनी “के हो नानी ?”
सान्नानीले भनिन्- “एक पैसाको छोहोरा र एक पैसाको नरिवल देऊ त, मिस्री पनि अलिकति मिसाइदिनू-फोसा ।”
नजरियाको छाप्रोको चिसो ओसाराको दक्षिण कुनाको चूलो अहिले निभेको थियो र त्यसमाथि एउटा कालो हाँडी थियो । त्यसको मुख फोरेर ठूलो पारेको थियो । ओसाराको उत्तरतिरको कुनामा बाँसको कप्टेराको एउटा अग्लो मुढामाथि एउटा नाङ्लो राखेको थियो र त्यसमा नरिवल, छोहोरा र मिस्रीका साना-साना थुप्रा सजाएर राखिएका थिए । नालैको एकापट्टि काँचका मोटा-मोटा हरिया र राता चुराहरू र लहटीका गुच्छाहरू पनि राखिएका थिए । त्यहाँ टाटीको बाँसको अन्तरमा रङ्गीबिरङ्गी कागज र सेता र राता टल्किने पातला तपक र पन्नी कागजलाई पटचाएर सिउरिराखेको थियो । नजरियाकी स्वास्नीले नाङ्लोबाट टिपेर नरिवल, छोहोरा र मिस्रीका साना-साना टुक्रा हाम्रो हातमा राखिदी । हाम्रो पैसालाई ओसारैमा बनेको एउटा दुलोमा छिराइदी । सान्नानीले मलाई पहिले नै भनेकी थिइन्- “त्यो दुलोतल माटोको भाँडो छ । पैसै-पैसा भरिएको होला । साँच्चै ।”
टाटीमा सिउरिएका रङ्गीन कागजहरूलाई देखाएर सान्नानीले सोधिन्- “हेगे, त्यो तजियाका लागि होइन ? कहिले हुन्छ हैं यसपालि हास्सेन-हुस्सेन ?”
नजरियाकी दुलहीले भनी “अब त आइहाल्यो नि…।” हामीहरू नजरियाको छाप्रोबाट बाटामा नाच्दै आयौँ । “हास्सेन-हुस्सेन, हास्सेन-हुस्सेन”-आफ्ना हातलाई आकाशतिर तलवारजस्तै गरेर रोप्दै र मुखमा मिस्री र नरिवललाई स्वादसँग चपाउँदै- ‘हास्सेन-हुस्सेन…।”
पछवरियाधार । - कोशीको एउटा ठूलो भँगालो हाम्रो गाउँको एक पाउजति पश्चिमतिर थियो । त्यसको किनारको सानो वन-बाँस, पाडक, गुलर, सिमल, पलास, कदम, जामुन, इमली इत्यादिका भ्याम्म परेका रूखले सधैं अँध्यारो हुन्थ्यो र त्यसभित्रको सडक सधैं चिसो भैरहन्थ्यो । हामी डराएर, दौडदै त्यो अँध्यारो बाटो काट्ट्यौँ । झन् सडकैनिरको ठूलो धोद्रो परेको त्यो विशाल गुलरको रूखमा बस्ने प्रेतको कुरा सम्झेर “हास्सेन-हुस्सेन ……।”
खूब रमाइलो दिन थियो । घामको चहकले वातावरणलाई झन् उज्यालो र राम्रो बनाएको थियो । चराचर आफ्नो सुन्दरतामा एकदम स्तब्ध । मध्याह्नको समय, त्यस बेला एकछिनका लागि वन-प्रान्त पनि निःशब्द रहन्छ । सबै जना खेतको काम सिद्धयाएर खाजासाजा खाएर आफ्आफ्ना घरमा मधेशको मध्याह्नलाई उँघेर, निदाएर या त्यसै अल्छी मानेर विताइरहेका थिए । म र सान्नानी मात्र हास्सेन-हुस्सेनको. रट लगाउँदै पछवरियाधारतिर लागिरहेका थियौँ ।
सान्नानीले भनिन्- “फुलकाहा बजारको तज़िया सवभन्दा राम्रो हुन्छ, झल्-झल्-झल्-झल् पन्नी र तबकै तवक र बर्कै बर्क टल्किन्छ । - ओहो ! तजिया कत्रो ठूलो हुन्छ, थाहा छ ? उः अक्कासै छुने ……साँच्चै-”
अनि हठात् वनभित्र पुगेर अँध्यारिँदै र चिसिँदै आएको वनमा आफूलाई पाएर गोडा त्यसै सडकको माटोमा कुन थाले । हास्सेन-हुस्सेन मुखको मुखैमा रह्यो । कि अचानक.. बनको माझ्झमा खडा धोद्रो गुलरको रूखको ठीक अगाडि, आफ्नो आङलाई मैलो धोतीले एक पटक राम्ररी बेरेर त्यसको आँचलले शिर ढाकी, अनि फुर्कोलाई मुखमा च्याप्दै मुनरिया सडकबाट तल झरिरहेको पो हामीले देख्यौँ । सान्नानीले कराइन्- “मुनरिया ।”
मुनरिया नबोलेर छिट्छिटो वनभित्र पसी ।
हामीहरू फेरि कुदै पछवरियाधारतिरको वनको उज्यालो मुखमा पुग्यौँ । सान्नानीले मेरो हात समाएर सडकछेउको सुकेको पैनीभित्र तान्दै लगिन् । भनिन्- “लुक… लुक… उः देख्यौ नरेन्द्रदाइ ! देख्नुभयो भने मार्नुहुन्छ ।”
बन्दूक काँधमा राखेका नरेन्द्रलाई वनभित्र पसे । हामीलाई देखेनन् ।
हामीले कोशीको धारमा खूब चोपलिएर न्वायौँ ।
भिजेको कपाल र राता-राता आँखा लिएर हामी घर फक्यौं । बाटामा गोसाईंथानतिर एउटा चिसो ठाउँमा उम्रिएका मोथेका झारबाट एउटा हरियो पुष्ट डाँठ टिपेर सान्नानीले त्यस दिन सोधेकी थिइन्- “ल भन, भाले कि पोथी ?”
मैले सोधेको थिएँ - “के सान्नानी ?”
उनले डाँठको एउटा टुप्पो मलाई समात्न दिएर अर्को टुप्पोतिरबाट त्यसलाई चिर्न थालिन् । अनि च्यातिएपछि भनी “उः पोथी-”
मैले फेरि सोधें- “के सान्नानी ?”
उनले कतिचोटि मोथेको डाँठ टिप्दै कहिले भाले, कहिले पोथी बनाउँदै मलाई चिरेर देखाउन थालिन् ।
तैपनि मैले सोधें- “के सान्नानी ?”
उनले भनिन्- “ल आऊ ।”
गोसाईंथानको पोखरीको डिलको बैरको काँडे झारभित्र बिस्तारै उनी पसिन् र कुप्रिंदै आफ्नो कौपीन उठाएर तलको पातलो लँगौटीलाई पनि सारिन् र कुप्रिएको कुप्रिएरै मतिर हेरेर भनिन्- “देख्यौ, म पोथी ।”
अकारण त्यसै बखतदेखि मलाई सान्नानीसँग सानो लाज लाग्न थाल्यो ।
एक दिन जब कप्तान्नी आमाको काखमा सुती-सुती रमाइलो कुरा गर्दागर्दै सान्नानीले भनिन्- “हामीहरू त पछिसम्म मिलेर बस्छौं, होइन त…” मलाई लाज लाग्यो भाले पोथीको कुरा सम्झेर । मैले केही बोलिनँ ।
कप्तान्नी आमाले भन्नुभयो- “भोलि पिना भिजाइदिन्छुः कपाल राम्ररी धुन् । तिमी पनि नानील, उठ, मेरो काख थाकिसक्यो । निदाउन थाल्यौ, उठ, उठ !”
त्यस्ती हुनुहुन्थ्यो हाम्री कप्तान्नी आमा ।
त्यस दिनको काण्डको सम्झना अहिले पनि मलाई झलझली छ । जेठको महिना, दिउँसोको टण्टलापुर घाम, सारा पृथ्वी अग्निमय भएर एकसुरले बलिरहेको थियो । त्यस दिनको घामको चहकिलो उज्यालो र एकनासको अकम्पित गर्मीको सम्झना किन हो कुन्नि आज पनि मलाई तस्वीरजस्तो स्पष्ट छ । बैठककोठामा मुनरिया र फगुनी लिप्दै कुरा गर्दै थिए । उनीहरूले बोलेको बाहिर सुनिन्थ्यो तर बिस्तारै बोलेकाले कुराको गेडा टिप्न सकिँदैनथ्यो । उनीहरूले माटो र गोबर मिसाएको पन्यालो झोलमा लुंडो चोप्दै भुइँमा छयाप् छघाप् हानेको हामीहरू बाहिर बार्दलीमा सुनिरहेका थियौं । बीच-बीचमा उनीहरू गोबरको बाल्टिन घिसार्थे । हामीहरू केटाकेटी बार्दलीको पश्चिमपट्टिको कुनामा बसेका थियौँ र झुम्मिएर महारानी दिदीले रामायण बाचेको सुनिरहेका थियौँ । महारानी दिदी बडो मीठो लय झिकेर तुलसीदास रामायणका चौपाई र दोहा पढ्नुहुन्थ्यो र नेपालीमा त्यसको अर्थ हामीलाई भन्नुहुन्थ्यो :
“ताहि देह गति रामु उदारा शबरी के आश्रम पगु धारा”,
महारानी दिदी भन्दै हुनुहुन्थ्यो- “कबन्धको उद्धार गरर, रामचन्द्र शबरीको आश्रममा पुग्नुभयो…”
पिताजी, बाबूसाहेब, भान्दाइ, नरेन्द्रदाइहरू बार्दलीको पूर्वपट्टिको कुनामा बसेर कुरा गरिरहनुभएको थियो-अखबारका खबरको विषयमा छलफल । कप्तान्नी आमा बार्दलीको बीचमा बसेर दुवैपट्टि कान दिइरहनुभएको थियो । बीच-बीचमा महारानी दिदीले रामायण बाचेको सच्याउनुहुन्थ्यो र साथै पिताजीहरूको कुरामा भाग लिएर आफ्नो विचार पनि प्रकट गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो- “आजकालका अरू कुरा त कुन्नि के हुन् तर छुवाछूत हटाउने भन्ने गान्डीको कुरा त मलाई मन पर्दैन ।” (वहाँलाई गान्धी भन्न कहिल्यै पनि आएन ।) पिताजीलाई विशेष रूपले सम्बोधन गर्दै वहाँ भन्नुहुन्थ्यो- “सानोबाबू, स्वराज्य वर्णभेद नमेटाई आउँदैन र ? त्यसो भए पहिलेको कालमा छुवाछूत हुँदाहुँदै स्वराज्य कसरी थियो त ? कि थिएन ?”
एकछिनपछि हामी केटाकेटीहरूको समाजपट्टि फर्केर भन्नुहुन्थ्यो- “महारानी, शबरीको जूठो बयर खाने रामचन्द्रजी त अवतारपुरुष थिए । उनले जे जति गरे, त्यति तिमीहरू गर्न सक्छौ र ? सत्ययुगको कुरा कलिकालमा चल्दैन, बुझ्यौ !”
महारानी दिदीले पिताजीको गफको धारालाई समातेर रामायणको त्यस पाठको पढाइ थालेकी थिइन् जसमा रामले शबरीको जूठो खाए भन्ने चर्चा थियो । महारानी दिदी हामीहरूजस्तै छुवाछूत नमान्ने पार्टीकी थिइन् । यही मर्मलाई बुझेर कप्तान्नी आमाले सत्ययुग र कलिकालको भेद बताउनुभएको थियो । यस विषयमा कप्तान्नी आमाको पार्टीमा एक जना मात्र थियो-स्वयं वहाँ । तैपनि वहाँको उमेर र वहाँको सम्मानको हकले गर्दा घरमा त्यस्ता धेरै स्थल थिए जहाँ अछूतोद्धार आन्दोलनको प्रवेश थिएन; जस्तो भान्साघर, पूजाकोठा, इनार इत्यादि । कप्तान्नी आमाको अन्तिम तर्क हुन्थ्यो- “म मरेपछि बाबूहरूलाई जे जे गर्न मन लाग्छ गर्नु तर म बाँचुञ्ज्याल जनी गरेर मेरो जात जाने कुरा नगरिदेऊ । अब कति दिन बाँच्छु र !”
हामीलाई यस तर्कको कुनै महत्त्व थिएन । महारानी दिदी, जुण्टुनानी, नरेन्द्रदाइ र हामी केटीकेटीहरूको इच्छा चलेको भए चुट्की बजाएर अछूतोद्धार गरिदिने थियौँ, तर पिताजी र बाबूसाहेब स्वराजको निमित्त त्यति अधीर हुनुहुन्थ्यो क्यार, किनकि वहाँहरू कप्तान्नी आमाको तर्कको इज्जत गर्नुहुन्थ्यो । नरेन्द्रदाइको भनाइअनुसार संसारको धेरै प्रगति यस्तै कमजोरी बूढाबूढीप्रतिको बुद्धिहीन आदरको भावनाले गर्दा थामिएको छ । हामीहरूलाई पनि लाग्थ्यो असल कामको सम्पादनमा अनावश्यक ढिलाइ भैरहेको छ ।
भित्र बैठकको लिपाइ सिद्धिसकेको थियो ।
लँडो र बाल्टिन लिएर मुनरिया र फगुनी तल इनारमा पुगे र हात-खुट्टा धुन थाले । त्यसै बखतमा एउटा मानिसले त्यहाँ आएर पानी माग्यो । मुनरियाले डोलबाट पानी हालिदिन थाली र त्यो मान्छे मुखमा अँजुली थापेर पानी पिउन थाल्यो । इनारको यो सानो दृश्य मेरो आँखाको अगाडि झल्याँस्स एकचोटि आएको हो । फगुनी हात-खुट्टा धोएर हिँडिसहेकी थिई । अचानक कप्तान्नी आमा चिच्च्याउनुभयो- “के गऱ्या, ! के गऱ्या !! सत्यानाश भो !!”
पहिले त हामीले बुझ्न सकेनौँ, कहाँ के काण्ड भयो । केबल कप्तान्नी आमाको कुनै अप्रत्याशित दुर्घटनाका प्रतिको आश्चर्य भावना मिसिएको पुण्य आक्रोशले दीप्त अनुहारलाई हामीले देख्यौँ ।
“यो घर भ्रष्ट भएर गयो…” अनि मुनरियालाई गाली गर्दै वहाँ चिच्च्याउन थाल्नुभयो- ‘अलच्छिना, कुलाङ्गार, वढेकी…।”
त्यसपछि मात्रै एक्कैचोटि सबैले बुझे-मुनरियाले सार्कीलाई इनारको बाल्टीबाट पानी ख्वाइरहेकी थिई । यो कुरा बुझ्नेबित्तिकै हामीहरूको रामायण पाठ र उता पिताजीहरूको मीठो गफ कता गयो कला !
कप्तान्नी आमा रिसले मुरमुरिएर कराउँदै हुनुहुन्थ्यो- “कोही सक्दैन त्यस वोक्सीलाई जगल्ट्याउन ? यसले के के गर्ने हो !……”
पानी पिउने सार्की कता भाग्यो कता । मुनरिया एक हातले इनारको डोरी समातेर र अर्को हातमा बाल्टी लिएर उभ्भिइरही र उसले दोषी भावनामा नाकेबोलीले भनी- “मैले माथिवाटै पानी खन्याएकी थिएँ । सार्कीले डोल र डोरी कहाँ छुन पायो र ?”
कहाँसम्म छोइँदा इनार छोइने हो त्यसको वहस त छँदै थियो, नरेन्द्रको प्रवेशले कोलाहल झन् थपियो । हामीहरू चुप्प लागेर बसिरह्यौँ । पिताजीले विस्तारै यस काण्डलाई टाढा पार्ने कोशिश गर्नुभयो । तर अब बाझाबाझ आमा-छोराका बीच हुन गएकोले सबैलाई अप्ठयारो पर्यो । कप्तान्नी आमा भन्ने-मुनरियाले हेपेकी हो; सबैलाई नटेरेकी हो; के भन्ठानेर त्यो मेरो पनि इज्जत गर्दिन ? कसको आड पाएकी छ यसले ? उता नरेन्द्र भन्ने- अछूतोद्धारको ढौंग गर्नु जब घरभित्रै यत्रो ठूलो अत्याचार हुन्छ भने ?
आमाले भनिन्- “ल हेर सबैले, एउटी रण्डीलाई लिएर छोरो आमाको बेइज्जत गर्न सुरिया छ ।”
छोराले भने- “इज्जत, बेइज्जत सबैको छ । इज्जत चाहनेले इज्जत र मर्यादामा आफैँ बस्नुपर्छ । आदर्श आदर्श हो; आमा भन्दैमा आदर्शको झण्डा झुक्दैन…….”
केहीबेरसम्म त कप्तान्नी आमा उग्रतर हुँदै जानुभयो । वहाँको त्यस्तो क्रोध कहिले पनि प्रकट भएको थिएन । वहाँको सेतो अनुहार एकाएक फुस्रियो । वहाँको क्रोध बढ्दाबढ्दै अचानक आफ्नाप्रति लाञ्छना र श्रापको भावना लिन थाल्यो । वहाँ भन्न थाल्नुभयो - “छोराले मलाई हेर्ला, मेरो रच्छे गर्ला भनेर नौ महिना मैले पेटमा हुर्काएँ । एक त मलाई तैंले आजसम्म हेर्दै हेरिनस् र झन् आज मलाई भन्नु-नभन्नु भनेर बेइज्जत गर्न थालिस् सबका सामुन्ने ? हे ईश्वर ! यो दिन किन देखायौ मलाई… म बूढीलाई । किन लगेनौ पहिले नै म राँडीलाई…….”
अनि बलिन्द्र आँसु खसाल्दै पिताजीलाई भन्न थाल्नुभयो “सानोबाबू, अब यस घरमा मेरो गुजान छैन । काशीवास गर्न जान्छु । छोराले त्यही खोजेको हो- बसोस् ऊ यहाँ रजाइँ गरेर, जुन-जुन रण्डीलाई राख्न मन लाग्छ राखेर ।”
र स्वाँ-स्वाँ र घुँक्क घुँक्क र पिताजीको समवेदनाका अस्फुट वाक्यहरू !
नरेन्द्रले भने- “म नै बस्दिनं यहाँ । मेरो पनि आत्मा छ र मेरो पनि विश्वासका विपय छन् । र इज्जतको कुरा भन्ने हो भने मेरो पनि इज्जत छ । आमा भन्दैमा……”
नरेन्द्रको प्रचण्ड क्रोधको परिचय सबैलाई थियो । एकचोटि धेरै वर्षपहिले उनको आफ्नो वाबुसँग बाझावाझ हुँदा कप्तान बाले भन्नुभएको थियो रे- ‘के सेखी गर्छस् नरेन्द्र, आफ्नी दुलहीलाई त पाल्ने हुती छैन ।’ त्यही झगडामा नरेन्द्रले भने रे- ‘कप्तान वा, मलाई धेरै घोचेर नभन्नोस् । जाबो एउटीलाई मेरो गलामा झुण्डयाइदिएर बडो उपकार गरेको छु भन्नुहुन्छ भने ल, त्यो तपाईले मेरो लागि ल्याएकी भनेकी तपाईलाई नै भयो ।, र साँच्चै नै त्यस दिनदेखि नरेन्द्रले आफ्नी दुलहीलाई त्यागिदिए । कप्तान बा स्वर्गवास भएको धेरै वर्ष भैसक्यो तर उनलाई सुम्पिसकेकी नारीलाई नरेन्द्रले फेरि ग्रहण गरेनन् । यो जिद्दीपनको कथा सबैलाई थाहा थियो, त्यसो हुनाले जब आज ‘यो घरमा अव म एकछिन पनि बस्दिनँ’ भनेर उठे अनि त्यो पुरानो कुरा सम्झेर सबै डराए-नरेन्द्र साँच्चै नै आफ्नो ढिपीमा घर छाड्न वेर मान्दैनन् । आमाहरूले धेरै सम्झाउनुभयो, तर केही लागेन । नरेन्द्रले एकनाससँग भनिरहे- “मेरो यस घरमा अब स्थान छैन ।”
यति मात्र सम्झौता हुन सक्यो कि नरेन्द्रले एक दिनका लागि आफ्नो वचन स्थगित राखेर मुख्य घरमा त नबस्ने तर बाहिरको ग्वाली-घरमा रात विताउने । कप्तान्नी आमाको पनि काशीवास गर्ने दृढसङ्कल्प खुकुलो भयो ।
मुनरिया, जसको कारणले त्यस दिनको इनारको घटना घट्यो, ऊ एउटा धानुककी छोरी थिई । ऊ हामीकहाँ सानोतिनो काम गर्थी-कूचो लाउनु, कोठा लिप्नु, दाउरा बटुलेर ल्याउनु र बीच-बीचमा बारीमा गएर बिरुवालाई गोडगाड गरिदिनु, तरकारी टिपेर ल्याउनु इत्यादि । आजको आँखाले हेर्दा उसलाई राम्री नै भन्नुपर्छ । त्यस बेला भने मलाई राम्री लाग्दिनथी । १७-१८ वर्षकी युवती, एकोहोरो कस्सिएको जीउ, कालो वर्ण । जुण्टुनानीलाई भने यस्तो लाग्थ्यो कि उनको चलेको भए मुनरियालाई सर्वसुन्दरी भनेर घोषणा गर्ने थिइन् । भन्थिन् - “एकहोरो कस्सिएको जीउ, कस्तो छरितो, कस्तो उध्रेको कृष्ण वर्ण; होइन त महारानी दिदी ?” जुण्टुनानीको मलाई पटक्क मन नपर्ने एउटा स्वभाव थियो आफ्नै कुरामा हाँस्ने रमाइलो मानेर । र खूब कुरा गरिरहनुपर्ने । महारानी दिदी मुनरियालाई मन पराउनुहुन्न भन्ने मलाई थाहा थियो तर उनको भनाइ के हो त्यसलाई सुन्दै नसुनेर जुण्टुनानी आफ्नै कुरा दोहऱ्याउँथिन् ।- “मुनरियाका बदामका जस्ता कोस परेका चञ्चल काला आँखाले अद्भुत उज्यालो रचेको छ उसको कालो अनुहार । मोरी टुना गर्छ ती आँखाले……।”
जुण्टुनानीको विचार थियो- “कुँदेको सङ्गमरमरको शरीर छ उसको, अनुहारजस्तै आभायुक्त । ओठ पनि हेर न मोरीको…।” - जुण्टुनानीको अगाडिको दाँतको सुन टल्किन्थ्यो उनको हाँसोमा - “कस्ता पुष्ट चिल्ला !” जुण्टुनानी मुनरियालाई बारवार ‘मोरी’ भन्थिन् र दाँतको सुन टल्काउँथिन् ।
मुनरियाको तल्लो ओठको देब्रे कोसामा एउटा सानो कालो कोठी थियो, जसले मलाई उसको मुख बाङ्गिएको लाग्थ्यो-निश्चय नै नराम्रो मुख । जुण्टुनानी भने भन्थिन् - “त्यसैले त झन् जादू गरेको छ । त्यसैले उसको अनुहारमा अहिले पनि नमेटिने हाँसो कायम रहन्छ र लाग्छ, व्यङ्ग्य गरिरहेकी छे ओठ खुम्च्याएर । कार्यकुशल चतुरी नारीको अनुहार लिएर कहाँ यो अँध्यारो कुनामा जन्मिन पुगेकी ?”
महारानी दिदीलाई भने त्यो कहिल्यै मन परिन । तर उनी पनि भन्थिन् - “भाउजू के टिक्न सक्नुहुन्थ्यो उसको अगाडि । कहाँ गौरीभाउजूको केटाकेटीको जस्तो हुर्किन नसकेको जीउ, कहाँ मुनरियाको गाउँको घाम पानी खाएर हुर्केको शरीर ।”
घरका स्वास्नीमानिसहरूका यस्ता कुरा सुनेर मलाई अकारण मुनरियाप्रति रिस उठ्थ्यो र रिसको आँखाले उसलाई मनमनै म भन्थें- ‘मुनरिया कदापि राम्री छैन, फोहोरी ।”
अर्को कुरा मलाई मन नपर्ने के थियो भने उसलाई गौरीभाउजूसँग जहिले पनि दाँज्ने बानी थियो घरका स्वास्नीमानिसहरूको । उनीहरूको कुरा सुन्दा-सुन्दा होला म पनि मनमनै गौरीलाई ऊसँग दाँज्यें- ‘गौरीभाउजूजस्ती राम्री कोही छैन दुनियाँमा, कस्ती सुग्घरी !”
मलाई मुनरियाको चर्चा पटक्क मन पर्दैनथ्यो । एक दिन जुण्टुनानीको तारिफ सुन्दा-सुन्दा रन्थनिएर म जुरुक्क उठें र एक्लै घरपछिल्तिरको परालको ठूलो छायामा बसेर उदास मानिरहें । घाम ढल्किन थालेको थियो र त्यसैले यावत् उभ्भिएका कुराहरूको छाया लम्बिदै र तिनका नक्सा गाढा हुँदै गएका थिए । परालको टालको छाया लम्बिएर टाढाको जामुनको रूखको फेदसम्म पुगेको मैले धेरैबेरसम्म त्यसै टोलाएर हेरिरहें । ठीक जामुनको गाछमुनिबाट मुनरिया त्यही बेला हतारिएर उत्तरतिर गई। अनुहार त देखिनँ शरीरले मात्र चिनँ । मैलो धोतीले बेरिएको शरीर, हतारिएर हिँड्दा शरीरमा उठेका सबै पुष्ट डल्लाहरू हल्लिएका-छातीका र कम्मरनिरका । देब्रे हातले टाउकोको आँचललाई देब्रे गालाबाट लगेर नाक छोप्दै एक प्रकारले दगुरेर हिँडेकी । टाउकोमा परिरहने आँचलमा तोरीको तेलले पारेको टाटो मयलले कैलो भएको नैनकिलाठको बाक्लो धोतीमा स्पष्ट देखिन्थ्यो । मैले अकारण नै रिसले दाँत पिन्दै भने- “फोहोरी गाउँले केटी ।”
एकैछिनमा मलाई खोज्दै सान्नानी आइपुगिन् । “कहाँ एक्लै बसिराको ?” उनले भनिन् ।
मैले सान्नानीलाई भने- “गौरीभाउजू नै राम्री । कस्ती गोरी हगि ? कस्ती उज्याली र कस्ती सिनित्त परेकी । मुनरिया फोहोर्नी, जिड्रिङ्ग लट्टा परेकी, मैलो धोतीले बेरिएकी, काली ……।”
मसँगै टाँस्सिएर परालको टालमा पिठ्यूँ अड्याएर सान्नानीले भनिन्- “काली भएर के ? मुनरिया भाउजूभन्दा राम्री छे । गरीब छे र चोलो लाउन पाउन्न, कपालमा चमेलीको तेल हाल्न पाउन्न तर भगवान्ले जीउ त राम्रो दिएको छ ।”
म गौरीप्रति असीम स्नेहले आर्द्र भएर मुनरियालाई सुन्दरी भन्न सक्दिनथें । बरु फगुनीको गोरो रङ्गले मुनरियाभन्दा ऊ राम्री लाग्थी मलाई । मैले त्यसै विरोधमा भनें- “फगुनी राम्री ।” सान्नानी हाँसिन् ।
अनि अचानक झस्केर सान्नानीले भनिन्- “चुप चुप ।” उनले मलाई आफूतिर टाँसेर उत्ताउलो हुँदै साउती गरिन् - “नरेन्द्रदाइ ।”
जामुनको बोटको तल नरेन्द्रदाइ झुलुक्क देखिए-उत्तरतिर लागिरहेको सूर्य पश्चिमको आँपको बगैंचाको उतापट्टि पुगिसकेको थियो। परालका टालको छाया लम्बिएर जामुनको वोटसँग मिसिँदै आँपको वगैंचाको वाक्लो छायामा डुबिसकेको थियो । कोशीको किनारमा चर्न गएका गाईबस्तुहरूलाई लिएर पूर्वतिरबाट सडकमा टाढा गाडीवानको छोरो किसन आइरहेको थियो । गाई-गोरुको खुरबाट उडेको धूलोले पूर्वको आकाश ढाक्दै आयो । साँझको अँध्यारो पनि त्यतैतिरबाट विस्तार-विस्तार गाउँमा पस्न थाल्यो ।
मैले एकदम जिद्दी गरेँ- “मुनरिया राम्री छैन-छैन, जाः ।”
सान्नानीले मलाई हात तानेर उठाउँदै भनिन्- “सांझ पन्यो हिँड, घर फर्को ?” म नबोलीकन उठें। बाटामा लेलहाको घरभित्रवाट फगुनीको स्वर सुनियो; ऊ भात पकाउन थालेकी थिई क्यार ! पाक्न लागेको चामलको गन्ध आइरहेको थियो । मुनरियाको घरमा चालचुल केही थिएन । एउटा बिरालीले छाप्रोबाट बाहिर आएर हामीलाई देखेर आङ तानी । एकचोटि मुनरियाको बाबुले खोकेको सुनियो ।
कर्चीको टाटीलाई एक ठाउँमा काटेर बनाएको ढोकाबाट हामी आफ्नो बारीमा पस्यौं । ग्वाली-घरमा धुरको धूवाँ मुस्लिएर उठिरहेको थियो । आफ्नो अँगोछाले हावा दिँदै धूवाँलाई ग्वालीभित्र हुल्ने चेष्टामा भटना व्यस्त थियो । उसको वावु लछमनियाँ गाई दुहिरहेको थियो । गाईको पछिल्तिरका दुवै गोडा, हलचल गर्न नसकोस् भनेर, एउटा सानो डोरीले बाँधेर फटघाइराखेको थियो । पिताजी र भान्दाइ गोधूलिको सन्ध्याकालीन दृश्यलाई हेर्दै टीकाटिप्पणी गरिरहनुभएको थियो । पिताजी सोध्दै हुनुहुन्थ्यो- “गाई दूध कति दिन्छ आजकल ?”
प्रश्न त शायद लछमनियाँलाई सोधिएको थियो । ऊ भने बडो एकाग्र-चित्तले गाईको थुनलाई औंलाले थिचेर तल तान्दै दूधको आखिरी थोपा झार्ने कोशिशमा थियो । भान्दाइले भन्नुभयो- “गुजराती गाई भनेर मात्र हुन्छ र ? केही स्याहारै पुगेन यी गाईहरूलाई । गैवारहरू हेरिदिँदैनन् ।”
गाईको दूधको फौंज माथिसम्म उठेको बाल्टिनलाई भुइँमा राखेर लछमनियाँले गाईको गोडाको छाँद एकै झट्काले फुकाल्यो । त्यहीँ टाढा वीच-बीचमा हतारिरहेको बाछो अचानक असत्य व्यग्रतामा दाम्लो चुँडाल्ला जस्तो गरेर गाईनिर पुग्न खोज्यो । लछमनियांले दूधको वाल्टिन टिपेर बाछोको दाम्लो खोलिदियो । वाछो तोडसँग दौडंदै गाईको कल्चौंडोमा मुण्टो गाइन पुग्यो ।
लछमनियाँले पिताजीलाई बाल्टिनको दूध देखाउँदै भन्यो- “यो गाई वडो चलाख छ । एक थुनको दूध त लुकाउँछे लुकाउँछे । ज्यान गए पनि छाड्दिन ।” त्यति भनेर ऊ दूध लिएर भान्सातिर लम्कियो ।
भान्साघरको पछिल्तिरको इनारमा एक्लै बसेर गौरी हात गोडा धोइरहेकी थिइन्-निहुरेर । कस्सिएको चोलोको वाहुला भिज्ला भनेर अलिक माथि सारेकी । आँचललाई टाउकोबाट झिकेर गर्दनमा एक फन्को बेरेर त्यसको फुर्को कम्मरमा वाँधेकी । इनारको नुहाउने चौकीमाथि आफ्नो कुर्कुच्चा दली-दली सफा गरिरहेकी थिइन् गौरी । सधैं उनी दुई-तीनचोटि आफ्नो शरीर खूब जतनपूर्वक, तन्मयतासँग सफा गर्थिन् । उनको सानो गोडाका साना पिँडुलाहरू माछाको पेटजस्तो टलक्क टल्किएको थियो । कुर्कुच्चा धोइएर रगत चुहिएला जस्ता भएका थिए वालकका जस्ता । लाग्थ्यो, तिनले माटोको कहिल्यै स्पर्श पाएनन् । हात पनि त्यस्तै राता र गोरा ।
मैले फेरि भनें- “सान्नानी, गौरीभाउजूजस्ती राम्री हाम्रो घरमा कोही छैन ।”
लछमनियाँले भान्साको ढोकाबाट करायो- “मालिक्नी, दूध ल्याएँ ।”
गौरीले इनारबाट मसिनो स्वरमा उत्तर दिइन्- “पख, म आउँछु ।”
मुख, हात, गोडालाई राम्ररी पुछेर गौरी दूध थाप्न भान्सातिर पसिन् ।
म गौरीका प्रति अत्यन्त मायालु भएँ ।
सान्नानी र म दिनभरि गाउँमा भौंतारिएर काँचा फल टिप्दै, पोखरीमा नाङ्गो भएर नुहाउँदै हिँड्दै जाँदा कतिचोटि कहिले आँपको झ्याम्म परेको बगैंचामा, कहिले पछवरियाधारको अग्लो किनारातल सिमलका रूखमुनिका बयरका भयाङनिर हामी नरेन्द्र र मुनरियालाई भेट्थ्यौँ । नरेन्द्र शिकार खेल्न निस्केका हुन्थे बन्दूक लिएर, मुनरिया घाँस काट्न-टोकरी र खुरपी लिएर । हामीलाई देखेर नरेन्द्र रिसाएर भन्थे - “बिरामी पर्न हिँडेका घाममा ?”
सान्नानी मलाई सुटुक्क भन्थिन्- “मुनरिया पनि त्यहीँतिर थिई । तिमीले देखेनौ ? भयाङको उतापट्टि ।”
मलाई नरेन्द्र र मुनरिया गाउँभन्दा टाढा-टाढा सँगसँगै भएको कुनै अस्वभाविक कुरोजस्तो लाग्दैनथ्यो । शिकार खेल्न टाढै जानुपर्ने, त्यस्तै घाँस काट्न पनि गाउँभन्दा टाढा नै पुग्नुपर्ने । उनीहरूमा भेट हुनु स्वाभाविक थियो । तर सान्नानी भन्थिन्- “मिलेर आएका । देखेनौ अस्ति, चिलौनीधारमा मुनरिया नुहाइरहेकी थिई र दाइ पाकडको रूखमुनि बसेर उसले नुहाएको हेरिरहेका थिए । न मुनरिया घाँस काटिरहेकी थिई, न दाइ नै शिकार खेलिरहेका थिए ।”
साँच्चै त्यस दिन मुनरिया चिलौनीधारमा तिघ्नासम्मको पानीमा उभ्भिएर धारको किनारको रूखमुनि बसेको नरेन्द्रदाइसँग कुरा गर्दै नुहाइरहेकी थिई ।
घरमा एक शब्द पनि नबोल्ने मनुरिया अहिले नरेन्द्रसँग ट्याउँ-टघाउँ बात मारिरहेकी थिई । नरेन्द्र भनिरहेका थिए- “राम्ररी साबुन लगा नि, आङमा, कपालमा । बडो राम्रो साबुन ल्याइदिएको छु मैले कलकत्ताबाट । कस्तो बास्ना छ, हगि ?”
मुनरियाले नरेन्द्रतिर फर्केर भनी - “छुचुन्द्रो जस्तो गनाउने छ तिम्रो साबुन ।”
त्यति कुरा हुँदासम्म हामीहरू नरेन्द्रको पछाडितिरै आइसकेका थियौँ । उनलाई देखेको भए त्यतापट्टि हामी लाग्ने नै थिएनौँ । टाढाबाट हामीले मुनरियालाई मात्र देखेका थियौं । नजिकै पुगेर पो नरेन्द्रले भनेको र मुनरियाले जवाफ दिएका सुन्यौं-र सुन्दा नसुन्दा हामी उनका सामुन्ने उभ्भिसकेका थियौँ । मुनरियाले मन नपराएको भावले टाउकोलाई पानीमा चुर्लुम्म डुबाई र नरेन्द्र जुरमुरिएर उठे; र हामीलाई हकार्नुभन्दा पहिले नै हामी भागिसकेका थियौँ ।
त्यस प्रकार चिलौनीधारमा हामीले पुग्नु किन ठीक भएन त्यो त मैले राम्ररी बुझ्न सकेको थिइनँ तर मनमा भने लागिरह्यो, ठीक कुरो भएन त्यो । मुनरियाले रिसाएर पानीमा चुर्लुम्म टाउको गाडेको र नरेन्द्र पनि रिसाएर बन्दूक समात्दै उठेको दृश्यले मलाई लाग्यो, कता-कता हामी उनीहरूभन्दा टाढा छौं र उनीहरूले रचेको एकान्तको संसारमा हाम्रो प्रवेश निषिद्ध छ । लाग्यो, बडो प्रयत्नले जोगाएर राखेको गोपनीयताको वातावरण थियो त्यो पाकडको रूखनिरको धारको, जहाँ मुनरिया नुहाइरहेकी थिई । नरेन्द्र रूखको फेदमा अडेस लाएर मुनरियालाई हेरिरहेका थिए । यस्तो गोपनीयताले मेरो मनमा लाज उत्पन्न गराउँथ्यो, र त्यस्तै लाजको अनुभव मलाई गौरीले लुकेर मेरो म्वाइँ खाँदा हुन्थ्यो ।
त्यसको केही दिनपछि, होलीको दिन नरेन्द्रले यस्तो उत्साह हामी केटाकेटीहरूमा भरिदिएका थिए कि रङ्ग र अबीरले घरलाई एक प्रकारले पोति नै दिएका थियौं हामीले । उनले नै हाम्रो दललाई लिएर हाम्रो घरसँगै जोडिएका साना-साना घर, छाप्राहरूमा बस्ने ग्रामीणहरूलाई हामीसँग होली खेल्ने हक दिएका थिए । यस्तो कहिल्यै भएको थिएन । मुनरियाको घरमा नरेन्द्रले आङ्गामा उभ्भिएकी मुनरियालाई पिचकारी हानेर उसको लुगा निश्रुक्क पारेर भिजाइदिएका थिए । मुनरिया पनि किन चुप्प लाग्थी, उसले पनि हाम्रो हातबाटै अबीर खोसेर नरेन्द्रको मुखमा पोत्न थालेकी थिई । नरेन्द्र र मुनरियाको खूब परेको थियो- पोतापोत, छ्यापछ्याप । खूब रमाइलो भयो । थपडी माौँ । मुनरिया कसरी सक्थी । उसलाई आनाको चिप्लो भुइँमा पछारेर नरेन्द्रले खूबसँग रङ्गले उसलाई पोतिदिए । मुनरियाको बाबु उभ्भिएर खोक्दै रमिता हेरिरहेको, बीच-बीचमा भन्थ्यो - “मालिकले हे, हे…” दाँत देखाएर हाँस्थ्यो ऊ- “छिः के गऱ्या’ भो भो…….”
त्यस दिन साँझसम्म गाउँ-घरमा हामीले उधुम मचाइदियौं । साँझमा हाम्रो घरको ठूलो कदमको रूखमुनि केही खाट ओछ्याइए; घरभरीका मानिस भेला भए र त्यहाँ नरेन्द्रले फागु गाए- “होरी हो व्रजराज दुलारे… वहुत दिन ते तुम मनमोहन फाग ही फाग पुकारे…।” दिवानजी, ओझाजी, नोकर-चाकर, वयलवान गैवार, भैंसवार सबैसँग रङ्गको भन्दा माटोको होली भयो हाम्रो । दूध दुहिरहेको बेला लछमनियाँले हकारेर भन्यो- “दूधमा धूलो पर्ला, बाबूहरू हो, नआऊ भसँग होली खेल्n ।”
साँझसम्म हामीहरू पनि लखतरान भएर थाकिसकेका थियौँ । घरभित्र पस्दा सधैंको जस्तो गौरीभाउजू एक्लै इनारको काठमा आफ्नो कुर्कुच्चालाई मली-मली सफा पार्दै थिइन् । उनको शरीरमा भने रङ्गको एक थोपा पनि परेको थिएन । कसैले उनीसँग फागु खेलेनछन्, मैलेसम्म पनि दिनभरिको उत्साहमा उनलाई चटक्कै बिर्सेछु । साँझमा उनलाई इनारमा झट्ट देख्दा मलाइ कुन्नि किन दोग-भावको अनुभव भयो । उनले देख्लिन् भनेर म झटपट लुकै । उनी इनारबाट गैसकेपछि मात्र म त्यहाँ नुहाउन पुगें ।
राती भात खाँदा उनले सोधिन्- “बाबू, खूब फागु खेल्यौ यसपालि, मैले मुण्टो गाडेर वेस्वादका गाँस मुखमा हालिरहें। उनले फेरि भनिन्- “थाललाई राम्ररी पुछेर खाऊ, म दूध हालिदिन्छु, त्यसैमा दूध-भात खाएर उठ्नु ।”
केटाकेटीहरू भान्साघरमा कोलाहल मचाइरहेका थिए- “भात, मलाई दाल, तरकारी…।”
त्यसको ठीक दुई दिनपछि- एक दिनको कुरा हो । चैतको महिना, दिउँसोको घाममा गर्मी चढिसकेको थियो । तर रूखको सियाँलमुनि भने रमाइलो हावा बग्थ्यो । हाम्रा बगैंचाहरूमा आँपका मुजुरा लटरम्म थिए र त्यसको तीखो गुलियो गन्ध हावामा फैलिरहेको थियो । नीम पनि आँपजस्तै फुल्न थालेको थियो । बेली, जुही र मोतिया पनि ढकमक्क फुलेका थिए ।
महारानीले भनिन्- “अब उदास लाग्ने दिन आउन थाले ।”
आमाले गाँसेको दुनाबाट सिन्का भाँच्दै भन्नुभयो- “अब आँप पाक्छ । गाउँमा रमाइलो हुन्छ । काशीबाट यसपाला पिताजीका धेरै साथी आउने भएका छन् ।”
गौरीले भनिन्- “चैतलाई मधुमास भन्छन्, होइन आमा ? सबै रूखबिरुवामा फूल फुल्छ । फूलमा सुगन्ध पनि र मह पनि हुन्छ । त्यसैले त हो नि हावामा कस्तो मगमग बासना छ । मौरी, भंवराहरू लट्ठिएर भू-भू गरिरहेका छन् । रूखमा लुकेर कोइली निसास्सिउज्यालसम्म कराउँछे ।”
सबैले गौरीको मुख हेरे, मैले पनि । कस्तो कलिलो मुख, वालिकाको जस्तो । त्यस्तै सानो जीउको बान्की पनि; आमाहरूको हूलमा नसुहाउने । तर कुरा भने कति बुझेको गर्न सक्ने मेरी गौरीभाउजू । अस्तिको फागुको रङ्गको दाग कानको पछिल्तिर, औंलाको नङमा र गोडाका औंलाका काप-कापमा अझै बाँकी थियो सबैको शरीरमा । केबल गौरी मात्र मात्र चोखी र दाग नलागेकी थिइन् ।
त्यसै वखत स्वाँ-स्वाँ र फ्वाँ फ्वाँ गर्दै सान्नानी आइपुगिन्; देब्रे हातको मुट्ठी पछाडिको भागले नाकमा बगिरहने सिँगान पुछदै हतारिएर भनिन्- “मुनरियालाई दाँती लागेको छ । उत्तरभरिया वगैंचामा, नरेन्द्रदाइ नभएको भए मर्ने थिइन् रे ।”
गौरी तत्कालै उठेर गइन् कुनै ठूलो कुरो देख्न पाइनँ भनेझै गरेर । सान्नानीले मलाई भनिन्- “सवभन्दा पहिले मैले देखें। हो सत्ये, उत्तरभरिया बगैंचाको कडुवा आँपको गाछमुनि नरेन्द्रदाइ मुनरियालाई वोक्न खोज्दै हुनुहुन्थ्यो । म घुम्दै त्यहाँ पुगेकी थिएँ, देखेर सोधें- “के भो दाइ, मुनरियालाई ?” वहाँले हकारेर भन्नुभयो- “दाँती लागेको किन ? जा, यहाँवाट ।”
…त्यस दिनको घटना मैले आजसम्म पनि कति स्पष्ट रूपमै सम्झिराखेको छु-
उत्सवका लागि नरेन्द्रले चैतीको सुरमा आफ्नो इसराजमा लय झिक्नु थियो रे- “चैत हे सखी फुलल बेली, करत मधु गुजार हो…..”
उनी एकान्त ठाउँ खोज्दै लडुवा आँपको रूखमुनि पुगेछन् रे । लडुवा आँपको गाछको उत्तरपट्टि, हाम्रो ठूलो आँपको बगैंचाको एकदम उत्तर सिमानामा, एउटा झ्याम्म परेको रूख थियो । त्यहीँनेर बाँसको ठूलो घारी पनि । दिउँसै पनि त्यो अँध्यारो चिसो ठाउँ । त्यसभन्दा पनि उत्तरपट्टि धेरै टाढासम्म खर, काँसको एउटा भिट्टा सुक्खा जमीन थियो, पाँच-छ बिघाको । त्यहाँवाट कहिले-कहिले खर काटेर ल्याउँथे र हाम्रो घरको छाना मरम्मत हुन्थ्यो । अहिले पनि त्यहाँ त्यस्तै खरका भ्याङ मात्रै थिए । त्यतातिर बिरलै कोही जाँदो हो, एकलासको ठाउँ । त्यहीँ मुनरिया घाँस काट्न जांदा मूर्छा परेर पछारिएको उनले देखेछन् र आफ्नो इसराजलाई रूखको फेदमा अड्याएर उसको दाँती छुटाउने कोशिश गरेछन् । त्यही बेला सान्नानी त्यहाँ पुगेकी थिइन् रे ।
सान्नानीको कुरा सुनेर जुण्टुनानीले देब्रे हातले आफ्नो हाँस्न लागेको मुख छोपिन्, मानौँ यस अवसरमा उनको हाँसो असामयिक थियो । मुखलाई छोपेको हातभन्दा माथितिर उनका दुई आँखा हाँसोले टल्किएर महारानीतिर हेरिरहेका थिए । महारानीले नबोलेर केवल ओठ लेब्रघाइन् । आमा मुण्टो निहुराएर खुरुखुरु पात गाँस्दै सिन्कालाई पट्पटी भाँच्दै मेशीनसरह काममा तल्लीन हुनुहुन्थ्यो । केही वोल्नुभएन ।
एक्कैछिनपछि म पनि कुदै सान्नानीसँग उत्तरतिरको वगैंचामा पुगें । पिताजी, वाबूसाहेव, भान्दाइ, नरेन्द्रदाइ सबै त्यहीँ हुनुहुँदो रहेछ । मुनरिया त्यहाँ थिइन । पिताजीले नक्सभोम ६० (Noxvom 60) दिनुभएछ । तर त्यो ओखती पर्नुभन्दा पहिले नै उसको दाँती छुटिसकेको थियो । तर हल्लीखल्ली भने त्यस दिन प्रशस्त भयो ।
आँखा नचाएर ठट्टाले बोलीमा जुण्टुनानीले पछि भनिन्- “कपालमा चमेलीको तेल, ओठ र गालामा लाली अनि गर्दनमा बेलीको माला-मुनरिया खूब सिङ्गारिएर त्यहाँ मूर्छा पर्न पुगिछ हगि ?” मानिसहरूलाई त मुनरियाको मूर्छाभन्दा उसको त्यस दिनको सिङ्गार बढी कौतूहलको कुरा भयो । गाउँ-घरमा त्यस्तो कसैले पनि पहिले देखेको थिएन रे । ओठ र गालामा लाली, कपालमा चमेलीको तेल र फेरि छातीमा बेलीको गजरा ।
महारानी, जुण्टुनानी र आमाले समेत, सबैले ओठ लेब्रचाए । केवल गौरीले मात्र मलाई राती आफ्नो कोठामा बोलाएर सोधिन्- “मुनरियाले ओठमा लाली लगाएकी थिई रे हो ? गालामा पनि ? कपालमा चमेलीको तेल, बेलीको गजरा पनि ?”
“म पुग्नुभन्दा पहिले नै मुनरियाको दाँती छुटिसकेको थियो र ऊ बगैंचाबाट गैसकेकी थिई । मैले उसको सिङ्गार देख्न पाइनँ” मैले भनें । “सान्नानीले देखेकी थिइन्, म त थिइनँ ।”
गौरीले मलाई टोलाएर हेरिरहिन् । मेरो मनमा उनका प्रति त्यसै माया उम्लेर आयो । भर्ने- “गौरीभाउजू …!”
अनि मुखबाट वाक्य नै निस्केन, उनलाई सुनाएर यो भन्न कि ‘गौरीभाउजू, तपाईं कति राम्री हुनुहुन्छ ।’
गौरीले भनिन्- “के बाबू ?”
म नबोलेर बसिरहें । एकछिन निकै उकुसमुकुसको बातावरण त्यहाँ भयो । त्यस दिन पनि गौरीले बडो मायासँग मलाई आफ्नो सानो छातीमा टाँसेर, सानो पाखुराले सकेसम्म मलाई थिचेर मेरो म्वाइँ खाइन् । कोठाबाट बाहिर निस्किदा मैले उनको आँखामा आँसु टलपल गरेको देखेको थिएँ ।
बाहिरबाट मैले सुनें बाष्पकण्ठको मधुरो आवाज उनको कोठाबाट आएको : “चैत हे सखी, फुलल बेली करत मधुप गुजार हो……
गौरी चैती गाइरहेकी थिइन्, जुन ग्रामीण गीतको धून समात्न इसराज लिएर एकान्तको खोजीमा नरेन्द्र उत्तरपट्टिको आँपको बगैंचाको लडुवा आँपको गाछमुनि पुगेका थिए । बाहिर त्यस दिनको जुनेली रात बडो मनोहर थियो ।
यस प्रकार साना-ठूला घटना प्रायः घटिरहन्थे । हामी बालकहरूले नबुझ्ने गरी मुनरिया र नरेन्द्रको कुरालाई लिएर सबैतिर कानेखुसी हुन्थ्यो । व्यङ्ग्यका कुरा हुन्थे र हुन्थे मुखामुख गरेर हाँसाहाँस ।
यस्तै पाकिएको वातावरणमा त्यस दिनको इनारको काण्ड भयो र नरेन्द्रले मुख्य घरलाई छाडेर एक रात मात्र बस्ने गरी ग्वाली-घरमा आफ्नो विछ्यौना लगाउन लाए । यसले गर्दा घरमा ठूलो खलबली आयो । स्थिति निःसन्देह बडो अप्ठ्यारो भयो, किनभने नरेन्द्रलाई आफ्नो सङ्कल्पबाट हटाउन बडो प्रयत्न परेको मैले देखें ।
आमाले त धेरैबेरसम्म ग्वाली-घरमा बसेर उनलाई सम्झाउने कोशिश गर्नुभयो । उनलाई कर्तव्यको कुरा सम्झाउनुभयो, समाजका प्रति र समाजले जोरेको सम्बन्धका प्रति । पाप-पुण्यका कुरा गर्नुभयो र भन्नुभयो- “नरेन्द्र, पापप्रतिको मोहलाई त्याग ।”
नरेन्द्रले भने- “सानीआमा, कर्तव्य अथवा अधिकारको कुरा गर्नु मिथ्याचार होइन र ? आत्मवलिदान एउटा ठूलो अहम्मन्यता हो जो महात्माको चरित्रसँग शायद बेमेल हुने छैन, तर मजस्तो साधारण व्यक्तिमा आत्मवलिदानी अहम्मन्यता अपात्रता हुन्छ । पापको कुरा पनि नगर्नोस्, केवल कृष्ण मात्रै त्यस्ता समर्थवान् अवतारी हुन सके जसले निष्पापभावनाबाट अबाध्य स्वच्छन्द यौन-आनन्द, प्रेम, प्रणयक्रिया, रासलीलाको भोग लिन सके । नत्रभने मृत्युलोकमा कुन त्यस्तो व्यक्ति छ जो आनन्दको-जुनसुकै आनन्द पनि, प्रणय आनन्दको मात्र म कुरा गर्दिनँ-भोग निष्पापभावनाले गर्न सक्छ ? मलाई त लाग्छ मानवसुखको साथसाथै पापभावना पनि त्यसको छायाजस्तै टाँस्सिएको हुन्छ ।”
आमाले उत्तरमा केवल विषादपूर्ण निराशमा यति भन्नुभयो- “नरेन्द्र, तिमीलाई मैले सम्झाउन सकिनँ । तर यति बुझै वासनाको यो तिम्रो प्रवल उद्वेगले सबैलाई विनष्ट गर्नेछ । भलो म देख्दिनँ ।”
राती भात खाइसकेपछि गौरीले मलाई आफ्नो कोठामा लगिन् । उनको अवस्था कस्तो होला आज, भनेर म डराइरहेको थिएँ । तर उनी बडो निश्चिन्तजस्ती थिइन्-शान्त । यो निश्चिन्तता पनि उनको बालिका-अनुहारमा अस्वाभाविकजस्तो लाग्यो मलाई । आज यदि उत्तेजित भएर मलाई सधैंको जस्तो आफ्नो बालिका-भुजा आबद्ध गरेर मेरो ओठको अप्ठयारो म्वाइँ उनले खाएको भए मलाई बडो स्वाभाविक कुरोजस्तो लाग्थ्यो । तर उनले स्थिर स्वरमा मलाई सोधिन्- “वहाँले के खानुभो ? भोलि कति बजे जाने रे ?”
अनि एकछिनपछि फेरि भनिन्- “बाबू, मैले गर्दा यस्तो विघ्न परिआयो परिवारमा, हगि ? पाप काम नगरे पनि पाप-भोग किन मानिसले सहनुपर्छ, भन न ?”
एकछिन चूप लागेर उनले भनिन्- “सानीआमाले पनि सम्झाएर वहाँलाई रोक्न सक्नुभएन रे । अब एक जना छ शायद उसले वहाँलाई गाउँमा रोकेर राख्न सक्छ ।”
अण्डीको ओढ्ने काँधमा बेरेर उनले मेरो हात समात्दै भनिन्- “मसँग हिँड, मुनरियाकहाँ जाऊँ ।”
मैले भनें- “यति राती ? यो अँध्यारो रातमा ??”..
“तिमी डरायौ, बाबू ? म छँदै छु नि, अँध्यारोको के डर ?” भन्दै गौरी मलाई लिएर घरको दक्षिणपट्टिको बाटो लागिन् ।
गौरीको कत्रो असम्मान हुन आँटेको छ भन्ने सोचेर मेरो मुटु चिरिन थाल्यो । क्षत्रिय कुलकी विवाहिता पत्नी, सम्भ्रान्त परिवारकी मर्यादित वधू, गौरीभाउजू मेरी, आज अँध्यारो रातमा लुकेर पतिकी उपपत्नी, रखौटीको, जो घरमा दासीको काम गर्छ, नेहोरा गर्न पुगिरहेकी छिन्- ‘जनी गर मुनरिया, वहाँलाई जान नदेऊ । जसरी भए पनि आफैसँग यहीं राख ।’
तर भगवान्ले गौरीको लाज राखिदिए । मुनरिया आफ्नो घरमा थिइन । उसको विरामी बाबु एक्लै कराइरहेको थियो । द्विरागमन गराउन आएको मुनरियाको दुलहा साँझदेखि मुनरियालाई खोज्न हिँडेको, घर फर्केको थिएन । ईश्वरले रातको अन्धकारको आवरणमा गौरीको मर्यादाको रक्षा गर्दै उनलाई घर फर्काए । घरमा गौरी बाहिर गएको कसैले चाल पाएन ।
गौरीले एउटा मोटो खाम मलाई दिँदै भनिन्- “यो चिट्ठी वहाँलाई दिनू है!”
म कोठाबाट बाहिर निस्कन पनि पाएको थिइनँ, एउटा लामो सास फेरेर थकाइ मारेको जस्तो गरेर गौरी ओछयानमा पछारिइन् । मलाई लाग्यो, उनको संयम अव टुट्ने भयो, उनले अहिलेसम्म दृढतापूर्वक लुकाएर राखिराखेका आखा जव रसाउँछन् र छलछल गरेर तिनबाट आँसु झर्न थाल्नेछ । मलाई एकचोटि लाग्यो, कोठाभित्र फर्केर जाऊँ र भनूँ- ‘गौरीभाउजू, तपाईंले आज मेरो म्वाइँ खानुभएन !”
तर म कोठाभित्र फेरि फर्किनँ, न त त्यो चिट्ठी लिएर ग्वाली-घरमा नरेन्द्रकहाँ नै गएँ । मैले चिट्ठी आफैंसँग राखें । नरेन्द्रको त्यस चिट्ठीको अपहेलना मेरा लागि असहनीय हुने थियो । अनि मेरा लागि यो पनि असहनीय थियो कि गौरीलाई चिट्ठी फर्काएर भनूँ, नरेन्द्रले चिट्ठीको तिरस्कार गर्लान् भनेर चिट्ठी दिइनँ उनलाई । गौरीमाथि निरन्तर परिरहेका जीवनका चोटहरूलाई एकचोटि भए पनि मैले यो वाल-कपटबाट आफ्नो सानो हत्केलाले थाम्ने कोशिश गरें । चिट्ठी अझै मसँग छ ।
आज पनि, यति दिनपछि पनि, जब म त्यस चिट्ठीलाई हेर्छु, मलाई जीबनको ठूलो निरर्थकताको बोध हुन्छ । जीवनमा शायद सुख-दुःख, पाप-पुण्यको कुनै तारतम्य छैन । आज पनि गौरीभाउजूको यो बाक्य - ‘पापको दण्डको लागि पाप-कर्म गर्नु पर्दैन हामीलाई’- मेरो मस्तिष्कमा शून्यबाट ध्वनित हुँदै आउँछ र जीवनलाई एउटा नीरस मरुभूमिमा परिणत गर्छ । जीवन के एउटा अर्थहीन यात्रा मात्र हो, जुन यात्रामा पाप-पुण्यसँग सुख-दुःखको कुनै तारतम्य छैन ? केवल एउटा तर्कहीन अव्यवस्था हो यो मानव-जीवन ?
गौरीले लेखेको चिट्ठी
“प्राणाधार !
के भनेर सम्बोधन गरूँ हजूरलाई ? मैले हजूरको प्रेम पाइनँ, प्रिया हुन सकिनँ म । तर प्रेमको कुनै अपेक्षा नगरेर, के म आफ्नो तरफबाट एकोहोरो प्रेम अर्पित गरेर हजूरलाई ‘प्राणाधार’ भनेर बोलाउन पाउँदिनँ र ? हृदयले बारम्बार साउतीको स्वरमा यही सम्बोधनद्वारा हजूरलाई बोलाउने गरेको छ । आज कलमले मेरो यही हृदयको वाणी समातेको हो ।प्राणाधार ! मेरो के दोष छ र यसरी म प्रेम पाउने अधिकारबाट त बञ्चित भएँ-भएँ, सेवा गर्ने अधिकार पनि मबाट खोसियो ? मेरो प्रार्थना पनि यति मात्र त हो नि, कि हजूरले टेकेको ठाउँमा म आफ्नो मस्तक राख्न पाऊँ र हजूरको श्रीचरणको सेवा गर्न पाऊँ । पत्नीले भिखारिणी भएर याचना गर्छ, प्रेमका लागि होइन - हे भगवान्, एकछिन मेरो आँसु थाम- सेवा गर्न पाऊँ भनेर । तर आज यो याचना दिनातीत र अप्रासङ्गिक भैसक्यो, किनभने सुन्दछु, भोलि हजूर यो घरलाई सदाका लागि त्यागेर निस्किने रे । यो घरमा मेरो कुनै स्थान कहिल्यै पनि भएन; अन्यथा म स्वयं यहाँवाट आफूलाई निष्कासित गरेर यो घरलाई हुन लागेको अनिष्टबाट शायद बचाउने थिएँ । मलाई लाग्छ, यद्यपि प्रकट रूपवाट मैले आफूलाई आफैंमा सीमित राखेर आफ्नो शून्य कोठाबाट एक्लो जीवन बिताइरहे पनि, यो समस्त दुर्दैन्यको अन्तिम कारण म नै हुँ । मैले यहाँ स्थान खाली पारिदिए टुट्न लागेको गृहव्यवस्था फेरि शायद जोडिने थियो कि ? तर मैले यस घरमा आफ्नो स्थान नै कहाँ बनाउन पाएँ र कि आज स्थान खाली गर्ने प्रश्न नै उठोस् :
मलाई सम्झना छ, मैले पहिलाचोटि सुखसपनामा आफूलाई विर्सेर आनन्दको पाइलो चाल्दै वधू भएर प्रवेश गरेको यस घरभित्र । म पहाडकी अशिक्षित गरीब बालिका थिएँ । विवाहको मण्डपमा जब लाजको आँखाले हजूरलाई चोरेर मैले हेरेकी थिएँ, त्यस वेला मैले हजूरको शिरमा सेतो सिल्कको फेटा र निधारमा उज्याला टीका देखेर नै मैले आँखा चिम्लिदै मनमनमा भनेकी थिएँ-म कति भाग्यवती छु; शिवप्राप्तिको मेरो सुख ईर्ष्यालु देवतालाई सह्य भएनछ । म एउटी क्षुद्र बालिकाले जगन्माता पार्वतीको स्पर्धा गर्न चाहनु मेरो दुष्परिणामदायी गर्व थियो । यस घरमा मैले बिताएको प्रथम रात-मेरो सौभाग्यरात्रि, मधुरात्रि । हजूरले सम्झिबक्स्यो होला, मेरो त्यस समयको लज्जाको व्यवहार एकान्त भावले सम्पूर्णरूपबाट आफूलाई हजूरको बनाउन अप्ठयारो मानेर भएको हो । त्यस अवसरमा अप्ठघारोपन र लज्जा स्वाभाविक पनि हुन्छ । अँध्यारो कोठामा प्रणय-शय्यामा जब हजूरको हात मेरो शरीरको अनुसन्धान गर्दै हिँडिरहेको थियो, त्यस बखतमा मलाई लाग्यो, हे भगवान् मलाई अझै अविकसित बालिका नै किन राख्यौ ? मलाई स्वयं आफ्नो शरीरको अपर्याप्तताको मार्मिक अनुभव भयो र म लज्जाले झन् झन् डल्लो पर्दै गएँ । एकछिनपछि हजूरले कम्पित स्वरमा भन्नुभयो- ‘सानी रहिछौ ।’ र एकछिनपछि स्वरलाई स्थिर पारेर सोध्नुभयो “कति पढेको छ, तिमीले ?” "
जति जति हजूर मबाट टाढा हुँदै जानुभयो उति-उति म आफ्नो शारीरिक र मानसिक अपर्याप्ततालाई पूरा गराउने प्रयत्नमा लागें । शरीर र बुद्धिलाई हजूरको योग्य बनाउन मैले के गरिनँ ? पौष्टिक भोजन, लोभीको जस्तो स्वार्थी भएर दूध, घ्यू र मेवाहरूको सेवन गर्दै, निर्लज्ज भएर दिनभरि सिँगारपटारले आफूलाई राम्री पार्दै दिन-प्रतिदिन म ऐनाको अगाडि उभ्भिएर आफ्नो शरीरको विकासलाई हेरिरहन्थें । म हजूरको आँखाले यस शरीरलाई हेर्न खोज्थें । हजूरकी अर्धाङ्गिनी हुनका लागि पुस्तक हेर्न थालें, मास्टर राखेर पढ्न थालें । गाना-वजानामा हजूरको सोख देखेर स्वयं परिवारको मर्यादालाई पनि ख्यालसम्म नराखी गाना सिक्न थालें । इसराज बजाउन थालें, हजूरले गाएका गीत म गाउन थालें । तर म हजुरबाट टाढा हुँदै गएँ; र अन्तमा ससुराज्यू र हजूरको झगडाको घानमा म निर्धो प्राणी परेँ । म त्यक्ता भएँ र आज त्यसको अन्तिम स्थितिमा म पुगिसकेकी छु, अपरोक्ष भए पत्ति, म नै त्यस्तो अन्तिम कारण हुन गएँ कि हजूरले गृहत्यागको चरम निर्णय लिनुपर्यो ।
कहिले-कहिले मलाई यो ध्यान पनि आउँछ र आज त झन् मलाई अशान्त पार्दै वारबार आइरहेको छ- म नै यदि यी भयानक दुर्दैन्यको कारण हुँ भने किन त्यस कारणलाई अन्तिम रूपबाट विसर्जन नगर्ने ? आत्महत्याको विचार आवेशको परिणाम होइन, क्षणिक उन्माद होइन किनभने यत्तिका दिनको चिन्तनले पाकेर निर्णयको रूप लिन चाहने भावनालाई उन्मादको संज्ञा कसरी दिनु ? कति दिन मैले यस विचारसँग रात-दिन समय बिताएँ; अनुद्विग्न शान्त चित्तले यसको साहचर्यमा मेरा कति एकान्त क्षण बितेका छन्, तर के आत्महत्या त्यस्तो अन्तिम पाइलो हो जो बगेको पानीमा कुनै छाप नछाडेर, विलीन भएर समाप्त हुन्छ ? मेरा लागि आत्महत्या एउटा हसज उपाय होला तर अरूहरूका लागि, हजूरका लागि नै, यो अपहत्याले समस्यालाई सजिलो पार्ने सट्टा सदाका लागि झन् जटिल पार्ने त होइन ? फेरि आत्महत्याको विचारमा मेरो पत्नीत्वको अहम्मन्यता छैन र ? जे भए पनि म पत्नी भएर यस घरमा आएँ, मृत्युमा पनि पत्नी नै भएर म चितामा चढ्नेछु । अझै पनि मलाई लाग्छ, मेरो समाप्तप्रायः नारीत्वको अभिमानको अवशेष होला कि मेरो मृत्युले झन् हजूरलाई सदाका लागि निष्पाप प्रेमका निम्ति असमर्थ तुल्याउनेछ । त्यसो हुनाले, जीवनमै मृत्युलाई आलिङ्गन गरेर, आफूमै पूर्णरूपले सीमित रहेर, यस घरको एउटा सानो कुना समातेर समय काटिरहेकी छु ।
हिजो बाबूसाहेबले मलाई भन्नुभयो, मैले पारिवारिक गृहकार्यमा भाग लिन सक्छु र हजूरलाई यसमा कुनै आपत्ति छैन रे । मैले वहाँसित बिन्ती गरेँ- ‘बाबूसाहेब, मैले गृहकार्य कसैको आपत्तिले त्यागेको होइन । म जुन कुनामा छु त्यहाँबाट मलाई नझिक्नोस् । मलाई दुश्चिन्ता हुन्छ तपाईको यो प्रयत्न देख्दा ।’ वहाँले भन्नभुयो- ‘पति-पत्नीको स्वाभाविक स्थानमा तिमीहरू आपसमा मिल भनेर कहाँ भनेको हो र ! केवल परिवारको दैनिक जीवनमा तिमीले सजिलैसँग सामूहिक रूपबाट भाग लिन सक भन्ने मात्र मेरो उद्देश्य हो । देख्दिनौ, परिवारमा तिमीहरूको सम्बन्धले गर्दा कत्रो अप्ठयारो तनाउ छ ?”
तर हिजाको आजै यो घटना भयो ।
प्राणाधार ! यो घर नछाडिबक्सियोस्ः मबाट अगाडि सर्ने कुनै प्रयत्न हुने छैन । म पुनः आफ्नो कुनाभित्र फर्कन्छु । हजूरलाई म यस घरमा छु भन्ने पनि थाहा हुने छैन । मबाट निस्फिक्री भएर यस घरमा राज गरिबक्स्योस् । मैले कुनै किसिमको आशा गर्ने बानी पनि छाडिसकेकी छुः त्यसो हुनाले मलाई अस्तित्वहीन जीवन बिताउन गाह्रो पर्ने छैन ।
श्रीचरणकी दासी,
गौरीपुनश्च-
मुनरियालाई आज बैनीको पदमा स्थापित गरेर उसको पनि सहायता लिने प्रयास गर्छु । यो सम्भव भएन भने म आफैं अन्तिम जोडबाट हजुरलाई यस घरमा थाम्ने प्रयत्नमा यो चिट्ठी पठाउँदै छु ।” ☐
यदि केही वर्षपछि दुई नारीको विश्वासपात्र हुने अप्ठयारो स्थितिमा म नपरेको भए यो कथा यहीं दुङ्गिन्थ्यो ।
नरेन्द्र आफ्नो सङ्कल्पअनुसार भोलिपल्टै गाउँ छाडेर गए । मुनरियाको पत्तो भएन । केही दिनसम्म यसवारे गाइँगुइँ कुरा भएपछि अलि-अलि गर्दै कुरा सेलाउँदै गयो र घरको काम फेरि यथावत् चल्न थाल्यो; जुण्टुनानीको गीत-गजल, महारानीको रामायणपाठ पहिलेकै जस्तो चलिरह्यो; पिताजीको स्वराज्य, सुराज, साम्यवाद, आतङ्कवाद, अहिंसावादको गम्भीर चर्चा जारी नै रह्यो । आमाहरू घरकाजमा लाग्नुभयो, कप्तान्नी आमाको ब्रह्मानन्दपाठको समय केही बढघो र पूजाआजा पनि केही लामो हुँदै गयो । गौरीको तपस्या पुनः एक्लो कोठामा सधैंको जस्तो चलि नै रह्यो । हामी केटाकेटीहरू पनि पहिलेकै जस्तो खेलकुदमा लागिरह्यौँ । आँपको बगैंचाको मचानमा सान्नानीसँग उत्तानो परेर लेट्दै कुरा गर्दा सान्नानीले एकचोटि मुनरियाको कुरा चलाएकी थिइन्- “दाइ र मुनरिया सँगसँगै भागेर गएका हुन्, कुरा मिलाएर, बुझ्यौं ? गाडीवानले पनि नरेन्द्रदाइलाई टेशनमा पुऱ्याएर आएपछि भनेको थियो- ‘मैले मुनरियालाइ पनि टेशनमा देखेको जस्तो लाग्यो तर ऊ मलाई देख्नेवित्तिकै लुकी’ ।”
मैले सान्नानीलाई सोधें- “लुकेर किन भागेकी, सान्नानी ?”
सान्नानीले भनिन्- “मुनरियाको दुलहा गौना गरेर लैजान आएको थियो ! नभागेकी भए त्यसले लगिहाल्थ्यो नि मुनरियालाई !”
दिन बित्दै गए । हामी केटाकेटीहरू पनि ठूला हुँदै गयौं । सान्नानीको बिहेको कुरा चल्न थाल्यो । विस्तार-विस्तार उनले मेरो सङ्गत छाड्न थालिन् । म पनि व्रतबन्ध गरेर काशी गई पढ्ने भएँ । मिठु पनि काशीमै पढ्ने रे । यसरी नयाँ व्यवस्थाको चर्चा चल्दा कहिले कहिले नरेन्द्र र मुनरियाको कुरा पनि ठूलाबडाहरूमा चल्थ्यो । उनीहरू कहिले नेपाल जान्छन् रे । वनारसमा हाम्री जीआमा काशीवास गर्न बस्नुभएको थियो, त्यहाँ पनि गएर उनीहरू केही दिन बसेछन् । मनुरियालाई लोग्नेमानिसको लुगा लगाएर ‘लखनउको एउटा साथी’ भनेर नरेन्द्रले त्यहाँ राखेछन् । काशीकी हाम्री नोकर्नीले थाहा पाइछ । तर त्यहाँ सबैले मुख थुन्न जानेका थिए । कसैले मुख फोरेर चर्चा गरेनछन् । गाइँगुइँ मात्र भएछ, त्यत्ति । काठमाण्डुमा पनि त्यही रूप लिएर दुवै पुगेछन् ।
वालककालको समय वडो छिटै बित्छ । हेर्दाहेर्दै मेरो व्रतवन्ध भयो । सान्नानीको विहे भएर ससुराली गइन् । म पनि एक दिन गाउँलाई छाडेर बनारस पढ्न आएँ। मेरा लागि गाउँको खुला मैदान, त्यहाँका विभिन्न फूलपातहरूको सुगन्धी लिएर बग्ने हावा, कोशी र त्यसको फाँट, मेरा गैवार, भैंसवार गोठाला साथीहरू, चिलौनीधारको झिझरी, फुलकाहीको भूला-सवै टाढा भए । बनारसमा आएर म केही दिन टुहुरोजस्तो भएँ, तर बिस्तार-बिस्तार पढाइ र बनारसका नयाँ साथीहरूको सहवासले गाउँलाई बिर्सिदै गएँ ।
बनारस आएको दुई वर्षपछि, म म्याट्रिकमा हुँदो हुँ, एक दिन जाडोको सन्ध्यामा चौकबाट टहल्दै घर फर्किदा म ठठेरी बजारको फुपूको घरमा पसें । बूढी फुपू विरामी भई धेरै दिनदेखि कुँजिएर काशीगति प्राप्त गर्न पर्खेर बसेकी थिइन् । उनका छोरा-भतिजाहरू बनारसमै जन्मेर हुर्केका थिए र उनीहरू बनारसको रसिकमण्डलीका सदस्य थिए । त्यस घरभित्र पस्दा मैले झुलुक्क मुनरियालाई देखें । छिंडीको धारोमा पानी भरेर कम्मरमा पित्तलको ठूलो गाग्री अड्याएर एक-एक खुड्किलामा विस्तार-विस्तार गोडा राख्दै ऊ उक्लिरहेकी थिई । म पनि त्यही साँगुरो पत्थरे सिँढीमा उक्लिरहेको थिएँ पछिल्तिरबाट । मुनरियाले फाटेको धोती लाएकी थिई, जसलाई धेरै ठाउँमा सिएर राख्दा पनि ठाउँ-ठाउँमा शरीरको लज्जा निरावरण भएको थियो । शरीर झन् पुष्ट भएछ र स्निग्ध । मैले भनें- “मुनरिया !”
उसले माथि उक्लेर गाग्रीलाई भुइँमा राख्दै बैठकको ढोकानिर मलाई देखेर सानो चीत्कार गर्दै भनी - “सानोबाबू, तिमी यहाँ ? गाउँमा कस्तो छ ? घरमा सबैलाई कस्तो छ ?”
मैले देखें मुनरियाका चञ्चल आँखा झन् चञ्चल भएका छन् र केही कुञ्चित भएका चिल्ला पुष्ट, स्निग्ध, रसयुक्त र झन् राता छन् । अनुहारमा पनि झन् एकदम नूतन स्निग्धता थियो र केश पर्याप्त तेल-प्रसाधन पाएर काला नागका जस्ता चिल्ला पिठ्यूँमा लहरिंदै झरेका थिए । कहाँ गाउँकी एउटी केटी र आज मेरो अगाडि उभ्भिएकी नगरकी पूर्णवयप्राप्त तरुणी । शरीरका अवयवले चिल्लो डोलो वान्की धारण गरेको । उसले फाटेको धोतीको फुर्कोले शरीरको माथिल्लो भाग ढाकेकी थिई तर त्यो फिसफिसे कपडाले न त लज्जालाई नै ढाक्न सकेको थियो न उसको पूर्ण प्रस्फुटित यौवन-सौन्दर्यलाई नै । अहिले त्यो धोती पनि पानीले भिजेर उसको शरीरभरि ठाउँ-ठाउँमा मुजा पर्दै टाँस्सिएको थियो । धोतीको फुर्कोले उसले आफ्नो मुख पुछी र मलाई बडो आर्द्र भएर मायाको स्वरमा ‘सानोबाबू, मेरो भाइ !’ भनेर बोलाई ।
उसको कपालमा धाराबाट छरिएका पानीका साना-साना छिटा टल्किरहेका थिए । गाउँमा छँदा म कहिल्यै उसको नजिक भएको थिइनँ । एक प्रकारले हामी केटाकेटीहरू उसलाई शत्रु-पक्षी मान्थ्यौं ! हाम्रो पक्षमा गौरीभाउजू थिइन् । मुनरियाले गाउँमा एकचोटि पनि मलाई बोलाएकी थिइन । आज यो बिरानो शहरमा देउता पाएको जस्तो गरेर, आफ्नै साक्खै भाइसँग धेरै दिनमा भेट भएको जस्तो गरेर, मलाई समातेर भनी- “गाउँको के हालखबर छ ? पिताजीलाई कस्तो छ सानोबाबू ? आमालाई नि ? भन न, कप्तान्नी आमालाई, गौरीलाई,. सप्पैलाई कस्तो छ ? सान्नानीको बिहे भयो ? मेरो बाको रोग कस्तो छ ? फगुनी कहाँ छे ? लेलहा ? भटना……? भन न मेरो भाइ, भन न……।” गाउँका एक-एक जनालाई पनि नबिर्सिएर मुनरिया सबैको हालखबर मसँग सोध्न थाली । म पनि बिर्सिन लागेको गाउँको स्मृतिले एकछिन फेरि भरिएँ ।
भित्र बैठकबाट पुरुष-वोलीको खलबल आइरहेको थियो ।
मैले भनें- “मनुरिया, गाउँको केही खबर मलाई थाहा छैन । म पनि यहाँ आएको धेरै भयो । अँ, सान्नानीको बिहे भयो ।”
उसले चिसो सास फेरेर भनी- “मेरो बाको के हाल भयो होला ?”
अनि आफ्ना ठूल्ठूला आँखा उचालेर मलाई टुलुटुलु हेर्न थाली । मलाई लाग्यो - ती भित्रबाट बाकिँदै रसाउन आँटेका छन् । उसको ओठको व्यङ्ग्यमय कुटिलता केही खुम्बिएर झन् वक्र भयो, एकदम अस्वाभाविक किसिमले । एउटै अनुहारमा आँखाको द्रवितता र ओठको व्यङ्ग्यमय बङ्गिमता । मलाई लाग्यो, आफ्नै जीवनको करुणामय क्षणका प्रति मुनरिया व्यङ्ग्यमय उपेक्षाले ओठ लेब्रचाइरहेकी छे ।
उसले अस्फुट स्वरमा कम्पित ओठले भनी- “कठै ! मेरो गाउँ सदाको लागि मबाट टाढा भयो, मेरा सबै टाढा भए । सबै सदाका लागि……!”
गाउँको चैते हावाको न्यानो झोक्का मेरो मुखमा परेजस्तो लाग्यो मलाई । स्मृतिले शायद सबैको मनलाई उदास र मायाको लेप लगाइदिन्छ । मैले अन्योलमा परेर स्नेहले सोधें- मुनरिया, किन यस्ता कुरा गरिरहेकी छघौ तिमी ? नरेन्द्रदाइ कहाँ छन् ?”
उसले भनी- “उनी पनि मलाई छाडेर गए । मेरो जीवनको आधार नै चुँडिएको छ, सानोबाबू !”
बडो आर्तकण्ठले उसले मलाई भनेकी थिई- “नरेन्द्र छैनन् मसँग, म एक्ली छु, एकदम एक्ली । यो बिरानो मुलुकमा… निराश्रिता !”
उसका रसाएका आँखाबाट आँसुका दुई थोपा भुइँमा खसे । उसले धोतीको फुर्कोले फेरि मुख पुछी । म अप्ठयारो मानेर उभिरहें। ऊ एकनासँग चुपचाप तपतप आँसु खसाल्न थाली । उसको ओठ व्यङ्ग्यमयतामा पनि बीच-बीचमा काँप्थ्यो, मानौँ ऊ केही भन्न खोज्थी तर मुखबाट शब्द झिक्दा आँसुको बाँध टुट्ला भन्ने भयले चुप्प उभ्भिएकी थिई ।
भित्र बैठकमा रसिकमण्डलीको खलबल चालू नै थियो । कसैले उच्च स्वरमा भनेको मैले सुनें- “हाम्री द्रौपदी खोइ……?”
एकै स्वरले सबै हा हा… गरेर हाँसे । बैठकमा रसरङ्गको ठूलो ज्वार आयो । कसैले ढोकातिर मुख फर्काएर बोलायो- “मुनरिया !”
मुनरियाले सचेत भएर फेरि धोतीको फुर्कोले मुख पुछी, अनि मलाई भनी- “नजानू न अहिले ! त्यो मेरो कोठामा एकछिन बस है ? तिनीहरूको रमिताको कुरो बनिदिएर म आइहाल्छु ।”
पत्थरको जालीले घेरेको सानो चोकपारिको अगाडिपट्टिको कोप्चे कोठालाई देखाइदिएर आफू लुगा तानतुन पार्दै बैठकभित्र पसी । म मुनरियाको कोठाभित्र आएँ: सानो कोठा, साँगुरो, अँध्यारो; पूर्वपट्टिको आँखीझ्यालमा फलामका डण्डी लागेका थिए । त्यसैबाट केही मसिनो उज्यालो त्यहाँ छिरेको थियो । कोठाभित्र पुगेपछि मैले यसो हेरेँ, एउटा मैलो ओछयान भुइँमा ओछ्याइएको थियो र नजिकै एउटा बाकस । मलाई ओछयानमा बस्न मन लागेन र म आँखीझ्यालमा उभ्भिएर बाहिरको दृश्य हेर्न थालें । अगाडि एउटा सानो खुला ठाउँ थियो; त्यसमा केही फूलका विरुवाहरू थिए; जुही, चमेली र बेलीका लहराहरू, एउटा पारिजातको सानो बोट, दारिमका हुर्किन नसकेका दुई-तीनवटा भ्याङ र कागतीको एउटा सुक्न लागेको विरुवा । त्यस बगैंचापारि एउटा जौहरीको चारतले ठूलो घरको पछिल्लो भागको भित्तामा लहरैसँग बनेका एकनासका झ्यालहरू, तलैपिच्छे तह परेर त्यही बगैंचापट्टि खुल्थे । जौहरीको घरको ढोका अर्कोतिर थियो, अर्को सडकपट्टि ।
म त्यसै उदास भएँ । मुनरियाका प्रति त्यसै ममता जाग्रत् भएर आयो । जो गाउँमा तमाम दैन्यको कारण थिई, कुनै अपराधिनी दानवीजस्ती लाग्थी, त्यही मुनरिया आज म, गाउँको एउटा क्यैनक्यैको किशोरलाई देखेर कति विह्वल भएकी ! उसका गर्विला आँखाको आँसुले त्यसको अरक्षिततालाई मेरो सामुन्ने उदाङ्ग पारिदिएको थियो । बैठकमा उसलाई सम्बोधन गरेका रसिकतामय वाक्यहरू म सुनिरहेको थिएँ- “केको नखरा, मुनरिया ! सतीको आचरण द्रौपदीले !… नरेन्द्र अब आउँदैनन् हामीमध्ये अब कसैलाई रोज… हा हा हा हा…।”
मलाई लाग्यो, मुनरिया निस्सहाय भएर कुनै द्रौपदीजस्ती दुर्योधनको सभामा वस्त्रावरणको अपर्याप्तताले लज्जित भएर भुइँमा मुण्टो गाडेर उभ्भिरहेकी होली । कहिले-कहिले सभाको रसिकता र मनोरञ्जकताको ध्वनिसँग बेमेल उसको स्वर पनि मकहाँ पुग्थ्यो, पुरुषहरूको निर्लज्ज आचरणका प्रति दुत्कारेका केही शब्दहरू । के भनिरहेकी थिई, त्योचाहिँ म स्पष्ट सुन्दिनर्थे ।
मेरा लागि वातावरण क्षुब्ध थियो । भयालमुनिको रूखो बगैंचामा एक जोडा सारौं कहाँबाट उड्दै आए र सुकेका पातलाई खस्याकखुसुक गरेर एकछिन केही खोजेको जस्तो गर्न लागे, फेरि उडेर भुइँनजिकैको एउटा हाँगामा गएर बसे । म उभ्भिएको भ्यालको ठिक्क सामुन्नेको जौहरीको घरको झ्यालमा एउटा प्रौढ पुरुष, जसको लामो कपाल-स्वास्नीमानिसको जस्तो लामो गर्दनमाथि झुलिरकेको थियो, आएर उभ्भियो । उमेर छिपिइसकेको, पचास वर्षको पुरुष हुँदो हो त्यो । मलाई लाग्यो त्यही हो जौहरी, त्यो ठूलो घरको मालिक । सारौंहरू त्यसै आपसमा कण्ठध्वनिको आदान-प्रदान गर्न थाले, त्यो बगैंचाको एकान्तको आनन्दमा अचानक आफू दुईलाई मात्र पाएर । मेरो ध्यान जौहरीको झ्यालबाट झरेर तल ती दुई चराहरूको प्रणयक्रीडापट्टि गयो । सूर्यका बाँकी रहेका किरणको पहेंलो आभा जौहरीको घरमा परिरहेको थियो- मधुरो पातलो ।
फेरि एकचोटि बैठकमा कोलाहल भयो । अनि फेरि मुनरियाको मसिनो स्वर सुनियो ।
कठै ! मुनरिया, जीवनको कुन द्यूतमा हारिएकी तिमी कुन युधिष्ठिरबाट ! नरेन्द्र कहाँ छन् ? किन कोही गाण्डीव उठाउँदैन तिम्रो सम्मानको रक्षाका लागि ? गाउँमा नरेन्द्रको प्रतापको अगाडि त कोही टिक्न सक्दैनथे । तिनको आधार किन लोप भयो अहिले ?
एकछिनमा मुनरिया पुरुषहरूलाई बैठकमा कोलाहल मचाउन छाडेर धोतीको फुर्कोले मुख पुछ्दै कोठाभित्र आई। मैले देखें-उसका आँखा दीप्त भएर बलिरहेका छन् र उसको छाती वेगपूर्वक लिइरहेको सासले गर्दा उठ्ने-बस्ने गरिरहेको छ । मैले उसको उग्ररूप देखेर भयालमा उभ्भिएको उभ्भियै उसपट्टि मुण्टो फर्काएँ र उभ्भी मात्र रहें।
एकछिनपछि मैले नै भनें- “मुनरिया, तिम्रो यो दशा देखेर माया लाग्छ मलाई ।”
ऊ केही बोलिन । मैले फेरि सोधें- “नरेन्द्र कहाँ छन् ? किन उनी तिम्रो रक्षा गर्दैनन् ?”
त्यस बेला मैले विर्से कि मेरी प्यारी गौरीकी सौता मेरो सामुन्ने उभ्भिएकी छ । मलाई केवल एउटा कुराको मात्र ध्यान थियो- नरेन्द्रले आफ्नी प्रियाको रक्षा गर्नुपर्ने । मुनरियालाई कुनै प्रकारको पनि असम्मानबाट बचाउन उनले आफ्नो पुरुषत्वको खड्ग अहिले पनि नाङ्गो पारेर उचालिराख्नुपर्ने ।
बालकको निर्दोषतामा मैले सेतो र कालो भनेर जुन दुई पक्षमा मानिसको वर्गीकरण गरेको थिएँ, त्यसको पार्थक्य-रेखा मेरो आँखाले अगाडि नै, मैले देख्दादेख्दै धमिलिन थाल्यो । मुनरिया त्यस्ती काली त रहिनछ । के साँच्चै मानिसलाई नजिकैबाट हेरे त्यो त्यस्तो कालो प्राणी हुँदैन जस्तो टाढाबाट हामी उसलाई भन्ठान्छौं ? के मानिसलाई चिन्नु नै त्यसलाई क्षमा पनि गर्नु हो ? मलाई त्यस दिन मुनरियालाई देखेर लाग्यो- यस्ती निर्धी नारीलाई केको दोष दिने ?
त्यसपछि म उसकहाँ प्रायः जान थालें । बैठकतिर त कहिल्यै पनि गोडा हाल्दिनथें, सोझै उसको सानो अँध्यारो कोठामा जान्थें । विस्तार-बिस्तारै नजानिंदो गरेर स्नेहको सम्बन्धमा हामी बाँधिन थाल्यौं । ऊ मेरा लागि पर्खिन थाली र म पनि स्कूलबाट छुट्टिनेबित्तिकै उसकहाँ एकछिनमा लागि भए पनि पुग्न थालें ।
उसले मलाई एक दिन भनी - “सानोबाबू, तिमी आउने गरेकोले मलाई बडो भरोसा हुन्छ । यो बिरानो ठाउँमा गाउँको एउटा चिनेको प्यारो मानिस तिमी मात्र त छौ नि ।”
अनि एक दिन फेरि कुरैकुरामा उसले मलाई उत्तर दिँदै भनी- “नरेन्द्रले छाडे भनेर म उनलाई दोष दिन सक्दिनँ । अब डाक्टरले उनलाई थाइसिस् भएको छ भने अनि मैले नै उनलाई आग्रह गरेँ, हाम्रो अव्यवस्थित जीवन अब सम्भव छैन । उनले गाउँ जानैपर्छ भन्ने मेरो नै ढिपी थियो । उनी त भन्थे- ‘त्यहाँ म अब कसरी जाऊँ ?’ उनले केही गरे पनि मानेनन् र भने- ‘म पुरुषका लागि गाउँ फर्किनु त्यति गाह्रो पर्ने छैन तर तिम्रो लागि त फर्किने बाटो नै सदाका लागि थुनिएको छ । त्यसै कारण म तिमीलाई एक्ली छाडेर जान सक्दिनँ ।’ मैले भनें, त्यस्सै स्वास्नीमान्छेको ढिपीमा- ‘म पनि तिमीसँग जान्छु ।’ नरेन्द्रले त्यसको उत्तरमा एकचोटि मलाई आँखा उठाएर हेरे, बडो विवशताको दृष्टिले र खोक्न थाले । उनको रुमाल रगतले भिज्यो । मैले उनलाई सहारा दिएर ओछयानसम्म पुऱ्याएँ । उनी भित्तातिर फर्केर सुते तर सानोबाबू, कति दिनसम्म त्यस्तो जीवन हाम्रा लागि सम्भव थियो र ? उनी झन् झन् कमजोर हुँदै गए । हाम्रो पैसा सिद्धियो । औषधिका लागि पनि केही उपाय रहेन । अनि उनले भने- ‘ल काशी जाऊँ ।’ त्यसरी हामी काशी आयौँ । उनका इष्टमित्र यिनै हुन् । यही कोठामा हामीले आश्रय पायौँ । यहाँ आएर नरेन्द्रको दृढता केही शिथिल भयो । जब म उनलाई भन्थें- ‘नरेन्द्र, अब तिमी गाउँ जाऊ, शायद त्यहाँको हावापानीले तिमीलाई केही फाइदा होला !’ उनी केही प्रतिवाद गर्दैनथे । एक दिन अचानक विहान उठ्नेवित्तिकै उनले भने- ‘मुनरिया, म गाउँ जान्छु ।’
मुनरिया मलाई आफ्नो साख्य बनाएर दिन-प्रतिदिन मसँग एकान्तमा उध्रिदै गई; घाउको पात्रो कोट्टयाएको जस्तै पहिलेका कुराहरू सम्झिदै मलाई भन्न थाली- मुटुमा अड्न नसकेर पोखिएका कुराहरू, सम्झनाका राशिबाट झरेका आफ्ना व्यक्तिगत गोपनीय अनुभवहरूका कुराहरू ।
निश्चय नै गाउँभरिमा मुनरियालाई असल भन्ने कोही थिएन । पोइल जाने नारीलाई कसले असल भन्थ्यो र ? झन् त्यसमा पनि एउटा राम्रो गृहस्थीलाई नष्ट-भ्रष्ट पार्ने नारीका लागि राक्षसीको संज्ञाबाहहेक अरू के हुन सक्थ्यो र ? तर जब उसले व्यग्र भएर मलाई सोधी- “मेरो के दोष ?” मैले जति खोजे पनि त्यस विफलताको स्थितिमा मुनरियालाई दोषी ठहऱ्याउन सकिनँ । म नबोलेर उसको आँखाको तीव्रताको मुनि उभ्भिरहें ।
उसले भन्न थाली- “म गाउँको एउटा अकिञ्चन परिवारकी नारी, जुन परिवारमा एउटा चिरकालका रोगी पिता मात्र थिए । सानी केटी नै छँदा, जसको राम्रो सम्झना पनि मलाई छैन, मेरो चुमौन भएको थियो । तर त्यतिका वर्षसम्म पनि मेरो द्विरागमन भएको थिएन । त्यस दरिद्र वातावरणमा हुर्किदै गएको मेरो शरीरमा यौवन पनि आयो, जसको मलाई आभाससम्म थिएन । तपाईंहरूकै त दासी भएर दुई छाक खान पाउँथें र रोगी बाबुको मुखमा पनि माड लाउन पाउँथें, सानोबाबू ! नरेन्द्रको प्रेम-आग्रहलाई मैले टारिनँ, त्यही मेरो दोष हो । तर कसले सक्थ्यो त्यसलाई टार्न मेरो स्थितिमा ? जमीनदारकुमारको एकनासको प्रणयहठले गरीब दासीमाथि सम्पूर्णरूपले बिजय प्राप्त गर्न सक्थ्यो भने आश्चर्य के ? म आफूभन्दा बलियो हुन सकिन भनेर तिमी मलाई दोष किन दिन्छौं ?”
भन्दाभन्दै मुनरियाका आँखा कतै टाढा पुग्थे । उसका काला आँखा कुनै अथाह सागरमाथि टलपल गर्ने नाउजस्तै देखा पर्थे। म उसको सामुन्ने छु भन्ने पनि बिर्सिएझै गरेर आफैलाई सम्बोधन गर्दै मधुरो साउतीको स्वरमा ऊ भन्थी - “जेठको गर्मीमा सबैतिरका घाँस-पात सुकेर सिद्धिसकेका थिए । हामी गाउँका केटीहरू कोशीको किनारमा घाँस काट्न पुग्थ्यौँ गाउँबाट टाढा । त्यहीँ एक दिन नरेन्द्रले मलाई हेरेर भने- ‘के गरेको तिमीहरूले यहाँ ?’
अरू केटीहरूले धोतीको आँचलले शिर ढाकेर त्यसको फुकर्कोलाई दाँतले टोक्दै उनीपट्टि पिठ्यूँ फर्काएर उभ्भिदै भने- ‘धत् !’, मैले मात्र जिस्किएर भनें- ‘बाबू, तिम्रा आँखा कहाँ गए ? हामीले घाँस काटेको देख्दैनौ ?’
एक त म गाउँभरिमा आफ्ना दौतरीहरूमध्ये मुखाले कहिएकी थिएँ । त्यस दिनको नरेन्द्रको हेराइले मलाई झन् सुऱ्याइदिएको थियो । नरेन्द्रले हाँसेर एकछिन मलाई हेरे, र अनि एकातिर लागे उनी । मेरा साथीहरू फेरि बसेर खुर्पीले घाँस ताछ्दै छिटीमा भर्न थाले । एउटीले भनी- ‘हेर न नरेन्द्रबाबूको चाला ! हामीसँग जिस्किन आएका ।’ अर्कीले भनी ‘मुनरियाको चाला नि ? लाजै नभएकी……!’
विमूढ भएर मैले मुनरियाको कुरा सुनिरहेँ । किन यसरी ऊ पुराना कुरा सम्झिदै छे ? कस्तो निरर्थक सम्झाइ पनि ! मेरो विमूढतालाई शायद उसले लक्ष्य गरी, भन्दाभन्दै थामिएर उसले मलाई नै सोधी- “किन म तिम्रा अगाडि यसरी आफ्नो मुटुलाई उघारिरहेकी छु…? तिमी बुझ्दैनौ… तिमी यो पनि बुझ्दैनौ सानोबाबू, कसरी शुरू-शुरूमा मैले आफ्नो ग्रामीण उपहासप्रियतामा उनको मप्रतिको व्यवहारलाई रमाइलो मानेर झन् प्रोत्साहन दिन थालें । लाग्थ्यो, नरेन्द्र पनि क्षणिक खेलाँचीको कौतुक गरिरहेका छन् । म पनि त्यस्तै कौतुकको निर्दोषतामा आफूलाई उनका अगाडि पारिरहन्थें । यदि कुनै दिन उनलाई देख्न पाइनँ भने त्यसै खल्लो लाग्थ्यो, रमाइलो कुरा गर्न नपाएर भएको खल्लोपन । तर फेरि भोलिपल्टै हामी एकअर्काको नजिकै भैहाल्थ्यौ, कौतुक एक-दुई मीठा व्यङ्ग्य पनि गरिहाल्थ्यौं र तिमीहरूको घरकी दासी भएर उनबाट पन्छिन पनि कसरी सकिन्थ्यो र । घरका साना-ठूला काम गर्दागर्दै कैयौं पटक उनका सामुन्ने म परिहाल्थेँ । उनी पनि मनजिक नै ओहोरदोहोर गरिरहन्थे । एक दिन जब उनले मेरो काँधलाई दुवै हातले समातेर कठोर दृष्टिले मलाई हेरिरहे, मलाई झल्याँस्स लाग्यो-कौतुक त यो होइन । मनोरञ्जन मात्र अब यो रहेन ।
अनि मैले भर्ने- ‘अबेर भयो, कोठा लिप्न देऊ ।’
मेरा गोबर लागेका हात उनको कठोर पकडाइमा परेको मेरो काँधमुनि शिथिल हुँदै गए । मैले आफ्नो जीउलाई हल्लाएर फुत्काउँदै व्यग्र भएर भनें- ‘जाऊ, कसैले देख्लान् ।’
के त्यस दिनको मेरो आनन्दको मग्नतालाई तिमी बुझ्न सकौला र ? गाउँकी दासी स्वर्गकी परीमा अवतीर्ण हुँदा उसले अनुभव गरेको आनन्दलाई कसरी बुझौला र तिमी ! मेरा ग्रामीण कौतुकमय आनन्द र तीव्र पीडाको भोग प्रारम्भ भयो त्यस दिनदेखि ।”
जहिले पनि यस्तै यस्ता कुरा गरेर मुनरिया मलाई आफ्नो बितेका जीवनका साना-साना घटनाहरू वर्णन गर्दै भन्थी- “तिमी बुझ्दैनौ ।” मलाई उसले बुझाउनुपर्ने आवश्यकता नै के थियो र ? किन घरी घरी मलाई आफ्नो गाथा सुनाउँदै लज्जाका लागि ढाकेका दृश्यका प्रदेशहरूलाई एक-एक गरेर उघार्दै भन्थी-चिसो श्वास फ्याँकेर्- “तिमी बुझ्दैनौ ।” तर मैले किन बुझ्नु नै पर्यो र ?
मुनरिया ! तिम्रो खाँचोलाई शायद म मुभिदनँ, यो पनि बुझ्दिनँ कि किन तिमीले मलाई मानौँ न्यायाधीशको आसनमा राखेर तिमीलाई आफ्नो पक्षको कुरा सुनाउने कर परिरहेछ; तर जब तिमी घरी घरी मलाई ‘हो कि होइन, भन’ भनेझै गरेर सोध्थ्यौ ‘मेरो के दोष यसमा सानोबाबू ?’ म तिमीलाई दोषी भन्न चाहन्नर्थे । तिमीलाई मैले पहिले जुन कालो वर्गमा राखेको थिएँ त्यहाँ तिम्रा अप्रासङ्गिक जीवनघटनाका वर्णनले प्रकाशको किरण थप्दै गएर उज्यालो पारेको छ । तिम्रो पक्ष अब कालो त रहेन । त्यसो हुनाले दोषी कसरी भन्ने तिमीलाई ?
तर एक दिन मैले उसलाई सोधि नै हालें । मेरो पनि एकदम अप्रासङ्गिक प्रश्न थियो- उसको जीवनमा घटेका साना-साना कुराहरूको वर्णनजस्तो । मैले सोधें - “मुनरिया, तिमीले गौरीको कहिल्यै पनि विचार गरिनौ ?”
मानौँ मुनरिया यही प्रश्नका लागि तैयार परेर बसेकी थिई, उसले तुरुन्तै भनी - ‘आजकल गर्छु । तर पहिले गाउँमा कहिल्यै पनि उनको विचार मेरो मनमा आएन, एकदमै आएन ।”
यस्तो स्पष्ट स्वीकृतिका सामुन्ने मलाई लाग्यो, गौरीको कुरा मैले अरू अगाडि चलाउने खण्ड रहेन । म चुप्प लागेर बसिरहें । उसैले फेरि भनी- “अचेल गौरीलाई बराबर सम्झिरहन्छु । र मलाई लाग्छ, अन्त्यमा फर्केर नरेन्द्र उनैकहाँ त पुग्छन् नि; सके पुगि पनि सके क्यार !”
यति भनेर मुनरिया चुप्प लागी । एउटा चिसो सुस्केरा हालेर उसले एकछिनपछि भनी - “गाउँ मेरा लागि सदाको निम्ति टाढा भयो । अब म मर्न भनेर पनि त्यहाँ जान सक्दिनँ । मेरा बूढा बिरामी बाबु बाँचेकै छन् कि छैनन्, त्यो पनि थाहा पाउन सक्दिनँ । मेरा सँगी-सँगातीहरू कहाँ होलान् ? नरेन्द्र पनि अब टाढा भए…। अन्त्यमा बाटो बिराएको बटुवाले बाटो पाएको जस्तो नरेन्द्र निर्धक्कसँग आफ्नो घरमा पसे होलान् । गौरीले जोगाएर राखेको गृहस्थीको सानो न्यानो थलोमा पुगे होलान् । मेरो त कतै छैन फर्केर जाने ठाउँ, कोही छैन मलाई पर्खेर बस्ने ।”
मुनरियाका आँखा डब्डवाए । म अप्ठयारो मान्दै आँखीझ्यालमा आएर उभ्भिएँ र कुइनो टेकाएर हत्केलामा चिउँडो राखी बाहिरको दृश्य हेर्न थालें । जौहरी पनि आफ्नो झ्यालमा बसेर यतापट्टि हेरिरहेको थियो । मुनरियाले केही संयत भएर भनी- “भयालमुनिको सानो बगैंचाले मलाई गाउँको सम्झना गराउँछ यो ढुङ्गैढुङ्गाको बिरानो शहरमा ।”
भ्यालैबाट, उभ्भी-उभ्भी मैले सोधें- “त के पहिले एकचोटि पनि गौरीको ध्यान आएन तिमीलाई ?”
मुनरियाले आँसु पुछेर भनी “आएन बाबू ! आएन । आओस् पनि किन ! तिनताका म केवल दुई स्थितिमा रहन्थें । सबै कुरा बिर्सेर या त नरेन्द्रसँग एकान्त खोज्दै झ्याम्म परेको अँध्यारो बगैंचा, गाउँबाट टाढा नदीको एक्लो तीर अथवा कुनै त्यस्तै निर्जनस्थलमा विहार गरी हिँड्थें वा घर-काजमा लाग्नुपर्दा ती सुखका घडीहरूको सम्झनामा डुबेर अथवा भोलिको रमाइलो गर्दै हिँडडुल गरेको कल्पनामा रंगमगिएर काम गरिरहन्थें । प्रेमको रूप कुन्नि कस्तो देखा पर्छ अरूहरूलाई, मेरा लागि भने त्यो अत्यन्त कठोर, हठी, निष्ठुर, दुर्दमनीय, स्वार्थी, असामाजिक भएर आयो- एउटा अन्धवेग । कोशीमा आएको बाढीजस्तो प्रवाहको कालो-मुस्लो वेग ! के कोशीको बाढीको गर्जनमय प्रलयङ्कारी दृश्यको सम्झना छैन तिमीलाई, मेरो सानोबाबू ? त्यसको प्रवाहमा निर्दयतापूर्ण किसिमबाट बगाइएका विवश काठका मुढाहरू ! त्यस्तै त थिएँ नि म……”
एकछिन थामिएर स्वरलाई अत्यन्त मधुरो पारेर उसले भनी, मानौँ मलाई होइन, आफैलाई भनिरहेकी छे- “कसैले भन्न सक्दैन-यो लाञ्छना मलाई कसैले लगाउन सक्दैन कि प्रेम गर्न जानिन मुनरियाले, गाउँकी दासी भएकीले । आफ्नो भनेर केही नराखेर मैले सम्पूर्णरूपले आफूलाई त्यस अन्धवेगमा हुर्याइदिएँ, व्यावहारिक बुद्धिको तर्कमा नफसेर कि त्यस वेगले मलाई कहाँ पुऱ्याउने हो । हिसाब लगाउन बसिनँ, नाफा नोक्सान के हुने हो भनेर गमिनँ । बनियाँ भएकी भए शायद प्रेममा पर्ने नै थिइनँ ।”
म यो भन्दिनँ कि मुनरियाका सबै कुरालाई म राम्ररी बुझिरहेको थिएँ । लाग्थ्यो, मैले नभ्याउने पानीमा ऊ मलाई बिस्तारै-बिस्तारै लग्दै छे । आफ्नो अनुभवको गहिरो जलभित्र मलाई डोऱ्याउँदै लगिरहेकी थिई । एउटा कुरा मात्र मलाई स्पष्ट हुँदै थियो- ‘मुनरिया खराब आइमाई होइन ।’
ऊ भन्दै गई- “केही नसोचेर म प्रेमको अज्ञात बाटोमा हिँडिदिएँ । बाबूलाई के होला भनेर सोचिनँ । सोचिनँ, मेरो चुमौन भएको पतिको बारेमा ! सोचिनँ, आफ्नो लोकलाजको विषयमा; आफ्नै पछि के होला भन्ने कुरा सोचिनँ । र तिमी सोध्छौ मैले गौरीलाई सोचिनँ रे…। आधा-आधा गरेर प्रेम गरिनँ, व्यावहारिक जीवनका नाफापट्टि दृष्टि राख्दै, संयत भएर हो, मैले प्रेम नै गरिनँ । हाम्रो प्रेम नै अप्ठ्यारो किसिमको थियो, समाजको मर्यादाभन्दा बाहिरको । यदि समाजका मर्यादाहरूको रक्षा गर्नेपट्टि म लागेकी भए मेरो प्रेम हुने नै थिएन । लुकेर गरेको जमीनदारकुमार र दासीको यौन-व्यभिचार हुने थियो त्यो । कति जमीनदार-परिवारमा कति दासीहरूले आफूलाई त्यही सानो अनुभवमा मात्र सीमित राखेर प्रेमबाट बाँझो पारिराखेका छन् । कति जमीनदारकुमारहरूले दासीसँगको सम्बन्धलाई समाजको मर्यादाका लागि प्रेमका आसनमाथि स्थापित राख्न सकें, र एक वा अनेक गौरीहरूको ख्याल गरे र ?”
मुनरिया यो के भनिरहेकी छे ? मलाई जीवनको कुन नयाँ पत्र उघारेर देखाइरहेकी छे ? बाहिर देखिएको समाजको पछिल्तिर निवास गरिरहने मानवहृदयको दृष्टि-अगोचर मर्ममय दृश्य ।
“कठै !” भनेर मुनरिया हठात् थामिई । मैले पनि बोलिनँ । चुप्प लागेर उभ्भिरहैं, एकटकले उसको अनुहारलाई हेरि मात्र रहें। कोठाको वातावरण एकदम शान्त थियो । बैठक पनि खाली थियो क्यार, त्यहाँबाट कुनै शब्द आइरहेको थिएन । तल टाढाबाट फेरीवालले कुन्नि के बेचेको लेग्रो तनाइको आवाज मध्यम ध्वनिमा आइरहेको थियो । आँखीझ्यालमुनिको बगैंचामा केही चराहरू चिरिबिरी गरिरहेका थिए ।
एकछिनपछि मैले सोधें “के भो, मुनरिया, किन ‘कठै’ भनेकी ?”
उसले कुराको सिलसिला कायम राख्दै- “तिमी पनि आफ्नो निर्दोषतामा मसँग गौरीको पक्ष लिएर सोध्छौ, गौरीलाई मैले किन सोचिनँ ? तिमीजस्तै सारा समाजले उसको पक्ष लिएको छ । सबै भन्छन्- ‘हाइ गौरी, हाइ गौरी !’ के कसैले मलाई पनि सम्झेको छ ? के कसैले मेराप्रति पनि करुणाको आँसु झिक्ला आफ्नो आँखामा र भन्ला- ‘हाइ मुनरिया…!’ गौरीको कुन वस्तु मबाट खोसियो र ? - प्रेम ? नरेन्द्रको ? त्यो त उसले कहिल्यै पनि पाइन । मैले पाएको नरेन्द्रको प्रेम त मेरो स्वत्व हो, मेरो निजको सम्पत्ति, स्त्रीधन । गौरीको चोरेको होइन मैले- यो किन बुझ्दैनौ तिमी, सानोबाबू, मेरो नानी ? गौरी त कति भाग्यमानी, साराका सारा सहानुभूति, समवेदना कुनै महिमामण्डित महिषीजस्ती उनको चरणमा न्यौछावर भैरह्यो । उनी देवी भएर बसिन् समाजको उच्च स्थानमा - फोसामा पाएको अपुतालीजस्तो । मैले भने जङ्गलकी हरिणीजस्ती व्याधाको वाणबाट जोगिंदै अँध्यारो-अँध्यारोमा लुकी लुकी हिँड्नुपर्ने । नरेन्द्र र मेरो प्रेमले उनलाई मानवीबाट देवी बनायो, मलाई चाहिँ मानवीबाट पशु । प्रेमका कुरा तिमी बुझ्दैनौ, बाबू ! तिमी साना छौ । मेरो मर्मले तिमीलाई हुँदैन । फेरि…।”
मुनरिया फेरि चुप्प लागी । साँझ पर्न थालेको थियो । जौहरीको घरको अटालीमा मात्र सूर्यको किरण परिरहेको थियो । मुनरियाको कोठाभित्र सन्ध्याको अन्धकार पसिसकेको थियो । मलाई त्यहाँको गुम्सिएको अँध्यारोले उकुसमुकुस पार्यो । मैले भनें- “अब म जान्छु । अबेर भयो ।”
मुनरियाले भनी– “नरेन्द्रको के हाल छ; सोधिपठाऊ न गाउँमा चिट्ठी लेखेर ! हुन्छ ?”
“हुन्छ”– भनेर म छिट्टै कोठाबाट बाहिर निस्कें । बाहिर सडकमा आएर मुटुभरी सास फेरें । जीउ हलुका भएजस्तो लाग्यो । मुनरियाको त्यस अँध्यारो कोठामा हाबा नै नभएजस्तो थियो । अनि मुनरियाको हृदयको अँध्यारो अनुभव पनि त्यस्तै गुम्सिएको, निसास्सिने खालको ।।
घरमा आएर धेरैबेरसम्म मलाई उसैको सम्झना भइरह्यो । सोचिरहैं- ‘उसको मनमा कति कुरा पाकिरहेका रहेछन् ।’ फेरि उसले मलाई नेहोरा गरेर भनेको सम्झै- ‘नरेन्द्रको के हाल छ, सोधिपठाऊ न चिट्ठी लेखेर ! हुन्छ ?’ के प्रेम त्यसैलाई भन्छन् कि त्यस्तो अनाथाको स्थितिमा पनि ऊ सदाका लागि त्यागेर जाने व्यक्तिका निम्ति व्यग्र भएर चिन्ता गरिरहन्छे के अवस्था होला उनको भनेर ?
चिट्ठी लेख्ने कुरा सम्झिएर म ओछघनबाट उठें र टेबुलमा बत्ती बालेर लेख्न थालें - “प्यारी भाउजू गौरी, नरेन्द्रदाइको के हाल छ ?… तपाईलाई कस्तो छ…? यहाँ मलाई सञ्चै छ…।”
सधैंको जस्तो भोलिपल्ट मुनरियाकहाँ जाँदा उसले मलाई पुग्नेबित्तिकै सोधी- “गाउँमा चिट्ठी लेख्यौ, नरेन्द्रको समाचार सोधेर…?
मैले भर्ने- “लेखें ।”
फेरि एकछिनपछि सोधें- “तिमीलाई नरेन्द्रले छाडेर गए, अब उनी तिमीकहाँ कहिल्यै पनि आउँदैनन् । फेरि तिमीलाई उनको त्यस्तो के चिन्ता ?”
उसले भनी, बडो समवाणीमा- “उनैले त मलाई आफ्नो प्रेमको आराध्या बनाएर नारीत्वको मर्मसँग मेरो साक्षात्कार गराए । उनलाई म कहिल्यै पनि बिर्सन सक्दिनँ । प्रेममा कृतज्ञताको भावना सम्भव छ भने म जीवन रहुञ्ज्याल उनका प्रति कृतज्ञ रहनेछु…। मैले पनि उनलाई आफ्नो प्रेम दिएर उनको सुक्न लागेको पुरुषत्वलाई हरियो पारेकी थिएँ । त्यसले आफ्नो स्वाभाविक माटोमा हुर्किन पाएको थिएन । गौरीको प्रतिकूल हावापानीमा सुकिसकेको थियो । ममा रोपिन पुग्दा त्यो आफ्नो अनुकूल मल-जल पाएर प्रस्फुटित हुन पुग्यो । नरेन्द्र दासीसँग आफ्नो यौनपिपासा शान्त गरेर पुग्ने एउटा व्यभिचारी युवक कदापि थिएनन् । ती चाहन्थे प्रेम, र मृत्युलोकमा म मात्र तिनलाई दिन सक्थें त्यो । समाजले खटाएको प्रेम उनलाई ग्राह्य भएन ।”
“एक दिनको कुरा” - स्मृतिको कुन क्षणमा पुगेर फेरि मुनरिया भन्न थाली- “एक दिनको कुरा…!”
मुनरिया बीच-बीचमा यस्तै गर्थी । पहिलेका कुरा सम्झेर टोलाउन थाल्थी र ती सम्झेका कुराहरू आफैलाई सुनाएको जस्तो गरी भन्न थाल्थी, एकोहोरो भएर ।
“-एक दिनको कुरा… हामी काठमाण्डुमा थियौं । पचलीस्थानको घाटमा बसेर हामी कुरा गरिरहेका थियौँ । मेरो खुट्टाले घाटको तल पानीलाई खेलाइरहेको थियो । काठमाण्डूमा निर्धक्क भएर स्त्री-पुरुषको स्वाभाविक सम्बन्धमा रमाइलो गर्दै हामी दिन बिताइरहेका थियौँ, इन्द्रेणीका जस्ता रङ्गिएका दिन । उनले मेरो दाहिने हातलाई आफ्ना दुवै हातमा लिएर भने- “कस्तो रमाइलो छ । जीवनमा कति सुख छ । प्रत्येक श्वासमा आनन्दको स्पन्दन छ ।”
उनले मेरो हातलाई यसरी जतनसँग समातेका थिए मानौँ मेरो हात नै एउटा प्राणवान् वस्तु थियो । उनले मलाई जहिले पनि हुँदा त्यसै गर्थे मानौँ मेरो शरीरको प्रत्येक अङ्ग अलग-अलग जीवित प्राणी हो र मानौँ ती सबैलाई प्रेमको आफ्नो-आफ्नो खाँचो छ । उनको स्पर्शमा सबैका लागि प्रेमदान रहन्थ्यो । म पनि आनन्दविभोर थिएँ । उनले भनेका शब्द सङ्गीतजस्तो लट्ठ पार्दै मेरो हृदयको अन्तरसम्म पुग्थें ।
साँच्चि नै बडो रमाइलो घडी थियो त्यो । पश्चिममा पद्मावती पहाडको चुचुरोपारि सूर्य अस्ताइसकेका थिए, डाँडाको एउटा ठिङ्गो रूखलाई प्रभामण्डलमा पारेर । कहीं-कहीं आकाशका बादलमा नजानिंदो रङ्ग चढ्न थालेको थियो । पूर्वपट्टिको फलामे पुलमा मोटर-बग्गीहरू हिँडेको हलुका ध्वनि पनि सुनिन्थ्यो तर हामी बसेको ठाउँ निर्जन थियो । बाग्मतीको जलको कलकल ध्वनिले त्यसै वातावरणलाई सङ्गीतमय बनाइराखेको थियो । मेरो गोडैनिर भुइँमा बालुवाका कण पानीमा सर्दै बगिरहेका थिए, चुपचाप अर्कै जगत्का प्राणीहरू कार्यरत भएझै । जगत्को सारा दृश्य, सारा वातावरण आत्मीयताले ओतप्रोत थियो ।
काठमाण्डूमा हामीले चिनेको कोही थिएन । त्यसो हुनाले निर्धक्क थियौं । लुकामारीको जीवन गाउँमै त्यागेर हामी आएका थियौँ । तर त्यस दिन एउटा बूढो मानिस सन्ध्या गर्न हामी भएनिर घाटमा आए । उनले धेरैबेरसम्म हामीलाई हेरे र चिनेको जस्तो गरी अगाडि सर्दै आएर भने- ‘को, नरेन्द्रबाबू ?’
नरेन्द्र झल्याँस्स भए । उनले मेरो हात छोड्दै उठेर भने- “मैले चिनिनँ तपाईँलाई !”
‘तिमी पनि त नचिनिने भएछौ । कस्तो चिल्लो पुष्ट अनुहार भएछ तिम्रो, उमेर पनि नचढेको जस्तो । के खबर छ फुपूको ? तिमी मेरी फुपूका छोरा हौ, नरेन्द्रबाबू !”
नरेन्द्रले भने- ‘सबैलाई घरमा आराम छ । मैले तपाईंलाई चिन्नै सकिनँ, क्षमा गर्नुहोला…।’
उनले मतिर हेरेर आँखाले नै सोधे । नरेन्द्रले उत्तर दिए- ‘मेरी पत्नी ।’
अनि मलाई भने, केही ठट्टामा ‘त्यसो भए तिमीले मलाई ढोग्नुपर्छ ।’ मैले अप्ठयारो मान्दै ढोगें ।
अनि नयाँ मानिसले नरेन्द्रलाई भने- ‘फेरि बिहे गरेछौ ।’
नरेन्द्रले भने- ‘अँ ।’
तिनै व्यक्तिले फेरि भने- ‘हँ नरेन्द्रबाबू, तिमी त एकदम बदलिएछौ । पोसिएको जीउ भएछ । मनग्गे छ क्यारे घरमा । तिमीलाई देखेर खुशी लाग्यो । आफ्ना नातागोताहरूको उन्नति र बढती देखेर सन्तोष हुन्छ । कति दिन यहाँ बस्छौ ? आउने गर न मकहाँ । म यहीं भोटेबहालमा बस्छु ।’
उनी गएपछि हलुको मनोरञ्जनमा नरेन्द्रले मलाई भने- ‘मुनु, उनले परोक्षमा तिम्रो ठूलो प्रशंसा गरे नि ।’
मैले सोधे - ‘कसरी ?’ ‘सुनिनौ भनेको ? मलाई घरमा मनग्गे छ रे, हृष्टपुष्ट छु रे, चिल्लो…।’
नभन्दै नरेन्द्रको अनुहार दीप्तिले धप्प थियो । उनको अनुहारमा भोकाएको जुन रूप रहन्थ्यो त्यसको ठाउँमा सन्तोषको स्निग्धता थियो । मैले मक्ख परेर उनलाई हेरें । र भनें- ‘तिमीले पनि त परोक्षमा, शायद अज्ञानमा, मलाई एक खुड्किलो माथि उचाल्यौ ।’
‘उनले सोधे- ‘कसरी ?’
‘समाजको अगाडि पत्नी भनेर मलाई परिचय दिँदै ।’
त्यस्तो रमाइलो घडी थियो हाम्रो, सानोबाबू ।
उनले भने- ‘मुनु, तिमी त मेरो सबै कुरा हौ, सर्वस्व । समाजको रचनाभन्दा धेरै माथि स्थापित भएको छ हाम्रो सम्बन्ध र त्यसैले समाजले दिएका सम्बन्धको संज्ञा हाम्रा लागि निरर्थक छ । आदिकालको म प्रथम पुरुषले उपलब्ध गरेको तिमी प्रथम नारी; आदिपुरुष र स्त्री, हामी, तिमी र म । बुझ्यौ ?’
त्यस दिन एकचोटि सम्झिएको जस्तो गरेर मलाई लाग्यो, गौरीबाट उनी अपहृत भएका होइनन् । गौरीको केही क्षति भएन । नपाएको धनको अपहरण हुँदैन । र त्यसै दिन मलाई लाग्यो, नरेन्द्रको तर्फबाट कसैले विचार गरिदिएनन् । त्यस दिन घाटमा भेटिएका ती व्यक्तिले एकदम अज्ञानमा नरेन्द्रको जीवनको मर्मलाई बुझेर भनेका थिए- ‘तिमीलाई घरमा मनग्गे होला । त्यसैले यति उज्याला छौ, चिल्ला…।’
मुनरियाको कुरा सुनेर म विस्मयमा परें । नरेन्द्र पनि मैले वर्गीकरण गरेको असल र खराब मानिसको कालो र सेतो कक्षामध्ये कालोमा पर्न आउँदा रहेनछन् । जीवनमा कालो र सेतो भन्ने नै केही रहेनछ । त्यो त दृष्टिदोषको परिणाम मात्र रहेछ ।
मुनरिया भन्दै गई- नरेन्द्रले भने- ‘मुनरिया, सुखमा स्वार्थ छ । दुःखलाई मात्रै सार्वजनिक बस्तु बनाउन सकिएला तर दुःख पनि त एक्लै भोग्नुपर्छ । तर मुनु, दुःख दुःख भएकोले त्यसको एक्लो भोगाइले स्वार्थभोगको संज्ञा पाउँदैन । सुखको भोग एकान्तको वस्तु हो; त्यसमा स्वार्थ निहित छ । सुख प्राप्त गर्न सक्छौं भने आँखा चिम्लेर त्यसलाई भोग्नेबाहेक अरू केही बाटो छैन । अरूको दुःखपट्टि आँखा उठायौँ भने सुखभोगको सम्भव हुन्छ र ?”
नरेन्द्रको वाणीमा उच्छ्वास थियो । मैले सोधें- ‘प्राण, यो के भनेको तिमीले ? मैले बुझिनँ ।’
उनले, मानौँ आफ्नै मनबाट कुरा पन्छाउने प्रयत्नमा आफ्नो मुखको अगाडि एकचोटि हात हल्लाएर भन्दै उठे- ‘मैले गौरीको कुरा भनेको…ल, हिँड, रात पर्यो, डेरा फकौं ।’
त्यस रात घरमा आएर धेरैबेरसम्म ननिदाएर मैले नरेन्द्रलाई सम्झिरहें । मेरा आँखाका अगाडि गाउँको पृष्ठभूमिमा नरेन्द्रको भोको अनुहार आइरह्यो- रूखो, खाऊँ-खाऊँ गरिरहेको अनुहारले हामी केटाकटीहरूलाई उतको नजिक हुन दिँदैनथ्यो । ती पनि चिल्ला भए रे, स्निग्ध अनुहार उनको धप्प बल्यो रे, हृष्टपुष्ट, एकदम नचिनिने भए रे । कस्ता लाग्दा होलान् तिनी त्यस बखतमा ?
गौरीको पनि सम्झना भयो मलाई । उनको चिटिक्क परेको अनुहार, उनको बालिका शरीर, उनले मलाई व्यग्र भएर म्वाइँ खाएको…। मुनरियाले भनेका कुरा पनि एक-एक गरेर फेरि मनमा उठ्न थाले । जीवनको यत्रो विघ्नको को दोषी ? अनिष्ट भएको त स्पष्ट थियो; सबै कुरा भताभुङ्ग भएको म आफ्नै आँखाअगाडि देखिरहेको थिएँ । कसले गयो यो काण्ड ? को दोषी ? नरेन्द्र ? मुनरिया ? मेरी प्यारी भाउजू गौरी ? को ? को ?? को ???
यस प्रकार मुनरियाले मलाई निकै स्नहे गर्दै आत्मीयताको सम्बन्धमा कसेर बाँध्दै गई । दिनप्रतिदिन आफ्नो जीवनका केही न केही कुरा ऊ मलाई सुनाउँथी ।
एक दिन सधैंको जस्तो उसको कोठाको ओछयानमा सुती-सुती म उसका कुरा सुनिरहेको थिएँ । त्यसै बखत बैठकमा रसिकताको ज्वार फेरि फुटयो । त्यहाँको ठट्टा र मनोरञ्जनको ध्वनि हामीकहाँ आइरहेको थियो । मुनरियाले भनी- “कस्तो असहनीय वातावरण छ यहाँ ।”
मैले सोधें - “कसरी यहाँ टिकेर बसेकी छ्यौ मुनरिया ?”
उसले भनी - “कहाँ जाऊँ त ।’
फेरि हाँसेर भनी- “तिमी मलाई राख्छौ, आफूकहाँ ?”
मैले केही बोलिनँ । मुनरियाले कौतुकतालाई बढाउँदै भनी “म तिम्रो सबै काम गरिदिन्छु । पहिले पनि त गाउँमा त तिमीहरूकै दासी थिएँ ।”
म अप्ठयारो मानेर नबोली बसिरहें ।
मुनरियाले परिहास त्यागेर भनी “धन्दा नमान, सानोबाबू, म तिमीलाई दुःख दिन्नं……। तर मैले केही उपाय त गर्नैपर्ला ।”
बैठकबाट एउटाले बोलायो- ‘मुनरिया…….!”
मुनरियाको अनुहार हठात् झर्यो । घृणाले मुख चाउरी पारेर उसले मुण्टो फर्काई ।
बैठकको रसिकतामा ऊ नभएर निश्चय नै त्यहाँ खल्लो भएको हुँदो हो । फेरि आवाज आयो बैठकबाट- “प्यारी, किन नसुनेकी……? हाम्रो महफिल शून्य छ तिमी नभएर……।”
सबैको कण्ठबाट खित्काको एक लहर निस्क्यो । मुनरियाले भनी- “बाबू, मैले केही उपाय त गर्नैपर्छ बाँच्नका लागि पनि ।”
मैले सोधें- “के उपाय मुनरिया ?”
मेरो प्रश्नको उत्तर नदिएर ऊ भन्दै गई- “मलाई नबिर्सनू है बाबू, सबैले बिर्से पनि तिमीले नबिर्सन्……..।”
फेरि एकछिन थामिएर बडो गम्भीर स्वरमा उसले भनी- “होइन, तिमीले पनि मलाई बिर्सनू । सबैबाट बिर्सिएपछि म मरेसरह नै हुन्छु । मरेकी जस्तै…….”
मैले व्यग्र भएर भनें- “आज तिमी यस्तो कुरा किन गरिरहेकी छ्यौ, मुनरिया ? किन, भन् न !”
मलाई उसको कुरा बडो उदास लाग्यो ।
त्यसै बखत मेरी फुपूका भतिजाले दाहिने गालाभित्र पानको डल्लो च्यापी हामी भएको कोठाभित्र मुण्टो पसाएर चियाए । उनले पानको बुजोलाई मुखभित्र कुनै प्रकारले अड्याएर ओकलेको स्वरमा भने- “मुनरिया, केको नखरा गरिरहन्छेस् सधैं । कति नेहोरा गर्नुपर्ने हामीले । हामी पनि नरेन्द्रकै साथी त हौं नि ।”
त्यसपछि मलाई अँध्यारोमा चिनेर पानको मुखले गोल किसिमको ‘हो…हो…’ को स्वर झिक्दै उँधोमुण्टो लाएर हाँसे र भने- “अह ह; यहाँ त मुनरिया बालक्रीडामा लागेकी रहिछन्, काँचो फल टिप्दै ।”
उनको यस्तो फोहोर व्यङ्ग्यको लक्ष्यलाई बुझेर म बिछौनाबाट जुरुक्क उठें र क्रोधको आवेगमा रातो मुख पारेर भनें- “तपाईंहरू नीच हुनुहुन्छ, पतित ।”
त्यति भनेर हुत्तिदै विस्मयमा स्तब्ध भएर उभ्भिएको फुपूको भतिजोलाई ढोकाबाट घचाडेर म बाहिर सडकमा आइपुगें । क्रोधले मेरो मुख पोलिरहेको थियो ।
त्यसपछि मैले फुपूको घरमा गोडा हालिनँ । केही दिनपछि सुनें, मुनरिया पनि एक दिन त्यस घरलाई छाडेर हिँडी रे ।
त्यहाँको कुत्सित वातावरणलाई सम्झेर फुपूको घरमा म फेरि जाँदै गइनँ । तर मुनरियालाई बराबर सम्झिरहें । स्कूलबाट फर्केर आउँदा उसैसँग म आफ्नो सन्ध्याको अवकाश बिताउँथें । अब त्यो छुटयो । मलाई शून्य हुन लाग्यो र एक्लै कोठामा बसेर म सोच्थें- ‘मनुरिया के गर्दी होली ? कसरी दिन बिताउँदी होली ?’ उसले अन्तिम घडीमा मलाई भनेको के हो, ‘केही उपाय त गर्नैपर्ला ।’ उसले मलाई ‘बिर्सिदिनू है, बाबू’ भनेर अनौठो कुरा गरेकी थिई । त्यसको अर्थ लाउन नपाउँदै मेरो सम्बन्ध टुट्यो ऊसँग ।
तर मेरो पढ्ने-लेख्ने काम थियो, परीक्षाका लागि तयारी गर्नु थियो । किताबमा मन लगाउन थालें । त्यस्तैमा एक दिन गौरीभाउजूको चिट्ठी आयो । उनले लेखेकी थिइन्- “मेरो प्यारो सानोबाबू, तिम्रो चिट्ठी पाएँ…”
अनि मैले सम्झै, मुनरियाको आग्रहमा नरेन्द्रको संवाद सोध्दै मैले गौरीलाई केही दिनअघि एउटा चिट्ठी पठाएको थिएँ । त्यसैको उत्तर थियो गौरीको चिट्ठी । उनको लेखाइ बडो माझिएको, स्पष्ट र सुन्दर थियो ।
जस्तो उनी आफू सिनित्त परेकी थिइन्, त्यस्तै उनको लेखाइ पनि सिनित्त परेको । उनको चिट्ठी लामो थियो, गाउँको सब हालखबर लेखेर पठाएको ।
“…… तिम्रो पत्र पाउँदा मलाई बडो खुशी लाग्यो । तिमीसँगै भेट भएजस्तो भयो । तीन वर्षजति भयो तिमीले हामीलाई छाडेर गएको…… गाउँको के हालखबर लेखूँ ? यसपालि कोशीको बाढीले धेरै घर बगाएर लग्यो, खेतहरूमा बालुवैबालुवाको थुप्रो थुपारेर गयो । धेरैले गाउँबाट बर्से सारे । तिम्रो पिताजी र आमा पनि बेतिया जानुभयो, तिमीलाई वहाँहरूले लेखेकै होला । कप्तान्नी आमा पोहोर स्वर्गे हुनुभयो । यो घरमा म एक्लै भएँ । कतै जान मन लागेन, गइनँ । गाउँमा तिमीले चिनेको कोही छैन । फगुनी आफ्नो घर गई, उसको बाबु लेलहा आफ्नो घरमा एक्लै छ । मुनरियाको बाबु मर्यो । भटना, छुतहरू बजारमा काम पाइन्छ भनेर गएका उतै हराए, गाउँ आउँदैनन् । सान्नानीको चिट्ठी मलाई आउँदैन । उनलाई घरमा सञ्चै होला । आँपका बगैंचाहरू सबै सुके । कति त कोशीको भासमा बगेर गए । चिलौनीधारको ठूलो रूख ढल्यो र धारमा धेरै टाढासम्म बगेर गयो…”
त्यसपछि उनले नरेन्द्रका कुरा लेखेकी थिइन्, बडो विस्तारपूर्वक- “वहाँ आजकाल यहीँ हुनुहुन्छ मसँगै, सोच्दै नसोचेको सुखलाई मैले भेट्टाएँ, एक साँझ । सधैंको जस्तो साँझको अँध्यारो भयाम्मिदै आइरहेको थियो । म एक्लै कोठामा बत्ती बालेर पूजा गर्ने कुरा सोचिरहेकी थिएँ । बत्ती बालिसकेकी थिइनँ, दियोमा तेल हाल्दै थिएँ । त्यसै बखत बाहिर आनामा मलाई हँगेर बसेको बूढो कुक्कुर, त्यही पुरानो भुस्याहा कुक्कुर कलिया, भुक्न थाल्यो । मलाई लाग्यो स्याल आयो होला । गाउँमा साँझ पर्नेबित्तिकै आजकल स्यालहरू शून्य घरका आना चहारिहिँड्छन् । तर बाहिर अर्कै किसिमको खलबली भएको जस्तो लाग्यो । एकछिनमा एउटा बूढो खोकी सुनें, र तत्कालै एउटा नचिनेको बोली पनि सुनें-मलाई बाहिरबाट डाकेको- ‘माल्किनी ।’
ढोका उघारेर हेर्दा आनामा एउटा बयलगाडी उभ्भिरहेको थियो, गोरुहरू गाडीमा जोतिएकै थिए । बयलवान बोलाइरहेको थियो- ‘माल्किनी !’
मैले भनें- ‘को ?’
उसले भन्यो- ‘बाबू आएका छन् ।’
मैले सोधें- ‘को बाबू ?’
बयलवानले उत्तर दिनुभन्दा पहिले नै बयलगाडीबाट एउटा मानिस बडो सावधानीसँग उत्र्यो । एउटा बर्कोले उसको सारा शरीर ढाकेको थियो । बयलगाडीमा उसको एउटा छालाको बाकस र गुण्टा थियो ।
मनिर आएर उभ्भिदा पो त मैले झल्याँस्स चिनँ, वहाँ हुनुहुँदो रहेछ- तिम्रो नरेन्द्रदाइ । सन्ध्याको अँध्यारोमा तल आनामा मैले वहाँलाई चिन्न सकेकी थिइनँ । त्यसमा पनि वहाँ नचिनिने गरी दुब्लाएको हुनुहुन्थ्यो । अँध्यारोमा हत्तपत्त रूप नै ठम्याउन गाह्रो पर्ने । तर वहाँका आँखामा उस्तै तेज र बहाँको लामो कपाल शिरमा गुँडुल्किएर उस्तै गर्दनसम्म पुगेको । त्यस अनुहारलाई के म कहिले बिर्सिन सक्छु र ? जतिसुकै कृश, जतिसुकै रुग्ण त्यो भए पनि, जतिसुकै कृष्ण । मेरो आँखामा वहाँको मूर्ति हठात् उद्भासित भयो । तर म अचिन्त्य घटनाले स्तब्ध भएर उभ्भिरहें। लाग्यो, यो के सपना त होइन ?…… शायद त्यसरी नै धेरैबेरसम्म उभ्भिरहेँ हुँला । वहाँले जब भन्नुभयो- ‘गौरी, म आएँ, चिनिनौ मलाई ?’ अनि पो म झस्कें । मैले हडबडाएर सारीको आँचल शिरमा राखेर घुँडा टेक्दै वहाँको पाउमा शिर राखिदिएँ । वहाँले हतपताएर भन्नुभयो– ‘यो के गरेकी ?’
मैले उठेर मनमनै आफूलाई भनें- ‘अहो ! मेरो भाग्य ! त्यसपछि वहाँलाई सम्बोधन गर्दै भनें- ‘आफ्नो घरमा प्रवेश गरिबक्सियोस्……!’
वहाँ कोठाभित्र आउनुभयो । बयलवानले वहाँको सूटकेस र गुण्टालाई कोठाभित्र पुऱ्याइदियो । मैले भनें- ‘कस्तो अनुहार भएको, कति दुब्लाएको !’ अनि वहाँलाई ओछ्यानमा बसाल्दै वहाँको शरीरबाट ओढ्ने झिकिदिएँ । ओढ्ने धूलोले टम्म थियो । गोडाबाट जुत्ता फुकालिदिएँ र फेरि भनें- ‘आराम गरिबक्स्योस्, यात्राको थकाइ मारिबक्स्योस् ।’ वहाँले भन्नुभयो- ‘गौरी, म रोगी छु, क्षयले पीडित ।’
हाय ! कस्तो कडा रोग लागेछ ! वहाँलाई मैले भनें- ‘आराम गरिबक्स्योस् । लामो यात्राले शरीर त्यसै गाल्छ । म छिट्टै पानी तताएर आङ र पाउ पुछिदिन्छु । र दूध उमालेर ल्याइदिन्छु ।
बाहिर बयलवान ओसारामा बसेको थियो । मैले उसलाई भनें- ‘गाडीवानबा ! उः त्यो घरमा गएर दूध मागेर ल्याइदेऊ न । मैले भनेको भन्नू’ मैले उसलाई हातले लेलहाको घर देखाइदिएँ । ‘भन्नू, मालिक फर्केर आउनुभएको छ।’
……रातभरि वहाँलाई खोकी लागिरह्यो । बिहानपख भने राम्ररी सुत्नुभयो । बिहान उठेपछि वहाँले कोठाको चारैतिर हेर्नुभयो र भन्नुभयो- ‘गौरी, यो कोठामा म कहिल्यै पनि आएको थिइनँ, हगि ? थाहा नै थिएन यस्तो राम्रो, सिनित्त परेको यो एउटा कोठा मात्र छ हाम्रो घरमा भनेर मलाई ! कति राम्रो, कति सुग्घर ! छानामा चँदुवा पनि टाँगको रहेछ, बिछ्यौना पनि कति सफा…।’ एक-एक गरेर जहाँ-जहाँ वहाँका आँखा परे ती सबैलाई राम्रो र सुग्घर भन्नुभयो । … फेरि एक्कैछिनपछि भन्नुभयो- ‘गौरी, म बडो आरामसँग सुतें, यसरी भुसुक्क भएर धेरै भयो म नसुतेको । धीत पुगुञ्ज्याल सुतें । तिमी कहाँ सुत्यौं नि, गौरी ?”
मैले भनें- ‘त्यहाँ बारिहपिट्ट भान्साघरमा ।’
वहाँले भन्नुभयो– ‘किन त्यहाँ गएकी ? यही कोठामा किन नसुतेकी गौरी ?’
मलाई लाज लागेर आयो । केही बोलिनँ ।…… गाडीवानलाई बिदा गर्दा कबुलेको आठ आनाको सट्टा मैले पाँच रुपियाँ दिएँ र भनें- ‘म धनी भए अझ धेरै दिने थिएँ, बूढाबा । तिमीलाई थाहा छैन कत्रो ठूलो श्रीसम्पत्ति मकहाँ ल्याइदियौ तिमीले’…….”
गौरीले यस्तै लामो गन्थन लेखेकी थिइन् । के सोचेर लेखेकी हुन् ? त्यसपछि धेरै दिनसम्म उनको चिट्ठी आएन । अनि एउटा चिट्ठी आयो उनको, त्यो पनि मेरै चिट्ठीको जवाफमा ।
“प्यारो देवर, आजकाल मलाई फुर्सद छैन, त्यसो हुनाले चिट्ठी नलेखेकी । आफ्नी भाउजूलाई माफ गरे । एक जनाको जस्तो दुई जनाको गृहस्थी कहाँ हुन्छ र कति काम बढ्छ, कति कुरा भ्याउनुपर्छ । एक्लीले त कहिले जाँगर भएन भने नखाएर सुते पनि हुन्छ, त्यसले अल्छी मान्न पनि पाउँछे । एउटा गृहस्थी भएपछि त्यसो गर्न पाइन्छ र त्यस गृहस्थीकी नारीले ? घरमा निकै कामकाज परी-परी आउँछन् । भान्साघरमा नै निकै काम थपिन्छन् । एक्लो जोगीले खिचडी पकाएर खाएजस्तो त होइन नि अब ! भात, दाल, तरकारी, कुनै भटुवा, कहिले चरा, दूधको केही न केही परिकार बनाउनै पर्यो । तिमीलाई थाहा नै छ, तिम्रो नरेन्द्रदाइको स्वाद फेरि गाउँको नजिकै डाक्टर-वैद्य छैनन् । बजार गएर त्यहाँको बूढो डाक्टरलाई लिएर आएँ । उसले औषधि दिएको छ । भन्छ- ख्वाउनू रे चराको मासु, दूध, घ्यू । बाखीको दूधले फाइदा गर्छ भनेर अर्को गाउँबाट एउटा बाखी पनि किनेर ल्याएँ । त्यसलाई पनि हेर्नै पर्यो । हेर न, फुर्सत नभएर मेरो पूजा-पाठ पनि सबै थामिएको छ । अस्ति झल्याँस्स सम्झै, मुरलीधर कृष्णको मूर्तिमा फूल नचढाएको पनि धेरै भएछ । उनको गलाको माला सुकिसकेको थियो । उनका उपर पनि धूलोको एक पत्र जमिसकेको थियो । मैले सुकेको मालालाई झिकेर फ्याँक्दै भनें- ‘हे कृष्ण मुरारी, आजकाल म बेफुर्सतकी भएकी छु । तिमीलाई ध्यान दिन सकिनँ भने मेरो कुरा बुझेर दया गरे ।’ फेरि उनलाई राम्ररी पुछेर बाकसमा राखिदिएँ । तिमीलाई त्यो मूर्ति बडो राम्रो लाग्थ्यो । तिमीलाई भो त्यो……।’
त्यसपछि गौरीका चिट्ठीहरू बराबर आउन थाले । धेरैजसो निरर्थक, अति साना घटनाहरूको वर्णनले भरिएका लामा लामा चिट्ठीहरू । जस्तो, एक दिन लेखेकी थिइन्- “…… मैले आजकल मासु खान थालें । छक्क परौला तिमी यो सुनेर । वहाँलाई मासु पकाउनै पर्थ्यो । वहाँको भोजन मेरो लागि अभोज्य कसरी हुन सक्थ्यो ? मैले सधवा भएर पनि विधवाको व्यवहार गर्नु उचित होइन । पतिको जे गति, मेरो पनि त्यही गति ।
…. नरेन्द्रबाबू आजकल अलि स्वस्थ भएको जस्तो देखिनुहुन्छ । खोकी त त्यस्तै छ, ज्वरो पनि उस्तै । मुखबाट रगत आउन पनि जारी नै छ । तर अलिक बल भएछ क्यारे । एक दिन बन्दूक लिएर बारीमा जानुभयो र ढुक्कुर मार्नुभयो । त्यसपछि त टाढा-टाढा पनि जाने गर्नुभएको छ……।”
यस्तै बेमतलबका कुरा हुन्थे गौरीका चिट्ठीमा । “एक दिन वहाँ बाँधसम्म पुग्नुभयो । थाकेर त्यहीँ पछारिनुभएछ । म खोज्दै पुगें त्यहाँ, फागुनको हाबा बालुवा उडाउँदै बगिरहेको थियो । बन्दूक एकातिर, मारेका चराहरू एकातिर यताउति फालिएका, खान नहुने खालका चराहरूलाई पनि त्यसै मारेको । आजकाल वहाँ त्यसै चराहरू मार्दै हिँड्नुहुन्छ । मैले वहाँलाई बिस्तारो सहारा दिँदै उठाएँ । बन्दूक बोकें । दुइटा ढुक्कुर रहेछन् मारेका, तिनलाई पनि झुन्ड्याएँ । वहाँ मेरो काँधमा हात राखेर विस्तारो-बिस्तारो हिँड्न थाल्नुभयो । म कति सानी लाग्थें वहाँसँग यसरी टाँस्सिएर हिँड्दा । मैले भनें- ‘हजूर, किन यसरी जथाभाबी चरा मारिबक्सिन्छ ? खान हुने-नहुने केही विचार नगरेर हत्या गरिबक्सिन्छ ।”
मलाई त लागेको थियो मैले एउटा साधारण कुरो भनें वहाँलाई भनेर, तर वहाँ टक्क उभ्भिनुभयो र अनि भन्नुभयो- ‘गौरी, के गरूँ त म हत्या नगरेर । लाग्छ, सारा चराचुरुङ्गीलाई मुट्ठीमा लिएर किचिदिऊँ । निर्धा न छन् तिनीहरू, त्यसैले होला ।’
मैले यसो वहाँको मुखतिर हेर्दा वहाँका आँखामा आँसु आएजस्तो थियो । अँध्यारो चेहरा थियो वहाँको । नरेन्द्रबाबूको आँखामा आँसु, कत्रो विषाद र करुणाको सृष्टि गर्न सक्छ, तिमी त्यसलाई बुझौला आफैं । मैले सान्त्वना दिन खोजें । भनें- ‘हजूरलाई जे गर्दा सन्तोष हुन्छ गरिबक्स्योस् ।’
त्यसपछि हिँड्दै वहाँले बिस्तारो मेरो कानमा भनेको जस्तो गरेर भन्नुभयो- ‘नाई गौरी, तिमी जे भन्छयौ त्यही गर्छु, अब म चरा मार्दिनँ गौरी, चरा मार्दिनँ, हत्या गर्दिनँ निर्धा चराको’ ।”
त्यसपछिको चिट्ठी बहुतै आनन्दमग्न भएर लेखिएको थियो । “…… वहाँले मलाई माया गर्नुभयो; भनुभयो- ‘गौरी, साँच्चै म तिमीलाई माया गर्छु…।’ सानोबाबू, मेरो आनन्द मुटुमा अटेन । हेर न मलाई, मेरो उल्टो स्वभावलाई । आनन्दमा पनि कोही रुन्छ ? वहाँको कुरा सुनेर म खुशीले रोएँ । वहाँले भन्नुभयो- ‘रोएकी गौरी ?’ कत्रो स्नेहको कण्ठले वहाँले यो कुरा भन्नुभएको थियो । मैले झन् खप्न सकिनँ । दुवै हत्केलाले मुख छोपेर म खूब रोएँ, घोप्टो परेर वहाँकै काखमा । दुःखले होइन, मेरो प्यारो बाबू, सुखले, अति… अतिसुखले । के भन्छौ तिमी यस्ती भाउजूलाई, जो सुखमा पनि असंयमी आँसु बगाउँछे ?”
तिनताका तिनका चिट्ठीहरू बराबर, प्रायः सधैंजसो आउँथे । सबैमा सुखको चर्चा हुन्थ्यो । लेख्थिन्- “आजकाल दिन रमाईला छन्- वसन्तका दिन । सास फेर्दा पनि शरीर आनन्दले पुलकित हुन्छ । वहाँले भन्नुभयो- ‘गौरी! मेरो नजिकै बस न ।’… नजिक नै त म बस्थें नि । तर त्यसरी आग्रह गरेर बोलाउँदा मलाई अप्ठयारो लाग्यो । वहाँले भन्नुभयो- मलाई नजिकै आफूसँग टाँसेर - ‘गौरी!’ मैले बिस्तारै भनें- ‘हजूर !’ वहाँले भन्नुभयो - ‘तिमी मलाई ‘तिमी’ किन भन्दिनौ ? हजूर त टाढाको सम्बोधन हो ।’
यत्तिकैमा मैले मक्ख पर्ने के कुरा थियो र । तैपनि म बडो मक्ख परें । खुशीले शरीर फुरुक्क भयो तर भनें- ‘लाज लाग्छ ।’ वहाँले ढिपी गर्नुभयो । मैले लाजले मुख छोपेर बिस्तारै भनें- ‘ति… मी…!’
- सानोबाबू, साना-साना कुरामा जीवनका कत्रा कत्रा सुख अडेर बसेका हुँदा रहेछन् । लाजले मुख छोपेर केवल मैले सानो स्वरमा दुई अक्षर भनेकी थिएँ- ‘ति-मी’ । त्यत्तिमा लाग्यो, मैले स्वर्गको सुख पाएँ । लाग्यो, हठात् म प्रेयसी भएँ पुरुषको प्रेमस्पर्शले कम्पित भएकी एउटी युवती-नारी……।
……एक दिन उनले भने- ‘गौरी, तिमी गाना गाऊ म इसराज बजाउँछु ।’ इसराजलाई खोल लाएर छानोमा झुण्डयाइदिएकी थिएँ मैले । त्यसलाई नछोएको पनि कति वर्ष भैसकेको थियो । त्यो छानोबाट झिकियो, त्यसको बराँतको तुलरङको खोलको धूलो झारियो, पुछियो, त्यसका तार कसिए । घर्राबाट औंठी फिर्के । औंठी लाएर इसराज समाते उनले । उनको शरीर रुग्ण थियो, तैपनि उनको अनुहारचाहिँ उज्यालो थियो । उनले भित्तामा अडेस लाएर देब्रे कुममा यन्त्रलाई अड्याए । अनि उनको आफ्नो पुरानो वाचाअनुसार आँखा चिम्लेर उनी सुर झिक्न थाले । भ्यालबाट पश्चिमतिर ढल्केको सूर्यको एउटा पातलो किरण उनको टाउकोनिर मण्डलाकार भएर परिरहेको थियो, भित्ता र उनको मुखलाई उज्यालो पार्दै । उनको लामो लट कुममा झुण्डेको थियो । उनले फेरि गाउँको पुरानो सुर झिके, चैतीको उदास पार्ने सुर । एकछिनसम्म आँखा चिम्लेर बजाउँदाबजाउँदै, आँखा चिम्लेको चिम्ल्यै, बजाउन नथामेर मधुरो स्वरमा उनले भने- ‘गौरी, सङ्गीती गर्दिनौ ? त्यो तारले रोएकोलाई पदद्वारा अर्थ प्रदान गर्दिनौ ?’
मेरो कण्ठ पनि अनायास फुट्यो । मैले गाएँ : “चैत हे सखी फुलल वेली भँवरा करत गुंजार हो !”
तिनताकाकै एउटा अर्को चिट्ठीमा थियो- “…हेर न, तिम्रो दाइको चाला ! सुन्यौ आज के भने ? मैले फेरि बिहा गर्नु रे । हा-हा-हा । उनले भने- ‘गौरी, तिमी आर्को बिहा गर ।’ मैले उत्तरमा भनें- ‘के भनिरहेको छौ तिमी ?’
उनी मैले बुझ्नै नसक्ने कुरा गर्न थाले । भने- ‘तिमीले सुख पाइनौ गौरी मबाट, यो पतिबाट ।’
मैले भनें- ‘सुख ! यत्रो ठूलो सुख मैले पाइरहेकी छु कि मलाई लाग्छ, जन्मजन्मान्तरसम्म पनि म यो खप्न सक्ने छैनँ, तिमी अझ भन्छौ मैले सुख पाइनँ रे ! के भनेको तिमीले, प्राणाधार ?’
उनले उत्तरमा केवल ‘कवै’ भनेर खोक्न थाले । उनको रुमाल रगताम्य भयो । मैले पानीमा आफ्नो धोतीको फुर्को भिजाएर उनको मुख पुछिदिएँ र सहारा दिँदै उनलाई बिछ्यौनामा लगेर सुताएँ…।
कुनै-कुनैचाहिँ एक-दुई हरफका मात्र चिट्ठी हुन्थे । “उनले आज भने- ‘गौरी, तिमी कति राम्री !’ सानोबाबू, तिमी भए कति खुशी हुने थियौ मलाई देखेर । पिताजी, सानीआमा, बाबूसाहेब, महारानी नन्द, सासू कप्तान्नी आमाहरूले मेरो आजकालको सुख र गृहस्थीको आनन्द देख्न पाउनुभएको भए कति सन्तोष मान्नुहुन्थ्यो !” या यति मात्र “मेरो गृहस्थी भरिपूर्ण छ । मलाई आजकाल मनग्गे छ ।” तर कुनै चिट्ठी गहिरा किसिमका पनि हुन्थे, मैले राम्ररी बुझ्न नसक्ने खालका - “… सानोबाबू, पाउनु भनेको के हो ? मैले पाएँ कि पाइनँ ? मलाई पहिले लाग्थ्यो, मेरो जीवन वञ्चितताले भरिएको छ, अभावैअभावले । त्यो त मैले नबुझेकी रहिछु । जुन समय मलाई लाग्थ्यो मैले प्रेम पाइनँ, त्यस समयमा पनि अदृश्य रूपबाट पाइरहेकी नै थिएँ, माटोमुनि अँध्यारोमा गडेको बीउजस्तो । नरेन्द्रको हृदयमा प्रेमको बीउ लुकेर नरहेको भए आज यस्तो ठूलो वृक्षको रूपमा त्यो प्रकट हुन सक्थ्यो र ? नभन्ठान, सानोबाबू, कि म आत्मवञ्चनामा यी कुरा लेखिरहेकी छु । म भित्री हृदयको मर्म भनिरहेकी छु, तिमीलाई । जीवको यो एउटा सत्य हो कि सुख ओइरिन्छ हठात् अकारण ! निरभ्र आकाशबाट मुसलधार पानी कहिल्यै पनि पर्दैन । लामो युगको सञ्चयपछि बर्सिन्छ सुख, जसरी आजकाल ममाथि त्यो ओइरिरहेको छ । … मेरो प्यारो देवर, नियतिको अगम्य चाला छ । हामी दुःखसुख भोग गछौं केही नबुझेर, क्षण-क्षणमा मात्र जीवित रहेर; त्यसैले लाग्छ, कत्रा असहनीय दुःखी क्षण छन् हाम्रा । तर देख्दैनौ, तिनै कठोर शिलाखण्डद्वारा दुःखका क्षणहरूले हाम्रो सुखको विराट् प्रासादनिर्माणको आयोजना गर्दै रहन्छन्… सुख पनि त्यस्तो प्रचण्ड अग्निशिखा हो जसले क्षणभरिमै जीवनका यावत् दुःखलाई पोलेर समाप्त गरिदिन्छ । त्यस शिखाको एक स्पर्शले मात्र पनि मानिस सार्थक हुन्छ । त्यही त हो नि मोक्ष…।”
गौरीका यत्तिका चिट्ठीहरू मकहाँ आए तर कहिले पनि उनले मुनरियाको चर्चा गरेकी थिइनन् । एउटा चिट्ठीमा भने उनले यति मात्र सोधिपठाएकी थिइन्- “मुनरियाको खबर लेख्नू । उसलाई कस्तो छ ? भन्नू नरेन्द्रबाबू र मैले उसलाई सम्झेको छ ।”
मुनरिया अब कहाँ भेटिन्थी र म उसलाई गाउँको एउटा दम्पतीको समाचार सुनाऊँ । उनीहरूलाई मुनरियाको पत्तो छैन भनेर मैले लेखेको थिइनँ । त्यसपछि लगत्तै अर्को चिट्ठी आयो- “बाबु, मुनरियालाई गाउँ जाऊ रे भन्नू । उसले आए हुन्छ मकहाँ निर्धक्क भएर । फेरि, बैनी त हो नि त्यो, दिदीको घर उसैको हो भनेर उसलाई सम्झाउनू…। आज तिम्रो दाइलाई भनें- ‘प्राणनाथ, मुनरिया कहाँ होली ! एक्लै कहाँ बसेकी होली ! किन नलिएर आएको आफूसँगै उसलाई पनि ?’
उनले आफ्ना ठूला-ठूला आँखा उठाएर मलाई हेरे । मलाई लाग्यो, बडो विवश किसिमको हेराइ थियो त्यो उनको । उनले भने- ‘उसलाई यहाँ ठाउँ कहाँ छ र ?’
मैले भनें- ‘यत्रो घरमा ठाउँको के कमी ? ठाउँ नभए पनि ठाउँ छैन भनेर परिवारको प्राणीलाई बाहिर फ्याँक्न पाइन्छ र ?’
उनले भने- ‘मुनरियालाई मैले जानी जानी छाउँ । मलाई लाग्यो, म अब उसको जिम्मा लिन नसक्ने भएँ । मर्न भनेर घरै फर्कने मानिसको अरू उपाय नै के थियो र ! उसलाई कतिचोटि भर्ने- मुनरिया, म अब तिम्रो लागि केही गर्न नसक्ने भएँ जुन लालनपालन र रक्षा पुरुषले आफ्नी नारीलाई गर्छ । तिमी अर्को बिहा गर…। मैले तिमीलाई भनेको जस्तो । उसले पनि मानिन, त्यसैले एक दिन म हठात् उसलाई छाडेर यता हिँडें । उसले मलाई नछाड्ने भए मैले नै उसलाई छाड्नुपर्यो भन्ठानें, र मलाई लाग्यो, शायद त्यसो गर्दै भने उसलाई मेरो बन्धनबाट मुक्ति मिल्नेछ ।’
एकछिनसम्म कोठामा ठूलो शान्ति रह्यो । नरेन्द्रले फेरि सानो स्वरमा भने- ‘आजकाल कुन्नि कसरी बसेकी होली ! ऊ सुखी भए मलाई सन्तोष हुने थियो । मैले उसलाई केही गर्न सकिनँ ।’
… सानोबाबू, मुनरियाको छिटो समाचार लेखिपठाऊ…”
त्यसपछि एउटा साधारण किसिमको चिट्ठी आयो- ‘सानोबाबू, उनी असाध्य गल्दै गएका छन् । अब त हिँडडुल गर्न पनि पटक्क नसक्ने भएका छन् । ओछ्यानमा सुतिरहन्छन् र मलाई नजिकै बसिराख भन्छन् । जति पटक खोक्यो उतिपटक उनको मुखबाट वाल्ल रगत आउँछ । ज्वरो पनि बढ्दै गएको छ । तर कस्तो सौभाग्य मेरो ! उनको प्रेम मेरा लागि पनि उसै गरी बढ्दै गइरहेछ । भन्छन्- ‘प्यारी ! प्यारी ! प्यारी ! मलाई एकछिन पनि नछाड ।’ भन्छन्- ‘म कहिले पनि तिमीलाई छाडेर कतै जान्नँ ।’
…. आजकल उनी कस्ता बालकजस्ता भएका छन्, भन्छन्- “ओखती खाएर केही फाइदा छैन अब । ओखती खान्नँ रे । ओखती नखाएर पनि रोग निको हुन्छ ? कस्तो बालकको ढिपी ! भन, सानोबाबू, माछाको तेल नमीठो हुन्छ, मानें, तर क्षयमा त्यो नखाई हुन्छ र ? फेरि निको कसरी हुने त ? मैले फकाई-फुल्याई उनलाई औषधि ख्वाउनुपर्छ । कहिले भन्छन्- ‘खोइ, सुपारी दिन्नौ आजकाल ? म खान्छु है सुपारी अबदेखि तिमीले दिएको, फ्याक्दिनँ त्यसलाई साँच्ची ।” सुन्यौ सानोबाबू, रोगीले पनि सुपारी खाने ढिपी लिने हो ?”
त्यसपछि गौरीका चिट्ठीहरू बडा छन्द न बन्दका आउन थाले, केही तारतम्य नमिलेका जस्ता । एकातिर उनी लेख्थिन्- “नरेन्द्रको मुखबाट रगत आउन थामिएको छैन, ज्वरो पनि जस्ताको तस्तै छ ।” अर्कोतिर लगत्तै लेखिएको हुन्थ्यो - “रमाइलोसित दिन बितिरहेका छन् । चौबीसै घण्टा उनैको साहचर्यमा रहन्छु । उनी ममा पूरा निर्भर गर्न थाले । ओछयानमा कोल्टे फेर्न पनि म नभै नहुने भयो उनलाई । उनी भन्छन्- ‘गौरी, म धेरै माया गर्छु तिमीलाई ।’ आजकाल साँच्चै सानोबाबू, उनी मलाई धेरै माया गर्छन्, मैले साँच्चै भनेको प्यारो देवर, धेरै । के म बुभिदनँ र माया गरेको !”
एउटा चिट्ठीमा डाक्टरको पनि चर्चा थियो- “आज डाक्टरले आएर सोधे- ‘रोगीलाई कस्तो छ ?’ मैले भनें- ‘रगत थामिएको छैन, ज्वरो पनि उस्तै छ, खोकी पनि उस्तै छ । तर अरू सब थोक खूब असल छ । मलाई खूब माया गर्छन् । खूब रमाइलो छ डाक्टरसाहेब !’
डाक्टरले छक्क परेर नबुझेको जस्तो गरी मलाई हेरे । मैले भनें- ‘हो डाक्टरसाहेब ! साँच्चै भनेको, खूब माया गर्छन् । म बुझ्दिनँ र त्यति पनि ? मैले उनलाई पाएँ सदाका लागि । अब मेरै भए उनी जन्मजन्मान्तरका लागि ।’
डाक्टरले मलाई अनौठो किसिमले हेरे र भने- ‘नानी, तिम्रा अरू को छन् ? बोलाउनुपर्यो उनलाई ।’
मैले भनें- ‘नरेन्द्र छन् मेरा ।’
उनले भने- ‘मैले सोधेको अरू को छन् तिम्रा सम्बन्धीहरू ? झिकाऊ उनलाई ।’
मैले फेरि भनें- ‘मलाई मनग्गे छ, नरेन्द्रबाट । उनैले मलाई सबै सम्बन्धीहरूको सुख दिएका छन् । उनै मेरा सर्वस्व हुन्, मेरा नातागोता जे भए पनि उनै हुन् । मलाई मनग्गे छ, डाक्टरसाहेब, मनग्गे छ ।’
डाक्टर भन्छन्- ‘भएन त्यसले त । तिमीलाई पनि हेर्ने मानिस चाहियो ।’
देख्यौ डाक्टरको चाला ! म यस्ती सद्देलाई पनि बिरामी छु जस्तो गरेर मलाई हेर्ने मानिस चाहियो रे ! तर उनले ढिपी गरेकाले मैले तिमीलाई सम्झेर भनें- ‘डाक्टरसाहेब, मेरा एउटा प्यारा देवर छन् । बनारसमा पढ्छन् ।
डाक्टरले सोधे– ‘बनारसमा कहाँ बस्छन् उनी ?
मैले तिम्रो ठेगाना बताइदिएँ उनलाई । त्यसै बखतमा नरेन्द्रले मलाई नाकेस्वरमा बोलाए- ‘प्यारी, कहाँ गयौ, एकछिन पनि नछाड मलाई ।’
मैले डाक्टरलाई खुशी भएर भनें- ‘देख्नुभयो डाक्टरसाहेब ! म एकछिन भैनँ भने उनको काम चल्दैन । मेरै भए उनी जन्मजन्मान्तरका लागि….।’
यस्ता उट्पट्याङ चिट्ठीहरूलाई के भन्ने ? निरर्थक, असम्बन्धित कुराहरूले भरिएका गौरीका हरफ राम्रा, माझिएका, चिट्ट परेका हुन्थे । लेखाइमा पूरा कारिगरी हुन्थ्यो । डाक्टरका सम्बन्धमा लेखेको चिट्ठी उनको अन्तिम चिट्ठी थियो मलाई ।
त्यसपछि एक दिन हठात् एउटा तार आयो डाक्टर भन्नेले पठाएको- “चाँडै आऊ, गौरीको जिम्मा लिन ।” ☐
धेरै वर्षपछि म गाउँ गैरहेको थिएँ । टेशनबाट गाउँ चार कोस पूर्व पर्थ्यो । माघको जाडो थियो, तर दिउँसोको घाममा शरीरलाई न्यानो पार्दै म बयलगाडीमा गुण्टा राखेर पैदल हिँडिरहेको थिएँ । टेशनको तीन कोससम्म त उही पुरानो दृश्य नै थियो- सडकका दुवैतिरका आँपका बगैंचाहरू, कहीं-कहीं पोखरी र तिनमा उम्रेका झारपातले जेलिएका कमलका फूलहरू । ठाउँ-ठाउँका खेतहरूमा धान काटिसकिएको, कहीं-कहीँ अझै कटनी चलिरहेको, कहीँ दाउनी भैरहेको । पुरानो स्मृतिले म भरिंदै गएँ । तर गाउँ पुग्ने-पुग्ने वेलामा, एक कोस परैदेखि कोशीको विनाशका चिन्हहरू देखा पर्न थाले । ठाउँ-ठाउँमा दह जमेर हिलो मिसिएको पानीका कुण्ड, कादो-थला, बीच-बीचमा बालुवाका राशि, सुक्दै गएका बगैंचाहरू आगोले पोलेर झर्किएजस्ता पिल्सिएका, सडकको पत्तै नभएको । गाडीवानले भन्यो- “कोशीको उत्पात दुई वर्षदेखि यही ठाउँमा मच्चिरहेको छ । गाउँका गाउँ उजाड भए, औलो र अरू महामारीले धेरै मानिस सखाप भए ।”
मैले देखें, बडो उदास दृश्य चारैतिर । खोइ ती पुराना स्मृतिमा सुन्दरताको रूप भई अडेर बसेका थलाहरू ? कहाँ छन् ती ठाउँ जहाँ सान्नानीसँग म दिनदिनभरि चहार्दै हिँड्थें- काँचो फल टिप्दै, नाङ्गो भएर नुहाउँदै, गोठालाहरूसँग गुल्ली-डण्डा (डण्डी-बियो) खेल्दै । खोइ गोसाईंथान ? खोइ नजरियाको पसल ? खोइ पोखरी ? खोइ आँपका बगैचाहरू ? खोइ गाउँ ?
गाडीवानले भन्यो- “गाउँ अब कहाँ बाँचेको छ र यहाँ ? त्यही दुई-तीन छाप्राहरू त हुन् नि !”
चारैतिर बालुवा नै बालुवा, पटेर र झौवाका भयाङहरू, जसका मध्यमा, ठाउँ-ठाउँमा, सुकेका बगैंचाहरूका अस्थिपिन्जर वृक्षहरू आकाशतिर पात नभएका शाखा प्रशाखाहरूद्वारा खैरो आकाशमा विचित्र आकारहरू बनाउँदै दैत्यरूपमा उभ्भिएका थिए । बडो शून्य ठाउँ भएछ त्यो गाउँ, एकदम निर्जन ।
एउटा घरको अगाडि बयलगाडी अड्याएर बयलवानले भन्यो- “सोध्नोस्, कुन घर हो ?”
त्यस घरबाट जुन नारी हाम्रो पुकारमा निस्किन्, तिनलाई देख्दा म एकाएक स्तब्ध भएँ । त्यत्रो विश्वव्यापी विराट् क्षयको मध्यमा एउटा अद्भुत रूप र तेज लिएर उभ्भिएकी थिइन् मेरा अगाडि गौरी ! उनको उही पुरानो तेजोमय अनुहार झन् बढी आभायुक्त भएको, तेजले टलक्क टल्केको । प्रशस्त ललाटमा एउटा ठूलो रातो टीका र सिउँदोमा एउटा सिन्दूरको रेखा । कपाल जतनसँग कोरेको । रातो रेशमी सारीमाथि मयूरपुच्छ चोलो लाएको । शरीरको कद सानै, तर पूर्णविकसित भएको, यौवनको शिखरमा अङ्गप्रत्यङ्ग प्राप्त भएका । उनको हातका चुरा झन्न बजे । गोडाका कल्लीले पनि आपसमा ठक्कर खाएर एकचोटि गम्भीर स्वर झिके । उनले मेरो अगाडि आएर भनिन्- “को, सानोबाबू ?”
मैले सोध्ने आवश्यकता नै परेन । त्यो सानो घरमा प्रवेश गर्दा नगर्दै मैले थाहा पाइहालें-नरेन्द्रदाइ छैनन् अब !
गौरीले भनिन्- “उनी सदाका लागि मलाई प्रेम दिएर गए…हो, सानोबाबू, मरेनन् । ममा आएर बसे सधैं सधैंका लागि, मलाई सदाका लागि सौभाग्यवती बनाए । त्यसैले त हो नि, अरूले कति भन्दा पनि मैले चुरा फोरिनँ, सिउँदोको सिन्दूर पुछिनं…।”
मलाई गौरीको चाला अनौठो लाग्यो । म आएको छु भन्ने थाहा पाएर लेलहा बूढो लट्ठी टेक्दै आयो । उसले पनि भन्यो- “माल्किनीको चाला ठीक छैन, मति बिग्रेको छ ।”
गौरी भने नरेन्द्रको मृत्यु भएको छ भन्ने कुरा स्वीकार गर्नुबाहेक अरू व्हारमा एकदम साधारणजस्ती थिइन् । उनले मलाई राती भनिन्- “कसैबाट नखोसिने गरी उनी मेरा भएका छन् । कहिल्यै पनि नछाड्ने गरी उनी घर फर्केर आए ।”
कहाँ मेरी पलिहेकी गौरी जो पति जीवित छँदा वैधव्यको आचरण गर्थिन् र कहाँ आजकी गौरी, पतिको मृत्युपछि पूरा सधवाको सौभाग्यमा आफूलाई सिँगारेर बसेकी ! कत्रो भीषण परिवर्तन, कत्रो असहनीय रूपान्तर । कहाँ पहिलेकी निमुखा भाउजू, कहाँ आजकी फतफते गौरी । त्यसैले होला डाक्टरले शङ्का गरेको थियो । लेलहाले पनि भन्यो- “मगज बिग्रेको छ ।”
गौरीलाई भने केहीको वास्ता थिएन । उनी मलाई भन्दै गइन्- “सानोबाबू, अरूले भनेर हुन्छ ? म आफ्नो पतिको कुरा बुझ्दिनँ र ? मेरो बिहा स्वर्गमा भएको हो जुन अमरस्थलमा म परिणता भएँ त्यस्तै अक्षुण्ण मेरो सौभाग्य पनि छ । अरूहरू यस मर्मलाई के बुझ्छन् र ? नरेन्द्र मरेका छैनन्, ममा छन् । मलाई कहिले पनि नछाड्ने गरी अँठ्याएर बसेका छन् ममा । तिमी बुझ्दैनौ, सानोबाबू !”
झल्याँस्स मलाई मुनरियाको सम्झना भयो । ऊ पनि मसँग कुरा गर्दागर्दै एक्कासि निराशामा आएर भन्थी- “तिमी बुझ्दैनौ, सानोबाबू !”
के म नारीहृदयको कुरा साँच्चै बुझ्दिनँ ? के मुनरियाको कुरा मैले नबुझेको हो ? के साँच्चै नै म ऐले गौरीको कुरा पनि बुझिरहेको छुइनँ ?
गौरीले राती कोठामा भनिन्- “सानोबाबू, अब माइत जान्छु । मेरो यहाँको भोग सिद्धियो । स्वामीलाई पाउन स्वामीको घरमा बसेकी थिएँ । अब उनलाई पाइसकेपछि यहाँ मेरो पर्खाइको के आवश्यकता रह्यो र ? मलाई मेरो माइतमा पुऱ्याइदेऊ, वीरगन्ज ।”
भोलिपल्टै जुन बयलगाडीमा गुण्टा राखेर म गाउँ आएको थिएँ त्यसैमा उनको एउटा पोको थपेर हामी फेरि टेशन आयौँ । उनले गाउँतिर फर्केर हात जोड्दै भनिन्- “हे पुण्यभूमि कौशिकादेश, म तिमीसँग बिदा लिन्छु । स्वामीलाई म आफैंसँग लिएर जाँदै छु । तिम्रो आश्रयमा यति दिनसम्म बर्से आज बिदा देऊ, कोशी नदी, हे जननी माता !”
टेशन पुगेपछि आफ्नो पोकोबाट झिकेर मुरलीधर कृष्णको मूर्ति मलाई दिँदै उनले भनिन्- “यो तिमीलाई ।”
उनको पोकामा अरू केही थिएन, नरेन्द्रले ओढ्ने गरेको खाँडीको बर्को, उनको एक जोर कुर्ता, धोती र जुत्ता ।
उनलाई उनको माइतीमा पुऱ्याएर म काशी फर्के, काशी एकदम खल्लो लाग्यो । विषादको वातावरणले भरिएको शहर । मलाई पढ्नमा मन लाग्न छाड्यो । बारम्बार मनमा प्रश्न उठ्थ्यो- ‘जीवन के हो ? यसमा प्राप्ति के छ ? सुख-दुःख किन यस्तो मोहमय ? दुःख किन यस्तो पीडापूर्ण र सुख किन रिमरिमजस्तो; जीवनमा किन भागाभाग, दौडादौड, स्वाँ-स्वाँ र फ्वाँ फ्वाँ ? केको लागि ? केको लागि ?’
एक दिन खबर आयो, ९० सालको भुइँचालोमा गौरी घरभित्रै थिइन् रे, त्यहीँ किचिइन् रे । नौ दिनपछि बाँचेकै झिके रे उनलाई । तर शरीर ठाउँ-ठाउँमा भाँचिएको थियो रे र टाउको फुटेको । सारा शरीर सुन्निएर ढुस्स भएको, दुर्गन्धीले भरिएको । झिकेको तीन दिनपछि मरिन् रे ।
यो खबरले मलाई बडो उदास पार्यो विषादमय । बारबार मनले भनिरह्यो - ‘गौरीभाउजू अब यस संसारमा छैनन् ।’ उनका जीवनका यावत् घटनाहरू मेरो सामुन्ने सिनेमाको तस्वीरजस्तो नाच्न थाले । उनले के पाइन् अन्त्यमा ? दुःखबाहेक अरू के थियो र उनको जीवनमा ? उनको सुख पनि दुःखजस्तै, हेर्ने मानिसका आँखामा करुणाको आँसु झिक्ने । किन उनी जन्मिन् ? मानिस नै किन जन्मिन्छन् ?’
मनमा लाग्यो, भुइँचालो आउँदा सबै भागेर निस्के होलान् । बौलाही गौरी कोठाको कोठै रमिता मानेर बसिरही होलिन्, उनी बाँचेकी नै भए पनि के फरक हुन्थ्यो र जीवनमा ? उनको मृत्युले नै के फरक ल्यायो र ?
म बडो व्यग्र भएँ । लाग्यो, घरभित्र सास फेर्नलाई हावा छैन । बाहिर निस्किएँ, गल्लीबाट चोकको मुखमा पुग्नै आँटेको थिएँ, एउटा ठूलो भाँडाकुँडाको पसलमा एउटी आइमाई, चिनिएकी जस्ती, भाँडा किनिरहेकी थिई । नजिकै पुग्दा चिर्ने- मुनरिया रहिछ । कत्रो ठूलो परिवर्तन उसमा आएको ! बनारसी सारी लाएकी र बेलबुट्टा भएको रेशमी चादरले शिर र शरीर ढाकेकी । मदिसेहरूले लाउने जस्तो तेलमा रँगालेको सिन्दूर सिउँदोभरि दलेकी, सुनका गहनाले हात, नाक, कान, गर्दन छ्यापछ्यापती पारेकी । सुनैको पाउजेब पनि । शरीर बाक्लिएको तर अनुहारमा पहिलेको जस्तो हिस्सी नभएको । घरमा मनग्गे होला तर मन भने भोकैजस्तो । श्रीहीन नारी असमयमा नै बूढी हुन लागेकी ।
मैले रोकिएर भनें- “मुनरिया !”
उसले हातमा उठाएको तपेस उठाएकै मतिर फकेएर हेरी र भनी - “बाबू, मुनरिया त मरिसकी । म मुनरिया होइन । तिमीले चिनेनौ । म उनकी पत्नी हुँ ।”
अर्को पसलमा बूढो जौहरी पनि भाँडाको मोलतोल गरिरहेको थियो । त्यसलाई देखाएर उसले भनी- “म उनकी पत्नी हुँ । मुनरिया मरिसकी, तिमीले चिनेनौ ।”
जौहरीले उहीँबाट भन्यो- “यो कसौंडी कस्तो छ, हेर त । मन पर्छ कि तिमीलाई ?”
मुनरिया मलाई उभ्भिएकै छाडेर जौहरी भएको पसलतिर गई ।
म रन्थनिदै फर्के । कानमा ग्वाइँग्वाइँ एउटै ध्वनि आइरहेको थियो- ‘मुनरिया त मरिसकी…।’
सपना देखेजस्तो कहिले मुनरिया, कहिले गौरी, कहिले नरेन्द्र मेरो आँखासामुन्ने परिरहन्थे ।
म निसास्सिएको जस्तो भएँ । खुला हावामा सास लिन पाइएला भनेर पञ्चगङ्गा घाटमा आएँ । दिउँसोको बेला थियो । फागुनको गङ्गा क्षीण धारामा बगिरहेकी थिइन् । पारिपट्टि बालुबाको विस्तृतमा आँखाले भेट्टाउन्ज्यालसम्म फैलिएको थियो ।
सारा कुरा कस्ता निस्सार । पारिको बालुवालाई बीच-बीचमा भुमरी-हावाले उठाउँदै त्यसलाई केही माथिसम्म पुऱ्याएर फेरि झार्थ्यो । जीवन कस्तो अर्थहीन ?
लाग्यो, कोशीको तटमा बालुवाको राशिमाथि नरेन्द्र, गौरी र मुनरियाले एउटा खेलाँचीमा त्रिभुजको आकार अङ्कित गरे । नियतिका एउटा सानो फ्फुमा बालुवा हल्लियो । त्रिभुज विलीन भयो । बालुवाको निर्दोष राशि निर्द्वन्द्वतामा शून्यलाई चियाएर बसिरहेको छ, आजसम्म पनि बसिरहेकै छ…
सुन्दरीजल जेल
काठमाण्डू
१३, १४, १५, १६ मार्च १९६४