मदन भोट जाने बेलामा
मुना- नछोडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, मनको वनमा ननिभ्ने गरी विरह जलाई, ननिभ्ने गरी विरह जलाई, लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए, के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए ! प्यारा ! विष नै पिलाए ! मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा, यो मेरो मुटु पचासबाजि धड्कन्छ पलामा, यो छाती मेरो चिरेर खोली नजर गराए, त्यो मन केही फर्कंदो होला, तस्वीर खुलाए ! आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन, मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन, प्यारा ! आँसुले बोल्दैन !
मदन- हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी ! फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ? म बीसै दिन बसुँला ल्हासा, बाटामा बीसै दिन, चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन, प्यारी ! भेटको बडा दिन ! कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा, नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा, अनारदाना दाँतका लहर खोलेर हाँस न, तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन, प्यारी ! बिदामा हाँस न !
मुना- हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल, पहाड, भीरका भोटे, वनका जन्तु, गाईको आहार रातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँ जाने नै भए नछोडी जानोस् साथमा सुहाऊँ ! हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ !
मदन- नभन त्यसो ! बुझ न मुना ! थुँगा झैँ त्यो पाउ, वनका काँडा, उकाला ठाडा, कसरी लैजाऊँ ? हे नागकन्या ! पहाड नआऊ ! ती यौटी आमा, लच्छिनकी बत्ती नछाड सुसार, तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार, ती हेरी बसून् यो चन्द्रमुहार !
मुना- फुलेको केश, गलेको जीउ आमाको मायाले, बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले, हजूर ! आमाको मायाले ! जङ्गली देश बेपारी वेश सङ्कट सहेर के मिल्छ हरे ! तिनलाई छाडी ल्हासामा गएर ? हातका मैला सुनका थैला, के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले ! हे मेरा प्यारा ! अमीरी मनले !
मदन- हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा, के गर्छौ मुना ! यो सास अड्छ त्यै पापी धनमा, ती आमालाई दूधको घुड्कोले गला रसाऊँ, उनको यौटा पाटी र धाराको इच्छा पुऱ्याऊँ, यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ, रिनले थोत्रो घरको जग बलियो बनाऊँ, भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो, उचालिहालें पयर ऐले, इच्छाले उठायो । ईश्वरमाथि, मुटु छ साथी, जङ्घार तरुँला असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !
मुना- हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल ! तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल ! नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढलमल ! ल्हासाकी ठिटी, आँखाकी छिटी, सुनमा कुँदेकी, बुल्बुले बोली, गालाको बीच गुलाब फुलेकी– ती सबै खेलून्, ती सबै नाचून्, डाँडा र चहुरमा, मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा, सवारी हओस् अँध्यारो पारी घर र शहरमा ! रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा ! अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा। पिंजराभित्र जलेकी चरी नबोली रुनेछ ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ ! क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन ! खरानीबाट छिनछिन बिउँती रुनेछ सम्झना ! छहारी दिने रसिलो बादल झुकेको बिलाए शीतको दाना सुकेकी फूल खङ्गङ्ग भई सुकेर मूल वैलेर झर्ली नबोली, बोली को सुन्ला वहाँ ए ! प्यारा ! को सुन्ला यहाँ ए ! सवारी हओस् भन्नै ता पऱ्यो मुख थुनी मुटुको नरुँदी चरी पिउनेछ मरी आँसुको घुटुको कमलको मुटु खुम्चेर मर्छ भ्रमरा-दर्शन त्यसमा पर्छ तिमिर छाया मुख बाउँछन् धुइरा, शीतले काँप्छ तन प्यारा ! शङ्काले काँप्छ मन !
मदन- पुरुषको प्यारी ! सङ्ग्राम संसार, विजय उसको सार ! पौरुषविना पुरुष हुन्न तरवार विनाधार ! सङ्घर्षद्वारा बिजुली बल्छे, विक्रमद्वारा दीप ! तिमीलाई पाउन म दूर जान्छु झन् आफ्नो समीप देहको न्यानो नजीकको प्यारी, आत्मालाई बिर्साउँछ चौमासको वियोग किन हो ज्ञानी ! तिमीलाई तर्साउँछ दूरतालाई गिज्याउँला हामी तिर्सना चढाई झन् तीखो प्यासले सँगसँगै ह्वौँला मुटुलाई मिलाई तिमी ता मेरी जीवन-ज्योति, बाटाकी दियाली ननिभ्ने कहिल्यै, नछोड्ने कहिल्यै जीवन अँगाली तिमी छौ पर भन्ने यो डर मलाई हुँदैन हिमालपारि, हिमालवारि, कल्पने चरी भुर्रभुरी गरी, तिम्रो त्यो अमर प्यारको मुटु पङ्खले छुँदैन प्यारी ! पङ्खले छुँदैन । पुछ्नछौ आँसु, नजरका दाना बरबर गुडे झन् पर्वत-खाडी-सागरले छेक्छन् प्याराका जोडी कुन ? कालको वारि, कालको पारि एक वस्तु अमर छ दुइटा जोडी दिलको प्यार, दुइटा आत्मा जोडिने तार देश र काल नाघेर चल्छ ईश्वरको वर छ ! सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो ! निर्मल आकाश उघ्ग्रन्छ फेरि पखाली गाजल यो ! डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ? प्यारी ! तानिए फर्कन्न ? नमान डर ईश्वर छ भर, बुझाई बसे मन, अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन ।
मदन भोट जान्छन्
डाँडा र काँडा, उकाला ठाडा, जङ्घार हजार, भोटको बाटो ढुङ्गा र माटो, नङ्गा र उजार, कुइरो डम्म, हिउँले टम्म, त्यो विष फुलेको, सिम्सिमे पानी, बतास चिसो बरफ झैँ डुलेको, मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका, बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका । स्याउला चिसा, ओछ्यान खासा जाडोले बज्ने दाँत, पकाई झिक्ता नखान पाई काँचाको काँचै भात । आखिर ठूलो सुनको छाना साँझमा सुहायो, मैदाननेर पोतालामुनि ल्हासा नै मुस्कायो । आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको, सुनको छाना, दरबार अजङ्ग त्यो दले लामाको । चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको, रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको, शीतल पानी, हरिया पात, हिउँका टाकुरा, शिरीष फूल फुलेको सेतो, रूखका आँकुरा । कीचूको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल, यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ल्हासा झलमल । ती हस्तिहाडसरिका सेता, भोटेनी भर्खरका, आँखाका काला, नौनीका छाला, त्यो ल्हासा शहरका । खौरेका शिर भोटेका गुरु, ती माला फिराई, गम्भीर चाला, गडेका आँखा, अनौठा लगाई । ‘ॐ मणिपद्मे ! ॐ मणिपद्मे !’ भनेर हिँडेका, कपाल थापी, आशीर्वाद मागी, बटुवा बढेका । त्यो नौलो गाउँ, त्यो नौलो ठाउँ, त्यो नौलो सडकमा, ल्हासाको शहर क्या लाग्दो रहर सुनको झलकमा ! बिचबीचमा तर अमोल झल्का पाइन्थे पथमा, नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा, आश्चर्यजस्ता बिरामा फूल, बनेली प्रतिभा ! प्रकृति उनलाई छक पारिदिन्थिन्, मस्काई मुटु बाः ! बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र गर्जनतल, इन्द्रेनीतल, झल्कन्छ घाम, तल छ जल माथि छ मानव स्वर्पुरमा झैँ चुलीमा पवित्र ! स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई, चरण फ्याँक्ने बाँसुरी-तालमा, अप्सरा लजाई, सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र, ‘पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ ?’ मनमन भन्थे मदन त्यहाँ ‘यहाँ क्या जीवन छ ! हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव-तपस्वी, विश्वमा नेपाल विक्रम-तेजले हुनेछ यशस्वी’ कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले, गुञ्जायमान शीतल पर्वत शीकर-दानाले, अमृत जल त्योभन्दा मीठो पृथ्वीमा पाइन्न, प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न ! ढुङ्गाको दाँत बाटामा तर तीखो छ बिझाउने हिउँको दाँत झन् तीखो बतास दान्द्रा नै किटाउने, विचित्र जन्तु सैरने वन गोधूली-छायामा, कालीको वाहन फुकेर चर्ने मिर्गका कायामा । कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल शहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल, जीवनको मीठो आनन्द चर्को हरियो हावामा उद्गार गरी थरी र थरी, फुर्रफुरी गर्ने, भुर्रभुरी लिने, उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा, पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा, क्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी, भीषण काली क्रोधमा तर, नङ् र चुच्चो लोहित हुँदी आँधीका भुमरी, कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेका, अत्तर-बास्ने पत्तीका झुप्पा जहाँ छन् हिलेका, सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा, देखेर मदन गद्गद हुन्थे विचित्र मिठासमा, मिर्गको पाठो कोमल चिल्लो फुर्रफुरे शैशवमा, चाञ्चल्यको नै आनन्दस्वरूप फुर्केको रहरमा, इन्द्रेनी-राज्य फुलारु बाक्ला जङ्गल नाघेर मदन चढे पर्वत ऊँचा हिमालमा लागेर, पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल, काँधमा स्वर्ग बोकेर हेर्थे नीलिम नेपाल, दिनले लिँदा पहिलो झल्को सगरमाथामा, उषाले बाल्थिन् लखबत्ती-चुली सुनौला ज्वालामा, एकान्त त्यहाँ शासन गर्थ्यो साम्राज्य सेतोमा तपस्या त्यहाँ शान्तिमा चढ्थिन् स्वर्गको बाटोमा, बिहानी लाली लसेर आउँदा प्रथम गुलाफ, सृष्टिको पैलो ललित रङ्ग धप्काउँथ्यो रवाफ, मानिसलाई चुनौती दिने हिउँका टाकुरा डुबुवा दिनले छोएर बल्थे प्रकृति-मन्दिर सुनौला गजूर धप्के झैँ हजारौँ, विशालताको रोमाञ्चकारी हिमाली स्वरूप, विभिन्न पाटे भएर झल्को दर्शाउँथ्यो अनूप, करुणाजस्तो कोमल निर्मल हिउँको काया छ, भूभरको ऊँचा भएर भूमा पग्लिने माया छ रहस्य यौटा अवश्य राख्थ्यो स्वर्गिक चुली खास, उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा बास, सकल युगको इतिहास जानी निश्चल तपस्वी, सागर भेटी बादल फ्याँक्थे आशिषजस्ता वर्षालु स्वरमा नेपालमा यशस्वी । जूनले लस्दा हिमाली महल कान्तिको कोमल, चाँदनी स्वर्ग, चाँदिलो सपना अमृत-जलप-निवास बन्थ्यो उमाको शीतल, पीयूष-जलमा छायाको सार झल्के झैँ मञ्जुल, एकान्तलाई त्योभन्दा ठूलो विलास थिएन, संसारी विष निभाउने शीतल त्योभन्दा अर्को भूतलमा कहीँ स्थल नै थिएन, अनेक गङ्गा निर्झर नाला आँसु झैँ दयामा, पग्लेर स्वतः बरबर झर्रझर्र तपस्वी लोचन हिमालीबाट झर्दथे दुनियाँमा । श्यामल धन नेपालको भन कसको वरदान ? जलडोरे अनेक सभ्यता युगका कसको प्रदान ? उच्च र गूढ भावको क्षेत्र हृदय सङ्लाउने, आश्चर्य के छ, भारत खोज्थ्यो त्यो दिव्य मीठो आभास सधैँ आत्मालाई जगाउने, उचाली आफ्नो मनको तह तरङ्ग उचाली हिमाल-प्रदेश पार गर्थे मदन हृदय उचाली धूपीका घारी, सल्लाका घारी पर्वत चढेका, हिमालका ज्यादा नजीकका शिशु ती हेर्थे बढेका, पृथिवी अब पातलो उँचाइ लिएर नङ्गगिन्थिन्, छ मास हिउँको सिरक ओढी छ मास फुङ्गगिन्थिन् । बतास भो तीखो, हिमाली श्वास सियो झैँ कडा भो, भोट जाने युवा हिउँको लामो लहरमा खडा भो बर्बुरे चिनी हावाले छानी सल्लाको सियाभर, पवित्रताको पीठोको धूली पर्वतमा छरबर, शीतमा थियो अग्निको जलन पैताला जलाउने, हावामा थियो पातलो पन फोक्सोलाई फुलाउने,
अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी, बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी, कलिला ओठ खोलेर हाँस्ता मोती नै बर्सन्थ्यो, पुसको फूल झैँ सुकेर गइन् आँसु नै बर्सन्थ्यो, लाम्प्चिला आँखा पुछेर गर्थिन् सासूको सुसार कोठामा सुत्दा तकिया भिज्थ्यो चिन्ताले हजार, ती दिन लामा, ती रात लामा ती दिन उदासी, अँध्यारा रात, उज्याला रात जून नै उदासी, झ्यालमा मुना झलमल तारा ल्हासामा ती प्यारा, आँखामा आँसु मुनाको मन चिन्ताको आहारा, स्वरमा आँसुको सिम्सिमे वर्षा मसिनो चले झैँ, एकान्तभित्र उठ्तछ गाना विरह बोले झैँ, चिन्ताले लाखौँ लाग्दैन आँखा सपना प्यारो छ, सपनाभित्र उनलाई देखे उठ्न नै गाह्रो छ, सपनाभित्रै उडेन सास भनेर ती रुन्छिन्, दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन्, बतासले दाह्रा किटेर टोक्थ्यो साँझमा मुटुलाई, भोटेली पोशाक, दोचा र भुत्ले टोपीले उनलाई, सुकुटी चिया भेडाको धूली चौँरीदूध गट्टाले बचाए बल्ल क्या कष्ट पाए बाटामा पट्ठाले ! प्रकृतिदेवी मानिसप्रति क्रूर र निठुरी भएर जान्थिन् पठार पुग्दा पृथ्वीको जो धुरी, उब्जनी छैन, खानलाई छैन, पिउन नदारत, बल्ल र तल्ल सँभाली साँवल, नेपाली साहु भोटेको त्यो दल- सँगमा मदन जिनतिन चले कष्टको कडा पथ, अनेक दुःख बाटामा सही देखेर उदेक एक मैहनापछि मदन पुगे ल्हासाको नजीक ।
मनको दुःख मनैमा राख्छिन् नबोली छिपाई, छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई, उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिपधिपमा, वैलँदो फूल झन् हुन्छ राम्रो शरद्को समीपमा, बादलको कालो किनार चाँदी, झन् जून उज्यालो, बिदाको वदन झल्कन्छ मनमा दुःखको उज्यालो, फूलमा खस्छन् शीतका आँसु आकाशमा वर्षाजल, रातका आँसु ताराका ज्योति, टप्कन्छन् महीतल, गुलाब मीठो जरामा बन्छ कीराको आहार, शहरभित्र फुलेको फूल दुष्टको शिकार, मानिसको हात निर्मल पानी हिलोले भर्दिनछ, मानिसलाई बाटामा काँडा मानिस छर्दिनछ, अत्यन्त राम्री यी मुना हाम्री झ्यालमा बसेकी, शहरको यौटा गुन्डाले देख्यो अप्सरा खसेकी, भवानीलाई कातेर बत्ती बेयाद रहेकी, गालाको पाटा कानको लोती, कपाल घुम्रेकी, त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर, घरको वर, घरको पर त्यो घुम्थ्यो गएर ।
गुलाबलाई देखेर राम्रो हे भाइ ! नछुनू ! लोभले हेर्यो, मोहनी गयो, जङ्गली नहुनू ! सिर्जनाभित्र रचना राम्रा नजरका जुहार ! ईश्वरको हाँसो पाएका फूल छोएर नमार
घरमा आई, माउर लाई, नैनीले मुस्काई, हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे शर्माई, “कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको ! चिनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको ! मोतीको दाँत, हीराको जात हजूरले हाँसेको ! मोहनी लाग्छ, विघ्नै छ राम्रो हजूरले हाँसेको ! छ मैहना भयो खसम हजूर ! गएको ल्हासामा, बिर्स्यो पो क्यार ? हजूरलाई तरुनी-खासामा, यसरी छोडी गएको देखी दिल दुख्छ मलाई, कमलको पातमा जोबनको थोपा रहन्छ कस्लाई ? नजर मात्रै मुखमा लाए हजार मर्नेछन्, भँवरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?” मुनाको गाला, आगोको ज्वाला जलेर उडायो, आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो । खामोस खाई दयाले भन्छिन्, “हे नैनी भाउज्यू ! म अरू जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू !
सुन्दरको सूक्ष्म स्वरूपका टुना बाहिरी नजरमा, तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा । गुलाब आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले, बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले, लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ, लज्जाले खुम्ची भाग्दछ देही के माटोबाहेक हात लाग्ला केही ? मुस्कान देऊ, फुस्कन देऊ बास्नामा मधुर, बास्नाले मात्र सौन्दर्य छोऊ आँखाको लोभ आँसुले धोऊ सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले ।
यी कुरा गर अरूका कान, जो सुन्छन् लिई चाख, जोबनका हीरा शहरका कीरा, पाउँछयौ तिमी लाख ! चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल, यो मेरो मन डगाउँ भनी नरच यो जाल, गुलाब जस्तो फुलेको दिल कोपिला हुँदैन, जो एकबाजि सुम्पियो बुझ्यौ सो आफ्नो हुँदैन, स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कुँला, त्यो पाउलाई समाई फेरि स्वर्गमा बसुँला, यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे, के भन्नु माथि बाबुको अघि हिलोले बिगारे । दयाले नैनी ! ईश्वरले सिँगारे ! पापको भारी बोकेर फेरि उक्लनु कसोरी ! मनुष्यचोला गुमाए त्यसै फिर्दैन यसोरी, नैनी ! फिर्दैन यसोरी ! स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को, आनन्द दिने सुगन्ध दिने पवित्र रगतको, सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र, जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र, मानिसहरूको मनको जगत् गर्दिन्छ पवित्र, ती तिम्रा आँखा रसाई आए, परेला अडेको, आँसुका ढिका क्या राम्रो देखें अगाडि बढेको, हे नैनी दिदी ! मनको मैलो आँसुले पखाल्छ, आँसुका थोपा आफैँमा खसे यो मन उचाल्छ, यी मेरा कुरा गएर तिमी अरूमा सुनाऊ, आँसुका ढिका बनाई राम्रा खसाल्न लगाऊ,
नभएदेखि सङ्घारवारि हे नैनी ! नआऊ !” सिङ्ङोइकारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ, त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ, तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको, सुनले छाएको गुलाबी घर फोडाङ्मापोँको, चुङ्सुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा, अस्मानी पुल युतोक स्याम्पा घाँसका गलैँचा, फूलबुट्टे चउर घाँसका गलैँचा । चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो, कस्तूरी-वास, सुनको रास, बाटो ता उकालो, आएर बसी के जानु चाँडै ? नबुझी नौलो चाल, मित्यारी लाई मदन बसे घरको बिर्सी हाल, छ मैहना गयो, सात मैहना गयो, मन भो झुसङ्ग, ती मुना प्यारी, आमा बेचारी मन भो झुसङ्ग, मनमा आए लहर जस्ता जलका तरङ्ग, परेवा उड्यो शहर नाघी, जङ्घार तऱ्यो पार, मनले उनको पखेटा हाल्यो उडेर गयो घर,
बसेको बस्यै घरमा पुगे आमा छन् बिरामी, मुनाका आँखा रोएर ठूला, नयन बदामी, लाम्प्चिला, ठूला नयन बदामी ! घ्याङ्घुडे घण्टा गुम्बामा बज्यो, बादल झुम्मियो, पहाडमुनि पहाडी छाया साँझमा लम्कियो, बतास चिसो चम्केर आयो मनको तन्द्रामा, उठेर देखे भेडाको भुवा ओढेका चन्द्रमा, उदासी जून फिकामा गए मदन डेरामा, ती आमा नाचिन्, ती मुना नाचिन् आँखाको घेरामा, त्यो रात त्यसै छर्लङ्ग गयो, ओछ्यान बिछायो, छातीमा केले थिचे झैँ लाग्यो, आकाश रछायो,
लुकाई गह्रौँ सुनका थैला, कस्तूरी सह्यारी, ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी ।
“सपना मैले के देखें आज ? भैंसीले लगायो, यो मुटु काँप्छ त्यो भैंसी सम्झी, हिलामा पछार्यो, बज्यै ! भैंसीले लगायो ।” “बुहारी मेरी ! शीतको सपना पिर्दैन खराब, खराब सपना त्यो बिर्सिजाऊ डरले नकाँप । फुलेको शिर म थापिदिन्छु सबै त्यो खराब, हे छोरी जस्ती बुहारी मेरी ! त्यसरी नकाँप !” “दाहिने आँखा फर्रफर्र गर्छ मनमा लाग्यो पीर, कहाँ हो कहाँ मुटुमा दुख्छ, घुम्दछ मेरो शिर, आमा र बाबु स्वर्गमा मेरा, टुहुरी अजान, हजूर नै आमा, हजूर नै बाबु, खोल्दछु मुहान, बज्यै ! मनको मुहान !” “कसैको माथि कुभलो हाम्रो मनमा पसेन, पापको छाया यो हाम्रो सानो घरमा घुरेन, दैवले देख्छ सोझाको दर्द, दैवले हेर्दछ, दैवको वज्र ओर्लेर आए ममाथि पर्दछ, फुलेको केश ममाथि पर्दछ !” “धेरै नै भयो खबर केही आएन ल्हासाको, चिठीको भर पर्दछ बस्नु, चिठीको आशाको ।”
“बेपारीलाई कामको भीड फुर्सद पाएन, लेखुँला भन्दै भुलेको होला त्यसैले आएन, वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।”
(मदनलाई बाटामा हैजा लाग्छ) “नछोड मेरा हे साथीभाइ ! वनमा मलाई, काग र गिद्धहरूको पापी शिकार बनाई, घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्, चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्, हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ, कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ, यो घाँटी सुक्यो, यो छाती पोल्यो, यो आँसु पुछन, अझ छ सास, अझ छ आस, यो दर्द बुझन । आशिष देलिन् ती बूढी आमा मलाई बचाओ ! मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो । यो घाँटी सुक्यो म पानी खान्नँ ! बिछायो यो घाँस, घाँसको चोसा दयाले मर्छ; आँसुले पियास !” “के गर्छौ भाइ ! टाढाको घर बाटाको जङ्गल, यो हैजा हाम्ले कुन्हेर बसे हुँदैन मङ्गल, औषधिमूलो साथमा छैन यो माझ वनमा, ईश्वर सम्झी ईश्वरै सम्झी रहे है मनमा, घर र बार सबैले छाडी जानु त पर्दछ, अन्त्यको बेला ईश्वर सम्झे संसार तर्दछ ।” हातले टेकी मदन उठे ती साथी गएछन्, पश्चिमतिर दिनका आँखा रगतमा डुबेछन्, वनमा फीका अँध्यारो चढ्यो, हावा नै निदायो, पन्छीले सारा बोल्न नै छाडे, जाडोले सतायो, दुर्दशा त्यस्तो, निठुरी सारा, जङ्गल पहाड निठुरी तारा, जगतै सारा, निठुरी उजाड, पुर्लुक्क पल्टे घाँसमा फेरि सुस्केरा दिएर, घरको तस्वीर मनमा उठ्यो झन् गाढा भएर, “हे मेरी आमा ! मलाई तिमी सम्झिँदिहोऊ नि ! हे मेरी मुना ! मलाई तिमी सम्झिँदिहोऊ नि ! ईश्वर ! ईश्वर !! तँ मात्र मेरो वनमा साथी छस्, मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस् !”
आगोको ज्वाला कताको होला ? डढेलो उठ्यो कि ? मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ? नजीकै आयो मानिस यौटा लिएर चिराक, डाँकू पो हो कि ? भूत पो हो कि ? वनको खराब, पयोमा यौटा कुन्डेको सास के भर, के डर ? भएको बल गलाको पुग्छ चिराकपल्तिर, को रुन्छ भनी भोटेले हेर्छ, देख्दछ बिरामी, मायाले भन्छ, “साथी र भाइ रहेछ हरामी ! मेरो छ घर एक कोस पर, तिमी ता मर्दैन, म बोकी लान्छ, हुन्छ कि हुन्न ? फरक पर्दैन ।” भोटेको पाउ समाई भन्छन् बिचरा मदन, “ईश्वर मेरा हे भोटे दाइ ! क्या राम्रो वचन ! घरमा मेरी छन् बूढी आमा, ती सेतै फुलेकी, घरमा मेरी जहान यौटी बत्ती झैँ बलेकी, मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछ, मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ, क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले हुँदैन; मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन !” बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो, पानीको घुट्का पिलाइदियो दयाले रसायो, खोजेर ल्यायो वनको बुटी घोटेर पिलायो, चौँरीको दूध पिलाईकन बलियो बनायो ।
वनका बीच घरेलु चिल्लो झोपडी टमुक्क गोबरमाटे फूल-टाटेपाटे, वनको कोही देव र देवी घुस्ने झैँ सुटुक्क, हाँगाको टेको, हावाको छेको, ढुङ्गाको गाहारो मदनलाई लाग्यो महलभन्दा धनी र प्यारो, भेडाको ऊनको बिछ्यौना नरम, ओढ्नलाई पाखी छ, त्यहाँको जीवन वैकुण्ठ जस्तो उनको लागि छ, मुस्कानमा छैन मान्छेको छुरी, वचनमा छैन विष, हावामा छैन दूषण केही, मनमा राग रिस, दारिद्र्य त्यहाँ क्या धनी थियो थोरैमा कति धेर ! चाहिँदो रैछ के सुखलाई ? प्रकृति भएनेर । हरियो थियो आँखाको शीतल प्रकृति रङ्गको धन शहरमा भरी जीवन भन्छन् जीवन त थियो वन ! नक्कली ज्ञान पोथीका भन्दा, फूल-पाना हँसिला रङ्गिला पत्र प्रकृतिदेवी पल्टाउँथिन् रसिला, ईश्वरको ज्योति टल्कन्थ्यो त्यहीँ शीतका दानामा, क्या बोल्थ्यो ईश्वर पखेरुबाट रङ्गीन गानामा ! फूलको बोट उम्रेको हेरी मान्छेले पाउँथ्यो ज्ञान, सुँघेर बास्ना लट्ठ भै आत्मा भोग्दथ्यो क्या निर्वाण, लामाको जीवन प्रकृतिबीचमा बनेली मुटुमा बुद्धको टक्ले झिल्केको थियो निर्वाण-पथमा पन्छी र पशुहरूको साथी अहिंसा बिचारी रूखको ढुकढुक, फूलको धड्कन, ज्योतिका पथमा बीजको स्फुरण, समस्त तिनको रहस्य जान्ने प्रकृति-पुजारी रहेछ लामा एकान्ततामा विलासिरहेको देख्तामा झुत्रो, भित्र त्यो कत्रो । विशाल भएको, चौँरीलाई पाली, फलफूल हाली, बटुली जहान पाल्दथ्यो यौटा आदर्श ढङ्गले कुटीमा सुबान,
रहस्यमय अदृश्यसँग बसेको रमाई, उदारताले हृदयद्वारा जीवलाई रिकाई, रोग र व्याधि निखार्न सक्ने मन्त्र र बुटीले, मदन तङ्ग्री मोटाए पोसी त्यसका कुटीले, हिउँले ब्रह्मा बनाइदिन्थे उसकी कुमारी गालामा उषालालीले रङ्ग दिव्यले मुसारी, वनकी देवी जस्ती थी छोरी बुद्धको पालाकी उसको नाम थियो है लावा कोमल चालाकी, कुमार उसको तेजिलो थियो फुचाको नामको वर्षमा बाह्र गजबको तर जेहेन र कामको, पशु र पन्छी सबैको बोली मुट्ठीले निकाली भाले र पोथी लाउँथ्यो बोल्न विचित्र कला ली, महीना बित्यो मदनको त्यहाँ प्रकृतिबीचमा अचम्म मानी आनन्दमाथि हिमालयनगीचमा, बाँसुरी मधुर बजाउँथ्यो फुचा रोएर सुन्थे ती, सुरिलो गीत गाउँथी लावा बर्बर बन्थे ती, कलुष-शून्य तिनको जीवन सत्युग-समान देखेर त्यहीँ बसूँ झैँ लाग्यो सधैँ नै नजान, तैपनि मेघ दक्षिणको आयो नाघेर हिमाल जलको कुइरो पातलो बनी, ‘कोही छ रोइरहेको’ भनी, सम्झना दिँदै अबोल-बोलमा मसिनो जञ्जाल, पन्छीको उडान मनले टिप्यो धराको घेरापार घर जाने इच्छा दिलसँग बढ्यो फुटेन मुखको पार, वैशाख लाग्यो पल्लवमा पन्ना, फूलमा इन्द्राणी चरामा कलकल, साँझमा लोली, ढुकुरमा कुरकुर, डाँफेमा फुरफुर, क्वैलीमा सुवाणी, नालामा छलछल, हिमालमा झलमल, हाँगामा फुर्रफुर्र, मुजूरमा ढाँचा, हरिणमा कनाइ, मिर्गमा छुर्रछुर्र,
लहरा हल्के हल्लेर फुल्की मधुमा, गुनगुन भो ! नवीन मीठा कलकले वन शिशु-शिर छुनमुन भो, बास्नाका कणी दुगुर्न थाले पोथीलाई बोलाउन, शब्दले डाक्थ्यो मुटुको शब्द, प्रश्नका साथ उत्तर लागे वनलाई गुञ्जाउन, सृष्टिले नयाँ नाटक रचिन् आनन्द चञ्चल भो, प्रेमको राज्य हरियो भयो, जीवन हलचल भो, पूर्णिमा आइन् हिमाल-भालमा बाटुली बनेर अमृत-थाली झिलमिल फाली, जादूको जाली शीतल हाली, चराचर-दिलमा जलप लगाई हिमाल सपनेर, वन भो यौटा द्यौथल सुन्दर जूनको जलपमा, परीको संसार, स्वपनाको मुहार, शीतल झलकमा, जुनेली फूल फक्रेर आए हृदय खोलेर पातला पात झैँ पारदर्शी जूनसँग बोलेर, बुद्धको थियो उत्सवको रात, उज्यालो खुलेको विश्वमा शान्ति मनमा कान्ति, चराचरलाई नवीन जीवन अमृत मिलेको लामाले लियो बाँसुरी हातमा, वनको बाँसुरी जनको मन कुर्लने भन, सङ्गीतको आत्मा अटाउने खोक्रो प्वालसुरे बाँसुरी । टिरि र लिरि बाँसुरी बोल्यो अबोल बोलाई वन लावा र फुचा हातपाउ फाली, तालमा नाचे शरीर चाली, बुद्धको जीवन-कथाको सारमा भावले नाच्यो मन, गीत गाए तब लामाका जहान मिलेर वनमा भोटेको छन्द दोसाँधे मिठास शब्दको बन्धमा, मदनको आत्मा बुद्धको लोकको मुक्तिमा रमायो, उनले टिपे तलको गाना हृदय रसायो-
(गीत) वैशाखको पूर्णिमा हेर ! हो हिमाल जून ! रातको कालो वर्णमा अमृतको यो थालीले झलमल पार्ने कुन ? स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी ! संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन ! तारा-झुप्पे यो रूखमुनि कसले लगायो धून ? चुलीमा पुग्यो बाटो गुनी आँधी नाची, पर्वत नाघी, संसारलाई लाउन गुन ? स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी ! आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ? आकाश उनको छाती हो करुणा-धारा सुन ! तारा आँखा राती हो, माटी-जरामा बन्चरो दी काललाई जित्ने कुन ? स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी ! अमृत झल्क्यो संसारमाथि हेर ! ऊ ज्योति ! हिमाल-जून !
पानीले पाऱ्यो आकाश नीलो पखाली तुवाँलो, कौसीमा लाग्यो क्या राम्रो जून स्वर्गको उज्यालो, सिरिरि सिरि शीतल हावा, सुन्तला फुलेको, क्या मीठो बास्ना मधुर मसिनो, जूनमा मिलेको, जूनको विमल – अमृत-जल – तलाउ-छायामा, नरम मधुर, सरस जगत्, जीवन झैँ मायामा, नीदले छोडेकी कोइली बोल्छे जुनेली रातमा, जीवन देश बोले झैँ प्रीति मनका पातमा, क्या मीठो त्यसको सुरिलो स्वर रातको कलिलो मनको तिर्सना सपनाभित्र घुसे झैँ रसिलो गमलामाथि केवँरा फुल्छ, गुलाब बोल्दछ, छायाको बुट्टा पर्खालमाथि ज्यूँदो झैँ चल्दछ, नीलो छ सारी ताराको पारी मुनाको गाथमा, भावका जल-महल-लोचन कोमल छन् रातमा, चन्द्रमालाई चन्द्रमा हेर्छिन् कौसी र आकाश, स्वर्गको अटाली हाँस्दछिन् यौटी, यौटी छन् उदास, यो देश छैनन् उनका आँखा मनका चित्रमा, गडेको टक छ अरू देश जूनका भित्रमा, सम्झना झुम्मियो बादल जस्तो चन्द्रमा हराइन्, विरह जस्तो अँध्यारोभित्र, एक आँसु चुहाइन्, मुनाले बोलिन्, “हे मेरा कृष्ण ! मलाई भुल्यौ नि ! निठुरी मन लिएर भन, कसरी डुल्यौ नि ! कृष्ण ! कसरी भुल्यौ नि ! मुहार तिम्रो जुहार मेरो नजरको हरायो, कुन पापी दैव आएर चोरी कुन देश फिरायो, सम्झनालाई छायाले छकायो,
पहाडवारि पहाडपारि पर्दाले ढाकेको, स्वरूप तिम्रो खालि छ मेरो मनमा जागेको, झल्झली देखी विरह लागेको ! वचन तिम्रो तारमा मनको निदाइरहन्छ, सम्झेर आयो झन्कन्छ भित्र, कहानी कहन्छ, दुःखको कानमा सुखको कथा बजाइरहन्छ, पखेटा छैनन् उडेर जान, चिडिया उडेका, हेरेर बसी आँसुका थोपा गहमा छुटेका, देखेनौ तिम्ले कतिका थिए छातीमा गुडेका ! किन हो किन, यो मेरो मन बादलले ढाक्दछ, सियोको टुप्पा नदेख्ने गरी मुटुमा लाग्दछ, प्राणको मेरो पखेरु रुन्छ पिँजडा परेको, न उड्न पाई, न खोज्न पाई चिन्ताले पिरेको । यो उड्न पाए त्यो पाउमाथि लुटपुट पर्नेछ, त्यो छातीमाथि गएर फेरि भुर्रभुर्र गर्नेछ, सधैँको निम्ति साथमा फिर्नेछ । पैसाको यस्तो भुमरीभित्र किन हो पसेको ? मनको धन छाडेर किन ल्हासामा बसेको ? हे पैसा ! तैंले पासोमा पार्छस् सिंह झैँ हृदय ! सोझाको सराप, असलको विलाप, दुष्टको अभय ! पैसामा भुली बिर्सेको हो कि ? कसैले भुलायो ? प्राणको मन छ्काईकन अरूले डुलायो ? बिर्सनुपर्ने यसरी होइन ! भमरासरि मन ! के भर त्यसको ? नलागोस् पाप, पापी छ मेरो मन ! प्राण ! पापी छ मेरो मन !
पहाड त्यस्तो ! जङ्गल त्यस्तो ! पथरा पऱ्यौ कि ? मलाई सम्झी दुःखमा नयन आँसुले भऱ्यौ कि ? प्यारा ! आँसुले भऱ्यौ कि ? कपाल दुख्दा म आँसु पुछ्थें बिरामी भयौ कि ? सुसार कल्ले गरेको होला ? अकेला थियौ कि ? प्यारा ! अकेला थियौ कि ? हावाले लगे मनको चिठी, मन रुने थिएन ! तिमी छौ पर, म रुन्छु घर, बिन्ती नै पुगेन, प्यारा ! रोएको पुगेन ! हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा, नबसोस् धूलो, नबिझोस् काँडा, मङ्गल होस् साथमा !” मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून, भरिई आयो, भरिई आयो आँसुले नयन झन् !
राता र नीला पहेँला फूल वनमा फुल्दछन्, छिरबिरे फूल, सुनौला फूल हावामा झुल्दछन्, दक्षिणतिर किनारानिर फड्केको बादल, भोटेको घर मदनअघि नेपाल झल्झल, नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको, हिमालचुली बिहान खुली उत्तर हाँसेको ! पहाडहरूको नीरको माला नेपाल शहरको, लुर्कन जस्ता रूखका लहर शिखर किनारको, बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा, उज्याला पाटा, छायाका टाटा, पहाड टाढामा, दूधका झर्ना झरेका सेता सतह गाढामा,
दूबोको बारी त्यो टुँडिखेल रूखले घेरेको, धररा उठी शहरमाथि गजूर भिरेको, आकाशलाई छातीमा राख्ने त्यो रानीपोखरी, त्यो कान्तिपुरी, केवँराकेश उज्याला सुन्दरी, साँझमा गाग्रो कटीमा राखी अँगालो हालेका, मस्केर चल्ने लाजले बल्ने, कपूरमा ढालेका, विचित्र त्यस्तो त्यो चित्रकारी, झ्याल र ढोकामा, पीपल ठूलो बोलेर उठ्ने हावाको झोकामा, त्यो सानो घर पीपलतिर, झ्यालमा मुनियाँ, ती बूढी आमा, ती प्यारी मुना, मनका दुनियाँ, आमाको बोली, मुनाका आँखा, दिदीको रुलाइ, कौसीको जून, गमलामाथि फूलको फुलाइ, फर्केर हेर्छन् मदन फेरि भोटेको आँगन, क्या राम्रा बच्चा, क्या राम्रा पाठा, खेलमा मगन, हेरेर फेरि भोटेका तर्फ मदन बोल्दछन्, हृदयभित्र लुकेका इच्छा ओठले खोल्दछन्– “हरियो भयो डाँडाको मुख फूल फुले वनमा, टाढाको घर झल्केर आयो हे दाजु ! मनमा, कलिलो, राम्रो पालुवा होला नेपालमा लागेको, त्यो आलुबखडा हाँसेको होला वसन्त पाएको ! हरियो चिल्लो जोबन होला वनमा जागेको ! बास्नाले मीठो चलेको होला हावाको लहर, रूख र लहरा फुलेका होलान् सिहर सिहर ! खोलामा होलान् घाममा खेल्ने छविाला लहर, ‘वसन्त लाग्यो ! वसन्त लाग्यो !’ भन्दी हो कोइली, डुल्दी हो लिई अनेक रङ्गी फूलका सहेली,
दुई दिल मिली फुलेकी बेली, मग्मग चमेली, बगैँचाभित्र स्वर्ग नै होला हाँगाको हवेली, जोबनका गालामा लाजको लाली फुलेको गुलाब, पानामा सेता सुनका अक्षर, चम्पक किताब, पहाड-किल्ला, चूली उपल्ला श्रीपेच-सरोज, रक्षाका निम्ति ती पशुपति मुटुमा विराज, वीरको देश, धर्मको गादी, शक्तिको आँकुरा, पछिको बढ्ती देखाई उठ्छन् हिउँका टाकुरा, त्यो देशभित्र त्यो सानो घर झल्झली फिर्दछ, बिर्सेको रिन सम्झनाकन आँसुले तिर्दछ, सम्झँदिहुन् ती डाँडाकी जून, आमाले मलाई, वनको छेउ म टाढा बस्छु त्यो घर रुलाई ! तिमीले ल्यायौ सधैँको गुन, म तिर्न सक्तिनँ, ज्यानको दान तिमीले दियौ, म तिर्न सक्तिनँ, सधैँको ऋणी, म तिर्न सक्तिनँ ! दुइटा मैला सुनका थैला वनमा गाडेको, यौटा हो तिम्रो यौटा हो मेरो गुनले बाँडेको, यो तिमी लेऊ बिदाइ देऊ, म घर हिँड्दछु, यो तिम्रो गुन सधैँको सम्झी अगाडि बढ्दछु ।” भोटेले भन्छ, “के गर्छ मैले पहेँलो सुनले ? रोपेर सुन उम्रन्न क्यार ? के गर्छ सुनले ? रोपेर राख्यो, पछि पो खान्छ यो तिम्रो गुनले, बालक मेरा यी छोराछोरी, आमाले छाडेको, के गर्नु सुन ? के गर्नु धन ? दैवले चुँडेको, यो केटाकेटी खाँदैन सुन, लाउँदैन गहना, आकाशमाथि जहान मेरो बादल छ गहना !”
भोटेका बच्चा काखमा राखी, कपाल मुसारी, पुछेर आँखा फूलको थुङ्गा केशमा घुसारी, पुछेर आँखा त्यो भोटेसँग मदन भन्दछन्, “बिदाको बेला आँसुले आँखा झन् भरी बन्दछन्, गाहारो भयो छाडेर जान गुनको आँगन ! यो गुन कैले म तिर्न सक्छु तैपनि माग न, दाजु ! केही ता माग न !” भोटेले भन्छ, “मौकाले पायो त्यो गुन लाउन, गुनको सट्टा लिँदैन हामी, सम्झेर जाऊ न, आफैँले खन्छ आफैँले खान्छ, सित्तैमा छुँदैन, क्या दिन्छ तिम्ले ? क्या लिन्छ मैले ? मागेर लिँदैन, च्याङ्बाको नाउँ सम्झेर जाऊ घरमा सुनाऊ; बूढीको आसिक यी केटाकेटीहरूमा पठाऊ ।” रोएर हिँडे, जङ्गलछेउ, अपढ, अजान, त्यो भोटेभित्र देखेर त्यस्तो मनको मुहान, रोएर घर हिँडे ती मदन !
मदनकी आमा, फुलेकी सेतै ओछ्यान परेकी, डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी, सुकेको तेल घरकी बत्ती मधुरो भएकी, अँध्यारो पारी धिपिक्कै जान तयार रहेकी । छोराको मुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्, मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन्, झ्यालको हावा फुलेको केश मुसारी हिँड्दछ, ल्हासाको तर्फ आमाको दिल बहाई बढ्दछ । आँखामा छैन उनको आँसु शान्तिले छाएको, साँझको फिका जलमा अन्त्यको उज्यालो आएको,
प्राणको टेका, कालको छेका, टाढाको छोरो छ, छोराको मुख हेरेर जाने मनको धोको छ, जरोले तातो, पातलो हात, नसाले जेलेको, रसिला-आँखा बुहारी-हात प्रेमले मिलेको, कलिलो हात समाई भन्छिन्, “मेरी हे बुहारी ! अब ता बेला नजीकै आयो, जानु छ उसपारि, के गर्छयौ रोई, नरोज बुहारी ! सबैको बाटो यही हो नानी ! अमीर-फकीरको, यो माटो गई माटोमा मिल्छ दुःखको बगरको, सहेर बस्नू, नफस्नू यसमा, दुःखको जञ्जाल ! अन्त्यको बाटो उज्यालो हुने भक्ति नै सँगाल ! फुलेको देखें, वैलेको देखें जगत्को फूलबारी, दुःखमै चिनें ईश्वरलाई हे मेरी बुहारी ! पृथिवीभित्र रोपेको बीउ स्वर्गमा फल्दछ, दिएको जति पृथिवीभित्र माथि नै मिल्दछ, गरेका जति लिएर जान्छु, के जान्छ साथमा ? सपनाभित्र पाएको धन ब्यूँझेको हातमा, बिदाइ लिन्छु सबका साथ मदन आएन, त्यस्लाई हेरी आँखाले आज चिम्लिन पाएन, म मरिहाले मदनसँग यो भन्नू तिमीले- ‘नरुन् धेरै, भनेर गइन् अन्त्यमा बूढीले !” रोकेको दिल आँखामा खस्छ, गलामा बोल्दछ, मुनाका छातीमा छापेको शोक निसास्सी चल्दछ, “हे मेरी बज्यै ! हे मेरी आमा !! यो अर्ती लिनेछु, हजूरको मीठो सम्झनालाई आँसुले धुनेछु, अझ ता केही भएको छैन आराम हुनेछ, हजूरको धोको त्यो भेट यहाँ अवश्य पुग्नेछ !”
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र, बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र, कहिलेकाहीँ मुनाको हात छामेर ‘यहाँ छ’ भनेर दिँदा बकले भन्थिन् ‘मदन कहाँ छ ?’
कुटीमा यौटा पीपल ठूलो हावाले हल्लायो, हाँगामा आई कागले चुच्चो खोलेर करायो, छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा, चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा । हाँगाको काग ओर्लेर आयो, नजीकै करायो, नजर छड्के त्यो घाँटी कर्के गरेर करायो नजर फिर्यो, पसीना पुछी बोले ती बटुवा, “सुबोल् सुबोल् हे ! ठाउँ सरी बस् न, आकाश-डुलुवा ! हेरेर आइस् ती आँखा तानी के मेरो शहर ? नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर । माई छन् मेरी कपाल-सेती, मुना छन् उज्याली, मलाई सन्चो छ भनी आइज पखेटा उचाली । ‘नमान्नू धन्दा नमान्नू फिक्री’ भनेर सुनाई, गुँडमा फर्केस् बारीको यौटा हलुवाबेद खाई !” उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर, ‘कागले बुझ्यो, उडेर गयो, पुग्नेछ सबेर । बुझ्दैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !’ भनेर हेरी नजर भरी उठे ती बिचरा ! बिचरा मदन, नजर भरेर !
शहरभित्र केको हो यस्तो वियोग विलाप ? पिल्पिले बत्ती, भिजेका आँखा, अलाप विलाप,
वज्रको झिल्का चड्केर गई आँधीको पुछार, हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार, कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ, औँसीको कालो आकाश-छाना घरको माथि छ, पिल्पिले बत्ती धिपधिप गर्ने अँध्यारो उज्यालो, अँध्यारोसँग मिसिए जस्तो टुकीको उज्यालो, पिल्पिले तारामुनिको फिका उदासी तुवाँलो, रूखमा टप्क्यो आँसुको थोपा हुरीले भाँचेको, भुल्काले आँखा बाटुला लायो रूखमा भाँचेको, कलिलो रूख पिटिक्क भाँचेको ! पिल्पिले बत्ती, भिजेका आँखा, भिजेका परेला, औँसी झैँ मुख किन हुन् त्यस्ता ती आँसु भरिला ? हा कठैबरी ! भिजेका परेला ! सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा, बुहारी मूर्च्छा इन्तु-न-चिन्तु माथिको तलामा, ती मुना कठै ! नीली भै पलामा ! दाजु र भाइ छिमेकी रुन्छन्, अलाप विलाप, छातीमा हात, आँखामा आँसु, मनमा विलाप, बिजोग हरे ! बिजोग त्यस्तो ! दैवले देख्दैन ! दैवले देखे कसरी हेर्छ ? कलम लेख्दैन ! त्यो कालो सर्प बनाई मुटु कसरी उठायो ? मदन मरेको कसरी चिठी गुन्डाले पठायो ? सर्पको दाँतमा विषको थैलो, ईखको तिखो फल, मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल !
“के देख्न आएँ ? हे मेरी आमा ! के देख्नुपऱ्यो नि ! हे मेरी आमा ! हे मेरी आमा ! यो छाती चिऱ्यौ नि ! आमा ! यो छाती चिऱ्यौ नि !
पापीको मुख हेर न आमा ! मलाई हेर न ! म आएँ आमा ! म पापी आमा ! मलाई हेर न ! आमा ! मलाई हेर न ! किन नि टाढा हेरेको त्यस्तो ! म आएँ, म आएँ ! नजर फेरि फिराऊ यता, रोएर कराएँ ! रुन, पाउमा म आएँ ! मुटुमा गाँठो पारेर हेर्छयौ ! नजर फिर्यो नि ! नछाड आमा ! फर्क न फर्क, टुहुरो मऱ्यो नि ! आमा ! टुहुरो मऱ्यो नि ! म आएँ आमा ! म दुःख दिन कोखमा पसेको ! बुढेसकाल छाडेर छुरी मुटुमा धसेको ! छुरी मुटुमा धसेको ! मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ ? ‘आइछस् बाबु !’ भनेर हरे ! मुखले भनिनौ ! आमा ! चिन्यौ कि चिनिनौ ? मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ ! यो तिम्रो दशा देखेर आमा ! कलेजो जल्छ ! आमा ! कलेजा जल्छ ! सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ ! गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ ! हरे ! म अघि आइनँ ! क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न, अमृत जस्तो वचन तिम्रो हृदय खोल न ! आमा ! एक फेरा बोल न ! हे मेरी आमा ! मलाई हेरी नजर रसाए, कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ? आमा ! कसरी बिझाएँ ?
सुनका थैला लिएर आएँ, चढाएँ पाउमा, पाटी र धारा बन्नेछ तिम्ले भनेको ठाउँमा, आमा ! भनेको ठाउँमा ! कोपिलाभित्रै वैलायो आशा, हिउँले खँगाऱ्यो, दिलले दर्द नपोखी, हान्यो दैवले फुटारो ! फर्क न फर्क हे मेरी आमा ! माथि नै हेर्छयौ नि ! उठाई औँला माथि नै आमा ! इशारा गर्छयौ नि ! आमा ! कलेजा चिर्छयौ नि !” लौन नि ! लौन !’ भनेर उठे मदन जुरुक्क, मूर्च्छामा परे पाउमा, देखी गलाको हिरिक्क ! छोराको मुख हेरेर गइन् कठै ! ती घुरुक्क । हा कठैबरी ! ती बूढी घुरुक्क !
“भन न भन हे मेरी दिदी ! ती मुना कहाँ छिन् ? आमाको यस्तो बिछोड पर्दा देख्दिनँ यहाँ झन् !” “हे मेरा भाइ ! ती मुना छैनन् यो तिम्रो घरमा, मावल जान ती बिदा भइन् बिछोड परेमा ! ल्हासामा जाँदा बिछोड परेमा !” “स्वर्गमा गइन् ती मेरी आमा, तिनलाई छाडेर, कसरी गइन् बिचरीलाई टुहुरी पारेर ?” “बुहारीमध्ये कुँदेकी हीरा, भएर बिरामी, मागेर बिदा सबैका साथ, साह्रै नै बिरामी ! भएर गइन् साह्रै नै बिरामी !” “कस्तो छ मेरी ती मुनालाई ? हेरेर को आयो ? पानीका घुट्का ती माग्दिहोलिन्, कसले पिलायो ?”
“हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिंन्न, ती निकी भइन् निरोगी भइन्, औषधि चाहिंन्न” “हे प्यारा भाइ ! म हेर्न जान्थें, बाटो नै पाइन्न !” “ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !” “खोज्दिहुन् तिनी आउन भाइ ! पाउन्नन् ती रस्ता ।” “गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?” “बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !” “हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् ? भन न, ती मुना मेरी पृथिवीमाथि अझ छिन् ? भन न ! मुना, अझ छिन् ? भन न !” “पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्, फुलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्कन्छिन् । कोइलीकण्ठ बोल्दछ तिनको, आँखा छ उज्यालो, शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !” “मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् ? भन न ! मावलभित्र छिन् मेरी मुना, आउँछिन् ? भन न ! आशाकी जरा, मनकी चरा, मुना छिन् ? भन न ! कुनै दिन दिदी ! आउँछिन् ? भन न !” “हे मेरा भाइ ! ती मुना छैनन् पृथिवीवारिमा, दुःखको लेश नहुने देश कल्पनापारिमा ! टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।” “निठुरी दिदी ! निठुरी दिदी !! माऱ्यौ नि मलाई !!! आशाको फूल यतिका दिन आँखामा झुलाई, कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई, हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!! पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि !
हे मेरी प्राण ! तिमी नै थियौ नि !! प्राण ! छाडेर गयौ नि !!! दैवले हान्यो शिरमा मेरो निठुरी घनले, के गरी सहूँ ? के गरी रहूँ ? जिउँदो मनले ! सहन सीमा नाघेको मनले ! हे मेरी दिदी ! ती मुनालाई हेर्दछु एकै छिन्, ती मुनालाई डाक् न दिदी ! हेर्दछु एकै छिन् ! डाक् न दिदी ! हेर्दछु एकै छिन् ! हे मेरी मुना ! हे मेरी मुना !! ओर्लेर आऊ न ! हे मेरी रानी ! मुहार तिम्रो म देख्न पाऊँ न ! मुना ! ओर्लेर आऊ न ! अँध्यारो भयो ! अँध्यारो भयो !! मनको बिलौना, उम्लेर आई घाँटीमा अड्क्यो मनको बिलौना ! आँसुमा खस्यो मनको बिलौना !” “हे मेरा भाइ ! हे प्यारा भाइ !!” ती दिदी भन्दछिन्, पछ्यौराछेउ पुछेर आँसु ती दिदी भन्दछिन्, “हे मेरा भाइ ! नगर त्यसो धीरज लेऊ न ! आखिर जानु सबैले पर्छ, यो सम्झी लेऊ न ! चार नै दिनको यो पापी चोला, यो मैलो गुमानी, आखिर छर्छ हावाले फेरि एक मुठी खरानी ! बाबू ! एक मुठी खरानी ! मासुको फूल वैलेर जान्छ मट्टीमा मिल्दछ, अरू नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ ! सधैँको लागि स्वर्गमा फुल्दछ ! सहन भनी जन्मन आयौँ हे बाबू ! सहन, दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन, आँसुको खोला नुहाई जान्छौँ वैकुण्ठ-भवन !”
“हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ, यो तातो घाउ नूनले पोल्छ, झन् आँखा भरिन्छ ! दिदी ! झन् आँखा भरिन्छ ! मुनाको बोली, लाग्दछ गोली ! सम्झन्छ मनले, क्या मीठोसँग सम्झाई भन्थिन् ‘के गर्नु धनले ?’ गलामा लाग्यो, मुटुमा घुस्यो अमृत-वचन, ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले !’ बसालिहाल्यो दैवको घनले ! ईश्वर ! तैंले रचेर फेरि कसरी बिगारिस् ? सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ? हे दिदी ! मैले ती मुना देख्दा, मुनाको मुहार, ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार ! मुना ! छातीको जुहार ! पृथिवीतिर नहेर मुना ! म पनि आउँछु आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु, प्रेमको हीरा छुटेको तल, म लिई आउँछु । कसरी खायो आगोले दिदी ! कमलको शरीर ? कसरी खायो निठुरी भई कमलको शरीर ? म कहाँ पाऊँ ती मुनालाई ? छातीमा लगाऊँ ! खरानी तिन्को मलाई द्यौन, छातीमा लगाऊँ ! हे मेरी आमा ! हे मेरी मुना !! म यहाँ बस्दिनँ ! म यहाँ अब बस्दिनँ आमा ! म यहाँ बस्दिनँ, म यहाँ अब बस्दिनँ मुना ! म यहाँ बस्दिनँ ।” “हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती, ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती, स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !”
“पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई ! म रुने छैनँ ! गएर भोलि भेटुँला तिन्लाई, हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !”
मदन त्यसै थलामा परे, दुःखले वैलायो, वैद्यले आई उनको नाडी घोरिई समायो, कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ, अरूको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ, मदन भन्छन्, “चरक पढ, सुश्रुत पल्टाऊ, मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ, जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ, मनको रोगको औषधि के हो ? मलाई बताऊ, सम्झना भन्ने छटपटी हुन्छ, दर्शन-पियास, झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास, मगज घुम्छ भुँवरीभित्र मुटुमा दुख्दछ ! लक्षण सारा बाहिरबाट मनमा लुक्दछ !’ वैद्यले हेर्यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन, मनको व्यथा कता हो कता ! औषधि पाएन, दिनका दिन झन् साह्रा भए बिचरा मदन, जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन, “हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ, पाटी र धारा आमाको इच्छा तिमी नै पुऱ्याऊ । सुसार गर्थिन् मुनाले माथि अकेली आमाको, नछाडी जाऊन् सुसार अरू अकेली आमाको ! फुकाऊ तना, गङ्गाको जल देऊ न घुटको, औषधि छैन हे मेरी दिदी ! फुटेको मुटुको ।”
बादल फाट्यो, चन्द्रमा हाँसी स्वर्गमा सुहाए, साथमा तारा भएका शशी झ्यालमा चिहाए, बादल मिल्यो, सधैँका निम्ति मदन निदाए, भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए ।
आँखाको धूलो पखालिहाल्यौ हे भाइ ! बहिनी ! संसार हाम्ले बुझ्नु नै पर्छ काँतर नबनी । संसारलाई मुखमा हेरी कम्मर कसेर, आकाशतिर पखेटा चालौँ पृथिवी बसेर, खानु र पिउनु जीवन भए, जिउनु हरे ! के ? पछिको आशा नभए कठै ! मानिस हरे ! के ? पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर, तल नै हेरी तल नै हेरी बिलौना नगर, मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद, कर्ममै पुज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद ।