स्वागत छ नेपाली साहित्य संग्रहमा 📚

यहाँ तपाईंले नि:शुल्क नेपाली साहित्यका कृतिहरू पाउनुहुनेछ। कविता, कथा, निबन्ध र अन्य साहित्यिक सामग्रीहरूको आनन्द लिनुहोस्।

नोकरी

आइतबार, हप्ताको पहिलो दिन, शिव खड्का पन्ध्र दिनपछि आज अफिस जाँदै छ । कामको ज्यादै बोझले गर्दा तनाव बढ्न गएकाले उसलाई गौरीले बलजफत गरेर नै छुट्टी लिनलगाएकी थिई तर स्वभावले लाचार शिवले कुनै दिन पनि अफिसका कामकाजहरूलाई बिर्सन सकेन । आज उसले झन् ज्यादा ती कामहरू सम्झँदैछ र कुनलाई प्राथमिकता दिएर सिध्याउनु पर्ला भनेर ती थन्किएका सम्भावित कामहरूलाई केलाउन थाल्दै छ मनमनै । छान्दाछान्दै सबै उत्तिकै जरुरी भइसकेका पाएर त्यति लामो छुट्टी लिन कर लगाउने गौरीसँग पनि बिछट्टै झोकिन्छ र अठोट गर्दछ राति अबेरसम्म बसेर भए पनि दुई चार दिनमा सबै काम समाप्त पारेर नै छोड्छु । त्यस बेला पनि किन अबेर आउनु भयो ? भन्न लागी भने अनि मैले जवाफ दिन जानेको छु भनेर मनैभित्र गौरीप्रति उठेका रिसलाई थेचारेर सन्तुष्टि लिन्छ । ...

जुलाई 26, 2026 · 10 min · 1958 words · गीताकेशरी

मुना-मदन

मदन भोट जाने बेलामा मुना- नछोडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, मनको वनमा ननिभ्ने गरी विरह जलाई, ननिभ्ने गरी विरह जलाई, लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए, के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए ! प्यारा ! विष नै पिलाए ! मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा, यो मेरो मुटु पचासबाजि धड्कन्छ पलामा, यो छाती मेरो चिरेर खोली नजर गराए, त्यो मन केही फर्कंदो होला, तस्वीर खुलाए ! आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन, मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन, प्यारा ! आँसुले बोल्दैन ! ...

जुलाई 26, 2026 · 30 min · 6360 words · महाकवि लक्ष्मीप्रसाद देवकोटा

नरेन्द्र दाइ

बितेका दिनहरू मेरो पिठ्यूँतिर धमाधम खस्दै नाना किसिमका विभिन्न आकारका-साना-ठूला गहिरा या भर्खरै बन्न लागेका- गुफाहरू रच्दै थप्प-धप्प बसेका छन् । यसो फर्केर हेर्दा म देख्छु- टाढा, यवनिकामा चित्रित भएझै पछिल्तिरका अरू तमाम दृश्यलाई पूर्णरूपले ढाक्दै एउटा कालो-नीलो पर्वतशृङ्गला दृढतापूर्वक उभ्भिएको छ र मतिर फर्केर त्यसको छातीमा कुनै पनि ठाउँ वाँकी नराखी मेरा बितेका दिनहरूले कुन्नि कैलेदेखि हो गुफैगुफा खनेर राखिछाडेका छन् । मेरा दिनहरूको काम गुफा बनाउनु हो । कहिलेकाहीँ एक्लै भएका बखत वर्तमानबाट आफूलाई फुत्काई म पछि फर्केर हिँड्न थाल्दछु, मेरा गोडा अनायास नै अतीतका कुनै गुफाभित्र प्रवेश गर्छन् । कुनै-कुनै गुफा त यति अन्धकारमय हुन्छ कि म त्यहाँको कुनै वस्तु पनि प्राप्त गर्न नसकेर बाहिर निस्किन्छु । कुनै-कुनैमा भने अत्यन्त मधुरो प्रकाश रहन्छ; त्यहाँभित्रको दृश्य पनि मेरा लागि अस्पष्ट नै रहन्छन् । तर, कुनै गुफाचाहिँ जतिसुकै गहिरो भए पनि, तल पुगेपछि, कुन्नि कुन स्मृति-लोकबाट फुटेर आएको प्रकाश-किरणले उद्भासित भएका हुन्छन् कि त्यहाँ पुगेपछि मेरा आँखाबाट विस्मृतिको पर्दा पन्छिन्छ र म पुरानो युगको रस-रङ्ग-ध्वनिको लोकमा पुग्छु । मानौँ, जीआमाहरूले भन्ने गरेका सुनकेसी राजकुमारीहरूका कथामा निवास गर्ने र बालकहरूका थाकेका आँखामा हलुकोसँग निद्राको शीतल मलम लाइदिने मायालु परीको कुनै अलौकिक छलबाट मेरो उमेर मबाट फत्फत् झर्न थाल्दछ, शरीरबाट लुगा झरेजस्तो । म एउटा बालक हुन्छु र एकपल्ट बिताइसकेका दिनहरूलाई उही पुरानै किसिमबाट फेरिदेखि बिताउन थाल्छु । अनि म डाक्छु- “ए सान्नानी, ए फगुनी, ए नरेन्द्रदाइ……!!” ...

जुन 25, 2025 · 106 min · 22560 words · विश्वेश्वरप्रसाद कोइराला

मोदिआइन

धेरै पहिलेको कुरा; म बालक थिएँ । बालककालका कुराहरू धेरै त त्यसै बिर्सिएर जाइन्छन्, तर केही एकदम स्पष्ट भएर स्मृतिमा अडेर बसेका हुन्छन् र केही धमिलिएर देखा पर्छन्, तिनलाई ठम्याउन आफ्नो कल्पनाको पनि मद्दत लिनुपर्छ । जस्तो कि टाढा उभिएको मानिसको अनुहार स्पष्टसँग नदेखिएतापनि त्यसको कद, पहिरन, त्यसको उभिँदाको भङ्गिमा र जुन घरको बारीमा उभिएर त्यो त्यहाँ काम गर्ने ज्यामीहरूलाई हेरिरहेको छ, ती सबै कुरालाई जोरेर हामी त्यो उभिएको मानिसलाई ठम्याउँछौँ- त्यो त हाम्रो परमपरिचित फलानो हो । ...

जुन 24, 2025 · 51 min · 10748 words · विश्वेश्वरप्रसाद कोइराला

दोषी चश्मा

दोषी चश्मा केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि तिनी अर्को चश्मा लिने विचारमा थिए, तर अझै अनुकूल परेको थिएन । तिनी जर्साबकहाँ चाकरी गर्न जान्थे । एक दिन सधैँझैँ चाकरीमा गएका थिए, तर साढे चार बज्दा पनि जर्साबको सवारी भएन । आज सवारी हुँदैन कि ? सारा चाकरिया निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के । तर केशवराज महलको अगाडिको चौर रिक्त भएपछि पनि धेरै बेरसम्म आशाले बसिरहे । साँझ पर्न लागेको थियो । सूर्यलाई पश्चिमतिर पहाडले ढाकिदिएको हुनाले हाम्रो पृथ्वी त अँध्यारिँदै आएको थियो तर आकाशतिर सूर्यका लामा रश्मि तेर्सिरहेका थिए । साथीभाइहरूसँग छुट्टिएका, बाटो बिराएका, एक-दुई बादलका टुक्रा आकाशमा रङ्गमगिइरहेका थिए । केशवराजलाई यो दृश्यले लोभ्यायो । उनी पनि आज जर्साबको सवारी हुँदैन भन्ने निश्चय गरेर बाटो लागे । अरू दिन भएको भए जर्साबकहाँ चाकरी नपाउँदा तिनी कति दुःखित हुन्थे, तर आज तिनलाई बडो उत्साह थियो । फूर्तिसँग डेग बढाउँदै धानको लहलहाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै तिनी आइरहेका थिए । त्यो टाढाको कालो वस्तु ढुङ्गा हो कि मुढो हो कि, भैंसी हो कि, कि त मानिस नै हो, यो तिनले ठम्याउन सकेनन् । चश्मा कस्तो बेकामको भएछ, तिनले फेरि सम्झे । तर यो विचारले तिनलाई धेरै बेर चिन्तित पारेन । त्यसै बखतमा पछिल्तिरबाट ‘भों’ गर्दै एउटा मोटर आयो । मोटरको नम्बर हेरेर ‘स्वस्ति’ गर्नुपर्ने हुनाले, चश्माको घेरालाई देब्रे हातको मुठी र चोर औंलाले समातेर उनले मोटरको नम्बर-प्लेटलाई गौर गरे । “धत्, यो चश्माले ठ्याम्मै काम नचल्ने भयो ।” मोटरको नम्बर उनले पढ्न सकेनन् । त्यसै बखतमा मोटर हुर्र गयो, अनि पो मोटरलाई र मोटरमा राज भएका जर्साबलाई तिनले चिने र हत्पताउँदै स्वस्ति गरे । चश्माले यहाँ पनि धोका दियो । “चश्माको पावर ठीक भएको भए म स्वस्ति गर्न पाउँथेँ, चाकरी पुग्थ्यो ।” केशवराज हतोत्साह भए । धेरै दिनदेखि आँखा जँचाई नयाँ चश्मा लिने उनले विचार गरेका थिए; कुनै काम गर्ने निश्चय गरेपछि गरिहाल्नु भन्ने उपदेशको महत्त्व तिनले आजै बुझे । चश्मा नफेरी त तिनलाई धरै थिएन । फेर्न त परिहाल्थ्यो र तिनले फेर्ने निश्चय पनि गरेका थिए । तिनले पहिले नै फेरेको भए आजको घटना हुन पाउने थिएन । ...

जुन 22, 2025 · 112 min · 23714 words · विश्वेश्वरप्रसाद कोइराला