तीन घुम्ती
एक ४५ वर्षको उमेर पुगेपछि शायद स्वास्नीमानिसलाई कुनै निश्चित थलोमा पुगेको जस्तो लाग्छ जहाँबाट अगाडिको सफर गर्नुपर्ने आवश्यकताको अनुभव हुँदैन; मानो जीवनले भार बिसाएर विश्रामको शान्ति पाउँछ । शरीरमा पहिलेको जस्तो चाञ्चल्य रहँदैन; वार्धक्यको स्थूलताले चञ्चलतालाई सम्भव हुन दिँदैन शरीरमा । कञ्चटतिरका केश पनि एक-एक गरेर सेर्तिदै जान्छन् र तिनलाई चिम्टाले टिपेर उखेल्ने जाँगर पनि अब रहँदैन । यत्नसँग पोसेर र जोगाएर राखेको अनुहारमा चाउरीका मसिना धर्साहरू खिचिन लागेका हुन्छन् । मन-हृदय पनि त्यस्तै स्थितिमा हुन्छ निरुद्विग्नताको स्थितिमा । नारी-हृदयको प्रेम र त्यस प्रेमले वरदान वा अभिशापको रूपमा दिएको अलौकिक सुख र त्यस्तै नारकीय अनुताप र ईर्ष्याको ज्वाला, आशा, निराशा सबै अनुभवको केवल एउटा स्मृति छाडेर विलुप्त हुन्छन् । यदि जीवनको यात्रा पनि अरू यात्रासरह दुईतर्फी भएको भए प्रौढा यात्री आफू आएकै बाटोबाट पछि फिर्ने थिई र बाटामा छाड्दै आएका जीवनका अनेकानेक अनुभव, हृदयलाई कंपाउने सुख र दुःखका अनेकानेक अनुभव पुनः प्राप्त गर्न सक्ने थिई । तर जीवनको बाटोमा निरन्तर अगाडि बढ्नु मात्र सम्भव छ । त्यसमा फेरि फर्किने कुनै उपाय रहँदैन । ...