दोषी चश्मा
दोषी चश्मा केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि तिनी अर्को चश्मा लिने विचारमा थिए, तर अझै अनुकूल परेको थिएन । तिनी जर्साबकहाँ चाकरी गर्न जान्थे । एक दिन सधैँझैँ चाकरीमा गएका थिए, तर साढे चार बज्दा पनि जर्साबको सवारी भएन । आज सवारी हुँदैन कि ? सारा चाकरिया निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के । तर केशवराज महलको अगाडिको चौर रिक्त भएपछि पनि धेरै बेरसम्म आशाले बसिरहे । साँझ पर्न लागेको थियो । सूर्यलाई पश्चिमतिर पहाडले ढाकिदिएको हुनाले हाम्रो पृथ्वी त अँध्यारिँदै आएको थियो तर आकाशतिर सूर्यका लामा रश्मि तेर्सिरहेका थिए । साथीभाइहरूसँग छुट्टिएका, बाटो बिराएका, एक-दुई बादलका टुक्रा आकाशमा रङ्गमगिइरहेका थिए । केशवराजलाई यो दृश्यले लोभ्यायो । उनी पनि आज जर्साबको सवारी हुँदैन भन्ने निश्चय गरेर बाटो लागे । अरू दिन भएको भए जर्साबकहाँ चाकरी नपाउँदा तिनी कति दुःखित हुन्थे, तर आज तिनलाई बडो उत्साह थियो । फूर्तिसँग डेग बढाउँदै धानको लहलहाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै तिनी आइरहेका थिए । त्यो टाढाको कालो वस्तु ढुङ्गा हो कि मुढो हो कि, भैंसी हो कि, कि त मानिस नै हो, यो तिनले ठम्याउन सकेनन् । चश्मा कस्तो बेकामको भएछ, तिनले फेरि सम्झे । तर यो विचारले तिनलाई धेरै बेर चिन्तित पारेन । त्यसै बखतमा पछिल्तिरबाट ‘भों’ गर्दै एउटा मोटर आयो । मोटरको नम्बर हेरेर ‘स्वस्ति’ गर्नुपर्ने हुनाले, चश्माको घेरालाई देब्रे हातको मुठी र चोर औंलाले समातेर उनले मोटरको नम्बर-प्लेटलाई गौर गरे । “धत्, यो चश्माले ठ्याम्मै काम नचल्ने भयो ।” मोटरको नम्बर उनले पढ्न सकेनन् । त्यसै बखतमा मोटर हुर्र गयो, अनि पो मोटरलाई र मोटरमा राज भएका जर्साबलाई तिनले चिने र हत्पताउँदै स्वस्ति गरे । चश्माले यहाँ पनि धोका दियो । “चश्माको पावर ठीक भएको भए म स्वस्ति गर्न पाउँथेँ, चाकरी पुग्थ्यो ।” केशवराज हतोत्साह भए । धेरै दिनदेखि आँखा जँचाई नयाँ चश्मा लिने उनले विचार गरेका थिए; कुनै काम गर्ने निश्चय गरेपछि गरिहाल्नु भन्ने उपदेशको महत्त्व तिनले आजै बुझे । चश्मा नफेरी त तिनलाई धरै थिएन । फेर्न त परिहाल्थ्यो र तिनले फेर्ने निश्चय पनि गरेका थिए । तिनले पहिले नै फेरेको भए आजको घटना हुन पाउने थिएन । ...