नरेन्द्र दाइ
बितेका दिनहरू मेरो पिठ्यूँतिर धमाधम खस्दै नाना किसिमका विभिन्न आकारका-साना-ठूला गहिरा या भर्खरै बन्न लागेका- गुफाहरू रच्दै थप्प-धप्प बसेका छन् । यसो फर्केर हेर्दा म देख्छु- टाढा, यवनिकामा चित्रित भएझै पछिल्तिरका अरू तमाम दृश्यलाई पूर्णरूपले ढाक्दै एउटा कालो-नीलो पर्वतशृङ्गला दृढतापूर्वक उभ्भिएको छ र मतिर फर्केर त्यसको छातीमा कुनै पनि ठाउँ वाँकी नराखी मेरा बितेका दिनहरूले कुन्नि कैलेदेखि हो गुफैगुफा खनेर राखिछाडेका छन् । मेरा दिनहरूको काम गुफा बनाउनु हो । कहिलेकाहीँ एक्लै भएका बखत वर्तमानबाट आफूलाई फुत्काई म पछि फर्केर हिँड्न थाल्दछु, मेरा गोडा अनायास नै अतीतका कुनै गुफाभित्र प्रवेश गर्छन् । कुनै-कुनै गुफा त यति अन्धकारमय हुन्छ कि म त्यहाँको कुनै वस्तु पनि प्राप्त गर्न नसकेर बाहिर निस्किन्छु । कुनै-कुनैमा भने अत्यन्त मधुरो प्रकाश रहन्छ; त्यहाँभित्रको दृश्य पनि मेरा लागि अस्पष्ट नै रहन्छन् । तर, कुनै गुफाचाहिँ जतिसुकै गहिरो भए पनि, तल पुगेपछि, कुन्नि कुन स्मृति-लोकबाट फुटेर आएको प्रकाश-किरणले उद्भासित भएका हुन्छन् कि त्यहाँ पुगेपछि मेरा आँखाबाट विस्मृतिको पर्दा पन्छिन्छ र म पुरानो युगको रस-रङ्ग-ध्वनिको लोकमा पुग्छु । मानौँ, जीआमाहरूले भन्ने गरेका सुनकेसी राजकुमारीहरूका कथामा निवास गर्ने र बालकहरूका थाकेका आँखामा हलुकोसँग निद्राको शीतल मलम लाइदिने मायालु परीको कुनै अलौकिक छलबाट मेरो उमेर मबाट फत्फत् झर्न थाल्दछ, शरीरबाट लुगा झरेजस्तो । म एउटा बालक हुन्छु र एकपल्ट बिताइसकेका दिनहरूलाई उही पुरानै किसिमबाट फेरिदेखि बिताउन थाल्छु । अनि म डाक्छु- “ए सान्नानी, ए फगुनी, ए नरेन्द्रदाइ……!!” ...
मोदिआइन
धेरै पहिलेको कुरा; म बालक थिएँ । बालककालका कुराहरू धेरै त त्यसै बिर्सिएर जाइन्छन्, तर केही एकदम स्पष्ट भएर स्मृतिमा अडेर बसेका हुन्छन् र केही धमिलिएर देखा पर्छन्, तिनलाई ठम्याउन आफ्नो कल्पनाको पनि मद्दत लिनुपर्छ । जस्तो कि टाढा उभिएको मानिसको अनुहार स्पष्टसँग नदेखिएतापनि त्यसको कद, पहिरन, त्यसको उभिँदाको भङ्गिमा र जुन घरको बारीमा उभिएर त्यो त्यहाँ काम गर्ने ज्यामीहरूलाई हेरिरहेको छ, ती सबै कुरालाई जोरेर हामी त्यो उभिएको मानिसलाई ठम्याउँछौँ- त्यो त हाम्रो परमपरिचित फलानो हो । ...
दोषी चश्मा
दोषी चश्मा केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि तिनी अर्को चश्मा लिने विचारमा थिए, तर अझै अनुकूल परेको थिएन । तिनी जर्साबकहाँ चाकरी गर्न जान्थे । एक दिन सधैँझैँ चाकरीमा गएका थिए, तर साढे चार बज्दा पनि जर्साबको सवारी भएन । आज सवारी हुँदैन कि ? सारा चाकरिया निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के । तर केशवराज महलको अगाडिको चौर रिक्त भएपछि पनि धेरै बेरसम्म आशाले बसिरहे । साँझ पर्न लागेको थियो । सूर्यलाई पश्चिमतिर पहाडले ढाकिदिएको हुनाले हाम्रो पृथ्वी त अँध्यारिँदै आएको थियो तर आकाशतिर सूर्यका लामा रश्मि तेर्सिरहेका थिए । साथीभाइहरूसँग छुट्टिएका, बाटो बिराएका, एक-दुई बादलका टुक्रा आकाशमा रङ्गमगिइरहेका थिए । केशवराजलाई यो दृश्यले लोभ्यायो । उनी पनि आज जर्साबको सवारी हुँदैन भन्ने निश्चय गरेर बाटो लागे । अरू दिन भएको भए जर्साबकहाँ चाकरी नपाउँदा तिनी कति दुःखित हुन्थे, तर आज तिनलाई बडो उत्साह थियो । फूर्तिसँग डेग बढाउँदै धानको लहलहाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै तिनी आइरहेका थिए । त्यो टाढाको कालो वस्तु ढुङ्गा हो कि मुढो हो कि, भैंसी हो कि, कि त मानिस नै हो, यो तिनले ठम्याउन सकेनन् । चश्मा कस्तो बेकामको भएछ, तिनले फेरि सम्झे । तर यो विचारले तिनलाई धेरै बेर चिन्तित पारेन । त्यसै बखतमा पछिल्तिरबाट ‘भों’ गर्दै एउटा मोटर आयो । मोटरको नम्बर हेरेर ‘स्वस्ति’ गर्नुपर्ने हुनाले, चश्माको घेरालाई देब्रे हातको मुठी र चोर औंलाले समातेर उनले मोटरको नम्बर-प्लेटलाई गौर गरे । “धत्, यो चश्माले ठ्याम्मै काम नचल्ने भयो ।” मोटरको नम्बर उनले पढ्न सकेनन् । त्यसै बखतमा मोटर हुर्र गयो, अनि पो मोटरलाई र मोटरमा राज भएका जर्साबलाई तिनले चिने र हत्पताउँदै स्वस्ति गरे । चश्माले यहाँ पनि धोका दियो । “चश्माको पावर ठीक भएको भए म स्वस्ति गर्न पाउँथेँ, चाकरी पुग्थ्यो ।” केशवराज हतोत्साह भए । धेरै दिनदेखि आँखा जँचाई नयाँ चश्मा लिने उनले विचार गरेका थिए; कुनै काम गर्ने निश्चय गरेपछि गरिहाल्नु भन्ने उपदेशको महत्त्व तिनले आजै बुझे । चश्मा नफेरी त तिनलाई धरै थिएन । फेर्न त परिहाल्थ्यो र तिनले फेर्ने निश्चय पनि गरेका थिए । तिनले पहिले नै फेरेको भए आजको घटना हुन पाउने थिएन । ...
तीन घुम्ती
एक ४५ वर्षको उमेर पुगेपछि शायद स्वास्नीमानिसलाई कुनै निश्चित थलोमा पुगेको जस्तो लाग्छ जहाँबाट अगाडिको सफर गर्नुपर्ने आवश्यकताको अनुभव हुँदैन; मानो जीवनले भार बिसाएर विश्रामको शान्ति पाउँछ । शरीरमा पहिलेको जस्तो चाञ्चल्य रहँदैन; वार्धक्यको स्थूलताले चञ्चलतालाई सम्भव हुन दिँदैन शरीरमा । कञ्चटतिरका केश पनि एक-एक गरेर सेर्तिदै जान्छन् र तिनलाई चिम्टाले टिपेर उखेल्ने जाँगर पनि अब रहँदैन । यत्नसँग पोसेर र जोगाएर राखेको अनुहारमा चाउरीका मसिना धर्साहरू खिचिन लागेका हुन्छन् । मन-हृदय पनि त्यस्तै स्थितिमा हुन्छ निरुद्विग्नताको स्थितिमा । नारी-हृदयको प्रेम र त्यस प्रेमले वरदान वा अभिशापको रूपमा दिएको अलौकिक सुख र त्यस्तै नारकीय अनुताप र ईर्ष्याको ज्वाला, आशा, निराशा सबै अनुभवको केवल एउटा स्मृति छाडेर विलुप्त हुन्छन् । यदि जीवनको यात्रा पनि अरू यात्रासरह दुईतर्फी भएको भए प्रौढा यात्री आफू आएकै बाटोबाट पछि फिर्ने थिई र बाटामा छाड्दै आएका जीवनका अनेकानेक अनुभव, हृदयलाई कंपाउने सुख र दुःखका अनेकानेक अनुभव पुनः प्राप्त गर्न सक्ने थिई । तर जीवनको बाटोमा निरन्तर अगाडि बढ्नु मात्र सम्भव छ । त्यसमा फेरि फर्किने कुनै उपाय रहँदैन । ...