दोषी चश्मा
केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि तिनी अर्को चश्मा लिने विचारमा थिए, तर अझै अनुकूल परेको थिएन ।
तिनी जर्साबकहाँ चाकरी गर्न जान्थे । एक दिन सधैँझैँ चाकरीमा गएका थिए, तर साढे चार बज्दा पनि जर्साबको सवारी भएन । आज सवारी हुँदैन कि ? सारा चाकरिया निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के । तर केशवराज महलको अगाडिको चौर रिक्त भएपछि पनि धेरै बेरसम्म आशाले बसिरहे । साँझ पर्न लागेको थियो । सूर्यलाई पश्चिमतिर पहाडले ढाकिदिएको हुनाले हाम्रो पृथ्वी त अँध्यारिँदै आएको थियो तर आकाशतिर सूर्यका लामा रश्मि तेर्सिरहेका थिए । साथीभाइहरूसँग छुट्टिएका, बाटो बिराएका, एक-दुई बादलका टुक्रा आकाशमा रङ्गमगिइरहेका थिए । केशवराजलाई यो दृश्यले लोभ्यायो । उनी पनि आज जर्साबको सवारी हुँदैन भन्ने निश्चय गरेर बाटो लागे । अरू दिन भएको भए जर्साबकहाँ चाकरी नपाउँदा तिनी कति दुःखित हुन्थे, तर आज तिनलाई बडो उत्साह थियो । फूर्तिसँग डेग बढाउँदै धानको लहलहाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै तिनी आइरहेका थिए । त्यो टाढाको कालो वस्तु ढुङ्गा हो कि मुढो हो कि, भैंसी हो कि, कि त मानिस नै हो, यो तिनले ठम्याउन सकेनन् । चश्मा कस्तो बेकामको भएछ, तिनले फेरि सम्झे । तर यो विचारले तिनलाई धेरै बेर चिन्तित पारेन । त्यसै बखतमा पछिल्तिरबाट ‘भों’ गर्दै एउटा मोटर आयो । मोटरको नम्बर हेरेर ‘स्वस्ति’ गर्नुपर्ने हुनाले, चश्माको घेरालाई देब्रे हातको मुठी र चोर औंलाले समातेर उनले मोटरको नम्बर-प्लेटलाई गौर गरे । “धत्, यो चश्माले ठ्याम्मै काम नचल्ने भयो ।” मोटरको नम्बर उनले पढ्न सकेनन् । त्यसै बखतमा मोटर हुर्र गयो, अनि पो मोटरलाई र मोटरमा राज भएका जर्साबलाई तिनले चिने र हत्पताउँदै स्वस्ति गरे । चश्माले यहाँ पनि धोका दियो । “चश्माको पावर ठीक भएको भए म स्वस्ति गर्न पाउँथेँ, चाकरी पुग्थ्यो ।” केशवराज हतोत्साह भए । धेरै दिनदेखि आँखा जँचाई नयाँ चश्मा लिने उनले विचार गरेका थिए; कुनै काम गर्ने निश्चय गरेपछि गरिहाल्नु भन्ने उपदेशको महत्त्व तिनले आजै बुझे । चश्मा नफेरी त तिनलाई धरै थिएन । फेर्न त परिहाल्थ्यो र तिनले फेर्ने निश्चय पनि गरेका थिए । तिनले पहिले नै फेरेको भए आजको घटना हुन पाउने थिएन ।
तिनलाई मर्का पर्ने त एउटा अर्को कुरो छ । जर्साबले तिनलाई निश्चय नजर भयो होला । तिनी ठिङ्ग मोटरतिर फर्केर, स्वस्ति गरेनन् । यो नटेरेको हुन्छ । उहाँबाट नटेरेकै हो भन्ने ठानिबक्स्यो होला । यतिका दिन चाकरी गर्दा पनि केही बन्दोबस्त जर्साबबाट नहुँदा केशवराजले यस्ता जर्साबलाई के टेर्नु भनेर नटेरेको भन्ने जर्साबको मनमा पस्यो होला । ठूला मानिसहरू इज्जतका कुरामा बडा इखालु हुन्छन् र पछिसम्म सम्झिरहन्छन् । केशवराजलाई बडो साह्रो पऱ्यो । तिनका सारा आशा-भरोसा मौसुफ जर्साब नै होइबक्सिन्थ्यो र उहाँले यस्तो भूल धारणा मनमा लिइबक्स्यो भने त तिनको बासै उठ्यो !
यसरी यो कुरा विचार गर्दै तिनी घर पुगे । साँझ झमक्क परिसकेको थियो । घर पुग्दा तिनलाई रिस उठ्न थालिसकेको थियो । सबभन्दा पहिले त तिनको रिस चश्मामाथि खनियो, “यो ठाडो………।” त्यसपछि आफूमाथि खनियो, “यो मूर्ख, काम पहिले बिगारेपछि आँखा देख्ने……..।” दैलो देख्यो…….।” कोठामा पुगेर लुगा फुकाल्न थाले । टिम्मिक्क परेको सुरुवाल तिनको गोडाबाट हत्तपत्त निस्कन खोजेन, त्यसमा तिनको क्रोधको झन् मात्रा बढ्यो र जब सुने भातमा केही विलम्ब छ, तिनको क्रोधको सीमा रहेन । उँइदै फलाक्दै, तिनी भान्सामा पुगे, जहाँ दिउँसो राम्ररी नहेरेर किनेको चिसो दाउरालाई फु गरेर बाल्ने प्रयत्नमा तिनकी धर्मपत्नी लागेकी थिइन् । “जेठी, बढी सिपालु म छु आफूलाई भन्छे, घमण्ड छ यसलाई, आफ्नो पोइलाई टाइममा भातसम्म खुवाउन पनि सक्तिन । ए मोरी, के गरिराखेकी थिइस् यतिका बेर ? दुई घडी रात गएपछि चुल्हो फुक्न लागिरहिछस् ? काममा बाहिर गयो, लखतरान भएर घर फर्क्यो र अब गाँस टिप्न पाइएला भन्यो त यहाँ…..।” र अरू के के फलाकिरहे । यो अचानकको क्रोध देखेर तिनकी स्त्री डराउनुको सट्टा छक्क परिन ।
भात खाएर सुत्दा तिनलाई निद्रा परेन । रातभरि “अहँ अहँ” गर्दै बिछ्यौनामा छटपटाइरहे । तिनबाट निश्चय नै ठूलो अपराध भएको छ ! आफ्ना अन्नदाता अगाडि देखिनु, आफूले नटेरेर अभिवादनसम्म पनि नगर्नु, यो त निमकहराम हो, एउटा पाप पनि हो र केशवराजले आफ्नो त चित्त बुझाए । तिनले जानी-जानीकन नटेरेको होइन । हृदय तिनको पवित्र छ, अन्धोले देखेन भनेर कसैले रिसाउनु हुन्छ ? तिनको यसमा केही अपराध छैन । केवल एउटा सानो भूल छ-पहिले नै चश्मा नसाट्नु, यद्यपि तिनको केही अपराध छैन तर जर्साबको दिलमा त नराम्रो पस्यो होला । जर्साबको मनमा मैले नटेरेको भन्ने भावना त पर्न दिनु हुँदैन । केशवराजले त्यो भूल निवारण गर्ने कुनै युक्ति देखेनन् ।
ननिदाएर छटपटाएका देखेर तिनकी पत्नीले सोधिन्- “किन निद्रा परेन ? केको दुःख छ ? मर्जी होस् न ।”
पहिले त केशवराजलाई यो प्रश्नमा रीस उठ्यो, काम न काज सबै कुरो जान्न खोज्छे ! आफ्नो क्रोध काबूमा राखेर केवल “केही होइन” भन्ने मात्र उत्तर दिए । दुलहीबाट यो कुराको विषयमा केही सल्लाह मिल्न सक्छ भन्ने तिनलाई आशा नै थिएन- यो यत्रो ठूलो कुरा ! त्यसैले दुलहीलाई केही भन्न उनलाई मन लागेन । तर दुलहीले ढिपी गर्दा त्यो विशेष घटनालाई नभनेर गोल बोलीमा कुरा गरे- “मबाट एउटा कसुर भयो । एउटा ठूलो मानिसलाई मैले नटेरेको जस्तो गरेँ । अब के उपाय गर्ने ? तिनी रिसाए भने त बडो बर्बाद पऱ्यो ।”
केशवराज आत्तिएका थिए । दुलहीले सजिलैसँग उत्तर दिइन्- “गएर माफी माग्नुहोस् न ! भैहाल्छ नि ।”
यो युक्ति तिनलाई पनि मन पऱ्यो र भोलि बिहान गई माफी माग्ने निश्चय गरे । अब त तिनलाई निद्रा परेन, तर कहिले बिहान होला भन्ने ध्याउन्नले तिनले बाँकी रहेको रात उपयोगमा ल्याउन सकेनन् र झिसमिसेमै उठेर लुगा लाएर जान तयार परे । केवल घडीले अबेर गरिदियो ।
अझै आठ बज्न तीन घण्टा बाँकी छ । आठ नबजी जर्साबको तल सवारी हुँदैन । चाकरियाको टाइम त्यही हो । पर्खंदा पर्खंदा तिनले सम्झे । आफ्नो घरमा पर्खनुभन्दा त ढोका नै कुर्नु असल हो नि भनेर तिनी जर्साबकहाँ जान भनी हिँडे । साइत नपरेको होइन-स्वप्नभरि दहीका कहतरा देखिए, काम सिद्ध हुने भयो ।
दुई घण्टा ढोका कुरेपछि विस्तार विस्तार चाकरिया आउन थाले र दरबारको अघिल्तिरको चौर मान्छेले भरियो । निन्द्राउरो मुख लाएर केशवराज छुट्टै बसेका थिए । छुट्टै बस्नाको उनको महान् उद्देश्य के थियो भने घुइँचोमा कसलाई नजर हुन्छ कसलाई हुँदैन, थाहा पाइँदैन, राम्रो चाकरी पाइन्छ र एकान्तको मौका पऱ्यो भने माफीको कुरा पनि बिन्ती गर्न पाइन्छ ।
पर्खालभित्रबाट घोडाको टापको सङ्गीत सुन्न भनी उत्सुक भैरहेका केशवराजका कानमा जर्साबको क्रुद्ध-वाणी पऱ्यो । कुन्नी के काम बिगार्दा जर्साब सइसमाथि रिसानी भैरहेको थियो । उहाँको शान्त स्वभावका विषयमा सबैको एकमत छ, उहाँले रिसाएको कसैले देखेको छैन । आज किन रिसानी भयो त ? उहाँको क्रोध शब्दका रूपमा पर्खाल छेडी बाहिरसम्म आइरहेको थियो ।
केशवराजले उहाँको रीस थाहा पाए । हिजोको कुराले उहाँलाई निकै चोट परेछ । चोट पर्ने कुरै थियो । ठूला मानिसको अहङ्कारमा धक्का दिनु तिनीहरूको सबभन्दा कोमल स्थानमा स्पर्श गर्नु हो । सहन सक्तैनन् । अहँ, यो क्रुद्ध अवस्थामा केशवराजले माफी माग्नु उचित छैन । कहीँ क्रोधको धारा आफ्नै टाउकोमाथि बग्न गयो भने ? केशवराज घरतिर फर्के ।
बाटामा तिनमाथि नाताकतको दौडाहा भयो । हिजो राति भात पनि राम्ररी खाएका थिएनन्; निद्रा ता पटक्कै लागेको थिएन र आफ्ना भूलका विषयको कुरा मनमा खेलाउँदा तिनी बिरामीजस्ता भए । एक डेग हिँड्दा पनि तिनको दम फुल्न थाल्यो । आफ्नो यो अवस्था देखेर उनलाई आफूमाथि दया लाग्न थाल्यो औ नबुझेर सानो कुरामा रिसाउने जर्साबसँग रीस उठ्न थाल्यो । “मेरो कुन ठूलो अपराध हो र ? चश्माले धोका दियो, चिन्न सकिनँ, त्यसो हुनाले स्वस्ति गरिनँ । सधैँ त बिहान बेलुका गई ढोका कुरी बसिहालेको छु नि । मेरो मनसुवा उहाँलाई नटेर्ने भएको भए यसरी किन चाकरी गर्थे ? त्यति पनि त बुझिदिनुपर्छ । उहाँबाट बिनाकारण ममाथि रिसानी हुन्छ भने के लाग्यो र, मलाई पनि खाँचो छैन । आफूले मर्नु हुँदैन ।” तर घर पुग्दा नपुग्दै तिनको यो विचार हरायो र पहिलेकै विचार मनमा आउन थाल्यो- “जसले चाकरीकै भरमा दुई साँझ गाँस टिप्छ, म जस्ता झुत्रेले टेक राख्ने रे ? टेक राखेर के ? जर्साबको के बिग्रन्छ ? के उहाँको भ्रम निवारण हुन्छ ? आफैँ भोको मर्नु पर्छ । हामीहरू जस्ताले त्यस्ता ठूलासँग टेक राख्ने रे ? अहँ अहँ, एउटा भूललाई अर्कोले सच्याउन सक्तैन । गएर माफी माग्नै पर्छ ।”
भरे फेरि क्षमा याचनाका निमित्त केशवराजले ढोकातिर प्रस्थान गरे । जर्साबको घोडामा सवारी भयो । केशवराज डरले थर-थर काँपिरहेका थिए । भने जस्तो एकान्तको मौका पाएर उनले भकभकाएर बिन्ती गरे- “प्रभू ! चश्माको दोष………माफ पाऊँ ।”
जर्साबले घोडा थामेर नबुझेर सोधिबक्स्यो- “के भन्यौ ? केको माफी ?”
केशवराजको सातो गयो । जर्साब कति रिसाइबक्सेको रहेछ । माफीसम्म दिन खोजिबक्सिन्न । केशवराजले चारैतिर अँध्यारो देख्नथाले, काम्न लागेको गोडाले भर दिएन । दुवै हातले कपाल समातेर थुचुक्क बसे । जर्साबले धेरै खोजिनिती नगरी घोडा बढाइबक्स्यो । घोडाको टापले उडाएको धूलोले सडकको एक कुनामा कपाल समातेर बस्ने केशवराजलाई ढकमक्क ढाक्यो ।
केशवराज एक्कासि ५० वर्षका बूढाजस्ता देखिन थाले । हिँड्दा कम्मरमा हात लाउनु पर्ने भयो, लट्ठीको आवश्यकता परेको तिनले थाहा पाए । केशवराजको कल्पना सत्य निस्क्यो । जर्साब अघोर रिसानी भएछन् । घर पुगेर निराश भएर उनी पल्टिए । बाहिर जाने लुगा नफुकाली कोटैसमेत बिछ्यौनामा उनी पल्टिए र खान्न भन्ने समाचार पठाए ।
केशवराजको बाँच्ने प्रेरणा जागरित भयो । तिनले यसरी खुट्टा छोड्नु हुँदैन । तिनले जर्साबलाई बुझाउनै पाएनन् । राम्ररी बुझाएको भए जर्साबले निश्चय नै माफी बक्सिन्थ्यो । उहाँ दयाको सागर होइबक्सिन्छ । आफैँ आत्तिएर वाक्यै ननिकाल्ने ? सोझै माफी पाऊँ भनेर माफी पाइन्छ ? घटनाको सब इतिहास, चश्माले दिएको धोका, पछि स्वस्ति पनि गरेको, र मोटरको क्यारेज बक्स इत्यादि सब खुलासा गरे पो माफी पाइन्छ । भोलिपल्ट बिहान उठेर फेरि ढोकामा गए । जर्साबलाई आदिदेखि अन्तसम्म सुनाए । जर्साबबाट मर्जी भयो- “बुझें, बुझें, म त्यति पनि बुझ्दिनँ र ? तिमी ता बडा अनौठाका मानिस रहेछौ । यस्तो जाबो कुरामा…….।”
केशवराज निर्धक्क भए । जर्साबबाट बडो करुणा राखी माफी बक्सियो । कति दयालु होइबक्सिन्छ । यी सब गुण भएर त लक्ष्मी पनि यहाँ बास गर्छिन्; कत्रो सुख छ । यी सब कुरा हिजै बिन्ती चढाएको भए तिनलाई यतिको मानसिक चिन्ता खप्नै पर्ने थिएन । तिनको मन प्रसन्न भयो ।
हिजोको चिन्ताले र तीन छाक भात नखाएको हुनाले केशवराजलाई निकै गारो भएछ । सिँढी चढ्दा दुईचोटि बिसाउनु पऱ्यो । कोठामा पुगेर थाकेको हुनाले उनी बिछ्यौनामा पसारिए । भान्साघरमा नअटाई माथि जाने बाटो नपाई भान्साको धुवाँ केशवराजको कोठामा रङ्गमगिरहेको थियो । तिनले सुतीसुती उँधो मुन्टो लाएर चिच्याए- “कति धुवाँ पारेको ?” तिनकी पत्नीले माथिबाट कुन्नि के भनिन् केशवराजले सुनेनन् र सुन्न पनि खोजेनन् । चिच्याउँदा बल परेर तिनी स्वाँ स्वाँ गर्न थाले । असाध्यै नाताकत भएछ । तिनको मनमा हिजोको विचार खेल्न थाल्यो । अहिले बिहान जर्साबसँग माफी मागेको दृश्य आँखाका समक्ष झलझल नाच्न थाल्यो । “बुझें, बुझें, म त्यति पनि बुझ्दिनँ र, तिमी त बडा अनौठाका मानिस रहेछौ । यस्तो जाबो कुरामा………।” धुवाँको एउटा मुस्लो सिँढीमा लडीबुडी खेल्दै एउटा डल्लो भएर तिनको कोठामा आई फुट्यो । कोठा अँध्यारो भयो, तर केशवराज प्रसन्न थिए । माथि ‘बूढी’ लाई दाउरा नबलेर कति कष्ट होला ! बिचरीले यसै गरी दुःखसँग जीवन बिताउनु पर्छ । केशवराजले भान्से बाहुन वा बाहुनीसम्म राख्न सकेका छैनन् ।
आफैँ पनि केशवराजले सुख पाए र ? दुलही घरको दुःख खेप्छिन्, तिनी बाहिरको । बिहान चाकरीमा दगुर्नु पर्छ, दिउँसो दुई बजेदेखि फेरि चाकरीमा जानुपर्छ । अरू केही काम छैन । चाकरीको घोडेजात्रा छ ।
कहिले त ‘जर्साब’ नजरसम्म पनि हुन्न…… केशवराजलाई ग्लानि भयो ।
बिहा
सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर घर लिएर आए । भन्नु पर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिन्ने योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ, सुब्बा कटकबहादुर निश्चय नै छिप्पिएका होलान्, मैले सानो उमेरको सुब्बा देखेको छैन । भरसक यो उनको अर्को बिहा हो- पहिलीकी दुलहीबाट दुईवटा छोरा होलान्, र उनको मृत्यु भएपछि यी १४ वर्षकीलाई बिहा गरेको होला । कटकबहादुरलाई त के छ, विवाहको क्षेत्रमा खङ्गु र निपुण भैसकेको मानिसलाई दिनभरि अड्डामा बसी कलम घस्दा र अड्डा साथीभाइसँग ख्याल ठट्टा गर्दा शायद नै १४ वर्षकी हरिमतीको ध्यान आउँदो हो । तर हरिमती भर्खरै १४ वर्षकी, बिहाको अर्थ बुझ्न नसक्ने उमेरमै बिहाको अनुभव गर्न थालेकी हरिमतीको कुरा नै भिन्नै होला !
मैले एउटा बिहा देखेको छु, म जन्तीपट्टि थिएँ । हामीहरूलाई ४ बजेको निम्ता थियो तर जन्ती ८ बजेभन्दा पहिले निस्किएनन् । हामीहरू बाहिर बसीबसी जन्ती निकाल्ने उद्योगमा थियौँ, तर दुलहाले नै अबेर गरे । उनी सिङ्गारपटार गरिरहेका छन् रे, बिहाको अवसरमा एकचोटि सिङ्गारिने मौका पाइन्छ भनी हामीहरू चुप लागी उनको प्रतीक्षा गरिरहेका थियौँ । मैले दुलहालाई देखेको थिइनँ । कस्ता होलान् ? गाउँका स्वास्नीमानिसहरू पनि आएर उभिरहेका थिए; तिनीहरू पनि दुलहालाई हेर्छन् रे, कस्ता होलान् ? दुलहा भन्नासाथ २०/२२ वर्षको युवकको कल्पना हुन थाल्छ, र ती ग्रामीण रमणीहरू पनि यस्तै दुलहाको कल्पना गरी उभिरहेका होलान् । धेरै बेरपछि ढोकातिर खलबली भयो । “दुलहा आए, दुलहा आए” भनेर सब उतातिर ओइरिन लागे तर मैले चिन्न सकिनँ; कुन चाहिँ दुलहा हुन् । सब छिप्पिएका मानिसहरू ढोकाबाट बाहिर निस्के । यद्यपि ठम्याउन नसके पनि पहिरनले ती कालो कोट लाउने नै दुलहा हुन् भनी ठानें । नभन्दै तिनै रहेछन् । आफ्नो खुशी र सुखलाई नदेखाऊँ भन्दाभन्दै पनि उनको आकृति, चलाई र बोलाइले नै तिनी दुनियाँका सबभन्दा सुखी मानिसजस्ता देखिन्थे ।
ठिक ८ बजे जन्ती घरबाट बाहिर निस्क्यो । दुलहा हात्तीमा चढे औ हामीहरू पैदल हिँड्यौं । मलाई दुलहा देख्नासाथै दुलहीको ध्यान आउन थाल्यो । दुलही पनि त्यस्तै ३५ र ४० की ढोकाबाट निस्की भने सारा उत्साह व्यर्थ हुनेछ । तर सानी, १४ वर्षकी निस्की भने ?, मैले यसो हात्तीमा चढेको दुलहातिर हेरें र मैले नजीकै हिँड्ने एउटा भद्र मानिसलाई सोधें-
“दुलहाको यो पहिलो बिहा हो ?”
उसले उत्तर दियो “अहँ ।”
“पहिलेकी दुलही नि ?”
“ऊ मरेर त यी अर्को बिहा गर्न हिँडेका । यिनको पहिलेकी दुलहीबाट दुईवटा छोरा छन् । घरमा स्वास्नीमानिस नभएर घर नचल्ने, त्यसमा पनि छोराहरूलाई हेरिदिने कोही नहुँदा यिनले बिहा गर्नु परेको ।”
दुलहापट्टिबाट निश्चिन्त भई म दुलहीको कल्पना गर्न थालें । दुलहाको त घर चलाउनु थियो, ती सानासाना केटाकेटीहरूलाई हेरिदिने मानिस ल्याउनु थियो र बिहा गरे । तर यिनको घर चलाउने र यिनका छोराछोरीलाई हेरिदिन आउने दुलही कस्ती होलिन् ? ती निश्चय नै बढेकी होलिन् । नत्र कसरी घर चलाउलिन् । कसरी छोराछोरीलाई हेर्लिन् ? उनलाई पनि थाहा होला- कस्तो घर छ र कस्ता केटाकेटी छन् । म दुलहीको विषयमा पनि निश्चिन्त भएँ र दुलहीको घर पुग्ने बखतमा मलाई फेरि उत्साह आउन थाल्यो । नाचगानमा उहाँको उत्साहमा म पनि खूब सामेल भएँ र दुलही निकाल्ने बखतमा हतपताई मण्डपमा आएँ । त्यहाँ पनि दुलहीलाई हेर्न आउने मानिस खचाखच थिए । गाउँका स्वास्नीमानिसले मण्डप घेरेका थिए । तिनीहरू कस्ती दुलहीको कल्पना गरिरहेका होलान् ? २५/३० वर्षकी, घर चलाउने काममा निपुण, बढेका दुई छोरालाई हेर्न सक्ने, दुलहाको सारा व्यवहारलाई थाम्ने दुलहीको कल्पना गरिरहेका होलान् । म त यस्तै दुलहीको कल्पना गरिरहेको थिएँ । तलदेखि माथिसम्म रातो लुगाले छोपिएकी एउटी सानी बालिकालाई डोऱ्याउँदै, ठेल्दै २/३ स्वास्नीमानिस मण्डपमा पुगे । यहाँ पनि मेरा कल्पनाले मलाई धोका दियो । म त्यो देखी विरक्त भएँ । मैले विचार गर्न सकिनँ । कसरी यी १४ वर्षकी कलिलो बालिकाले दुलहाको घर थाम्लिन् र उनका छोराहरूका हेरविचार गर्न सक्लिन् । म यी बालिकाको विषयमा गम्न थालें- यिनी दुलहाका घरमा कसरी बस्लिन् ? यिनको र दुलहाको कस्तो सम्बन्ध रहला ? अहिले यिनी के सोच्न थालेकी होलिन् ? इत्यादि । त्यसपछि मैले कुनै बिहामा जान साहस गरिनँ । मलाई अब पनि बिहा हेर्न रहर लाग्दैन ।
जब मैले सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर लिएर आए भनेको सुनेँ, मलाई यो बिहाको स्मरण भयो । हरिमतीमाथि मलाई त्यसै दया आयो । हरिमती सुखी छन् कि दुःखी छन्- मलाई थाहा छैन तर मलाई त्यसै हरिमतीमाथि सहानुभूति हुन्छ । हरिमतीले दुलहा भनेको सुनेकी होला; बिहाको विषयमा उसका साथीहरूले उसलाई जिस्क्याउँदा रहर नै लाग्यो होला । उसले पनि आफ्नो दुलहाको कल्पना गरेकी होली । उसले पतिको कस्तो कल्पना गरेकी होली ? जवान कि कटकबहादुरजस्तै छिप्पिएको ? कि आफूजस्तै सानो केटो ? त्यसपछि के ठानेकी होली ? कस्तो सुखको कल्पना गरेकी होली : मीठो खान पाइएला, राम्रो लाउन पाइएला वा बाजागाजासाथ डोली चढी हिँड्न पाइएला भन्ने सुखको कल्पना गरेकी होली ?
बिहा गरेर घरमा आएपछि हरिमतीको कल्पना सत्य कि झूठो ? कटकबहादुर र हरिमती कस्ता कुरा गर्दा होलान् ?
कटकबहादुरले बिहा गरेकै राति हरिमतीलाई भने होलान्- “मेरी रानी ।” -हरिमती झसङ्ग हुन्छिन् । धेरै दिनको कुरा होइन ।
एकदिन छिमेकका केटाकेटीसँग खेल्दा त्यो रानी बनेकी थिइ र एउटा केटो राजा, तर यत्रो ठूलो मान्छेले उस्तै खेलवाड गरेको देख्दा हरिमतीलाई राम्रो लागेन । छक्क परेकी हरिमतीलाई नजीकै टाँसेर कटकले सोधे “मेरी रानी, मलाई माया गर्छ्यौ ?”
“माया गर्छु” भनिदिँदा उनी खुशी हुन्छन् भनेर हरिमतीले गर्छु भनिन् ।
“म्वाइँ देऊ न त” कटकले आग्रह गरे । यहाँ हरिमतीको आश्चर्यको सीमा रहेन, र मेरो पनि । कटकबहादुरले के भनेर म्वाइँ खान खोजेको ? सानी भनेर कि दुलही भनेर ?
बल्ल-बल्ल आफ्नो मुखलाई उसको मुखबाट सारी हरिमतीले भनिन् “मलाई निद्रा लाग्यो, सुत्छु ।”
“यति चाँडै” प्रेमको यस्तो रूखो उत्तर पाउँदा कटकलाई ग्लानि भयो, उनी भन्दै गए “अरू कुरा गरौं न, सुत्न त सधैँ सुतिहाल्छ्यौ नि ।”
हरिमती पहिले नयाँ घरमा आएर डराइन् । निद्रा लाग्दा सुत्न नपाउँदा पनि केही बोलिनन् र पतिको मुखतिर हेरिरहिन् । कटकले गरेको कुरा उसले केही बुझिनन्, कुनै कुनै बुझेको पनि कि त एकदम व्यर्थ कि हाँसोउठ्दो जस्तो लाग्यो ।
कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर लिएर आए भन्ने सुन्दा मलाई यो सब कल्पना किन हुन थाल्यो ? शायद हरिमती र उनीसँग यस्तो केही कुरा भएन होला । उनले हरिमतीसँग प्रथम प्रश्न गरे होलान् “नानी, तिम्रो नाउँ के हो भन त ।”
यस्तो मिठो ढङ्गसँग सोधेको देख्दा नयाँ मानिससँग पनि नडराई हरिमतीले उत्तर दिइन् “हरिमती” ।
“तिमीले कति पढेको छ ?”
“कखरा सिध्याई भर्खर सानासाना पुस्तक पढ्न थालेकी छु ।”
“अबदेखि मसँग पढ्ने, जाऊ अब निद्रा लाग्यो होला, सुत ।” हरिमतीलाई सुताई ओढ्ने ओढाई उनी आफ्नो घरको हिसाब मिलाउन लागे होलान् । बिहान भएपछि उसलाई उठाउँछन्, नुहाउन लाउँछन् र खाजा खाएपछि एकछिन पढ्न भन्छन् र बिराएको ठाउँमा आफैँ सिकाउँछन् । खाइसकेपछि किताबहरू एउटा बाकसमा बाँधी सधैँको जस्तो हरिमती स्कुल जान्छिन् ।
तर म सोध्छु त्यसो भए कटकबहादुरले किन बिहा गरे ? छोरी नभएर छोरीको रहर पुऱ्याउन ? त्यसो भए ल्याएकै दिन बढेकी कन्याको बिहा गरिदिनु पर्ने पीर तिनलाई थपियो होला ।
हरिदत्त
हरिदत्त मेरो सहपाठी थियो । त्यसको चेहरा उसिनेको आलुजस्तो रक्तहीन थियो तर गालाको सबभन्दा उठेको स्थानमा दुई-चार चायाका दाग थिए । त्यसको अनुहारमा डण्डीफोरले जति उपद्रव गर्न सक्थे, गरेर गएका थिए । त्यसो हुनाले त्यसको अनुहारभरि खाल्डा थिए- कसैले रीसमा हजार चोटि आक्रमण गरेको जस्तो । आँखा सानासाना थिए र त्यसले कसैतिर एकाग्रताले हेऱ्यो भने ती झन् साना हुन्थे र तीखा बाणजस्ता लाग्थे ! त्यो दुब्लो-पातलो थियो र मझौला थिएन ।
त्यसको लुगा लाउने विषयमा सार्वभौतिक मत थियो । त्यसो हुनाले आज धोती र दौरा लाएको देखियो भने भोलि ठिक्क अङ्ग्रेजले लाउने लुगा लाएको देखिन्थ्यो । आफूलाई सिँगार्न उसलाई काबुली मखमलको बेस्टकोट र सलवार र मद्रासी लुङ्गीसम्म चाहिन्थ्यो । लुगाहरू धेरै वर्षपहिले बनाएका जस्ता थिए किनभने कोटको बाहुला चार अम्मल माथि हुन्थ्यो, प्यान्ट चाहिँ तरकारी किनेर ल्याउने थैलाजस्तो थियो । मखमलको बेस्टकोट स्वास्नीमानिसले लाउने भित्री चोलोजस्तो थियो, लुङ्गी त जुनसुकै धोतीलाई पारे पनि हुन्थ्यो । अङ्ग्रेजी लुगा लाएको दिन भने हामीहरूमाथि अलिक माथिबाट हेर्थ्यो र हामी पनि त्यसको अङ्ग्रेजीको धाक मान्थ्यौँ- कुनै शब्दलाई बङ्ग्याएर बोल्ने कोशिश गर्दैनथ्यो । त्यसको वाक्यमा ‘स् स् स्’ को बाहुल्य हुँदैनथ्यो । के त्यसको देब्रे हात प्यान्टको बगलीमा हुँदैनथ्यो र दाहिने हातले सानो बेतको छडी घुमाउँदैनथ्यो ?
जाडो जाडो जस्तो दिन थियो । बिहानदेखि आकाश मेघाच्छन्न थियो । हामीले आफ्नो आफ्नो बाकसबाट कोटहरू झिकेर लाउन थाल्यौं र हरिदत्तले त्यै टिम्म परेको कोट र धोक्रोजस्तो प्यान्ट लायो । स्कुल लाग्न अझै आधा घण्टा बाँकी थियो, त्यसो हुनाले हामी स्कुलको अगाडिको चउरमा बसेर गफ गरिरहेका थियौँ । टाढाबाट हरिदत्त आउन लागेको देख्यौँ, प्यान्टको बगलीमा देब्रे हात हालेर, दाहिनेले छडी हल्लाउँदै (तेस्रो हात भएको भए त्यसले चुरोट अवश्य लिने थियो), त्यसले कसरी हाम्रो भाव जानेछ र भन्यो “यो सुट गुलाम मुहम्मदले सिएको, ठट्टा होइन । हिन्दुस्तानमा त्यस्तो राम्रो सिउने अर्को कोही छैन ! यो धोबीले पो धुँदा बिगारिदिएको, पफ कलरको कदर नै नगरी इस्त्रीले थिचिदिएछ हेर……..।” कलरमा भएको इस्त्रीको प्रकोप देखाउन थाल्यो । सिउनी तानिएर सेतो धागो देखिन लागेको रहेछ ।
हामीहरू हतपती त्यसको कुरामा अविश्वास गर्न सक्तैनथ्यौं । किनभने त्यो एउटा धनीको घरमा बस्थ्यो । त्यसकी बहिनी हो कि दिदीलाई त्यस धनीले राखेको थियो । त्यसो हुनाले त्यो ठूलो दरबारजस्तो घरबाट निस्कने हरिदत्तले यस्तो विषयमा, जसमा धनको व्यय हुन्छ, केही कुरा भन्यो भने हामीहरू धेरैजसो पत्याउँथ्यौं ।
मेरो घरमा त्यो सधैं आउँथ्यो । कहिलेकाहीँ पैसा पाएको दिन मिठाई ल्याउँथ्यो, हामीले खाई नसकेको एक-दुई टुक्रा मिठाई “लौ अब रहेको पार्वतीलाई दिउँ” भनी त्यो भन्थ्यो ।
पार्वती मेरी नोकर्नीकी छोरीको नाउँ थियो । उसको सम्पत्ति दिन खोजे मेरो के लाग्थ्यो ? पार्वतीलाई म बोलाउँथेँ । हरिदत्त भन्थ्यो, “तैंले पार्वतीलाई दिइस् ।” म भन्थें “तैंले ल्याएको मिठाई तँ नै दे ।” त्यसै बखतमा पार्वती लाज मानेर मेरो कोठामा आउँथी र म मिठाईको पोको उसको हातमा हालिदिन्थेँ । हरिदत्तचाहिँ मैले दिएको र पार्वतीले समातेकी हेरिरहन्थ्यो ।
एक दिन त हातमा मसला हालेको दूधको ठूलो भाँडो र अर्कोमा मिठाईको पोको लिएर त्यो आयो । “यो दूध म आज आफैँ पार्वतीलाई दिन्छु” त्यसले भन्यो, “लौ उसलाई बोला त, त्यो मिठाईचाहिँ हाम्रो ।” मैले पार्वतीलाई बोलाएँ । ऊ आएपछि हरिदत्तले दूध आफ्नो हातले दिन सकेन र मलाई भन्यो “तँ नै दे ।”
दूध लिएर पार्वती गई । हामीहरूले बसेर मिठाई खायौं । आज उसकी दिदीले उसलाई एक रुपियाँ दिएकी रहेछ, त्यो रुपियाँ पाउनैबित्तिकै मिठाई र दूध किन्न मात्र बाटामा विलम्ब गरेर ऊ सोझै मकहाँ आयो । मिठाई खाएर हामीहरू डुल्न निस्क्यौं । हामीहरू केही पर पुगेका थियौं, हरिदत्त टक्क अडिएर मेरो काँधमा हात राखेर भन्न थाल्यो “म पार्वतीलाई प्रेम गर्छु ।”
म छक्क परें ।
त्यो भन्दै गयो “अब मेरो तिमी सहायता गर ।”
म आत्तिएँ ।
“तिमी दोस्त हौ । मित्रको अब कर्तव्य गर । मित्र ज्यानसम्म दिन तैयार रहन्छ । मैले आफ्नो रगत बगाएर तिम्रो केही भलो हुन्छ भने म आफ्नो रगतसम्म बगाउन तत्पर छु ।”
दोस्तीको यत्रो ठूलो कर्तव्यका सम्मुख म निरुत्तर भएँ । यसमा उसको कसरी भलो हुन्छ भनेर सोध्नु त्यो बेला तुच्छ ठहराएँ । मैले मित्रका रूपमा सबै कुरा गर्न तैयार हुनु पर्थ्यो । तर शक्तिभन्दा बाहिरको कुरा भए नि ?
मैले सोधें “म कसरी तिम्रो सहायक हुन सक्छु र ?”
“त्यो तिम्री नोकर्नीको छोरी हो । तिमी जे पनि गर्न सक्छौ” । बडो सजिलैसँग त्यसले भन्यो । म परेँ बडो पेचमा । मित्रको कर्तव्यबाट च्युत हुन मन पराउँदैनथेँ । तर कसरी हरिदत्तको सहायक हुन सक्तिन्छु मलाई थाहा थिएन ।
भोलिपल्टदेखि हरिदत्तले मलाई आफ्नो प्रेमको व्यापकता र निस्वार्थतामा वक्तृता दिन थाल्यो र मेरो कर्तव्यतिर मेरो ध्यान आकर्षित गर्न थाल्यो । तर म आफ्नो ध्येयमा सफल हुन सकिनँ । जस्तै आँटेर चेष्टा गरे तापनि म पार्वतीलाई हरिदत्तको त्यसका प्रतिको प्रेमविषयमा केही भन्न सक्तिनथेँ । बिस्तारै बिस्तारै हरिदत्तको सदाको उपदेशले गर्दा म आफूलाई मित्रको कर्तव्यबाट च्युत भएँ भनी ठान्न थालें । मलाई हरिदत्तको सम्मुख पर्न साहस हुन छोड्यो ।
परीक्षाको दिन पनि नजीकै थियो, हामी पढाइमा लाग्यौं । म पास भएँ, हरिदत्तले हामीलाई निराश गरेन, फेल भयो । परीक्षाफल निस्केको दिन हरिदत्त मकहाँ आयो र भन्न थाल्यो “मलाई थाहा थियो म फेल हुन्छु । पढेको भए पो पास हुनु । पढ्न सकेको भए पो पढ्नु । पार्वतीको प्रेमले गर्दा रातभरी निद्रा लाग्दैनथ्यो । प्रेममा परेर केही काम गर्न सक्तैन । लैला मजनूको कथा पढेको छैन ? म त मजनू थिएँ, पढ्नामा कहाँ मन अड्काउन सक्थेँ । फेरि आजकालको पढाइमा कहाँ मन लाग्छ र ? किताबको कीरा बन्यो, दुनियाँको सुखदेखि अलग रह्यो र पछि खूब गर्न सक्यो भने ४० रुपियाँको नोकरी राख्यो । आजकालको स्कुलको पढाइ त बेकामको हुन्छ ।”
मलाई आफू पास भएको हुँदा खुशी हुनु त कहाँ, त्यसको कुराले झन् लाज लाग्यो । हरिदत्तचाहिँ पास भएको जस्तो गरेर जीवनको कार्यक्रम स्थिर गर्न थाल्यो ।
“अब म यो स्कुल छोड्छु । मैले कमर्स पढ्ने निश्चय गरेको छु । कमर्सले व्यापारमा काम दिन्छ, व्यवहारिक जीवनमा मद्दत हुन्छ । यो स्कुलमा कमर्स छैन । हालैमा कमर्स सिकाउने स्कुल खुलेको छ, त्यहीँ नाउँ लेखाउँछु । तिमी बी. ए. पास गऱ्यौ भने हद ४० रुपियाँ पाउला । कमर्समा सफल भइयो भने” हात पसारेर फल टिप्न मात्रै बाँकी छ भने झैँ गरेर मलाई आफ्नो परीक्षाको सफलतामा लज्जित पार्दै काबुली लुगा लाएको हरिदत्त बाहिर गयो ।
धेरै दिनपछि त्यसको र मेरो भेट भयो । एउटा ठूलो सभामा म गएको थिएँ, त्यो पनि त्यहीँ थियो । यो सभा बेकामको बकवादी कुरा गर्नको निमित्त बोलाइएको छ भन्नेजस्तो गरेर हर्दङ्ग सुर्वाल लाएको हरिदत्त सभाको वास्ता नगरेर टाढै उभिएको थियो । मैले ऊ भएनेर गएर कुरा कुरामा त्यसको कमर्सको पढाइको विषयमा सोधें । बडो तिरस्कारको दृष्टिले मलाई हेरेर उसले भन्यो “तिमी त किताबका कीरा भैसकेछौ । देशमा यत्रो हलचल मच्चिरहेको छ । हजारौं देशभक्त जेलमा परेका छन् । यो बखतमा तिमी आफ्नो कर्तव्यको सीमा किताबभित्र छ भनी ठान्छौ । किताब-सिताब फ्याँकेर मैले सार्वजनिक क्षेत्रमा प्रवेश गरेँ ।”
मलाई समातेर कोही नभएको कुनामा लगेर बिस्तारै भन्न थाल्यो “अब हामीले पिस्तोल, बन्दुक जम्मा गर्नु पऱ्यो । तिमी पहाडमा बस्छौ, त्यहाँ हाम्रो खजाना बनाउनु पर्छ ।”
मैले डराएर चारैतिर हेरेर भनेँ “बन्दुक, पिस्तोल त्यहाँसम्म पुऱ्याउने कसरी ? पुलिसको आँखा कसरी छल्ने ?”
हरिदत्तले सजिलैसँग भन्यो “छी, छी चिनीको बोरामा म हतियार भरेर चलान गरूँला, तिमी त्यहाँ पुगेपछि तिनलाई एक ठाउँमा जम्मा गर्नु । कसैलाई शङ्का नै पर्दैन । चिनीको बोरामा पिस्तोल छ भन्ने कसलाई थाहा ? ऊ, त्यो गुप्चर पुलिसको इन्स्पेक्टर हो । ऊ हेर उसको दृष्टि ममाथि छ । हाम्रो जीवन त चौबीसौं घण्टा खतरामा रहन्छ । काला पानीमा जीवन बिताउनुपर्ने हो कि फाँसीको डोरीमा झुण्डिनुपर्ने हो । तर देशको निमित्त मैले त आफ्नो शरीर अर्पण गरिसकेको छु ।”
त्यसै बखतमा एउटा मान्छेले आएर त्यसको हात समातेर त्यसलाई लग्यो । जाँदाजाँदै त्यसले मलाई सम्बोधन गरेर भन्यो “हेर है, मैले भनेको नबिर्सनु । अहिले मलाई फुर्सत छैन । यी, काममा हिँडिहाल्नुपऱ्यो, पछि भेट भएर सारा प्लान छलफल गरौंला ।”
एक दिन कोर्टबाट फर्केर म आफ्नो कोठाको झ्यालबाट तल सडकमा हेरिरहेको थिएँ । साम्मुन्नेको बाटोबाट हरिदत्त आइरहेको थियो । मैले कराएँ, हरिदत्तले ऊँभो मुन्टो लाएर हेऱ्यो । मलाई देखेर आफ्नो सारा दाँत देखाएर हाँस्यो । म तल झरें र त्यसलाई लिएर माथि आएँ ।
यतिका दिनले- सातआठ वर्षले उसको अनुहारमा केही परिवर्तन पारेको थिएन । मलाई ता आफू धेरै छिप्पिसकें जस्तो लाग्थ्यो, तर ऊ त जस्ताको तस्तै, केवल अलिक दुब्लाएको, पहेंलो मुख झन् पहेंलो भएको, सानासाना आँखा, झन् तल भासिएका ।
मैले सोधें “तिमी यहाँ कहाँ ?”
उसले पहिले मेरो कोठाको चारैतिर आँखा घुमायो । बिस्तारै एकएक कुरामा उसको दृष्टि अड्कियो, पछि उसको दृष्टि एउटा चोलोमा पऱ्यो जो भूलले वा असावधानीले बिछ्यौनामा छुटेको थियो ।
“त्यो को”- चोलोलाई देखाएर हरिदत्तले भन्यो-
“मेरी पत्नी” मैले त्यसको हात समातेर त्यसलाई सोझै बिछ्यौनामा तानेर बसाल्दै भनेँ । चोलोलाई एउटा कुनामा हुत्याएँ ।
“तिम्रो त बिहा भएछ, पैसा पनि कमाउँछौ क्यारे…….।” उसले फेरि कोठामा चारैतिर हेऱ्यो ।
मैले सोधें “तिमी यहाँ के गरिरहेछौ ?”
“म त व्यापार गर्न आएको छु आजकाल चियाको व्यापार गर्छु ।” बिस्तार बिस्तार उसलाई आफूमा पुरानो जोश र उत्साह आउन थाल्यो “चियाको व्यापारमा आजकाल खूब धन छ । लिप्टनले, ब्रुकबोन्डले करोडौं रुपियाँ कमाए । अरू व्यापारमा हानिको डर हुन्छ, यसमा त हानिको डरै छैन, नाफा मनग्गे छ…..।”
मैले फेरि सोधें “यहाँ कहाँ बसेका छौ ? तिमीलाई फुर्सत भए डुल्न जाऔं ।”
उसले प्रस्ताव गऱ्यो “भोलि आएर तिम्रो श्रीमतीसँग भेटूँला । अहिले त मलाई फुर्सत छैन । व्यापारमा समयको बडो मूल्य छ, हिँड ।” म जान तैयार भएँ ।
कुन कुन कोप्चा र अँध्यारो गल्ली हुँदै यस्तो गल्लीमा मलाई लिएर गयो, जहाँ सूर्यको किरणको कहिले प्रवेश भएको नहोला । त्यही गल्लीको उपयुक्त एउटा घरभित्र हामी पस्यौं । त्यसले एउटा कोठा लिएको रहेछ, त्यही कोठाको बारदलीमा उसको भान्छाघर रहेछ, एउटा दमचुलो, पानीमा ढाडिएका भातका सिता, नमाझेको थाल र पानी हालेर निभाएको कोइलाले बारदली नै भान्छाघर हो भन्ने प्रमाण दिइरहेका थिए । बस्ने कोठामा तीनवटा बोराभरि चिया थियो, एउटा बोरा त खुल्लै थियो, दुईवटा सिएका थिए । कोठाभरि चियापत्ती छरिएका थिए र चियाको गन्ध कोठामा रङ्गमगिएको थियो । माथिको तख्तामा छापिएका कागजका मुठा थिए, जसको दुई तीन पाता तल झरेर चियाको साथसाथ हाम्रो पाउले मर्दित हुन्थ्यो ।
कोठाभित्र पसेर उसले मलाई बस्ने इशारा गऱ्यो । आफू मेरो स्वागतमा चिया बनाउने तर्खरमा लाग्यो । मैले खसेको कागजको पाता टिपें । चियाको विज्ञापन रहेछ । सबभन्दा माथि एउटी केटीको तसवीर थियो ।
हरिदत्तले बारदलीमा चुल्हो सल्कायो । त्यसको धुवाँ कोठामा भरिन लाग्यो । बारदलीबाटै चुल्हो फुक्दैफुक्दै हरिदत्त भन्न लाग्यो “चियाको व्यापारको केन्द्र बङ्गाल हो । चीनमा चिया हुन्छ, तर हिन्दुस्तानको चियाको जस्तो माग दुनियाँमा छ, त्यस्तो चीनको चियाको छैन । दार्जीलिङको चिया दुनियाँमा नामी छ । यस व्यापारपट्टि मेरो ध्यान आकर्षित गर्ने एउटा गुजराती सज्जन हुन् । म बम्बइमा थिएँ ।”
जब चियाको पानी पाक्न थाल्यो । त्यसले मनेर आएर भन्यो “दूध र चिनी त छैन । मेरो त त्यसै खाने बानी छ । चियामा चिनी र दूध हाले चियाको स्वाद के नि ? तर तिमी त चिनी दूध नहाली खान सक्तैनौ कि ? मसँग त अहिले एक पैसा पनि छैन ।”
मैले पैसा झिकेर दिएँ । ऊ कुद्दै गयो र दूध र चिनी लिएर आयो । बिहान पकाएको एउटा मोटो रोटी एक टुक्रा मलाई समात्न दिएर अर्को आफैंले लिएर गिलास र एउटा कचौरामा चिया लिएर आयो । मैले गिलासको चिया समातें । चिया खाँदा कुरा हुन थाल्यो । हरिदत्तले सोध्यो “तिमी कुन चिया खान्छौ ?”
मैले भनेँ “लिप्टन ।”
“लिप्टनको कुन ब्रान्ड ?”
“हरियो लेबल ।”
यहाँ उसले ज्ञान देखाउने मौका पायो, “लिप्टनको चिया त चल्तीको हुन्छ । खालि विज्ञापनको भरले उसको बिक्री हुन्छ । सबभन्दा असल ब्लेन्डिङ त ब्रुकबोन्डको हुन्छ । लोप्चु ब्रान्ड खाएका छौ ? तर मेरो चियाको गन्ध सबभन्दा असल छ ।” विज्ञापनको कागज उठाएर मलाई देखाउँदै भन्न लाग्यो “यो कसको तसवीर हो, चिन्यौ ? राम्ररी हेर त । ब्लक राम्रो बनेन, अलिक अनुहार मिल्दैन । सफा छपाइ पनि छैन । पार्वतीको हो, चिन्यौ ? जब ती गुजराती सज्जनले मेरो ध्यान चियापट्टि आकर्षित गरे, म सँग त पैसा थिएन । यसो हुनाले दाजुको ३०० रुपियाँ चोरेर नै भन्नुपऱ्यो, लिएर आएँ । त्यसैले चिया किनेर यो विज्ञापन छापें । मेरो कम्पनीको नाउँ पारु हो । मेरो पार्वतीप्रतिको भावनालाई अमर पार्न उसको नाउँमा मैले यो कम्पनी खोलें । सच्चा प्रेम यो हो…….। पार्वती आजकाल कहाँ छे ?”
मैले उत्तर दिएँ “उसको बिहा भयो । दुईवटा छोरा छन् । त्यै आउँथ्यो नि गोरो क्षेत्री, बाँसुरी बजाउने, कहिले कहिले मेरो काम पनि गर्थ्यो, रणवीर क्या ? हो, उसैसँग उसको बिहा भयो, सुखैसँग होली ।”
हरिदत्त एक छिन चुप लाग्यो । एक छिनपछि फेरि भन्न लाग्यो “यै चियाको बलले मैले रुपियाँ कमाउनु छ । अहिलेसम्म त केही बिकेको छैन । तर चिया नबिक्नु यो हुनै सक्तैन । जसले मेरो चिया एकचोटि चाख्छ, उसले फेरि लिप्टन र ब्रुकबोन्ड केही मन पराउने छैन । व्यापार एकैचोटि हुने होइन । बिस्तार बिस्तार हुन्छ । व्यापारमा धन छ । बाबु अलिक दिन पर्ख । “यै, चियाले म लखपति हुन्छु ।” रोटीको आखिरी टुक्रा निलेर चियाको एक घुट्को खाएर उत्साहसँग हरिदत्त पैसा कमाएपछिको कार्यक्रम निर्धारित गर्न थाल्यो ।
प्रेम
रामनाथ भुतभुताइरहेका थिए । दिनले आँखा उघार्न जानेन । यो एकोहोरो झरी । मधेसमा सुखा परिरहेको होला, यहाँ नचाहिने ठाउँमा पानी परिरहन्छ । रामनाथले ईश्वरको विवेकमा शङ्का गरे ।
तर काममा नगई नहुने । कोट लाएर छाता टिपेर बाहिर ढोकासम्म आए । पानी जिस्क्याउनलाई वर्षेजस्तो झन् दर्कन थाल्यो । बलेंसीबाट पानीको धारा बगिरहेछ । आकाश कालो-नीलो छ । रूखको पात र छानोको टिनमा पानीको थोपा खसेको अल्छीलाग्दो शब्द हुँदैछ । बाटो शून्य छ, मान्छेको नाउँमा कुनै मुसो देखिँदैन । वरपरका घर-वृक्षहरू पानीले चुटिएर टाउको निहुराइरहेछन् । चिसो बतास छिनछिनमा हुर्रिएर आएर पानीका कण बातिन्छन् । रामनाथलाई यो दृश्यले न्यास्रो लाग्यो । उनलाई असाध्यै एक्लो भएको अनुभव भयो ।
तर उनलाई काममा नगई नहुने । आज उनलाई नोकरी लत्याएर हिँड्नु जस्तो लाग्यो । यस्तो दिनमा पनि सुख नपाउनु, दिनहुँ अफिसमा धाउनु छ । कस्तो समाजको व्यवस्था ? मैले चाहिने आँधी-बेहरीको वास्ता नगरीकन काममा घोटिनु, ती ठूलाठूला घर भएका सिरकमा गुड्मुड परेर आँखा दुख्जेलसम्म सुतिरहुन्, संसारमा यही व्यवस्था छ । धनी धनमा लुटपुट गरिरहुन्, गरीब आफ्नो हाड घोटुन् । भन्छन् रूसमा धनी-गरीबको भेद छैन रे, कुन्नि साँचो हो कि झूठो हो । समाजको जति हानि धनीद्वारा हुन्छ त्यति अरू कसैद्वारा हुँदैन ।
कहाँ पढेको जस्तो लाग्छ बरू हात्ती सियोको प्वालमा छिर्छ, तर धनी स्वर्गको ढोकाभित्र पस्न सक्तैन । रामनाथ रीसको झोकमा धनीको प्रति घृणाको भाव मनमा खेलाइरहेका थिए ।
सडकमा पानीको भल बगिरहेको छ, हिलैहिलो छ । पानीले ढाडिएर र हिलो टाँसिएर तिनको जुत्ता गह्रौं भैरहेछ । गोडा चल्दा पनि कष्ट हुन्छ । माथिको आकाशको धारा छातालाई छिचोली थोपाथोपा गरेर तिनको कोट र टोपीमा खसिरहेछ । वीरधाममुनि पुग्दा तिनको क्रोधको सीमा रहेन । म्युनिसिपालिटीले यति सानो बाटो बनाउन कति दिन लाएको ? म्युनिसिपालिटीका सब मान्छे अल्छी हुन्, पैसा धुत्न मात्रै जान्दछन् । ट्याक्स त कति छिटोछिटो असुल गर्छन् र यो जाबो बाटो बनाउन झींगा धपाएको जस्तो गरिरहेछन् । तीन दिन भैसक्यो, बाटो खनेको छ, हिलै-हिलो, कति यहाँ चिप्ले होलान् । बत्तीको राम्रो प्रबन्ध छैन, पानीको उचित प्रबन्ध छैन तर कहलाउँछ शहरलाई प्रबन्ध गर्ने संस्था ।
अफिसमा पुगेर तिनले बत्ती बाले, किनभने अफिसमा यथेष्ट प्रकाश थिएन । एउटा कुनामा छाता थुनेर ठड्याए, त्यहाँ छाताको टुप्पाबाट चुहेको पानीको दह जम्यो । कोटलाई झारेर काँटीमा टाँगे । कुर्सीमा बसेर कागत हेर्न थाले । काम त आज केही रहेनछ नि, तर सरकार भन्छ काम नभए पनि पैसा खाएपछि तैंले दुःख बेसाउनुपर्छ । जताततै तलदेखि माथिसम्म जुन काममा पनि, जुन व्यवस्थामा पनि बुद्धिहीनताको नै परिचय पाइन्छ । आज नआएको भए सिन्काको टुप्पो जति पनि कामको खती हुने थिएन । यो संसार छोडेर कतै जान पाए पनि हुन्थ्यो । यस्तो जाबो काम गर्नुभन्दा त मर्नु नै असल ।
काम नपाएर बाहुला कुहनासम्म सारेर दुवै हातको हत्केलाले पारेको कचौरामा चिउँडो गाडी रामनाथ चिन्तामा परे । रमाले ‘आउँछु’ ‘आउँछु’ भनी लेखी पठाई तर अझ आइन । माइत गएपछि यी स्वास्नीहरूलाई घरको ध्यानै आउँदैन । जेठ-असार पनि सिद्धिन लाग्यो, घर आउने नाउँ लिन्न । पहिले त चाँडै नै फर्कन्छु भन्ने चिठी आउँथ्यो । अहिले त्यो पनि पटक्क बन्द छ । घरको माया भए पो । ए, यता चिठी नआएको धेरै भयो । शनिबार आठ, मङ्गलबार नौ, बुधबार दश दिन भयो । चिठी बन्द छ । त्यो चिठी नलेख्ने त होइन । केही बिरामी त परिन । रामनाथ हात मिच्दै कुर्चीबाट उठेर कोठामा डुल्न थाले । बिरामी भएको भए ससुराहरूले चिठी लेख्नु पर्ने, खबर दिनुपर्ने । ती पहाडेहरूलाई यस्ता मौकामा चिठी पत्र लेख्नुपर्छ भन्ने पनि थाहा छैन क्यारे । एक त साह्रो नभई तिनीहरू कुनै बेथालाई बेथै मान्दैनन् । तिनीहरूको अज्ञानताले कति हाम्रा पहाडिया भाइ बहिनी बाँच्ने आयु लिएर आएका भए पनि मर्दछन् । रमाको स्वास्थ्य पनि यता राम्रो थिएन । अलिक चिसो लाग्यो भने रुघा लागिहाल्थ्यो । एकचोटि रुघा लाग्यो भने ज्वरो, खोकी, छाती दुख्न थालिहाल्थ्यो । एक ठाउँमा बसेर त्यसको राम्ररी स्याहार गरेर असल डाक्टरको औषधी गराऊँ भनेको, यताउति गयो, कामको लन्ठाले अझसम्म केही गर्न पाइएन । आफू पनि, ऊ मोरी उस्तै छ नि । यसो एक दुईचोटि औषधी ल्यायो भने खान्न । औषधी पनि केही मिठो हुन्छ र । आफूले पनि त आफ्नो शरीरको विचार राख्नुपर्छ । अमिलो-पिरो नखा भनेको पटक्क टेर्नु छैन । मैले मात्र पीर मानेर के भयो ?
रामनाथ आएर फेरि बिचार गर्न थाले “रामे नोकरलाई नखोसिई भएन । काम राम्ररी गर्नु छैन, कुरा मात्र हाँक्छ, म एक्लै छु भने त त्यो दिनभरि कता अल्मलिन्छ । काम पनि राम्रो जान्दैन । भाँडा माझेको तेलको चिल्लो रहन्छ । बाहुन भन्छन् भान्छाको जूठो पनि चोख्याएको हुँदैन । आफू बाहुन पनि कुन सुग्घरी छन् र ? कतिचोटि भन्यो सफा बस बाजे, साबुन दियो, लुगा धुन तर लागेको बानी कहिलै छुट्थ्यो र ? मैला रहन्छन् । रमा आएपछि यी सबलाई खोस्छु र नयाँ नोकर-चाकर राख्छु ।”
चार बज्नासाथ उनी कुर्चीबाट उठे, कोट लाए, छाता टिपेर अफिसबाट निस्के । पानी थामिएको थियो तर आकाश अझै मेघाच्छन्न थियो । दिनभरि ननिस्केका मानिसहरू पानी थामिनासाथ सडकमा निस्के । रामनाथ थाकेका थिए । घर पुग्नासाथ कहीँ नगएर एकछिन ओछ्यानमै ओढेर सुत्ने निश्चय गरेका थिए । उताबाट उनको एउटा साथी आइरहेको थियो । रामनाथले विचार गरे “अब त्यसले कति बेर उभ्याइराख्ने हो । यी साथीहरूका पीरले !”
त्यो साथी नजीकै आएर तिनको काँधमा हात राखेर भन्यो । “कताबाट रामनाथ, अफिसबाट ?”
रामनाथलाई रीस उठ्यो, यो बखतमा सबैलाई थाहा थियो, रामनाथ अफिसबाट फर्कन्छन् । तब यो कुरा सोध्ने के प्रयोजन ?
फेरि साथीले भन्यो “आज त दिनभरि पानी परिरह्यो ।” यो वाक्यले रामनाथको कन्सिरी तात्यो । छेउ न पुच्छरको कुरा गर्न त्यसले रामनाथलाई किन सडकको माझमा उभ्याइराखेको । दिनभरि पऱ्यो, यो उसले रामनाथलाई किन सम्झाउनु पऱ्यो । काम न काज, साथी भन्दैमा…….। रामनाथ चुप लागिरह्यो ।
बल्ल-बल्ल साथीसँग उम्केर उनी घर फर्के । ढोका उघार्न रामेले अबेला गऱ्यो । यहाँ उनको क्रोधको सीमा रहेन र उनले रामेलाई हान्न छाता उचालिसकेका थिए, रामेले टेबुलमाथि राखेको एउटा तारतिर आकर्षित गऱ्यो, हत्तपत्त उनले तारको खाम खोले, तार उनकी पत्नीको रहेछ । भोलि पुग्छु भन्ने समाचार थियो ।
रामेले थाहा पाइसकेको थियो यो तार कहाँबाट आएको । उसले किच्च दाँत देखाएर सोध्यो “बज्यै कहिले पाल्नुहुन्छ ?” रामनाथको अनुहार प्रसन्न थियो । उनले भने “भोलि, तर रामे कोठाहरू राम्ररी सफा गर । उसले के भन्ली ? कुचो त ऊ गएदेखि तैंले लाएको छैन क्यारे । टेबुलमा (औंला दलेर धुलो टाँसिएको औंला रामेलाई देखाएर) कति धुलो जमेको छ, के भन्ली ?” भन्दै उनी उठेर आफ्नो कोठातिर लागे ।
एक छिनपछि उनले रामेलाई बोलाए । रामे “हजूर” भन्दै पुग्यो ।
“देख्छस् तँ, भित्तासँग टाँसिएर राखेको आलमारी कोठाको माझमा उभिएको छ ।” रामे पुग्नासाथ रामनाथले भने “लौ यो आलमारीलाई त्यता राखौं । त्यहाँ राखेको राम्रो देखिँदैन । टेबुल र कुर्सीचाहिँ पलङको सिरानैनेर राख्नुपर्छ । लौ उता समात् तँ, राम्ररी समातेस् ।”
भात खाने बखतमा बाहुनलाई भने “भोलि मासु किनेर ल्याउनु । के एकै थरीको तरकारी किनेर ल्याउँछौ ? बजारमा यो बाहेक अरू तरकारी नै पाइँदैनन् कि…….?”
भोलि बिहान उनको शरीरमा विचित्र फुर्ती थियो । जीउ हलुको जस्तो लाग्यो । आकाशमा बादल थिएन र पगालेको सुनजस्तो सूर्यको किरण डाँडाकाँडामा छ्याप्पछ्याप्ती थियो । प्रसन्न भएर उनले बिछ्यौनाबाट उठेर रामेलाई कराएर भने “रामे, रेल आउने कुन टाइम, हैं ?”
रामेले भन्यो “रेलबाट सवारी हुन्छ र ? मोटरबाट सवारी भए चाँडै आइपुगिन्छ ।”
रामनाथ परे द्विविधामा, मोटरबाट आए नि । कहाँ लिन जाने ? कहिले आइपुग्छिन् । त्यति तार दिन जान्नेले यसको पनि सूचना दिनु पर्ने । एकछिन कपाल कन्याएर तिनले रामेलाई अह्राए “तँ चाँडै गएर मोटर आउने सडकमा उभिरह । मोटरबाट आएनन् भने, स्टेशनमा रेलमा लिन म जाउँला । रेल त १२ बजे आइपुग्छ, होइन ?”
“हजुर” रामेले उत्तर दियो ।
रामे जानै लागेको थियो, रामनाथले फेरि भने “फुलदानमा नयाँ फूलहरू राख, तँलाई त्यति पनि सुद्धी छैन, सात दिनदेखि एउटै फूल कुहाइराखेको छस् ।”
भान्छाघरमा पुगेर बाहुनलाई सोधे “तरकारी के के ल्यायौ, बाजे……? आज अबेरै पकाए हुन्छ । उनीहरू कहिले आइपुग्ने हुन् ? रेलबाट आए भने त १२ बजे पो आइपुग्छन् । अबेरै गरे हुन्छ, बाजे । खानेकुरा चिसो पार्ने के काम ?”
एक छिनपछि नुहाइसकेपछि उनी हातमा हात राखेर कोठाको माझमा ठिङ्ग उभिएर घोरिए “अब के गर्ने ?”
एकछिनपछि कोट लगाएर मोटर आउने बाटोतिर आफैँ हेर्न गए । रामे सडकको छेउमा एउटा ढुङ्गामा बसिरहेको थियो । मालिकलाई आएको देखेर उभियो ।
रामनाथले सोधे “अझ आएनन् ?” रामेले उत्तर दियो “मोटर त धेरै आए, तर खोइ उहाँको सवारी भएन ।”
एकछिनसम्म त्यहाँ उभिएर अब मोटरमा आउँदैनन् भन्ने निश्चय गरेर रामनाथले रामेलाई घर फर्काए “हेर्, १२ बज्ने बखतमा छाता र बर्सादी लिएर तँ स्टेशन आउनू । म अहिले यहीं डुलिरहन्छु ।”
रामनाथले आकाशतिर हेरे । फेरि आकाशमा बादल जम्मा हुन लागेको थियो । पानी पर्ने लक्षण थियो । उनी स्टेशनतिर लागे । स्टेशनमा कोही मान्छे थिएन । कर्मचारीहरू कोठाकोठामा आफ्ना काममा व्यस्त थिए । प्लेटफार्म रित्तो थियो । तिनी एकछिनसम्म बेन्चमा गएर बसे । फेरि एकछिनपछि प्लेटफार्ममा डुल्न लागे । एकएक गरेर भित्तामा टाँसेको विज्ञापन पढ्न लागे । स्टेट्सम्यान हिन्दुस्तानको सबै दैनिकपत्र भन्दा बढ्ता बिक्री हुने एउटा राष्ट्रिय पत्र हो, दुनियाँसँग सम्बन्ध राख्नु छ भने त्यसलाई पढ, हर्लिक्स दूध ताकत दिने पेय हो, साना केटाकेटीहरूलाई र रोगीलाई हर्लिक्स खुवाऊ । एउटा विज्ञापनमा केवल एउटा रातो गाला भएको खूब राम्रो स्वास्थ्य भएको वृद्धको हाँसिरहेको तसवीर थियो । धेरै गौर गरेर हेर्दा रामनाथले बेक्स बीयरको विज्ञापन रहेछ भनेर थाहा पाए ।
एकछिनपछि स्टेशनको घडीसँग आफ्नो घडीको समय मिलान गर्न स्टेशनको घडी टाँगिएको कोठातिर गएर उभिए । पाँच मिनट उनको घडी छिटो रहेछ । उनी फेरि प्लेटफार्ममा यताउति डुल्न थाले । एकछिनपछि फेरि गएर बेन्चमा बसे ।
बिस्तार बिस्तार मान्छेहरू आउन थाले । टिन टिन टिन टिन सुनियो, गाडी आउने टाइम हुन लाग्यो । उनी बेन्चबाट उठे । रामेले छाता र बर्सादी ल्यायो । रेल पनि कुँईय कराउँदै आइपुग्यो ।
रामनाथको सबभन्दा पहिलो दृष्टि झ्यालबाट बाहिर टाउको झिकेर हेरिरहेकी रमामाथि पऱ्यो । उनी उतै लम्के । रमा गाडीबाट ओर्लिन् । माल रामेको जिम्मा छोडेर उनीहरू स्टेशनबाट बाहिर आए । त्यसै बखतमा पानी दर्कन थाल्यो । बर्सादी रामनाथले ओढेर छाता उघारेर दुलहीलाई ओढाउँदै स्टेशनबाट बाहिर आए । “हेर, तिम्रो स्वागतमा यो वृष्टि भएको पानीको फूलको” कवि हुने प्रयत्न गर्दै रामनाथले भने “नत्र अहिलेसम्म पनि नपरेको, तिमी पनि पुग्नु, पानी पनि पर्नु ?” रामनाथले आफैँ यो तर्कमा गूढ सत्य देखे ।
“भिजौली, छातामुनि हिँड न । हतार नगर है बाटो चिप्लो छ । यी हेर, म्युनिसिपालिटीले बाटो साँघुरो भयो भनेर माटो काटेर फराकिलो बाटो बनाउन लागेको छ । पहिले कति साँघुरो बाटो थियो, तीन हात जति बढ्ता चौडा बनाउने भएछन् । हेर न, त्यहाँसम्म माटो काटेको छ । यो ठूलो बाटो एक दुई दिनमा बन्ने हो र ? अझै दश पन्ध्र दिन लाग्ला । रात-दिन त मान्छे यसमा लागेका छन्………भन्दै थिएँ नि चिप्लौली…….. लौ, मलाई समाती समाती हिँड ।”
रामनाथ एकचोटि अट्टहास गरेर हाँसे किनभने उनको पत्नी स्वाम्मै हिलोमा गाडिइन् । एक छिनपछि आफैँ चिप्लिए । उघ्रेको छाता हातबाट छुटेर दुई तीन चोटि पल्टनबाजी खाएर सडकको बारमा गएर अड्क्यो, आफू बचाइए । उनकी पत्नीले खित्का छोडेर हाँस्ने मौका पाइन् । “ही ही ही ……. कत्रा माछा मारेको ।” फेरि उत्तिखेरै उनले सोधिन् “चोट त लागेन ?”
रामनाथले उठेर छाता लिन जाँदै भने “अहँ, चोट त लागेन तर कसैले त देखेन ?” उनकी पत्नीले पछि फर्केर हेरिन् । बाटो शून्य थियो । कोही थिएन । फेरि पत्नीको हातमा आफ्नो पाखुराको ताल्चा मारेर हाँस्दै तिनीहरू तल झरे ।
कोठामा पुगेपछि रमाले भरियाले ल्याएको मालको निरीक्षण गरिन् । रामे ढोकानेर किच्च दाँत देखाएर उभिरहेको थियो । रमाले सोधिन् “रामेले कस्तो काम गऱ्यो ?”
रामेले झन् बत्तीसैवटा दाँत देखायो । रामनाथले हाँसेर भने “सबै काम असल गऱ्यो । सबथोक मिलाउँथ्यो । राति मात्र कुन्नि कहाँ अल्झन्थ्यो ।” एकपल्ट आँखा झिम्क्याएर तिनले पत्नीतिर हेरे ।
बाहिर पानी झमझम पर्दै थियो । रामे भान्छातिर गयो । पत्नी नुहाउने तर्खर गर्न लागिन् । बाकस उघारेर धोती चोलो झिकिन् । रामनाथ उनीनजिकै उभिरहेका थिए । पत्नीले सोधिन् “आज अफिस जानु पर्दैन ?”
“अँ आज……… को जाओस् ?” पत्नीको टाउकोमा औंलाले हार्मोनियम बजाएको जस्तो गरेर रामनाथले भने ।
रमा नुहाउन गइन् । रामनाथ खाटमा आएर बसे । उनको मन प्रसन्न छ । छिनछिनमा नुहाउने कोठाबाट पानी खन्याएको शब्द आउँछ । पत्नी नजीकै छिन्, त्यहाँ नुहाउन गएकी छन् । संसारमा बाँच्नुभन्दा सुखद कुरो केही छैन ।
भान्छामा तरकारी ओइरिएको भ्वाइँय शब्द भयो । बाहुन केही भुट्न थालेछन् । नुहाउने कोठाको ढोका उघ्रियो । धोती बेरेर मात्रै उनकी पत्नी त्यो कोठाबाट निस्किन् र आफ्नो कोठामा आएर धोती लाउन थालिन् । टेबुलमाथि साजी फूल मुन्टो हल्लाइरहेछन् । रामनाथ पल्टेर सब कुराको निरीक्षण गरिरहेका छन्, पत्नीले धोती लाएपछि चोलो लाइन् । नबोली रामनाथ उनीतिर हेरिरहे । चोलो लाएर उनकी पत्नी दुलहानजिकै नै खाटमा आएर बसिन् । पत्नीको शरीरको स्पर्श हुँदा भित्रदेखि रामनाथले अनुभव गरे बाँच्नमा नै संसारका सुखको सार छ ।
कर्नेलको घोडा
कर्नेल कर्नेल्नीलाई असाध्य माया गर्थे । बुढेसकालमा बिहा गरेकी तरुनी स्वास्नीलाई कसले माया गर्दैन ? तर कर्नेललाई ४५ वर्षको कर्नेलले गरेको मायाले पुग्दैनथ्यो । कर्नेल्नी थिइन् १९ वर्षकी । जहिले पनि बाहिरबाट घर फर्कंदा दुलहीलाई सुखी पार्न केही न केही कुरो कर्नेल किनेर ल्याउँथे-साडी, पाउडर, लाली, चुरा, इयरिङ इत्यादि । तर तिनकी दुलहीको मन कहिले पनि दुलहातिर फर्केन । दुलहाले खुशी पार्न मायाले किनी ल्याएको मालतालले भरिएको कोठामा एक्लै बसी कर्नेल्नी आँसु खसाल्थिन् । कत्रो आशा र उमङ्ग लिएर तिनले दुलहाको घरमा पहिलो दिन पाइलो हालेकी थिइन् । कत्रो सुख पाइएला भनेर तिनले आशा गरेकी थिइन् । कर्नेल्नी यी सबै पहिलेका कुरा विचार गर्थिन् र बिस्तार बिस्तार रुन्थिन् । बिहा हुनुभन्दा पहिले छिमेकीको एउटा युवकले तिनलाई प्रेमको निम्ता दिएको थियो । राम्रो थियो त्यो युवक हृष्ट-पुष्ट, त्यसको बाहु बलियो थियो । रहरलाग्दो थियो त्यसको शरीर । यो कुरा सम्झँदा तिनलाई अहिले पनि सिरिङ्ग हुन्छ । तर त्यस बखतमा आफ्नो भविष्यमा पाउने दुलहाको मिठो कल्पना गरेर त्यो युवकको निम्तालाई तिनले स्वीकार गरिनन् । अब छिनछिनमा त्यो युवकको सम्झना हुन्छ, त्यसको बलिष्ठ भुजाको ध्यान मनमा आउँछ । त्यसको बाहुको शक्तिको अनुभव गर्न पाउने अब तिनलाई रहर मात्र रह्यो । तिनले आत्तिएर कोठाका चारैतिर हेरिन्, कोठाका मालतालहरू तिनको खिसी गरिरहेजस्ता थिए । आफूलाई खुशी पार्न ल्याएको मालले घेरिएकी तिनी बन्दिनीजस्ती थिइन् ।
त्यही बेलामा किनेका माललाई कुनै काखी च्यापी, कुनै हातमा झुन्ड्याई कर्नेल कोठाभित्र पसे ।
“हेर, मेरो प्राण, के के किनेर ल्याएको छु ।” कर्नलले मालको थुप्रो तिनको अगाडि राखेर भने ।
कर्नेल्नीले उत्साहहीन दृष्टिले एकचोटि कर्नेललाई र एकचोटि मालताललाई हेरिन् ।
“मैले कतिचोटि हजुरलाई भनेँ मलाई यी सब मालताल चाहिँदैनन् । व्यर्थ हजुर किन पैसा फ्याँक्नुहुन्छ ?” कर्नेल्नीले आँसु पुछ्दै भनिन् ।
कर्नेलले मायाले सोधे “तिमी किन सधैँ चिन्तित बस्छ्यौ ? तिम्रो त अहिले लाउने-खाने उमेर छ । तिमीलाई केको तकलिफ छ ? मलाई भन न ।”
कर्नेल्नीले उत्तर दिनु व्यर्थ ठानिन् । तिनको कष्ट कर्नेलले बुझ्दैनन् । १९ वर्षकी युवतीका मनको भाव ४५ वर्षको दुलहाले बुझ्दैन । कर्नेलले चुप लागेर बसिरहेकी दुलहीलाई मायाले उचाले, तिनले भर्खरै विचार गरेको दुःखद भावनाहरूलाई बिर्सिन् । दुलहाको उमेरलाई बिर्सेर उनले आफ्नो शरीरलाई दुलहामाथि फ्याँकिन् । कर्नेलले तिनको भार थाम्न सकेनन् र तिनी पछारिए । दुलहीको सारा स्वप्नको तार एक्कासि चुँडियो । दुलहीलाई उठाउने प्रयत्नमा बल पर्दा स्वाँ स्वाँ गरिरहेको र पछारिएका दुलहालाई कर्नेल्नीले एकचोटि घृणाका दृष्टिले हेरिन् । त्यसै दिनदेखि कर्नेल्नीका मनमा आफ्नो दुलहाप्रति महान् तिरस्कारको भाव उदय भयो ।
एकदिन कर्नेल र कर्नेल्नी आफ्नो हाताको निरीक्षण गरिरहेका थिए । कर्नेलले विदेशबाट झिकाई पाँचवटा गाई पालेका थिए । गोठघरमा धेरै बेरसम्म तिनीहरू गाई-बस्तुको निरीक्षण गरिरहे । गोठसँगै जोरिएको तबेला थियो । घोडाले हिनाहिनाएको स्वर कर्नेल्नीले सुनिन् र सोधिन् “हजुरले घोडा पनि पाल्नुभएको छ ? मलाई थाहा थिएन ।”
कर्नेलले रहरसँग यो सेतो घोडा किनेको थियो । सधैं आफैँ बसी दाना खुवाउँथे, आफैँ उभिएर दिनहुँ त्यसलाई मल्न लाउँथे, र एकचोटि नित्य बिहान त्यसमा चढी हावा खान निस्कन्थे । तर यता यिनले घोडापट्टि उति ध्यान दिएका थिएनन् । त्यसमा नचढेको पनि निकै भएको थियो ।
“हिँड न, जाऊँ त्यसलाई हेरौँ ।” तिनले दुलहीलाई भने । मालिकलाई आएको देख्ता घोडा अगाडिका दुवै टाप भुइँमा बजारी-बजारी झन् झन् हिनाहिनाउन थाल्यो । अँध्यारोमा बाँधिएको त्यो घोडाको आँखा टलक्क टल्किरहेको थियो । हिनाहिनाउँदा त्यसको नाकका दुवै पोरा फुलेर ठूला हुन्थे । त्यसका नसाहरू त्यसका गोडामा साँप बेरिएझैँ लाग्थे । कर्नेल्नीलाई त्यो घोडा एउटा रहरलाग्दो कुरा जस्तो लाग्यो । जब तिनले त्यसलाई छुन खोजिन्, त्यसले तिनलाई छुन दिएन, गर्दन यताउति फ्याँकी टोक्लाजस्तो गर्थ्यो । घोडाको त्यस्तो स्वभावदेखि कर्नेल्नी डराइनन्, झन् आकर्षित भइन् ।
“यस्तो बलियो घोडा रहेछ । यसको हेरविचार राम्ररी पुगेन क्यार ।” तिनले भनिन् ।
“पहिले किनेर ल्याएको ताक त म निकै यसको हेरविचार गर्थेँ, तर यता सइसमाथि यसको जिम्मा छाडिदिएको छु, त्यसैले यसको स्याहार गर्छ । कति सबतिर आँखा पुऱ्याउनु ।”
कर्नेल्नीले भनिन् “म यसको जिम्मा लिन्छु । सइसको के भर ? दाना टाइममा दिन्छ कि दिँदैन । सइसहरू दाना चोरेर बेच्छन् पनि । आफूले पालेको बस्तुको आफैँले स्याहार गर्नुपर्छ ।”
कर्नेल मुसुक्क हाँसे, केही उत्तर दिएनन् । भोलिपल्टदेखि कर्नेल्नी आफैँ बसी त्यसलाई दाना दिन थालिन् । पहिले पहिले त घोडा तिनलाई आफूनजीक आउनै दिँदैनथ्यो, तर पछि आफ्नो मायाले तिनले घोडाको स्वभावमाथि विजय पाइन् । दाना खाइरहेको बेलामा कर्नेल्नी घोडाको नजीकै उभिएर त्यसको पिठ्युँमा हात राखिन् । घोडाको शरीर तिनका हातको स्पर्श हुनासाथ सिरिङ्ग हुन्थ्यो । घोडा दानामा गाडेको मुखलाई माथि उठाएर एकछिन हिनाहिनाउथ्यो र फेरि मुख गाडी दाना खानमा व्यस्त हुन्थ्यो । एक दुईचोटि त्यो गोडा ठटाउँथ्यो, तल ठोकेको पटाइमा टापको प्रहार पर्दा त्यो अस्तबलको निस्तब्धता भङ्ग हुन्थ्यो । झीँगाहरूले घोडालाई पिरेछन् भने कर्नेल्नीलाई थाहा हुन्थ्यो । घोडाको राम्ररी स्याहार पुऱ्याएको हुँदा तिनलाई सन्तोष थियो ।
कर्नेललाई यो कुरा मन पर्दैनथ्यो-दुलहीले यसरी घोडाको स्याहार गरेको । दिनमा एक दुईचोटि हेर्नु एउटा कुरा हो, दिनदिनभरि अस्तबलमै बसिरहनु सरासर मुनासिब होइन । सइस छँदाछँदै आफैँ दाना खुवाउन किन जानु, आफैँ घोडा मल्न किन थाल्नु ।
एकदिन कर्नेलले कर्नेल्नीलाई भने “कर्नेल्नी, तिमी कति घोडाको फिक्री गर्छ्यौ ? घरमा भान्छा के भो, कसो भो त्यसको तिमीलाई वास्ता छैन, घोडाको चाहिने त्यत्रो सुश्रुषा ।”
“म बाहुनी होइन भान्छामा ढुकेर रहने । मलाई जे मन लाग्छ त्यही गर्छु । घोडाको हेरविचार गर्दा शान्ति पाउँछु, त्यति पनि तिमीलाई असह्य भयो ।” एक्कासि क्रुद्ध भएर कर्नेल्नीले भनिन् ।
“तिमीलाई केको दुःख छ र यो सबै कुरा मलाई सुनाउँछ्यौ ? तिम्रो मनमा केको अशान्ति छ र घोडाको सुश्रुषा गरेर तिमीलाई शान्ति ? तिम्रो मेराप्रति पनि त कर्तव्य छ नि, घोडालाई गरेको जति पनि कहिले एकछिनका लागि मेरो विचार गऱ्यौ ? साँचो भन्नु, मलाई त घोडादेखि ईर्ष्या छ, तिम्रो चालाले कर्नेल्नी” कर्नेलले रुँलारुँलाजस्तो गरेर भने ।
कर्नेल्नीले केही उत्तर दिइनन्, घृणाले ओठलाई वक्र पारी दुलहामाथि दृष्टिपात गरिन् । बूढो उमेरमा पनि गहभरि आँसु पारेको देख्ता तिनलाई त्यो दृश्य अत्यन्त नसुहाउँदो र घृणित लाग्यो । तिनलाई कर्नेललाई लत्याएर आफ्नो घृणाको परिचय दिने इच्छा भयो, तर आफूलाई काबूमा राखी तिनी त्यहाँबाट जुरुक्क उठेर हिँडिन् ।
एकदिन कर्नेल र कर्नेल्नी दुवै तबेलामा गए । कर्नेलले घोडामा चढ्ने इच्छा जाहेर गरे तर जबजब कर्नेल त्यसको नजीक जान्थे त्यो टोक्लाजस्तो गर्थ्यो । कर्नेल्नी जाँदा हिनाहिनाउन थाल्यो ।
कर्नेल्नी गएर त्यसलाई सुमसुम्याउन थालिन् । घोडाले हिनाहिनायो, गोडा भुइँमा हानेर आफ्नो कृतज्ञताको परिचय दियो ।
बडो कठिनाइसँग कर्नेल घोडामा चढ्न सके, तर घोडा, तिनको बसमा हुन मानेन । अगाडिका दुवै टाप उठाएर आफू अगाडि नबढ्ने ढिपी गर्न थाल्यो । कर्नेल घोडा चढ्न निपुण थिए, तिनी लोट्न त लोटेनन् तर तिनलाई एक्कासि रीस उठ्यो र हातमा लिएको कोर्राले निर्दयतापूर्वक घोडालाई पिट्न थाले । घोडाको पिठ्युँमा कोर्राको एक चोट पर्नासाथ कर्नेल्नी “निर्दयी” भनेर कराउन थालिन् । घोडा कोर्राको चोट पाउँदा पनि नचेतेर अगाडि बडेन । कर्नेल सटासट आँखा चिम्लेर त्यसमाथि कोर्रा बर्साइरहेका थिए । घोडाले पछिल्तिरका दुवै गोडा फ्याँक्यो । घोडालाई पिट्नमा व्यस्त हुँदा लगाम तिनको काबुमा थिएन र तिनी उँधो मुन्टो भुइँमा खसे । तबसम्म कर्नेल्नी घोडासम्म पुगिसकेकी थिइन् । धुलोमा लटपटिएको दुलहापट्टि ध्यानै नदिएर तिनी घोडाको आङ सुमसुम्याउन थालिन् । घोडाको नाकका पोरा क्रोधले फुलेका थिए, तिनबाट पानी मिसिएको श्वास बगिरहेको थियो । घोडाले विजय पायो, शत्रु पराजित भएर भुइँमा पछारिएको थियो । घोडाको शक्तिका विषयमा कर्नेल्नीलाई केही शङ्का थिएन । घोडा तिनको लागि एउटा घमण्डको कुरा थियो । मायाले तिनले आफ्नो गाला घोडाको अयालले छोपिएको गर्दनमा राखिन् । तिनलाई पनि घोडा चढ्ने इच्छा भयो र रिकाबमा गोडा राखी जुरुक्क घोडाको पिठ्युँमा पुगिन् । दुलहा भुइँमा पछारिएकै थिए । आफू घोडामाथि चढी उनी महान् सुखको अनुभव गर्न थालिन् । आज तिनले दुलहासित साटो फेर्ने मौका पाइन् । घोडाको प्रति तिनको माया झन् बढ्यो, यसो गर्दन टेढो पारेर उनले धुलो चाटिरहेका दुलहालाई महान् घृणाका नजरले हेरेर घोडालाई यसो एडी लाइन् । घोडा फूलको भारी लिएझैँ नाच्तै हिँड्यो ।
जब तिनी फर्केर आइन्, कर्नेल उभिरहेका थिए । तिनका कोटमा एक दुई ठाउँमा अझ धुलो लागेको थियो । कपाल खजमजिएको थियो । खसेको टोपी भुइँमा थियो । कर्नेलको नजीकै घोडा उभ्याएर कर्नेल्नी बुर्लक्क ओर्लिन् । तिनले आफ्नो कृतज्ञताको परिचय दिन घोडालाई धाप दिइन् ।
घोडा बडो तीखो स्वरले हिनाहिनायो । कर्नेल्नीलाई यस्तो महान् सुखको कहिले पनि अनुभव भएको थिएन । त्यै बखतमा ड्वाङ्ग ड्वाङ्ग पिस्तोलका दुई शब्द भए । घोडा एकछिन लरबरायोर भुइँमा पछारियो । कर्नेलको हातमा पिस्तोल थियो र त्यसको प्वालबाट अझै धुवाँ आइरहेको थियो । घोडाको पेटबाट रगतको भल बगिरहेको थियो । कर्नेल्नीले एकचोटि घोडातिर हेरिन् फेरि एकचोटि आफ्ना दुलहातिर । हेर्दाहेर्दै तिनको अनुहार चाउरी परेर विकृत भयो, दुवै हातले मुख छोपेर तिनी पनि भुइँमा पछारिइन् ।
पवित्रा
तिनको नाउँ थियो पवित्रा । आँखा तानिएका, घाटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँ पस्न दिनु हिन्दु धर्मको खिसी गर्नुजस्तो थियो, तर तिनी केशवदेवकी भान्छे बाहुनी थिइन् । र पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कुचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् । केशवदेवले तिनलाई भान्साको डिलमा एउटा कोठा दिएका थिए । एक दुईचोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने डुलोमा एउटा केशवदेवको थोत्रो काइँयो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।
तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन्, उनीले आफैँ बिर्सिसके तर अब तिनको सट्टा अर्को सुग्घर बाहुनी राखूँ भन्ने बिचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेवले तिनलाई निकाल्न सक्तैनथे ।
केशवदेव जागिरे थिए, दिनभरि अड्डामा हुन्थे । बाहुनी तिनको सारा काम गर्थिन् । बिहान झिसमिसेमा उठी सडकको धारोमा नुहाई केशवदेवलाई नुहाउन पानी भरेर कौसीमा राख्थिन्, फेरि पूजाकोठाको सामग्री ठीक पार्थिन्, अनि कोठामा कुचो लाएर भात पकाउने तर्खरमा लाग्थिन् । खाटबाट उभिँदा कोठा मच्चक बज्रन्थ्यो कि केशवदेव उठेको उनलाई थाहा भैहाल्थ्यो । केशवदेव बडो नियमित रूपसँग सधैं एउटै समयमा उठ्थे र पवित्रालाई तिनको उठ्ने समय थाहा थियो । पवित्रा हतपताएर दिसा जाने लोटामा पानी राखिदिन्थिन् र कौसीमा आएर साबुन, माटो, धोती, रुमाल राखिदिन्थिन् । हात धुवाउँदा सोध्थिन्- “राती निद्रा राम्ररी पऱ्यो बाबु ? राती किन त्यतिबेर पढिरहेको, दिनभरि काम गऱ्यो र राती पनि धेरै जाग्राम बस्यो भने त आँत टुट्छ” चिन्तित भएर तिनी भन्दै जान्थिन् । केशवदेव उत्तर दिन्थे “राती गर्मी थियो, निद्रा चाँडै परेन ।”
“गर्मी त के भन्नु, नेपालमा हिजोको जस्तो गर्मी भएको कहिले थाहा थिएन” पवित्राले भनिन् र करुवाको टुटीबाट पानी खसाल्दै बिचार गर्न थालिन्- राती उनको कोठाका झ्यालहरू खुला राख्न बिर्सिइन्, गर्मी पनि कति परेको, बिस्तार बिस्तार नेपाल त मधेसजस्तो हुन थाल्यो । भन्छन् कलिमा सारा दुनियाँमा गर्मी बढ्छ रे ।
भात खाने बेलामा केशवदेवले भने “दालमा नुन पुगेको छैन ।”
पवित्राले घाँटीबाट ऊँटले कराए जस्तो ध्वनि निकालिन् र जिब्रो काटिन् । तिनको आँखा सिलौटामा पिँधेको नुनमा पऱ्यो । कामको अलमलले नुन हाल्न बिर्सिइन् । हतपताएर सिलौटामा नुन ल्याएर केशवदेवको थालको कुनामा हालिदिइन् । “आज बाबुले खानै सक्नु भएन । म पनि कस्तो हुस्सु, सबै काम यस्तै गरेर बिगार्छु ।”
जब केशवदेव अड्डा जान भनेर लुगा लाउन थालेका थिए, पवित्राले एक कचौरा ढकनी बनाएर ल्याइन् । “बाबुले जिउनार भएन, भोकै कसरी अड्डा जाने भनेर यति पकाएर ल्याएकी” कचौरालाई लुगा लाइरहेका केशवदेवको गोडानेर राखेर आफू ढोकाको कुनामा उभिएर पवित्राले भनिन् ।
बाबु अड्डा जानेबित्तिकै तिनी तलको ढोका लाएर कौसीमा भाँडा माझ्न थाल्छिन् । रछानका भातका सिता टिप्न भनेर कौवाहरू भुम्मिन्थे । कौवा जब तिनको हातबाट सिता टिपुँलाजस्तो गर्थे, तब मात्र तिनी कौवाहरू धपाउन तत्पर हुन्थिन् । जति चोटि धपायो उति चोटि त कौवाहरू टाढाटाढा जान्थे, तर फेरि पछि नजीकै आई सिता टिप्न थाल्थे । अनि पवित्राको क्रोधको सीमा रहँदैनथ्यो । धपाउन छोडेर गाली गर्न थाल्छिन् “मोरा कीरा परेका ……।” छिमेकको घरको कौसीमा एउटी नेवारकी स्वास्नी पनि भाँडा माझिरहेकी हुन्थी । त्यो भन्न थाल्थी “हेर, कस्तो नकचरो कौवा रहेछ । एक्लै भएकी पवित्रा बज्यैलाई दुःख दिँदोरहेछ । बाजे पनि हुनुहुन्न ।” पवित्रा त्यो सहानुभूतिपूर्ण शब्द सुनेर झन् भन्न थाल्छिन् “बाबु त अड्डा जानुभएको छ । दिनभरि अड्डामा काम गर्दागर्दा थाकेर पाल्नुहुन्छ । राती गर्मीले निद्रा पर्दैन । अड्डाको सारा काम उहाँले नै गर्नुपर्छ, अरू सब कारिन्दा बगमफुसे छन् । उहाँ नभए त कामै थामिन्छ । नेपाल राज्यभरिको सबभन्दा गाह्रो काम गर्नुपर्छ । भन्सार अड्डाले नेपालबाट जाने, नेपालभित्र पस्ने मालको हिसाब राख्नुपर्छ, कहीँ बिराउनु भयो भने आफ्नो टाउकोमा…….। आहारा फेरि कति थोरै छ नि ? अलिकति केही चुक्यो भने भातै रुच्दैन । हाम्रो बाबुले धेरै पढ्नुभएको छ, सब पास सिध्याउनुभएको छ, अङ्ग्रेजी पढ्न साह्रै गाह्रो हुन्छ, भित्र शरीर तोडिदिन्छ ।”
बेलुकाको भात पकाउन चाहिने पानी लिन धारामा जाँदा छिमेकका अरू नोकर्नी चाकर्नीहरू पानी भरिरहेका थिए । पवित्राले पखनुपऱ्यो । नजीकैको ठूलो ढुङ्गोमाथि बसेर भन्न थालिन् “अचेल नेपालमा मधेशकै जस्तो गर्मी पर्न थालिरहेछ । रातभरि उकुसमुकुस हुन्छ…..।”
पानीको गाग्री कम्मरमा राखेर सिँढी उक्लने आँटेकी थिइन्, दुई तीनवटा मानिसले “केशवजी हुनुहुन्छ ?” भनेर सोधे । यिनीहरू एउटै अड्डामा काम गर्ने मानिसजस्ता थिए । पवित्राले झोकले हेरेर उत्तर दिइन्- “हुनुहुन्न हुनुहुन्न ।” भुतभुताउँदै माथि उक्लिन्- “यी कहाँका नाठाहरू आएर बाबुको समय नष्ट गर्छन् ।” केशवदेव माथि नै थिए, अड्डाबाट आएर तमाखु खाइरहेका थिए । पवित्रालाई कोही आएको मन पर्दैनथ्यो । गाग्रोलाई भान्छामा राखेर केशवदेव भएनेर गएर भनिन् “अहिले दुई-तीन मानिस आएका थिए । मैले हुनुहुन्न भनेर पठाइदिएँ । एक छिन पनि बाबुलाई फुर्सत दिँदैनन् ।” केशवदेव एक छिन नबोली बसे, फेरि बिस्तारै भने “आएका मानिसहरूलाई त्यसरी फर्काउनु हुन्न । यो बानी बडो नजाती हो ।”
पवित्रा आफूलाई धिक्कार्दै फर्किन् । घरमा आएका अतिथिालाई फर्काउनु हुँदैन । यो त साह्रै नराम्रो बानी हो, अलच्छिन लाग्छ । भोलिदेखि कसैले तल ढोका ढ्याकढ्याक गऱ्यो भने निर्धा गोडाले सकेसम्म दगुरेर स्वाँ स्वाँ गर्दै तल ओर्लेर भन्थिन् “बाबु त अहिले घरमा हुनुहुन्न । माथि पाल्नुहोस् न, एक छिन बस्नुहोस् । अब बाबुको अड्डाबाट आउने बेला भो ।”
जब तिनले सुनिन् बाबुले एउटी केटीको तसवीर हेरेर उनीसँग बिहा गर्ने निश्चय गरे, उनलाई भयानक दुःख भयो । दिनभरि कसैसँग नबोली आफ्नो काम गरिरहिन् । राती सारा शरीरमा दर्द भयो, ज्वरांश पनि थियो । तर भोलि बिहान सधैँको जस्तो झिसमिसेमा उठेर धारामा पानी भर्न पुगिन् । भन्न थालिन् “अब हाम्रो बाबुको चाँडै बिहा हुन्छ । धेरै तसवीरमा छानिएकी केटी छन् । ठीक गुलाफजस्तो अनुहार छ ।”
भाँडा मस्काइरहेको बेलामा छिमेकको कौसीमा भाँडा माझ्न लागेकी नेवार्नीलाई सम्बोधन गरेर पवित्राले भनिन् “सुन्यौ, हाम्रो बाबुको बिहा हुन्छ । केटी आँखामा राखुँजस्ती छन् ।”
नेवार्नीले जिस्क्याएर भनिन् “ए, अब तिम्रो सौता आउने भइन् ?” पवित्राको कण्ठबाट अत्याहटको एउटा ध्वनि मात्र निस्क्यो । फेरि हया हया गरेर हाँसेर भनिन् “धत् !” र धेरै बेरसम्म अनौठा ढङ्गसँग हाँसी मात्र रहिन् हया…..हया……।
मालिक जब घरमा आए, पवित्राले बिस्तारै भनिन् “यतिका वर्ष भो, मैले तलब पाएकी छैन ।”
केशवदेवले भने “सारा तलब मैले ब्याङ्कमा राखिदिएको छु तिमीलाई चाहियो र अहिले ? किन ?”
पवित्राले अर्कैतिर मुख फर्काएर उत्तर दिइन् “हामी खर्च गछौं ।” हामीको, ‘हा’ सोझै कण्ठबाट आएको थियो । मुख अर्कैतिर फर्काएको हुनाले केशवदेवले केवल गलगाड मात्र देख्न पाउथे ।
भोलिपल्ट पोल्टोमा आफ्नो जीवनको सारा कमाइ लिएर पहिले बडाकहाँ गइन् “दाइ, मलाई सुनका चारवटा चुरा बनाइदेऊ । अचेलका मानिसले लाउनेजस्तो हुनुपर्छ । खुब राम्रो बनाउनु है ।”
यति भनेर पोल्टोबाट रुपियाँ खन्याइन् । बाँकी रहेको रुपियाँ लिएर लुगाको पसलमा पुगिन् “मलाई एउटा राम्रो फरिया देऊ सिलिक्कको र एउटा राम्रो चोलो ढाकाको । तिम्रो पसलको सबभन्दा राम्रो लुगा दिनु ।” पोल्टोमा बाँकी रहेका सारा रुपियाँ पसलेको अगाडि खन्याइदिइन् ।
बिहाको दिन तिनको फुर्ती हेर्नलायकको थियो । यताउति गरिरहन्थिन्, एक छिन स्थिर बस्न सक्तिनथिइन् । कोठालाई लिप्निन्, पोत्निन्, राती छिमेकका नोकर्नीहरूलाई बोलाइन्, भोज खुवाइन् र रत्यौली खेल्न थालिन् । एउटी मयलपोष सुरुवाल लाएर दुलाहा बनी, जुँघा नभएको ओठ मुसार्दै भन्न थाली “म दुलहा छु, मसँग को बिहा गर्छ ?”
त्यहाँ बसेका नोकर्नीहरूलाई यो बडो हाँस्यौली थियो । सबै हाँसे । पवित्राको हया हया पछि सम्म सुनिन्थ्यो । पवित्रा जुरुक्क उठेर आफ्नो कोठाभित्र पसिन् र ढाकाको चोलो र रेशमी फरिया लाएर आइन् र भनिन् “म तिमीसँग बिहा गर्छु ।” फेरि सबै कोलाहल मच्चाउँदै हाँस्न थाले । दुलहा हुने मायाँको भाव देखाउँदै दुलही भएकी पवित्रालाई आलिङ्गन गर्न अगाडि बढी । पवित्रा लाज मान्ने भाव देखाउँदा देखाउँदै दुलहा बनेकीको गोडामा परेर रुन पो थालिन् । सबै जना छक्क परे । पवित्रा हुँक्क हुँक्क गरेर खुब रोइन् । एक छिनपछि बिस्तार बिस्तार उठेर आफ्नो कोठाभित्र पसिन् र भित्रबाट ढोका लाइन् ।
भोलिपल्ट दुलही ल्याउने दिन पवित्रा सधैँकी जस्ती प्रसन्न थिइन् । आफ्नो सबभन्दा राम्रो लुगा लाएर, कपाल कोरेर, ढोकामा दुइटा गाग्रोमा पानी राखेर दुलाहा र दुलहीलाई स्वागत गर्न ढोकामा आइन् र उभिइन् । केशव पहिले तामदानबाट ओर्ले, पछि उनकी पत्नी ओर्लिन् । दुलहा अघिअघि, दुलही पछि पछि घरभित्र पसे । पवित्रा ढोकाको एउटा कुनामा उभिएर हयाँ हयाँ हाँसिरहिन् ।
कोठामा केशवदेव उभिरहेका थिए, उनैनेर लाजले एउटा पोको जस्तो भएर बिहाको लुगा लाएकै तिनकी पत्नी थिइन् । पवित्राले बिस्तारै कोठाभित्र पसेर केशवदेवलाई सम्बोधन गरेर भनिन् “यो उहाँलाई मैले टक्र्याएको ।”
यति भनेर पवित्रा खोच्याउँदै कोठाबाट निस्किन् । दुलहीले निहुरेर पवित्राले छोडेर गएको चुरालाई हेरिरहिन् । केशवदेव चुरालाई उठाएर औंलामा नचाउन थाले र घोरिए ।
बिहाको रमझम सिद्विएपछि पत्नीले गृहस्थीमा आफ्नो स्थान लिइन् । भान्छामा तिनी आफैँ बस्न थालिन्, पवित्राले बाहुनीको काम गर्नु परेन, कोठामा कुचो लाउनु, पानी भर्नु र भाँडा माझ्ने काम मात्र बाँकी रह्यो । तर उनी भान्छामा आएर दुलहीले पकाएको हेर्थिन् र भन्थिन् “बाबुलाई त्यसरी पकाएको मन पर्दैन, मसला, तेल धेरै हाल्नु हुँदैन । रामतोरियामा पानी हालेको उहाँलाई घीन लाग्छ । त्यसलाई भुत्त्नु पो त पर्छ । तिहुनमा नुन धेरै नहाल्नुहोस्, बरू बिलिनै असल मान्नुहुन्छ….. दूध एक भल्को मात्र उम्लेको, चिनी थोरै परेको ।”
नयाँ दुलहीले काम बिगार्दा फरियाको फुर्को मुखमा बुजो हालेर उता फर्केर हाँस्थिन् ।
दिउँसो भाँडा माझ्दा छिमेककी नेवार्नीलाई भन्थिन् “बूढी हुन थालिछु । चाँडै थाक्छु, पानी ओसार्दा स्वाँ स्वाँ हुन्छ । राती जीउ कट्कटी खान्छ । अब कक्रक्क परेर गुडुँलिएर बस्नुपर्ने भएछ ।”
होड
दुलहा-दुलही राती आफ्नो कोठामा थिए । भर्खरै बिहा भएका तिनीहरू प्रेममा उकुस-मुकुस थिए । दुलहा त जहिले पनि दुलहीलाई सलक्क निल्लिहालूँजस्तै गर्थे । दुलहीचाहिँ दुलहाको त्यस्तो पुरुषार्थमा दाँजा लाग्न नसके पनि दुलहालाई जहिले पनि आँखैमा राखूँजस्तो गर्थिन् । भन्ने ता तात्पर्य के हो भने दुवैमा अगाध प्रेम थियो ।
पद्मालाई जिस्क्याएर कुतकुत्याएको हुँदा सास्ती पाउने डरले पदम बिछ्यौनाबाट कुदेर कोठाको कुनामा लुक्न पुग्न पनि पाएका थिएनन्, दुलहीले प्रहार गरेको तकियाको गोला तिनको टाउकोमा आएर खस्यो । त्यस्तो प्रहार माया गर्ने दुलहीले मात्र गर्न सक्छिन्, त्यस्तो हलुको रुवाजस्तो । त्यसरी जिस्किँदा जिस्किँदै तिनीहरू बडा गम्भीर विषयमा वादविवाद पनि गर्न थाल्थे । मुख फुलाएर पिठिउँ पिठिउँ टाँसेर सुत्न बेर लाउँदैनथे । कुन प्रसङ्गबाट यो कुरा उठ्यो कुन्नि, तर बहस हुन लाग्यो बडो बेगले । पदमले हाँसेर बेगलाई अचानक थामेर भने “सब स्वास्नीमानिस त्यस्तै हुन्, शक्तिहीन, हृदयको अस्थायी उमङ्गमा बगीबगी हिँड्ने । के तिमीलाई त्यसको प्रत्यक्ष प्रमाण दिऊँ ?”
पद्मा भन्दै गइन् “एक-दुई जनालाई देखेर सारा जातिमाथि आक्षेप गर्न पाइँदैन । चरित्रको विषयमा तिनीहरू बडा बलिया हुन्छन्, एक-दुई पथभ्रष्टको कुरा बेग्लै हो ।”
पदमले बडो शान्त भएर भने “तिमीलाई मैले आक्षेप गरेको हो र ? फेरि, स्वास्नीमानिस त्यस्ता भए भनेर तिनीहरूको अवहेलना मैले गरेकै होइन । म त तिनीहरूको यो स्त्रियोचित गुण भनीठान्छु । तिनीहरूको समाजमा स्थान नै किन छ ? तिनीहरूको जिम्मेवारी के छ ? लोग्नेमानिसको सुखको प्राप्तिमा सहायक हुनु । तिनीहरूको कर्तव्य हो निर्धो हुनु, चरित्रहीन हुनु, अरू शब्द नपाएर चरित्रहीन भनेको, नत्र चरित्रहीन भन्ने त हुँदैन ।”
पद्माको क्रोधको सीमा रहेन । उनले चिच्याएर भनिन् “प्रमाण दिनुपर्छ, त्यसै मनमा जे आयो भन्न पाइँदैन । प्रमाण देऊ ।” दुलहाले भने “त्यै त म अघिदेखि भनिरहेको छु नि । प्रमाण दिन त म तैयार छु ।”
वादविवाद यहाँ आएर टुङ्गियो । दुलहाले प्रमाण दिने, अनि मात्र दुलहीले मान्ने, नत्र प्रमाण नदिएको खण्डमा दुलहाले दुलहीसँग स्वास्नीमानिसहरूका विषयमा प्रकट गरेको विचारका निमित्त गोडामा परेर माफी माग्ने । लौ, दुवैले यो मिलापत्र रुचाए ।
दुलहीले भनिन् “लौ, जनकमञ्जरीलाई ।”
दुलहाले- “हुन्छ ।”
दुलहाको शान्त र विश्वासपूर्ण उत्तर सुनेर दुलही अलिक आत्तिइन् । जनकमञ्जरी कुन्नि कस्ती छन् ? छिट्टै लहसिन् भने ? उनले भनिन् “जनकमञ्जरी होइन चनमतीलाई ।” दुलहाले उस्तै निश्चल भावले भने “हुन्छ ।”
पद्मालाई चनमतीमाथि पनि विश्वास भएन । उनले भनिन् फेरि “नाई, चनमती अलिक नक्कले छ । उसमा मेरो भरोसा छैन, हरिमायालाई सके पो ।”
त्यसमा पनि दुलहीलाई विश्वास भएन र उनले भनिन् “नाई, यत्रो ठूलो बाजीमा म लरतरो खेल खेल्दिनँ । हरिमाया कस्ती छ कस्ती ?”
पदमले भने “तिमी त बिस्तारै-बिस्तारै मेरै विचारमा आउन थाल्यौ । तिम्रा त्यतिका साथीहरूमध्ये एउटीमाथि पनि तिम्रो भरोसा छैन भने मैले स्वास्नीमानिस चरित्रका विषयमा बडा निर्धा हुन्छन् भनेर के बिराएँ ?”
पद्मा आफ्ना चिनाजानी स्वास्नीमानिसलाई सम्झन थालिन् । उनले झट्ट एउटी बिधवीलाई सम्झिन्, हरिकृष्णकी बिधवी पत्नीलाई । तिनले आफूले खोजेकी स्त्री पाउनसाथ टप्प हत्केलाले दुलहाको मुख थुनेर भनिन् “चुप लाग, लौ त हरिकृष्णकी बिधवीलाई भ्रष्ट पार त बुझूँ ।”
त्यसमा पनि दुलहाले नाइँनास्ती केही गरेनन् । बिधवीलाई चरित्रहीन प्रमाण गर्न सके दुलहाले जित्ने, दुलहीलाई दुलहाको बिचार मान्न कर लाग्ने, नत्र दुलहीले जिते र दुलहाले आफ्नो बिचार मात्र छोड्ने होइन, दुलहीको पाउ परेर माफीसम्म माग्ने ।
दुलहीले एउटा शर्त थपिन् “तर १५ दिनमै प्रमाण दिनु पर्छ, बुझ्यौ ?”
अधीर भएर दुलहाले भने “लौ, पन्ध्र दिनमा नै । तर तिमी नरिसाए नि, र मलाई धोका दिने नभने । म अलिक स्वच्छन्द आचरण गर्छु यही १५ दिनका लागि । ममा शङ्का गर्न पाउँदिनौ नि ।”
पद्माले भनिन् “हुन्छ ।”
भोलि बिहान उठ्ता तिनीहरूको माझमा सानो पर्दा परेजस्तो थियो । दुलही नबोली उठीकन शरीरबाट यताउति सरेको लुगा मिलाउन थालिन् । दुलहीले उनको तकियाको रेलाको आँधी उभिएर आड तान्न थाले । दुलहीले उनीतिर हेरेर भनिन् “कति न राम्रो छु भनेर उठ्नासाथ ऐना हेरेको होइन ?”
पदमले नक्कले भएर सोधे “के म राम्रो छैन र ? तिमीलाई म मन पर्दिनँ र ?”
दुलहीले खुर्र तिनीनेर गएर टाँसिएर भनिन् “मलाई त तिमी सबभन्दा राम्रो लाग्छौ ।”
फेरि दुवैजना मिलेर खूब हाँसे ।
बेलुका फेरि सुत्ने बेलामा दुलहीले भनिन्, “एक दिन बित्यो नि । अब १४ दिन मात्रै बाँकी छ ।”
दुलहाले भने “थाहा छ ।”
भोलि बिहान उठ्ता फेरि तिनीहरूको व्यवहार अप्ठ्यारोजस्तो भयो । दुलही उठेर सोझै नुहाउन गइन् । दुलहा एकछिन आलेटाले गरेर मुख-हात धोएर लुगा फेरेर बाहिर निस्के । फर्केर आएपछि दुलहीले छेडेर सोधिन् “आज कहाँ नि, एकाबिहानै ?” दुलहाले भने “हरिकृष्णका घरमा गएको थिएँ ।”
दुलहीले अचानक रुँलाजस्तो गरिन्, तर बडो बलपूर्वक आफ्नो आकृतिलाई बिग्रन नदिएर भनिन् “ओहो त्यसैले त त्यसरी गुइँय्याइँ पारेर गएका रहेछौ- फेरि एकाबिहानै ।”
“के गरुँ १४ दिनमा पनि १ दिन खोँडियो । बाजी लाइहालेँ ।” दुलहीले केही भनिनन् र भान्सातिर लागिन् ।
राती कोठामा तिनीहरूको केही कुरा भएन । चुप्प लागेर दुवै सुते ।
तिनैताक पद्मा एक दिन हरिकृष्णकी बिधवा पत्नीकहाँ गइन् । तिनलाई देख्नेबित्तिकै बिधवीले स्वागत गरेर भनिन् “ओहो, आज कहाँबाट बाटो बिराएको ? पटक्क माया मान्या हो कि ? दैव र सँगिनीहरू एकैचोटि विमुख भए ।”
तिनको उज्यालो मुख देखेर पद्मालाई ईर्ष्याले छोयो । झट्ट मनले तर्कना पनि गऱ्यो “यस्ती उज्याली त यो कहिले पनि थिइन, झन् बिधवी भएपछि त श्री नै हराएको थियो । यो आज बल्दो तेज कहाँबाट ?” यो बिधवाका पहिरनभित्रबाट उसै सुन्दरता र तेज बर्सेलाजस्तो थियो । उनी टोल्हाएर उभिरहिन् । बिधवाले तिनको हात समातेर भित्र लगेर भनिन् “किन यस्तो अनौठोसँग मलाई हेरिरहिछौ ? ममा अब के बाँकी छ र ? बाँकी भए पनि आफ्ना त मरिहाले ।”
पद्माको मनले फेरि तर्कना गऱ्यो “यस्ती चञ्चले त यो कहिले पनि थिइन, बढी सोझी होलीजस्ती थिई ।”
उनी घर फर्केर आइन् । खाने बेलामा दुलहालाई घोच्ने उद्योगले भनिन् “त्यो बिधवा त खूब राम्री छ हो कि ? बत्ती बाले जस्ती छ होइन ?”
पदमले खाँदै भने “अँ, निकै राम्री छ ।”
पद्मा भुतुक्क भइन् । त्यसपछि तिनीहरूको वार्तालाप भएन । राती सुत्ने कोठामा पद्मा एक्कासि रिसाइन् “होइन, तकिया तिमी मात्रै सोहोरेर राख्ने कि मलाई पनि अलिकति टाउको अड्याउन दिने ? कि अर्को बिछ्यौना ला भनेको हो ?”
दुलहाले छक्क परेर भने “किन रिसाएकी ? यतिको ठाउँ छँदैछ नि । छेउमा किन सुतेकी ? अलिक यता सरे तकिया पुगिहाल्छ ।” पदमाले भनिन् “मलाई टाँसिएर सुत्न मन लाग्दैन ।”
“त्यसो भए तिमी नै तकिया हाल । मलाई चाहिँदैन” दुलहाले भने ।
दुलहीले पनि उता मुण्टो फर्काएर देब्रे हातको सिरान हालेर भनिन् “चाहिँदैन मलाई तकिया ।”
तकिया न दुलहाले हाले न दुलहीले । यिनीहरू दुवैको माझमा त्यसै चिसो भएर त्यो तेर्सिरह्यो ।
दिनहुँ पदम बिधवीकहाँ जान्थे, पद्मा पनि एक दुई दिन बिराएर त्यहाँ पुग्थिन् । एकदिन बिधवीले भनिन् “पद्मा, तिमी आउँछ्यौ, मलाई कति खुशी लाग्छ । म कति एक्ली छु । कति शून्य मलाई लाग्दो हो तिमी कल्पना नै गर्न सक्तिनौ । तिमी आइदिँदा म एक छिनका निमित्त सुखी हुन्छु ।”
पद्माले भनिन् “दिदी फुर्सत भएपछि म त तुरुन्त आइहाल्छु नि । उहाँ नै मलाई एकछिन पनि छाड्नु हुन्न ।”
पद्माले त्यति भनेर आँखा निच्युरिन् ।
“मायाले हो कि ?” बिधवीले सोधिन् ।
पद्माले सिर हल्लाएर “हो” भनिन् ।
पद्माले कुममा हात राखेर बिधवीले भनिन् “लोग्नेमानिसको के ठेगान ? दुलहीलाई पनि माया गर्दै जान्छन्, अर्कालाई पनि ताक्छन् । तिनीहरू त बडा नजाती पो हुन्छन् । तर तिम्रा दुलहा त सुशील, सज्जन छन् । त्यस्ता होइनन् होलान् ।”
पद्माको चिउँडोलाई उठाएर उनले फेरि भनिन् “तिमी कति भाग्यमानी ।”
पद्माले झट्ट मौका पाएर भनिन् “दिदी, तपाईंले उहाँलाई चिन्नु भएको छैन । टाढाबाट देख्ता मात्र सुकिलो हुनुहुन्छ । यसो छाला कोट्याएर हेऱ्यो भने सबै पुरुष एकनास हुन्छन्, पशु-व्यभिचारी ।”
बिधवीले पद्माको मुख थुन्दै भनिन् “छीः छीः पद्मा, के भनेकी ? आफ्नो पतिलाई त्यस्तो कुरा भन्नु हुन्छ ? तिम्रा पति त असल छन्, रत्न छन् ।”
पद्मालाई झन् रीस उठ्यो । मनमनमा भनिन् “किन असल नहुनु । दुलही हुन आँटेकी छौ, पतिता भ्रष्ट ।”
त्यसपछि तिनले बिधवीकहाँ जान छाडिन् । घरमा त्यसै फुलेर बसिरहन्थिन् । दुलहा र दुलहीमा कुराकानी हुन छाड्यो । पद्मा अकारण रिसाउन थालिन् । नोकरहरूको त सातो लिन्थिन् ।
१४ दिन भएपछि तिनको दशा दयनीय भयो । सारा देह आगो लागेको जस्तो भएर उनी छटपटाउन थालिन् । कोठाकोठा चाहार्न थालिन्, कहिले भान्छा, कहिले भण्डार, कहिले सुत्ने कोठा, कहिले बैठक । तर तिनले कहीं शान्ति पाइनन् । तिनी दगुर्दै फेरि बिधवीकहाँ गइन् । बिधवीले तिनी आएको उति रुचाएको जस्तो गरिनन् । कुरा पनि धेरै भएन ।
पद्मा हतोत्साह भएर घर फर्किन् । तिनले एक्कासि भयानक शून्य अनुभव गरिन् । सारा देहमा चिसो पस्यो । तिनी उभिन नसकेर ओछ्यानमा पछारिइन् र भक्कानो छोडेर रुन लागिन् । रुँदारुँदा तिनलाई अलिक शान्ति भयो । तिनी शिथिल भएर निदाइन् ।
पद्म आए । तिनले पद्मालाई हल्लाएर उठाए “के कुटाइममा सुतेकी पद्मा ?”
पद्मा आँखा मिच्दै उठिन् । निर्धो भएको जस्तो त पद्मालाई लाग्यो तर चित्त शान्त थियो । उनमा जोश पनि थिएन, उमङ्ग पनि थिएन । एकदम शिथिल भएकी थिइन् ।
राती दुलहाले कोट्याएर पद्मालाई भने “पद्मा, आज चौधौं दिन हो ।”
पद्माले बिस्तारै भनिन् “थाहा छ ।” र उता फर्केर सुतेको जस्तो गरिन् । तर तिनका दुलहाले तिनको आङ हल्लेको थाहा पाएर उनलाई आफूपट्टि फर्काउने प्रयत्न गरेर भने “किन पद्मा, रोएकी ? के भयो हँ ?”
त्यति भन्नु के थियो पद्मा झन् तकियामा मुण्टो गाडेर घुक्कघुक्क रुन थालिन् ।
पद्म महान् आश्चर्यमा परे । उनले सोधे “भन न प्राण के भयो । तिमी अचेल मसँग त्यस्तै रिसाउँछ्यौ, तिम्रो व्यवहार पनि अनौठो भएको छ । म त अन्योलमा परेको छु ।”
पद्माले रुँदैरुँदै भनिन् “तिमीलाई मेरो माया भए पो । म त तिम्रो को हुँ र ।”
पदमले उनको पिठ्युँ सुमसुम्याउँदै भने, “पद्मा, तिमी किन यस्तो अमङ्गल वाक्य मुखमा ल्याउँछ्यौ ? तिमी त मेरो जीवनको प्रकाश, मेरो आशा, मेरो भरोसा हौ ।”
पद्माले सुँक्क गरेर नाकै बोलीमा भनिन् “त्यसो भए किन त्यो बिधवासँग यसरी लठ्ठिएको छ ? किन त्यसलाई त्यस्तो माया गर्न थालेको त ?”
पदमले हाँसेर भने “कस्ती लुच्ची, आफैँ भन्ने, आफैँ १५ दिनको म्याद दिने र आफैँ म-देखि रिसाउने । मैले पहिले नै भनेको थिएँ नि ममाथि शङ्का नगरे ।”
“पर्दैन त्यो बिधवासित सम्बन्ध बढाउन ।”
“तर मेरो बाजी नि ? जित्न आँटिसकेको छु ।”
“लौ, मैले हारें । बाजी तिमीले नै जित्यौ, मैले हारें, मलाई प्रमाण चाहिँदैन ।”
पदमले भने “त्यसो भए तिमी पनि स्त्रीजातिका सम्बन्धमा मैले जस्तो विचार प्रकट गरेँ, त्यसलाई समर्थन गर्छ्यौ ?”
“गर्छु बाबा, गर्छु ।” पद्माले अधीर भएर भनिन् ।
कथा
धेरै पुरानो कथा हो । त्यस युगको कथा हो, जब यो पृथ्वीका मानिस’ देवतासँग प्रतिद्वन्द्विता गर्थे । देवताहरू पनि दानबसँग युद्धमा पराजित हुने भयले पृथ्वीमा अवतरण गर्थे र कहिले दधीचिको हाड मागी, कहिले सहायताको प्रार्थना गरी विजयोन्मुख दानवलाई परास्त गर्न समर्थवान् हुन्थे । आजकालका बाहुनहरूजस्ता ती देवताहरू पनि उच्च पदमा आफूलाई आरुढ पारिराख्न आफूभन्दा साना जातिका मनुष्यको कुनै प्रकारको पनि सहायता लिन सङ्कोच मान्दैनथे, तर जब तिनै मनुष्य तपस्याद्वारा देवपदमा पुग्न सुप्रयत्न गर्थे, देवताहरूको निम्ति यो असह्य हुन्थ्यो । त्यसो हुनाले देवताहरू सांसारिक मोहमायालाई त्याग गरी घोर जङ्गलमा तपस्या गर्न गएका ऋषिहरूको तपस्या भङ्ग गर्न नाना उपाय गर्थे । तिनको सबभन्दा मुख्य उपाय थियो अप्सरालाई पठाई ऋषिहरूको तपस्यामा बाधा उपस्थित गराउनु । तिनैताक एउटा मनुष्य यथार्थ ज्ञान प्राप्त गर्न, मन, ज्ञानले देवत्व प्राप्त गर्न, मोक्ष पाउन, जङ्गल पस्यो । उनको विश्वास थियो समाजको प्राणी भएर ज्ञान प्राप्त गर्न सकिँदैन । आमाबाबुको स्नेहको बन्धन र प्रेमिकाको प्रेम-बन्धन, मित्रको मोह, समाजको कर्तव्य इत्यादि आत्मोन्नतिका बाधक हुन् । निर्जन स्थानमा मनुष्यसमाजका सारा बन्धनलाई छिनालेर तिनी तपस्या गर्न लागे । जङ्गलका कन्दमूल र कुटीनेरको सानो नदीको स्वच्छ जलले क्षुधा र पिपासा शान्त गरेर सारा समय तिनी समाधिमा लीन हुन्थे । समाधिमा बसेका बखतमा हिंस्रक पशु आफ्नो नृशंसतालाई बिर्सेर यिनलाई घेरेर बस्थे । मृगशावकहरू ऋषिसँग आफ्नो घनिष्टता प्रकट गर्न सिंह, बाघ, भालुका समुदायलाई ठेल्दै ऋषिसँग टाँसिन पुग्थे । तपोभूमिको शान्ति भङ्ग होला भन्ने आशङ्काले बाघहरू आफ्नो टाउको तलसम्म निहुराएर बिस्तारै हिँड्थे, मृग र खरायोहरू मात्र निर्भयले बुर्लुक बुर्लुक उफ्रन्थे । नदीको कलकल ध्वनि त्यहाँको शान्तिमा गम्भीरता थपिदिन्थ्यो । चराचुरुङ्गीको कलरवमा सङ्गीतको मधुरता हुन्थ्यो ।
नदीको दाहिने किनारमा विशाल वृक्षहरूले घेरिएको एउटा सानो स्वच्छ स्थान थियो, त्यहीँ ती ऋषिको कुटी थियो । ईश्वरसँग साक्षात गर्नु यदि कुनै स्थान उपयुक्त थियो भने त्यही स्थान थियो ।
तिनको तपस्याको प्रथम कार्य थियो शरीरको आफूमाथिको शासनलाई निर्मूल पार्नु, त्यसपछि मनमाथि विजय पाउनु र अन्त्यमा आत्मालाई ईश्वरमा लीन पार्नु । शरीरमाथि विजय पाउन उनले आफूलाई नाना प्रकारका कष्ट दिए, वैशाखमा सप्ताग्नि बालेर बसे, माघमा नदीमा घाँटीसम्म पानीमा डुबेर बसे । भोजन घटाएर अनेक दिन निराहार बस्न सक्ने भए । भोक, तिर्खा, शीतोष्णको बन्धनबाट मुक्त भएर उनी समाधिमा बस्न थाले । बिस्तार बिस्तार गर्दागर्दै तिनी महीनाैं समाधिमा लीन हुन सक्ने भए ।
एकचोटि तिनी समाधिमा आसीन भए । त्यो अवस्थामा बस्ताबस्तै महीनौं बित्यो । ऋतु परिवर्तन भयो । जङ्गलमा पात झरेर वृक्षहरू नाङ्गा भए । फेरि पालुवा पलाउन थाल्यो, जङ्गल हरियो भयो, फूल फुलेर सुकेर तपोभूमिलाई ढाके । जङ्गलमा फल लटरम्म फलेर हाँगाहरूले माटो छुन थाले । फल पाके । ऋषि समाधिस्थ छन् । भित्र तिनको आत्मा अलौकिक ज्योतिले दीप्त हुँदै गएको थियो । जतिजति दिन बित्दै गए उति तिनको ज्योति बढ्दै गयो, शान्ति थपिँदै गयो ।
तपोभूमिको दूबो बढेर ऋषिलाई छोप्न थाल्यो, धमिराले बिस्तारै उनको गोडातिर घर बनाउन थाले । ऋषि निश्चल भए, तपस्यामा थिए । बाहिरको प्रकृतिको परिवर्तनले तिनको भित्रको शान्ति भङ्ग गर्न सकेको थिएन ।
तिनको भित्र एउटा अद्भुत अपार्थिव ज्योतिले बलिरहेको थियो । तिनको सारा शरीर, मन, आत्मा सबैले कहिले अन्त्य नहुने आनन्दको अनुभव गर्न थाले । तिनी सहस्र सूर्यको ज्योतिपुञ्ज आफूमा अनुभव गर्न थाले । के तपस्या सफल त भएको होइन ? ऋषिका आँखा आफैँ उघ्रेर आफ्नो चारैतिरको प्रकृति परिवर्तन, आफ्नो शरीरका छातीसम्म धमिराले लाएको माटोको गुँडको ध्यानै नराखी तिनको प्रथम दृष्टि पऱ्यो स्नान गरिरहेकी एउटी रमणीमाथि ।
ऋषिको तपस्याले इन्द्रासन जब डगमगाउन थाल्यो तब इन्द्रले आफ्नो सभाकी सबभन्दा सिपालु र सबभन्दा राम्री अप्सरालाई त्यहाँ पठाए ।
रमणी आफू एक्ली छु भनेर निःशङ्क भएर शरीरबाट सारा वस्त्र झिकेर नुहाउनुभन्दा बढ्ता पानीसँग जिस्किरहेकी थिइन् । तिनको गोरो शरीरमा स्वास्थ्यको चिन्ह रक्तआभा उस्तै दीप्त भएको थियो जस्तो हिमालयका शिखरमा सूर्यको प्रथम किरण पर्दा हुन्छ ।
घुँडासम्म नदीमा उभिएर अँजुलीमा पानी लिन भनेर निहुरँदा वस्त्र नभएको तिनको शरीर रजनीगन्धाले निर्मित भएको जस्तो शुभ्र देखिन्थ्यो । आहार पाएपछि चञ्चुप्रहार गर्न उद्यत भएका पक्षीद्वयजस्ता अधोमुखी स्तनयुग्म महान् सुन्दरताका केन्द्र थिए । यस्तो त्यो युवतीमाथि ऊर्ध्वरेता ऋषिको दृष्टिपात भयो ।
भित्रको शान्ति र आनन्द र बाहिरको निर्जन एकान्तमा नदीको धारामा उभिएकी, नदीको प्रवाहले आफूलाई दृढ पारेर उभ्याउन नसकेर बेतजस्तो काम्न थालेकी सुन्दरी युवतीमा ऋषिले केही भेदको अनुभव गरेनन् । समाधिको पराकाष्ठा वा ऋषिको मर्न नसकेको वासनाको प्रतिमूर्ति ती रमणी थिइन् ।
ऋषि बिस्तारै उठे । तिनी बसेको ठाउँमा घाँस उम्रेको थिएन । उनी आफू समाधिमा भएको समयमा उत्पन्न भएको शान्तिको अझै अनुभव गर्दै सोझै ती स्नान गर्न थालेकी रमणीनेर गए ।
तिनीहरूको त्यहीँ स्वयम्वर भयो । ऋषि जङ्गलमा बिहा गरेर घर फर्के ।
तिनले जङ्गलमा गरेको तपस्याको यश चारैतिर फिँजिसकेको थियो । त्यो देशका राजा ठूलो समारोहसँग तिनको दर्शन गर्न जाने तर्खर गर्न थाले ।
तर तिनी त जङ्गलबाट कुनै किन्नरीसँग बिहा गरेर पो फर्के । ऋषिको यत्रो ठूलो पतन देखेर सारा समाज विस्मयमा पऱ्यो । स्वागत गर्न तत्पर भएका मानिसहरूले एउटी युवतीलाई तिनको साथमा देखेर मुख फर्काए । जान्नेसुन्नेले यो ऋषिको तपस्यादेखि आत्तिएर इन्द्रले पठाएको कुनै अप्सरा हो भन्ने निश्चय गरे ।
तिनी एउटा गाउँमा घर बनाएर त्यहाँका मानिसहरूले गर्ने व्यवसाय कृषि गरेर गृहस्थी गर्न थाले । कालगतिले तिनलाई सन्तान पनि भयो । गाउँलेहरूलाई सानोतिनो आफूबाट हुने सहायता दिन तिनी र तिनकी पत्नी सदैव तत्पर हुन्थे । गाउँमा कोही बिरामी भयो, तिनकी पत्नी सेवामा पुग्थिन् । राजाका ढोकामा, श्मशानमा पहिलेका ऋषि तर अहिलेका दुई कुमारका पिता गाउँका मान्छेहरूका साथ दिन्थे । तिनको सानोतिनो दया र सहायताका पात्र त्यस गाउँका सारा प्राणी थिए । कुनै गाउँलेहरूलाई कष्ट पर्दा तिनीकहाँ खुर्र गएर आफ्नो अधिकार नै छ जस्तो गरेर उनीहरू तिनका सहायताको दाबी गर्थे ।
तर तिनको ऋषित्वको पतन गाउँलेले बिर्सन सकेनन् । तिनीहरू आफ्ना घरअघि आँगनमा गाडी, गाईको छाप्रो बनाउन बढी व्यस्त भएका ती ऋषिलाई शङ्काका दृष्टिले हेर्थे । इनारमा घैला लिएर पानी भर्न जान थालेकी तिनकी पत्नीलाई देखेर तिनीहरू बिचार गर्थे-कतै कुनै किचकन्नीले त तिनलाई आफ्नो वशमा पारेकी होइन ?
तर तिनी जङ्गलमा समाधिमा लीन हुँदाखेरि एक्कासि उत्पन्न भएको सुख र शान्तिको अझै अबाध अनुभव गरिरहेका थिए ।
पुस्तक
कोशीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोग-व्याधि फिँजियो । ती असहायका सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि स्वयंसेवकको दल लिएर एउटा गाउँमा पुगेँ । साथमा कुइनेन, क्लोरोडाइन, पोटाश परम्यागनेट इत्यादि औषधी थिए ।
बनारसबाट हिँड्दा हामीहरूले सारा प्लान छलफल गरिसकेका थियौँ । एउटा इलाकामा पुगेर त्यहाँका गाउँगाउँमा गई औषधी बाँड्ने, प्रत्येकले आफूलाई चाहिने कुरा लिएर हिँड्नुपर्थ्यो । मैले औषधी त लिएँ, झूल पनि बोकेँ तर दुर्भाग्यवश पुस्तक लिन बिर्सेछु ।
इलाकाका इलाका पानीमा थियो । पानीबाट माथि उठेका झारहरूमा फटेंग्रा, कमिला र अरू सानासाना कीराले आश्रय लिएका थिए । एक-दुई नडुबेका अग्ला ठाउँमा लोग्नेमानिस, स्वास्नीमानिस, बालक, बालिकाहरू कमिलासरह स्याउँस्याउँती थिए । रोग र भोकले व्याकुल ती किसानहरू उभिन नसकेर त्यसै जथाभावी लडिरहेका थिए, चितामा सुतेका जस्ता । तिनीहरूमध्ये कतिले सुतासुतै अन्तिम सास फेरिसकेका थिए तर नजीकै टाँसिएर सुतेका अरू अझै बाँचिरहेकालाई यो कुरा थाहै थिएन । एउटा बान्ता गर्दागर्दा पानीनेर मुन्टो गाडेर पछारियो । वेलावेलामा मर्नुभन्दा पहिले निर्धक्क भएर चिच्याएको कुकुरजस्तो करुण ध्वनि सुनिन्थ्यो । यो त मैले त्यो ठाउँको वर्णन गरेँ, जुन ठाउँ बाढीको सबभन्दा ठूलो प्रकोपमा परेको थियो । सरकारको विज्ञप्तिमा यो ठाउँमा प्रायः १०,००० मान्छे मरेको सूचना थियो ।
हामीहरूले यसैलाई आफ्नो क्षेत्र छान्यो । यै ठाउँमा कम्मर कसेर काममा लाग्यौँ । हाम्रो मुख्य काम थियो मरिसकेकाको संस्कारको प्रबन्ध गर्नु, बचेकाको पेटमा अन्न पार्नु र रोगीलाई औषधी र पथ्य दिनु । मरिसकेकालाई हामीले छुट्ट्यायौं । बाँचेकामध्ये पनि रोगी र निरोगीलाई छुट्ट्यायौं । नजीकैको गाउँसम्म बोकेर लैजान सक्नेलाई बोकेर पुऱ्यायौं र वहीं उसको खाने र औषधीको प्रबन्ध गऱ्यौं । अरूलाई त्यहीँ बाँधमै खानेकुराहरू पुऱ्याउन थाल्यौं । धेरैलाई यसरी बचायौं भन्ने विश्वासले हामी दिनरात केही नमानेर भोकतिर्खाको वास्ता नगरेर मिहिनेत गरिरह्यौं ।
बिस्तार-बिस्तार त्यस ढिस्काबाट अन्तिम मान्छेलाई लग्यौं । बाढी पनि कम हुँदै गयो । पानीमा तीव्रता थिएन, थाकेर नजानिँदो हिँडाइले बगिरहेको थियो । पहिले गरेको उत्पातलाई बिर्सन सक्यौं भने अहिलेको पानीको दृश्य रमाइलो नै थियो, कुनै तालजस्तो । हामीहरूको काम पनि सिद्वियो, हाम्रो जाने बखत भयो । यत्रो मिचामिचपछि अहिलेको शान्तिले हामीलाई उद्विग्न पाऱ्यो । केही काम थिएन । काम नपाएर बस्ता असाध्य गाहारो हुँदोरहेछ । मेरा साथीहरू धेरै फर्किइसकेका थिए । अरूचाहिँ अरू गाउँमा छ्यापछ्याप्ती थिए ।
म अहिले एक्लै सानो गाउँमा थिएँ । दुई-तीन दिनमा सारा साथीहरू यहीँ भेला हुन्छन्, अनि सँगसँगै फर्कने निश्चय भएको थियो । म काम नपाएर त्यसै बसिरहेको थिएँ । गाउँमा एक प्रकारको शान्ति हुन्छ, जसले हामीजस्ता शहरियाहरूको मस्तिष्कमा र हृदयमा गह्रौं भएर थिच्छ । एउटा चरो यताउति यो हाँगोदेखि ऊ हाँगो गरिरहेको थियो । यसले एकान्तको भीषणता झन् थपिदियो ।
म एउटा बूढो खेतलाको अतिथि थिएँ । जामुनाको बोटमुनि डोरीको खाट हालेको थियो, त्यसैमा पल्टेर म दिन काट्ने प्रयत्न गरिरहेको थिएँ । आफ्नो कृतज्ञता प्रकट गर्न त्यो बूढो उठ्यो र हात जोडेर उभिइरहन्थ्यो ।
मैले केही गर्न सकिनँ भनेर त्यो आएर ठिङ्ग उभियो । मैले त्यसको सोझो आतिथ्यले गद्गद भएर भनेँ- “बूढा, तिमीले मलाई आफ्नो आतिथ्यले सधैँको निमित्त ऋणी पाऱ्यौ । मलाई सबै कुरा पुगेको छ ।”
त्यो बूढो किन मान्थ्यो “यो गाउँ त्यति गरीब त होइन, बाबु, यो बाढीले सब कुरा बगाएर लग्यो, नत्र कसैलाई एक पेट खान र आएगएकलाई खुवाउन पुगेको थियो । मेरै दूध दिने दुईवटा गाई बगेर गए । मलाई आफूलाई के चाहिएको थियो र, बूढो भएँ, मर्ने बखत भयो । आएगएकालाई गर्न नसक्ता दुःख हुन्छ । ऊ छोरो सह थियो, त्यो पनि मरेर गई ।”
बूढो चुप्प लाग्यो । मैले कुहिनाले टेकेर यसो आफ्नो टाउको उठाएर त्यसलाई हेरिरहेँ । त्यो बूढो बिस्तारै आएर आफ्नो छाप्रोबाट पल्टेर एक छिनपछि छाप्राका दैलामा आएर बस्यो ।
म फेरि ऊँधो मुण्टो लाएर जामुनाका पात गन्न थालें । अल्छी लागिरहेको थियो । हाई हाई आउँथ्यो । आज बेलुकासम्म एकदुई साथी आइपुग्छन् क्यारे । टाढासम्म जहाँ दृष्टि पुग्थ्यो एकनास पानी थियो । सूर्यको प्रकाश त्यसमा टलमल टलमल गरिरहेको थियो, असाध्य पट्टाइलाग्दो । मैले पुस्तक ल्याउन बिर्सेछु, नत्र समय सजिलैसँग काटिन्थ्यो । कहिलेकाहीँ घरको सम्झना हुन्छ । त्यो बूढो एक्लै छाप्रोको दैलानेर टुक्रुक्क बसेर एकनासले एकैतिर हेरिरहेको थियो । मेरो बानी जहाँ हिँड्दा पनि एकदुई पुस्तक बोक्ने छ । यसपाला बिर्सेछु । रोम्याँ रोलाँको जीनक्राइस्टोफर पढ्ने इच्छा थियो । एकदुई अध्याय पढी पनि सकेको थिएँ । आजकल त्यो पुस्तकको खुप नाम छ । पुस्तक सम्झेर म झन् छटपट गर्न थालें । अब झन् समय बिताउन गाहारो भयो । कुनै पुस्तक भए पनि यसो अक्षर हेरेर समय काट्दो हुँ । यहाँ मूर्ख देहातमा के पुस्तक पाइन्थ्यो । म कहिले उठ्थें, कहिले बस्थें र कहिले निश्चल भएर सुत्थें । बूढाले धेरै बेरसम्म मलाई हेरिरह्यो । मेरो छटपटी थाहा पाएर त्यो फेरि मनेर आयो र उभियो ।
मैले भनेँ “बूढा, कसरी दिन काट्ने ?”
बूढाले भन्यो “खोइ केही काम छैन । डुल्न जाऊँ भने चारैतिर पानी नै पानी छ, नत्र यहाँ डुल्न त खूब रमाइलो ठाउँ थियो । ऊ त्यो सल्लाको रुखनेर पोखरी थियो ।”
मैले भनेँ “पुस्तक भए पनि बसीबसी पढिरहने थिएँ ।”
बूढाको अनुहार उज्यालो भयो “एउटा पुस्तक त मसँग छ । हरिहरले मर्ने साल कहाँबाट लिएर आएको थियो ।”
त्यो पुस्तक लिन छाप्रोभित्र पस्यो । मेरो अलिक उत्साह बढ्यो । राम्रो पुस्तकको त मैले आशा नै गरेको थिइनँ, तर कुनै साधारण कथाको पुस्तक भए पनि अक्षर त हेर्न पाइन्थ्यो । साँझसम्म कोही साथी पनि आइपुग्लान् ।
कालो ध्वाँसो लागेको पातलो पुस्तकाकारको एउटा कुरो लिएर त्यो बूढो मनेर आयो । मलाई त्यो कुरा दिँदै भन्न थाल्यो “हरिहर, मेरो छोराले मर्ने साल यो लिएर आएको थियो । त्यो बडो बाठो थियो । पुस्तक पढ्थ्यो । जहिले पनि यसैलाई हेरिरहन्थ्यो । मलाई त्यसको धेरै आशा थियो । दैव चटक्क चुँडेर लगे । मैले त्यसको मायाले यसलाई छानामा घुसारी राखेको थिएँ । आज छोराले ल्याएको काम लाग्यो ।”
बूढाले हात जोरेर भनिरह्यो । म मुण्टो गाडेर त्यसले ल्याएको पुस्तकलाई हेरिरहेको थिएँ । डाक्टर एस. के. बर्मन (डाबर) को १९२६ सालको सूचीपत्र थियो । दमका निमित्त श्वासारी, मलेरियाको निमित्त जुडीताप………।
स्कुलमास्टर
नन्दराज कापीहरू एकातिर राखेर उठे । नुहाई, धुवाई, खाई स्कुल जाने बखत भैसक्यो । उमानाथ त असल विद्यार्थी थियो, किन अचेल बिग्रेछ खोइ, आजको कापी हेर्दा त त्यसको लक्षण राम्रो देखिँदैन । यो वर्ष पास गर्नसक्ने हो-होइन । ग्रामर त भुसुक्कै पोलेर खाएछ । ग्रामरले भाषालाई शुद्ध लेख्न र बोल्न सिकाउँछ, यो वाक्य तिनको मस्तिष्कमा त्यसै आयो । व्याकरण नजानेर कोही पास गर्न सक्तैनन् । उनी टाउको कन्याउँदै नुहाउने कोठातिर पसे ।
नुहाउने कोठाबाट निस्केर सोझै भान्सामा पसे । छिट्टछिट्टै भात खाएर लुगा लगाएर स्कुल जान तयार भए । तिनले अलिक हतार गर्नुपऱ्यो किनभने समय थोरै थियो । साढे दश बज्न आँटिसकेको थियो । क्या हो यो, कहिले टाइममा खान पाइन्न, सुबिस्तासँग स्कुल पुग्न पाइन्न । राधाको त दोष होइन । भान्छामा पुग्नासाथ खाना तैयार थियो । आफैँ धेरै बेर कापी हेरिरहेँ । नहेरेर के गर्नु ? पैंतीस कापी हुन्, बिहानै सिध्याएर स्कुल लैजानु थियो ।
त्यसै बखतमा उमानाथ आयो । उसको अभिवादनलाई फर्काएर उसको काँधमा हात हालेर नन्दराजले भने “क्या हो उमा, अचेल पढ्दैनौ के ? कस्तो बिग्रेको ? ग्रामर हेर ग्रामर, नत्र जाँचमा फेल गरौला । कर्ता बहुवचन भएपछि त्यसको क्रिया पनि बहुवचन हुनुपर्छ नि ! त्यस्तै त्यस्ता गल्ती गरिरहेछौ । मलाई ता तिमीबाट धेरै आशा थियो ।”
उमानाथ टाउको निहुराएर सुनिरह्यो । नन्दराजले एकचोटि पिठ्युँमा धाप मारेर भने “लौ जाऊ, राम्ररी पढ्नु, नबरालिन् ।”
त्यति भनेर आफू स्कुलतिर लम्के । उमानाथ मात्र बिग्रियो भनेर कसरी भन्नु, कुनै पनि त असल छैनन् । यता दुईतीन वर्षदेखि खराब ब्याच आउँदैछ । पटक्क किताबतिर ध्यान दिदैनन् । झन् शहरमा सिनेमा भैदिएर ता आगोमा घिउको काम गऱ्यो । चार वर्षअघिको ब्याच कस्तो राम्रो थियो, जनार्दन, केशरी, गजराज, अम्बिका । यसपालि त त्यही बङ्गाली ठिटो निस्क्यो भने मात्र ।
स्कुल पुगेर तिनी आफ्नो क्लासमा पसे । दिन निकै गर्मी थियो । तिनी पढाउन थाले “जलालुद्दीनलाई मारेर अलाउद्दीन राजगद्दीमा बस्यो, तर त्यसको स्थिति सन्तोषजनक थिएन किनभने जलाली सरदार जलालुद्दीनको हत्याले क्षुब्ध भएका थिए…..।”
धेरै केटाहरूको ध्यान उनले पढाएपट्टि थिएन । त्यो कोनामा बस्ने केटाहरू त हाँसेर चलिरहेका थिए । कोही हाई गरिरहेका थिए । एकदुई त यसो आँखा उघारेर रातारिता आँखाले मास्टरतिर हेर्थे ।
नन्दराज निरुत्साहित नभएर पढाउँदै गए “उत्तरतिरको सारा राज्य जितेर त्यसले दक्षिणतिर आफ्नो दृष्टि दियो । त्यसले आफ्नो विश्वासपात्र सरदार मलिक काफुरलाई दक्षिणका देशहरूमा आक्रमण गर्न पठायो । काफुरले देवगिरी……।”
केटाहरूले ध्यान नदिएको देख्दा अब उनको धैर्यको अन्त्य भयो । उनले पढाउँदा पढाउँदै टक्क थामेर सोधे “हरिहर, अलाउद्दीनले कुन सालमा गुजरातमा आक्रमण गऱ्यो ?”
हरिहर झसङ्ग भएर उठ्यो, फेरि पक्क परेर मास्टरको अनुहार हेरिरह्यो । मास्टरले रिसाएर भने “पढाएको सुन्नु छैन, न घरमा पढ्नु छ । कसरी पास गर्छौ ? पढ्न मन छैन, किन स्कुल आउँछौ, बाबुआमाको सम्पत्ति बर्बाद गर्छौ ?”
विद्यार्थीहरूमा शान्ति स्थापित भयो । बद्मासी गरेर अघि चलिरहेका सब केटाहरू निर्दोष अनुहार तुल्याएर मास्टरतिर हेर्नलागे । मास्टर भन्न थाले । “अलाउद्दीन बडो इम्पोर्टेन्ट छ । जाँचमा आउने सम्भावना छ । राम्ररी सुन ।”
विद्यार्थीहरूका कान ठाडाठाडा भए । नन्दराज फेरि भन्न थाले “भारतवर्षमा यत्रो ठूलो साम्राज्य अशोकपछि कसैले स्थापित गरेको थिएन, तर यो साम्राज्यको जग बलियो थिएन ।”
त्यसै बखतमा घण्टी टन्न बज्यो । नन्दराज जुरुक्क उठे । विद्यार्थीहरू पनि कोही आङ तान्दै, कोही हाईहाई गर्दै उठे । एक छिन क्लास अव्यवस्थित भयो । नन्दराज अर्को क्लासभित्र पसे । यस क्लासका ठिटाहरू अलिक बाठा होलान् भन्नेजस्ता थिए र सोध्यो भने झट्ट झट्ट जवाफ दिन्थे । यस्तालाई पढाउन पनि मन लाग्छ । झन् माथि क्लास चढ्दै गए झन् बिग्रँदै जान्छन् । यिनैहरू पछि ठूलो क्लासमा पुगेपछि उस्तै स्वाँठ हुन्छन् । त्यसपछि नन्दराज पढाउन थाले “एउटा भेडाको पाठो खोलानेर घाँस चरिरहेको थियो । त्यसै बखत एउटा ब्वाँसो आयो र निहुँ खोज्नथाल्यो- ए भेडा, तँ किन मैले खाने पानी धमिलो पार्छस् ?”
सब ठिटाहरू आफ्नो आफ्नो पुस्तकमा मुण्टो गाडिरहेका थिए । त्यो पाठ सिध्याएर मास्टरले सोधे “यस पाठले के शिक्षा दिन्छ ?” एउटा विद्यार्थीबाट सन्तोषजनक उत्तर पाएर नन्दराजले भने “हो, दुर्जनको कहिले सङ्गत नगर्नु ।”
यो पाठ बर्सेनी नन्दराज पाँचौं क्लासलाई पढाउँछन्, बर्सेनी त्यस क्लासका ठिटा यस पाठलाई रुचाउँछन् । त्यसो हुनाले यस पाठको नूतनता नन्दराजको निमित्त कहिले पनि गएको थिएन । यो पाठसम्बन्धी जति हाँस्ने वा अर्तीका कुरा थिए, वर्षौंदेखि उनी एकनास भन्दै आएका छन् । पुच्छर काटेका स्यालको पाठ पढाउँदा क्लास कोलाहल गरेर हाँस्थ्यो । तिनलाई पनि हाँसो उठ्थ्यो र एक छिन तिनी पनि हाँस्थे तर पछि हाँसो थामेर भन्थे “कति हल्ला गरेर हाँसेको, सुस्तसुस्त पो हाँस्नु, हेडमास्टरको कोठा नजीकै छ, सुने भने ?”
नन्दराज आफ्नो पढाउने ढङ्गदेखि सन्तुष्ट हुन्थे र उज्यालो मुख लाएर घण्टी बज्नासाथ क्लासबाट निस्कन्थे ।
हेडमास्टरले मास्टरहरूको मीटीङ्ग बोलाएको थियो । केटाहरू धेरै बरालिए, कसरी तिनीहरूलाई सुधार्नु, बडो जेसुकै गरून्, हाम्रो सम्बन्ध तिनको पढाइसँग छ । यता चार वर्षदेखि परीक्षाफल सन्तोषजनक छैन ।”
नन्दराजले गम्भीर मुद्राले जोडे “यसपालि त झन् परीक्षाफल नराम्रो होलाजस्तो छ । सैकडा तीस पास भए भने खुब भयो ।”
हेडमास्टरले तिनले बीचमा टोकेको मन पराएनन् । यही कुरा त तिनले भन्न आँटेका थिए । प्याच्च भन्ने बानी, एकछिनसम्म तीखो दृष्टिले नन्दराजलाई हेरेर फेरि भन्न थाले…..। नन्दराजचाहिँ आफूले दिएको सूचनाले, जो गणितका दृष्टिले सही थियो, सन्तोष मानिरहेका थिए । सैकडा तीस कस्तो ठ्याक्क…. तीसभन्दा बढ्ता पास भएछन् भने मलाई भन्नु, केटाहरूको बारेमा यति स्पष्ट ज्ञान अरू कसले राख्छ ? अरूलाई त आफ्नो तलब पकाउनु छ, केटाहरूको भविष्य, उनका पढाइको विषयमा, नन्दराजलाई विश्वास थियो, तिनी जति अरू कोही ध्यान दिँदैनथे ।
नन्दराजले बडो विश्वासका साथ आफ्नो प्लान सबैका समक्ष राखे “केटाहरू यसरी बरालिएका हाम्रो स्कुलमा मात्र होइनन् । सब स्कुलमा यस्तै छ । यो अन्तर्राष्ट्रिय परिस्थितिको परिणाम हो ।”
यत्रो महान् वाक्य मुखबाट निकाल्नासाथ नन्दराज आफैँदेखि खुसी भए । मुख मिठ्याएर थपे “हाम्रो स्कुलमा के छ र ? हेडमास्टर शिक्षा विभागको नियमावलीमा के लेखेको छ त्यो हेर्न खोज्छन् । तिनी मास्टरहरूको केटामाथिको अधिकार धेरै अपहरण भएकाले केटाहरू छाडा भएका भन्छन् ।” नन्दराज बिचार गर्दै जान्थे “कस्तो सङ्कीर्ण विचार । बी. टी. पढ्दा केटाहरूको मनोविज्ञान पढेका होलान्, फेरि किन यस्तो सङ्कीर्ण विचार भएको ?”
नन्दराजले पेश गरेको प्लान स्वीकृत भएन । नन्दराजले त्यसमा आफ्नो सफलता ठाने- मेरो प्रस्तावलाई बुझ्न सक्ने शक्ति पनि हुनुपर्छ । यिनीहरू मौलिक सिद्धान्तदेखि उस्तै डराउँछन्, जस्तै बिरालोदेखि मुसो ।
मीटिङ्मा हेडमास्टरले नै राखेको प्रस्ताव स्वीकृत भयो । कोठाबाट निस्कनासाथ ड्रइङ मास्टरले तिनको हात समातेर भने “नन्दराजजी, आज मकहाँ आउनुहोस् न । साढे सात बजे मैले एकदुई गवैयालाई बोलाएको छु रमाइलो गरौंला, अरू मास्टरहरूलाई पनि बोलाएको छु । मेरै घरमा खाने…….।”
नन्दराजले खुशीसँग निमन्त्रणा स्वीकार गरे । ड्रइङ मास्टर यस्तै छ । केही न केही रमाइलो गरिरहन्छ । कहाँबाट पैसा पाउँदो रहेछ ? आफू ४५ रु. मात्र पाउँछ । लुगा सुटै लाउँछ । घरको सम्पन्न छ भन्नु भने ४५।- मा किन झुल्किरहेछ ? एक्लै भए पनि ४५ भनेको क्या हो र ? ड्रइङ मास्टरलाई कसले ट्युशनमा राख्छ र ?
घरमा आएर लुगा फुकाले, कुल्ला गरे । दुलही एक रिकापीमा मिठाई लिएर आइन् । उनले जिज्ञासाको दृष्टिले दुलहीतिर हेरे । दुलहीले भनिन् “उमानाथले लिएर आएको थियो ।”
नन्दराज क्वाप्प पेडा मुखभरि हालेर गम्न थाले, “उमानाथ सुशील केटो छ । पढ्नामा पनि तेज थियो, यता के भएर बिग्रियो ।”
फेरि साँझ परेपछि ड्रइङ मास्टरकहाँ जान हिँडे । मास्टरकहाँ खासा मजलिस जमेको रहेछ । तवला, हारमोनियम र सितारको ध्वनिले कोठा पूर्ण थियो । सिगरेटको धुवाँले कोठा धमिलो भएको थियो ।
नन्दराज पुग्नासाथ सबैले बडो उत्साहसँग उनलाई स्वागत गरे । फेरि एकछिनपछि तवला बज्न थाल्यो, सितार झन्न भयो । एउटा गाउन थाल्यो- पिया बिना आवै नहीं चैन…..।
यो गानाको गूढ रसास्वादन गरेर त्यहाँ भेला भएका शिक्षकवर्गमा एक किसिमको बिजुली पस्यो । नन्दराजले हात अघि सारेर सिगरेटको डब्बा टिपे । एउटा सिगरेट लिएर खान थाले ।
आवै चैन नहीं अँ. अँ. अँ…… गवैयाले गाना समाप्त गऱ्यो र एउटा बींडा पान मुखमा हालेर रुमालले पसिना पुछ्न थाल्यो । त्यसपछि ड्रइङ मास्टरले हारमोनियम नन्दराजको अगाडि सारेर भने “अब तपाईं गाउनुहोस् ।”
नन्दराजले विचलित नभै भने- “लौ लौ, तपाईं शुरु गर्नुहोस् न ।” ड्रइङ मास्टर गाउन थाल्यो । तिनले गाई सिध्याउनासाथ हारमोनियम फेरि नन्दराजको अगाडि राखेर भने- “अब तपाईं गाउनुहोस् ।”
तिनको भन्ने ढङ्ग हाँसोउठ्दो थियो । त्यस्तो ठट्टाको कुरो तिनी गम्भीर भएर भन्थे “लौ आरम्भ होस् न ।”
सब मास्टर कोलाहल गरेर हाँस्न थाले । नन्दराजले आफ्नो सफलतामा प्रसन्न भएर पछिसम्म भनिरहे “आरम्भ होस्, आरम्भ ।” जतिचोटि तिनलाई मास्टरहरू गाउन आग्रह गर्थे, उतिचोटि तिनी एकोहोरो भनिरहन्थे “अब शुरु होस् न, म त छँदैछु नि” उतिचोटि शिक्षकहरू यस ठट्टालाई नूतन उत्साहले ग्रहण गर्थे ।
कुनै मास्टरलाई स्कुलपट्टिको कत्ति ध्यान थिएन । सारा कुरो बिर्सेर त्यहाँको रमाइलोमा मग्न थिए । सिगरेट त्यति तिनीहरूले कहिले खाएका थिएनन्, एउटा सिद्दिँदा-नसिद्दिँदै अर्को आउँथ्यो ।
गाना हुँदा जहाँ ताल दिनुपर्छ त्यहाँ सबैले ताल दिन्थे वा टाउको हल्लाउँथे र निश्चित स्थलमा वाह वाहको ध्वनि सबैको कण्ठबाट निस्कन्थ्यो ।
नन्दराजलाई अचानक आफ्नो कलेजको दिनको सम्झना भयो । त्यो पुरानो उत्साह बिस्तार बिस्तार तिनको शरीरमा प्रवेश गऱ्यो । तिनी बडा प्रसन्न थिए । कलेजको दिन सधैँका निमित्त गयो भनेको अझै गएको रहेनछ ।
अचानक गाना समाप्त भयो । सब खान बसे । के केटाकेटी त्यति हारालुछ गर्लान्, कोलाहल मच्चाउलान्, त्यति आफूलाई बिर्सेर मिठाई मुखभित्र हाल्नपट्टि लागे ।
नन्दराजले भने “यो मिठाईहरू त रामभण्डारका हुन् कि ?”
कसैले उताबाट जवाफ दियो “नत्र अरू कहाँ यस्तो मिठाई पाइन्छ र ।”
ड्रइङमास्टरले भने “रामभण्डारको होइन । एउटा अर्को मिठाईको पसल मैले देखेको छु । बाहिरबाट हेर्दा त सानो पसल छ तर मिठाई त्यस्तो रामभण्डार के बनाउन सक्ला ?”
सब मास्टरहरू छक्क परेर सोधे “त्यो कहाँ छ, त्यो पसल ?”
भोजन समाप्त भएपछि सब आफ्ना आफ्ना घरतिर लागे ।
साढे दश बजिसकेको थियो । सडकमा एक-दुई जना मान्छे मात्र हिँडिरहेका थिए । सडकमा आएपछि नन्दराज अचानक उदास भए । एक्लै थिए । बाटो बीचबीचमा अँध्यारो थियो । त्यो उत्साहपछिको दृश्यले उनलाई अनायास उदास पाऱ्यो । घर पुगे । तल ढोका बन्द थियो । तिनले धेरै बेर ढोका घचघच्याएपछि नोकर्नी बुढियाले लालटेन लिएर आएर ढोका उघारी । उनी सोझै आफ्नै सुत्ने कोठामा पुगे । उनकी पत्नी सुतिसकेकी थिइन् । उनी लुगाहरू फेरेर आफू पनि बिछ्यौनामा गए । यसो उनले पत्नीलाई घचेटेर आफ्नो सुत्ने ठाउँ तुल्याए । उनकी पत्नीले नीद्रेमा के वरबराइन् र पल्टेर निद्राभरि भित्तानेर पुगिन् । नन्दराजले सुत्ने प्रशस्त ठाउँ पाए । उनी मनमा के के कुरा खेलाउँदै निदाए ।
सखी
चन्द्रकुमारी आत्तिँदै आफ्नी सखीकहाँ गइन् । इन्द्रमायाले चन्द्रकुमारीको फुङ्ग उडेको अनुहार देखेर आत्तिएर तिनलाई समात्न पुगिन् । चन्द्रकुमारी सहारा पाएर झन् लत्रक्क छाडेर इन्द्रमायाको काँधमा हात राखेर आलिङ्गन गर्दै झुण्डिइन् । इन्द्रमायाले तिनलाई सहारा दिँदै कोठाभित्र ल्याएर बिछ्यौनामा बसाल्दै सोधिन् “क्या हो चन्दा, के भयो, किन यस्तरी आत्तिएकी ?” चन्द्रकुमारीले चिसो लामो सास फेरेर भनिन् “दीदी, मेरी सखी, मैले यता विचित्र अनुभव गरेँ । यसले, मलाई बडा विचित्र अत्याहट पनि हुन्छ, चित्तमा पटक्क शान्ति छैन । तिमीलाई थाहा नै छ, यता पन्ध्र दिनदेखि तिमीकहाँ म आइनँ । मलाई क्षमा गर, म त एउटा भँवरीमा परेको थिएँ र यो पन्ध्र दिन रिंगटा लागुञ्जेल त्यो भँवरीमा परेर फनफनिएँ ।”
इन्द्रमाया तिनको देब्रे हात आफ्नो हातमा लिएर सुमसुम्याउन थालिन् । चन्द्रकुमारी एक छिन चुप लागिन् र फेरि भन्न थालिन् “कसरी थालूँ ? कुन छेउबाट प्रारम्भ गरुँ ? मैले राम्ररी कुरा पुऱ्याउन र शृङ्खलाबद्ध कुरा भन्न सकिनँ भने नआत्तिनु । सब सुनिरहनू । म नलुकाई सबै कुरा तिमीलाई भन्छु ।”
हाम्रो घरको एउटा कोठामा बहालमा एउटा युवक बस्न थाल्यो । त्यो नेपालमा कार्यविशेषले आएको रहेछ र केवल पन्ध्र दिन मात्र नेपाल बस्ने त्यसको काम रहेछ । अब तिमी भनौला, यति चाँडै पन्ध्र दिनमै कसरी कुरा भयो त ? कसरी तिमीलाई बुझाऊँ, कसरी त्यसको व्यक्तित्वको वर्णन गरुँ ? आँधिबेहरी के हो कुन्नि, तर त्यो निश्चय नै साधारण युवक थिएन । त्यसलाई देख्नेबित्तिकै एक्कासि मान्छे त्योतिर आकृष्ट हुन्छ र एकचोटि तानिएपछि कहाँसम्म पुग्ने हो कोही भन्न सक्तैन ।
मेरो पतिको त त्योसित उत्तिखेरै घनिष्ठता भयो र हाम्रो कोठामा त्यो सजिलैसँग आउन-जान थाल्यो । मैले एकचोटि मेरा पतिलाई भनेँ पनि- “क्या हो सरासर त्यो हाम्रो कोठामा आउँछ । मलाई त अप्ठ्यारो पनि लाग्छ र मलाई त्यो मानिस मन पर्दैन ।” उनले मेरो कुरा सुनेको नसुनेझैँ गरे, त्यसै दिनदेखि यो भयानक अनुभवको सूत्रपात भयो ।
हाम्रो कोठा र उसको कोठाको माझमा काठको भित्ता थियो । एक दिन राती दश बजेको हुँदो हो, तिम्रा हुस्सु भाइलाई निद्रा परेन । उता उसको कोठामा पनि बत्ती बलिरहेको थियो, उनी त्योसँग कुरा गर्न उसको कोठामा गए । म कान थापेर तिनीहरूको कुरा सुन्न थालें । तिनीहरूलाई सिगरेट खान मन लाग्यो । तिम्रा भाइले बहींबाट कराए “ए, सिगरेटको डब्बा यता ल्या त ।” उनले यति के भनेका थिए, त्यो युवकले भन्यो “उहाँ सुतिसक्नुभयो होला, उहाँलाई कहाँ कष्ट दिनु, म नै लिएर आउँछु ।” त्यो सरासरी मेरो कोठामा आयो, मैले हतारमा सुतेको भाव ल्याउन पनि पाइनँ । त्यसले भन्यो “सिगरेट कहाँ राखेको छ ?” मैले आत्तिएर सिरानबाट सिगरेटको डब्बा त्यसलाई दिएँ । किन हो कुन्नि मेरो हात काँप्यो । उसले काँपिरहेको हातलाई देख्यो र सिगरेटको डब्बा समात्न छोडेर मेरो हात समात्यो । म मूर्ख, मेरो मुखबाट निस्क्यो “के गरेको ? तिनले थाहा पाए भने ।”
उसले झन् सुरिएर भन्यो “मलाई म्वाइँ देऊ न ।” म त आत्तिएँ । मैले बडो बल गरेर प्रार्थनाको वाणीमा भनें “मलाई छाड, म प्रार्थना गर्छु बरु…… पछि…. ।”
त्यो युवक एकछिन पत्थरको मूर्तिझैँ निश्चल भएर उभिरह्यो । पछि मुसुक्क हाँसेर “लौ त” भनेर कोठाबाट बाहिर निस्क्यो । त्यो आफ्नो कोठामा गएर मेरा पतिसँग कुरा गर्न थाल्यो । म एकछिनसम्म जाडोले काठिएजस्तो भएँ । जब उनी सुत्न आए, मैले भनेँ “त्यो कहिले जान्छ ?” उनले सोधे “किन ?” मैले परिणामको वास्तै नगरेर भनेँ “मलाई त्यो मानिस बदमासजस्तो लाग्छ ।”
उनले शङ्कित भएर प्रश्न गरे “किन ?” मैले परिस्थिति सम्हाल्ने कोशिश गरेर भनेँ “तिमी-हामी बसेका बखतमा त्यो सरासर हाम्रो कोठामा आउँछ, यो कस्तो चाला ? अहिले सिगरेट लिन आएको थियो ।”
मेरा पतिले भने “हेर, तिम्रो त बडो शङ्का गर्ने बानी रहेछ । त्यो त्यस्तो आत्मीयता देखाउँछ, तिमीचाहिँ त्यसको चालमा शङ्का गर्छ्यौ ?”
भोलिपल्ट म सिंढीबाट तल झर्न थालेकी थिएँ । करुवा लिएर तिम्रो भाइको निम्ति पानी लिन झरिरहेकी थिएँ, त्यो युवक त्यही मौकामा माथि उक्लिरहेको थियो ।
उसले बाटो छेकेर भन्यो “म्वाइँ देऊ, हिजो पछि दिउँला भनेकी थियौ ।” मैले कातर भएर भने “मलाई नाश गर्न कम्मर कसेका छौँ ?” उसले छक्क परेर भन्यो “तिम्रो नाश ? मैले तिम्रो म्वाइँ खाएँ भने तिमी नाश हुन्छ्यौ ? के भनेकी ?” मैले फेरि भने “अबेर भैरहेछ, माफ गर, पानी लिएर छिटै पुग्नु छ, माफ गर ।”
त्यसले मेरो प्रार्थनाले प्रभावित नभएर भन्यो “एकचोटि च्वाक्क दिन कति बेर लाग्छ र ?”
त्यो प्रति असीम घृणाको भाव मेरो हृदयमा उदय भयो । मैले भनेँ, “बाटो छोड्छौ कि चिच्याउँ ?”
उसले महान् आश्चर्य प्रकट गरेर सोध्यो “तिमी रिसायौ !” मैले परास्त भएर भनेँ “अहिले होइन, पछि ।”
त्यो जस्तोसुकै बदमाश भए तापनि एउटा कुरा त कबूल गर्नैपर्छ । त्यसले कहिले बलजफती गरेन । मैले पछि भन्नासाथ मेरो बाटो उत्तिखेरै छोड्यो । त्यसले बलजफती मलाई ट्याप्प समातेर आफ्नो अभिलाषा पूर्ण गरेको भए ?
म स्वीकार गर्छु त्यसको चरित्रको यो सानो अभिव्यक्तिले म साह्रै प्रभावित भएँ । त्यसलाई सरासर नजाती कसरी भनूँ ?
मेरा दुलहा दिउँसो बजार गएका थिए । त्यो युवक आफ्नो कोठामा बसेर कुन्नि के लेख्नमा व्यस्त थियो । म आफ्नो कामले भान्छा र आफ्नो सुत्ने कोठामा ओहोरदोहोर गरिरहेकी थिएँ । त्यसको कोठा माझमा पर्थ्यो । एकचोटि त्यसका र मेरा चार आँखा भए । उसले चटक्क लेख्न छोडेर मलाई सोध्यो “अब तयार छ्यौ ?”
म केही उत्तर नदिएर आफ्नो बिछ्यौनामा लडें । अचानक शक्ति क्षीण भएजस्तो लाग्यो । मलाई किन हो कुन्नि एउटा चिट्ठी लेख्न मन लाग्यो र कम्पित हातले केवल यति लेखें “तिमी चाँडै गइहाल्छ्यौ रे, उसमा पनि केवल म्वाइँ खान किन खोज्छौ ?”
मैले त्यो कागत भित्ताको प्वालबाट त्यसको कोठामा खसालिदिएँ र निद्रा नलागे पनि आँखा टम्म चिम्लेर बिछ्यौनामा सुतें । मेरो मुटु ढुकढुक गरिरहेको थियो, घाँटी सुक्स्तै आयो । निसास्सिउँलाजस्तो भएँ ।
त्यसपछि त्यसको बडो अनौठो व्यवहार हुनथाल्यो । अचानक त्यसले मेरो वास्ता नै गर्न छोड्यो । केवल कोठाभित्र बसेर लेखपढ मात्र गरिरहन्थ्यो । त्यसको व्यवहार अत्यन्त रीसउठ्दो थियो । बीचबीचमा मेरो मन रीसले कराउँथ्यो- “त्यसको के हक, त्यसको के अधिकार ?” त्योचाहिँ निर्विकार भएर आफ्नो काममा व्यस्त भएको जस्तो देखिन्थ्यो । एक दुईचोटि म त्यसका कोठाभित्र पनि बडो साहस गरेर पसें । त्यो किताबबाट आँखा उठाएर मतिर यसो पुलुक्क हेर्थ्यो र फेरि किताब पढ्न व्यस्त हुन्थ्यो । म यो अन्यायले भित्रभित्रै डढेर खरानी हुन्थें, लज्जित हुन्थें । मेरो बेइज्जती गर्न त्यसले कम्मर कसेको थियो ।
एक दिन त्यो के लेखिरहेको थियो । म त्यसको कोठामा गएँ । मूर्तिलाई एकचोटि निरीक्षण गरेको जस्तो गरेर मलाई चिसो आँखाले हेरेर लेख्न थाल्यो । म झम्टेर गएँ र त्यसको कापी खोसेर च्यात्न थालें । त्यो छक्क परेर “के गरेकी ?” भन्न थाल्यो । म कापी च्यात्दै जान्थेँ, रुँदै जान्थेँ, भन्दै जान्थेँ, “लौ जा, लौ, पापी, निष्ठुर, बदमास, दगाबाज, लौ अरू लेख ।”
म आफ्नो कोठामा आएर खूब रोएँ र त्यस पापीलाई खूब सरापें । रुँदारुँदा थाकेर सास फेर्न मलाई गाह्रो हुनलाग्यो ।
त्यो मेरो कोठामा आएर व्यग्र भएर सोध्यो, ‘के भयो, हैं ?’ मैले आफ्नो सारा शक्ति बटुलेर सारा घर थर्काउने गरेर चिच्याएँ, ‘निस्की यहाँबाट ।’
त्यो फनक्क फर्केर बाहिर निस्क्यो । म धेरैबेर रोइरहेँ । फेरि पति आउनासाथ मैले भने, “त्यो कहिले जान्छ ? हाम्रो घर छोड्न त्यसलाई भन ।”
उनले सोधे, “त्यसले केही अनुचित व्यवहार गऱ्यो र ? म यसको उत्तर के दिन्थेँ ? मैले भनेँ, “तिमी पनि बाहिर जान्छौ । मलाई एक्लै यो घरमा एउटा युवकको नजीकै बस्न डर लाग्छ ।”
मलाई त्यस दिन आफ्नो पतिको असाध्य माया लाग्यो । मैले तिनीसँग टाँसिएर रातभरि आफ्नो भित्रको डरलाई बिर्सने प्रयत्न गरिरहें । एउटा नूतन प्रेमको वेग मेरो हृदयमा बग्न थाल्यो । यस्तो तीव्र प्रेमको अनुभव मलाई कहिले पनि भएको थिएन । आफ्नो पतिको न्यानो छातीमा टाउको राखेर उनका मुटुको ढुकढुक सुन्दा मलाई अवर्णनीय सुखको अनुभव भयो ।
साँचै भनूँ भने, दिदी, मैले त्यस दिनदेखि पो आफ्नो पतिलाई माया गर्न थालें ।
अब मलाई त्यस युवकप्रति घृणाको भावना छैन । यथार्थमा त म त्यसको कृतज्ञ छु ।
आज त्यो गयो । म दिनभरि विचलित थिएँ, हृदयमा शून्य अनुभव गरिरहेकी छु र झन् मेरो पति बजार डुल्न गए ।
अब मलाई एउटा कुराले छटपटी पारिरहेको छ । त्यो युवकलाई जाती भन्नु कि नजाती ? त्यो मेरो निमित्त एउटा रहस्य भयो । यसले मेरो मनमा खलबली परिरहेछ ।
चन्द्रकुमारीले जिज्ञासाका दृष्टिले इन्द्रमायातिर हेरिन् । इन्द्रमाया छक्क परेर सुनिरहेकी थिइन् । पछि तिनको मनमा यो प्रश्न उठ्यो- “चन्द्रकुमारी किन आत्तिएकी ?”
स्वेटर
तिनताका बजारमा थरीथरीका ऊन आएका थिए । कार्तिकतिर पसलेहरू बाहिरबाट ऊन झिकाउँथे र लोभ्याउने गरी ऐनाको बाकसमा राख्थे वा फलफूलजस्तो गरेर गुच्छाका गुच्छा पसलमा झुन्ड्याउँथे ।
मैयाँले कालोमा सेतो छिरिबिरी भएको ऊन किनेर ल्याइन् । यसको स्वेटर बुन्ने । ऊन किन्दा उनले आफ्नो शरीरको रङ्गको ध्यान राखेकी थिइन् । गोरो आङमा कालो खुप खुल्छ त्यसमा पनि चन्दन छरेको जस्तो सेतोसेतो छिरिबिरी परेकोले कालो रङ्गको अन्धकार हराउँछ । मैयाँ आफ्नो रोजीमा खुप खुशी थिइन् ।
उनी दिउँसो भात खाएर स्वेटर बुन्न बस्थिन् । छिमेकका उनका सहेलीहरू पनि ऊन र काँटा लिएर उनीकहाँ आउँथे र कुरा गर्दै स्वेटर, मोजा वा पञ्जा, ज्याकेट बुन्थे । मैयाँले किनेको ऊनलाई देखेर सब लोभिए “कहाँ किन्या हैं ? कति दाम पऱ्यो ?”
सबले पालैसँग त्यस ऊनलाई स्पर्श गरे । कपालमा औंला फिजाएर कोरेको जस्तो गरेर त्यो ऊनको गुच्छामा औंलाहरू फिजाएर त्यसको धागोको बनावटको अध्ययन गरेर सबले एकमत भएर भने “खुप राम्रो ऊन रहेछ ।”
मैयाँले एकछिन स्वेटर बुन्दाबुन्दै आँखा उठाएर भनिन् “त्यै मैयाँको पसलमा मात्रै पाइन्छ । हारालुछ छ रे यस ऊनको निम्ति । तिमीहरूलाई चाहिए छिट्टै किनिहाल ।” फेरि एक छिनपछि चार औंला मात्र बुनिसकेको स्वेटरलाई टाँसेर उनले सोधिन् “कस्तो लाग्छ है ?”
सबले भने “खुब खुल्छ ।” विमलाले भनिन् “हाम्रो त्यस्तो पहेंलो छाला छैन ।” आफ्नो पाखुरा उल्टाई पल्टाई हेरेर फेरि भनिन् “यो डढेको जस्तो छालामा त्यो ऊन के सुहाउला ?”
तर जानकीको आफ्नो शरीरको रङ्गको विषयमा उति नैराश्यपूर्ण बिचार थिएन । उनले मनमनै त्यस्तो छिरिबिरी परेको कालो ऊन किन्ने निश्चय गरिन् । तर प्रकाशमा विमलाकै कथनको पुष्टि गरिन् ।
त्यो पछि सबजना एकाग्र भएर बुन्नमा व्यस्त भए । एकछिन त्यो कोठामा शान्ति छायो । तिनीहरूका औंला साँपका जिभ्राजस्ता चलिरहेका थिए ।
शान्ति भङ्ग गर्दै मैयाँले सोधिन् “कति घर बनाऊँ हैं ?” जानकीले थाहा पाईपाईकन पनि झिल पचाएर सोधिन् “कसलाई बनाको त्यो स्वेटर ? भुँडेलाई भए धेरै घर चाहिन्छ, दुब्लो भए थोरै । कुन भाग्यमानी त्यो हो कुन्नि ? नथाहा पाई कसरी भनूँ कति घर चाहिन्छ ?”
मैयाँले क्रोधको भाव देखाउँदै भनिन् “यी जानकीलाई त बेला न कुबेला ठट्टा मात्रै छ । मैले आफैँलाई स्वेटर बुन्न थाल्या क्या ! बुझ्यौ ?”
मण्डली खित्का छोडेर हाँस्यो ।
मैयाँले त्यति भन्न त भनिन् तर छिनछिनमा यो ध्यान पनि आउन थाल्यो, यस्तो राम्रो ऊनको स्वेटर कसैलाई बनाएर दिन पाए ? आफैँले बनायो आफैँले लायो, के स्वाद ?
जानकीले ठट्टा छोडेर भनिन् “तिमीलाई भए सत्तरी घर चाहिएला । असी घरसम्म बनाए हुन्छ ।”
मैयाँ स्वेटर बुन्न लागिन् । उनले निश्चय गरिन् “बनाउँदै जाऊँ, पछि जे गर्नुपर्ला गरौंला ।”
हरिमाया अहिलेसम्म चुप्प थिइन् । तिनले सिंटी बजाएको स्वरमा भनिन् “मलाई घाँटी बनाउन आएन ।”
विमलाले तिनको हातबाट ऊन खोसेर घाँटी बनाइदिन थालिन् । हरिमाया बडो ध्यानपूर्वक हेर्न थालिन् ।
दिन प्रतिदिन मैयाँले बनाएको स्वेटर आफ्नो वास्तविक रूप धारण गर्न थाल्यो । केही समयमा उनले निश्चय पनि गरिन् “गजराजलाई बनाएर दिन्छु । कति गद्गद् होलान् ?” एकचोटि उनले भनेका पनि थिए “मैयाँ, मलाई एउटा स्वेटर बनाइदिन्नौ ? तिमीले बनाएको स्वेटर लाउने साह्रै रहर छ ।” हो गजराजलाई नै बनाएर दिन्छु । ‘भी कालर’ को बनाउनुपर्छ ।
तर दुर्भाग्यवश स्वेटर जतिजति तयार भयो, उतिउति त्यसको रूप बिग्रँदै गयो र बनिसक्ता पटक्कै छन्द नपरेको भयो । तकियाको खोलजस्तो ह्वाङ्ग परेको । मैयाँ अत्यन्त दुःखी भइन् । न आफूले लाउनेजस्तो भयो, न झन् कसैलाई उपहार दिनेलायक भयो । उनले त्यसलाई नोकरलाई दिइन् “रामे तँलाई भयो” । रामे स्वेटरलाई लिएर मुखभरि चाउरी पारेर हाँसेर कृतज्ञताको परिचय दिँदै उभिरह्यो । मैयाँले भनिन् “मैले आफैँले बनाएको, लैजा ।”
त्यसको उत्साह देखेर मैयाँ खुशी भइन् । तिनको मिहिनेत व्यर्थ गएन । रामे कति खुशी भयो । त्यस्तालाई पो दिँदा आत्मा प्रसन्न हुन्छ । गजराज उनले बनाएको स्वेटर पाएको भए खुब खुशी हुन्थे तर जति रामे प्रसन्न होला, जति उसको आत्माको तृप्ति भएको होला, त्यति गजराजको कहाँ हुन्थ्यो ।
साथीहरूले सधैँको जस्तो भेला भएको बेलामा सोधे “त्यो स्वेटर खोइ कसले पायो ?”
“रामेलाई दिएँ, राम्रो भएन । कसले लाउँथ्यो त्यस्तो र ?” जानकीले जिस्क्याएर भनिन् “मैयाँको कृपा पाउने भाग्यवान् नभए को होला ?”
मैयाँ आगो बर्साउलाझैँ गरेर हेरेर भनिन् “जानकी, तिमी धेरै बढीबढी कुरा गर्न थाल्यौ ? ठट्टाको सीमा हुन्छ ।”
जानकी त्यति भन्नेमा के मान्थिन् । अरूहरूतिर मुण्टो फर्काएर भन्न लागिन् “के मैले झूठो भनेकी हुँ र ? मैयाँको मिहिनेतको फलको सुख पाउने को भयो ?”
सबले एक शब्दमा भने “रामे ।” मैयाँ परास्त भइन् ।
त्यसपछि मैयाँलाई जान्ने सबै मान्छेले मैयाँले एउटा स्वेटर बनाएर आफ्नो नोकरलाई दिइन् रे भन्ने कुरा थाहा पाए । छिमेकमा त त्यो कुरा घर-घरमा फिँजियो । बूढाबूढीहरूले कान थुने “के सुन्नुपरेको हो ?”
दौँतरीहरूले यो कुरामा खूब चाख माने । घरघर कतिले थपडी बजाए, कतिले टाउको मात्र हल्लाए । मैयाँको यो कार्यको औचित्य र अनौचित्यमा निकै छलफल भयो ।
एक दिन मैयाँ छिमेककी एउटा सखीकहाँ गएकी थिइन् । तिनले मैयाँको हात समातेर कसैले नदेख्ने र नसुन्ने लाग्ने ठाउँमा लगेर भनिन् “मानिसहरू के भनिरहेका छन् । तिमीले स्वेटर बुनेर रामेलाई दियौ रे ?” मैयाँले भनिन् “दिएँ त के भयो ?”
छिमेकीले भनिन् “हुन त के भयो र, हल्ला भयो । त्यस्तै गर्ने हो भने सुटुक्क पो गर्नुपर्छ त । मुलुकमा झ्याली पिट्दै किन गर्नु परेको ?”
मैयाँ एकछिन दोषीजस्ती भइन् । उनले आफ्नो मनको कुरा बुझाउने प्रयत्नमा भनिन् “होइन, स्वेटर दिँदैमा के भयो त ? यतिमै कुरा गर्छन् भने मेरो के लाग्छ त ? म मुलुकको मुख थुन्न सक्तिनँ ।”
उनकी सखीले भनिन् “मैले तिमीलाई नजाती काम गऱ्यौ भनेको त होइन तर चलाखीसँग गर्न सकिनौ भनेको पो त । तर मलाई पनि खुलदुली लागिरहेछ । कसैलाई नपाएर नोकरलाई ।”
मैयाँ रन्किन् “नोकर के मानिस होइन ? अचेलको समानताको युगमा पनि तिमी नोकर र मालिकको भेद गर्छ्यौ ? अब यसै भन्यौ उसै भन्यौ, साँच्ची भन्नु भने, के कसैको खटनमा प्रेम हिँड्छ र ?”
एक छिन मैयाँ झस्किन् “के भनेकी ? प्रेम ? कहाँबाट यो प्रेमको कुरा आयो ?” तर रीसको झोकमा कुनै अड्कोको वास्ता नगर्दै भन्न थालिन् “बुझ्यौ रमा, प्रेम कसैको कर र खटनमा रहँदैन । यो एउटा ईश्वरीय शक्ति हो, जो ऊँचनीचमा भेद देख्दैन । हाम्रो आत्माको आँखा यो बाहिरको आँखाभन्दा बेग्लै हुन्छ ।”
रमाले भनिन् “मैयाँ, तिमी त रिसायौ । तिमीले भनेको कुरा सत्य हो । हाम्रो समाजले रचेको ऊँचनीचको मान शुद्ध प्रेमले मान्दैन । रामेलाई नोकर भनेर त्यो तिम्रोहाम्रो प्रेमको अधिकारी छैन म भन्दिनँ । तर अनुहार पनि त हुन्छ नि । मलाई दुनियाँको आठौं आश्चर्य यो लागिरहेछ । के देखेर तिमी ऊसँग रिझियौ । उमेरमा पनि त्यो छिप्पिएको छ । केही नभए पनि ३५ त भयो होला । तिमी भने २१ की मात्र छ्यौ ।”
मैयाँलाई यस्तो थोत्रो कुरा मन परेन । उही पुरानो विचार । उनले उठ्दै भनिन् “रमा, तिमीले प्रेम भनेको क्या हो चिनेको छैन । तिम्रो निम्ति प्रेम धनमा छ, सुखमा छ, इन्द्रियको तृप्तिमा छ । म भने प्रेमलाई यी सबभन्दा भिन्न मान्छु, बुझ्यौ ?”
उनी त्यति भनेर फुत्त बाहिर आइन् । मालिकनी नभएको थाहा पाएर नोकरहरू जम्मा भएर रामेलाई जिस्क्याइरहेका थिए “रामे के भन्छस् अब ? मैयाँले आफ्नै बाहुलीले बनाएर स्वेटर तँलाई बक्सियो । लाटा, के बुझिस् ?”
रामे अप्ठ्यारो मानेर स्वेटर मुसार्दै हाँसिरहेको थियो । मैयाँले कोठाभित्र पस्ने बखतमा यो कुरा सुनिन् । उनलाई नोकरहरूले मिलेर रामेलाई जिस्क्याएको मन परेन तर उत्तिखेरै गएर नोकरहरूलाई ताडन गर्ने पनि साहस भएन ।
बौलाहा
म सातामा दुईचोटि झ्यालखाना जान्थें र चोर, डाँकू र समाजका अरू भयानक प्राणीलाई तिनका आत्माका शुद्धिको निमित्त गीता, पुराण, मनुस्मृति र अरू धर्मग्रन्थको व्याख्या गर्थे । तिनीहरूको आत्माको उद्धार गर्नु मेरो ध्येय थियो । म सरकारबाट यसै कामको निमित्त नियुक्त थिएँ ।
म एक दिन आफ्नो पवित्र कार्यमा व्यस्त थिएँ । मलाई घेरेर तीसजना जति धर्मज्ञानका इच्छुक कैदीहरू बसेर मेरा कुरा सुनिरहेका थिए- “परन्तु जो मान्छे आत्मामा नै प्रेम गर्छ अनि आत्मामा नै तृप्त रहन्छ एवं आत्मामै सन्तुष्ट रहन्छ त्यसले गर्नु पर्ने कार्य केही बाँकी रहँदैन ।” गीताको तृतीय अध्यायको सत्रौं श्लोकको अर्थ म भनिरहेको थिएँ “तिमीहरूले धेरै कुकर्म गऱ्यौ, चोरी, डकैती र अरू अत्याचार गर्न बाँकी राखेनौ । अब पनि चेत, आत्मालाई चोखो पार ।”
“जस्तो कमलको पातमा पानी……..।”
त्यो बखतमा त्यो कुनामा बसेको मान्छे, जो सशङ्कित दृष्टिले यसो मलाई हेरेर आफ्नो चारतिर हेरिरहन्थ्यो, चिच्यायो “के भन्यो पण्डित ? के मनपरी बिहानदेखि फत्फताइरहेछौ । छेउ न टुप्पो । अर्थ न बर्थ ।”
त्यसको विषयमा मलाई पहिल्यैदेखि शङ्का थियो । त्यो घुम्लुङ्ग ओढ्ने ओढेर कुनामा बस्थ्यो, फोहोरी, पोल्दापोल्दै उम्केको कालो निष्प्राण आकृतिको, दुब्लो थियो । आँखा चिमचिम गरिरहन्थ्यो ।त्यो डराएको जस्तो गरेर घाँटी घुमाएर आफ्नो चारतिर हेरिरहन्थ्यो । फेरि एकछिन चुप लागेर घुँडामा मुण्टो गाडी केही गमेको जस्तो गर्थ्यो ।
त्यो एक्कासि चिच्यायो “के भन्यो पण्डित ? के मनपरी बिहानदेखि फत्फताइरहेछौ ? छेउ न टुप्पो, अर्थ न बर्थ ।”
अरू कैदीहरू त्यसलाई समातेर झाङ्गलझुङ्गल गर्न थाले, त्यो भने चिच्याइरह्यो । जेलका सिपाहीहरू आए, त्यसलाई पिटपाट गरेर घचेट्दै उसको सेलतिर लगे ।
त्यसले चिच्याउन त छोडेन, भनिरह्यो “त्यो पण्डित झूठो हो, बकवादी हो ।”
म आफ्नो पुण्यकार्यमा तल्लीन भएँ- “जस्तो कमलको पातमा पानीको केही पर्दैन, त्यस्तै आत्मा…….।”
उता उसको सेलबाट उसले चिच्याएको प्रतिध्वनि नर्कको सबभन्दा गहिरो गर्तबाट उब्जेको बाफजस्तो आइरहेको थियो “सब झुटा हुन्, ठग, लुच्चा ।”
मैले धर्मव्याख्यान समाप्त गरेँ । मलाई त्यसको ईश्वरहीन व्यवहारले त्यसका विषयमा जान्ने उत्सुकता भयो, त्यसका उत्तेजित शब्द “के बकवास गरिरहेछौ, पण्डित ।” - ले मलाई किन हो कुन्नि प्रभावित पाऱ्यो, म झ्यालखानाबाट निस्केर सुपरिन्टेन्डेन्ट कहाँ गएँ ।
मेरो कुरा सुनेर उनले भने “पण्डितजी, त्यो बौलाहा हो, किन त्यसलाई बाहिर आउन दिँदारहेछन् ?”
मैले सोधें “त्यो कुन मुद्दामा परेको हो ?” उनले भने “चोरीको । त्यो कस्तो दुस्साहसी भने दिउँसै चोर्न हिँड्यो । कोठाभित्र पस्न मात्र पाएको थियो, नोकरहरूले त्यसलाई समातिहाले । त्योचाहिँ चोर्न थालेको बाकसलाई च्यापिरह्यो, पिटाइ खाइरह्यो । त्यसले के भन्ठानेर बाकसलाई च्याप्यो होला ? बाकस त्योसँग खोस्न बडो गाहारो परेछ । बाकस त्योसँगबाट खोसिएपछि डाँको छोडेर रुन थाल्यो, अड्डामा यस्ता बाठा चोरहरू जजहरूलाई आफ्नो तर्कले प्रभावित गराउन र आफ्नो पक्षमा फैसला लिन रुने ठाउँमा रुन्छन्, प्रार्थना गर्नु पर्ने ठाउँमा हात जोरेर जीहजुर गर्न थाल्छन् । त्यो पनि रुँदै भन्न थाल्यो “जजसाहेब, मेरी दुलही मर्न आँटेकी थिई, औषधी र पथ्यलाई रुपियाँ खोज्न हिँडेको । मलाई नथुनिबक्सियोस् ।” कहीँ जज पनि त्यस्तो भनाइको भरमा कानुनको विरुद्ध काम गर्न सक्छ ? छ महीनाको सजाय दिए । त्यो सजाय सुनेर बालक रोएको जस्तो गरेर रुन थाल्यो र उत्तिखेरै सद्दे मान्छे बौलाएको जस्तो गर्न थाल्यो । अघिसम्म त्यसरी सद्दे कुरा गर्ने उत्तिखेरै कसरी बौलाउँछ । त्यसको जाल हो । तर जजको नियमबमोजिम त्यस्तो भाँडभैलो बौलाहाझैँ जेलमा २४ घण्टा थुनेर राख्नु पर्ने हुनाले त्यसलाई जेलमै थुन्ने गरेको छ । बदमाश कहाँको । पण्डितजीलाई कष्ट भएछ । जेलका सिपाहीहरू हेरिरहेका थिए ?”
मैले फेरि प्रश्न गरेँ “त्यसकी दुलही नि ? त्यसलाई के भयो ?”
“मलाई के थाहा । एकचोटि १५ दिन भयो, दुलही त्यससँग भेट्न आएकी थिई क्यारे, भेटेर फर्कने बेलामा त्यसलाई एकचोटि देखेको थिएँ । बिरामीजस्तो थिई पहेँली, आँखा पुछ्दै फर्किरहेकी थिई । उता त्यसको दुलहा फलामको डण्डीलाई दुवै हातले उखेलुँलाजस्तो गरेर उफ्रँदै फलाकिरहेको थियो- “किन मर्दैनस्, मोरी, गएर अहिले मरिहाल् ।” त्यसलाई बौलाहा नभनेर कसलाई भनूँ ?”
म निश्चित मनले भएर फर्कें । त्यो बौलाहा नै रहेछ । त्यो बौलाहा ईश्वरहीन विचारको भयो भनेर हामीहरूले त्यसमाथि क्रोध गर्नु हुँदैन । ईश्वर ! त्यस्ताको आत्माको उद्धार गर । हामीहरू त जो बुझ्न सक्छ त्यसलाई बुझाई सुमार्गमा ल्याउने प्रयत्न गर्न सक्छौं । बुद्धि नै भ्रष्ट भएकालाई तिमी नै उद्धार गर्न सक्छौ, प्रभो ! मैले गद्गद् भएर अन्तःकरणले ईश्वरको प्रार्थना गरेँ ।
म नियमित रूपसँग झ्यालखाना जान्थें र कुप्रवृत्तिमा आसक्त भएका कैदीहरूलाई सुमार्ग देखाउने प्रयत्न गर्थेँ । तिनीहरूको चरित्र मैले सपाएँ भन्ने मलाई विश्वास थियो किनभने तिनीहरू बडो अनुरागले ईश्वर-भजन सुन्दथे । म आफ्नो सफलतामा भित्रभित्रै बडो सुखको अनुभव गर्थें ।
एक दिन म नियमानुसार गीताको श्लोकको अर्थ लाइरहेको थिएँ । कैदीहरू प्रभावित भएर सुन्नमा तन्मय थिए “महर्षिहरूमा म भृगु हुँ । वचनहरूमा म एक ओंकार हुँ । यज्ञहरूमा म जपयज्ञ हुँ र स्थावरहरूमा म हिमालय हुँ ।”
उताबाट त्यो बौलाहा भनेको मुसुमुसु हाँसेर आयो । पहिले त झट्टै मैले त्यसलाई चिन्न सकिनँ । कपालमा तेल हालेर कोरेको, अनुहारमा एक किसिमको तेज । त्यसले फोहोर ओढ्नेको सट्टामा धोएको कमीज लाएको थियो । म एकछिन छक्क परेर त्यसलाई हेरिरहें । त्यसले बडो आदरसँग मलाई प्रणाम गऱ्यो र बस्ने उद्योग गर्दै भन्यो “त्यो त मरिछ, अस्ति ।” त्यस दिनदेखि मलाई तपाईंसँग भेट्ने साह्रै इच्छा थियो ।
तपाईंले अस्ति भनेको मलाई अहिले घोचिरहेछ “तिमीहरूले धेरै कुकर्म गऱ्यौ, चोरी गऱ्यौ र अरू अत्याचार पनि गर्न बाँकी राखेनौ । अब पनि चेत, आत्मालाई चोखो पार ।” पण्डितजी, त्यो घत लाग्ने वाक्यले मलाई कस्तो प्रभावित पाऱ्यो । लौ, अरू सुनाउनुहोस्, पण्डितजी, त्यो त मरिछ । अब म तपाईंको उपदेश सुन्छु ।”
त्यो भने मरिछ, पोलिइछ, पञ्चभूतमा मिलिछ ।”
म त्यसको आशातीत सुधारमा छक्क परें । त्यसको यस्तो सुधार होला भनेर कसले भन्न सक्यो ? यसरी नचिन्हिने जस्तो गरेर । ईश्वर-भजनमा त्यस्तो गुण छ । कस्तै पापी भए पनि धर्म-ज्ञान प्राप्त गऱ्यो भने त्यो निश्चय सुमार्गमा लाग्छ । ब्याधाले रामको नाउँ लिँदा मोक्ष प्राप्त गरेको थियो । धन्य हो प्रभो ! तिम्रो लीला ।
म आफ्नो सफलतामा उचित घमण्ड पनि गर्न सक्छु । एउटा पापी बाँच्यो र समाजको साधु सदस्य भयो ।
म खुशी हुँदै फर्कें । सुपरिन्टेन्डेन्टले मलाई सह्राउँदै भने- “पण्डितजी, तपाईंको उपदेशको त्यस्तो प्रभाव परेछ ।
त्यसको चाल एक्कासि सप्रियो । पहिले भोकभोकै बसेर मर्न खोज्ने त अचेल दुई थाल भात ठोक्छ । खूब प्रसन्न रहन्छ ।”
मैले भनेँ “ईश्वरको कृपा भए के हुँदैन, विक्षिप्त सद्दे हुन्छ-पङ्गुं लङ्घयते गिरिम् ।”
रिक्सा तान्ने
मगरटोलमा घाम झुल्क्यो । धनबीर आलेटाले गरेर पाखीमा गुड्मुटिइरहेछ । एकचोटि यसो दुई हात टेकेर चिम्टो तानेर आफ्नो छाप्रोको प्रवेशद्वारबाट देखा पर्नेसम्म दुनियाँलाई निरीक्षण गरेर फेरि सुत्यो । उठेर पो के गर्नु ? काम केही भए पो जाँगर देखाउनु ? हिजोदेखि पेटमा अन्नको एक गेडा परेको छैन, खाली पेटमा हावाले ठाउँ पाएर गड्याङ्गुडुङ् उपद्रव मात्र गरिरहेछ । पेटलाई थिचेर कुकुर गुँडुल्किएजस्तो तीन सैली घाम आउञ्जेलसम्म धनबीर सुतिरहेछ । त्यसको कालो कुकुर छेवैमा धेरै बेरसम्म बसिरह्यो । खान पाइने केही सम्भावना नदेखेर आफ्नो उपाय गर्न हिँड्यो । धनबीरले यसो फेरि मुण्टो पाखीबाट झिकेर हेऱ्यो, त्यसको कुकुर बाहिर केमा हो कुन्नि यत्नो गाडिरहेको थियो । धनबीरलाई ईर्ष्यामिश्रित क्रोध आयो, जुरमुरिँदै उठी यताउति खोजी केही नपाएर आफ्नो बाँसुरी टिपेर झटारो हान्यो । कुकुर तर्सेर भाग्यो ।
एकछिन धुमधुमती बसिरह्यो । पेटमा लागछाड पीडा हुँदैछ । भएन, माग्न हिँड्नु पऱ्यो । धनबीर आङ तान्दै उभियो । बाहिर त्यसको कुकुर डरले एउटा कुनामा बसिरहेको थियो । धनबीरले पुच्छ्कारेर डाकेर भन्यो “लौ जाऊँ माग्न । तँलाई त के ? जताततै मौजैमाज छ । म पो भोकले बिरामी परूँलाजस्तो भएको छु । कुकुर जुनि पनि मान्छेको जुनिभन्दा असलै छ । एक पेटको लागि उसलाई पीर छैन ।”
कुकुर पुच्छर हल्लाइ-हल्लाई धनबीरको कुरा सुनिरहेको थियो । अगाडि बढेर धनबीरले फ्याँकेको बाँसुरीलाई टिप्यो र तिघ्रामा त्यसको धुलो पुछ्यो र थाल्यो बजाउन ।
माग्न त सजिलो रहेछ । बिहानभरि माग्दा पेट भर्ने अन्न पाइँदो रहेछ । एउटा बाहुनकहाँ श्राद्ध थियो । तिनकहाँ उब्रेको खानेकुरा एउटा टपरीमा सबै खन्याएर त्यसको साम्मुन्ने राखिदिए । खीर त त्यही दुईचार गाँसमा सिध्यायो, अलिकति कुकुरलाई पनि दियो । फुराला बडो सावधानीसँग लँगौटीको फुर्कोमा बाँध्न थाल्यो, तर त्यसमा सबै फुराला नअटाएकोले इस्कोट फुकालेर त्यसमा बाँधयो र टपरीलाई अगाडिको दुई गोडाले थिचेर चाटिरहेको कुकुरलाई हकायो “लौ हिँड्, जाऊँ । कस्तो लोभी कुकुरको जात ! कति खान नपाएको जस्तो गरेर चाटिरहिछस् । हिँड् जाऊँ धनमाया कहाँ ।”
कुकुर अटेरी भएर उसले अह्राएको सुनेको नसुनेकोजस्तो गरेर टपरी चाटिरहेको देख्ता लोभी कुकुरमाथि रीस उठेर एक लात्ती हान्यो । कुकुर क्वाँई क्वाँई कराउँदै भाग्यो । एक छिनपछि बाटामा फेरि धनबीरका पछि पछि हिँड्न थाल्यो ।
धनमायाको छाप्रोनेर आएर धनबीर करायो “धनमाया ।” धनमाया भित्रबाट बाहिर निस्की । धनबीरको हातमा पोको देखेर हाफ्फाल्दै त्यो भएनेर आई । धनबीरले बडो गर्वसँग इस्कोटमा बाँधेर राखेको फुराला भुइँमा थुपायो ।
“यो कहाँबाट आयो ?” धनमायाले सोधी । “एउटा बाहुनकहाँ माग्न गएको थिएँ, त्यहीँ पाएको” धनबीरले उत्तर दियो । अनुहार बिगारेर बडो तिरस्कारले धनमायाले भनी “छि म कसैको जुठो खान्न । कसकसको जुठो बोकेर लिएर आएछ । फेरि तँ मगन्ते भइस् ?”
त्यति भनेर फनक्क फर्केर ऊ गई । छाप्रोबाट एउटा अर्को मगर निस्केर यो तमासा हेरिरहेको थियो । फर्केर आएकी धनमायाको कम्मरमा आफ्नो हात बेरेर त्यो भित्र पस्यो । धनबीर एकछिन टोल्हाएर यो दृश्य हेरिरह्यो । पछि छाप्रोमा हाँसेको, जिस्केको शब्द सुन्यो । त्यो भुतुक्क भयो बिस्तारै फुरौला टिपेर आफ्नो घरतिर लाग्यो ।
आफ्नो छाप्रोभित्र पस्नासाथ उसले सबभन्दा पहिलो काम फुरौलाको थुप्रो खान थाल्यो- “मोरी, जुठो खान्न रे । त्यसले कसको जुठो खाएकी छैन, रन्डी……..।” भुतभुताउँदै त्यो फुरौला खान थाल्यो । त्यसको कुकुर त्यहीनेर बसेर फुरौलातिर दृष्टि गाडिरहेको थियो । यो देखेर धनबीरको कन्सिरी तात्यो । “लोभी, टपरीभरि खाएर अझै यसको पेट भरेको छैन । यसो केही खान थाल्यो भने टुलुटुलु हेरेर चोखे लाइदिन्छ, मोरा ।” यति भनेर त्यसलाई हान्न हात उचाल्यो । कुकुर त्यहाँबाट फुत्त भाग्यो र दिनभरि फेरि देखा परेन ।
फुरौला खाएर धनबीर फेरि काम्लो ओढेर सुत्यो । धनमायादेखि रिसाएको हुँदा त्यो शान्तिले निदाउन पनि सकेन । कहिले त क्रोधको वेगले त्यो काम्न थाल्यो । साँझतिर पनि उसको क्रोध मरिसकेको थिएन । छाप्रोबाट निस्केर दैलोनेर चौरमा बसेर टोल्हाएर उत्तरतिरको पहाडलाई एकटकले हेरिरहेको थियो । त्यसै बखतमा धनमाया र त्यो अघिको मगर उताबाट आए । त्यो बसेकोनेर आइपुग्नासाथ दुवैको दृष्टि ऊमाथि पऱ्यो । दुवैले मुखामुख गरेर मुसुक्क हाँसे । धनबीरले दाह्रा किटेर भन्यो “मोरी ।”
धनमायाले कराएर सोधी- “के भनिस् ?” धनबीर केही नभनी जुरुक्क उठ्यो र धनमायाको चुल्ठो समातेर पटापट कुट्न थाल्यो । त्यो अर्को मगरले पछिल्तिरबाट धनबीरका कम्मरमा साह्रै बलले लात्ती हान्यो । धनबीरको कम्मर भाँचिएलाजस्तो भयो । त्यो उभिन नसकेर थुचुक्क बस्यो । त्यसै मौकामा धनमाया उठेर उसले त्यसलाई हान्न थाली । त्यो अर्को मगरले पनि दुईतीन लात्ती हिर्कायो ।
धेरै रात आउञ्जेलसम्म धनबीर त्यही चौरमा पछारिरह्यो । सारा शरीरमा पीडा थियो । उठ्न सक्ने शक्ति उसमा थिएन । कम्मर अलिकति हल्लँदा पनि चटक घटक गरेर दुख्न थाल्यो । त्यो बिस्तारै घिस्रँदै छाप्रोभित्र आएर सुत्यो । दुई दिन त्यो कतै निस्कन सकेन । हनहनी ज्वरो आयो, कम्मरको पीडा हिजोभन्दा आज झन् बढ्यो । तर पर्सिपल्ट फेरि त्यो माग्न भनेर बिस्तारै छाप्रोबाट निस्क्यो । आज बाँसुरी लिन बिर्सियो । कुकुरचाहिँ परिस्थितिको मुताबिक उत्साह नदेखाई त्यो सँगसँगै हिँडिरहेको थियो ।
त्यो एउटा ठूलो घरको ढोकामा उभिएर करायो “मालिक, खान देऊ, धर्म हुन्छ ।”
एउटा युवकले झ्यालबाट टाउको झिकेर भन्यो “हेर त नकचरो भुसतिघ्रे छ, मागी मागी हिँड्छ, काम गर्न जाँगर छैन र माग्न हिँड्छ ।”
धनबीर क्रोधलाई काबुमा राखेर छलफल गर्न तैयार भयो “हजुर, काम पाए गर्नु कि त्यसै ? कहाँ काम पाइन्छ ?” त्यो युवकलाई अप्ठ्यारो पार्न सोध्यो “के हजुर, मलाई काम दिनुहुन्छ ?”
त्यतिबेला युवकको बूढा बाबुले आफ्नो मुण्टो देखाएर भन्यो “हाम्रो रिक्सा तान्ने भए बस् ।”
धनबीरले आत्माभिमानसँग भन्यो “हुन्छ ।” बूढाले माथिबाट हातले देखाएर भने “ऊ त्यो छिँडीको कोठामा रिक्सा राखेको छ, त्यहीँ तँ बसेस्, त्यो तेरो कोठा भयो । लौ लौ त्यो भुस्याहा कुकुरलाई कहाँ लैजान थालेको ?”
धनबीरले बिनीत भएर प्रार्थना गऱ्यो “हजुर, यो मेरो साथी हो । गरीब छँदा छाप्रोमा बास हुँदा उसले मलाई छोडेन भने आज म यत्रो ठूलो घरमा बस्न आउँदा म यसलाई कसरी छोडूँ ?”
बूढाले अल्लि पग्लेर सोधे “गुहु त खाँदैन ?” धनबीरले उत्तर दियो “मैले आफूले खाएको कुरो खुवाई यसलाई पालेको छु ।”
“लौ त भयो, तर यसलाई छाडा नगरेस् । माथिमाथि चहार्ने नगरेस् । माथि उक्ल्यो भने राम्रो हुनेछैन । तेरा मालहरू लिएर आइज । तँ आजदेखि भर्ना भइस् । तेरो नाउँ के रे ?”
“धनबीर ।”
“लौ धने, दुई रुपियाँ तेरो दर्माहा भयो । खान-लाउन पाउँछस् ।”
“तेरो कामचाहिँ म बाहिर जाने बखतमा रिक्सा तान्नुपर्छ ।”
“हजुर, खान देऊ न त । दुई दिनदेखि भोकै छु ।”
त्यो दिन पेटभरि धनबीरले खान पायो । आफ्नो छाप्रोबाट बाँसुरी र काम्लो बोकेर निस्कँदा त्यसको मन त्यसै अमिलो भयो । किन हो कुन्नि हृदयमा कसैले मुड्कीले हानेजस्तो लाग्यो । बाटामा त्यसलाई चिन्नेले सोधे “कहाँ हिँडिस् धने ?” “एक ठाउँमा काम पाएको छु” उसले छोटकरीमा उत्तर दियो ।
“हो हो, खुप जानिछस् । काम गर्नुपर्छ” भन्दै तिनीहरू आफ्नो बाटो लागे ।
नयाँ घरभित्र धनबीर पस्यो । छिँडीको कोठामा एउटा कुनामा रिक्सा राखेको थियो, धनेले अर्को कुनामा काम्लो थन्क्यायो र गएर रिक्सालाई छोइछाई निरीक्षण गर्न थाल्यो । त्यसको कुकुर नयाँ ठाउँदेखि आत्तिएर एकछिन पनि मालिकलाई छोड्ने साहस गरेन ।
भोलिपल्टदेखि त्यो बूढो मालिकलाई तान्दै शहरको सडकमा दगुर्न थाल्यो । तर छिट्टै उसको दम फुल्न लाग्यो । बूढाले भने “खोइ तँ, सक्तैनस् क्या रे, कति छिट्टै स्वाँ स्वाँ गर्न थाल्छस् । पहिलेको धर्मे त महाराजगञ्ज पुऱ्याउँदा पनि टाठोको टाठै रहन्थ्यो ।”
धनबीरलाई उसको बलको विषयमा लाञ्छना गरेको देख्ता दिक्क लाग्यो “हजुर, म यता बिरामी थिएँ, नत्र यति जाबो पाङ्ग्रा तान्न म थाक्थें ?”
यति भनेर दगुर्न थाल्यो । भित्र ताकत एकदम शून्य भैसकेको भए तापनि आत्माभिमानले त्यो दगुरिरहेको थियो । बूढाले रिक्सा थाम्न भने । रिक्साबाट ओर्लेर उनी एउटा दरबारजत्रो घरभित्र पसे । धनबीर खोक्दै पसीना पुछ्न थाल्यो । मुटु फुट्लाजस्तो भयो । त्यो थचक्क बसेर निकै बेर सम्म खोकिरह्यो ।
एक छिनपछि बूढा मालिकलाई तान्दै घर फर्क्यो । धनबीरलाई फर्केर आएको देखेर त्यसको कुकुर दगुर्दै गोडामा आएर लुटपुट गर्न थाल्यो । बूढाले रिक्साबाट ओर्लंदै भने “यसलाई बाँधेर राख्ने गरेस् । कस्तो छुकछुक गर्दोरहेछ ।”
साँझमा एउटा पित्तलको थालमा भातदाल ल्याएर नोकरले त्यसको अघिल्तिर राखेर भन्यो “यो थाल तेरो भयो । यसैमा बिहानबेलुका भात लिन जानु । धुनुपर्ने र आफैँसँग राख्नु ।”
धनबीर र त्यसको कुकुर सँगै बसेर खान थाले । त्यो दिन त्यसको बित्यो ।
राती पराल ओछ्याएर काम्लो ओढेर थाकेको धनबीर भुसुक्क निदायो । राती एकदुईचोटि कराउँदै उठ्थ्यो “छि: ! ठूलो घर भन्नु मात्रै, लामखुट्टे अघोर लाग्दो रहेछ ।” फेरि अर्कोतिर कोल्टे परेर निदाउँथ्यो ।
भोलिपल्टदेखि रिक्सा तान्ने काम उति साह्रो कठिन लागेन । तर दम भने फुल्थ्यो औ खोकी पनि लाग्थ्यो । कस्तो निर्धो गराएछ दुई दिनको जरोले ।
एक दिन बूढा मालिक रिसाउँदै फलाक्दै तल झरे । कुकुर दगुर्दै धनबीरनेर आएर एउटा कुनामा बस्यो । बूढा पनि धनबीरनेर आएर चिच्याएर भन्न थाले “धने, तँलाई भनेको होइन यसलाई बाँधेर राख्नु भनेर, किन छाडा छोडिस् ? माथि पूजाकोठामा पसेर नैवेद्य चाटिरहेको थियो । यसो गर्ने हो भने मेरो घरबाट निस्की, जा रिक्सा तान्ने हामी थुप्रै पाउँछौँ ।”
धनबीरले प्रार्थनाको स्वरमा भन्यो- “यो मोराले मलाई कति दुःख दिने हो ? यसलाई बाँधेर नै राखेको थिएँ, कसरी फुत्केर भागेछ ? अबदेखि कहिले पनि त्यो माथि उक्लने छैन । आजलाई माफ पाऊँ ।”
बूढा मालिक फत्फताउँदै गए । धनबीरले गएर डरले एउटा कुनामा बसिरहेको कुकुरलाई लात्तीले हान्यो । “कतिचोटि भनेँ माथि नगएस्, मान्नु छैन । खा, लौ खा” भन्दै लात्तीमाथि लात्ती प्रहार गर्न थाल्यो ।
कुकुर क्वाँई क्वाँई गर्दै आफ्नो कसुरलाई स्वीकार गर्दै सब सहिरह्यो । पिटिसकेर धनबीर आफ्नू परालमा गएर सुत्यो । एक छिनपछि उठेर थालमा बिहानदेखि नखाई राखेको मुछेको भात लगेर कुकुरलाई खान दियो । फेरि मायाले सुमसुम्याउँदै भन्न लाग्यो “नजाने गर न माथि । तँलाई मन पराउँदैनन् । के गर्न माथि धाइरहन्छस् ?”
काम गरेको धेरै दिन थिएन । मालिकको बारीको ढिस्कोमा छिमेकका दुईतीन केटा आएर धनबीरलाई जिस्क्याउन थाले- “हेर घोडा दाइ, ए घोडा, हिनाहिना त ।”
आफूलाई घोडा भनेको सुन्दा धनबीरलाई आफ्नो बडो अपमान गरेको जस्तो लाग्यो । उफ्रँदै ती ठिटाहरू खेद्न थाल्यो । एउटा भाग्न सकेन, त्यसलाई समातेर एकदुई लपेटा दियो- “अझ भन् घोडा ? मान्छेलाई पशु बनाउनु, लौ खा ।” प्याँ गरेर बूढो मालिककहाँ गएर त्यसले कुरा लायो । “बडो बाठो भएको छस् धने, चोर” भन्दै तिनले धनबीरलाई हप्काए ।
धनबीरले भन्यो- “हजुर, तिनीहरू मलाई जिस्क्याइरहन्छन् । घोडा भन्छन् । म मानिसको जुनिमा जन्मेको, मलाई पशु तुल्याउँछन् कस्तो निसाफ ?”
बूढा मालिकले यस्तो ठाडो जवाफ दिएको सुनेर रातो आँखा पारेर भने “धेरै बढेर झन् बोल्छस् ? तँ तिनीहरूलाई हात छोड्ने को होस् ? बुझिस् अब यस्तो सुनेँ भने निको हुने छैन ।”
धनबीरले यो अन्यायलाई तल मुण्टो गाडेर सहन गऱ्यो । भोलिपल्टदेखि ती बूढाको पुठ पाएका ठिटाहरू झन् मच्चीमच्ची त्यसलाई जिस्क्याउन थाले “ए दुई खुट्टे घोडा, लौ त कसरी हिनाहिनाउँछस् ? हामी पनि सुनौँ त ।”
धनबीर पहिले त रीसलाई काबूमा राखेर एकातिर हिँड्थ्यो, पछि बिस्तार बिस्तार किच्च दाँत देखाएर हाँस्न थाल्यो । हुँदाहुँदा घोडा हिँडेको भाव लाउँदै यताउति उफ्रन थाल्यो ।
चार हात खुट्टा टेकेर हिँडी-हिँडी घोडा हिँडेको भाव लाउँदै भन्थ्यो “हामी पहिले यसरी हिँड्थ्यौं । यो, यसरी घाँसमा चर्थ्यौं । ही ही ही ।”
ती केटाहरू अट्टहास गरेर थपडी मार्दै हाँस्थे । उनीहरूका आनन्दले उत्साहित हुँदै त्यो एउटा केटालाई आफ्नो पिठ्युँमा चढाएर बुर्लुक बुर्लुक बारीमा कुदाउँथ्यो ।
यस्तै गरीकन धेरै दिन त्यसले काम गऱ्यो । बीचबीचमा दुईतीन चोटि ज्वरो आएर सुत्यो तर काम भने शरीर पटक्क नसक्ने भए मात्र गर्दैनथ्यो । नत्र सकी-नसकी आफ्नो रिक्सा तान्ने काम गर्थ्यो । तैपनि मालिकहरू सन्तुष्ट थिएनन् । “यो सधैँ बिरामी परेर सुत्नेलाई कसले खुवाई खुवाई राख्न सक्छ र ? मागेर खाने बानी भएको, कहाँ काम गरेर टिक्न सक्यो ? काम छल्नलाई ज्वरो आयो भनेर सुत्छ ।”
एक दिन बिहान कहाँ जानुपऱ्यो कुन्नि, बूढा मालिकले लुगा लाएर तल झरे । धनबीर अझै उठेको थिएन । “ए पाटे” तिनले कराएर उसलाई उठाए । ऊ हँ हँ गर्दै उठेर बस्यो र भन्न थाल्यो “हजुर, जरोले मलाई साह्रै दुःख दियो । आज रिक्सा तान्न सक्तिनँ ।”
बूढा मालिकलाई त्यसले ठगेको हो भन्ने शङ्का गर्ने ठाउँ नै थिएन । तिनले तीखो स्वरमा भने “तँलाई पूजा गर्न राखेको होइन । जब मन लाग्यो सुत्यो, जब मन लाग्यो उठ्यो । यसो गर्न यहाँ पाइँदैन । काम गर्न सक्तैनस् भने हामी अर्को राख्छौं, बुझिस् ?”
धनबीरले उत्तर दियो “जीउले भ्याए जति चाकरी गर्दैछु, नसकेको के लाग्यो ? हजुरलाई पनि काम अड्किने । म आजदेखि जान्छु । मभन्दा बलियोले राम्रो काम दिन सक्ला ।”
उत्तिखेरै बाह्र रुपियाँ उसको ६ महीनाको तलब दिएर बूढाले धनबीरलाई घर छोड्न भने ।
धनबीरले रुपियाँ टिप्यो । बाँसुरी टिपेर काम्लोमा गुटुमुटु पारेर त्यो घरबाट बाहिर निस्क्यो । कुकुर त्यसको पछि पछि थियो । त्यो सोझै धनमायाको छाप्रोतिर गयो । एक छिन बाहिर दुबोमा बसेर सुस्तायो र कराएर डाक्यो “धनमाया ।”
धनमायाले दैलोमा आएर सोधी “को हो र ?”
“म धनबीर, रुपियाँ कमाएर आएको छु ।”
धनमायाले त्यसको नजीकै गएर सोधी “यतिका दिन तिमी कहाँ थियौ ? रिक्सा तान्थ्यौ रे । मैले त तिमीले रिक्सा तानेको एकचोटि पनि देखिनँ ।”
धनबीरले सुनेको नसुनेझैँ गरेर भन्यो “यो रुपियाँ कमाएर ल्याएको ।”
धनमाया भन्दै गई “तिमी किन यति दुब्लायौ ? काम्लो किन ओढेको ? ज्वरो आएको छ ? तिम्रो हाड-छाला मात्र बाँकी छ ।”
धनबीरले एकोहोरो भनिरह्यो “यो रुपियाँ तिमीलाई भनेर कमाएको ।” त्यति भनेर बाह्र रुपियाँ धनमायाको गोडैनेर राखेर आफ्नो छाप्रोतिर लाग्यो ।
त्यसको छाप्रो त नाममात्रको बाँकी रहेको थियो । त्यसबाट लिएर जान सकिने टाटी, खाँबो सब मान्छेहरूले धनबीर आउँदैन भनेर उखेलेर लगिसकेका थिए । दुईतीन खाँबाका भरले मात्र माथिको छाना अडिरहेको थियो । आफ्नो छाप्रोभित्र पस्ता त्यहाँभित्र सुतिरहेको घाउले कुहेको कुकुरले दुर्र दुर्र दुईतीन चोटि गऱ्यो । धनबीर त्यसको घुर्कीको केही वास्ता नगरेर भित्र पस्यो । यस्तो निडर भएर धनबीर भित्र पसेको देख्ता त्यो कुकुर ठाउँ छोड्ने निश्चय गरी सारा वातावरण दुर्गन्धित पारेर बाहिर निस्क्यो ।
धनबीरलाई यतिको हिँडाइ असह्य भयो । त्यो भुइँमा पछारियो । खोकी लाग्यो । एकचोटि खोक्ता ह्वाल्ल रगत बान्ता भयो । फेरि लठ्ठ भएर चिसो भुइँमा निदायो ।
राती एकचोटि फेरि खोकी लाग्यो । छादेको रगतको भल बग्न थाल्यो । त्यसको कुकुर क्वाँ क्वाँ गरेर रुन थाल्यो । कुकुर रोएको सुनेर छिमेकका सुन्नेहरूले कान थुनेर सराप्न थाले “कस्तो अलच्छिना कुकुर रहेछ ।”
मधेसतिर
सुनकोशी र तामाकोशीको सङ्गममा बिहान भयो । सुनकोशी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो, पूर्वतिरबाट तामाकोशी धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोशीमा मिसिन्थ्यो । सुनकोशीलाई तर्न सक्ने कोही कोही मात्र होलान् तर तामाकोशीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियो-परियो केही उम्रको थिएन । यिनको सम्मानार्थ रूख पातहरू ठाडै उभिएका जस्ता थिए ।
सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीका पाप्रा उप्केजस्तो गरेर नदीका किनारमा गुम्लुङ्ग परेर सुतेका चार पाँच जना उठे । सबैको मनमा उठ्नासाथ प्रश्न उठ्यो पेट कसरी भर्ने ? एउटाले अर्कोको मनोभाव बुझेकोजस्तो गरेर सबै मुखामुख गर्न लागे । विधवाको दृष्टि गोरेमाथि थियो ।
विधवाले सबैलाई सम्बोधन गरेर भनिन् “होइन, तिमीहरू घरबाट हिँड्दा पेट भर्ने के उपाय गरेर हिँडेका थियौ ? के खाउँला भनी ठानेका थियौ ?”
सबै जना विधवाको कुराले विस्मित भए । भोटेले भन्यो “मेरो त घरै छैन ।”
बूढोले भन्यो “मेरो त थियो, तर अब म पनि घरद्वार नभएको छु । तर नानी, तिम्रो भए किन यहाँ आएकी त ?”
घरद्वार नभएका यी चार जना माग्ने भनूँ वा कुल्ली भनूँ, काम पाए कुल्ली नत्र माग्ने, का माझमा घरद्वार भएकी विधवा कागको हुलमा हाँसझैँ थिइन् । तिनले अन्नपूर्णा झैँ झट्ट आफ्नो पोकोबाट चिउरा झिकिन् र भाग लाउन थालिन् र सबैको चिउरामाथि थप थप चाकुका डल्ला राखिन् । सबैको आँखामा अकस्मात् तेज आयो र सबैको हृदयमा विधवाप्रति महान् आदरको भाव उत्पन्न भयो । गोरेलाई आफ्नो भागबाट चिउरा थपिदिँदै भनिन् “तिमी जवान छौ । तिमीलाई अरूभन्दा बढ्ता भोक लाग्दो हो ।” फेरि सबैलाई सम्बोधन गरेर भनिन् “मधेसतिर हिँडेकी, पोइ छैन । सासू ससुरा फुटेको आँखाले हेर्दैनन् । देवर रूखो माया गर्थ्यो तर पोइ नभएको घरमा टिक्न सकिनँ ।”
यो वाक्यले ती चारैजनाको हृदयमा खूब प्रभाव पाऱ्यो । खान पाउने ठाउँ, पोइ छैन भन्दैमा लत्याएर हिँड्नु लरतरो काम होइन । तिनीहरू ती विधवालाई झन् मान गर्न थाले ।
उनले सोधिन् “तिमीहरू कहाँ हिँडेका नि ? तिमीहरूले त राती पनि केही खाएको देखिनँ, त्यसै सुत्यौ । मेरो पनि कोही साथी नभएकोले तिमीहरूनेर आएर सुतें । रातभरी तिमीहरूको माया लागिरह्यो ।”
भोटेले बडो आश्चर्य मानी सोध्यो “तपाईंलाई हाम्रो किन माया लाग्यो ? हामी तपाईंको पोइ होइनौं, छोरा होइनौं, बाबु होइनौं ।”
विधवाले भनिन् “तिमीहरू मान्छे त हौ ।”
हिजो दिनभरि नखाएको पेटमा चिउराका कणहरू पर्दा सबै फुर्तिला भएर उत्साहसँग कुरा गर्न थाले । बूढोले भन्यो “नानी, हामीहरू चारजनाको केही नाता छैन । कसैको घर छैन । यता काम पाइन छाड्यो । कतै काम पाइन्छ कि भनेर हिँडेको, अहिले तिम्रा कुराले मधेस जानुपर्नेजस्तो लाग्यो । के भन्छौ साथी हो, मधेस झर्ने ? मधेसमा पेटभरि खान पाइन्छ । म एकचोटि भारी बोकेर मधेस गएको थिएँ ।”
उत्तिखेरै सबैले मधेस लाग्ने निश्चय गरे र पाँचैजना, चार लोग्ने मानिस एक स्वास्नीमानिस दक्षिणको बाटो लागे । बूढो आफ्नो बितेको जीवनका घटनाहरूलाई भन्थ्यो । उसले एकचोटि निकै पैसा कमायो, सत्र रोपनी खेती गऱ्यो, पछि त्यसै बिग्रिँदैबिग्रिँदै आयो । त्यस बेला त्यो जवान थियो, निधारमा नाम्लो हाली भरियाको काम गरी पेट भर्न सक्यो । अब त त्यो पनि सामर्थ्य छैन । नत्र यो बूढो यस्तै भोकभोकै हल्लिरहन्थ्यो र ? अब मर्ने बखत पनि भयो । पेटको ज्वाला खप्न नसकेर मात्र यताउति हिँड्नुपरेको ।
विधवाले भनिन् “मेरो त मधेसमा गएर राम्ररी घरबार गरेर बस्ने इच्छा छ । सानो खेतीबारी गऱ्यो । वहाँ खेती गर्न सजिलो छ रे । जग्गा पनि त्यसै पाइन्छ रे । यहाँ त सासू ससुराका कचकचले अड्नै सकिएन । फेरि पोइ मरेको ठाउँमा त्यसै उराठ लागेर आउने ।”
भोटे र धने यिनीहरूको कुरा चाख मानेर सुनिरहेका थिए तर आफू केही बोल्दैनथे । गोरे थाकेजस्तो भएको थियो, सबभन्दा पछि गोडा घिसार्दै हिँडिरहेको थियो । विधवा गोरेको निम्ति पर्खिन् । उनी थामिएपछि सबै थामिए । गोरे नजीकै आएपछि विधवाले भनिन् “के थाक्यौ गोरे । घाम पनि अघोर छ । तिम्रो टाउको तात्यो होला, लो लैजा, यो कपडा टाउकोमा राख ।” उनले आफ्नो टाउकोमा राखेको सेतो लुगा झिकेर गोरेको टाउकामा राखिदिइन् ।
फेरि सबै जना हिँड्न थाले । त्यो बूढो भन्नु मात्र थियो, सबभन्दा अघिअघि लम्कलमक गरेर हिँड्थ्यो । भोटे र धने त्यसको विगतका कुरा सुनीसुनी हिँडिरहेका थिए । आफ्नो पछिल्लो जीवनको घटनालाई त्यसरी रुचाएर तिनीहरूले सुनेको देख्ता बूढो झन् सुरिएर भएनभएको कुरा गर्न थाल्यो । भोटे र घने पक्क परेर सुनिरहेका थिए ।
विधवा र गोरे पछि पछि बिस्तार बिस्तार आइरहेका थिए । गोरेको उमेर पच्चीस वर्षको हुँदो हो, विधवाको तीस । गोरे धेरै नबोल्ने र लाज मान्ने स्वभावको थियो । त्यसको खपटे गाला धेरै दिनको परिश्रमले झन् तल भासिएको थियो, आँखा ज्योतिहीन थिए । विधवाले सोधिन् “तिमी मधेस गएर के गर्छौ ?”
गोरेले भन्यो- “कुल्ली ।”
विधवाले भनिन्- “के तिमी घरबार गर्दैनौ ? खेतीबारी गरी बस्न मन छैन ?”
गोरेले भन्यो- “पैसा खोइ नि ?”
विधवाले भनिन्- “मधेसमा खेती गर्न त्यसै पाइन्छ । वहाँ खेत सित्तैँ पाइन्छ । तिम्रो उमेर के भयो होला र ? घरद्वार गर । स्वास्नी पाल, छोराछोरी पाल । यस्तो उरन्ठ्याउलो भएर कति दिन बिताउँछौ ?”
विधवाले फेरि एक्कासि प्रश्न गरिन्- “तिमीलाई स्वास्नीमानिस मन पर्दैनन् ?” गोरेले टाउको उठाएर विधवातिर तीव्र दृष्टिले हेऱ्यो र भन्यो- “किन मन पर्दैनन् ?”
बिधवाले भन्न थालिन् “म मधेस गएर खेतीबारी गर्छु । घरबार गर्छु, तर स्वास्नीमान्छेले मात्र घर बनाउन सक्तैनन्, लोग्नेमानिस पनि चाहिन्छ । मेरो मनमा त्यसै यो विचार आयो ‘किन हामी दुईजना मिलेर घर नचलाऔं ?”
गोरेले विस्मयको दृष्टिले विधवालाई हेऱ्यो । विधवाले अलिक अप्रतिभ भएर भनिन् “के म तिम्रो लायक छैन र ? मेरो उमेर धेरै भएर के भयो त ? मैले आफ्नो शरीर जोगाएर राखेकी छु । मेरो लोग्ने मरेदेखि मलाई कसैले छुन पाएको छैन । मेरो सन्तान पनि कोही भएन, त्यसो हुनाले शरीर बिग्रन पाएन ।” गोरेले चकित भै विधवालाई हेरिरह्यो । विधवाले भनिन् “गोरे, मेरो धेरै दिनदेखि आफ्नो घर बनाएर बस्ने इच्छा छ । पोइ चाँडै मरिदिए । आफ्नो इच्छा मनमै सुकेर जालाजस्तो भयो । म के छोराछोरी पाउन सक्तिनँ र ? खोइ मेरा छोराछोरी ? खोइ मेरो आफ्नो मान्छे ?
विधवाको मुख अकस्मात् रुन्चेजस्तो भयो । उनको मुख रातो भयो । मुण्टो तल गाडेर नबोली हिँड्न थालिन् । धेरै बेरसम्म उनीहरू नबोली हिँडिरहे । साँझ पर्ने बखत हुन थाल्यो । विधवाले निस्तब्धतालाई भङ्ग गरेर भनिन्- “गोरे मसँग अलिक गहनापात छ, रुपियाँ पनि छ, त्यसैले गएर खेती किनौंला, घरबार बनाउँला, तिमी मेरो भयौ भने यो सब तिम्रो हुन्छ ।”
अलिक पर बूढो भोटे र धने एउटा ठूलो ढुङ्गामा बसेर तिनीहरूलाई पर्खिरहेका थिए । उनीहरूलाई आएको देखेर टाढैबाट बूढोले भन्यो “अब बस्ने होइन ? खाने के नि ?”
सबैको दृष्टि विधवामाथि पऱ्यो । उनले भनिन् “अलिकता चिउरा बाँचेकै छ, पेटभरि नभए तापनि अलि अलि त थेग्ला ।” तिनीहरू बसेर चिउरा फाँक्न थाले र आकाशलाई छानो बनाएर गुँडुल्किएर त्यहीँ बाटोको छेउमा सुते ।
दिनभरि हिँडेका हुनाले तिनीहरू सुत्न पनि पाएका थिएनन्, भुसुक्क निदाए ।
बिहान सूर्यको पहिलो किरणको साथसाथैमा बूढो उठ्यो र खोक्न थाल्यो । सब जना उठे । तर गोरेको पत्ता थिएन । विधवाले आत्तिएर सोधिन् “गोरे खोइ ?”
बूढोले शान्त भएर भन्यो, “गयो होला कतै, अब हामीले हिँडिहाल्नुपर्छ । अहिले खानलाई केही छैन । साँझसम्म त पुग्नुपर्छ । त्यहाँ केही खाने उपाय हुन सक्छ ।”
विधवाको हृदय भारी भयो र उनी बूढो, भोटे र धनेको हृदयहीनता देखेर छक्क परिन् । दुईदिनको संगी यसरी अल्पिँदा यिनीहरूको मनमा अलिकता पनि दुःख नहुनु ? तिनी आफ्नो पोको पल्टाउन थालिन् । उनको हृदय धक्क भयो । उनको गहनाको पोको छैन ।
सब जना हिँड्न तयार भए । तर विधवा बसेर पोकाहरू बाँधबुध मात्र गरिरहेकी थिइन् । त्यो देखेर बूढाले सोध्यो “के गरिहेछौ । हिँडिहालौं नत्र साँझसम्म…… पुगिँदैन । भोकै सुत्नु पर्ला ।” विधवाले रुन्चे स्वरले भनिन् …….“मेरो गहनाको पोको छैन ।”
सब जना छक्क परेर विधवातिर टुलुटुलु हेर्न थाले बूढाले भन्यो- “तिमी गहना-गुरिया लिएर कहाँ हिँडेको त ? लग्यो होला गोरेले । अब चोरिने कुरा चोरिइहाल्यो, रोएर के गर्नु ?” विधवालाई त्यसको कुरा सुनेर रीस उठ्यो । उनले चिच्याएर भनिन्- “चुप लाग बूढा । त्यस गहनाले मैले के के गरुँला भन्ने विचार गरेकी थिएँ, खेती किनूँला, बिहा गरुँला, घर जमाउँला, छोरा पाउँला । मेरो सारा आशा नष्ट भयो ।”
यति भनेर डाँको छोडेर रुन लागिन् । बूढो तिनी भएनेर गएर उनको काँधमा हात राखेर भन्न थाल्यो “किन रोएकी नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही न केही उपाय भैहाल्छ । तिमीले पोइ पाउँछ्यौ । तिम्रो घर पनि हुन्छ । नआत्तियौ, लौ हिँड ।”
विधवा टोल्हाएर उठिन् र बूढोको पछि पछि लागेर हिँड्न थालिन् ।
त्यो डाँडाको टाकुरामा पुगेर बूढोले बडो उत्साहसँग दक्षिणतिरको आँखाले भ्याउञ्जेलसम्मको, ठूलो विस्तीर्ण मैदानलाई देखाएर आफ्ना साथीहरूलाई भन्न थाल्यो- “ऊ त्यही हो मधेस । त्यहीँ हाम्रो उद्धार हुन्छ । त्यहीँ हामीले अघाउञ्जेल खान पाउँछौँ ।”
भोटे र धनेको आँखामा उत्साहको आभा दगुऱ्यो । भोकले सुकेको गालामा पनि आनन्दको गुलाफी देखियो । कानसम्म मुखको कुना पुऱ्याएर मुखभरि चाउरी पारेर तिनीहरू हाँसिरहे ।
तर विधवामा उत्साह थिएन । आफ्नो उमेर ढलिसकेको थियो । उनले तिनै गहना र रुपियाँको आकर्षणले कुनै युवकलाई तानेर आफ्नो बनाउने इच्छा गरेकी थिइन् । आफ्नो सानै उमेरदेखिको सपनालाई- आफ्नो सानो घर, छोराछोरी- सफल बनाउने इच्छा गरेकी थिइन् । सब तासको घर झैँ भताभुङ्ग भयो । उनले पनि देखासिकी गरेर उत्साहहीन दृष्टिले दक्षिणतिरको मैदानलाई हेरिन् ।
सिपाही
पहाडको बाटोमा एक्लै हिँड्न निकै गाहारो पर्छ । मलाई दुईतीन दिनका यस्तै बाटो हिँड्नु थियो । तर मैले बाटोमा एउटा सिपाहीलाई फेला पारें, जसले मेरो यात्रा धेरै सुगम पाऱ्यो ।
पहिले उसले मलाई सोध्यो “ए बाबु, तपाईं कता हिँडेको ?” परिचितले बोलाएझैँ पछिबाट हकायो । मैले फर्केर हेरें । एउटा सिपाही फौजी पोशाक लाएको आफ्नो सानो डेग छिटोछिटो अगाडि बढाउँदै मकहाँ आइरहेको थियो । फौजी सिपाहीको नृशंसताका सम्बन्धमा मैले धेरै सुनिरखेको थिएँ, त्यसो हुनाले सिपाहीसँग साथ छुटाउन सानो उत्तर “इलाम” दिएर म अगाडि बढें । तर तबसम्म त्यो मकहाँ आइपुगेको थियो ।
“ओहो ।” हाँस्दा सुनको पाताले बाँधेको अगाडिको दाँत प्रकाशमा टल्क्यो- “म पनि उतै जान लागेको छु । आज दिनभरि त साथै हुने भइयो हगि दाइ ?” बडो लापरवाहीसँग त्यसले भन्यो । कालो कोट, फौजी टोपी, खाकी प्यान्ट । त्यसको कालो कोटको जेबबाट एउटा सस्तो फाउन्टेनपेनको क्लिप पनि टल्किरहेको थियो । क्वीन एक घडी पनि त्यसको नाडीमा बाँधिएको थियो, जो उसले हात उठाउँदा बोल्दाखेरि बीचबीचमा हात उठाउने उसको बानी थियो- देखिन्थ्यो । एउटा ठूलो रातो रुमाल आफ्नो घाँटीमा त्यसले बेरिराखेको थियो ।
“म त सिपाही हुँ, तर तपाईं ईश्वरले झूठो नबोलाए तपाईं विद्यार्थी हुनुहुन्छ । होइन के ?”
मैले हाँसेर स्वीकार गरेँ ।
“कुरा यो हो, को कस्तो हो, के काम गर्छ, म उसको पहिरनबाट, उसको कुराबाट भन्न सक्छु । तपाईंको रगत खाने, आजसम्म मैले धोका खाएको छैन, कमसे कम यस विषयमा । म पढ्न-लेख्न जान्दिनँ अँ, आफ्नो दस्तखत महीनावारी लिने बखतमा गर्न सक्छु र रामायणसम्म पढ्छु । मैले यति पढ्न पनि ब्यारेकमै सिकेको, तर पढ्नमा नै लागेको भए तपाईंजस्तै दुब्लो-पातलो पहेँलो हुने थिएँ ?”
त्यसका कुरामा अब मैले आनन्द पाउन थालें । त्यो बाटामा सबैसित परिचितजस्तै कुरा गर्थ्यो “कता हिँडेको ?”
मान्छेहरू त्यसको फौजी आकृतिका डरले केही भन्न सक्तैनथे । कुनै छिप्पिएकी उमेरकी स्वास्नीमानिस भेटिएमा त्यो उसलाई सासूको उपाधि दिन्थ्यो र ती सासूका छोरीहरूको स्वास्थ्यका विषयमा सोध्यो- “तपाईंकी सानी छोरी कस्ती छ ? भन्नुहोस् न, मेरो मन परेकी सासू ।”
त्यो मेरो विषयमा जान्ने इच्छा राख्दैनथ्यो । आफ्नो कुरा भन्नलाई नै फुर्सत पाउँदैनथ्यो, मेरो विषयमा के खोजीनिती गरोस् ।
“म क्वेटा छाउनीमा छु । वहाँ गएको धेरै दिन भयो । मेरी एउटी दुलही पनि छ तर यतै पहाडतिर । त्यो रोगी र बेकामकी छ तैपनि दुइवटा छोरा भइहाले । म घर नगएको धेरै दिन भयो, जाने इच्छा पनि छैन । मेरी दुलही निश्चय नै अर्कैसित गइसकेकी होली । छोराहरू पनि गुण्डा भइसकेका होलान् । अँ, सानो चाहिने छोरा चलाखजस्तो थियो, त्यसलाई पढाउने मेरो ठूलो खायस थियो, तर को दुःख बेसाओस् । मेरा बाबुले मलाई पढाएनन्, म मजासँग छु । क्वेटामा नै एउटी दुलही खोजिहालेको छु । जहाँ बसे पनि मन लाग्ने कुरा हुनुपर्छ ।”
सिपाहीको कुरा सुन्दा निकै आनन्द पाइँदो रहेछ किनभने त्यो केही कुरा पनि नलुकाई खुलासा भन्छ । किन कुरा लुकाओस् र ? मैले गम्भीर विद्यार्थीझैँ सोधें “तर तिमीहरूको सैनिक जीवन कस्तो हुन्छ नि ?”
“हहह……… तपाईंले पनि के सोधेको ? तपाईंको मासु खाने बडो मजा हुन्छ । तपाईंहरूलाई परेजस्तो पीर हामीहरूलाई पर्दैन । खुब मजा गर- हाम्रो अफिसर पनि यही भन्छ । अहिले म त्योसँग छुट्टी लिएर यता आएको । हालैमा लडाई हुने कुरा छ । त्यसो हुनाले यता रङ्गरुट तैयार गर्न आएको हुँ । किजात नहोला, ६ ओटालाई फसाइसकेको छु । सिपाही बन्नाले दूधको कुल्ला गर्न पाइन्छ, खसीको टाउको चम्का राख्न पाइन्छ । फसाउनु के हो, उनीहरूको उद्धार गर्नु हो । आफ्नो देशको निमित्त सिपाहीहरूको आवश्यकता छ ।” सिगरेटको धुवाँ मुखबाट निकालेर भन्यो “लडाईंमा मर्नले सोझै स्वर्ग पुगिन्छ ।” यस वेला त्यसको मुख गीता पाठ गर्ने मानिसको जस्तो गम्भीर भयो ।
त्यसको चाखलाग्दो कुराले बडो सजिलैसँग बाटो काटिरहेको थियो । त्यही समयमा घाँस काटेर फर्कन लागेकी केही केटीहरू साम्मुनेतिरबाट आइरहेका थिए । आँखा झिम्क्याउँदै त्यसले भन्यो, “पर्खनुहोस् है, म अब यिनीहरूलाई जिस्क्याउँछु ।” अगाडि बढेर पहिले त त्यसले उनीहरूलाई सलाम गऱ्यो पछि कुन्नि के भन्यो । त्यसको कुरा सुनेर अरू सबै त धत् भनेर आफ्नो बाटो लागे तर एउटीले घाँसको भारी भुइँमा फ्याँकी र कम्मरमा हात लाएर आफ्नो सारा शरीर हल्लाउँदै दाँत देखाई देखाई त्यसलाई गाली गर्न थाली । मेरो साथी सिपाही लाग्यो पेट मिचीमिची हाँस्न र मतिर फर्केर भन्यो- “बडो मापाकी रहिछ । सधैँ आफ्नो लोग्नेलाई यस्तै गरेर गाली गर्दी हो, म जे किरिया पनि खान सक्तछु ।”
हामीहरू अगाडि बढिरहेका थियौं । “यी केटीहरूलाई बुझ्न साह्रै गाहारो हुन्छ । म पनि एकचोटि एउटीको फन्दामा परिसकेका थिएँ ।” …..त्यसले लामो सास तान्दै भन्यो । त्यस बखतमा त्यो पत्थरका मूर्तिझैँ कठोर देखा पऱ्यो, त्यसका गोडा मशीनझैँ स्वतः अगाडि बढिरहेका थिए । ठिक्क हामीहरूको साम्मुने पहेँलो सूर्य पहाडको अर्कापट्टि ओर्लिरहेका थिए । मैले बडो उत्सुकतासँग सोधें “अँ, त के भयो ?”
“अँ, म भन्दै थिएँ । म पनि एउटी केटीलाई प्रेम गर्थेँ । कसरी म त्यसको प्रेममा परें मलाई थाहा छैन । त्यससँग कति दिन मैले हाँसो-खेली बिताएँ । एक दिन आइतबार मैले आफूलाई त्योसित प्रेम गर्न थालेको पाएँ । त्यस दिन मलाई बिदा थियो । साँझ पर्नासाथ म दौडीदौडी त्यसकहाँ गएँ ।” त्यसको सास बेगसित चल्न थाल्यो । “त्यस दिन त्यसले नीलो गाउन लाएकी थिई पोडे, त्यस दिन त्यो निक्कै राम्री भएकी थिई ।”
ठीक त्यसै समयमा हामीहरूलाई उकालो लाग्नु थियो । “पर्खनुहोस् दुईवटा उखुको लाँक्रो किनेर ल्याउँछु । उकालो लाग्यो । उखु टेकीटेकी हिँड्न सजिलो हुन्छ र माथि पुगेपछि त्यसलाई चुस्ता थकाइ पनि मेटिन्छ । मन परेन के यो कुरा ?” यति भनेर त्यो गयो र एकछिन पछि दुईवटा उखु किनीकन लिएर आयो । एउटा उखु मलाई दिएर त्यसले फेरि भन्न थाल्यो “तर त्यस केटीले मलाई खूब छकाई । त्यो कप्तानसँग पो गई । त्यसको राम्रो लुगाले त्यसलाई लोभ्यायो । तर म तपाईंलाई विश्वास दिलाउँछु, त्यो त्यस बूढो कप्तानसँग पनि बस्न सक्तिन । यसै गरी उडिरहन त्यसलाई आनन्द आउँछ, त्यस राम्री केटीलाई ।” हावाको सानो लहरले त्यसको अन्तिम वाक्यलाई बगाएर लिएर गयो ।
म आफ्नो मनमा त्यसको तर्कना गरिरहेको थिएँ । त्यसो हुनाले मैले केही बोलिनँ । मलाई चुप लागेको देखेर त्यसले मुसुक्क हाँसेर भन्यो “म एक बोतल रक्सीको बाजी लाउँछु । तपाईंले अहिले आफ्नी स्त्रीलाई सम्झिरहनु भैरहेको छ, होइन त यो कुरा ? हेर है, झुठ्ठा नबोल्नु, किरिया ।”
मैले केही पनि उत्तर दिइनँ । केही बेरपछि मैले सोधें “भन त, सिपाही दाइ, तिमीहरू लडाईंमा कसरी जान्छौ ? बम, गोली, मृत्यु म त कल्पना पनि गर्न सक्तिनँ त्यस भीषणताको ।”
तिरस्कारपूर्ण हाँसो हाँसेर उसले मेरो काँधमा धाप मारेर उत्तर दियो “तिमीजस्तो कलिलो मान्छेको निमित्त त्यो ठाउँ होइन । मलाई त लडाईंमा मजा आउँछ, तपाईंको रगत खाने ।”
यस्तै कुरा गर्दागर्दै हामीहरू बास बस्ने ठाउँमा पुग्यौं । दिन त दुई घण्टा अझै बाँकी थियो तर पश्चिमको पहाडले सूर्यलाई ढाकिदिएका हुनाले पानीको कलकल ध्वनिसँगसँगै अन्धकार पनि छिट्टैछिटै तलतिर झरिरहेको थियो ।
मैले भनेँ “अब त म अगाडि हिँड्न सक्तिनँ । राती बस्ने ठाउँ खोज्नु पऱ्यो ।”
“ठाउँको निमित्त केही धन्दा नमान्नुहोस् । म यहाँको ढुङ्गाढुङ्गादेखि परिचित छु । मेरा पुर्खाहरू यहीँ बस्थे । हिँड्नुहोस्, म तपाईंलाई एउटा पसलमा लिएर जान्छु । त्यस पसलकी बुढियालाई चिन्छु । कुनै समय थियो जब त्यस बुढियालाई घेरेर कति मान्थे, मेरा बाबु पनि तिनीहरूमध्यै एउटा थिए, त्यसको खूब बिक्रि हुन्थ्यो तर अब त्यो बुढियालाई कोही पनि फुटेको आँखाले पनि हेर्दैनन् । तपाईंको मासु खाने, त्यसकी एउटी छोरी नभएकी भए म पनि अहिले त्यहाँ जाने थिइनँ ।”
कुरा गर्दागर्दै हामीहरू त्यो पसलनेर आइपुग्यौं । घर काठको थियो, पुरानो र पानीले कुहिसकेको । साम्मुनेको भाग खसिसकेको थियो, त्यसो हुनाले मानिसलाई भित्र पस्दा निहुरिकन जानु पर्थ्यो । हामीहरू भित्र पस्यौं, कोठामा धुवाँ रङ्गमगिएको हुनाले सानो टुकीको प्रकाश झन् धमिलो भएको थियो । त्यसमा पनि मेरो आँखा निद्राले लट्ठ भएको हुनाले मलाई अहिले त्यसको दृश्य सपनाजस्तो लाग्दछ । भित्र दुईवटा पहाडी मानिस चिया र पुरानो बासी रोटी खाइरहेका थिए । कराएर कुरा गर्दा तिनीहरूले कहिलेकाँही आफ्नो हात टेबुलमा फ्याक्थे । कुनामा, मैले देखेँ आगो बलिरहेको थियो, जसमाथि एउटा चियाको केतली बसाएको थियो । यै धुवाँको कारण थियो । छेउमा एउटा विचित्र सेपको ढाँचाको आलमारी थियो, त्यसमा लगाएको काँच फुटिसकेको थियो, त्यसो हुनाले त्यसभित्र रहेको लिली बिस्कुटको पुरानो टीनको डब्बा, अरेन्ज पिकोको खाली डब्बा र दुईतीन गिलास देखा पर्थे । एउटी मोटी बुढिया आफ्नो कुहिनो टेबुलमा टेकेर ती दुईवटा पहाडीको कुरा ध्यानपूर्वक सुनिरहेकी थिई । कहिले कहिले खित्का छोडेर हाँस्थी र बीचबीचमा केही बोलिहाल्थी ।
त्यो कोठामा प्रवेश गर्दा सिपाही अगाडि अगाडि र म पछि पछि थिएँ । सिपाहीलाई देख्नेबित्तिकै त्यो बुढिया उभिई र तलदेखि माथिसम्म त्यसलाई हेरेर भनी “आश्चर्य! कताबाट बाटो बिर्सेर ?”
“बाटो बिर्सेर होइन । अँ तिम्री छोरी खोइ नि ?” आफ्नो दुवै हात हल्लाउँदै त्यो कोठाको स्वामीझैँ यताउति टहल्न थाल्यो ।
“छोरी त बाहिर गएकी छ, अब आइपुग्ने बेला भयो । तपाईंले त हामीहरूलाई पटक्क बिर्सनु भएछ ।”
त्यही समयमा एउटा अलिक मोटी युवती कोठाभित्र पसी र उपेक्षा गर्दै भनी “बिर्सन देऊ, किन हामीलाई कसैले सम्झोस् ?”
त्यो स्त्रीले मैलो छीटको धोती लगाएकी थिई । त्यो अन्धकारमा पनि त्यसको गालाको कालो कालो दाग देखा पर्थ्यो । कम्मरमा धोतीभन्दा माथि एउटा मैलो लुगाको टुक्रो बाँधेकी थिई । त्यो विशेष राम्री त थिइन, तर उसमा यौवनको स्वाभाविक आकर्षण अवश्य थियो ।
त्यसलाई देख्नासाथ सिपाही कुदेर त्यसनेर गयो “ओहो, तिमी, पत्याउने त छैनौ तर तिमीले नै मलाई यहाँसम्म तानेर ल्याएकी । तिमीलाई बिर्सन सक्छु ? मैले त यहाँ आउनासाथ तिम्री आमासँग तिम्रो विषयमा सोधें । उत्तिखेरै तिमी पनि आइहाल्यौ । भन के किरिया हालूँ ?”
“भो, भो धेरै कुरा नगर । आँखाको साम्मुने त धेरै धेरै कुरा गर्छौ पछि…….” भन्दै त्यो अर्को सानो कोठाभित्र पसी । सिपाही पनि त्यसको पछि दगऱ्यो । भित्र पसेर त्यो युवतीले एउटा टुकी बाली र बिछ्याएको सुकुलमा लडी । सिपाही दैलोमै थचक्क बस्यो र कुरा गर्न लाग्यो ।
“लौ त, भन मेरो निमित्त तिमीले के के लिएर आयौ ?”
एकाबिहानै सिपाहीले मलाई हल्लाएर उठायो । अझ दुई घडी रात बाँकी नै थियो । बाहिर असाध्य जाडो थियो । पर्वतका दुई श्रेणीको बीचमा चिसो बतास बगिरहेको थियो । नजीकैको खोलो कलकल गर्दै बगिरहेको थियो । मानिसहरू अझै उठिसकेका थिएनन् । कुखुराहरू बास्न थालेका थिए । चारैतिरको पहाड कालाकाला र धुम्म देखिन्थे । त्यो ठाउँमा निकै जाडो पर्ने हुनाले ती पहाडहरूमा कुनै वृक्ष उम्रिएका थिएनन् । म आँखा मिच्दै उठें । त्यो सिपाहीले लापरवाहीसँग, “मेरो सानो मालिक, म त बिदा लिन्छु, मलाई यता जानु छ, तपाईंलाई उता” मेरो दुवै काँधलाई आफ्नो बलियो हातले दुख्ने गरी हल्लाउँदै भन्यो । मेरो मस्तिष्कमा विषादपूर्ण विचार आउन थाल्यो । म त्यसलाई स्नेह गर्न लागेको थिएँ तर त्यसलाई कसैको केही वास्ता रहेनछ । लमक्लमक गर्दै आफ्नो बाटो लाग्यो । म उभिएर हेरिरहें ।
मैले लडाईंमा मारिएका सिपाहीहरूको पत्थरको स्मारक धेरै देखेको छु तर हाडछाला भएको सिपाहीसँग भेट्ने मौका एकचोटि मात्रै पाएँ ।
साझा प्रकाशनद्वारा प्रकाशित केही कथाकृति
अधिविराम - अशेष मल्ल आकाशको फल - मनु ब्राजाकी आलु र प्यान्आलु - गोरखबहादुर सिंह एक जोर फुलघोडा - इन्द्रकुमार श्रेष्ठ ‘सरित’ एकै कथा - गोविन्दबहादुर मल्ल ‘गोठाले’ छापामारकी छोरी - महेशविक्रम शाह जन्तर र हिरण्यगर्भकुमारी - गोविन्दबल्लभ मल्ल ‘गोठाले’ जेलबाट - सं. ईश्वर बराल नगरसभाको पाँचौ दिन - गोरखबहादुर सिंह नि:शब्द क्षणहरू - इल्या भट्टराई नेपाली कथा भाग १ - सं. नरहरि आचार्य/महादेव अवस्थी/देवीप्रसाद गौतम नेपाली कथा भाग ३ - सं. डा. ऋषिराज बराल / कृष्णप्रसाद घिमिरे नेपाली कथा भाग ४ - सं. दयाराम श्रेष्ठ पारदर्शी मान्छे - मनु ब्राजाकी पुष्करशमशेरका कथाहरू - सं. दयाराम श्रेष्ठ ‘सम्भव’ प्रयोग / प्रत्यारोपण - विजय चालिसे प्रीतको धूप - ध्रुव सापकोटा बिलाउँदै गएको गीत - गणेश रसिक बिम्बको - रत्न प्रजापति लघु कथा: प्रक्रिया र पाठ - सं. गोपाल अश्क विघटन - हरिहर खनाल
मूल्य : रु. ६०.०० (Barcode) 9789993327509 मुद्रक : साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन ५५२१०२३, फ्याक्स : ५५४४२३६