“वास्तवमा म आफूलाई साहित्यिक सम्झन्नँ । मेरो क्षेत्र त राजनीति हो । राजनीतिमा म यौटा अन्तप्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरीत । म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी । कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ ; उसलाई हिँडिसकेको बाटोमा खुट्टा हाल्न मन लाग्दैन, आफूले हिँड्ने बाटो आफैँ बनाउन चाहन्छ । भौतिक तृप्तिभन्दा दैवी असन्तोषलाई ऊ अँगाल्छ । फ्रायडसिद्धान्तलाई मान्छु तर अझ अघि बढेर म आज नैतिकता (Morality) मा पुगेको छु ।” — विश्वेश्वरप्रसाद कोइराला
धेरै पहिलेको कुरा; म बालक थिएँ । बालककालका कुराहरू धेरै त त्यसै बिर्सिएर जाइन्छन्, तर केही एकदम स्पष्ट भएर स्मृतिमा अडेर बसेका हुन्छन् र केही धमिलिएर देखा पर्छन्, तिनलाई ठम्याउन आफ्नो कल्पनाको पनि मद्दत लिनुपर्छ । जस्तो कि टाढा उभिएको मानिसको अनुहार स्पष्टसँग नदेखिएतापनि त्यसको कद, पहिरन, त्यसको उभिँदाको भङ्गिमा र जुन घरको बारीमा उभिएर त्यो त्यहाँ काम गर्ने ज्यामीहरूलाई हेरिरहेको छ, ती सबै कुरालाई जोरेर हामी त्यो उभिएको मानिसलाई ठम्याउँछौँ- त्यो त हाम्रो परमपरिचित फलानो हो ।
कुनै पनि पहिलेका घटनालाई स्मृतिको आधारमा क्रमबद्ध पार्न र अर्थयुक्त बनाउन कल्पनाको सहायता नलिई हुँदैन जस्तो लाग्छ, जस्तो कि पुरातत्त्ववेत्ताहरू एउटा खण्डहरमा उपलब्ध भएका ईंट, पत्थर, भुइँको बनावट, केही आकारमय काठका रचनाहरू र गृहनिर्माणमा चाहिने अन्य सामग्रीहरूको आधारमा त्यहाँ धेरै कालपहिले खडा रहेको विशाल राजप्रासादको वर्णन गर्छन् । मानिसहरू सोध्लान् - के यो कथा साँचो हो ? कि एउटा गल्प मात्र ? यसमा मलाई यति मात्र भन्नु छ कि ४० वर्षपहिले बालककालको मेरो भावनामय जगत्मा घटेको एउटा घटना हो यो जसलाई आज यति दिनपछि जुन रूपमा त्यसलाई स्मृतिको दूरबीनबाट हेरिरहेको छु र अतीतलाई वर्तमानसँग संयोजन गर्ने सम्झनाको तोरणबाट जसरी त्यो आज देखिन थालेको छ, त्यही रूपमा र त्यसरी नै त्यसको वर्णन गरिरहेको छु ।
म भन्दै थिएँ, धेरै पहिलेको कुरा हो यो । हाम्रो गुमास्ता र घरको परमहितैषी मिसिरजीले उनको आफ्नो काममा दरभङ्गा जाने तयारी गरेको देखेर मैले पनि जिद्दी गरें- “मिसिरजी, म पनि जान्छु ।”
“कहाँ जान्छौ, बाबू ? मलाई एउटा काम छ । भोलि लगत्तै फर्केर आउँछु । किन दुःख पाउन जान्छौ ?”
मैले ढिपी छाडिनँ, भनें “मैले दरभङ्गा देखेको छैन ।”
“के छ र त्यहाँ हेर्ने कुरा, बाबू ?”
“दरभङ्गा महाराजको दरबार छ रे, हात्तीसार छ रे, ठूलो अस्तबल छ रे, कचहरी छ रे, ठूला-ठूला घर छन् रे …. नाइँ म पनि जान्छु मिसिरजी ।”
मेरो ढिपीले जित्यो । म पनि एउटा सानो पोको बोकेर मिसिरजीका साथ दरभङ्गा आएँ ।
तिनताका दरभङ्गा स्टेशनको रूप केवल कङ्कालमय मात्र थियो- लामो प्लेटफार्म जसको भुइँमा हलुको किसिमको अलकत्रा बिछ्याएको र स्टेशनका कर्मचारीहरू स्टुल-स्टुलमाथि बसेर भित्तासँग लहरै टाँस्सिएको एउटा लामो टेबुलका उपर बाहिरको कोलाहलबाट एकदम निर्द्वन्द्व भएर मुन्टो गाडेर काम गरिरहेका हुन्थे; अर्कोमा जिल्लाका ठूलाठूला पदाधिकारीहरू आएका बखतमा विश्राम गर्थे जसको छतबाट किनारामा रातो टालोको मुजा परेको नेफा गाँसिएको एउटा बेतको गुन्द्रीजस्तो लामो पङ्खा झुन्डिया हुन्थ्यो र जुन पङ्खालाई एउटा डोरीद्वारा बाहिर भित्तामा अडेसा लाएर बसेको कालो कुल्लीले उँघीउँघी तान्थ्यो । डोरीको तनाइका साथ भित्र कोठामा एकनासको सुरमा पङ्खाको माथिको अग्रासको डाँडी मच्मच् गरेर हल्लिन्थ्यो र भित्ताको फलामे घिर्रा त्यै सुरमा बीच-बीचमा उम्केर भागेको जस्तो गर्थ्यो- खिर्रररर….. एउटा प्लेटफार्मबाट अर्को प्लेटफार्ममा जाने अल्गो पुल निःसन्देह कङ्कालजस्तो थियो, जसका गणितको गुणको चिह्नको रूपमा बनेका बारहरूलाई एउटा अस्वाभाविक रातो रङ्गले गाढा किसिमबाट पोतेको हुन्थ्यो रेल आएका बखतमा भने त्यो पुल मानिसहरूको अकारणको व्यग्रता र हडबडीले थर्किन्थ्यो, नत्र भने, दिनभरि धेरैजसो शून्यमा कुनै दैत्यजस्तो भएर स्टेशनको वातावरणमाथि घोरिएको अस्तित्वलाई छाएर राखिदिन्थ्यो । स्टेशन पनि त्यस्तै; गाडी आएको समयमा बडो चहलपहल, दौडादौड, भागाभाग, असङ्ख्य कण्ठको तुमुल हाहाकार जसउपर पान-सिगरेट-बिँडी बेच्ने मानिसहरूको तीखो स्वरको टाढासम्म सुनिने लेग्रोतनाइ । तिनताका कुल्लीहरू पनि कत्ति अगणित सङ्ख्यामा गाडी स्टेशनमा पुग्दानपुग्दै शून्यबाट त्यसै उम्रका जस्ता भएर प्लेटफार्म र डब्बा डब्बाभरि छ्यापछ्यापती हुन्थे र यात्रीहरूको बोझालाई एउटा हातले छोएर मानो कब्जा गरेको स्वरमा भन्थे - “एक पैसामा बाहिर पुऱ्याइदिन्छु ।”
दरभङ्गा स्टेशन पुग्नुभन्दा धेरै पहिले नै डब्बाका यात्रीहरू आफ्नो-आफ्नो मालमत्ता मिलाउन थाले । डब्बामा हलचल भयो । मिसिरजीले पनि एक चोटि उठेर आफ्नो गुन्टालाई हेरे; सुरक्षित रहेछ । धेरै यात्रीहरू आफ्नो आफ्नो मालमत्ता गन्न थाले । कति अदद थियो हैं ? खोइ यहाँ त सात थान मात्र देख्छु ! पाएँ, पाएँ, त्यो पोको उता परेको रहेछ । बूढापाकाहरू केटाकेटीहरूलाई सम्झाउन थाले- यताउति नकुदेस् नि, हराउलास् । दरभङ्गामा बडो घुइँचो हुन्छ । हामीलाई नछाडेस् । कति घुम्टोले बेरिएका नारीहरू असंयत भएर हडबडाएको दृष्टिले डब्बाको चारैतिर हेर्न थाले । म त त्यसै धुकधुक गरिरहेकै थिएँ कि डब्बाको चञ्चलताले खपिनसक्नु भएर आफ्नो पोको बोकेर एकदम तयार भएँ उभिएर । मिसिरजीले भने- “बाबू, किन हडबडाएको । ऐले बेर छ, बस । भर्खर राजदरबार देखा पर्यो । उः हेर ।”
उनले औंलाले दाहिनेपट्टिको झ्यालबाट टाढाको रातो दरबार देखाए । म व्यग्र भएर घाँटी तान्दै दरबारलाई हेर्न थालें, तर गाडी अझै वेगले हिँडिरहेको थियो; सिसौ, बाँस र आँपका बगैंचाको झुरमुटले दरबारलाई छेकिदियो । एक-दुई, एक-दुई गरेर साना-साना शहरका किसिमका घरहरू देखा पर्न थाले - गारो इँटाको तर छाना या त खर या खपडाका एकतले घरहरू । कुनै-कुनै अटाली भएका घर पनि देखा पर्न थाले । मिसिरजीले भने- “बुझ्यौ, त्यो रातो दरबार नौलक्खा दरबार हो । नौ लाख रुपैयाँ परेको छ त्यसलाई बनाउन ।”
भोटो लाएको एउटा बूढो ऐलेसम्म निश्चल भएर केही श्लोक पाठ गरिरहेको थियो । खपिनसक्नु भएर उसले भन्यो- “कसले भन्यो नौलक्खा दरबार हो त्यो । त्यो त राजनगरमा छ । यसलाई बनाउन डेढ करोड रुपैयाँ परेको छ, डेढ करोड ।”
यति भनेर उसले डब्बाको चारैतिर सगर्व दृष्टि दियो, मानौँ त्यो दरबार उसैको आफ्नो निवासस्थान थियो र जसका बारेमा कम्ती लागत बताएर मिसिरजीले उसको हैसियतको अपमान गरेको थियो । यात्रीहरूको ध्यान आफूपट्टि भएको देखेर खैनीको थुक बडो सिपालु किसिमले झ्यालबाट पिच्च थुकेर उसले भन्यो- “बडो सोखसँग महाराजाधिराजले यो दरबार बनाएको हो । कारिगरहरू इटलीबाट झिकाइए, हिन्दुस्तानमा त्यस्ता कारिगरहरू नपाएर । भित्र सबैतिर रातो सङ्गमरमर छापेको छ, त्यो पनि इटलीबाटै आएको हो । ठूलठूला ऐना, मान्छेका दोब्बर कदका ऐना, झाडफानुस, सबै काँचका सामानहरू बेल्जियमबाट, पर्दाहरू र मेच-कुर्सी, पलङ मोर्न चाहिने लुगा सबै फ्रान्सिसी सिल्क, मखमल, साटिन छन्; काठका यावत् सामानहरू इङल्यान्डबाट, बुझ्यौ ! डेढ करोड परेको, डेढ करोड ।”
सबै उसका कुरा विस्फारित नयन भएर सुनिरहेका थिए कि गाडीको गति केही मध्यम भयो । यात्रीहरू फेरि हडबडाएर आफ्ना मालमत्तातिर लागे । म फेरि जुरुक्क उठें। मिसिरजीले अन्तिम चेतावनी दिँदै भने- “मलाई एकदम नछाड्नु, बडो घुइँचो हुन्छ स्टेशनमा ।”
नभन्दै, स्टेशनमा बडो घुइँचो थियो । अकस्मात् कुल्लीहरू डब्बामा भरिन पुग्दा घुइँचो बेहद थपिएको जस्तो भयो । कोलाहल यत्रो भीषण कि गाउँघरमा आगो लाग्दा मात्र हुन्छ । एउटा सानो कुल्लीले मनेर आएर भन्यो- “म त्यो पोको पुऱ्याइदिन्छु बाहिर आधा पैसामा ।”
भीख मागेको जस्तो गरेर त्यसले भनेको थियो । त्यसको शरीरमा एउटा कौपिन मात्र थियो । मैले मिसिरजीतिर हेरें । उनले ठूलो डाकोमा कुल्लीलाई हकारे – “भाग् ।”
प्लेटफार्मबाट बाहिर आउन सजिलो थिएन । एउटा सानो फलामे फाटक, त्यो पनि केवल आधा मात्रै उघारेर एउटा कर्मचारी बडो अधिकारको गम्भीर भङ्गिमामा उभिएको थियो । त्यसको ट्वीलको सेतो पेन्ट र कोट घाममा यसरी टल्किरहेको थियो, माने लुगामा प्लास्टर लाएर त्यसमा चून पोतिदिएको होस् । लुगाभन्दा माथिपट्टि निस्केको उसको कालो मुखको चिल्लोपनमा घामको छाया टल्केको थियो र त्यसभन्दा माथि शिरमा गाढा नीलो रङ्गको नाइट केपको निधारबाट बाहिर निस्केको चुच्चोको पेटेन्ट छाला पनि घाममा टलक्क गर्थ्यो । एकचोटि हूलले मलाई दाहिनेतिरबाट किचेर मैले समातेको मिसिरजीको हातलाई फुत्काइदियो । म मिसिरजीको टाउकोलाई लक्ष्य गरेर चिच्च्याएँ- “मिसिरजी !”
फाटकमा उभिएको टिकटचेकरले एकचोटि बडो अधिकारको वाणीले गम्भीर स्वरमा भन्यो- " घुइँचो नगर, एक-एक गरेर आउँदै जाऊ ।”
अर्कोतिरबाट हूलले फेरि मलाई ठेलेर समात्न पुगेको मिसिरजीलाई मबाट छुट्टयाइदियो । लाग्यो, ज्यान र काखीमा बलपूर्वक दृढतासँग च्यापेर राखेको आफ्नो पोकोलाई बचाएर म फाटकभन्दा बाहिर आएँ । मिसिरजीले भने- “अब मोदिआइनकहाँ जाऊँ । त्यहाँ न्वाही, ध्वाई, खाइवरी शहर हेर्न तिमीलाई लगुला ।”
बाहिरको दृश्यमा हूलको त्यत्रो थिचोमिचो त थिएन, तर त्यहाँ पनि चहलपहल, हकारहुकुर, दौडादौड उस्तै थियो । स्टेशनको पश्चिमपट्टिको ठूलो इनारमा सैकडौँ मानिस भेला भएका थिए, कोई पानी झिक्दै, कोई पानी थाप्दै, कोई नुहाउँदै, कोई दतुनले दाँत मल्दै, कोई त्यसै कराउँदै उभिरहेका थिए इनारलाई चारैतिरबाट घेरेर । इनारसँगै टाँस्सिएको एउटा हलुवाईको पसलमा पुरी छानिइरहेको थियो, जहाँ ग्राहकहरूलाई डाकेर हात घुमाउँदै बीचबीचमा कराइरहने एउटा ठिटो थियो- “ताजा घ्यूमा बनेको पुरी खान यहीँ आउनोस् ….पेडा लड्डू…।” नभन्दै हलुवाई स्टुलमा बसेर बास्ना आउने तात्तातो घ्यूको कराईबाट फक्कफक्क फुलेको पुरी झिकिरहेको थियो र माथि काठको चौकीमा बसेर उसकी दुलही होली, पुरी तौलिरहेकी थी । मिसिरजीले मेरो लोभपट्टि ध्यान दिएछन् क्यार । उनले भने- “मोदिआइनकहाँ मीठो मीठो कुरा खान पाइन्छ । दाम पनि सस्तो ।”
स्टेशनभन्दा बाहिरपट्टिको दृश्यलाई टोलाएर हेर्दै म मिसिरजीको पछिपिछि लागें। कति अनगिन्ती एक्का यहाँ, कति सम्पत्ति ! बैलगाडीहरूको ताँती, लाग्थ्यो- यहाँको सडकमा कैले सिद्धिदैन । उत्तर-दक्खिनतिर गएको स्टेशनको हातासँग टाँस्सिएको त्यो सडक जसबाट माटो र सुर्खी मिसिएको मसिनो धूलो आकाशमा निरन्तर उडिरहन्थ्यो । त्यसै बखतमा एउटा गाढा हरियो पेन्टले टल्किएको फिटिन आयो, गोडाले थिचेर टन्टन् बज्ने घण्टी सडकमा हिँडिरहेका यान-वाहन र मानिसहरूको उपर गर्वसँग बज्दै । आफू हतारसँग छेउ लागेर मलाई पनि किचिनदेखि बचाउँदै मिसिरजीले भने - “राजदरबारको फिटिन गाडी हो - छेउ लाग, छेउ लाग ।”
निःसन्देह दरभङ्गा बडो ठूलो ठाउँ थियो, जसका अचिन्त्य कुरा देखेर म उत्सुकतापूर्ण र भयग्रस्त भएँ । स्टेशनभन्दा ठिक्क बाहिर सडकको उत्तापट्टि एउटा विशाल पोखरी थियो । जसको स्टेशनपट्टिको किनारामा मोदीहरूका केही पसल थिए । प्रत्येक पसल एउटा छाप्रो थियो, जसको अगाडि काठको चौकीमा ढक्कीभरि-भरि चिउरा, भुजा, चना र गहुँको सत्तू, गुड र केही पुराना लड्डू, नून, खुरसानी र कुनैकुनै पसलमा दही पनि सजाएर राखिएका थिए । ती पसलहरूमध्ये एउटा छेउको पसलमा हामी गयौँ, जसको कर्ताधर्ता एउटी मोटी, अग्ली हिस्सी परेकी मोदिआइन थी। मोदी दुबलो र पातलो प्राणी ओसाराभन्दा तल बसेर बीच-बीचमा खोक्दै नरिवलको गट्टाको हुक्का तान्द थियो । मोदिआइन आफ्नो पसलका भोज्यसामग्रीहरूको राशिपछिल्तिर ढसमस्स पलेंटी मारेर बसेर व्यग्र चिन्तित स्वरमा भनिरहेकी थी- “वैद्यकहाँ गएर यसो ओखती ल्याउने जाँगर छैन तिमीलाई ? फेरि कतिचोटि भन्यो हुक्काले दम बढाउँछ, सुन्नु छैन !”
र बीच-बीचमा बरछाको आकारको एउटा सानो ताडको हाते पङ्खाले आफूलाई हाँक्तै र खानेकुरामा बस्न लागेका झिंगा र अरिङ्गाल धपाउँदै गर्थी । मिसिरजीले उसको पतिका प्रतिको एकाग्रतालाई भङ्ग गर्दै भने- “मोदिआइन ।”
हामी दुई ग्राहकलाई देखेर भर्खरै दुलहालाई उलाहना दिइरहेको स्वर एकदम कोमल बनाउँदै उसले भनी- “आउनोस्, धेरै दिनमा आउनुभयो ।”
उसका सेता मिलेका दाँत उसको अनुहारमा टल्के र मुखलाई मुस्कानको सङ्केत र आत्मीयताको आर्द्रता दिए । मतिर हेरेर बडो मीठो र मायाको स्वरमा उसले भनी- “नानीलाई बडो भोक लागेको होला । हेर, ओठ कस्तो सुकेको ।”
मैले झट्ट ओठलाई जिभ्रोको टुप्पोले चाटें । मोदिआइन चौकीबाट उठेर हाम्रो स्वागतका लागि तल झरी । अनि पो मैले उसको विशाल कदलाई लक्ष्य गरेँ। स्थूल र अल्गो शरीर; खुकुलो, नाइटोलाई नछोप्ने खालको शिरबाट छिराउन हुने बनाउनलाई ठूलो घाँटी भएको छिटको चोलो, र बृहत् लम्बाइको नीलो धोती भुँडीभन्दा तलको एउटा गाँठोको भरमा अडेको, चाँदीका च्याप्टा-च्याप्टा र विभिन्न आकारका गहना कानमा, घाँटीमा र गोडामा, च्याप्टा र जसको हात बराबर फुस्किरहने, सुक्खा कपाललाई फेरि-फेरि जुरोमा बाँध्न शिरका उपर पुगिरहने तिनी नै थिइन् मोदिआइन । त्यस्ती अल्गी स्वास्नीमानिस हतपती देखा पर्दैनन् । झन् विहारको उत्तर भागमा, जहाँ मानिसहरू मसिना खालका मात्र हुन्छन्, त कुरै भएन । एकछिन टक्क परेर उसलाई हेरिरहें । उसले झुकेर मेरो काखको पोको झिकेर ली। अनि मैले देखें, उसका आँखा कति ठूला, कति काला, कति बानगी परेका र जसका परेला, कति भारी र कस्ता बाङ्गिएका । मुखको रोगन त कालै, तर कति चिल्लो र स्वास्थ्यले पुष्ट पारेर टल्काएको । उसको उज्यालो अनुहार बीच-बीचको उसको हाँसोले झन् फक्रिन्थ्यो । लाग्यो, उसले केवल आफ्ना मिलेका दाँत यसो देखाइदिनु मात्र पर्थ्यो कि तिनका चमकले उसको पुष्ट ओठको भिजेको रातोपन र चेहराको स्वाभाविक स्वास्थ्य त्यसै टल्किन थाल्नेछ । हातगोडा… बाहु सबै पुष्ट र फुक्क थिए । त्यहीँ तल भुइँमा बसेर खोकिरहने व्यक्तिको खाल्डा परेको अनुहार र करङैकरङको क्षुद्र शरीरलाई देख्ता ती दुलहा-दुलही भिन्न काल र स्थानका प्राणीजस्ता लाग्थे । ऐले मलाई सम्झना हुन्छ, तिनीहरूको कोई छोराछोरी थिएनन् किनभने त्यहाँ मैले कुनै केटाकेटीलाई देखिनँ । त्यसैले होला मोदिआइनको जीउ र अनुहारमा छिपिएको पन आउन नसकेको । छिपिएर पनि कलिलै लागेको हो, कि यथार्थमा कलिली नै थी त्यो मोदिआइन जो असयममै छिपिएकी जस्तै लाग्न थालेकी ? जे होस्, दुवै थोक उसमा थियो- छिपिएको पन र कलिलोपन ।
उसको मेरो प्रति बडो आत्मीयताका व्यवहार थियो । उसले सोधी- “बबुआ, तिमी पहिलोबोटि दरभङ्गा आएका हौ !” मैले मुन्टो हल्लाएर हो भनँ । तबसम्म मिसिरजी गुन्टाबाट धोती झिकेर न्वहाउन तैयार भैसकेका थिए । मोदिआइनले मलाई भनी- “तिमी पनि जाऊ न्वहाउन, तलको “हडाहा तलाव” मा । निर्मल पानी छ, ठन्डा, तर किनारैमा न्वहाउनू, भित्र टाढा नजानू । बडो गहिरो छ हडाहा ।” मैले बल्ल उसको मुख खोलें गर्वले यो भन्न कि- मलाई पौडिन आउँछ । उसले भनी– “ पौडिन जान्दछु भन्ने घमन्ड, तलाउ, वापी रह दहसामु नगर्नू । देउता बसेका हुन्छन् इनमा र गर्वका बोली सुने भने मन पराउँदैनन् । यै हडाहा तलाउमा कति मै हुँ भन्ने ……" मिसिरजीले तल पुगेर मलाई बोलाए- “कति अबेर गरेको बाबू, चाँडै आऊ ।” मोदिआइनले भनी- “जाऊ, न्वहाएर चाँडै आउनू । म चिउरा, दही, गुड र मिठाई ठिक्क पारेर राखिदिरहेकी हुन्छु । किनारैमा बसेर न्वहाउनू है, किनारैमा ।”
वास्तवमा, त्यस्तो ठूलो पोखरी मैले देखेको थिइनँ । पूर्वपट्टिको किनारामा उभिएर पश्चिम तटलाई हेर्दा त्यतापट्टिका मानिसलाई ठम्याउन गाहारो पर्ने । उसपारि आँप र सिसौको एउटा झुम्म परेको कालो बगैंचा थियो । हडाहा नभन्दै अथाह गहिरो होला, जसको पूर्वपट्टिको किनारा, स्टेशनतर्फ भएकोले, मानिसहरूको प्रयोगमा आएको थियो, त्यसको उत्तरपट्टि पनि सडक भएकोले शायद त्यता पनि घाट बनेका थिए, तर पश्चिम र दक्षिणतिर जङ्गल र बगैंचा मात्र थिए ।
तटमा पुगेर लुगा फुकाल्न लाग्दा मलाई मोदिआइनको चेतावनीको सम्झना भयो । उसले यस कुराको पनि इशारा गरेकी थी कि धेरै मानिसहरू डुबेर मरेका छन्, पौडिन सिपालु पनि । उसले यसमा निवास गर्ने देउताको पनि चेतावनी दिएकी थी। मैले पनि यो बिरानो ठाउँमा मोदिआइनको सल्लाह मानेर किनारैमा बसेर न्वहाउन उचित ठानें। एक चोटि आकाशमा एउटा सानो बादल उड्दै तलाउको माथि छहारी पार्दै गयो । तलाउको पानी हठात् कालो भयो, जस्तो कि कसैको अनुहार हुन्छ क्रोधमा । हावाको झोक्कामा पनि अथाह जलराशिको त्यो व्यापक विस्तार लाखौँ लघु लहरहरूमा आन्दोलित हुन थाल्यो, मानो कसैले उसको एकाग्रतालाई भङ्ग गर्दा जलराशि विक्षुब्ध हुन्थ्यो । मलाई पनि त्यसै डर लाग्यो । किनारसँग टाँस्सिएर र छिटछिटै न्वहाएर मोदिआइनकहाँ आएँ ।
मोदिआइनको प्रसन्न चेहरा मेरो भोजन-सामग्रीका उपर रखवाली गरेर पर्खिरहेको थियो । चिउरा धोएर पसलको पातलो पित्ले थालमा राम्ररी मिलाएर राखेको थियो, त्यसैसँग दुइटा लडडू, नून र गुड पनि । दहीचाहिँ कहतारैमा थियो ।
मोदिआइनले भनी– “ल, बसेर खाऊ । मिसिरजीलाई पर्खिनु पर्दैन । उनी सन्ध्या गरेर आउलान्, बेर लाग्ला उनलाई । केटाकेटीलाई पर्खिनु पर्दैन ।” उसले फेरि भनी- " हडाहा तलाउ कत्रो अजङको छ हगि ? कस्तो लाग्यो नानी, तिमीलाई ? पानी कस्तो कञ्चन र शीतल, होइन ?"
मैले सोधे– “मोदिआइन, के त्यहाँ देउता बास गर्छन् ? घमन्ड गर्नेलाई सहँदैनन् के ? कति मानिस डुबेका छन्, हँ ?” “कति कति ! यो आजको पोखरी हो र ! बडो शक्ति भएको देव बस्छ त्यहाँ । योजस्तो पोखरी यहाँ जिल्लाभरि अरू कतै छैन ।” मैले पनि उत्सुकतासँग समर्थन गरेँ, भनें- “हो, यत्रो ठूलो पोखरी मैले कहीँ पनि देखेको छैनँ ।” फेरि बडो मायाले मैले खाइराखेको हेरेर मोदिआइनले भनी– “बबुआ, तिमी के गछौं ? पढ्छौ कि पढ्दैनौ ?” मैले भनें- “पढ्छु ।” झुकेर मेरो शिरनेर आफ्नो शिर ल्याएर उसले फेरि सोधी – “के पढ्छौ, नानी ?" “ए… बी….सी… डी…” “पढेर के गछौं ?” घरमा जसरी मैले भन्ने गरेको थिएँ त्यै निर्धक्कतासँग मैले भनें- “ठूलो मानिस हुन्छु ?” उसले फेरि सोधी – “कस्तो ठूलो मानिस ?" मैले यस्तो प्रश्नको उत्तर जानेकै थिइनँ । चुप लागेर खाइरहेँ । उसले नजिकै थचक्क बसेर भनी- “ठूला मानिस थरीथरीका हुन्छन् । असल मानिस भने एक थरीका मात्र हुन्छन् । ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू, नानी ।” खोकिरहने मोदीले कुनाबाट नाकेबोलीमा भन्यो- “मोदिआइन, यो तेरो कस्तो बानी, जसलाई पनि अर्तीउपदेश मात्र दिइरहन्छेस् ।” तबसम्म मिसिरजी पनि न्वहाइवरी आइसकेका थिए । मोदिआइन जुरुक्क उठी र उनलाई सम्बोधन गरेर भनी- “बबुआ भोकाए होलान् भनेर मैले उनलाई दही चिउरा खान दिएँ । तपाईं भात पकाएर खाने भए चामल, दाल, घ्यू, तेल, दाउरा सबै थोक झिकेर राखिदिएकी छु, चूलोमा आगो पनि बालिदिन्छु नत्र, दही चिउरा नै खाए हुन्छ ।” उनले भने- “मलाई भात पकाउने जाँगर छैन ।” उनलाई दही चिउरा ठिक्क पार्न मोदिआइन चौकीमाथि उक्ली ।
मिसिरजीलाई खाना ख्वाइवरी ऊ भित्र आफ्नो कोठामा गई । मोदी पनि खोक्तै-खोक्तै उसको पछि लागेर भित्र पस्यो । मलाई लाग्यो, उनीहरू पनि दिउँसोको भोजन गर्न थाले । मुखमा गाँस राखेको स्वरले मोदिआइनले भित्रबाट भनी “त्यहाँ कौवा चील आउला, हेरिदिनुहोला । म एकछिनमा आउँछु ।”
हठात् आफ्नो दरभङ्गा आउने प्रयोजन सम्झेर म व्याकुल भएँ । दिउसो एघार बजेको हुँदो हो, त्यो समय जब शहरबजारको कोलाहल एक घडीका लागि शान्त हुन्थ्यो । स्टेशन शून्य थियो, सडकमा पनि गाडी या पैदल यात्री फाटफुट मात्र देखा पर्थे। टन्टलापुरको घाम चारैतिर फैलिएको थियो । आकाशमा चीलहरू बगिरहेका थिए धेरै माथि । पसलको नीमको रूखमा कैले कैले कौवा आएर कराउँथे । कैले कैले एउटी बिराली एउटा पसलबाट अर्को पसल गएकी देखिन्थी । हडाहा पोखरीमाथि सूर्यको प्रखर घाम अनवरत परिरहेको थियो, तर ऐले पनि बादलको छाया पर्दा पानी एकछिनमै मसीजस्तो कालो हुन्थ्यो र हावाको सानो झोक्कामा पनि असङ्ख्य लहरका साथ त्यहाँको पानी चञ्चल भएको देखिन्थ्यो । मैले मिसिरजीलाई ढिपी गरें- “शहर हेर्न जाऊँ ।” उनले आश्चर्यसँग भने- “यस्तो घाममा !” मैले ढिपीमाथि ढिपी गरेँ र उनलाई यति व्यग्र पारें कि उनले उठेर एउटा एक्का लिनुपर्यो, शहरको पूरा परिक्रमाको निमित्त होइन कि नगरदर्शनको पहिलो कदमका लागि मात्र एक्काले राजदरबारसम्म हामीलाई पुऱ्याइदियो । त्यहाँ एक्काबाट ओर्लेर हामी पैदल हिँड्न थाल्यौँ । अजङको फलामे फाटकनेर उभिएर लालदरबारलाई हामीले हेऱ्यौँ जसका सम्बन्धमा बेहान रेलगाडीमा बूढो यात्रीले भनेको थियो कि डेढ करोडको लागत परेको छ त्यसलाई बनाउन । आँखाले भ्याउन्जेलसम्म लामो दरबार, त्यस्तै विशाल फूलको बगैंचा जसमा नाना प्रकारका सिँगारे रूख र फूलका बिरुवाहरू लागेका थिए ।
फाटकमा उभिएको बन्दूकधारी रक्षकले हामीलाई हकार्यो- “के हेरेको, भाग यहाँबाट ।” त्यहाँबाट हामी हात्तीसार, घोडासार, असबावखाना हेर्दै हिँड्यौंः एकसेएक चमत्कारका वस्तुहरू ! फेरि त्यताबाट बजारपट्टि लाग्यौँ । दरभङ्गा शहर तिनताका एकै ठाउँमा स्थित थिएन - मुहल्ला-मुहल्ला, टोल-टोल आपसमा छुट्टिया थिए । एक ठाउँबाट अर्को ठाउँ जाँदा गाउँको सानो खण्डलाई पार गर्नुपर्थ्यो- खेत, बारी, ताडका ठूलाठूला रूख, र बीच-बीचमा ताडीखानाका झोपडीहरू ठाउँ-ठाउँमा ठूला-ठूला नालाहरूमा मुहल्लाभरिका फोहर गजगज गरेर उम्लिरहन्थ्यो । शहरका बाबूहरू खपडाका छाना भएका बङ्गलाका उच्च बरन्डामा ठूलाठूला भारी किसिमका च्याप्टा खालका आरामी कुर्सीमा जसमा शरीरलाई केवल आधा सुताएर मात्र राख्न सकिन्थ्यो, लेटेर दिउँसोको शून्यतापट्टि हेरिरहेका थिए । कैले कैले सडकको माटोलाई धूलो पार्दै एक-दुई एक्का या बैलगाडी पास गर्थ्यो ।
दरभङ्गा शहरको यो लामो भ्रमणले आँखामा अनौठा अनौठा दृश्य भर्दै, तर शरीरमा तीव्र थकान लिँदै साँझपख हामी फेरि मोदिआइनकहाँ आइपुग्यौँ, मिसिरजीले लखतरान भएर, थचक्क चौकीमा बसेर लामो सास ताने । मोदिआइनले एक बाल्टी पानी र लोटा ल्याएर भनी- “तपाईंहरू धेरै थाक्नुभयो होला, हातगोडा धोएर थकाइ मार्नोस् । हेर बबुआलाई, बिचरा ।" जस्तै मायाको वचन उस्तै उसको हेराइ पनि । मिसिरजी उठे, लोटा टिपे र भने– “म यसो पोखरीतिर जान्छु । त्यहाँ सबै कुराबाट निवृत्त भएर आउँछु । अनि मलाई काममा बाहिर जानु छ ।” म पनि पोखरीमा जान भनी उठें। मोदिआइनले मलाई रोकेर भनी- “पर्दैन नानीले जानु पोखरी, ऐले कुबेलामा । थाकेका पनि छौ ।” मैले त्यहीँ पिँढीमा गोडा-मुख धोएँ र नाङ्गो चौकीमा आएर बसँ । मोदिआइनले एउटा ठूलो लालटेन बाली र त्यसलाई फलामको एउटा पातलो डन्डीमा झुन्ड्याइदी। एक-एक गरेर अरू पसलमा पनि बत्ती बले । स्टेशनमा पनि बत्ती बल्यो । एकछिनमा साँझ झमक्क पर्यो । किथ्रो र भ्याउँकीरीको तीखो ध्वनिले बेलुकाको वातावरण गुञ्जरित हुन थाल्यो । हडाहा पोखरी अन्धकारमा लुप्त भयो, केवल बाक्लो कालो निस्तब्धताको एउटा पत्रो त्यसमाथि परेको जस्तो थियो, जसका उपर असङ्ख्य जूनकीरी बल्दै निभ्दै उडिरहेका थिए । हडाहाका उपर साँझ विशेष रूपले बाकलिया जस्तो मलाई लाग्यो । मैले शिथिल स्वरमा सोधें- “मोदिआइन, हडाहा पोखरीमा सधैं साँझ यस्तै कालो हुन्छ ?”
उसले एक चोटि मतिर पुलुक्क हेरी । अँध्यारोले होला, मलाई लाग्यो, ऊ टाढाबाट मतिर हेरिरहेकी छ, तर उसको स्नेह-वाणीले आश्वस्त भएर उसले भनेको मैले सुनें- “नानी, हडाहा एउटा विशेष किसिमको पोखरी हो ।” मैले सोधें - “कस्तो ?” उसले भनी– “यो बडो प्राचीन पोखरी हो, महाभारतको पालाको जब कि यो ठाउँ आटव्य जङ्गल थियो, जसको बीचमा एउटा सानो पोखरी ।" “अनि !” “पछि-पछि जङ्गल मासिँदै गयो। गाउँ र मानिसहरूले जङ्गललाई पेल्दै हिँडे र कालान्तरमा यो ठाउँमा बस्ती नै बस्यो र पछि दरभङ्गाको अहिलेको महाराजको पुरुखाले आफ्नो जमिन्दारीभित्र पारे ।” मोदिआइनले एकसुरे बोलीमा भनिरही । म बेसरी थाकेको थिएँ र उसको बोलीको एकसुरले म तन्द्रामा परेको जस्तो भएँ । ऊ भन्दै गई- “… यै तलाउको किनारामा, त्यस बखत यो तलाउ एउटा सानो वापी थियो झारैझारले घेरिएको - बसेर एउटी मछुवारिन माछा बेच्थी । मछुवारिन अल्गी थी, हिस्सी परेकी र मोटी र जस्तो कि चलन छ, उसको शरीरभरि चाँदीका गहनाहरू रहन्थे । उसको घर कहाँ थियो, ऊ कहाँ माछा मार्थी, यी सब कुरा कसैलाई थाहा थिएन, तर उसका माछा असल हुन्थे, त्यसो हुनाले ऊ आफ्नो ठाउँमा बस्दानबस्दै उसका माछाको बिक्री भैसक्थ्यो ।
म चुप्प लागेर लट्ठिएको देखेर उसले कथालाई भन्दाभन्दै थामी र सोधी – “सुनिरहेछौ, नानी ?” मैले भनें- “अनि नि, मोदिआइन ?” “एक दिन ऊ सधैंको जस्तो माछा लिएर तलाउको किनारामा आफ्नो कुनामा आएर बसी । त्यस दिन एउटा ठूलो रोहु माछा थियो उसको डालामा । त्यसै बखतमा दरभङ्गा राजाको एउटा नामी तान्त्रिक तलाउमा न्वहाएर दुर्गा कवच पाठ गर्दै आइरहेको थियो । उसले रातो धोती, रातो भोटो र रातो काने टोपी लगाएको थियो । मछुवारिनको डालोको त्यो राम्रो रोहुलाई देखेर त्यसलाई किन्यो । मछुवारिन त्यत्रो ठूलो माछा एउटा ग्राहकले किनेकोले खुशी भई र हाँसेर पण्डितलाई भनी- “पण्डितज्यू, तपाईंको घरभरिलाई यसले मनग्गे पुग्ला ।” उसले हाँस्दा देखिएका उसका मिलेका दाँतको चमकले मछुवारिनको अनुहार टलक्क भएर टल्कियो र उसका ओठ रसाएका जस्ता चिल्ला भए । तान्त्रिकले त्यो सुन्दर नारीलाई मक्ख परेर हेरिरह्यो कि त्यसै बखतमा एउटा चीलले झम्टेर तान्त्रिकका हातको माछो चटक्क टिपेर उड्यो, तर माछा यति भारी थियो कि चीलले टाढा लैजान सकेन, पचास डेगजति पर लगेर झारिदियो । मछुवारिन एक चोटि फेरि हाँसी । तान्त्रिकले बडो गौरसँग मछुवारिनलाई हेर्यो । उसलाई लाग्यो कि हाँसोपछिको चेहरा कुनै प्राचीन नारीको छ, जसमा मुख्य भाग वेदनाको मात्र छ । हाँसो मात्र ताजा र अहिलेको । उसले बुझेको जस्तो गरी सोध्यो- “मछुवारिन, तिमी किन हाँस्यौ ? को हौ तिमी ?” मछुवारिनले भनी– “म को हुँ तिमीलाई के चासो ? हाँसेको किनभने कलियुगमा मानिस मात्र खिइएनन् कि पशुपक्षी पनि खिइसके । हेर न, त्यो रोहुलाई चीलले उडाएर लैजान सकेन । पहिले-पहिले मानिसहरू पराक्रमी र हात्तीजस्ता शक्ति राख्ने हुन्थे र पशुपक्षी पनि त्यस्तै बलिया महाभारतको पालामा कुरुक्षेत्रबाट एउटा योद्धाको शरीरलाई टिपेर उडेको चीलले यही वापीमा आएर त्यस शवलाई फ्याँकेको थियो । कहाँ कुरुक्षेत्र र कहाँ दरभङ्गा ! त्यत्रो दूरी ! र योद्धाको भारी शरीरलाई बोकेर उड्नु यति टाढा ! कत्रा चील हुँदा हुन्, कति शक्तिशाली, तिनताका ।”
तान्त्रिकले फेरि सोध्यो – “तिमी को हौ बताऊ; यो कुरा तिमीले कसरी थाहा पायौ ?” मछुवारिनको मुखबाट मुस्कान हठात् उडेर गयो, विषादले त्यो भरियो । उसले आफ्नो डालो टिप्तै भनी– “म को हुँ, त्यसको तिमीलाई के प्रयोजन !" तान्त्रिक किञ्चित् अधिकारको स्वरमा केही भन्दै थियो कि डालो बोकेकी मछुवारिन सुनेको नसुन्यै गरेर हिँडी । तान्त्रिकले बाटो छेकेर रहस्य उद्घाटन गर्ने उद्देश्यले कड्केर भन्यो- “मछुवारिन, थाम । तिमी को हौ मलाई नबताएर जान पाउँदिनौ ।" तर, तबसम्म मछुवारिन अलोप भैसकेकी थी। न त्यहाँ मछुवारिन नै थी, न उसको डालो। केवल तान्त्रिकले कड्केको ध्वनि केही बेरसम्म बिहानको वायुमण्डलमा गुञ्जिरह्यो र केही दूर भुइँमा खसेको रोहु माछा बेहानको घाममा टल्किरह्यो ।" मैले बडो व्यग्र भएर सोधें- “अनि के भो, मोदिआइन ?” “अनि के भयो र तान्त्रिक सोझै राजदरबारमा गयो र राजालाई सबै वृत्तान्त सुनायो । अनि तान्त्रिककै सल्लाहले वापीलाई खन्ने निर्णय भयो महाभारतको योद्धाको शरीरको हाड केही फेला पर्छ कि भनेर । पाँच हज्जार ज्यामीले छ महिना रात-दिन गरेर यसलाई खने । घरै हाडखोड पाइयो । तिनलाई गङ्गाजीमा लगेर अनुष्ठानपूर्वक सेलाए । त्यहाँको यो सानो वापी खनिएर यत्रो ठूलो पोखरी भयो र यहाँबाट हाड पाइया हुनाले यसलाई हडाहा पोखरी भन्छन् ।" मैले बडो उत्कण्ठाले सुकेको स्वरमा सोधें - “अनि ?” मोदिआइनले भनी “त्यति हो कथा यस तलाबको । अब तिमी खाइवरी सुत । थाकेको हौला ।” थाकेको म निश्चय नै थिएँ । दिनभरिको शहरको प्रदक्षिणाले गर्दा शरीर अत्यन्त क्लान्त भएको थियो । आँखा पनि बीच-बीचमा थकानले भारी भएर त्यसै चिम्लिन खोज्थे, तर साथै, मछुवारिनको कथाले उत्तेजित पनि हुन्थे । त्यसै बखतमा सन्ध्या सिद्धयाएर मिसिरजी पसलभित्र पसे । उनले भने- “मोदिआइन, बाबूलाई राम्ररी ख्वाइवरी सुताउनू । म बाहिरै खान्छु । धेरै राति भएपछि फर्कुला, दुई स्टेशनअगाडि जानु छ । गाडी पनि आउने बखत भयो; म हिँडें ।”
म हतारिएर उनीनेर पुगें र ढिपी गर्न थालें- “म पनि जान्छु ।” मिसिरजी यसपालि त केही गर्दा पनि मानेनन् । मोदिआइनले पनि भनी – “कहाँ जान्छौ थाकेको शरीरलाई लिएर यो रातमा ! मिसिरजी आइहाल्छन् नि फर्केर चार-पाँच घण्टामा । ल हिँड, खाएर सुत । म भन्टाको तरकारी भुटिदिन्छु दूध र भुजा खानू ।” मिसिरजी स्टेशनतर्फ लागे । मोदिआइन चूलोमा बसेर भन्टा तार्न थाली । भित्रको कोठामा मोदी खोक्दै बसिरहेको थियो । म एकछिन एक्लै चौकीमा बसेर अँध्यारोले ढाकेको दरभङ्गा शहरलाई हेर्न थालें । बीच-बीचमा झल्याँस्स भएर मछुवारिनको सम्झना हुन्थ्यो, सम्झिन्थें । ऐले जुन पोखरी रात्रिको निस्पट अन्धकारमा विलीन भएको छ त्यसैको किनारामा त्यो बस्थी, यही पसलको थलोनेर कतै…..। म चौकीमा धेरै बेरसम्म बस्न सकिनँ । चूलोनेर पुगें । मोदिआइनले भनी – “भोक लाग्यो, नानी ? बस, एकछिनमा सबै थोक तयार पारिदिन्छु ।" मैले भनें- “मोदिआइन, महाभारतको कालका मानिसहरू त्यति पछिसम्म बाँच्छन् र ? मछुरिन थी र साँच्चै ?" उसले भनी – “किन बाँच्दैनन् ? प्रेतात्मा भएर जुगजुगान्तरसम्म बाँचिराख्छन् । आफ्ना प्रियजनहरूको नजिकै भइरहन खोज्छन् । कुनै न कुनै वाञ्छाले, कुनै न कुनै पूर्ति नभएको कामनाले, उनीहरूलाई अमर पारेर मृत्युलोकमा दृश्य-अदृश्य आकार रूपमा घुमाइरहन्छ । मैले पक्क परेर सोधें- “ऐले पनि होली त्यो स्वास्नीमानिस ?” मोदिआइनले तरकारीलाई आगोबाट झिकी र भनी “होली नि । ल, बस खान ।”
उठेर गएर पिर्का लिएर आई र मलाई बस्न भनेर उसले मनेर राखिदी । यो नौलो ठाउँमा एउटी नौली आइमाईले दिएकी दूध, भुजा, गुड र भन्टाको तरुवा खाँदा मलाई बडो बिरानो र एक्लो भएको अनुभव भो । घरमा आमालाई सम्झै, बालाई सम्झै; सम्झै भाइबैनीहरू अघि नै खाएर सुतिसके होलान् । मिसिरजी कैले फर्कने हुन् । आएनन् भने ? मेरो मन आत्तियो । मलाई सुत्न भनेर चौकीमा एउटा काम्लोमाथि नीलो च्यादर बिछ्याइदिएकी थी मोदिआइनले । एउटा मैलो तकिया सिरानीपट्टि राख्तै उसले चौकीबाटै मलाई हेरी र भनी – “किन नखाएको, नानी ? चाँडै खाऊ र पेटभरि खाऊ । ईः हेर बिछौना लाइदिसकें । तिमीलाई सुत्न ।” म छिटै खाएर उठें र हात धोएर बिछौनामा आएर पल्टें । मोदिआइनले भाँडाकुँडा मलेर अगेनानेर ठाडो पारेर राखी। अनि एउटा डिवरी लिएर आई र त्यसलाई चूलोमाथि राखिदी; तारमा झुन्ड्याएको लालटेनलाई निभाइदी । अब केवल चूलोमाथिको मुस्लो धूवाँ फ्याँकिरहने डिबरीको रातो राँकोले त्यहाँ क्षीण प्रकाश दिन थाल्यो । बाहिर निर्जन रात्रिको असङ्ख्य कीराहरूको मसिनो आवाज मात्र थियो । मोदिआइनले एक चोटि कोठाको चारैतिर हेरेर सबै कुरो ठीक पाएर मलाई हेर्दै भनी “ल, अब सुत । डराउन त डराउँदैनौ, नानी ?" मैले बडो बलपूर्वक साहस देखाउँदै मुन्टो हल्लाएर भनें- “डराउँदिनँ ।” जाँदाजाँदै उसले भनी- “म त्यहीं भित्रको कोठामा हुन्छु । चाहिए मलाई बोलाउनू मोदिआइन भनेर, है !” ऊ जानेबित्तिकै रात्रि निस्पट एकान्त भयो । डिवियाको रातो शिखा कैले हल्लिन्थ्यो र त्यसैका साथ कोठामा तमाम छायाहरू पनि हल्लिन थाल्थे । भित्ताका छायाहरू, ढक्कीको, गुन्टाको लट्ठीको, वोराको छाया कैले-कैले दायाँबायाँ गरेर हल्लिन्थे पिङ खेलेको जस्तो र कैले मच्चिन छाडेर एक्कै ठाउँमा थर्किन थाल्थे। डिवियाको बत्ती कैले कैले चट-चट गरेर चर्किन्थ्यो र बत्तीको मुखमा गाँठगाँठा बन्दै जान्थे । केवल धूवाँको मुस्लो एकनाससँग छानापट्टि गइरहेको थियो । मलाई बिस्तार-बिस्तार डरको सञ्चार हुन थाल्यो । यसरी एक्लै म कैले पनि सुतेको थिइनँ । मछुवारिनको कथा पनि झलझल सम्झन थालें । मेरो मुटु डरले काँप्न थाल्यो र शरीरमा काँडैकाँडा उम्रियो । लाग्यो, बाहिर निस्तब्धतालाई भङ्ग गर्दै पानीमा कसैले छप्प गर्यो । म एकदम भयभीत भएर कराएँ- “मिसिरजी !”
“मोदिआइनले भित्रैबाट सोधी- “के भो नानी ?” मैले भनें- “हडाहा पोखरीको पानीमा छप्प भो ।” उसले भनी – “सुत, सुत । माछा उफ्रेको हो पानीमा ।” मोदीले प्राणै दिउँला जस्तो गरेर लहरेखोकी खोक्न थाल्यो । मोदिआइनले कुन्नि के भन्दै उसको छातीमा मालिस घस्न थाली । मोदीले भने कफ भरेको गलाले भन्यो- “ओह ! मर्न पाए पनि हुन्थ्यो ।” मोदिआइनले भनी– “के राति अमङ्गल कुरा भनेको, मोदी ! मालिसले अब तिमीलाई ठीक हुन्छ । सुत्ने कोसिस गर ।” एकछिनपछि भित्र कोठाको हलचल शान्त भयो । शायद, तिनीहरू सुते । मोदीले भारी आवाजले एकनाससँग सास फेरेको बाहिर सुनिन थाल्यो । फेरि रात्रिको भयावह निस्तब्धता, दियोको प्रकाशको सानो घेराभन्दा बाहिरको निविड अन्धकार र रात्रिको निशाचरी कीराहरूको मसिनो तीखो गुञ्जन र कोठाको भित्तामा हल्लिरहने, मच्चिने, थर्किने छायाहरू । फेरि म भयभीत हुन थालें र बारवार मछुवारिनको प्रेतात्माको सम्झनाले म निस्सासिया जस्तो हुन थालें । दिनभरिको हिँडाइले शरीर थाकेर लथपथ थियो र आँखामा लठ्ठिएर निद्रा आउन खोज्थ्यो, तर डरले गर्दा भुसुक्क निदाउन सकिनँ । कसो आँखा लाग्नेबित्तिकै सपना देखेको जस्तो लाग्थ्यो र त्यसै डरले फेरि बिउँझिहाल्थें । सपना र बिपना दुवैमा एकनासको डरका तस्वीर मात्र खिचिन्थे । एक चोटि त्यसै आत्तिएर फेरि चिच्च्याएँ- “मिसिरजी !” मोदिआइन के भो के भो भन्दै आई, मोदीले फेरि खोकेको सुनँ । मोदिआइनले भनी- “तिमीलाई डर लागेछ विचरा ! म यहीं तिमीनेर बसिरहन्छु ।”
मलाई निर्धक्क भयो र लाग्यो म निद्राको लट्ठयाइमा पर्न थालें । मोदिआइनले भनी– “तिमीलाई कथा मन पर्छ ? सुनाऊँ ?” मैले बडो आश्वस्त मानेर भनें- “सुनाऊ, मोदिआइन !” मोदिआइन कथा भन्न थाली, उसको एकनासको सुरमा जस्तो कि उसको बानी थियो । टाढाबाट सुनिएको जस्तो वाणीमा उसको स्वर मेरो कानमा परिरहेको थियो । निर्धक्क भएकोले भित्ताको छायाको हल्लाइ अब एउटा कौतुक खेलाजस्तो मात्र लाग्यो। दिनभरिको परिश्रमले शरीरको रग-रगमा निद्राको सञ्चार गरिरहेको थियो । हडाहामा बीच-बीचमा छप-छपको ध्वनि हुन्थ्यो टाढाबाट सुनिएको कुनै ध्वनिजस्तो । बिहान स्टेशनको कोलाहल र हूलमूलको दृश्य, लालदरबार, हात्तीसार र शहरका अरू दृश्यहरू मेरो थाकेको मस्तिष्कमा धोइएको रङ्गजस्तो फिका हुँदै गइरहेका थिए । लाग्यो, म बीच-बीचमा झपक्क निदाउँथें पनि र सपनाका तस्वीर एकपछि एक गरेर हेर्न थाल्थें । यी सबका बीचमा मोदिआइनको झन् लट्ठ पार्ने एकसुरे कोमल बोली लगातार कानमा परिरहेको थियो हुरी, वर्षा सिद्धिएपछि बाहिर छानाबाट बिस्तारै तपतप गरेर पानीका थोपा खसेको जस्तो । ऊ भन्दै थी- “एकादेशमा धेरै-धेरै धे….. रै पहिले भारतवर्षमा हस्तिनापुर भन्ने एउटा ठूलो राज्यको राजधानी थियो । त्यहाँका राजा धृतराष्ट्र भन्ने बूढा अन्धा थिए । अन्धा भएकोले गद्दीमा बस्न पाएनन् । राजा हुनका लागि उनका छोरा र भतिजाहरूमा कलह हुन थाल्यो । धृतराष्ट्रकी रानी गान्धारी बडा पतिव्रता थिइन्, त्यसो हुनाले पतिले आफ्नो आँखाले विश्वको सुन्दर रचना हर्न पाउँदैनन् भने मैले पनि आँखाको भोग गर्नु हुन्न भनेर आँखामा सधैं पट्टी बाँधेर बस्थिन् । उनीहरूका एक सय छोराहरू थिए । जेठाको दुर्योधन नाउँ थियो । धृतराष्ट्रको खलकलाई कौरव भन्थे । धृतराष्ट्रका पाँच जना भतिजा थिए । तिनमध्ये जेठा थिए युधिष्ठिर । यी पाँच जना भाइलाई पाण्डव भन्थे । छोरा र भतिजाहरूमा कलह बढेको हुनाले धृतराष्ट्रले बूढाहरूको सल्लाह लिएर भतिजाहरूका लागि राज्य छुट्टयाएर अर्को राजधानी बनाइदिए, इन्द्रप्रस्थ ।
जमुनापारि हस्तिनापुरको उत्तर-पूर्वपट्टिको ठूलो खाण्डवप्रस्थ जङ्गललाई फाँडेर इन्द्रप्रस्थको स्थापना भएको थियो । खाण्डवप्रस्थमा पहिले जङ्गलमा निवास गर्ने धेरै जातिहरूका बस्तीहरू थिए र त्यहीं ठाउँ-ठाउँमा जङ्गल फाँडेर धेरै आर्य परिवारहरू पनि बस्ती बनाएर बस्थे । इन्द्रप्रस्थको स्थापनामा यी सबै बस्तीहरू मासिए । जङ्गलमा बस्ने आदिजातिहरू उत्तरतिर बाक्ला जङ्गलभित्र पस्दै गए, तर खेतीबारी गरेर बसेका परिवारहरूको बडो बिचल्ली भयो । उनीहरूको घरद्वारा निर्मूल भयो । त्यसै बेघर हुन गएका परिवारहरूमध्ये एउटा क्षत्रिय परिवार थियो, जसमा एउटी सानी बालिका थी, जसको नाउँ… जसको नाउँ… जसको नाउँ… ल सम्झे नारी थियो । नानी, नारी भनेको थाहा छ तिमीलाई ?” “किन थाहा हुँदैन मलाई ? नारी भनेको स्वास्नीमानिस !” मोदिआइनले भनी- “हो, मजस्तै स्वास्नीमानिस । तिमीलाई धेरै कुरा आउँदो रहेछ, नानी ।” यो प्रशंसाले मलाई वडो सन्तोष भएको अनुभव भयो । आँखामा निद्रा धेरै चढिसकेको थियो । घरमा पनि आमाहरू सुत्ने बखतमा यस्तै कथा सुनाउनुहुन्थ्यो र सुन्दासुन्दै म भुसुक्क निदाउँथें । अहिले पनि घरैको जस्तो रमाइलो भइरहेको थियो; कथा पनि घरैमा सुनेको जस्तो । साँच्चै यो कथा पनि आमाले कैले भनेको थियो जस्तो लाग्यो मलाई । मेरो शरीर लठ्ठिदै गयो, एउटा अवर्णनीय आनन्दमा पस्तै गएजस्तो । सवै कुरो, मानौँ बिर्सिइयो, केवल मोदिआइनको कोमल कण्ठको आवाज र त्यस आवाजले चित्रित गरिरहेको कथाको तस्वीर मात्र बाँकी रह्यो मेरो चेतनामा । “नारी त्यस समय एउटी सानी नग्निका बालिका थी। इन्द्रप्रस्थको राजधानी बनाउँदा असङ्ख्य मानिसहरूको भीड त्यहाँ लाग्न थाल्यो । रातदिन गरेर बिस्तार-बिस्तार ठूला-ठूला महलहरू खडा हुन थाले । बगैंचा-वाटिका लगाइए; कारिगरहरूले सुन्दर-सुन्दर मूर्तिहरू गढेर ठाउँ-ठाउँमा उभ्याएर राखिदिए । इन्द्रप्रस्थको शोभाले इन्द्रपुरीलाई पनि मात गर्न थाल्यो। तयार भएको त्यस नयाँ नगरमा नौला किसिमका नौला-नौला पोशाक पहिरन भिरेका मानिसहरू आएर बस्न थाले । गाना-बाजाले बजार रमाइलो भयो । हात्ती आए; घोडा आए, आए रथ ठूला-ठूला, सिँगारिएका; अस्त्रशस्त्रले सुसज्जित वीर रक्षकीहरू आए । बालिका नारी बडो विस्मयसँग आँखा फारेर यो विराट् परिणति हेर्थी । सडकमा नाङ्गै कुदै, आफूजस्तै बालक-बालिकाहरूको हूलमा, एक ठाउँबाट अर्को ठाउँमा नयाँ-नयाँ चमत्कारका कुरा हेर्दै हिँड्थी, तर आमाबाबुहरूलाई भने बडो पीर परेको थियो । घरबारी हरण भइसकेको थियो । शहर स्थापना हुँदा ज्यामी भएर धेरैले काम पाए, धेरै शहरकाले अरू किसिमका पेशा पनि अङ्गीकार गरे । कति आइमाईले गणिका वृत्ति लिए । पेट त येनकेन प्रकारेण पालिन्थ्यो, तर आफ्नो स्वतन्त्र खेती वृत्ति भएकोले त्यहाँका पूर्वनिवासीहरू बडा दुःखी भएका थिए, तर केही उपाय थिएन ।
एक दिन बडो सजधज र आयोजनाका साथ पाण्डवहरूले आफ्नो शहरमा प्रवेश गरे । त्यत्रो हूल थियो त्यहाँ त्यस दिन जुन दिन उनीहरू गृहप्रवेश गरिहेका थिए । ठूलो यज्ञ भयो, ब्राह्मण र पुरोहितहरूले उच्च कण्ठले वेद पाठ गरे; शस्त्रअस्त्रको प्रदर्शन भयो र भेला भएका सैनिक र नागरिकहरूले ठूलो स्वरमा पाण्डवहरूको जयजयकार गरे । यज्ञ धूमले व्याप्त आकाश धेरै बेरसम्म जयध्वनिले प्रकम्पित भइरह्यो । बालिका नारीले यो सारा आयोजना र प्रदर्शन बडो कौतुकमयताका साथ हेरी । उसले देखी पाण्डवहरू बडा सुन्दर युवक रहेछन् र उनकी स्त्री द्रौपदीको सुन्दरताको कसले वर्णन गर्न सक्थ्यो । घर-घरमा सबै पहिलेदेखि नै उसको चर्चा गर्थे । सानी भएर पनि नारी बालिकाले यो बुझी कि द्रौपदी पाँच प्रतापी युद्ध-कुशल पुरुष-रत्नहरूकी सम्मिलित प्रेमपात्र भएकीले उसका नाक, भृकुटी र ग्रीवा गर्वले चढेका थिए । पाण्डवहरू इन्द्रप्रस्थबाट आफ्नो दिनप्रतिदिन बढ्दै गएको राज्यको शासन गर्न थाले । इन्द्रप्रस्थले एउटा राजधानीको साधारण गतिमा प्रवेश गर्यो, त्यहाँका नागरिकहरू आफ्ना आफ्ना वृत्ति र रोजगारमा लागे । शहरको नूतनता बिस्तार-बिस्तार समाप्त हुँदै गयो । विस्थापित परिवारहरू पनि एक-एक गरेर नगरका स्थायी नागरिक परिवारमा परिणत हुँदै गए र उनीहरूले क्रमशः पूर्ण रूपले नागरिकतालाई ग्रहण गर्न थाले । नारी बालिकाबाट अलि ठूली हुँदै गई । कम्मरमा कन्दनीको सहाराले सानो वस्त्रखण्ड बेर्न थाली ।
तर, हस्तिनापुरको दुर्योधनको दरबारमा र इन्द्रप्रस्थको युधिष्ठिरको दरबारमा भित्री प्रतिस्पर्धा बढ्दै गयो नित्यप्रति । दुर्योधनलाई पाण्डवहरूको बढ्ती भएको असत्य हुन थाल्यो; उता पाण्डवहरू पनि प्रतिरक्षाको तयारीमा लाग्न थाले । दुवैमा युद्ध त भएन, तर सामरिक तयारी हुन थाल्यो; एक प्रकारको शीतयुद्धको वातावरण बन्न गयो हस्तिनापुर र इन्द्रप्रस्थका बीच । बाहिर देखाउन भने औपचारिक सम्बन्ध राम्रो नै राखेका थिए । परिवारहरूले गर्नुपर्ने सामाजिक अथवा धार्मिक अनुष्ठानहरू दुवै परिवार सम्मिलित भएर गर्थे, तर भित्र-भित्र वैरको भाव पनि बढ्दै गएको थियो । दुवैतर्फका धेरै बूढापाकाहरूले यसलाई शान्त गराउने प्रयत्न पनि गरे । एक दिन दुर्योधनले ठूलो जुवाको आयोजना गरेर युधिष्ठिरलाई निम्ता पठाए । तिनताका द्यूत क्षात्रधर्म अधीनको मर्यादापूर्ण मनोरञ्जन मानिन्थ्यो । युधिष्ठिर लावालस्कर लिएर हस्तिनापुर आए । दुर्योधनले ढोकासम्म आएर उनको स्वागत-सत्कार गर्यो । भन्छन्, दुर्योधनको मामा शकुनिले जाल गरेर प्रत्येक बाजीमा युधिष्ठिरलाई हराउँदै गए रे । जुवाको नशा चढेको युधिष्ठिर किन मान्थे; एक-एक गरेर उनले दाउमा मुद्रा राखे, फेरि मणि-माणिक्यादिहरू, अनि यावत् चल सम्पत्ति । पछि जुवा रन्किँदै जाँदा राजपाट राख्दै हार्दै गए । अन्तमा पागल भएर र आफ्नी पत्नी द्रौपदीलाई पनि दाउमा राखे । “मारा” भन्ने तुमुल स्वरले द्यूत-स्थल कम्पित गर्दै कौरवहरूले द्रौपदीलाई जितेका थिए र भन्छन्, आफ्नो इबी साध्न रजस्वला भएकी द्रौपदीलाई सारा सभा-सभाको मध्यमा निर्वस्त्र पारे रे दुःशासनले, जो दुर्योधनका एउटा दुस्साहसी भाइ थिए ।”
निर्जन निकुञ्जमा प्रवाहित भइरहने कुन निर्धारिणीको अजस्र ध्वनिजस्तो मोदिआइनको बोली नथामिएर, मानौँ वगिरहेको थियो । मेरो थाकेको र निद्राले भरिपूर्ण भएको मस्तिष्कको कुनै भित्री तहमा त्यो एकनाससँग बज्रिरहेको थियो । कहिले-कहिले लाग्थ्यो, म निदाइसकेको छु र सपनाका तस्वीर मेरो निद्रित चेतनाका उपर कथाको धारावाहिक क्रममा, एक-एक गरेर परिरहेका थिए । कुनि कैले हो त्यो पनि सम्झना छैन- एकनासको स्वरमा कथाको वर्णन गर्दागर्दै मोदिआइन मेरो अर्धचेतनामा इन्द्रप्रस्थकी एउटी नारीसँग मिस्सिन पुगी । लाग्थ्यो, एकदम सपनाका कुरा हुन् यी सबै, केवल ध्वनि मात्र बाहिरबाट परिरहेको थियो मेरो कानभित्र र त्यो ध्वनि थियो मोदिआइनको कण्ठको, एकनासको । शायद यो पनि हुन सक्छ, मेरो कथा सुन्ने उत्सुकताको जोरले गर्दा कान त खुला रहे, तर मेरो बालकको कलिलो शरीर थाकेर निदाइसकेको थियो । कुन्नि कहिलेदेखि हो, मोदिआइनले आफ्नै जीवनको वृत्तान्त जस्तो गरेर भन्न थाली- “मेरा आमाबाबुहरूले भने- द्रौपदीको चीरहरण एउटी नारीको अपमान मात्र होइन कि ठूलो अनिष्टको अपरिहार्य सूचक हो । घर-घरमा यसको चर्चा भयो र सबै अनिष्टको आशङ्काले त्रस्त भए । लगत्तै फेरि पाण्डवहरूले वन जानुपर्यो बाह्र वर्षका लागि । इन्द्रप्रस्थ विरान भयो । त्यहाँका ठूला-ठूला दरवार खाली भए; मानिसहरूको रोजगार खोसियो, त्यहाँका नागरिकहरू एक-एक गरेर हस्तिनापुर लागे । इन्द्रप्रस्थ एकदम शून्य भयो ।
हाम्रो परिवार क्षत्रिय भएकोले मेरो बा इन्द्रप्रस्थको पाण्डव-दरबारमा रक्षकदलको तल्लो कक्षाको एउटा पदाधिकारी हुनुभएको थियो । हाम्रो खेतबारी नष्ट भएपछि बाले सानो पद भए पनि जागिर खानुपरेको थियो र जसबाट हामी नयाँ जीवन बिताइरहेका थियौँ, एक प्रकारले निर्धक्क भएर । त्यो पनि फेरि खोसियो, पाण्डवहरू वन गएपछि इन्द्रप्रस्थमा दुर्योधनको कब्जा भयो र त्यहाँका रक्षकहरू सेवामुक्त गरिए, किनभने रे, पाण्डवपक्षी भएकाले कौरवदलमा यिनीहरूलाई सामेल गर्दा सुरक्षा हुँदैन भनेर । हाम्रो परिवार फेरि बिचल्लीमा पर्यो । हामीहरूजस्तै बिचल्लीमा पर्ने असङ्ख्य परिवारहरू थिए र उनीहरूकै सरह हामी पनि ताँती लाग्दै पश्चिमतिरको ठूलो राजधानी हस्तिनापुर पुग्यौं ।
म त्यस बखतमा आठ-नौ वर्षकी हुँदी हुँ । आमा-बा, म र मेरो सानो चार वर्षको भाइ शरणार्थी भएर हस्तिनापुर आयौँ । तर, त्यहाँ हामी क्षत्रियहरूको सम्मानअनुकूल काम कहाँ पाउँथ्यौं र ? पाण्डवपक्षीय भएकाले कौरवको सेना हाम्रो लागि वर्जित थियो । बा पनि आफू पाण्डवपक्षीय भएको कुरा चारैतिर सगर्व भनिहिँड्नुहुन्थ्यो । धेरै दिनपछि दर-दर ठोकर खाँदा, गल्ली-गल्ली भट्किएर कामको खोजीमा एक ठाउँबाट अर्को ठाउँ गर्दागर्दा पनि केही सीप नलागेर, जमुनाको तटनेर कौरवहरूको दुर्गको बाहिरी पर्खालभन्दा पनि बाहिर जहाँ बकाइनो र बबूलका सानासाना रूखका भ्याडैभ्याङ थिए र जहाँ पर्खाल बनाउँदा फ्याँक्किएका साना-ठूला ढुङ्गाहरू जताततै लडिरहेका थिए, हामी एउटा छाप्रो बनाएर बस्न थाल्यौं । त्यो ठाउँ शहरभन्दा बाहिर जङ्गलको किनारामा थियौँ । वा दिनभरि नगरमा गएर काम गर्नुहुन्थ्यो र दैनिक आर्जनले जेजति हुन्थ्यो त्यसैले हाम्रो गुज्रान भइरहेको थियो । यसरी हुर्किंदै गएँ, वयस चढ्दै गयो । किशोरी भएँ र यौवनको प्रथम खुड्किलोमा उभिन पुगें । आमा भन्नुहुन्थ्यो- नारी, तैंले रानी हुने जीउ पाएकी छस्, लायककी छस् तँ । म मक्ख पर्थे र एकान्तमा गएर एउटा ठूलो ढुङ्गा पछिल्तिर बसेर त्यहाँका जङ्गली भ्याउ, पात र फूलहरूले आफूलाई सिँगार्थे र आफ्नो अनुहारलाई धेरै बेरसम्म झुकेर हेरिरहन्थें । म अल्गी थिएँ, र कसिएर टम्म परेको स्थूलता, बानगीका साथ, मेरो सारा शरीरमा फैलिएको थियो । तिनताका केही काम नपाएर म जङ्गलमा चहारि-चहारिहिँड्थें त्यसै आनन्दले शरीरलाई फुरुक्क पार्दै हरिणीको चालमा हस्तिनापुरबाट मृगयाका लागि कहिलेकाहीँ राजकुमारहरू त्यतै आउँथे । आमा आत्तिएर मलाई छाप्रोभित्र हुल्नुहुन्थ्यो । भन्नुहुन्थ्यो– “तँलाई देखेर, हरेर लैजालान् दरबारमा नर्तकी बनाउन, तँलाई । कहिले पनि नबिर्सिएस्, तँ क्षत्रिय कुमारी होस् ।” म छाप्रोको प्वालबाट शिकारमा हिँडेका राजकुमारहरूलाई हेर्थे र उनीहरूका साथै आएका उनीहरूका जस्तै तेजिला घोडामा चढेका उनका शिकारी सैनिकहरूलाई पनि । लाग्थ्यो, कस्ता राम्रा पुरुष छन् ती सबै ।
एक दिन म त्यसै भौतारिँदै हिँडिरहेकी थिएँ जङ्गलभित्र । चैतको महिना थियो । सुगन्धीले भरिएको वायुमा जङ्गलका पात- लहराहरू बराबर सिहरँदै काँप्तथे । रूखहरूमा बसेर चराचुरुङ्गी चिरिबिरी गरिरहेका थिए । कैले कैले कोयलीको तीखो कूजनले वन घन्किन्थ्यो । मैले आफ्नो शरीरलाई थरीथरीका फूलले, सिँगारेकी थिएँ- राता, सेता, पहेंला फूलहरूले । त्यसै बखतमा आफ्नो दलबाट छुट्टिएको एउटा अश्वारोही युवक देखा पर्यो । सूर्यको रश्मि उसको मुखमा सोझै परिरहेको थियो । जसले उसको किञ्चित् रक्तिम वर्ण भएको अनुहारमा पसिनाले गर्दा टाढाबाट मलाई ज्योति टल्केको जस्तो लाग्यो । उसका काला कपाल तट परेर गर्दनमा, घोडाको चालका साथ उफ्रिरहेका थिए । हठात् मलाई लाग्यो कि म एक्ली छु, यो विराट् जङ्गलभित्र एउटा अति सुन्दर सैनिक वेशधारी युवकको अगाडि । मलाई त्यसै लाजले छोप्यो । आफूलाई लुकाउन म एउटा मौलश्रीको रूखको फेदपछिल्तिर उभिएँ । त्यहाँबाट बिस्तारै टाउको झिकेर युवकको सुन्दरतालाई हेरिरहें । अश्वारोही युवकले मलाई देखेछ । ऊ घोडालाई मनेर उभ्याएर ओर्लियो र मेरो एक कदम समीप आयो । हाम्रा चार आँखा भए । म लाजले गाडिएँ । उसले भन्यो- “हे सुन्दरी, तिमी को हौ ? अप्सरा, किन्नरी, गन्धर्व को हौ ? मनुष्य नारी त होइनौ निश्चय नै; यस्तो सुन्दरता पृथ्वीमा कहाँ उपलब्ध हुन्छ र ?” मलाई लाग्यो, मेरो कानमा अमृत चुहिरहेको छ । मैले बडो यत्नसँग यति मात्र भनें- “हे सुन्दर युवक, म एउटी मानवनारी हुँ, क्षत्रिय कुमारी ।” अनि उसलाई हेर्न नसकेर आँखा भैंमा गाउँ । हाम्रो प्रेम त्यसरी अकस्मात् प्रारम्भ भयो एक दृष्टिमै । तिनताकाको चलनअनुसार जङ्गलमै हाम्रो स्वयंवर भयो । अनि मैले उसलाई आमासँग भेटाउन हाम्रो छाप्रोमा लगें । उसले भन्यो- “माता, एउटा कौरवपक्षीय क्षत्रिय सैनिक हुँ । आज तपाईंकी सुन्दरी छोरीको पति हुन पाउँदा म बडो भाग्यमानी भएको छु ।”
साँझपख बा पनि आउनुभयो । मेरो पुरुषलाई देखेर वहाँ पनि बडो प्रसन्न हुनुभयो– हामी पाण्डवपक्षीय परिवार हौं, तर आज त्यसको चर्चा किन ? छोरीले एउटा योग्य क्षत्रिय कुमारलाई आफ्नो पति बनाउन पाई त्यही नै हाम्रो लागि महान् सन्तोकको कुरा छ । उसले त्यही रात मलाई आफूसँगै घोडामा चढाएर आफ्नो घर लिएर आयो । आमाले रोएर, बाले आशीर्वादका साथ र भाइले म पछिपिछि आउँला तिमीलाई भेट्न भनेर बिदा दिए । एउटा पुरुषको न्यानो स्पर्शको अनुभव गर्दै, हृदयमा आमा-बा, भाइलाई मायाका साथ सम्झिँदै म पत्नी भएर आफ्नो श्वसुर गृहका लागि हिँडें । हाम्रो गाउँ हस्तिनापुरभन्दा उत्तर-पश्चिमतिर स्थित थियो । मध्यरात हुँदो हो हामी घर पुग्यौँ । पति पहिले घोडाबाट बुर्लुक्क हामफालेर ओर्ले र अनि मलाई सहारा दिँदै झारे । उनले अन्धकारमा आमालाई घरको ढोका उघार्न भन्दै भने- “आमा, हेर त आज कस्तो कोसेली ल्याएको छु । हेर त छिटै ।” अनि उनले मलाई हेरे । म मायाले गद्गद भएर ऊसँग टाँस्सिदै गएँ । सासूले ढोका उघार्नुभयो र दियो उचालेर मेरो मुखलाई गौरसँग हुर्नुभयो । अनि बडो स्नेहको स्वरमा भन्नुभो- “बहु, आऊ आफ्नो घरभित्र ।” त्यसपछि वहाँले आफ्नो छोरोलाई भन्नुभो- “साक्षात् लक्ष्मीलाई आफ्नो घरभित्र हुल्न थालेको छस् । यिनको बडो कदर गर्नु लक्ष्मीस्वरूप बहु हुन् यिनी मेरी ।" हाम्रो घर सानो थियो, चार जनाको, सासू, देवर र हामी दम्पती, तर पारस्परिक माया र हाम्रो पति-पत्नीको प्रणयले मलाई लाग्यो कि स्वर्गमा पनि योभन्दा सुख प्राप्त हुन्न । जङ्गलैको छेउमा हाम्रो गाउँ थियो- क्षत्रियहरूको एउटा सानो गाउँ । सबै परिवारहरूको मुख्य पेशा खेती थियो, तर घरमा दाजुभाइ छन् भने, सैनिक सेवामा जागिर खान भनेर धेरै हस्तिनापुर जान्थे ।
हाम्रो घरको खेतीको आयस्ता सानो थियो, त्यसो हुनाले मेरो दुलहाले पल्टनमा जागिर खानुपरेको थियो र उनले आफ्नो योग्यताले सेनामा राम्रो पदोन्नति गर्दै आएका थिए । उनी दिनभरि हस्तिनापुरैमा रहन्थे र रात परेपछि घोडा दौडाउँदै घर आइपुग्थे । सासू हाँसो पनि गर्नुहुन्थ्यो- आजकल मेरो जेठो छोरोलाई घरको माया खूब बढेको जस्तो छ । बडा रमाइला दिन थिए मेरा तिनताका । मेरै बयसका धेरै केटीहरूसँग मेरो मित्रता भयो र हामीहरू डफ्फा बनाएर दिनभरि खेतीमा डुलिहिँड्थ्यौँ । जङ्गलमा गएर गाईबस्तु र घरका लागि घाँसपात र दाउरा काटेर ल्याउँथ्यौँ । हाम्रो गाउँको समीप एउटा कुण्ड थियो, किनारैमा एउटा विशाल सूर्यमन्दिर भएको । त्यसैले कुण्डलाई सूर्यकुण्ड भन्थे । पर्व-पर्वमा त्यहाँ मेला लाग्थ्यो र ग्रहण भएको समयमा त त्यहाँ झन् ठूलो मेला हुन्थ्यो, खूब घुइँचो । अरू बेला त्यहाँ शान्ति हुन्थ्यो; हाम्रा गाउँका आइमाईहरूको डफ्फा त्यहाँ जान्थ्यो र त्यसै घाटको बज्रमा बसेर नाना थरीका कुरा गरेर जिस्किदै हामी समय काट्थ्यौँ । या त्यसै लहडमा लुगा फुकाएर न्वहाउन थाल्थ्यौँ । खूब रमाइलो गथ्यौं । मेरो शरीरलाई देखेर साथीहरू भन्थे- “नारी, बडा ईर्ष्या लाग्छ तँलाई देख्दा । यस्ती राम्री पनि हुने हो हामी गृहस्थ आइमाईले ?" मलाई लाग्यो, जीवन एउटा कहिले पनि समाप्त नहुने वसन्त हो । तिनताका देशभरि अमनचैन थियो । दुर्योधनको प्रतापले चारैतिर शान्ति थियो । उनका सबै शत्रु पराजित थिए । पाण्डवहरूको कुरा सबैले बिर्सिसकेका थिए र म कहिले पनि नअघाउने प्रेममा परेर बेलुकीपख घरको सँघारमा बसेर पतिका लागि पर्खिरहन्थें । क्या रमाइला रात थिए तिनताका, प्रेमका आनन्दले टलपल गर्दै बित्ने रात ! कहिले-कहिले उनी नगरको दरबारको चर्चा गर्थे र भन्थे - पाण्डवहरूको वनवासको बाह्र वर्ष पुग्यो नि । गुप्तवास सिद्धिन अब कति दिन छ र ?" म भन्थें- “अब पाण्डव आउँदैनन् यत्रो शान्तिलाई खलबलाउन ।”
कहिले मनमा आशङ्का पनि हुन्थ्यो कि मेरो सुखको यो शान्तिमय जीवनमा कहीँबाट क्यै बाधा त पर्दैन ! तर मन ढुक्क थियो; लाग्थ्यो, जीवनको आनन्द र सुखलाई बाधा पुऱ्याउने कुनै लक्षणका काला बादल कतै पनि देखिँदैनन् । त्यस्तै रमाइलो र परमसुखमा मेरा दिन बितिरहेका थिए । मेरा मात्रै होइनन्, हामी सबै नारीहरूका - पतिप्रेममा, शान्तिको वातावरणमा, जब कि युद्धको सम्भावना मानिसको मनबाट बिलाइसकेको थियो । हामी सहेलीहरू सूर्यकुण्डमा बसेर भन्थ्यौँ- “अब मानिसले युद्धबाट मुक्ति पायो ।” त्यस्तै आनन्दको समयमा एक दिन धेरै रात बितेपछि थाकेको अनुहार लिएर मेरा दुलाहा आए । मैले आशङ्काले सोधें- “के खबर छ प्राणनाथ ?” उनले भने– “पाण्डवहरू विराद्राजाको दरबारमा रहेछन् । एक वर्षको गुप्तवास सिद्धिएपछि आफ्नो अधिकार खोज्दै राजा दुर्योधनकहाँ संवाद पठाएका छन् ।” मैले व्यग्र भएर सोधे– “अनि, के हुने भो ?” उनले भने - “राजा दुर्योधनले विराटराजाको दूतलाई एकदम तिरस्कार गरेर फर्काइदिए ।” त्यसपछि हाम्रा दिन दुश्चिन्तामा कट्न थाले । रात्रिको प्रणयमा खिन्नताको अनुभव हुन थाल्यो र दिउँसोका घडी उदासीनले भरिएका । मेरो मात्रै त्यस्तो अवस्था भएको होइन, हामी सबै नारीको एकै किसिमको अवस्था थियो हामी दिउँसो सूर्यकुण्डमा भेला हुन्थ्यौँ र राति आफ्ना आफ्ना दुलहाले नगरबाट ल्याएको खबरको चर्चा गरेर समय बिताउँथ्यौँ । कोई भन्थे सबै लक्षण दुर्दिनका छन् । हेर, उः त्यो दक्षिणको फाँटमा हावा कसरी उम्लेर उडिरहेको छ । सूर्यकुण्डको दक्षिण-पश्चिमपट्टि एउटा ठूलो फाँट थियो, साना-साना ढुङ्गैढुङ्गाले भरिएको, जसमा काँडा भएका साना झाडीहरू, घाँस र कुश मात्र उम्रिएका थिए । त्यस बाँझोपनले हामी अरू दिन पनि त्यसै डराउँथ्यौँ । गर्मीको ताका त्यहाँको सुक्खा भूमि तातेर रन्किन्थ्यो, र टाढाबाट हेर्दा लाग्थ्यो, माटो तल कुनै प्रज्वलित अग्निकुण्ड हरहर गरेर बलिरहेछ, जसको रापको लपट जमिनबाट उठेर वायुमा टल्किन्थ्यो । वर्षामा मानौँ आकाश फाटेर त्यहीँ झर्न पुग्थ्यो र इन्द्रको वज्र भयङ्कर गर्जनका साथ बार-बार त्यहीं बज्रिन्थ्यो । वसन्तको कोमल ऋतुमा पनि त्यहाँ बग्ने वायु, लाग्थ्यो, सुसेली हालेर र उदास मनको उच्छ्वास पोखिरहन्थ्यो । त्यस विराट् बन्जर भूमिखण्डदेखि हामी त्यसै तर्सिन्थ्यो र भन्थ्यौँ- “त्यो पापी ठाउँ हो, त्यसो हुनाले बन्ध्या माटो छ त्यहाँको । त्यहाँ कसैले आफ्नो घर बनाएन, कसैले हलो जोतेन त्यहाँ, फलफूल उमारेन, त्यसलाई कसैले आफ्नो तुल्याएन । त्यसो हुनाले त्यसै थलोलाई राजाले थलो भन्थे, कुरु राजाको सरकारी भूमि, कुरुक्षेत्र ।”
त्यहीँ उम्लिरहेको घूर्ण वायुलाई देखाएर कोई सहेली आशङ्कामा भन्थी- “हेर, राक्षसी वायु खाँ खाँ गर्दै त्यहाँ बगेको ।” कोई भन्थ्यो ढाढसको स्वरमा - “कौरव र पाण्डवहरूका बीच मेलमिलापको ठूलो प्रयत्न भइरहेछ रे । दुर्योधनलाई उनैका पक्षमा बूढापाकाले सम्झाउन थालेका छन् रे । उता युधिष्ठिरहरू पाँचवटा गाउँ लिएर मान्ने भएका छन् रे ।” कुनै दिन खबर आउँथ्यो- धर्मात्मा युधिष्ठिरले लडेर किमार्थ राज्य नलिने अठोट गरेको छ रे । हामी तिनलाई धन्य पुरुष भन्थ्यौँ, तर फेरि सुनिन्थ्यो भीम उफ्री उफ्री उत्तेजनाका कुरा गर्छन् रे । फेरि सुन्यौं कि द्रौपदीले धिक्कारिन् रे- “हे मेरा कहलाइएका वीर पतिहो ! के तिमीहरूले भरिएको राजसभामा भएको मेरो बेइज्जती बिर्सियौ ? " हामीलाई द्रौपदीका यस्ता ईखका वचन नारीको मर्यादाको अनुरूप लागेन । भन्थ्यौँ- “तेह्र वर्षभन्दा अघिको एउटा असम्मानलाई सम्झेर आफ्नो सुलभ नारीत्वलाई तिलाञ्जलि दिँदै के कुनै नारीले पुरुषलाई युद्धका लागि उत्तेजित गर्ने हो !” त्यसै बखतमा एउटा आश्वासन दिने समाचार आयो कि द्वारकाबाट श्रीकृष्ण मध्यस्थताको प्रयत्नका लागि आइपुगेका छन् रे । यदुवंशका शिरोमणि समुद्रपर्यन्त जुन वृष्णिवंशको राज्य फैलिएको थियो त्यसका नेता, ती प्रतापी वीर पुरुषको कसले नाम सुनेको थिएन ? हामी स्वास्नीमानिसहरू त झन् उनले मथुरा-गोकुलका गरेका लीलाहरूको कथा सुनेर हृदयमा उनका प्रति उत्सुकता राख्थ्यौँ । यद्यपि उनी पाण्डवका नाता पर्थे र उनीहरूकै पक्षपाती थिए, तर हामीलाई विश्वास भएको थियो कि उनको मध्यस्थताको प्रयत्न निश्चय नै निष्फल हुने छैन । उनलाई कतिले त देउताको अवतार मानेर पूजासम्म गर्थे । उनले गर्न नसक्ने के छ र ? होइन, सहेलीहो ! भनी आपसमा हामी आश्वासनका लागि प्रश्न गरिरहन्थ्यौँ ! मलाई लाग्न थाल्यो, हाम्रो सुखमय जीवनको आकाशमा देखा पर्न आएको बादलको टुकडा फाटेर बिलाउने भयो । त्यसपछि फेरि पहिलेको जस्तै मनमा उत्सुकता लिएर म पतिका लागि साँझमा पर्खिरहन थालें । देवर ढुङ्गामा आफ्नो हतियार चमकाइरहेका हुन्थे । उनी भन्थे - “भाउजू, पाण्डवहरूका कति शिरको रगत यसले खाने हो !”
मैले रिसाएर भनें- “देवर, कस्तो अशुभ कामना गरेको तिमीले साँझको बेलामा ! के तिमीलाई आजकालको शान्तिको रमाइलो काल मन पर्दैन ? छि :!” राति पतिको न्यानो छातीसँग टाँस्सिएर मैले बडो आश्वस्त स्वरमा भनें- “नाथ, अब त मेल होला श्रीकृष्णको प्रयत्नले । हामी यसै गरी प्रणयको रात्रि बिताइरहन पाउँला !” रौंले ढकमक्क भएको उनको छातीमा मैले हात फेर्दै भनें । उनले भने- “खोइ कुन्नि, प्राणप्यारी, हाम्रा राजा दुर्योधन सियोको टुप्पोजति पनि माटो नदिने रे पाण्डवलाई भनेर ढिपी लिरहेका छन् रे ! र कृष्ण पनि मेलमिलापको कुरा गर्न त आउँछन् हाम्रो दरबारमा, तर सुन्दछु, भित्र-भित्र पाण्डवहरूलाई उकासिरहेका छन् लड्नलाई रे !” मेरो त्यो प्रणय रात भविष्यको भयले त्यसै चिसो भएर वित्यो एकाबिहानै दुलहा सधैंको जस्तो घोडा चढेर हस्तिनापुर गए ।
दिउँसो हामी सहेलीहरू सूर्यकुण्डको पत्थरको घाटमा भेला भयौँ । सबैले भने- कृष्णले छल गरिरहेका छन् । साँचो किसिमबाट मध्यस्थता गर्न थालेका छैनन् रे । कोई-कोई त यहाँसम्म पनि भन्न थालेका छन् रे कि कृष्ण देउताका अवतार हुन् । भूभार हर्न ठूलो समर रचाउन आएका हुन् पृथ्वीमा । समरको शब्द सुन्नासाथ हामी नारीहरू भयले काँप्न थाल्यौँ । मनमनैमा आफ्ना पति, भाइ, दाजु, बा, काकाहरूलाई सम्झेर ईश्वरसँग पुकार गर्न थाल्यौँ- “हे ईश्वर, सबैको रच्छे गर ।” म भर्खर यौवनको प्रथम प्रहरमा उभिएकी नारी बाण लागेकी हरिणीजस्ती छटपटाउँदै भन्थें- “मेरो ललाटको सिन्दूर, परमात्मा, कहिले पनि नपुछ ।” भारतवर्षभरिका नारीहरूको कण्ठबाट उठेको पुकारको कुनै पनि ईश्वरले किञ्चित् पनि ध्यान दिएनन् । दिनप्रतिदिन लडाइँको तयारी दुवै पक्षबाट हुन थाल्यो । आफ्नो आफ्नो पक्षमा तान्न भारतवर्षका मात्र होइन कि टाढा-टाढा देशदेशावरका राजाहरूकहाँ तेजिला घोडामा चढेका दूतहरू पठाएर । नातामा पर्न आएका राजा महाराजाहरू त्यसै नाताका अनुसार कौरव र पाण्डव पक्षमा छुट्टिए । कृष्णले रोज्न लगाए अर्जुन र दुर्योधनलाई - मेरो अक्षौहिणी सेना एकातिर, म एक्लो व्यक्ति एकातिर, भन कसलाई रोज्छौ ? दुर्योधनले अक्षौहिणी सेना रोजे रे । अर्जुनले ‘यतो कृष्णस्ततो जयः’ भनेर कृष्णलाई रोजे रे । एउटा पक्षले अर्को पक्षलाई फुटाउने कोशिश गर्न पनि बाँकी राखेनन् रे । एक दिन बिहानै कुन्ती लुकेर आफ्नो जारज पुत्र कर्णकहाँ पुगिन् रे र भनिन् रे- “पुत्र, पाण्डवपट्टि लाग ।” कर्णले भने रे- “कि अर्जुन रहला कि म रहुँला, तिम्रा पाँचका पाँच पुत्र रहिरहनेछन्, कुन्ती ।” एक-एक गरेर दुवै पक्षमा सेना सुसज्जित हुँदै एकत्रित हुन थाले । दुवैपट्टिका त्यत्रो विराट् सेना अट्ने ठाउँ अन्य कहाँ थियो र; त्यसैले, हाम्रो गाउँको सूर्यकुण्डभन्दा दक्षिण-पश्चिमतिरको ठूलो फाँटमा दुवै पक्षका सेना एकट्ठा हुन थाले । पुरुषहरू त युद्धको उत्तेजनाले त्यसै तात्तिन थालिसकेका थिए । उनीहरूसँग तिनताका भेटघाट पनि हुन मुश्किल हुँदै गयो । उनीहरू दौडादौड गर्दै यताउति कुदिरहन्थे । हामी स्त्रीहरूलाई भने भयले कतैबाट त्राण थिएन । छटपटाएर यता-उति गरिरहन्थ्यौँ । मलाई त लाग्थ्यो, भयले बार-बार म निसासिरहन्छु । असङ्ख्य पल्टनले, रथका पहियाले, हात्तीको पाइलाले, घोडाका टापले उडाएको धूलोले सारा आकाश ढाक्न थाल्यो । हाम्रा खेतका बाली निर्दयतापूर्वक किचिन थाले, भास्सिन थाले । बीच-बीचमा तुमुल घोष गर्दै भेरी वज्न थाल्यो, नगरा गड्ङ्किन थाल्यो। साना-साना बालकहरूलाई छातीमा च्यापेर आमाहरू त्राहि-त्राहि गर्थे ।
तैपनि, मृत्युको यत्रो व्यापक आयोजना देख्तादेख्दै पनि, जबसम्मन् सास छ तबसम्म आस छ भनेको जस्तो साना-साना कुरामा हामीलाई आशा लाग्न थाल्यो । दुर्योधन, हाम्रो राजाका तर्फबाट त हामीलाई आशा थिएन, किनभने ऊ भयानक हठी र अभिमानी व्यक्ति थिए, जो आफ्नो हठमा सारा संसारलाई अग्निमा होम्न सक्थ्यो, तर पाण्डवहरूबाट हामीलाई समय-समयमा आशाको सञ्चार भइरहन्थ्यो । कृष्णले धर्मयुद्धको व्याख्या गर्दा युधिष्ठिरले भने रे- कुनै अवस्थामा पनि युद्ध धर्ममय हुँदैन, हे केशव । एक चोटि त उग्र स्वभावका भीमले पनि कृष्णसँग शान्तिको पक्ष लिएर तर्क गरे रे । तर, हाम्रो आशा परालको आगोजस्तो एकछिन बलेर निभेर गयो । त्यस रात जब मेरा पतिदेव घर फर्केर आए उनलाई देख्नेवित्तिकै मेरो हृदयले बुझ्यो यो हाम्रो शायद अन्तिम रात हो । मैले केही बोल्ने साहस गरिनँ । उनले पनि केही बोलेनन् । रातभरि छाती-छाती टाँसेर हामीले बितायौँ । भोलिपल्ट जाने बखतमा मात्र उनले बोले- “प्यारी, बिदा ।” मैले आफ्ना ठूला-ठूला आँखा आँसुले टम्म भरेर उनीपट्टि उठाएँ; भन्न केही सकिनँ । बिदा ! बिदा !! के आजसम्म बिदा दिन सकेकी छु र ? कति युग, कति कल्प बिते, त्यस बिहान मसँग छुट्टिएर गएका पतिलाई आजसम्म बिदा दिन सकेकी छैनँ । भोलिपल्ट गाउँमा कुनै पनि पुरुष रहेनन् । मेरा बा र भाइ पनि उता पाण्डव सेनामा भर्ती भएका छन् भन्ने खवर पाएँ । दुलाहा र देवर कौरव सेनामा, बा र भाइ पाण्डव सेनामा । कसले कसलाई वध गर्ने, यो स्वजातीय हत्याकाण्डले कसको जय कसको पराजय हुने हो, हे परमात्मा !
प्रलयको प्रारम्भ हुने दिनमा पनि भगवान् भास्कर सधैंको जस्तो आफ्नो ज्योतिर्मय वरदानलाई पृथ्वीभर सर्वत्र छर्दै उदय भए । सूर्योदयभन्दा पहिलेदेखि नै घोर कोलाहल छँदै थियो । सूर्यको प्रथम किरण कुरुक्षेत्रमा पर्नेबित्तिकै त्यो विशाल मैदान धप्प गरेर प्रज्वलित भयो । रथका शिखर, योद्धाहरूका कवच, हात हतियार, तरवार, तरकश, बाण, घुँडा, भाला, सेनापतिका मुकुट, घोडा, हात्तीका साज शृङ्गार सबै एकै चोटि विस्फोटित भएजस्तै सूर्यको किरणले धप्प भए । त्यस दिन त्यहाँ भेला भएका मानिसहरूको बाढीलाई देखेर मात्रै पत्याउन सकिन्थ्यो । मसँग मेरा प्राणाधार बिदा भएर जानेबित्तिकै मेरो जीवनबाट तमाम रस सुकेर गयो । मलाई चारैतिर अँध्यारो लाग्यो, छटपटिदै कहिले यता कहिले उता भौंतारिँदै हिँड्न थालें । त्यस समय कसले कसलाई सान्त्वना दिन सक्थ्यो र ! सबै एकनाससँग पीडित थिए, सवैले आफ्ना-आफ्ना परमप्रिय पुरुषहरूलाई रणमा बिदा गरिसकेका थिए । सबैको हृदयमा आफ्नो एकान्तको पीडा क्रन्दन मात्र थियो । म कहिले सासूकहाँ पुग्थें । ती बूढी नारी टोलाएर हेरि मात्र रहन्थिन् मलाई; उनको आँखामा अझै दुइटा पुत्रको चित्र नाचिरहेको हुँदो हो । गाउँका सखी सहेलीहरू पनि मजस्तै वेदनामा छटपटिएर भौंतारिइरहेका थिए, सबैले आफ्ना प्राणप्यारा पतिलाई भर्खरै मृत्युको द्वारमा जान बिदा दिएका थिए । त्यहाँ कसले कसलाई सान्त्वनाको शब्द भन्न सक्थ्यो । म विक्षिप्तजस्तो भएर गाउँको उत्तरपट्टिको एउटा ठूलो ढिस्कोका उपर चढ़ें जहाँबाट बिहानको सफा प्रकाशमा कुरुक्षेत्र टलपल गरेको देखिन्थ्यो । मजस्तै अरू पनि धेरै ग्रामीण नारीहरू, कोई आफ्ना सन्तानलाई छातीमा टाँसेर, आफ्नो शरीरको भार थाम्न नसकेर घुँडा टेकेर त्यहाँ बसिरहेका थिए । सबैको शून्यदृष्टिले कुरुक्षेत्रमा तरङ्गित भइरहेको मानवसमुद्रमा आफ्ना आफ्ना प्यारालाई खोजिरहेका थिए । त्यो समुद्रमा मानवबिन्दुलाई कसले देख्न सक्थ्यो र ? केवल देखिन्थ्यो मानव मांसको एउटा प्रचण्ड ठूलो पिण्ड जसमा व्यक्ति लोप भएर बिलाइसकेको थियो, जसमा न कसैका प्राणप्यारा पति, न कसैका आँखाका तारा पुत्र, न कसैका प्रिय दाजु-भाइ, न कसैका एक मात्र सहारा बा, काका, छुट्टिन्थे । राक्षसी मृत्युले तिनीहरू सबैलाई युद्धपूर्व नै एकाकार गरिदिसकेको थियो । हामी नारीहरू आफ्नो हृदयको क्षुद्र प्रेम लिएर त्यहाँ ढिस्कोमाथि बसेर आफ्ना प्राणप्याराहरूको खोजी गरिरहेका थियौँ । कति विदेशमा हामीजस्तै नारीहरू नदेखिने रणक्षेत्रपट्टि शून्य दृष्टि दिरहेका हुनन्, आफ्ना आफ्नालाई खोज्दै ।
पाण्डवपक्षीय सेना पश्चिमतिर उभिएको थियो पङ्क्तिबद्ध भएर, मानौँ रातारात त्यहाँ मानिसहरूको एउटा विशाल जङ्गल उम्रिन गयो । उनीहरूमाथि सूर्य पूर्वबाट सोझै परिरहेको थियो । सात अक्षौहिणी सेना, साथ महारथी-द्रुपद, विराट्, धृष्टद्युम्न, शिखण्डी, सात्यकी, चेकितान-भीमसेनका पछि युद्धकौशलद्वारा विभिन्न रूपमा सङ्गठित भएर उभिएका थिए । बीच-बीचमा लाग्थ्यो, कुनै असह्य उत्ताउलोपनले त्यहाँको सेवामा हलचल हुन थाल्यो, चारैतिर शङ्ग र दुन्दुभिको तुमुल ध्वनि गुञ्जन थाल्यो । लाग्थ्यो, रथ, पैदल र हात्तीहरूबाट भरिएको त्यो भयङ्कर सेना उत्ताल तरङ्गले व्याप्त महासागरको समान क्षुब्ध भइरहेछ । रणयात्रालाई उद्यत पाण्डव र उनको त्यो विराट् सेना चारैतिर दौडादौड कोई रथमा आरूढ हुँदै, कोई हात्ती, कोई घोडामा, कोई कवच बाँध्दै गर्न थालेको हामीले देख्यौँ । सेनाको अगाडि-अगाडि भीमसेन, कवचधारी माद्रीकुमार नकुल र सहदेव सुभद्राकुमार धृष्टद्युम्न र पाञ्चाल देशीय क्षत्रियहरू थिए । यी सबैले भीमलाई अगाडि पारे । उनीहरूका सामुन्ने युद्धस्थलका लागि ठूलो खाली मैदान बीचमा छाडेर दुर्योधन बडो फूर्तिसँग सेनाको निरीक्षण गरिरहेका थिए । कृपाचार्य, द्रोणाचार्य, अश्वत्थामा, सिन्धुराज जयद्रथ, कम्बोजराज सुदक्षिण, कृतवर्मा, कर्ण, भूरिश्रवा, शकुनि इत्यादि आफ्नो-आफ्नो अक्षौहिणका साथ उभिएका थिए । एउटा ठूलो रथमा, हामी सबैले “पितामह” भनेर चिनेका, ढकमक सेता भइसकेका भीष्म पनि थिए । हाय भीष्म ! मर्ने बखतमा पनि यो के कुकृत्य गर्न तम्सिएर रणभूमिमा आएका छौ तिमी दुर्योधनका खटनमा ! हाय, पितामह, हाम्रा आदरणीय वृद्ध गुरुजन ! हाय ! !
हाय, पाञ्चाल कुमारी द्रौपदी, जो भर्खरै केही टाढासम्म आफ्ना पञ्च पतिदेवहरूलाई पुऱ्याएर दासदासीहरूद्वारा घेरिएर उपप्लल्य नगरतिर फर्किरहेकी थिइन् ! हाय नारी हाय तिम्रो प्रतिहिंसाको भावना, जसले तिमीलाई अन्धवेगमा आफ्नो नारीत्वको स्वाभाविक हृदयतालाई बिर्साइदिरहेको थियो । हामीले आफू नारी भएको स्थितिलाई सम्झेर आपसमा मुखामुख गऱ्यौँ, आपसमा भन्ने सुन्ने कुरो त केही थिएन । हृदयको एकान्तको त्रासमय उद्विग्नता हाम्रो शून्य आँखाबाट च्याइरहेको थियो- गुफाको अन्धकारमा लुक्न गएको कुनै भयत्रस्त असहाय पशुको दीन अनुहारमा टल्केको आँखाजस्ता । एकैछिनमा अचानक भयङ्कर घोषका साथ एकै चोटि शङ्ख निनाद भयो, भेरीहरू गजराजको स्वरमा गम्भीर घोष गर्दै बजे, नगडा गड्क्यो र लाखौँ जनकण्ठबाट पृथ्वीलाई फाड्ने गरी जय ध्वनि गर्यो- त्यो कत्रो आवाज हुन गयो भने हामीलाई लाग्यो, सहस्र वज्र एकै चोटि गड्केर प्रचण्ड विस्फोटका साथ पृथ्वीमा खस्न पुगिरहेछन् । आमाहरूका काखमा छातीसँग टाँस्सिएर बसेका बालकबालिकाहरू भयले निसासिए र नीलो मुखले रुद्रकण्ठमा आमा भनेर चिच्च्याए । मेरा धेरै सहेलीहरू पनि चीत्कार गर्दै आफ्नो सुन्दर केशलाई, जसलाई कोरेर आज कसैले सुन्दर कबरी बनाएर आफ्नो शिरको शोभा तुल्याएका थिएनन्, लुछ्दै विक्षिप्तजस्ती भएर भागाभाग गर्न थाले । म त चेतनाशून्य थिएँ । घुँडा टेकेर चिउँडोलाई हत्केलामा थामेर नर्कको बाफमा टलपल गरेको कुनै दृश्यजस्तो अस्पष्ट कुरुक्षेत्रलाई एकटकले हेरिरहेकी थिएँ । त्यहीं कहीं एउटा अश्वारोही पनि छ जो मेरो हृदयको टुकडा हो । हे परमात्मा, रच्छे गर त्यसको, रच्छे गर, रच्छे गर ।
त्यसै बखतमा पश्चिमपट्टि लाम लागेर उभिएको पाण्डव सेनाबाट, ज्वाला मालाले युक्त, सूर्यको किरणमा अग्निको समान चम्किरहेको एउटा रथ छुट्टिएर हलुको तर तेज चालले पूर्वपट्टि बढेर आयो । त्यसमा लागेका साना-साना सयकडौँ घण्टी टुन-टुन गरेर बजे र त्यसमा जोतिएका सेता घोडा मानौँ घण्टीको तालमा थरकिँदै थिए । रथको पार्श्वमा एउटा लामो दण्डका उपर कपिको आकार अङ्कित भएको ध्वजा बिहानको पुरवीयामा फरफराइरहेको थियो । रथको बागडोर समातेर बसेको सारथीको आसनमा निस्फिक्री र मस्त किसिमको हँकाइलाई देखेर लाग्थ्यो, यो रथ रणका लागि होइन कि कुनै आमोदप्रमोद र विहारका लागि जोतिएको छ । एउटीले औंलाले देखाएर भनी- “हेर, हेर त सारथीको आसनमा बसेको त कन्हैया हो ।” साँच्चै नीलो वर्णको हँसिलो चेहरा, जसका बीच-बीचमा टल्किने दाँत सूर्यको प्रकाशमा उनको अनुहारको चिल्लो कालिमालाई बार-बार उद्भासित पार्थे, शिखीपुच्छको रङ्गीबिरङ्गी मुकुट लगाएको, नाङ्गो देह, कम्मरमा रेशमी पिताम्बर पहिरेको त्यो सुन्दर पुरुष निःसन्देह कृष्ण नै थिए र रथमा आरूढ, रथपति, अर्जुन थिए, जसले हातमा गाण्डीव धनुष र बाण समातिराखेका थिए । अर्जुनको उज्ज्वल कान्तिमय मुख सूर्यको प्रकाशमा टिलिक्-टिलिक् भइरहेको थियो । रथ पलमै समरको प्राङ्गणको मध्यमा पुग्यो । कृष्णले रास खिचे । घोडा ठप्प थामिए । अचानक त्यहाँको खलबली थामियो, शङ्क फुकिन थामियो, भेरीको शब्द रोकियो । ती असङ्ख्य सैनिकहरू आफ्ना आफ्ना ठाउँमा मूर्तिवत् निःशब्द भएर उभिरहे । पूर्वको बगिरहेको बतास थामियो । चराचर निस्तब्ध भयो । लाग्यो, तल शमीको बोटबाट झर्ने पात भुइँमा खस्ता पनि सुन्न सक्थ्यौँ । अनि, आर्त मानववाणी अर्जुनको कण्ठबाट केही वाष्पित स्वरमा निस्कियो – “मधुसूदन, सामुन्ने उपस्थित भएका युद्धका लागि आएका यी मेरा स्वजन समुदायलाई मारेर न विजय नै चाहन्छु, न राज्य, न कुनै प्रकारको सुख ।”
उनले भने- “हे जनार्दन, यिनीहरूले मलाई मार्ने भए पनि मारून्, म यिनीहरूका विरुद्ध गाण्डीव उठाउँदिनँ। तीनै लोकको राज्यका लागि त मबाट यिनीहरूको हत्या हुन सक्तैन भने यो जाबो हस्तिनापुरको राज्यका लागि के म नरहत्या गर्छु ?” बिहानको त्यो निस्तब्धतामा हातले गाण्डीवलाई युद्ध नगर्ने निर्णयको प्रतीकजस्तो गरेर फ्याँक्तै अर्जुनको त्यो मानवहृदयको वाणी चारैतिर गुञ्ज्यो । म गद्गद भएँ, हृदय हठात् रसाएर आयो, आँखालाई सन्तोषको जलले भिजायो । तर, उत्निखेरै कृष्णको ईश्वरीय वाणी, टाढाको समुद्रको गर्जन सुनियाजस्तै गम्भीर स्वरमा शान्तिलाई भङ्ग गर्दै निस्कियो । उनले भने- “हे पार्थ, तिमीलाई मोहले आक्रान्त गरेको छ । उठाऊ गाण्डीव र प्रविष्ट होऊ युद्धमा यसमा विजयी भयौँ भने पृथ्वीको भोग गरौंला, र कथङ्कदाचित मारियौँ भने स्वर्गको भागे गर्न पुगौँला । अर्जुनको मानवहृदयले मानेन । शिर हल्लाएर उनले कृष्णको उपदेशलाई अमान्य गरे। के साँच्चै आज कुरुक्षेत्रमा मानवता दैवत्वका उपर विजयी हुन आँट्यो ? के अर्जुन आज ईश्वरलाई त्यागेर मानवको वरण गर्न कट्टिबद्ध भएका छन् ? कृष्णले नाना किसिमको तर्क दिए; लामो व्याख्या गरे दर्शनको । म सूर्यकुण्ड गाउँको त्यो अल्गो ढिस्कोमा बसेर गीताका एक-एक वचन सुनिरहें स्वयं कृष्णको मुखबाट । प्रभातको शान्त वातावरणमा कृष्णको सुरिलो वाणी अनुद्विग्नतासँग स्पष्ट मेरो कानमा परिरहेको थियो । अर्जुन मानवहृदयको व्यथाले व्यथित थिए; करुणाद्र भएर बार-बार उनी शिथिल हुन्थे । मनुष्यको जुन नग्न रूप छ- करुणाको सहृदयताको, स्नेहको, प्रेमको, स्वजातीयताको, कौटुम्बिकताको, मैत्रीको, दयाको, त्यसैको साकार रूप थिए अर्जुन त्यस दिन । उता कृष्ण अनुद्विग्न, शान्त, निश्चल, दृढ, आत्मनिर्भर भएर अर्तीको श्लोकमाथि श्लोक पढिरहेका थिए । उनले अर्जुनलाई सम्झाउँदै भने- “हे कौन्तेय, तिमीले आफ्नो कर्तव्य गर्नुपर्छ निःस्पृह भएर, अनासक्त भएर । निष्काम कर्मले पाप लाग्दैन । स्थितप्रज्ञ भएर मार सबै वैरीलाई ।”
हे कृष्ण, यो कस्तो उपदेश हो तिम्रो, निर्मम ! मानव साना तिना आशा आकाङ्क्षाले चालित हुने प्राणी हो । यसको सानो जीवनमा प्रणयको निवास छ- प्रियसँग क्षणका लागि भए पनि टाँस्सिने लोभ, पुत्रलाई चुम्बन गर्ने लोभ, मित्रताको आदान-प्रदानमा बाँधिएर साख्य जीवनको न्यानोमा बस्ने लोभ …. । तिमी पो कृष्ण देवता हौ स्वर्गका, जहाँको निवासी आफ्नो अमरत्वमा निस्पृह हुन सक्छ, करुणाहीन हृदय राख्न सक्छ, जसका आँखामा आँसु टल्किन दिँदैन; जहाँ मृत्यु छैन, अनन्तको जीवनको निष्काम हुन सकिन्छ, तर हामी मानव, हाय ! कालका ग्रासी हामीमा त्यो कहाँ सम्भव छ ? फेरि कृष्ण, यो कस्तो कर्तव्यको प्रेरणा हो तिम्रो, समरका लागि आफ्नो सखा अर्जुनलाई बार-बार उकासिरहने ! के मानवजीवन त्यसै मृत्युको दुर्दमनीय सिमाना चारैतिरबाट सङ्कुचित भएको छैन र तिमी मृत्युलाई अस्वाभाविक किसिमबाट आह्वान गरेर त्यसलाई कर्तव्यको संज्ञा दिन्छौ ? अर्जुन, हामी तमाम मनुष्य-नारीका हृदयको आशीर्वाद लेऊ तिमी । तिमी देवसम्मुख मानवीय सत्य स्थापित गरिरहेका छौ निर्भय भएर । अडिरहू, अर्जुन, तिमी अडिरहू । कृष्णले भने- “हे परंतप अर्जुन, तिमी अहिले अज्ञानको अन्धकारमा छौ । ज्ञानको चक्षु उघारेर हेर, यहाँ कसले कसलाई मारिरहेको छ र ? यो तिम्रो शरीर त एउटा थोत्रो टालो हो, जसलाई मरें भन्दा, तिमी त्याग्छौ मात्र । न तिमी मछौं न माछौँ कसैलाई । यो तिमीले देखेका कुरा सबै मिथ्या हुन्, महाबाहो ।” के यो सबै कुरा मिथ्या हो, भ्रम हो ? यो विशाल जनसमुद्रमा प्यारो पतिलाई खोजेर हिँडिरहेको मेरो आँखाले देखेका यी दृश्य सारा के माया हुन् ? हृदयमा अहिले केवल वाच्छा भएर रहिरहेको मेरो नजन्मेको सन्तानका मसिना रसिला ओठमा राखिन उन्मुख भएका मेरा ऊर्ध्वस्तन-युगल के मात्र मायाका लघु मांस-शिखर हुन् ? समुद्रको गर्भमा स्वातीको वृष्टि-बिन्दुलाई चाहना गरेर खुल्ने र बन्द हुने सिपी सम्पुटजस्तो सन्तानका तीव्र कामनामा स्पन्दित हुने मेरो मातृगर्भ के त्यो पनि मिथ्या हो ? हे केशव, स्वर्गको उच्चतामा बसेर तलका कीटमय मृत्युलोकमा हामी प्राणीलाई देखेर तिमीलाई लाग्दो हो मानवजीवन मायावत्, मिथ्यावत्, अप्रासङ्गिक छ, हामीलाई कमिलाहरूका प्रति भएको जस्तो तर हाम्रो जीवन हामीलाई अप्रासङ्गिक छैन । कुनै तर्कले पनि, कुनै उच्च दर्शनको जोरले पनि जीवनको सुखदुःखलाई, मरणको सत्यतालाई, यो ठोस घेरालाई मिथ्यामा परिणत गर्न सक्दैन, हे मुरारे !
अर्जुनलाई मानवअवस्थाबाट विचलित नभएको देखेर कृष्ण भन्दै गए । निष्पन्द आकाशमा उनको गम्भीर वाणी तरङ्गित हुँदै गयो, टाढा पर्वतको उच्चतम शिखरभन्दा पनि माथिबाट बोलिएको जस्तो ध्वनि मेरो कानमा परिरह्यो । कृष्ण भन्दै गए- “म परमब्रह्मा परमेश्वर हुँ । ममाथि पूर्ण विश्वास र आस्था राख । म जे भन्छु गर । म आदर्श हुँ तिम्रो, म तिम्रो प्रार्थनाको हेतु हुँ, म तिम्रो लक्ष्य हुँ ।” यस प्रकार अर्जुनको मानवीय कमजोरीमाथि बार-बार प्रहार गरेर कृष्णले उनलाई शिथिल बनाउँदै गए । विहानभरि कृष्णको एकनासको, निरद्विग्न कण्ठध्वनि गुञ्जित भइरह्यो, अठार अध्यायी गीताको सम्पूर्ण पारायण भयो त्यस दिन कुरुक्षेत्रमा प्रलय मच्चिनुभन्दा ठिक्क अघि । बिचरो एउटा क्षुद्र मानव देवताको रुद्र तेजको अगाडि कतिबेर अड्न सक्थ्यो ? अर्जुनको मानवआग्रह खुकुलो पर्दै गयो, तिनबाट बिस्तार-बिस्तार मानवता निस्कँदै गयो र त्यसरी खाली भएको ठाउँमा उनमा दैवत्व भरिँदै गयो अन्तमा कृष्णले मुख बाएर अर्जुनलाई आफ्नो ईश्वरीय प्रमाण प्रदर्शित गरे आफ्नो विराट् रूप देखाएर । अनि अर्जुन मानव रहेनन् । एकदम ईश्वरारूढ यन्त्र भए उनी । देउता चढ्यो उनमा । उनको बलिष्ट भुजा काँप्यो, फ्याँकेको गाण्डीव उनले टिपे र त्यसमा प्रत्यञ्चा चढाए । अट्ठार अध्याय गीता श्रवण गरिसकेपछि मानव रहँदैन, त्यो ईश्वरारूढ व्यक्ति हुन्छ र तसर्थ, अतुल शक्तिवाट विद्युन्मय । अचानक रणक्षेत्रको निस्तब्धता भङ्ग भयो; शङ्ग र भेरीको निनाद र सैनिकहरूको हुङ्गारले कुरुक्षेत्र कम्पित भयो । चारै दिशाबाट प्रबल वेगसँग वायु बग्न थाल्यो । आकाशमा घनगर्जन भयो । उन्मत्त भएका, दैवीशक्ति सम्पन्न अर्जुनको गाण्डीव टङ्कारका साथ युद्ध जुध्यो; दुवै सेना समरमा मिस्सिए मानौँ, दुई विशाल पर्वत पङ्क्ति सरेर अगाडि बढ्दै आकाशमा टकराउन पुगे । केवल अर्जुनमा मात्र देवता लागेको थिएन । गीताको उपदेश कृष्णले अर्जुनलाई मात्र सुनाएका थिएनन् । कुरुक्षेत्रमा एकत्रित भएका लाखौँ सैनिकले गीता सुनेर आफू उन्मादमा आएको पाए । मानव यसरी नै अन्तमा ईश्वर-शक्तिको अगाडि घुँडा टेकिदिन्छ, उन्मादित भएर, एक लक्ष्यपट्टि धावित भएर !
युद्ध जुध्यो; अठार दिनसम्म अनवरत मृत्यु यन्त्र चालित भइरह्यो कच कच कच कच, मानिसका, असङ्ख्य मानिसका, कोमल गर्दन कच कच कच कच काटिंदै गए, काटिंदै गए । तुमुल युद्धघोषका साथ प्रतिदिन सहस्रौंसहस्र योद्धा काटिन्थे । ईश्वरारूढ भएको सहस्रौं कण्ठको रणहुङ्कार ज्वालामुखीजस्तो विस्फोटित हुन्थ्यो, तर मानव पुत्र मर्दा प्रत्येकले आफ्नो-आफ्नो निश्वास छाड्थे, आफ्नो एकान्तको निजी उछ्वास; शिर भूमिमा लडे पनि प्रत्येक कवन्ध एक चोटि आफ्नो-आफ्नो गोडामा नृत्य गरेर पछारिन्थ्यो । स्वर्गको कुन थलामा भोकाएको ईश्वर बसिरहेका थिए; उनको क्षुधा अझै निवारण भएको छैन । नरमुण्डमाथि नरमुण्ड चढाऊ उनलाई; मानिसका लाशको हिमालय उनका सम्मुख खडा गर; बगाऊ शोणितको रक्तिम गङ्गा उनको प्यास मेटाउन । अठार दिनसम्म महाभारत मचिरह्यो । अन्तमा मृत्युको यन्त्र थामियो, छेदित हुने ग्रीवाको अभावमा । युद्धमा केवल सात जना बाँकी रहे; लाखौँ पुरुष मारिए । पृथ्वी पुरुषबाट शून्य भयो । केवल विधवा नारी आफ्ना असहाय बाल सन्तानलाई आफ्नो पागल छातीमा टाँसेर बाँचिरहे यस लोकमा । कुरुक्षेत्र लाखौँ मृत शरीरले पाटियो । त्यसपछि कुरुक्षेत्र श्वान, शृङ्गाल, गृद्ध तथा अरू मांसभक्षी पशुपक्षीहरूको अमङ्गलकारी क्रीडा र रबले मुखरित भइरह्यो दुर्गन्धले भरियो । म विधवा भएँ र मजस्तै लाखौँ नारी वैधव्यका शिकार भए । विधवा मरिसकेकी नारी हो, जसको देह कालान्तरमा ढलेर समाप्त हुन्छ । कुरुक्षेत्रको त्यो शव पर्वतमा कहीँ मेरो पतिको मृत शरीर पनि हुँदो, जहाँ मजस्तै अरू विधवा नारीका पतिहरूका शरीर थिए, जसलाई स्यालहरू, कुकुरहरू तान्दै, लुछ्दै, घिच्च्याउँदै टाढा-टाढा पुऱ्याइरहन्थे, जसलाई चील, गिद्धहरू आकाशमा उडाएर उत्तर भारतको विभिन्न ठाउँमा छिरिरहेका थिए । ती सबै लाश हाम्रा प्रेमी- हाम्रा पतिका लाश थिए, हामी विधवाका ….
मेरो एउटा मृत्यु त कुरुक्षेत्रमा भयो । जुन दिन मेरा पति मरे होलान्; अर्को मृत्युका लागि धेरै दिन पर्खिनु परेन । मलाई थाहा छैन कुन दिन म मरें, कुन दिन मेरो मानवदेह विसर्जित भयो । मसरह लाखौँलाख नारीहरूको प्रेतात्मा आफ्नो अनन्तको वैधव्यको व्यथा बोकेर चौधै भुवनमा भौंतारिएर हिँडिरहेका छन्, आफ्ना प्यारालाई खोज्दै । त्यस युगयुगदेखि मेरो प्राणनाथको शरीर खसेको थलोमा आएर बसिरहेकी छु अनन्तसम्म म बसिरहनेछु, यस तलाउका किनारामा, जुन थलोलाई मेरा लागि मेरो प्रेमीको शरीरको अन्तिम स्पर्शले प्रिय बनाएको छ । हामी लाखौँ नारी, महाभारतको युद्धमा विधवा भएको, ठाउँ-ठाउँमा युग-युगदेखि पर्खिबसेका छौँ मरेका प्याराका लागि ……। “नानी, नानी, निदायौ…… कथा सिद्धियो …. नानी, नानी, बबुआ……..” कुन्नि कहिले म भुसुक्क निदाएछु । कुन्नि कहिले मोदिआइनको एकनासे कण्ठध्वनि मेरो कानमा पर्न बन्द भएछ । कुन्नि कहिले मस्त भएर स्वप्नहीन निद्रामा निदाउन पुगेछु । एक्कै चोटि झिसमिसमा मिसिरजीले मलाई घचघचाएर उठाए- “बिहान चार बजेको गाडी समातेर फर्किनु छ, बाबु, उठ, उठ ।” म आँखा मिच्तै उठें। निद्रा पुगेको थिएन, शरीरको थकान अझै मेटिया थिएन । त्यही अवस्थामा मिसिरजीको हात समातेर म स्टेशन आएँ । रात धेरै बाँकी थियो । आउँदाखेरि भित्र कोठामा सुतिरहेकी मोदिआइनलाई सम्बोधन गरेर मिसिरजीले भने- “मोदिआइन, हामीहरू गयौँ ।”
मोदिआइनले भित्रैबाट भनी - “ल जानु नानी, राम्ररी गए है । बाहिरको जाफरी लगाइदिनुहोला, मिसिरजी ।” मोदीलाई फेरि एक चोटि खोकीको दौरा आयो मोदिआइनको पसलबाट बाहिर आउँदा हडहा पोखरीमा न्वहाएर एउटा मानिस गीता पाठ गर्दै थियो । नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावकः नचैवं क्लेदयन्त्यपो न शोषयति मारुतः । आधा निद्रामै म स्टेशन पुगें । गाडीमा पसेको सम्झना अलि-अलि छ । डब्बाभित्र पसेर बेन्चमा बस्दानबस्दै म उँधेर फेरि निदाएँ । छेउ न टुप्पोका, छन्द न बन्दका सपना देख्न थालें । कैले त्यसै सूर्यलाई चम्केको देख्थें, कहिले मोदिआइनलाई, कहिले ठूलाठूला गिद्धहरू आकाशमा उडिरहेका देख्थें डराउने आकारका ठूलाठूला । कैले माछा बेच्ने मछुवारिन । कैले लडाइँ भैरहेको, कैले केई, कैले केई र सबभन्दा पछि टाढा आकाशबाट एकनासको स्वर बोलिरहेको हुन्थ्यो- “नानी, ठूलो नहुनू, वीर नहुनू । असल हुनू, असल……।” रेल जयनगर पुग्दा घाम चढिसकेको थियो । त्यहाँ रेलबाट ओर्लिंदा आँग हिजोको दरभङ्गा यात्रामा थाकेको, अझै दुखिरहेको थियो । निद्रा पनि राम्रो परेको थिएन राति, त्यसैले, जीउ भारी थियो, र मन अस्थिर । घर पुग्दा सबैले मलाई घेरेर सोधे– “दरभङ्गामा के देख्यौ ?” मैले भनें- “मोदिआइन ।” सबै खिल्ल हाँसे, मानौँ मैले कुनै ठूलो ठट्ठाको कुरा भनेको हुँ ।
सुन्दरीजल बन्दीगृह
२८, २९, ३० जनवरी १९६४ [28, 29, 30 January 1964]
१५, १६, १७, माघ २०२०